पाल्पा जिल्ला ऐतिहासिक र प्राकृतिक सुन्दरताका दृष्टिले मात्र होइन शैक्षिक दृष्टिले पनि अगुवा जिल्ला हो । ‘पोखराथोक’ यस जिल्लाको शैक्षिक दृष्टिले अगुवा गाउँ हो । ‘पोखराथोक’ नामको गाउँ पञ्चायत, गाउँ विकास समिति हुँदै हाल यो ‘वगनासकाली गाउँपालिका’को वडा नं २ मा परिणत भएको छ ।

यही गाउँमा एउटा साहित्यिक संस्था क्रियाशील छ झन्डै अढाई दशकदेखि । ‘पोखराथोक साहित्य सङ्गम’ नामको यो संस्था २०५७ साल आश्विन १२ गते घटस्थापनाका दिन स्थापना भएको हो र यसले स्थानीय स्तरमा थुप्रै साहित्यिक कार्यक्रमहरू गर्दै आएको छ ।

संस्थालाई प्रारम्भमा केही समय आर्थिक कठिनाइसँग जुध्नु पर्यो । आर्थिक अभावका कारण संस्था जोगाउन नै हम्मे हम्मे परेको । संस्थाले जसोतसो आफूलाई सम्हाल्यो र टिकायो । त्यसपछि भने आजीवन सदस्यता वृद्धि हुँदै जान थाल्यो र संस्थाको अवस्था पनि क्रमशः सुध्रँदै जान थाल्यो । आजसम्म आइपुग्दा यसको पहिचान स्थापित भएको मात्र होइन ख्याति समेत निरन्तर बढ्दै गएको छ ।

यस संस्थाले २०६० सालदेखि ‘वाटिका’ नामक साहित्यिक सँगालो प्रकाशित गर्दै आएको छ ।

वार्षिक रूपमा प्रकाशित हुने ‘वाटिका’को पछिल्लो अङ्क वर्ष २० अङ्क २१, २०७९ हालै सार्वजनिक भएको छ । यस अङ्कको ‘अध्यक्षको कलम’मा भोग्नु, व्यहोर्नु परेका कठिनाइ र वर्तमान अवस्थाको कुरा उल्लेख छ । ‘वाटिका’मा प्रकाशित हुने सामग्री, ‘वाटिका’ प्रकाशनको उद्देश्य तथा ‘वाटिका के हो ?’ भन्ने विषयमा सम्पादक गोविन्द खनालले सम्पादकीयमा लेखेका छन् ।

‘वाटिका’को हरेक अङ्कको मुख पृष्ठमै लेखिएको हुन्छ ‘वाटिका साहित्यिक सँगालो’ । यही नाम अनुरूपको काम यसले गर्दै आएको छ सामग्री प्रकाशनको सन्दर्भमा ।

नेपाली भाषामा लेखिएका जहाँसुकैबाट प्राप्त सामग्री प्रकाशित गर्ने ‘वाटिका’को पछिल्लो अङ्कमा प्रकाशित सामग्रीहरू तर्फ दृष्टि पात गर्दा अन्तर्वार्ता, जीवनी, समालोचना, लेख, निबन्ध, नियात्रा र पत्र, कथा–लघुकथा, कविता, मुक्तक,गजल आदि समेत प्रकाशित भएको देखिन्छ । यो विगत देखिकै अभ्यास हो ।

पछिल्लो अङ्कमा अन्तर्वार्ता–१, जीवनी–१, समालोचना –१३,लेख, निबन्ध,नियात्रा र पत्र–८, कथा, लघुकथा–२६ तथा काव्य अन्तर्गत कविता, मुक्तक,गजल आदिसमेत ४८ गरी कुल ९७ वटा सामग्री प्रकाशित भएको देखिन्छ । त्यसका अतिरिक्त समस्यापूर्ति ३ वटा समेत प्रकाशित हुँदा कुल १०० सिर्जनाले यस अङ्कमा स्थान पाएका छन् । अघिल्लो अङ्क वर्ष १९ अङ्क २० मा १०८ अन्य रचना र पाँच समस्यापूर्ति  समेत कुल ११३ रचना प्रकाशित भएका सन्दर्भमा यो सङ्ख्या कम भए पनि पत्रिकाको आकार भने बढेको छ । पछिल्लो अङ्कका कूल ३५० पृष्ठ मध्ये साहित्यिक सामग्रीले ३२५ र २५ पृष्ठ सम्पादकीय, विषय सूची, संस्था सम्बन्धित सूचना र जानकारीलगायतका अन्य सामग्रीले ओगटेका छन् । यो अङ्क हालसम्म प्रकाशित सबैभन्दा बढी पृष्ठ भएको अङ्क हो ।

कथा,कविता, आदि मात्र होइन यसले आफ्ना हरेक अङ्कमा सैद्धान्तिक लेख,समीक्षा तथा समालोचनाहरू प्रकाशित गर्ने गरेको छ र बेलाबेलामा विशेषाङ्कहरू पनि प्रकाशित गरेको छ । २०७७ सालमा प्रकाशित   गजल विशेषाङ्क  र त्यसअघि प्रकाशित गरिएका लघुकथा विशेषाङ्क यसका प्रमाण हुन् ।

समस्यापूर्ति जस्तो हराउँदै गएको लेखनलाई ‘वाटिका’ले निरन्तरता दिँदै आएको छ । यो अत्यन्त प्रशंसनीय कार्य हो ।

नाटक बाहेकका साहित्यका विभिन्न विधाका उपविधासमेतका सामग्री यस अङ्कमा र हालसम्मका सबैजसो अङ्कमा अटाउँदै आएका छन् ।
पत्रिकाको आम्दानीको स्रोत विज्ञापन हो । तर ‘वाटिका’को विज्ञापनको हकमा पछिल्लो अङ्कमा   वगनासकाली गाउँपालिका परिवारको पछाडिको आवरण पूरा र अगाडिको आवरणको भित्री पृष्ठमा वगनासकाली गाउँपालिका वडा न २ तथा विष्णु माध्यमिक विद्यालय पोखराथोकको आधाआधा पृष्ठको विज्ञापन रहेको छ । त्यसबाहेक अन्य कुनै विज्ञापन प्रकाशित गरिएका छैनन् ।

पत्रिका पढ्दा थाहा हुन्छ संस्थाले विभिन्न नौ वटा पुरस्कार सम्मान दिँदै आएको छ र तिनका लागि अक्षयकोष राखिएको छ । संस्थाको आजीवन सदस्यको सङ्ख्या २९२ पुगेको छ । गाउँको संस्थाका दृष्टिले यो अत्यन्त राम्रो हो ।

आँट्यो भने सम्भव हुँदो रहेछ । गाउँले पनि साहित्यिक प्रकाशनलाई निरन्तरता दिन सक्दो रहेछ । यस्तै उदाहरण बनेको छ ‘वाटिका’ साहित्यिक सँगालो । यसका हरेक अङ्क पठनीय र सङ्ग्रहणीय पनि छन् । गाउँमै रहेर आआफ्ना काम गरिरहेका सर्जक एवम् साहित्य प्रेमीको प्रयास एवम् सहयोगी मनहरूको सहयोगले ‘वाटिका’ एउटा इतिहास रच्न र सबैतिर सुवास छर्न सफल भएको छ, यो नयाँ नयाँ इतिहास निर्माण गर्ने दिशातर्फ अग्रसर छ ।

‘वाटिका’ प्रेरणाको स्रोत हो सिकारु सर्जकका लागि र यसै गरी मोफसल र त्यसमा पनि गाउँमा बसेर पनि सिर्जना गर्न र साहित्यिक पत्रिका प्रकाशित गर्न सकिन्छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण र प्रेरणा पनि हो ।

आकर्षक आवरण सहितको साहित्यका विभिन्न विधाका सामग्री समेटिएको २१औँ अङ्क प्रकाशनका लागि सम्बद्ध सबैप्रति हार्दिक आभार एवम् ‘वाटिका’को निरन्तरता एवम् दीर्घ जीवनको लागि हार्दिक शुभकामना ।