कृष्ण धरावासीलाई मैले पहिलाेचोटि सन् १९९६ मा देखेको हुँ, जब काठमाडौँबाट नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्यिक टोली गुवाहाटी आएको थियो । साहित्यिक अभ्यर्थना समितिको अध्यक्ष म नै भएकोले सबै योगायोग, मेरै टेलिफोनको माध्यमबाट भएको थियो र काठमाडौँबाट टेलिफोनमा टोलीका सदस्यको नाउँ जानकारी गराउँदा धरावासीको नाउँ पनि खातामा टिपेको थिएँ । यो नाउँ यसअघि मैले सुनेकै रहेनछु । गुवाहाटीमा भेट हुँदा नेपाली साहित्यिकहरूमाझ धरावासी मलाई निकै होचा लागे– केवल तीन फुटका मात्र ।

हाम्रो दोस्रो भेट भएको थियो धुलावारी १९९७ मा सम्पन्न कथा सङ्गोष्ठीमा । धरावासीको हातमा उनको तत्कालीन प्रकाशित कृति लीलालेखनको किताब थियो । किताबका प्रति धमाधम बिक्री भइरहेका थिए र मैले पनि एक प्रति किनेँ । इन्द्रबहादुर राईज्यूले दार्जिलिङको भेटमा दिनुभएको ‘कठपुतलीको मन’ कथा सङ्कलन पढेर केवल एक चौथाइ बुझेको अनुभव गरेको थिएँ । धरावासीको लीलालेखन पढेपछि अब पचास प्रतिशत बुझेँ कि लाग्यो । अनि धरावासीको उचाइसम्बन्धी मलाई दृष्टिभ्रम भएको थाह पाएँ । उनी यहाँ आएर झन्डै छ फुट अग्ला देखा परे ।
हाल उनको उपन्यास ‘शरणार्थी’ मेरो हातमा छ । यसबिच धरावासी अझ अग्लिसकेका छन् । ‘शरणार्थी’मा आएर उनले ठानेका नेपाली साहित्यका शिखर पुरुषहरूको उचाइलाई छुन खोजेको अड्कल लगाएँ ।

‘शरणार्थी’ उपन्यास हो तर यसलाई मैले लीलारचना भन्न मन पराएँ । धरावासीले यथार्थ सत्यलाई नै लिएर आफ्नो मस्तिष्क घोटेका छन्, कल्पना दगुराएका छन्, नेपाली जातीय जीवनको लीला रचाउन । सम्पूर्ण नेपाली जीवन नै लीलामय छ यहाँ । नाट्यसम्राट सेक्सपियरले”All the world’s a stage, and all the men and women merly players” भनेझैँ यो विश्वको नाट्यशालामा ‘शरणार्थी’ का पात्रहरू निमित्त बनेर आरोपित छन्, आ–आफ्नो अभिनय कुशलतापूर्वक देखाउन ।

‘हिमालका सन्तानको कथा– किनभने केवल हिमालका सन्तान शरण खोज्दै नेपाल पसेका छन्, ….शरणार्थीको लाममा … हिमालका सन्तान मात्र छन् ।’ हाम्रा साहित्यका मूर्धन्य विद्वान् श्री दान खालिङको यो कथन धेरै सत्य छ । हुन त पश्चिम युरोप महादेशभित्र पनि समय–समय शरणार्थीहरू देखा परेका छन् । हिटलरवादको क्रुरताले  यहुदीहरू पनि कुम्लो बोकेर लामो समयसम्म दिशा–दिशा भागिहिँडे, तर अवशेषमा उनले कुम्लो बिसाउने एउटा ठाउँ पाए । फेरि जहाँ गए पनि उनीहरूले आफ्नो बुद्धिबलले सम्मानित जीवन बिताउने मौका पाएका छन् ।

भारत र पाकिस्तानको विभाजनपछि धेरै सिन्धी र पन्जाबीहरू पनि पाकिस्तानबाट विस्थापित भएर भारत पसे । ती शरणार्थी नै भएर आएका थिए, तर आज तिनको जताततै भव्य कोठी छ । आफ्नो व्यवसाय कुशलता र पुँजीको बलमा देशको प्रशासनीय व्यवस्थाभित्र तिनले लामो हात फैलाएका छन् । तर यता विस्थापित भएर कुम्लो बोकी हिँडेको हिमालको सन्तान तिनको कोठीमा ढोके भएर फाटक कुर्दै बसेको छ र त्यहाँदेखि पनि निष्कासित भएर शरणार्थी बनी फेरि कुम्लो बोकेर हिँडेको छ । त्यसरी वास्तविक शरणार्थी त हिमालको सन्तान नै हो ।

वास्तवमा नेपाल छ र नेपाली छन् । नेपाली जहाँ बसे पनि उनीहरूको हृदयमा नेपालको मानचित्र अङ्कित भएकै हुन्छ । सुगौली सन्धिअघिको बृहत्तर नेपाल, बाहिर भारत पनि नेपाली लौ त भनौँ भने कहीँ सुरक्षित देखिँदैनन् । मानिसको निम्ति जीवनको सुरक्षा सबैभन्दा ठुलो कुरो हो अनि जीवनमाथि सङ्कट आइलाग्दा भागेर जाने ठाउँ पनि नेपालीहरूका निम्ति नेपाल नै रहेछ, चाहे माई खोलाको बगरमा मृत्युवरण नै गर्नु किन नपरोस् । यो अनुभव गरिसकेकै कुरो हो । भारतको यस पूर्वोत्तर भेग, असम, मेघालय, मणिपुर, नागालैन्ड अरुणाचल, मिजोरम आदि ठाउँबाट पनि नेपालीहरू बेलाबेला ठाउँठाउँ विस्थापित भएर सुरक्षा खोज्दै नेपाल पसेका छन् र अझ पस्ने पनि छन् ।

नेपालको माटोमा पुगेर उनीहरूले जीवनको पूर्णता फेला पारेको अनुभव गर्छन् । त्यसैले त रामप्रसाद खनालको परिवार सकुशल मेचीको बगर हुँदै नकलबन्दा निस्केर नेपाल भूमिमा पाइला राख्ने बित्तिकै सबैको छाती हर्ष र खुसीले फुलेर थामिनसक्नु भयो । नेपाली माटोमा भारी बिसाएर उनीहरू बसे । त्यही लडीबुडी गरे । माटो छोए, सुँघे, जिब्रोले थोरै थोरै माटो चाटे यद्यपि माटोमा बर्मा वा भारतभन्दा फरक केही थिएन । यो स्वदेशको मोह थियो– बुझिनसक्नु आफ्नोपनको मोह आफ्नो आत्मामा भिजेको मोह यही आफ्नोपनको मोह लीलबहादुर क्षत्रीको अतृप्तमा पनि एक ठाउँ देखा पर्छ जब ‘म’ पात्र सिमानामा भन्सार चौकीको जाँच सिद्धिएर नेपालभित्र पाइला हाल्नासाथै रिक्सा थामेर ओर्लन्छ र अलिकति माटो शिरमा चढाई अमेट् शान्तिको अनुभव गर्छ ।

नेपाली उपन्यास जगत्मा धरावासीको ‘शरणार्थी’ले एउटा नौलो परिपाटी अँगालेको छ– एउटा नौलो प्रयोग गरेको छ । यसमा नेपालीहरूको विस्थापित जीवनसम्बन्धी पूर्वमा अरूहरूले लेखेका उपन्यास तथा कथाका पात्र–पात्रीलाई जुरुक्क उभ्याएर अघि बढाएका छन्– त्यो पनि त्यस्ता धेरै उपन्यास र कथाका चरित्र समेटेर एउटै कथावस्तु पारेका छन् । त्यसबाहेक पनि यहाँ चरित्र भएर उभिएका छन्, जीवन्त व्यक्ति– लेखक, पत्रकार, इतिहासकार, समाजसेवी तथा समाजका भलाद्मीहरू पनि, अनि उभिएका छन् लेखक आफैँ, आफ्नै तिख्खर कल्पना, यथार्थ अनुभव र अनुभूति लिएर । यसरी नौलो स्वाद र रसयुक्त खिचडी पकाएका छन् लेखकले पाठकको निम्ति, उपन्यासरूपी फराकिलो भाँडामा, आफ्नो मस्तिष्कको पन्यूले घोटी–घोटी डढ्न नदिईकन ।

पौराणिक कथाहरूलाई मिथक पारेर लेखिएका केही सृजनशील कृतिहरू हामी फेला पार्छौँ । नमुनाको निम्ति बालकृष्ण समको ‘प्रह्लाद’लाई नै लिन सकिन्छ । कुनै एउटा मौलिक कथाका पात्र–पात्रीलाई उभ्याएर कथा सिर्जिएका दृष्टान्त हामी इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’भित्र फेला पार्छौँ, जहाँ उनले गुरुप्रसाद मैनालीको कथा ‘परालको आगो’लाई एउटा नौलो दृष्टिले हेरेका छन् । कथाभित्र रहेको अपूर्णता र आन्तरिक तत्त्वहरूलाई उदाङ्ग्याएर देखाएका छन् अनि परालको आगो परम्परागत मिथकको विनिर्माण पनि गरेका छन् । कता रामलाल अधिकारीले पनि शिवकुमार राईको मौलिक कथा ‘माछाको मोल’ भित्रको पात्रलाई ठड्याएर प्रयोगात्मक कथा अघि बढाए जस्तो झल्याकझुलुक सम्झना हुन्छ ।

तर एउटै लक्ष्य लिएर लेखिएका धेरै मौलिक उपन्यास र कथाका पात्रहरूलाई जीवन्त उभ्याएर, उही लक्ष्यलाई पूर्णता प्रदान गर्ने क्रममा शृङ्खलाबद्ध रूपले सृजना भएको उपन्यास हो त शरणार्थी नै हो– अन्त त मैले अरू कृति पढ्न पाएको छैन ।

उपन्यासमा मूल नायक–नायिका छन् इन्द्रबहादुर राईको कथा ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ भित्रका जयमाया र जयबहादुर । यिनै दुई पात्रले मूलतः लेखकको उपन्यास लेखनको दुवै लक्ष्य पूर्ति गरेका छन् । एउटा हिमालका सन्तान विस्थापित भएर शरणार्थीको रूपमा बग्दै हिँड्ने अटुट क्रम भनौँ एउटा समाधानविहीन समस्याको सजीव चित्र प्रस्तुत गर्नु र अर्को यस धर्तीमा लीलामय जीवन बाँच्ने बाध्यताभित्र झुन्डिएका अनेकाैँ, गोता, कर्म, कर्तव्यका खेल देखाउने उद्देश्य ।

राईज्यूले वर्माबाट सपरिवार विस्थापित भएर हिँडेकी जयमायालाई लिखापानी उतारेर छोडिदिएका छन् भने जयबहादुर अझ टकावपारि नै जङ्गलबिच कतै अल्झिएको छ । त्यहाँदेखि टिपेर धरावासीले ती दुवैलाई अनन्त प्रेमको डोरीमा बल्झाएर ठाउँ–ठाउँ घसादैँ, लतार्दै हिँडेका छन् र बिरिङखोलाको छेउ शरणार्थी शिविरसम्म पुर्याएका छन् । लेखकको लीलामय रचनाको सङ्केत पनि यिनै दुई पात्रको माझबाट नै पाठकले फेला पार्छन् । यिनै दुई मूल पात्रको हाराहारी अन्य उपन्यासका पात्रहरू जस्तै शिवकुमार राईको ‘डाक बंगला’ गोविन्द भट्टराईको ‘मुंगलान’, प्रकाश कोविदकी ‘नोयो’ आदिका नायक–नायिका पनि, मूल लेखकले तिनलाई जहाँ छोडेका थिए, त्यहाँदेखि जुरुकजुरुक उभिएर ‘शरणार्थी’ भित्र पाइला चाल्न थाल्दछन्, अन्य धेरै कल्पित र यथार्थ जीवित पात्रसित हातेमालो गर्दै ।

जीवन निरन्तरिन छ र छ अनन्त । मृत्यु मात्र पनि जीवनको अन्त होइन । एउटा जीवन ढलेपछि पनि उसको अतीत कोट्याउँदा जीवनका नौलो कुरा फेला पर्छन् । जीवनका घटनाहरू सदैव नयाँ रूपमा दोहोरिइरहेका हुन्छन् । उही उही समस्या बारम्बार देखा परिरहन्छन्, नयाँ आकारसित नौलो व्याख्या खोज्दै । त्यसरी कुनै पनि एउटा लेखकलाई जीवनको साङ्गोपाङ्गो चित्रण सम्भव हुँदैन । अन्तहीन जीवनको अन्तसम्म एउटा लेखकको कलम पुग्न सक्तैन र एउटा निर्दिष्ट विन्दुमा पुगेपछि उसले आफ्नो कलम बिसाउँछ तर त्यो बिन्दु नै कथाको अन्त होइन । धरावासीको जस्तो उर्वर मस्तिष्कको निम्ति त्यो निर्दिष्ट विन्दुदेखि जीवनको अर्को कथा आरम्भ गर्ने पर्याप्त ठाउँ रहन्छ । नियालेर हेर्नु हो भने एउटा लेखकले एक ठाउँ चित्रण गरेको कुनै जीवनको एउटा पाटो देखा पर्छ भने लेखकको कृतिमा परोक्ष रूपमै भए पनि उही जीवनको अर्को पाटो चित्रित भइरहेको हामी पाउँदैनौँ र ?

‘बसाइँ’ का धने बस्नेत र मैना नै के ‘ब्रह्मपुत्रका छेउछाउ’मा आएर मानवीर र जुरेलीमा परिणत भएका छैनन् ? फेरि यी दुवै पात्रले मृत्युवरण गरे पनि गुमानेभित्र यिनको अतीत कहानी जीवितै छैन र ? ‘बसाइँ’ भित्र परित्यक्ता झुमालाई अँगाल्ने मोटे कार्कीको कथा टुङ्गिएको छ र ?
‘शरणार्थी’ भित्र विभिन्न उपन्यास तथा कथाका पात्र–पात्रीहरु जुरुक्क उभिएर अघि बढ्ने क्रममा ‘ब्रहमपुत्रको छेउछाउ’को गुमाने पनि पछि परेको छैन । ऊ एक दिन अघि बढ्दै नीलाचल पर्वतमा कामख्या मन्दिरछेउ आफ्ना अभिभावक काकती बाबुसित भेट गर्न पुग्छ । त्यतैबाट ऊ लाग्छ बी.बरुवा रोड आफ्ना लेखकको घरतिर । बिरक्तिएको गुमाने लेखकसितै प्रश्न राख्छ, किन ‘बसाइँ’ को धने बस्नेतलाई बसाइँ सर्न लगाइयो ? उसलाई देशभित्रै सङ्घर्ष गर्न किन लगाइएन भनेर ।

बिचरा क्षत्री सर यसको के उत्तर दिउन् ? केवल मनमनै भन्छन्– ‘हेर गुमाने ! यथार्थमा आज पनि नेपालीभित्र यो बसाइँको परम्परा कहाँ टुङ्गिएको छ र हिजोआज देशका राम्रा चिकित्सक, प्राविधिक, अधिवक्ता, शिक्षाविद् र त्यस्तै बुद्धिबलमा भर पर्नेहरू अमेरिका र ब्रिटेनतिर धाउँदै छन् भने पाखुरीको भरमा गरिखान सक्नेहरू आफ्नो भिटा बेचेर भए पनि अरबी देशका तेलकूपमा पौरन बल गर्दै छन् । कति मेघालयको खेलेरियाट कोइलाखानीमा पनि गएर पुरिँदै छन् । यसरी देशको श्रमशक्ति र बौद्धिक सम्पदा बाहिरिँदै छन् भने देश विकासको निम्ति को सङ्घर्ष गर्ने ?

अहिले त यस्तो छ, झन् अर्द्ध शताब्दी अघि सामन्त र शोषणले निलेको धर्म बस्नेतको युग– जुन युगमा मयलपोश दौरा र सुरुवाल लाएर निधारमा सिँदुरको टीको धारण गरेको कुनै व्यक्ति गाउँमा पस्यो भने लौ राजाको सिँदुर पहिरेको सिपाही आयो भनी गाउँलेहरू घरभित्र लुक्थे । टिनका बाकस काँधमा हालेर बुट पड्काउँदै हिँडेका. दुई जना लाहुरेले लौ यो सरकारी तोडा हो, बोकेर फलानो गाउँसम्म पुर्याइदे भनेर खेतमा काम गर्दै गरेका किसानलाई भारी बोकाउँथे । त्यो युगमा सबैतिरबाट हरितन्नम भइसकेको धने के खाएर सङ्घर्ष गरोस् ? तिम्रो क्षत्री सरले यथार्थ लेखेको हो गुमाने भाइ, धनेलाई बसाइँ हिँडाएको होइन । उसको उद्देश्य नै बसाइँ हिँड्न बाध्य हुने त्यो परिवेश र परिस्थिति देखाउनु हो ।

त्यो परिवेश र परिस्थिति आज पनि कहाँ पुछिएको छ र ? अझ नौलो रूप लिएर जिउँदो छँदै छ । अब धरावासीको ‘शरणार्थी’ कै कथालाई नियालेर हेरौँ न । रामप्रसाद खनालको परिवार बिचरा, बर्मेली भट्टराईजस्ता आफूले पनि विस्थापित जीवन भोगेका, दधीचिकै अन्तर भएका व्यक्तिको सहयोगले एक प्रकार राम्रै गरिखाँदै थिए । दुःख–सुख चलेकै थियो । तर कहाँबाट झट्ट देखा पर्यो परमानन्द असुर जसले रामप्रसादको पारिवारिक जीवनको इतिश्री नै पार्यो । फेरि थपियो पदमजस्तो नराधम व्यक्ति जसले खनाल परिवारकी छोरी मात्र होइन आफ्नै जेठानी दिदीको पनि अपहरण गन्यो । ‘खनालको शत्रु नै रहेछ त्यो पापी । छोरी लगेर पुगेन, बुहारीसम्म छोडेन दुष्टले ।’ (पृ. १३७)

पदमको पनि चोला उठ्यो र हरि खनाल आफैँ मलामी गएको छ । हरि आफ्नी स्वास्नीको अत्यधिक माया गर्छ । उसको जार पदम बितिसकेपछि लेखक हरिलाई स्वास्नीसित सम्झौता गरेर साथै राख्ने सल्लाह दिन्छन् तर मनको भावुकतामा बगेर आफ्नो बचेखुचेको आत्मप्रतिष्ठालाई तिलाञ्जलि दिन सक्दैन हरि र लेखकलाई यस्तो कुरा मुखले भनिहाले पनि किताबमा नलेख्ने आग्रह गर्छ ।

हरि खनाल सबै कुराले गर्दा बेहोसीको अवस्थामा पुगिसकेको छ । ऊ मनको पनि तनको पनि हरिकङ्गाल भइसकेको छ । अब फेरि, जुन मेची तरेर ऊ नेपाल पसेको थियो, त्यही मेची तरेर नेपाल छोड्न उसलाई बेर लाग्ला त ? जबसम्म पेटमा हरि नभएका परमानन्द र यौनान्धा पदमजस्ता व्यक्ति देशभित्र छन्, हरि खनालजस्ता व्यक्ति देशभित्र टिक्न गाह्रै पर्छ र बसाइँ हिँड्ने क्रम पनि टुट्दैन । अब ‘शरणार्थी’ बारे मनमा घत परेका दुई वटा विषयको उल्लेख गरेर मेरो गन्थन टुङ्ग्याउन चाहन्छु ।

आजको फ्रायडवादले प्रभावित साहित्यमा यौनसम्बन्धीलाई उपन्यास वा कथाहरूले एउटा अपरिहार्य अङ्गको रूपमा अँगालेको परिलक्षित हुन्छ । तर शरणार्थीमा जयमाया र जयबहादुर भनौँ वर्था र जयबहादुर अझ भनौँ जयमाया र चन्द्रप्रकाश पनि, यी सबैले केही काल सँगै बसेर बाहिरबाट हेर्दा पति–पत्नीकै जीवन व्यतीत गरेका छन् तापनि उनीहरूमा शारीरिक सम्बन्ध रहँदैन । केवल उनीहरू आत्मिक बन्धनमा बाँधिएर, भनौँ मायाको जालोमा उनिएर आफ्नो कर्तव्य पालन गरिरहेका हुन्छन् । उनीहरूमा भविष्यको कुनै निर्दिष्ट लक्ष्य छैन । केवल बाँच्ने एउटा निहुँ छ । अझ जयमाया र जयबहादुरको सम्बन्ध त सम्पूर्ण आत्मिक छ । उनीहरू दुवै सम्पूर्ण एक–अर्कामा समर्पित छन् ।

जयमायाको शारीरिक आशक्तिमा जयबहादुर भन्छ– ‘तिमीले जुन धैर्यसाथ मेरो प्रतीक्षा गर्यौ र जुन अधीरताका साथ म तिमीसम्म आइपुगेँ, अब के बाँकी छ भन त ? त्यही अलिकति हामीबिच शरीरको दूरी छ, त्यसलाई त्यत्तिकै रहन दिएर के हामी जीवन व्यतीत गर्न सक्दैनौँ ?’ (पृष्ठ १५३) यसरी उनीहरू नैसर्गिक प्रेमभन्दा माथि आत्मिक प्रेमले बाँधिएका छन् ।

जयमाया र जयबहादुरको सम्पूर्ण परिवार उनीहरूको आफ्नो होइन । वर्था र चन्द्रप्रकाशको संसार नै उनीहरूको संसार भएको छ । अझ भएन, एउटा क्रूर बलात्कारी सिपाहीको अवैध सन्तान समेत उनीहरूको मायाको पात्र बन्न पुगेको छ । उनीहरू आफैँ एक–अर्काका को हुन् र ? उही संयोगले बाटामा भेट भएका तर असीम मायाले बाँधिएका निष्काम भावले कर्तव्यमा लिप्त । उनीहरूको सम्बन्ध एउटा निमित्त मात्र छ, एक–अर्कालाई बाँच्ने निहुँ ।

‘यस घरमा हाम्रो उपस्थिति लीलामय छ । हामी यस घरका जहानहरू जो एक– अर्काका लागि प्रेमले र माया, ममताले पागलझैँ छौँ । वास्तवमा हामी एक आपसमा को हो ? के हो ? कहाँबाट यहाँ भेला हुन आइपुग्यौँ ? कहाँको तयारीका लागि समेत ?’ (पृष्ठ १५२) यसरी विचार गर्दा सबै भ्रम लाग्छ, सबै यहाँ निमित्त मात्र, सत्य यहाँ केही छैन । ‘अव्यक्तादीनि भूतानी व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।’

जन्मअघि न कोही थियो, मृत्युपछि न कोही रहन्छ । माझमा केवल चार दिनको रामछाया झैँ प्रकट्य छ ।

जयमाया र जयबहादुर को, कहाँ, कहाँकालाई लिएर मायाको जाल बुन्दै निष्काम कर्तव्यमा लिप्त छन् यो माझमा देखा परेको प्रकाश्य जीवन बिताउँदै, आफ्नो अन्त्य भेट्नको निम्ति । उनीहरूले आशा गर्ने फल केवल मृत्यु हो । अरू त सबै भ्रमित नै छ । फेरि उही गीताकै कथन–

‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।’

यहाँ पनि फलित छ । जयमाया र जयबहादुरको न कर्तव्य नै अधिकारको वस्तु भएको छ, फलमा अधिकार कहाँ छ र के छ त उनीहरूको ? लेखकले दिन खोजेको लीलालेखनको रहस्य पनि यिनै चरित्रभित्र खोज्नु पर्छ ।

उपन्यासमा लेखकले एउटा समस्याको उत्थापन गरेका छन्– जो हाम्रो निम्ति जातीय समस्या नै भइसकेको छ । अर्थात् कुम्लो बोकेर विस्थापित हुँदै हिँड्नु पर्ने समस्या, शरणार्थीको समस्या । नेपालीहरू बर्माबाट लखेटिए, भोटाङबाट लखेटिए, पूर्वोत्तर भारतबाट पनि छट्याकछुटुक लखेटिँदै छन् अनि अझ बढी लखेटिने सम्भावना छँदै छ ।

यस समस्याको समाधान केवल देशभित्र फर्कनु होइन । लेखक आफैले मुखबाट समाधान ओकलेका छन् यसरी– ‘…हामीले जित्न त सिङ्गो विश्वबाटै परायापनको हार हुनुपर्छ । जातीयताका काला दागहरू मेटिनु पर्छ । सारा संसार एउटै मानव जातिको घर नभएसम्म हामी पात्रहरूको जित असम्भव छ ।’ (पृ. १६६)

‘लेखक भ्रमित छ ।’

हो, निश्चय नै लेखकसितै आदर्शमा आस्था राख्ने सबै भ्रमित छन् । कारण वसुधैव कुटुम्बकमकाे उनको विशाल आदर्श कल्पनाको विपरीत, वास्तविक यथार्थ सङ्कुचित हुँदै छ । सम्पूर्ण विश्व नै खण्ड–खण्डमा विभाजित हुँदै गइरहेछ । यही पूर्वोत्तर भारतको अघिको बृहत् असम हाल सात वटा स–साना राज्यमा बाँडिएको छ र अझ बडोलेन्ड गारोलेन्ड, कार्बिलेन्ड आदिको स्वर चर्कँदै छ । यी लेन्डहरूको वृद्धिले नेपाली लेन्डलेस भएर विस्थापिने सम्भावना नकार्न सकिँदैन । कागजी आदर्श र सिद्धान्त यथार्थमा कहाँ परिणत भएको छ र ?

लेखकको मैले बुझेको भित्री विचारसित आफ्नो पनि विचार मिलाउँदै म के भन्न चाहन्छु भने नेपालभित्र लगभग तीन करोडको जनसङ्ख्या होला तर नेपाली नै मूलका त आधिसरो मात्रै होलान् । अन्तरदेखि नै सबैमा देश बनाउने भावना जागृत भयो र वास्तविक राष्ट्रियता पलायो भने छ करोड जनसङ्ख्या धान्न सक्ने त्यस देशको क्षमता छ । त्यसैले, जुन नेपालीको नेपाल बाहिर रहर गर्ने र भर पर्ने ठाउँ छैन र शरणार्थी बन्नु नै पर्ने स्थिति छ, ती नेपाल फर्कुन् र अरूले पूर्ति गर्ने रिक्त ठाउँ उनीहरू पूर्ति गर्न कटिबद्ध होउन् ।

रिक्त ठाउँ पूर्ति गरुन् भन्ने कुरामा अलिकति आफ्नै अनुभव लेखिहाल्न मन लाग्यो र यति आफ्नै लीला देखाउने धृष्टता गरेँ । संयोगले त्यो दिन काँकडभिट्टामा बास पर्यो । बेलुकीपख भोक लागेको अनुभव गरेँ । कसैको पाहुना थिएँ । भान्सालाई अझ ढिलो थियो । बजारतिर निस्केँ । भारतमै हुर्केको मानिस । खाजाका रूपमा मिठाई, हलुवा, पुरी, कचौरी, चना, छोले खान अभ्यस्त । बजारको एक फन्को मार्दा आफ्नो रुचिको वस्तु कतै फेला परेन मेची तरेर पानीट्याङ्कीसम्म पुगेको भए त्यसको अभाव हुने थिएन ।

त्यसैले रिक्त ठाउँ पूर्ति गर्ने क्रममा उनीहरू हलवाईको दोकान थापेर पुरी, मिठाई, कचौडी, छोले आदि खाद्यान्न वस्तु बेच्न पनि सिकुन् । कारण दही चिउरा, रक्सी मासुले मात्र अघाउने भए अन्यत्रको हलवाई पसलमा नेपाली भरिने थिएनन् । त्यसरी नै सिकर्मी, डकर्मी (राजमिस्त्री, काठमिस्त्री), टेलर, मोची, हजाम आदि सबै काममा हात लाउन् र रिक्तता नराखुन् । कारण यी सबैको खाँचो परिरहेको हुन्छ ।

अन्तमा, यस पुस्तकका भूमिका लेखक श्री दान खालिङज्यूकै स्वरमा म पनि यति थप्न चाहन्छु– धरावासी लेखकभन्दा बढी सम्पूर्णमा नेपाली जातिलाई अन्तरदेखि माया गर्ने व्यक्ति रहेछन्, जुन जातीय गुणको हामीमाझ ठुलो अभाव देखा परिरहेको छ । हामीमा धेरैजसो नै माया थोरै गर्छौँ, ईर्ष्या धेरै । उनको लेखन कौशल र दक्षतालाई अलग्गै राखेर यति मात्रको निम्ति पनि कृष्ण धरावासी मुरी-मुरी धन्यवादका पात्र छन् ।

बी. बरूवा रोड
मराखाली, उल्लूबारी
पिनः ७८१००७, गुवाहाटी, आसाम