परिचय

साहित्यमा कविता विधा अत्यन्तै समृद्ध विधा मानिन्छ । आधुनिक नेपाली साहित्य आकाशमा गद्य कविता सशक्त विधाको रूपमा स्थापित भएको छ । हजारौँ कवि मनहरूको अविरल बहावको रूपमा साहित्यिक कृतिहरूले पुस्तकाकार पाउँछन् र नेपाली साहित्य भण्डारमा स्थान जमाउँछन् । गद्य कविता सङ्ग्रह ‘पानीको विद्रोह’ डायस्पोरामा सक्रिय एउटा सशक्त नारी हस्ताक्षर प्रतिमा केसीको सुन्दर कृति हो । नेपाली साहित्य भण्डारमा थपिन आएको यस कृतिलाई जनता प्रसारण तथा प्रकाशनले बि.सं. २०७५ सालमा प्रकाशन गरेको थियो जसमा विभिन्न एक सय सत्तरी पेजमा गरी उनन्चास वटा गद्य कविता समावेश छन् ।

नीलो बेगवान समुद्री छालको रूपमा मडारिएको देखिने आकर्षक बाहिरी कभरको डिजाइन अनिल श्रेष्ठले गरेका छन् भने यसको भाषा सम्पादन निरुपा प्रसूनले गरेकी छन् । वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले यसको भूमिका लेखेका छन् भने साहित्यकार डा. दुबसु क्षेत्रीले समीक्षात्मक शुभकामना लेखेका छन् । डायस्पोरामा स्थापित साहित्यकार तथा विद्वता व्यक्तित्वहरू डा. कृष्ण अधिकारी, डा. रुपक श्रेष्ठ, बासु शर्मा, लक्ष्मी राई, विजय हितान र बिनोद अधिकारीले यस कृतिको बारेमा आफ्नो छोटो भावना तथा शुभकामना पोखेका छन् । “असल पुस्तकले जीवन परिवर्तन गर्दछ” भनेर प्रकाशकीय भनाई लेखिएको अन्तिम आवरण पृष्ठमा कवयित्रीको छोटो चिनारी प्रस्तुत गरिएको छ ।

पानीको विद्रोहको शीर्षकहरू सरसरती हेर्दा

पानीको विद्रोह शीर्षक आफैमा बिम्बात्मक छ । शालीनता र विद्रोह यसका दुई पाटा हुन । मुख्य शीर्षक रहेको ‘पानीको विद्रोह’ यो दुई शब्दको नाम सुन्ने बित्तिकै यसमा भयङ्कर आगो ओकलिएको भाव होला भन्ने स्वाभाविक पाठकमय अपेक्षालाई यसले अनपेक्षित तरिकाले अझ भनौँ पानीको निर्मल र शान्त रूपमा लगेर विश्रान्ति दिएको पाइन्छ । पुस्तक बारे साहित्यकार मोदनाथ प्रश्रितले लेख्नु भएको छ “कविता विविधतायुक्त छन्, अनेक रङमा- इन्द्रेणी जस्तै” । कवयित्री प्रतिमा केसीले यस कविता सङ्ग्रहमा समसामयिक जीवन र जगतको सबै पाटाहरूमा आफ्नो कवित्व छचल्काएको पाइन्छ ।

दैनिक जीवनमा उपलब्ध सयौँ समसामयिक विषय मध्य आफूलाई छोएको बिषयवस्तुलाई टपक्क टिप्ने र सहजै जनजिब्रोमा झुन्डिने गरी सरल भाषामा कविता लेख्ने अद्वितीय कला यसमा पाइन्छ । अत्यन्तै गह्रुङ्गो शब्द जाल, विम्ब र बुझ्न कठिन कविता मात्र स्तरीय सिर्जना हुन भन्ने परम्परागत सोच भन्दा फरक धारमा लेखिएका छन् उनका कविता । यस कृतिमा समावेश गरिएका उनन्चास वटा रचनालाई कुनै सामाजिक, आध्यात्मिक, राजनीतिक र आर्थिक  जस्ता वृहत् शीर्षक नदिई मुख्य रूपमा जीवन र जगत्, डायस्पोरा, पर्यावरण, महिला संवेदना, देशको समसामयिक राजनैतिक व्यवस्था  र हाम्रो सामाजिक अवस्था गरी छ वटा शीर्षकमा  विभाजन गर्दा कृति लाई अन्याय नहोला भन्ने लाग्छ । सबै रचनालाई विस्तृत रूपमा चर्चा नगरी त्यसको केन्द्रीय भावको सरसरती चर्चा पस्किने प्रयास गरिएको छ ।

जीवन र जगत्

पानीको विद्रोहमा सङ्ग्रहित कविताहरू सबै बहु आयामिक भएकोले एउटा शीर्षकमा कैद गर्न गाह्रो छ । चर्चा गर्न सजिलोको लागि ‘ऊ’, ‘आकाश रोएको बेला’, ‘ट्रान्जिट’, ‘खुसी’, ‘चङ्गा’, ‘सपना’ र ‘पाठशाला’ ले समग्र जीवन र जगतको विम्ब बोकेको अनुभूति  गराउने हुनाले यिनीहरूलाई एउटा समूहमा राखिएको छ  ।

“ऊ” सर्वनाम जस्तो सुनिने यस कविताले आध्यात्मिक चिन्तन र शाश्वत प्राकृतिक सत्यको बोध गराएको छ । श्वास, जसको कारण यो धर्तीमा प्राणीको अस्तित्व रहेको छ भन्ने बोधले कविता पढ्दापढ्दै टक्क रोकिएर एकटक मन्द मन्द श्वास फेर्न बाध्य बनाउँछ ।

‘आकाश  रोएको बेला’ एउटा बहुअर्थी बिम्बात्मक कविता हो ।

“आकाश म रुन बिर्सेको बेलामा पनि

मेरो सट्टामा रोइदिन्छ

अनि जब ऊ रुन्छ

म जरुर रोइदिन्छु”  (आकाश रोएको बेला)

यसमा एकातिर प्रकृतिसँगको एकाकार बिम्बित देखिन्छ भने अर्कोतिर मानवीय संवेदना । करुण रसमा लेखिएको यस कविताले पाठकलाई भावुक बनाउँछ । जसरी जहाजमा यात्रा गर्ने क्रममा हजारौँ यात्रुहरू ‘ट्रान्जिट’ मा आउँछन् र आआफ्नो गन्तव्यतिर लाग्छन् त्यसै गरी मनमा हजारौँ विचारहरू तछाड मछाड गर्दै आउँछन् र केही क्षणमा बिलाउँछन् भनेर एउटा मनरूपी सुन्दर ठाउँ (ट्रान्जिट)को यात्रा गराउँछ यस कविताले । मूर्तबाट अमूर्तको चर्चा गर्दै अन्तिम हरफमा भनिएको छ कि “जिन्दगीमा आउने जाने आरोह अवरोहको ट्रान्जिट मन रहेछ” । हुन त सयौँ अङ्ग्रेजी शब्द कुनै तत्सम र कुनै तद्भव रूपमा नेपालीकरण भैसकेका छन् तैपनि झर्रो नेपाली शब्द चयनमा अब्बल कवयित्री प्रतिमा केसीले यो कृतिमा ‘ट्रान्जिट’ अङ्ग्रेजी शीर्षक राखेर नयाँ प्रयोग गरेको देखिन्छ ।

शान्त रसमा लेखिएको नेपाली परिवेशको सुन्दर चित्रण हो ‘खुसी’ कविता । कवितामा उनी पोख्छिन् “मङ्सिरमा एक भकारी धान हुल्दा मुस्कुराएँ, असारे मकै भित्र्याउँदा उस्तै खुसी लाग्यो” यी पङ्क्तिले कसलाई पो गाउँको खले गरामा नपुर्याउला र ? आफैले रोपेको बिरुवा हाँस्दा आफ्नो सन्तान हाँसेको विम्ब देख्ने कवयित्री यहाँ सन्तानको खुसीको कामना गर्दै आफै एक्लै मुस्कुराउँदै भनेकी छन् दुखलाई स्वीकार गरेर मुस्कुराउनु जिन्दगी रहेछ खुसी त मनभित्र रहेछ ।

“अर्कैको इच्छा र इशारामा आकाशमा कावा खान्छ चङ्गा” भनेर कथित स्वतन्त्रता प्रति निर्मम प्रहार पाइन्छ ‘चंगा’ कवितामा भने यस्तै आशय बोकेको छ कविता ‘सपना’ ले । सपनामा उनी भन्छिन् “जहिले जहिले अलिकति खुसी सापटी लिन खोज्छु ठिक त्यही बेला आँधी हूरीको झोक्काले निर्ममतापूर्वक भुमरीमा घचेटिदिन्छ”। यी दुवै यस कविता सङ्ग्रहका निराशावादी धारका प्रतिनिधि कविता जस्तो लाग्छन् । जीवन एउटा ‘पाठशाला’ हो  तर हामीले यसलाई जसरी बुझ्न पर्ने हो त्यसरी बुझ्न नसकिएको गहिरो भाव सहित लेखेकी छन् “धन, बल, मान र शानको आशक्तिमा काम, क्रोध, लोभ र मोहमा डुलिरहेका हुन्छौँ एक दिन जानै पर्ने तीतो सत्य भुलिरहेका हुन्छौँ”। यो कवितामा कवयित्रीको आफ्नै उच्च आध्यात्मिक चिन्तनको परावर्तन हो कि भन्ने भाव झल्किन्छ ।

डायस्पोरा र कवयित्री

पानीको विद्रोह आफैमा विविध फूलरूपी सुन्दर कविताको माला जस्तो लाग्छ । पढ्दै जाँदा प्रस्ट थाहा हुन्छ कवयित्रीले परदेशमा बसेर घरदेश सम्झेर कविता कोरेकी छन् । यसका शीर्षक र शीर्षक अनुसारको भावमा आफू बग्नु र पाठकलाई पनि सँगै बगाउनु यसको विशेषता नै लाग्छ । कवयित्री जन्मेको माटो, जीवनको आरोह अवरोह  र अहिलेको परदेश बसाइँको पृष्ठभूमिमा कविताले फन्को मारिरहेको जस्तो पाइन्छ । उनको कवितालाई विभिन्न शीर्षकमा विभाजन गर्दा ‘बेलायतको कथा’, ‘परदेशमा पो देश दुख्दो रहेछ’, ‘मेरो देश जिउँदो रहेछ’, ‘देश, दसैँ र मन’, ‘मलेवाहरू’, ‘प्रवासमा पैयुँ फुल्दा’ र ‘त्यसैले ऊ नेपाली हो’ गरी सात वटा रचनालाई परदेश बस्दा घर देशको याद प्रतिबिम्बित भएको डायस्पोरिक कविताको रूपमा लिन सकिन्छ ।

पुस्तकको “मेरो भन्नु” मा उल्लेख गरेअनुसार सपरिवार बेलायतमा बसोबास गर्दै गरेकी कवयित्रीले ‘बेलायतको कथा’ शीर्षकमा लेखेकी छन् “तुलसी रोपिएको आँगनको डिलनेर गुन्द्री बिछ्याएर पारिलो घाम ताप्नु छ” यो भावले कसलाई पो जन्मघरमा नपुर्याउला? बेलायतको केही खुला संस्कृतिमा असहमति राख्दै गुनासो पोखेकीछिन

“प्रकृति नै शर्माउने गरी

असरल्ल बैंस पोखिएका

यी पार्कहरुको

कथा लेख्न मान्दैन मनले” (बेलायतको कथा)

परदेशमा भोगेका र भोगिने विभेदको विम्ब हो ‘परदेशमा पो देश दुख्दो रहेछ’ । कविताका हरफहरू पढ्दै जाँदा मन चस्स हुन्छ । उनले नेपाली हुनुको स्वाभिमानको जगमा लेखेकी छन् – “बिदेसिनुका बाध्यता बिच पनि मनले माटो र स्वाभिमान खोजिरहन्छ” । कविताको अन्तिम अनुच्छेदमा मर्मस्पर्शी भाव पोखेकी छिन्- “मन स्वदेशमा तन विदेशमा, देश छोडेको यही पीडाले परदेशीहरूको मनभित्र देश दिनहुँ दुख्दो रहेछ हो परदेशमा देश दुख्छ”। परदेश बसेर नेपालको सम्झनामा गर्व गर्ने देशभक्त नेपालीको कथा हो ‘मेरो देश जिउँदो रहेछ’ । वीर रसमा प्रस्तुत यस कवितामा म जहाँ जसरी रहे पनि  चन्द्र सूर्य अङ्कित रातो झन्डा र मेरो भाषा अति प्रिय छन् भनेर देशको मायाको सजीव चित्र उतारिएको छ ।

सबै प्रवासी नेपालीको कथा बोलेको छ ‘देश, दसैँ र मन’ कविताले । यसमा चाडपर्वको नाममा भएको बेतिथिलाई पनि निर्मम रूपमा उजागर गरेको पाइन्छ । चाडपर्वमा घरदेशमा नहुनुको भावदशा उनका यी पङ्क्तिबाट झल्किएको छ “छुटेका आफन्त र बाल्यकाल अनि सम्झनाका धुमिल तस्बिर मात्र, यही बाध्यता र विचलित मनको पिङमा यो प्रवासी मुटु नतमस्तक छ” ।  शीर्षकलाई न्याय दिएर शब्द चयन गर्ने अर्को विशेषता देखिन्छ पानीको विद्रोहमा । बेलायतका तत्कालीन राजदूत तथा वरिष्ठ साहित्यकार डा. दुबसु क्षेत्रीले सम्पादन गर्नु भएको बेलायतका कवि र कविताहरूमा समेत समाविष्ट कविता ‘मलेवाहरू’हरूले कवयित्री प्रतिमा केसीको उच्च साहित्यिक क्षमतालाई प्रतिबिम्बित गर्छ । प्रवास जाँदै गरेको यात्रीलाई मलेवा चरासँग तुलना गर्दै पहिलो अनुच्छेदमा नै भनिएको छ मनका एक हुल मलेवाहरू बादलको घुर्मैलो घेरा नाघेर नीलो आकाशमुनि उड्न चाहन्छन् ।

बेलायतमा जब जाडो मौसम सकिएर रमणीय गर्मी मौसम (समर) सुरु हुन्छ त्यस बेला प्राय हरेक रुख बिरुवा अत्यन्त सुन्दर तरिकाले फक्रिन्छन् र साँच्चिकै मनमोहक दृश्य देखिने कुरा यस कवितामा सजीव उतारिएको छ । ती कविताहरू मध्य बेलायतमा चेरी भनिने नेपालको पैयुँ वर्गको वनस्पति पनि आफ्नो पूर्ण जवानीमा फक्रिएको बेला कवयित्रीलाई आकर्षित गरेको र भावुक बनाएको यथार्थ वर्णन यस कविता ‘प्रवासमा पैयुँ फुल्दा’ मा पाउन सकिन्छ । त्यसै गरी ‘त्यसैले ऊ नेपाली हो’ कविताले प्रवासिएका नेपालीको मनमा हरपल हर क्षण देशको कस्तो माया हुन्छ भन्ने चित्र उतारेको छ । परदेशमा श्रम गरेर इमान्दारिता र स्वाभिमानको परिचय बनाएको नेपालीलाई प्रतिबिम्बित गर्छ यस कविताले। कविताले भनेको छ – “हरेक साँझ बिहान अखबारमा उसले देश पढिरहेछ परदेशमा देश खोजिरहेछ”।

यी माथि उल्लेखित कविताहरू वास्तवमा देश छोडेका लाखौँ नेपालीको मनको प्रतिनिधि आवाज हो । केही रहर र केही कहरले बिदेसिएका समग्र नेपालीको मुख पत्र हो । सचित्र सलल बगाउने भावमा घर देशको यात्रा गराउने यस कविताले डायस्पोराको नेपाली आवाज बोकेका छ र यी कविता जति पटक दोहोर्याएर पढ्दा पनि धित मर्दैन ।

 कविताका पर्यावरणीय पक्ष

अहिलेको संसारमा मान्छेले प्रकृतिमाथि शोषण गर्यो र प्राकृतिक असन्तुलन कायम भएको छ भनेर यसलाई सुधार्न संसारका प्रकृतिविद् र वातावरणवादीहरू लागिपरेका छन् । यसलाई सघाउन विभिन्न माध्यमबाट सहयोग समेत गरेको पाइन्छ । त्यसमा साहित्यिक क्षेत्रको पनि महत्त्वपूर्ण योगदान रहेको छ । पानीको विद्रोह शीर्षक कविता आफैमा पर्यावरणीय चेत बोकेको कविता हो। कविताको भावको पृष्ठभूमिमा ‘आँखा खोल बुद्ध’, ‘वरपीपल ढलेछ’, ‘कहाँ बस्छौ भगवान्’, ‘प्लास्टिक झोला’ र ‘पानीको विद्रोह’ गरी यी पाँच कवितालाई यस समूहमा राख्न सकिन्छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पले सिङ्गो देश थिलथिलो भएको बेला कवि मनले ‘आँखा खोल बुद्ध’ रचिएको देखिन्छ । देश पूर्ण रूपमा बेसहारा हुँदा प्रतिकात्मक रूपमा बुद्धसँग सहयोगको आर्तनाद गरिएको छ । कविताले भन्छ –

“संसारले बहादुर भनेर चिनेका नामी हामीहरू

धरहरा ढल्दा हेरिरह्यौँ

वसन्तपुर भत्किदा रोइरह्यौ

अनि सगरमाथा हल्लिदा टोलायौँ”  (आँखा खोल बुद्ध)

प्रकृतिको विनाश लीलामा मानव निरीहता यस कविताको मूल मर्म केन्द्रित देखिन्छ । मैले ‘वरपीपल ढलेछ’ पढेँ र जति पटक पढ्दा पनि यसको स्वादमा कुनै कमी आएन । यसले विकासको नाउँमा गाउँको सहरीकरण र वातावरण विनाशलाई अत्यन्तै कलात्मक ढङ्गले पस्केको छ । कविताले कहिले हामीलाई बाग्लुंग र गुल्मीको सीमा भएर बग्ने बढिगाड खोलामा पौडी खेल्न बाध्य गराउँछ कहिले नेपाल कै एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पाइने डोराले आलुको स्वाद पस्किन्छ । आफ्नो बाल्यकाल सम्झेर कवितामा भनिएको छ – “घण्टी बजाउँदै रङ्गिन चमर हल्लाउँदै हिँडेका घोडा, खच्चर र गधाका बथानहरू भोट मधेस गर्ने अनगिन्ती यात्रीहरू अहम् देख्दै देखिएनन् यसपालि”। विकासको नाममा सृजित विनाशलाई सूक्ष्म रूपमा केलाउँछ यसले ।

भूकम्पको बेला क्षतविक्षत भएको देश सम्झेर प्रतिकात्मक रूपमा भगवानलाई चुनौती दिँदै “कहाँ बस्छौ भगवान्” रचिएको छ । पुस्तकको पहिलो यो कविता भावुकता र व्यङ्ग्य कविताको गजब खम्बा हो । कवितामा भनिएको छ –

“मन्दिर र चर्च पनि भत्कायौ,

गुम्बा र मस्जिद पनि फुटायौ,

हामीले बनाएका सबै भत्कायौ

अनि तिमीले गरेका सबै सृष्टि पनि भत्कायौ,

तिमी आफै भन अब कहाँ बस्छौ भगवान्”  (कहाँ बस्छौ भगवान्)

एउटा नारी पात्रको विम्बमा लेखिएको “प्लास्टिक झोला” सामान्य शीर्षक राखेर सरल भाषामा लेखिएको गहन कविता लाग्छ । एकातिर “मलाई किन्नेहरू किनिरहन्छन्, प्रयोगमा सबैको मन जितिरहेकै छु …माटो अमिल्याउँछु, पधेरो फोहोर्याउँछु वातावरण दूषित बनाउँछु” जस्ता वातावरणीय चेत यसमा पाइन्छ भने अर्कोतिर एउटी नारीसँग तुलना गर्दै भनिएको छ “बजारेहरू मेरो गर्भमा भएभरको सामानहरू हाल्छन् फेरी एकाएक निकाल्छन् जब सामान निकाल्छन् म खुम्चिँदै जान्छु चाउरिँदै जान्छु दर्जनौँ सन्तानको आमा जस्तै चाउरिन्छु मान्छेहरू बेवास्ता गर्छन्” भन्ने नारी पात्रको विशिष्ट अवस्था प्रतिबिम्बित छ ।

पुस्तकको अन्ततिर स्थान पाएको ‘पानीको विद्रोह’ शीर्षकको कविताबाट यसको नामकरण गरिएको छ । यो वातावरणीय विषय पस्केको कविता त हुँदै हो त्यो भन्दा बढी जीवन र समाजको सङ्घर्ष र समन्वयको दोभान हो । विद्रोह बाध्यता हो तर शालीनता यसको समाधान भन्दै शीर्ष कविता छानिनुको औचित्य यस कविताले गजबसँग पुस्टी गरेको छ । पानीको बाध्यता र विद्रोह गर्नु पर्ने अवस्था बारे कविताको उठानमा भनिएको छ कि “आहा! कति नीलो बगेको थियो आफ्नै गतिमा चलेको थियो एउटा डुङ्गा आयो चलाएर गयो फेरी धेरै डुङ्गाहरू वरपर आए ऊ छचल्कियो परपरसम्म” भने यसको बैठान अनुच्छेदले भन्छ “आखिरमा मान्छेले पनि जिन्दगीका सबै विद्रोह बिर्सेर समुन्द्रले जस्तै मन धोएर सफा सफा भएर बाच्नुपर्छ”। कवयित्रीका काव्यिक छालहरू यसमा सुन्दर र शालीन बनेर बगेको छ ।

 पानीको विद्रोहमा नारी आवाज 

सृष्टिकर्ता भनौँ वा प्रकृति स्वयंले मानव जातिलाई दुई लिङ्गमा विभाजित गरेको छ । संसारका धेरै चर्चा गरिने विषयमा पर्छन् महिला सुन्दरता र महिला उत्पीडनहरू । सायद कृतिकार आफै नारी हुनु, खास गरी नेपाली परिवेशको विभेदकारी पितृसत्तात्मक समाजमा नारीको अवस्थासँग परिचित हुनु र समाजमा दैनिक हुने नारी उत्पीडनका घटनाका कारण महिला आवाज यस कृतिमा यो वा त्यो कोणबाट सशक्त रूपमा उठेका छन् । यसमा लेखिएका कतिपय कवितामा सामाजिक व्यवस्थालाई निर्मम कुल्चिएको छ। कतै नारी सहनशीलताको विशाल भण्डार खोलिएको छ भने कतै विवशतामा सुस्केरा हालिएको छ । ‘परेवा परेवी’, ‘अघोषित युद्ध’, ‘नतमस्तक’, ‘आइमाई हुनुको नियति’, ‘बहिनीलाई चिठ्ठी’, ‘चमेली’, ‘पहाडहरू’ र ‘आमा दिवस’ महिलाको आवाज बोकेका मूलधारे कविताहरू हुन ।

परेवा अर्थात् महिलालाई सहनशीलता र समर्पणको प्रतिनिधि पात्र बनाएर हाम्रो समाजको सचित्र वर्णन गरिएको छ ‘परेवा परेवा’ कवितामा । चरा जातीमा समेत भाले परेवाले परेवीलाई धोखा दिएको र अन्तमा गुँड छोडेर गएको तर परेवीले गुँड  मै प्राण त्याग गरेको दृष्टान्त दिएका छन् । यसका प्रस्तुति र भावले मन भक्कानिने बनाउँछ । पितृसत्तात्मक समाजमा महिला सधैँ हेपिनछन् र उनीहरूको मनमा एउटा अघोषित द्वन्द्व चलिरहेको कुरा ‘अघोषित युद्ध’ को केन्द्रीय भाव रहेको छ

। महिलाहरू हेपिने कुराले हर रात सपनीमा कवयित्रीलाई सताएको विषय ‘नतमस्तक म’ कवितामा समेटिएको छ । यसमा भनिएको छ -“हर रात मेरा सपनामा आधा आकाश आधा धर्तीको भार थाम्ने थकित अधबैँसे नारीहरू जीवनलाई सकी नसकी थेगिरहेका वृद्धा आमाहरू घेरा हाल्छन् र सोध्छन् महिला अधिकार खोइ?” । दाइजोले पिरोलिएका, बोक्सीको आरोप लागेका र एसिडले पोलिएका नारी पात्रहरू सपनामा आएर ब्युझाउँछन् तर मसँग यसको जवाफ छैन म नतमस्तक हुन्छु । नारी संवेदनाको तथ्यगत सजीव चर्चा यसमा पाइन्छ ।

‘आइमाई हुनुको नियति’ कवितामा पनि एउटी महिला सिर्जनाकी मूल हुन तर उनलाई हाम्रो समाजमा पुरुष सरहको दर्जा दिइँदैन । हाम्रो समाजमा विविध कारणले सकेसम्म उनलाई जन्माउन खोजिँदैन र जन्मिए पछि पनि जीवन पर्यन्त लिङ्गीय सङ्घर्ष गरिरहनु पर्ने कुरा गरिएको छ । महिलाको मनोविज्ञान बारे यसमा आलोचनात्मक शैलीमा यसरी खोतल्न खोजिएको छ – “विभेदको मानो र छानोमुनि हुर्किएको आइमाईहरूको मानसिकता पनि पितृसत्तात्मक जस्तै छ, सङ्गठित छैन कमजोर छ । आइमाई हुनुको नियति कहिलेसम्म भोग्नु पर्ने हो खै?”

अन्तर्राष्ट्रिय महिला दिवसलाई विषय र बैनीलाई पात्र बनाएर वीर रसमा लेखिएको ‘बहिनीलाई चिठ्ठी’ कविता पढ्दा वास्तवमा रौँ ठाडा हुन्छन् । यो कविताले महिलाको उत्साही आवाज बुलन्द गरेको छ । महिला हक अधिकार हामी आफै स्थापित गर्न सक्नुपर्छ र त्यो शक्ति महिलामा छ भन्ने आवाज मुखरित छ । नेपालका नारी पात्रहरू आनी छोइंग, झमक घिमिरे र योगमायाहरूलाई उदाहरण बनाएर लेखिएको यस कवितामा भनिएको छ नारी भनेका सिर्जनाका खानी हुन र उनीहरूमा अपार शक्ति रहेको छ । यसमा निक्कै दमदार लाग्ने हरफहरू मध्य एउटा हरफमा लेखिएको छ – “तिमी बिना न त देवताको उदय हुन्छ न त दानवको अन्त नै हुन्छ” ।

‘चमेली’ पात्रमा बगेको गजब कविता । उठानमा चमेली विपन्नताको चपेटामा  परेर गाउँ छोड्दै गर्दा उसको मनमा उठेका मनका तरङ्ग र कालो बिरालो, रित्ता गाग्री, कालो काग जस्ता चलनचल्तीका अपशकुन देख्दै अगाडी बढेकी छन् । चमेलीको जीवन सहरमा त्यति बेला कारुणिक बन्छ जति बेला ऊ दुर्घटनारूपी बलात्कारको सिकार हुन्छिन् र प्रहरीले उनको उजुरी सुन्दैन । अन्तिम कविताको रूपमा समावेश यस कवितामा नारीको असुरक्षित जीवन यात्रा सजीवताका साथ चित्रण गरिएको छ । पहाडलाई नारी पात्र बनाएर बिम्बात्मक शैलीमा लेखिएको यस ‘पहाडहरू’ कवितामा स्वतन्त्र रूपमा जन्मिएकी छोरी बिस्तारै कसरी बुवा, आमा, समाज, धर्म र संस्कारले थप्दै गरेको भारी बोक्दै जान्छे भन्ने कुरा कलात्मक रूपमा संयोजन गरिएको छ । संस्कारी हुने नाममा कहिल्यै विरोध नगर्न सिकाइन्छ र केवल प्रेमको हतियार प्रयोग गर्न भनिन्छ । आफ्नो शीर्षकलाई थप सबल बनाउन कवयित्री भन्छिन् –

“सदियौँदेखि उभिएका

ती पहाडहरू जस्तै

आइमाईहरू दुखका अग्ला पहाडहरू हुन

तीनै पहाडहरू आइमाई हुन”  (पहाडहरू)

आमाको मुख हेर्ने दिन अर्थात् अङ्ग्रेजी मदर्सडेको सन्दर्भमा करुण रसमा चुर्लुम्म डुबेर बीभत्स रसमा रचिएको यो ‘आमा दिवस’ कवितामा एउटी छोरीले बाल्यकालमा आमाको माया नपाउँदा कस्तो मनोविज्ञानमा बाँच्छे र हुर्किन्छे भन्ने कुरा हृदय विदारक रूपमा चित्रित छ ।  अझ त्यसमा आफन्तको माया नपाउँदा छिया छिया हुने मन मुटुको उत्कर्ष पोखिएको छ । कवयित्रीको आफ्नै शब्दमा “तिम्रो काखमा लुटुपुटु गर्ने इच्छाहरू उहिल्यै निमोठिएका हुन समयले उमारेका कलिला भावनाहरू  भताभुङ्ग र लथालिङ्ग भएका हुन”। उनले भन्छिन् आमा हुनेहरूको लागि आमा दिवस हुन्छ नहुनेहरूको लागि आँसु दिवस ।

 समसामयिक राजनीति अवस्था

राज्यको मूल नीति राजनीति हो । समाजका हरेक कुराहरू राज्यले निसृत गरेका नियम अनुसार सञ्चालन हुन्छन् तर नीति एकातिर र चलिआएको सामाजिक व्यवहार अर्को भयो भने अवश्य त्यो प्रत्युत्पादक हुन्छ । नेपाली समाजमा हाल विद्यमान पार्टी र त्यसका नेताको व्यवहारको सामञ्जस्य नहुँदा समाज पिरोलिएको कटु सत्य यी कविताहरूमा पोखिएको छ । नेपाली राजनीतिको सिरदेखि तीरसम्म यस कविताले छिमल्ने काम गरेको छ । ‘युग मानव’, ‘आखिर उ जन्मियो’, ‘प्रसव व्यथा’, ‘कविता लेख्न बाँकी’, ‘घामफूल’, ‘नेपाल भएर बाच्न देऊ’ र ‘बुद्धको देशमा’ यस सङ्ग्रहका राजनीतिक चेत बोकेका उम्दा कविताहरू हुन । यी कविताहरूमा देशको बेथिति बोलेको छ, असल राजनेताको खोजी गरिएको छ र समग्र देशको विकासको कामना गरिएको छ ।

‘युग मानव’ कवितामा देशलाई युद्ध हारेको मैदानको भयावह रूपमा चर्चा गरिएको छ भने त्यसलाई धान्ने ल्याकत भएको राजनेता  र राष्ट्रिय एकताको अभाव चित्रण गरिएको छ । कवितामा भनिएको छ

“देशवासीलाई सुरक्षा दिन

प्रवासीलाई आफ्नै घर फर्काउन र

बेथितिको चक्रव्यूहबाट

देशलाई मुक्ति दिलाउन

मेरो देशले आज एउटा अत्यन्तै

दूरदर्शी र कर्मठ युगमानव खोजिरहेछ” (युग मानव)

‘आखिर उ जन्मियो’ शीर्षकको कविता २०७२ सालमा देशले नयाँ संविधान पाउँदा आफू हर्षित भएको कुराले पाठकलाई कवयित्री जत्तिकै खुसी हुने भाव दिएको कविता हो । यसमा खुसी र सुखद कामनाहरू बिम्बित रहेका छन् । यसरी पोखिन्छ कवयित्रीको खुसी- “बर्षौंको पीडा सहेर ऊ भर्खर जन्मियो ऊ जन्मेको खुसीयालीमा… मनको ढोकामा बत्ती बाल्नुपर्छ आँगनमा दियो बाल्नु पर्छ” भने केही कामनाहरू कोरिएका छन् – “महिला अधिकार सुरक्षित होस्, जातीय नारा समाप्त होस्, स्वाभिमानी नेपाली कहिल्यै पलायन नहोस् र सधैँ नेपाली भएर बाच्न पाउँ” ।

महाभारतको सुपात्र र कुपात्रहरूलाई कविताले पात्र बनाउँदै आफ्नो देश नेपाललाई कुरुक्षेत्र जस्तो बनाएको गुनासो पोखिएको कविता ‘प्रसव व्यथा’ मा भनिएको छ सकुनीका पासामा किन बल्झिन्छन् बहादुर भीम र अर्जुनहरू, राजसभामा द्रौपदीको चीरहरणमा सूर्यवंशी भिष्मपिता किन मौन बस्छन् अनि कहिलेसम्म धर्मसङ्कटमा बस्नु पर्नेको द्रोणाचार्यहरू । कविताले कवयित्रीको महाभारत सम्बन्धी गहन ज्ञान, त्यसमा भएका बेथितिको चरम पीडा र अन्तमा युद्धपछिको निकास जस्तै अब देशले असल राजनेता र नीति प्राप्त गर्ने प्रसव पीडाको अवस्थाको गजब परिकल्पना गरेको पाइन्छ । ‘कविता लेख्न बाँकी’ कविता तुलनात्मक रूपमा अलि धेरै अनुच्छेदको कविता पाइन्छ तर यसले शीर्षकको  सीमिततालाई यति विशाल क्षितिज उघारेर एउटा दर्शन पस्केको  आभास हुन्छ । विषय कसरी उठान गर्ने र बैठान गर्दै शीर्षकलाई परिभाषित गर्ने भन्ने गजब कला यसमा पाइन्छ । कवितामा कवयित्रीको राजनीतिक भाव यसरी झल्किन्छ – “हामीले राणा शासन फाल्यौँ, पञ्चायत फाल्यौँ अनि गणतन्त्र ल्यायौँ र तिनैको कविता लेख्यौँ तर खास जनताको कविता लेख्नै बाँकी छ” ।

मनमा उर्लिएको देशभक्तिपूर्ण भावको सँगालो ‘नेपाल भएर बाच्न देऊ’ मा भनिएको छ “सगरमाथालाई मनभरि हाँस्न देऊ पानीको राजनीति नगरी सेतीलाई सेतै बग्न देऊ कोसी र भेरीलाई नीलो बग्न देऊ”। जनजिब्रोमा सजिलो सुनिने मलाई नेपाली भएर बाँच्न देऊ नभनेर कवयित्रीले सचेततापूर्वक मलाई नेपाल भएर बाँच्न देऊ  भन्ने शीर्षक चयन गरेको देखिन्छ । “मेरा चार किल्लाभित्र कोसी र कर्णालीले सिञ्चित धानको बाला झुलाउन मेरा पाखा पखेरामा टाँकी र गुराँस फुलाई विश्वसामु अखण्ड नेपाल सुनाउन पाए पुग्छ मलाई” यिनै भावहरू काफी छन् कविको देश प्रेम बुझ्न ।

एक हदसम्म पानीको विद्रोहमा सङ्ग्रहित कविताहरू बुद्ध दर्शनबाट प्रभावित भएको भान हुन्छ । दुई वटा कविता “आँखा खोल बुद्ध” र “बुद्धको देशमा” त बुद्धको नामसँग नै जोडेर राखिएको छ । यो कविता ‘बुद्धको देशमा’ एउटा प्रतिकात्मकता बोकेको गहन र उत्कृष्ट रचना हो । मैले जति पटक पढ्दा पनि धित नमर्ने कविताको सूचीमा यसलाई पनि राखेको छु । यहाँ भनिएको छ – “बुद्ध चिन्न नसकेकाहरू बुद्ध बेचिरहेका छन्, बुद्धका देशका मान्छे भन्नेहरू बुद्धको छातीमा बन्दुक पड्काउँछन् र बन्दुकको नालमाथि शान्तिको प्रतीक परेवा उदाउँछन” । विध्वंसको विरोध र शान्ति प्रियतासँग हामीलाई एकाकार बनाउँछ यस कविताले ।

 देशको सामाजिक अवस्था

पानीको विद्रोहसँगै शालीनतापूर्वक बगिरहँदा नेपाली सामाजिक परिवेशको पूर्ण चित्रसँग एकाकार हुन पुगिन्छ । पानीको विद्रोहले नेपाली जीवन बोलेको छ, यसमा बडिगाड सुसाएको छ, उराठलाग्दो मौसममा न्याउली रोएको छ, हराउँदै गएको मानवीयता खोतलेको छ, नैतिकता खस्केको राजनीति माथि धावा बोकेको छ र त्यो भन्दा बढी जीवन जिउने जीवन दर्शनको शालीनता पस्केको छ । सरल भाषाशैली, नेपाली जनजिब्रोका ठेट शीर्षक र सशक्त शब्द चयन यसका विशेषता हुन् । नेपाली समाज र यसको संरचनाबाट व्युत्पन्न भाव र प्रभाव बोकेका कविताहरू- ‘प्रेम’, ‘याद’, ‘जूनको खोजी’, ‘समयको खेल’, ‘ओ सहर’, ‘शान्ति’, ‘यात्रा’, ‘लिभिंग टुगेदर’, ‘अनिदो रात’, ‘यमराज’, ‘दसैँ’, ‘मेरा बा र टोपी’, ‘सङ्ग्रहालय’ र ‘जिन्दगी’ लाई नेपाली सामाजिक अवस्थासँग जोडेर हेर्न सकिन्छ ।

‘प्रेम’ कवितामा प्रेमलाई क्षणिक भावावेशको अनुभूति भन्दा विराट रूपमा पस्किएको छ । कविताको पहिलो अनुच्छेदले भनेको छ

“आत्मा नै प्रेम हो

प्रेम पूजा हो

प्रेम प्रसाद हो

प्रेम सत्य हो र

प्रेम अझ बढी समर्पण हो”  (प्रेम)

कवयित्रीले यसमा भनेकी छन् कि निवृत्ति मार्ग छोड्दै गएर प्रवृत्ति मार्गमा लाग्नु र आफूभित्र अलौकिक शक्ति र शक्तिभित्र अलौकिक अनुभूति प्राप्त गर्नु वास्तविक प्रेम हो । यसले प्रेमलाई आत्मा र अध्यात्मसँग जोडेको पाइन्छ । त्यसै गरी कविता ‘याद’ मा कवयित्रीले आफ्ना प्रेमिल नोस्टाल्जिक भाव पस्किन्छिन् र भन्छिन् “सिउँदोमा रातो सिन्दूर भरेको यादले, हो त्यही प्रणय रातको यादले जीवन प्रेमको लयमा बाँचिरहेको छ  र वर्तमानमा हाँसिरहेको छ” । प्राय सबै रचना अलि फरक धारमा रचिएका छन् तर यस कवितामा विगतका यादहरूलाई वर्तमानको सम्झना र भविष्यको इतिहासको रूपमा रोमान्टिक शैलीमा पेस गरिएको पाइन्छ । यहाँ कवयित्री पूर्ण शृङ्गारिक रूपमा पोखिएकी छिन ।

चरम निराशावादी लय समातेको, बिम्बको उत्कर्ष बोकेको ‘जूनको खोजी’ कविता पढ्दा संसार अन्धकारमय देखिन्छ जुन प्रस्तुति कविताको मुटु हो । जिन्दगीका हरेक पक्षको बयान गर्दै अन्तमा भनिएको छ “जिन्दगीलाई जीवन्त बनाउने त्यो शीतल प्रिय जून म आमाको गर्भबाट निस्कँदै गर्दा आकाशको गर्भमा डुब्दै रहेछ” ।

‘ओ शहर’ सुन्दा अन्य कविता भन्दा फरक सुनिने कविता संग्रहमा सहर र गाउँको विभेद झल्किएको छ । सहरका बेथिति र बाध्यता बोलेका छन् । विकासको असमान वितरण चित्रित छन् र त्यो भन्दा बढी गाउँबाट युवाहरूको सहर पलायन र सहरबाट विदेश पलायनको कारण जर्जर बनेको त्यो सुन्दर गाउँको कुरूप बन्दै गरेको तस्बिर झलझली  दर्साएको छ । कवितामा भनिएको छ “हिजो घ्यू, चामल, पीठो र गुन्द्रुक बोकेर पढ्न हिँडेका छोराछोरी उतै हराए बुढा बा आमाको काख र बस्ती शून्य भएको छ पाखुरामा बल भएका युवायुवतीलाई हातमा पासपोर्ट थमाइदियो आज उर्वर जमिन बन्जर भएका छन् अनि जोडिएका घरबार तोडिएका छन्”। उत्पादनशील शक्ति आफ्नो गाउँ ठाउँ छोड्दा निम्तिएका सयौँ बेथितिको निशानामा केन्द्रित छ कविता ।

आत्मिक ‘शान्ति’ नै खासमा शान्ति हो । भौतिक बस्तुमा खोजिने वा भौतिक सुखसँग साटिने शान्तिले मनलाई अशान्तितिर लैजान्छ । भनिएको छ कि शान्ति मनभित्र छ र त्यो पाउनु नै असली शान्ति हो ।  त्यसै गरी आत्मपरकता बोकेको ‘यात्रा’ कविताले पनि जीवन जिउने क्रममा आई पर्ने उकाली ओराली र कुइनेटोहरूका कारुणिक चित्रण गर्छ “यात्राभरि पानी पर्यो, मनभरि असिना झर्यो, जुन जुन वृक्षमा ओत लाग्न पुगेँ, त्यहीँ त्यहीँ घायल भएँ”।

पुरातन समाज व्यवस्थालाई चुनौती दिँदै विवाह नभए पनि मन मिल्दासम्म सँगै बस्ने र मन नमिल्दा छुट्टिने खास गरी पश्चिमा चलनलाई ‘लिभिङ टुगेदर’ कवितामा  व्यङ्ग्यात्मक शैलीमा समेटिएको छ । नेपालका ठुला सहरहरूमा पनि यो चलनले ठाउँ पाएकोमा चिन्ता व्यक्त गर्दै भनिएको छ “अलिकति असान्दर्भिक अशोभनीय र अपाच्य लाग्न सक्छ” । यसमा कतै बाध्यता त कतै बढी स्वतन्त्रतालाई यसको कारक मानिएको छ र कवितामा भनिएको छ “सती प्रथाबाट पति प्रथामा आइपुगेका हामीबाट समानता, स्वतन्त्रता र सुमधुर सम्बन्धको नयाँ विकास र निकास खोजिएको हुन सक्छ” । पुरातन समाज र नव आधुनिक समाजको फ्युजन जस्तो देखाइएको यो कविताको शीर्षक नै अङ्ग्रेजीमा राखिएको छ । अङ्ग्रेजीमा नाम राखिएको यो दोस्रो कविता हो ।

अद्भुत रसमा लेखिएको ‘अनिदो रात’ कविता समाजमा भएको बेथिति र व्यविचारको चिरफार हो । रातले गौतम बुद्ध र कृष्ण पनि जन्माउँछ  भने त्यही रातले सुरा सुन्दरी, जुवा तास अनि व्यभिचारीलाई पनि साथ दिएको छ भनिएको छ । अन्य कविताको तुलनामा केही लामो लाग्ने ‘यमराज’ कविताको केन्द्रीय भाव मृत्यु शाश्वत छ र डराउनु हुँदैन भन्ने बुझिन्छ तर यसमा कतै कवयित्री विरोधाभासमा देखिन्छिन् भने कतै धेरैतिर बरालिएको भान हुन्छ । सौतेनी आमाको हेपाई देखि महाभूकम्प, अनि वृद्धा आश्रम देखि प्रियजनको फिक्का प्रेमसम्मका विषय यसमा अटेस मटेस पारेर कोच्न खोजिएको छ । तर, शब्द चयन र मिठासमा भने कुनै कमी छैन ।

ठुलो निधार हुनेहरू भाग्यमानी हुन्छन् भन्ने मिथकलाई मानक बनाएर कविता ‘भाग्य’ सरल रेखामा बगेको छ । भाग्यले कहिले सौता भएकी जेठी आमाको निधार छाम्न पुग्छ कहिले विवाह भएर पनि घर नगएकी फुपूको ठुला निधार नियाल्छ । त्यस्तै गरी नेपालीहरूको मुख्य चाड दसैँको सम्झनामा लेखिएको “दसैँ” कविताले सहरको होइन गाउँको दसैँ र दशैको बेलाको शरद ऋतुको झल्को मेटाउँछ । दसैँ मनाउने महिनाको सुरम्य वातावरण र यसको रौनकतामा पाठकलाई नोस्टाल्जिक बनाउँछ । गाउँमा दसैँको खुसी बारे कवयित्री लेख्छिन् लुठे पिङ र चर्के पिङमा मच्चिनु र प्रियजनलाई भेट्नुको मजा नै अर्को । कवयित्रीले दसैँ खुसीको चाड भए पनि दशैको खुसी वर्गीय हुने कुरा गर्दै उठाएकी छिन –“हुनेखानेहरूलाई दसैँ पकुवा, भुटुवा र सेकुवा भए पनि हुँदा खानेहरूलाई गरिबीले लखेटिएका झुपडीहरूमा केटाकेटीको एक मुठी खुसी टाल्न दुई मुठी कनिकाको व्यवस्था गरेर फिक्का हाँस्नु हो” ।

‘मेरा बा र टोपी’ एउटा गरिब परिवारको प्रतिनिधि पात्र बा र उनको टोपीकोको बयान मात्र नभएर वर्णनात्मक शैलीमा लेख्ने गद्य कविताको उत्कृष्ट रूप हो । बा पात्रमा नेपालका समस्त गरिब बाहरू बोलेका छन् भने नेपाली सिरको टोपीमा स्वाभिमान झल्केको छ । बाले गर्ने हरेक कर्ममा परिश्रमी नेपाली हातहरू सलबलाएका छन् वास्तवमा कवितामा सिङ्गो देशको तस्बिर कोरिएको छ । भविष्यको स्वर्णिम कल्पनाहरूको सँगालो जस्तो लाग्छ कविता ‘सङ्ग्रहालय’ । अत्यन्तै आशावादी कोणबाट संग्रहालयलाइ सजाउने प्रयास गरिएको पाइन्छ । विगतका मीठा सम्झना र आगतका कल्पनामा पाठकलाई चुर्लुम्म डुबाउँछ कविताले । भनिएको छ – “इच्छा आकाङ्क्षाका बुट्टे दार घडाहरूमा मुस्कुराइरहेका सपनाका फूलहरू मनको मूल ढोकामा राखेर एउटा भरिलो संग्रहालय बनाउनु छ” । ‘जिन्दगी’ कविता वास्तवमा यो कृतिको शीर्षक कविता हुने ओज बोकेको कविता लाग्छ । यसले गीता, वेद, पुराण, कुरान र बाइबलको फ्रेममा राखेर जिन्दगीको परिभाषा खोजेको छ । जिन्दगी बारे शाश्वत सत्य पस्किँदै अन्तिम अनुच्छेदमा भनिएको छ –

“अन्तत सम्पत्ति र सपना थाँती राखेर

धर्तीबाट खाली हातै जानु पर्ने

दैबको नियतिमा अनुबन्धित

जन्म र मृत्यु बिचको

अनिश्चित समय नै त जिन्दगी रहेछ”  (जिन्दगी)

* * *

निष्कर्ष

शीर्षक कविता ‘पानीको विद्रोह’ अवश्य पनि पुरा पुस्तकको धुरी खाँबो रहेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत शाखाले दिने सुप्रमा-ईप्रमा (सुन्दर प्रसाद मानन्धर तथा ईश्वर प्रसाद मानन्धर) पुरस्कार प्राप्त यस कविता सङ्ग्रहले समसामयिक विषयमा जनजनको भावना र आवाज बोकेको छ । कविता पढ्दै जाँदा सहजै महसुस गर्न सकिन्छ कि यो स्रष्टाको आफैँ जीवन भोगाई र कवि मनका लहरहरूको कलात्मक फ्युजन हो । यसमा देशको राजनीतिक अवस्था, महिला संवेदना, प्रवासमा रहँदा भोगेका दुखले भक्कानिँदाको अनुभूति र पर्यावरणीय चेतनाका कुराहरू लगायत विविध पक्ष समाविष्ट रहेका छन् । प्रवासमा बसेर नेपाली साहित्यको सेवामा समर्पित एउटा सशक्त नारी स्रष्टा हुन प्रतिमा केसी ।

परदेशमा बसेर घर देशको चौतारी, भन्ज्याङ, गरा र कान्लाहरूमा सजीव विचरण गराएका छन् प्रतिमा केसीका कविताले । समसामयिक विषयमा सरल रूपमा छङ्ग छङ्ग  बग्नु उनको कविताको विशेषता हो । सबै शीर्षक र कवितामा खारिएका उत्कृष्ट नेपाली शब्द गुच्छा पस्किएको कृतिमा “लिभिङ टुगेदर” र “ट्रान्जिट” दुई वटा अङ्ग्रेजी शीर्षकले कवयित्रीलाई शब्द विन्यासको चुनौती पस्केको  छ । त्यसै गरी ‘कहाँ बस्छौ भगवान्’, ‘पहाडहरू’, ‘सङ्ग्रहालय’, ‘आँखा खोल बुद्ध’, ‘वरपीपल ढलेछ’ र ‘जिन्दगी’ उच्च कवित्व चेत बोकेका कविता हुँदा हुँदै पनि केही हरफ कम गर्न सकिने ठाउँ  देखिन्छ । ‘पहाडहरू’ कवितामा द्वापर युगमा सीताको अग्नि परीक्षा र त्रेता युगमा द्रौपदीको चीरहरण भनिएको छ / त्यसो नभएर त्रेतामा सीता र द्वापरमा द्रौपदी हुनु पर्ने हो । यसमा कवयित्रीको ज्ञानको कमी भन्दा पनि असावधानी भएको अभ्यास हुन्छ । शीर्षकमा पुस्तकको ले आउट, आवरण र प्राविधिक हिसाबले उच्च गुणस्तरको हुँदाहुँदै पनि केही व्याकरणगत अशुद्धता चामलमा रहेको बियाँको रूपमा रहेको देखिन्छ । यसले मुख्यतः ग्रामीण जीवनको प्रतिनिधित्व गर्छ ।

समग्रमा, व्यक्तिगत रु. तीन सय र संस्थागत रु. ५०० रहेको यो पुस्तक एउटा सङ्ग्रहनीय र पठनीय उच्च स्तरको कृति हो । प्रवासमा रहेर नेपाली साहित्यको श्रीबृद्धिमा अनवरत क्रियाशील कवयित्री प्रतिमा केसीको आगामी साहित्य यात्रा अझ सफलताको शिखरतिर लम्किरहोस् ।

 

(युकेको रेडिंग विश्वविद्यालय (University of Reading) बाट स्नातकोत्तर गरेका कुमार केसी हाल सोही विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि विभागमा कार्यरत रहेका छन् ।)