नुनको चिया उपन्यास सर्वप्रथम बङ्गला भाषामा “नुन चा” नाम लिएर प्रकाशित भएको उपन्यास थियो र उक्त उपन्यास सन् २०१२ सालमा सर्वप्रथम बङ्गला भाषामा प्रकाशित भएको उपन्यास थियो। यस उपन्यासका मूल लेखक विमल लामा हुन् र उक्त उपन्यास बङ्गाली साहित्य जगतमा प्रकाशित हुँदा यस उपन्यासले बङ्गाली पाठकसामु धेरै ख्याति कमाएको थियो।

स उपन्यासलाई सर्वप्रथम नेपालीमा अनुवाद शमिक चक्रवतीद्वारा गरिएको थियो र उनले सन् २०२२ मा यस उपन्यासलाई प्रथम चोटि नेपाली भाषामा अनुवाद गरेका थिए। यस उपन्यासको बङ्गला भाषा देखि नेपाली भाषामा अनुवाद भएको कुरामा पनि निक्कै रोचक घटना रहेको छ । त्यो घटना के हो भने यो उपन्यास सर्वप्रथम बङ्गाली भाषामा लेखिँदा यसका मूल लेखक नेपाली मातृभाषा भएको व्यक्ति विमल लामा थिए र उनले बङ्गला भाषामा यस उपन्यासलाई “नुन चा”नाम दिएर उपन्यास लेखेका थिए भने यस उपन्यासको बङ्गलादेखि नेपाली भाषामा अनुवाद गर्ने व्यक्ति चाहिँ बङ्गाली मातृभाषा भएको व्यक्ति शमिक चक्रवती थिए।

यसरी बङ्गला उपन्यासका लेखक चाहिँ मूल रूपमा नेपाली मातृभाषा भएको व्यक्ति र उही बङ्गला उपन्यासलाई नेपालीमा अनुवाद चाहिँ बङ्गला मातृभाषा भएको व्यक्तिले गर्नु चाहिँ एउटा रोचक घटना रहेको छ। नुनको चिया उपन्यासको कुरा गर्दा शमिक चक्रवती बारे कुरा नगरे धेरै कुराहरू छुटिएर जान सक्छ उनले बङ्गला भाषाका उपन्यासलाई नेपालीमा मात्रै अनुवाद गरेनन् तर धेरै नेपाली उपन्यासहरू पनि बङ्गला भाषामा उनले अनुवाद गरेका छन् जस्तै इन्द्रबहादुर राईद्वारा लिखित उपन्यास आज रमिता छ उपन्यास, युग पाठकद्वारा लिखित उर्गेनको घोडा उपन्यास, छुदेन् काबिमो द्वारा लिखित फात्सुङ जस्ता नेपाली उपन्यासहरू उनले बङ्गला भाषामा अनुवाद गरेका छन् एक बङ्गाली मातृभाषा भएको व्यक्तिले नेपाली भाषा सिकेर पनि नेपाली उपन्यासहरू बङ्गलामा अनुवाद गर्नु चानचुने कुरा होइन र उनले जुन नेपाली साहित्य र बङ्गला साहित्य बिच सागु को काम गरिरहेका छन् त्यो एकदमै उल्लेखनीय कुरा रहेको छ र शमिक ज्यूको यो प्रयासले नेपाली र बङ्गला साहित्य लाई जोड्ने काम भइरहेको छ।

नुनको चिया उपन्यास ५७६ पृष्ट भएको एक मझौला आकार भएको उपन्यास हो। १९८६ को वरिपरिको समयलाई समेटिएर उक्त उपन्यास लेखिएको छ। हामी दार्जिलिङ पहाडमा बसोबास गर्ने मानिसहरूले  १९८६ भन्न साथ अरू केही सम्झिने गर्दैनन् तर त्यस समय भएको विध्वंसकारी आन्दोलन नै हामी सम्झिने गर्छौं, छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गरिएको सङ्घर्ष र छुट्टै राज्यको निम्ति गरिएको हिंसात्मक आन्दोलन नै १९८६ भन्दा अधिकांश दार्जिलिङ पहाडमा बसोबास गर्ने मान्छेहरूको दिमागमा आउने गर्दछ।

नुनको चिया उपन्यास पनि १९८६ को आन्दोलन माथि नै आधारित उपन्यास हो तर यो उपन्यास खाली १९८६ मा भएको राजनैतिक आन्दोलन माथि मात्रै केन्द्रित रहेको उपन्यास छैन तर त्यस समयको राजनैतिक सँग सँगैमा सामाजिक र सांस्कृतिक जनजीवन दार्जिलिङको कस्तो थियो भन्ने कुराहरूको उल्लेख पनि हामी यस उपन्यासमा पाउन सक्छौँ। धामी झाँक्री जस्ता प्रथाहरू अहिलेको समयमा दार्जिलिङमा धेरै लोप भएर गएको छ तर १९८६ को समय तिर यो प्रथा रहेको थियो भन्ने कुरा यस उपन्यासमा पात्र गजे धामी मार्फत देखाइन खोजेको छ।

यसैगरी बोक्सी डाइनाको आरोप लगाउने प्रथा त अचेल दार्जिलिङ भेगमा पूरा पूरी नै बन्द भइसकेको छ तर त्यस समय यस प्रकारको आरोप लगाउने चलन रहेको थियो भन्ने कुराको पनि हामी यस उपन्यास पढ्दा चाल पाउन सक्छौँ। त्यस समय युवाहरू कस्ता थिए र उनीहरू अधिकांशले आफ्नो जीविका कसरी चलाउने गर्थे भन्ने कुरा पनि हामी यस उपन्यासको मूल पात्र उर्गेनमार्फत बुझ्न सक्छौँ।

यसैगरी त्यस समयका राजनैतिक पार्टीहरूले कसरी एक अर्कामा नै झगडा गर्ने गर्थे भन्ने कुराहरू पनि हामी यस उपन्यास पढ्दा थाहा पाउन सक्छौँ जस्तै त्यस समयको गोर्खाल्याण्ड पन्थी राजनैतिक पार्टीले बङ्गाल देखि छुट्टै राज्य गोर्खाल्याण्डको माग गरिरहेका थिए र छुट्टै राज्यको माग गर्ने पार्टीका समर्थकहरू अधिक रहेका गाउँहरूमा त्यहाँ बस्ने विपरीत विचारधारा बोकेका पार्टी समर्थकहरूको घर तोडफोड गर्नु उनीहरूलाई विभिन्न प्रकारको प्रताडना दिने काम गर्नु यी कुराहरू त्यस समयको राजनैतिक पार्टीहरू को काम थियो।

त्यस समय गोर्खाल्याण्ड माग्ने पार्टी जी एन एल एफ को माग नै गोर्खाल्याण्ड रहेको थियो उनीहरूको विचारमा गोर्खाहरूले अरूको निम्ति धेरै नै लडे तर आफ्नो हक र अधिकारको निम्ति उनीहरू लड्न सकेका छैनन् र उनीहरू आफ्नो हक र अधिकारबाट वञ्चित रहेका छन् । बङ्गालमा उनीहरूको न्याय कहिले नहुने उनीहरूको विचार रहेको थियो भने त्यस समय पहाडमा रहेको अर्को शक्तिशाली पार्टी सी पी एम अर्थात् माकपा को विचार दार्जिलिङलाई बङ्गालबाट टुक्राउनु नदिने थियो र उनीहरू छुट्टै राज्यको विरोधी थिए। यसरी नै छुट्टै राज्यको समर्थन गर्ने पार्टीको समर्थक मानिसहरू अधिक रहेको गाउँमा अन्य विपरीत विचारधारा बोकेको मानिसहरूलाई प्रताडना दिने काम हुन्थे भने फेरि छुट्टै राज्यको विरोध गर्ने पार्टीको जनसङ्ख्या अधिक रहेको गाउँमा छुट्टै राज्यको समर्थन गर्ने पार्टीका मानिसहरूलाई त्यसरी नै प्रताडना दिने गरिन्थ्याे यी कुराहरू सबै यस उपन्यासमा उल्लेख गरिएको छ।

सङ्घर्ष भनेको खाली बन्दुक वा खुकुरी बोकेर  आन्दोलनमा सङ्घर्ष गर्नु मात्र होइन । एउटी अविवाहिता नारी जसले पेटमा बच्चा बोकेको हुन्छ, त्यो बच्चा बोकेको नारीलाई त्यो बच्चाको बाबुको को हो भन्ने कुरासम्म पनि थाहा नहुँदा पनि उनले त्यो नानीलाई पेटमा नै मार्न चाहेनन् वा गर्भपतन गर्न चाहेनन् । बरु विभिन्न दोषारोपण खेपिन् । उनले त्यो बच्चालाई जन्म दिने निधो गर्दा उनले कस्तो कस्तो पीडा झेल्नु परेको थियो । यस प्रकारको पीडा एक नारीले झेल्नु पर्दाको कुरालाई पनि हामी सङ्घर्ष नै मान्न सक्छौँ । यस प्रकारको सङ्घर्ष गरेको कुरा पनि यस उपन्यासमा हामी जुनी नामक पात्रा बाट बुझ्न सक्छौ। यसै गरी नुनको चिया उपन्यास पढेपछि हामीलाई अर्को कुरा के बोध हुन्छ भने १९८६ देखि यता हामीले कत्ति आन्दोलन गरिसकेका छौ कति सङ्घर्ष गरिसकेका छौ छुट्टै राज्यको निम्ति तर पनि हामीले अहिले सम्म केही उपलब्धि हासिल गर्न सकेका छैनौँ न त छुट्टै राज्य नै हामीले पायौँ न त बङ्गाल मा नै बसेर हामीले असल सहुलियतहरू पायौँ हामी भिरको चिण्डाे उधों न उँभो भएको महसुस पनि हामीलाई यस उपन्यास पढ्दा हुन्छ।

पहिले दार्जिलिङ र पुलबजर बिच घिरलिंग चल्ने गर्थ्यो र यो घिरलिंग बारे पनि नुनको चिया उपन्यासमा वर्णन गरिएको छ। उक्त घिरलिंगमा धेरै सर सामानहरू ओसार-पोसार हुने गर्थ्यो यही कुरा नुनको चिया उपन्यासमा पनि वर्णन भएको छ।तर आजको समयमा आउँदा उक्त घिरलिंग धेरै वर्षदेखि ठप्प रहेको छ र आजको दिनमा यसको भग्नावशेष मात्रै रहेको छ र यो कुरा देख्दा कुनैपनि दार्जिलिङमा बसोबास गर्ने मान्छेहरूलाई दुःख त लाग्ने नै गर्छ।

त्यस समय दार्जिलिङ सहरी क्षेत्र र दार्जिलिङको चिया बगान क्षेत्रको वातावरण कस्तो थियो भन्ने कुरा र दार्जिलिङ सहर र कमान वासीहरू बिच कस्तो सम्बन्ध थियो भन्ने कुराहरू पनि हामीलाई यस उपन्यास पढ्दा थाहा हुन्छ आजको दिनमा दार्जिलिङ सहरवासी र कमान वासी मा केही मत भेद छैन आजको दिनमा उनीहरू के गाउँ वासी र के सहरवासी सबै नै मिलेर आजको दिनमा उनीहरू बसेका छन् तर १९८६ को समय तिर कमान वासीहरूलाई सहरमा बस्नेहरूले हीन दृष्टिकोणले हेर्ने गर्थे भन्ने कुरा उनीहरूलाई कोदे भनेर सम्बोधित गर्ने कुरा यस उपन्यासमा उल्लेख गरिएको छ।

यस उपन्यासको परिवेशबारे कुरा गर्दा दार्जिलिङ स्थित सिङताम कमानको धनमानधुरा गाउँ लाई यहाँ मूल रूपमा देखाइए पनि पुल बजार, सिलिगुडी, दार्जिलिङ बजार, सिङमारी, कालिम्पोङ आदि ठाउँहरू लाई पनि परिवेश बनाएर लेखिएको छ

यस उपन्यासको भाषा शैली पनि धेरै सरल र सहज छ, दार्जिलिङे भाषाको प्रभाव यस उपन्यासमा धेरै रहेको छ। र सामान्य पाठकको निम्ति पनि यो उपन्यास बोध गम्य नै रहेको छ।अन्त्यमा यही भन्न सकिन्छ कि विमल लामा द्वारा लिखित यो उपन्यास एकदमै पठन योग्य रहेको छ, यो उपन्यास सबैले एक चोटि भए पनि पढ्नुहोला र विमल लामा ज्युलाई आउने दिनहरूको निम्ति शुभकामना। यस प्रकारको वहाँको कृतिहरू फेरि फेरि पनि पढ्न पाउ भन्ने आशा हामी पाठकहरूले गरेका छौँ।