
साहित्यकार गोबिन्द गिरी प्रेरणा रचित “सुश्री पारिजात” पढी सके पछि मनमा अनेक प्रश्न, कौतूहल र जिज्ञासा ले डेरा जमाएको छ । कति आफैले निरूपण गर्नु पर्नेछ भने कति यस समाज र परिवेशले दिनु पर्नेछ । किनकि यो पुस्तक पारिजातको जीवनको एक सिंहावलोकन नै हो भन्दा कुनै फरक नपर्ला । पुस्तकको आकार, प्रकार, बान्की र विषय सूचीले नै पुस्तक भित्र पारिजात अत्यन्तै थुप्रै विषय, सन्दर्भ र परिच्छेदहरूमा फैलिएको छ भन्ने प्रस्ट हुन्छ ।
साहित्यकार प्रेरणाले करिब करिब बिस वर्ष लाएर प्रकाशित यो पारिजातको जीवनी पुस्तकमा पारिजातका जन्म देखि मृत्यु सम्मका अनेकानेक घटना परिघटनाहरू समावेश गरेका छन् । उनका जीवनका हाँसो र रमाइलोको कथा निकै कम होला तर आँसुको कथा यस पुस्तकको पाना पानामा पढ्न पाइन्छ । उनको साहित्यमा, राजनीतिमा अनि सामाजिक सेवामा समर्पित जीवनका अनेक घुम्ती तथा साना साना घटनाहरू पनि यथाशक्य यस पुस्तकमा उनले समावेश गरेका छन् ।
हुन त मलाई पारिजातको जीवनीको यो पुस्तकलाई शीर्षकले अलिकति साँघुरो पारिदिएको जस्तो लाग्छ । आज सम्म पारिजातको जीवनी सम्बन्धी प्रकाशित जति पनि पुस्तक छन्, तिनमा यो पुस्तकमा जति विस्तृत र फराकिला विषय एवम् सन्दर्भहरू समेटिएका पाइन्नन् यति विस्तृत रूपमा अरू कुनै पुस्तकमा समेटिएको मैले नदेखेको, नभेटेको मात्र होइन मेरो जानकारीमा समेत छैन । त्यसैले “सुश्री पारिजात” शीर्षक नभई “पारिजातको जीवनी एक सिंहावलोकन” भएको भए अरू विस्तृत र ठुलो परिधि समेट्न सक्ने थियो कि भन्ने मेरो आफ्नो व्यक्तिगत विचार हो । समय र मिहिनेतको हिसाबले लेखक प्रेरणाको यो पुस्तक एक महत्त्वाकाङ्क्षी पुस्तक हो भन्ने मलाई लाग्दछ ।
पुस्तक पढ्न सुरु गरे पछि नै मलाई आफू काठमाडौँमा अध्ययन गर्न बस्दाको समय विसं २०२८ साल तिरको सम्झना झलझली आइरह्यो । म त्यस समयमा त्रिचन्द्र कलेजमा आईएस्स्सि अध्ययन गर्थे । विद्यार्थी राजनीतिको गढ थियो त्यो कलेज । मेरो बसाई क्षेत्रपाटी । प्रेम कैदी, पशुपति वाग्ले, तिलक पराजुली, तारा न्यौपाने, गोपाल सिवाकोटी, लीलामणि पोख्रेल अन्य थुप्रै विद्यार्थी नेता बस्ने क्षेत्रपाटी क्षेत्र । धेरै जसो विद्यार्थीको भेला त्यहीँ पशुपति वाग्लेको डेरामा हुन्थ्यो। अलिक तल बाङ्गेमुढाको चौकनिर एउटा अग्लो घर । त्यो घरको पाँचौँ तलामा बस्थे मन्जुल र रामेशहरू । प्राय साँझ राल्फाली गीत सङ्गीतको माहौलमा सामेल हुन पुगिन्थ्यो । गीत सङ्गीत र साहित्यका थुप्रै विचार विमर्श भएको म सम्झन्छु ।
अनेरास्वबियू चौथो र पाँचौँ महाधिवेशनको विवादको समस्या समाधान गर्नको लागि रात दिन भेला र दौडा दौडमा वरिष्ठ अधिवक्ता शम्भु थापा, गुरु बराल अनि लिलामणि पोखरेल सँगै दौडेको अहिले पनि झलझली याद आइरहेको छ ।
त्रिचन्द्र कलेज युनियनमा उम्मेदवार बनेर कलेजमा भाषण ठोकेको पनि मधुरो सम्झना यदाकदा आई नै रहन्छ !
त्यस समय प्रगतिशील साहित्यका पत्रिका धरान बाट प्रकाशन हुने “छायाँ”, विराटनगर बाट “प्रकास” चितवन बाट “लालुपाते” अनि त्यस्तै काठमाडौँबाट “संकल्प” र “वेदना’ प्रकाशित हुन्थे । त्यस समयका साहित्यका विषयमा बहस र चर्चा हुने यिनै केही पत्रिका थिए ।
यस्तै राप र तापले विसं २०२९ सालमा मेरै सम्पादन र प्रकाशनमा “पूर्वेली धुन” काठमाडौँ बाट प्रकाशित भयो । यो सामयिक साहित्यिक सँगालो पत्रिका थियो । त्यसमा सो समयका प्रबुद्ध लेखक तथा साहित्यकारका रचना तथा लेख प्रकाशित गरिएको थियो । खगेन्द्र सङ्ग्रौला, टीआर विश्वकर्मा, बिदुर उपाध्याय, डा. सरोज धिताल अनि अरू थुप्रै साहित्यकारका लेख रचना त्यस प्रकाशनमा प्रकाशित भएको थियो । प्रगतिशील साहित्यिक वृत्तमा सो “पूर्वेली धुन” एक चर्चा परिचर्चा भएको मैले याद गरेको छु ।
नेपाली साहित्यका त्यस बेलाका चर्चित साहित्यकार पारिजात क्षेत्रपाटीदेखि धेरै नजिक म्हेपीमा बस्थिन् । मेरा अभिन्न मित्रहरू माधव प्रधान, नेवज गुरूङ, कमल तामाङ प्राय दैनिक जसो पारिजातलाई भेट्न गइरहन्थे । त्यहाँ भएको गीत सङ्गीत र साहित्यिक छलफलको बारेमा म अनभिज्ञ हुने त प्रश्नै थिएन । मलाई पारिजात दिदीकोमा भएको छलफल, कार्यक्रम र क्रियाकलापको बारेमा मित्रहरूले सुनाउने गर्थे । तर अहिले यत्रो वर्ष पछि मेरो मनमा त्यो प्रश्न शूल जस्तो भएर अड्किएको छ कि त्यति नजिक बिचारमा मात्र होइन बसाइँको भएर पनि पारिजातसँग मेरो किन भेट भएन ? गोबिन्द गिरी प्रेरणाको पुस्तक पढ्न थाले देखिको मेरो मनमा उब्जेको यो प्रश्नको जवाफ मैले अहिले सम्म भेटिरहेको छैन । वास्तव मै पारिजात सँग मेरो प्रत्यक्ष भेट कहिले पनि भएन ।
खै जे होस् जुनै कारणवश भेट नभएता पनि पारिजातको साहित्य लाई मैले देशमा होस् या प्रवासमा हुँदा नै पनि सदा बोकी नै हिँडे । प्राय जसो नेपाली भाषा र साहित्यिक रचनाको छलफल र चर्चा परिचर्चाको केन्द्र बिन्दुमा पारिजातका सिर्जना नै हुने गर्थे । बोस्टनको नियमित साहित्य सङ्गम कार्यक्रममा पनि डा. महेश मास्के, डा. मबी सिंह, आशुतोष तिवारी र अन्य थुप्रै बसेर पारिजातको कथा र अन्य साहित्यको चर्चा परिचर्चा गर्दै रह्यौँ । भर्जिनियाको कोठे साहित्यिक भेटघाटमा पनि पारिजातको साहित्यिक सिर्जनाको बारेमा पटक पटक छलफल भई राखेको नै हो ।
पारिजात नेपाली साहित्य आकाशमा कहिले नडुब्ने एक उज्ज्वल नक्षत्र हुन् । नेपाली साहित्यमा पारिजात एक चर्चित र लोकप्रिय साहित्यकार हुन् । चर्चित यस अर्थमा पनि हुन् कि उनी पहिलो महिला साहित्यकार हुन् जसले शिरीषको फूल उपन्यासमा विसं २०२२ सालमा मदन पुरस्कार प्राप्त गर्यो । उनी यति लोकप्रिय हुन् कि जसले साहित्यमा मात्र ख्याति प्राप्त गरिनन् महिला अधिकारकर्मी, मानव अधिकारवादी नेत्री र सामाजिक अभियन्ताको रूपमा जीवनभर सक्रिय रूपमा लागि परेकी थिइन् !
पारिजातको जीवनी गाथाको यो पुस्तक प्रकाशन गर्न लेखक गोविन्द गिरी प्रेरणाले आफ्नो उर्वर बिस वर्ष समय लगाएका छन् । उनको मिहिनेत र समयको उचित मूल्य पाएको छ यो पुस्तक प्रकाशनले भन्ने मैले ठानेको छु । करिब चार सय पृष्ठको यो पुस्तकमा पारिजातको जीवनका कुनै पनि अंश छुटेको छैन होला भन्ने मलाई लाग्दछ । अझ उनको जीवनका व्यक्तिगत चरित्रका बारेमा होस् या कुनै कमी कमजोरी नै किन नहोस् यस पुस्तकमा समावेश भएको छ भन्ने मलाई लाग्दछ । उनका पिडा, व्यथा, हरेक दैनिकी नै किन नहोस् यस पुस्तकमा मैले थाहा पाए सम्म यहाँ समावेश भएको मैले पाएको छु ।
सङ्क्षेपमा पारिजातको व्यक्तित्वलाई मैले सम्झनु पर्दा उनी आफ्नो जीवनका सुख दुख लुकाउने होइन खुलस्त गर्थिन् । उनको जीवन नै एउटा खुला किताब जस्तै थियो । उनको ढोका सबैका लागि खुल्ला थियो । स्वभावमा उनी संस्कृति, शिष्टता र सौन्दर्य प्रति बढी रुचि भएको एक निर्भीक, स्वाभिमानी र विद्रोही प्रकृतिको व्यक्तित्व थिइन ।
करिब ३६ वर्ष नेपाली भाषा साहित्यमा अनवरत लागिपरेकी उनले साहित्यका विभिन्न विधाका बिस वटा अमूल्य साहित्यिक कृति दिएर गएकी छिन ।
उनका साहित्यिक कृतिहरूको विवेचना गर्दा धेरै समालोचकहरूले उनलाई स्वछन्दतावादी, विसङ्गतिवादी, अस्तित्ववादी र प्रगतिवादीमा विभक्त गरिएको पाइन्छ ।
पहिलो कविता सङ्ग्रह विसं २०१४ सालमा प्रकाशित “आकाङ्क्षा” कवितालाई स्वच्छन्दतावादी र भावुक प्रकृतिका रचना मानिन्छन् । दोस्रो अवधि विसं २०१९ साल देखि २०२२ साल सम्म लाई केलाउँदा उनका दिनहरू शारीरिक र मानसिक रूपले धेरै कष्टप्रद, चरम पीडादायी क्षण र यातनाले गर्दा पलायन बनिसकेको दिनहरू । त्यही अवधिमा नै मानव मूल्य र जीवन मूल्यसँग नै पलायन जस्तो भएर विसङ्गतिवादीको रूपमा उपन्यास “शिरीषको फूल” लेखिन् ।
विसं २०२२ देखि २०२९ सम्मको अवधिलाई अस्तित्ववादी र प्रगतिशील लेखनतर्फ अग्रसर भएको देखिन्छ । यस बारेमा उनी आफैले भनेकी छिन् “जीवनक्रममा आइलाग्ने अत्यन्तै निराश, कुण्ठा भ्रम तथा मानसिक तनावहरू देखि मुक्त भई त्यस्तै परिस्थिति देखि उब्जिएका विद्रोह र आकाङ्क्षालाई सही धारमा लगाई जीवनको सही मूल्य र सही बाटो पहिल्याउने क्रममा म प्रगतिशील लेखन तर्फ अग्रसर भएकी हुँ ।”
यही अवधि राल्फाकालीन अवधि पनि हो । यस अवधिमा उनको लेखनमा तीव्र आक्रोश छ। तीव्र विरोध छ अनि विद्रोहको जन्म भएको देखिन्छ । त्यस पछिको उनका साहित्यिक लेखनले प्रगतिवादीतिर उन्मुख भएको देखिन्छ ।
समग्रमा उनको साहित्यिक लेखनलाई संक्षेपमा विभक्त गर्दा पहिलो उनका लेखनमा आएको स्वछन्द लेखन र पछिल्लो चरणमा उनमा आएको राजनीतिक बिचारको परिवर्तनले उनका साहित्यिक लेखन प्रगतिशील बिचारको देखिन्छन् ।उनी अत्यन्त संवेदनशील र प्रखर आत्मबलयुक्त अनि अत्यन्त महत्त्वाकाङ्क्षी व्यक्तित्वमा गनिन्छन् ।
दार्जिलिङबाट काठमाडौँ नै पारिजातका हरेक गतिविधिले चर्चा परिचर्चा पाइरहेको देखिन्छ । पुतली सडकमा बस्दा होस् या म्हेपी नै बस्दा किन नहोस् सबै साहित्यिक व्यक्तित्वहरूकाे केन्द्र बिन्दु नै उनी भएको देखिन्छ । नेपाली साहित्यका स्थापित र चर्चित साहित्यकारहरूको केन्द्र बिन्दु मै पारिजात भएकी थिइन् । किनकि त्यस बेला उनका कविताहरू “रोगी प्रेमको पत्र”, “मृत्युको अँगालोमा”, नसोध यो घाउ”, मेरो पपलर्को रुख”, सँगै मरौँ” र “उपायहीन साँझ” आदि उनका बहु चर्चित कविता बाट ख्याति कमाई सकेकी थिइन् । त्यसपछि र सो दौरानमा उनको चर्चा परिचर्चा, आरोप प्रत्यारोप, समालोचना आलोचनाको विरुद्धमा एक्लै सतिसालको रुख झैँ डटेर मुकाबिला गर्न सक्ने एक्लो पारिजातमा अथाह सृजनशील शक्ति थियो । शारीरिक अपाङ्गता भए तापनि कसैसँग झुकेर र निष्क्रिय कदापि बस्न नरुचाउने एक अदम्य साहसिक आत्मबल भएको नारी थिइन् ।
साहित्यकार गोविन्द गिरी प्रेरणा कृत करिब चार सय पृष्ठको “सुश्री पारिजात” पुस्तक पारिजातको आजसम्म उनको जीवनीमा प्रकाशित पुस्तक भन्दा धेरै विषय, सन्दर्भ र अनेकानेक दृष्टान्तहरूले गर्दा यो पुस्तक गहन र गहकिलो छ भन्ने मलाई लाग्दछ । यस पुस्तकभित्र उनको जीवनका हर कोणको उतार चढाव उल्लेख छ । उनका सामाजिक, राजनीतिक र वैयक्तिक घटना परिघटना छताछुल्ल पोखिएका छन् । त्यसरी नै उनका चरित्र चित्रण, आनीबानी, सर सङ्गत, राजनीतिक उतार चढाव अनि उनका व्यक्तिगत चारित्रिक घटना परिघटनाका यावत प्रसङ्गहरू लेखकले यस पुस्तकमा समेटेका छन् ।
लेखकले ती तमाम तथ्य सङ्कलन गरेर लेखिका पारिजातको सम्पूर्ण जीवन कथा तयार गर्नको लागि करिब बिस वर्ष लागेको बताएका छन् । यस पुस्तक भित्रका कतिपय प्रसङ्ग र घटना परिघटनालाई लेखकले सत्यता प्रकट गर्नको लागि सम्बन्धित प्रसङ्गको विषयको प्रमाणिक लेख, टिप्पणी र अन्तर्वार्ता समेत साथ साथै प्रस्तुत गरेका छन् । यसले उनले प्रस्तुत गरेको तथ्यको पुष्टि गर्दछ र विश्वसनीयतामा त्यति शङ्का गर्ने ठाउँ रहन्न ।
पारिजात अदम्य साहस भएकी एक अथक योद्धा थिइन् । जस्तै दुख, पिडा र अनगिन्ती व्यथा आफूभित्र समेटेर पनि कसैसँग लाचार नबनेर, सम्झौता नगरेर आफ्नो स्वाभिमानलाई उँचा राखेकी थिइन् । यस पुस्तकभित्र दार्जिलिङदेखि काठमाडौँ सम्मको अनगिन्ती दुखका पीडाका कथाहरू जताततै भेटिन्छन् । घर व्यवहार कसरी चल्थ्यो । को सँग सापट लियो । को सँग प्रेम भो । को सँग शारीरिक सम्बन्ध गाँसियो । पुस्तक प्रकाशनमा कसले पैसा हाल्यो । औषधि किन्न पैसा कसले दियो देखि लिएर कसले रक्सी ख्वाउन ल्यायो । यी र यस्तै यावत पारिजातका दैनिकीहरूको फेहरिस्त समेत यस पुस्तकमा पढ्न पाइन्छ ।
नाट्य सम्राट् बालकृष्ण समले भनेका थिए “आत्म वृत्तान्त र जीवनी लेखनकोको लागि इमानदारी आवश्यक छ । तर इमानदार हुन् सकिँदैन” । त्यस्तै नेपाली काँग्रेसका नेता तथा साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाले भनेका थिए “ राजनीतिमा सानो मानिसलाई पनि पोसाक चाहिन्छ तर साहित्यमा सम्राट् पनि निर्वस्त्र हुन्छन्” ।
मेरो बिचारमा यही वाक्यलाई मनन गरेर लेखक प्रेरणाले पारिजातको जीवनीमा अङ्गीकार गरेका छन् । कतिपय प्रसङ्ग र घटनाहरू नराखे पनि पारिजातको महत्त्व न घट्ने नै थियो । न त यस पुस्तकको गरिमा मै आँच आउन सक्थ्यो । तर ती सब यस पुस्तकमा अटाएका छन् ।
“सुश्री पारिजात” पारिजातको जीवनका व्यक्तिगत आचरण, विचरण, पिडा, व्यथा, अन्तरङ्ग सम्बन्ध र असफल प्रेमका कथा यत्र तत्र भेटिन्छन् । अझ उनका खुल्लमखुल्ला शारीरिक सम्बन्धका कुरा पनि छन् । ती वास्तवमा कल्पना भन्दा बाहिरका कुरा थिए ।
नेपाली भाषाका धेरै वरिष्ठ साहित्यकारहरूको व्यक्तिगत आचरण, विचरण र कतिपय कमी कमजोरीका किस्साहरू यत्रा तत्र बजारमा सुन्न पाइन्छन् । तर ती व्यक्तिगत आलोचना र कमी कमजोरीका कुनै अंश प्रकाशन भएको मलाई थाहा छैन ।
तर जसरी साहित्यकार पारिजातका विषयमा खुल्लमखुल्ला बहस र लेखिएका भेटिन्छन् त्यसरी अरू नेपाली भाषा साहित्यका कुनै पनि साहित्यकारको विषयमा लेखिएको पाइँदैनन् । वास्तवमा मैले पढेको थाहा छैन ।
नेपाली साहित्यकार मध्येमा सबै भन्दा चर्चित, सम्मानित र प्रशंसित कोही छन् भने उनी पारिजात मात्र हुन् । यस अर्थमा साहित्यकार पारिजात सबै भन्दा उच्च एक निष्ठावान् एक महान् साहित्यकार हुन् । जो जसको साहित्य र व्यक्तित्व यति उँचा छ कि उनका कुनै पनि र कुनै सन्दर्भका किसिमका कुराहरूले असर नै पर्दैनन् । तसर्थ मेरो बिचारमा नेपाली साहित्यका उनी एक महान् साहित्यकार हुन् । यस पुस्तक भित्र समाहित भएका पारिजातका जीवनका आरोह अवरोहमा तमाम दुख र पीडाका प्रसङ्गले अझ उनी सबैका प्रिय भएको मैले मानेको छु । वास्तवमा यो कृति पारिजातको निजी जीवनका सम्पूर्ण झाँकीहरू यथेष्ट प्रमाणका साथ प्रस्तुत गर्न सफल एक विशिष्ट कृति हो भन्ने मलाई लाग्दछ ।
कुनै पनि नेपाली साहित्यकारको जिन्दगी यति खुल्ला र उदाङ्गो भएको मैले पढेको छैन । यस पुस्तकमा भएका ती दुख, पिडा र कमजोरीहरू अन्य कुनै साहित्यकारका बारेमा नभएका त पक्कै होइनन् होला । तर प्रकाशमा नआएको मात्र नै होला । त्यसैले पारिजात एक खुल्ला पुस्तक हुन् । जो जसले जसरी पढे पनि हुन्छ । तसर्थ पारिजात हामी बाँचेको युगको को एक शक्तिशाली नेपाली महिला साहित्यकार हुन् भन्ने मेरो ठम्याइ छ ।
यी सबै सन्दर्भले गर्दा यो पुस्तक “सुश्री पारिजात” पुस्तकले उनी नेपाली भाषा साहित्यका एक महान् साहित्यकार हुन् भन्ने कुराको पुष्टि गरेको मैले ठानेको छु ।
यसै सन्दर्भमा एउटा अर्को प्रसङ्ग जोड्न चाहेँ । हाल सालै पारिजात साहित्य प्रतिष्ठान, नेपालको आयोजनामा पारिजातको बहिनी वा जीवनभर साथ दिने एक सहयोद्धा सुकन्या सँगको अन्तरवार्ता सुन्ने मौका पाएको थिएँ ।
डा. महेश मास्के सँगको सो अन्तर्वार्तामा पारिजातको बहिनी सुकन्याले यो “सुश्री पारिजात” पुस्तकको बारेमा चर्चा नै गर्नु नपर्ने भनेका छन् । अलिकति अस्वस्थ जिज्ञासा राखिएकोले यस पुस्तकका लेखकप्रति अलिकति गुनासो प्रस्तुत गरेकी छिन् । तर अन्य कुनै कारण खुलाएकै छैनन् । लेखक सँगको व्यवहार र लेखकले लेखेको त्यत्रो मेहनत ले तयार पारेको आफ्नी दिदीको पुस्तक बारेमा कस्तो हो भन्ने प्रतिक्रिया पाठकलाई दिनु पर्ने हो जस्तो लाग्छ मेरो बिचारमा ।
यस पुस्तकमा त्यस्तो केही अप्रमाणित, कुनै मनगढन्त या कुनै अप्रिय त्यस्तो केही उल्लेख भए त्यसको प्रतिवाद सुकन्या जस्तो जिम्मेदार व्यक्तिबाट आउनु पर्थ्यो । जस बाट पारिजात जस्तो लोकप्रिय साहित्यकारको बारेमा थप सत्य तथ्य सबैलाई जानकारी हुन सक्दथ्यो । तर त्यस्तो केही कारण खुलस्त नगरी गरिएको टिप्पणीले पाठक वर्ग अन्यौलता परेको मेरो ठम्याई छ ।
पारिजातको जीवन निकै सङ्घर्षमय देखिन्छ । जीवनयापनदेखि लिएर विचार सिद्धान्त र साहित्य सिर्जनालाई स्थापित गर्नमा अनेक आरोह अवरोह र घुम्ती पार गर्दै गर्दाको नमिठो क्षणहरूलाई पुस्तकमा केही ठाउँमा दोहोरिएको देखिन्छ । त्यस्तै पुस्तकमा उल्लेख गरिएका घटना र प्रसङ्गहरूको विश्वसनीयताको लागि अन्य कुनै श्रोत वा प्रकाशित लेख, रचना र अन्तर्वार्ता उल्लेख गरिएको छ । यी पनि केही स्थानमा दोहोरिएका छन् ।
अर्को महत्त्वपूर्ण कुरा चैँ पारिजातको मदन पुरस्कार प्राप्त उपन्यास “शिरीषको फूल” को प्रकाशनमा कसले पैसा हाल्यो, किन हाल्यो, प्रकाशकको नाम कसको अनि सो पुस्तकलाई मदन पुरस्कार पुरस्कृत हुनुमा सो पुस्तकमा भएको शङ्कर लामिछानेको भूमिकाले पनि अहम् भूमिका रहेको भूमिकालाई नै किन अतिरञ्जित भनेर भनेको होला भन्ने प्रश्न मेरो मनमा उठिरह्यो ।
पारिजात र डा. महेश मास्के बिचमा पटक पटक साहित्य र अन्य विषयमा चिठी पत्रको आदान प्रदान गरिएको कुरा यस पुस्तकमा धेरै ठाउँमा उल्लेख गरिएको छ । तर यस पुस्तकको विषय क्रममा सम्पादन, अनुवाद र स्तम्भ लेखनअन्तर्गत चिठी पत्रको शीर्षक अध्यायमा डा. महेश मास्केको पत्र भने छुट भएको छ ।
यी केही सामान्य कमजोरी भए पनि समष्टिमा सुश्री पारिजात नामक गोबिन्द गिरि प्रेरणाकृत जीवनी पुस्तक पठनीय र सङ्ग्रहनीय छ । नेपाली भाषा साहित्यको पाठक तथा अध्येताको लागि पारिजातको जीवनी मात्र होइन पारिजातकालीन नेपाली साहित्य र साहित्यकारको बारेमा अध्ययन गर्न पनि अत्यन्त उपलब्धिमूलक पुस्तक छ भन्ने मलाई लाग्दछ । त्यसैले यो पुस्तक एक पटक पढ्नै पर्ने पुस्तक हो ।
“सुश्री पारिजात” पारिजातको जीवनी पुस्तक आख्यानको शैलीमा लेखिएको हुँदा पुस्तक धेरै रोचक र रहरलाग्दो भएको छ । पाठकलाई चार सय पेजको पुस्तकमा कतै पनि अत्यास, बोझिलो र दिक्क लाग्दो भएको पाइँदैन । हरेक पाठकलाई पढ्नको लागि एउटा बेग्लै शैली को यो जीवनी पुस्तक अत्यन्तै उपयोगी बन्नेमा म विश्वस्त छु ।
“सुश्री पारिजात” पुस्तक पारिजातको साहित्यिक मात्र नभई जीवनका यावत झाँकीहरू समावेश भएका कारणले पारिजातको विषयमा सोध तथा अनुसन्धान गर्नको लागि अति नै सहयोगी पुस्तकको रूपमा सहायक सिद्ध हुन् सक्नेछ भन्ने मलाई लाग्दछ ।
लेखक गोविन्दगिरि प्रेरणाले जीवनी लेख्न प्रतिबद्धता जनाएका नेपाली साहित्य आकाशका उज्ज्वल नक्षत्रहरू शङ्कर लामिछाने र भूपि शेरचनका जीवनी पनि यथाशक्य चाँडो प्रकाशनमा आउन सकोस् मेरो कामना छ ।
भर्जिनिया, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

