एउटा अनौठो बानी छ मसँग—केही नपढेको, नलेखेको दिन मलाई शून्य लाग्छ । व्यर्थ हुँदै छु लाग्छ । लेख्नु, पढ्नुमा जति आनन्द म कहीँ पाउँदिनँ । अरू आनन्द कस्तो हुन्छ ? त्यसको खोजी गर्ने उत्सुकता ममा आउँदै आएको छैन । केही कुराको पठनमा लाग्दा म जगत् बिर्सिदिन्छु । घरी–घरी निसासिन्छु मैले कति धेरै थोक जान्नु छ—मलाई केही त आउँदैन । मेरो पठन परिधि कम्ती छ, अरूले केके थोक पढिसकेका छन्, जानिसकेका छन्—ममा एउटा अज्ञात तर ईर्ष्या मिसिएको भाव उत्पन्न हुन्छ ।
कहिलेकाहीँ त आफैँलाई गाली दिन्छु—समीक्षा जस्तो समालोचना जस्तो केहीमा लागेर म बिग्रिएँ । वास्तवमा म समालोचक पनि होइन । रहरै रहरमा गरिएका पाठक अनुभूतिहरू हुन्—त्यसलाई समीक्षा समालोचना भनिहाल्न नमिल्ला ।
निस्फिक्रीले पढ्न लेख्न वञ्चित भएको अनुभूतिले मलाई बेलाबेला सताउँछ । किनकि रोजी छाडी पढ्ने मसँग त्यस्तो प्रशस्त पुस्तक हुँदैन । अर्थात् कहिले चाहेको पुस्तक किन्ने पैसा पनि हुँदैन ।
मन न हो त्यो बदलिरहन्छ । फेरि कहिले आफैँ सम्झिन्छु, सम्झाउँछु पनि—पुस्तक विमर्शमा लाग्नु पनि त एउटा कलापूर्ण कर्म नै हो । त्यसले न्यायपूर्ण र स्वतन्त्र दृष्टिले हेर्न अभ्यस्त बनाउँछ, निर्भीक बनाउँछ । यस्तो धारणाले म पुनः आश्वस्त हुन्छु—ठिक लाइनमा रहेछु क्यार भन्ने हुन्छ । कृति विवेचनामा लाग्दाका फाइदा पनि कम्ती त कहाँ छ र ? धेरै स्रष्टा साहित्यकारसँग परिचय बढाउनु मलाई राम्रो लाग्छ । यस हेतुले पनि हुन सक्छ जानेर नजानेर अझ बढी त नजानेरै म विमर्शको मार्गमा लहसिएकी छु ।
डायास्पोरिक स्रष्टा र तिनका कृति अध्ययनमा घोरिँदै आएको पनि केही समय भएछ । मलाई बडो रुचि लाग्छ नेपाल बाहिरका ती सर्जकहरूको मनोविज्ञानलाई नियाल्न । भिन्न परिवेश भिन्न जाति र संस्कृतिबिच गरिएको त्यो सङ्घर्ष उल्लेखनीय हुन्छ ।
विशेषतः आफ्नो स्थान कायम राख्न, अपनत्व पहिचानको लागि गरिएको धावा महान् लाग्छ—भाषा, साहित्य, कला, संस्कृति—प्रेमी हुनुको अभिप्राय पनि त्यही हो, जहाँ अरू जातिबाट आफू पृथक् हुन सकिन्छ । त्यही पृथकता नै डायास्पोरिक जीवनको निजी परिचय हो ।
देशप्रेमी, भाषाप्रेमी, संस्कृतिप्रेमी हुनु भनेको अस्तित्वको लडाइँ मात्र पनि होइन । परिचय कायमको एउटा माध्यम त्यति मात्र होइन । लक्ष्य भूमिमा अवस्थित मनमा उत्पन्न हुने मनोवैज्ञानिक कारण पनि त्यसमा छ ।
कवि तथा गीतकार घनबहादुर थापा मगरको कृतिमा—डायास्पोरिक अस्तित्व स्थापित गर्न—भाषा, साहित्य, संस्कृतिको श्रीवृद्धिमा लागेको मनसाय म पाउँदिनँ । उनीभित्रको राष्ट्रवादी स्वर, जातीय प्रेम, भाषा–संस्कृति प्रेम मातृभूमिबाट टाढा हुँदाका भावनात्मक अनुभूतिहरू हुन् ।
गोराहरूको देश–बेलायतमा उच्च शिक्षा आर्जन गरेका, उहीँ लक्ष्यभूमि बनाएका साहित्यकार घनबहादुरको मन किञ्चित बिदेसिँदैन । त्यो लवाइ, खुवाइ, नेपालीपन बिदेसिन अहँ सक्दैन । त्यस दिनको भेटमा सम्झनालाई मूर्तता दिन केही तस्बिर हामी लिँदै थियौँ । आपसमा पुस्तक उपहार गर्दै थियौँ । यही त हो साहित्यमा लाग्दाको आनन्द—भेटमा मित्रहरूलाई कृति उपहार गर्न पाइन्छ । त्यो क्षण मूल्य तिरेर कहिल्यै खरिद गर्न सकिँदैन ।
कवि घनबहादुर झोलाबाट पाल्पाली ढाका टोपी निकालेर—शिरलाई सगरमाथा बनाएपछि मात्र तस्बिर लिन तयार भएको देख्दा म त हेरेको हेरेकै भएँ । जातीय पहिरनप्रति उनको सचिएता देखेर म छक्क पर्छु । उनका कवितामा, गीतमा उनी स्वयं नेपाल हुन्, लाग्छ । त्यो देशभक्ति भावनाले म अभिभूत हुन्छु ।
डायास्पोरिक स्रष्टाका कृति रचना जब पढ्न थाल्छु म अनायास झुक्छु, मेरो शिर अनायास झुक्छ । उनीहरूको त्यो राष्ट्रप्रेम संवेग यति घनीभूत हुन्छ भने नि—त्यो हृदयभरि नेपालै नेपाल हुन्छ । वात्सल्य प्रेमबोध—आमाको काख छोडेपछि मात्र हुने रहेछ कि क्यार ।
मेरो यस अघिको अध्ययन पनि डायास्पोरिक स्रष्टाकै थियो । बेलायती नेपाली लेखक रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’—एक खोज अनुसन्धानात्मक विशद ग्रन्थ । एउटा भिन्न चेतनाले अन्वेषण कार्य तयार भएको छ । युद्धमा सौन्दर्यको खोजी गरिएको यस पुस्तकले मेरो अवधारणा नै परिवर्तित गरिदियो । नेपाली पाठकले नसोचेको नवीन जगत् देखाएका छन् अन्वेषकले । युद्धका नकारात्मक तथा कुरूप पक्षलाई मात्र हामीले देख्दै आएका थियौँ । सकारात्मकतातिर कसैको ध्यान गएको थिएन । यसले विश्व जगत्लाई हेर्ने नव क्षितिज उघारिदिएको छ ।
यसरी हेर्दा भाषा, साहित्यप्रति डायास्पोरिक स्रष्टाको जुन लगाव छ त्यो अत्यन्तै प्रशंसनीय छ, स्तुत्य छ । नेपाली वाङ्मयको अब धेरै भार नेपाल बाहिरका लेखक सर्जकहरूले थाम्दै छन् । यो खुसीको कुरा हो ।
म पुनः गीतकार तथा गायक घनबहादुरको साहित्यिक चर्चा गर्दै छु । उनको सरल कवित्व चेतबाट म जति प्रभावित छु त्यो भन्दा पनि प्रभावित छु—उनको समाजसेवी चेतबाट । एन.एल.डी.सी. गोल्ड मेडलबाट प्रतिष्ठित कवि थापा मगर थुप्रै संघ–संस्थाबाट सम्मानित भएका छन् । उनी जीवनको गीत गाउने कवि हुन् । आशावादी कवि हुन् । त्यस्तै उनी जनवादी कवि हुन् । निम्न–स्तरको जीवनप्रति उनको सहानुभूति छ । त्यो जीवनलाई उकास्नु पर्छ उनी भन्छन् । देशको समृद्धि माथिकालाई हेरेर मूल्याङ्कन हुन सक्दैन । सहरलाई हेरेर मूल्याङ्कन हुन सक्दैन ।
साहित्यमा समर्पित स्रष्टा घनबहादुर विशेषतः कवि, गीतकारका रूपमा बेलायती नेपाली समाजमा परिचित छन् । यता उनको गृह जिल्ला स्याङ्जा अझ सुसिनडाँडा क्याक्मीले उनलाई सम्झिरहन्छ ।
उनले त्यहाँ स्कुल भवन, पुल निर्माणमा ठुलो मद्दत गरेका छन् । पुस्तकालय स्थापना गरेका छन् । गरिब जेहनदार विद्यार्थीलाई छात्रवृत्ति उनले दिँदै आएका छन् । भौतिक भन्दा मनका बढी समृद्ध सर्जक घनबहादुर जिल्ला–खेलकुद मैदान निर्माणका पनि मद्दतकर्ता हुन् ।
साहित्यकार घनबहादुरका कवितामा देशप्रतिको माया, चिन्ता, सम्झना अनि राष्ट्रवादी भावना, मानवीय कर्तव्य, निस्वार्थ प्रेमका मञ्जरीहरू लहलहाउँछन् । प्रकृति प्रेम र अतीत स्मृतिले पछ्याइरहन्छ । आफैँभित्र पहाड, पर्वत, नदीनाला, हरियाली सिर्जना गर्ने कवि । आफैँभित्रको देशसँग उनी संवाद गर्छन् । त्यो कोमल हृदय माया प्रेमको गीत गाउन रमाउँछ । सृष्टि यसैमा अडिएको त छ नि ! जब माया प्रेम झिकिदिने हो भने यो संसार ध्वस्त हुनेछ । मानिस सम्पूर्ण रूपले पाषाण हुने छ ।
‘देशको माटोमा मेरो फूल’ कविता सङ्ग्रहमा हार्दिक पक्ष बलियो छ । सद्भाव र सहानुभूति प्रबल भएका घनबहादुर हृदयका कवि हुन् । वैचारिक द्वन्द्वमा उनी भुङ्ग्रिँदैनन् । जटिल विम्ब र प्रतीक उनी चलाउँदैनन् । तत् क्षणमा जस्तो अनुभूति गर्यो उस्तै रूपमा अभिव्यञ्जित हुन्छन् । त्यसलाई परिष्कृत र परिमार्जित गरी तत् निमेषको अनुभूतिलाई कृत्रिम बनाउन उनी जान्दैनन् ।
“साहित्य भनेको नै जीवन रहेछ”—यस्तो बोध भएका सर्जक घनबहादुरका कविता तिनै जीवनका प्रतिरङ्गहरू हुन्, प्रति–तरङ्ग हुन्, प्रतिसंवाद हुन् । दैनिक अनुभूतिका उपक्रममा ती कविताहरू स्फुरण भएका छन् ।
एक सय तीन थान कविता समाहित ‘देशको माटोमा मेरो फूल’ले ‘म मेरै देशको सिर्जना हुँ’ भन्छ । प्राकृतिक विविधता भित्रको एकता र अ विश्राम गतिबाट हामी मानिसले किञ्चित ज्ञान ग्रहण गर्न सकेका छैनौँ भन्ने—जीवन दर्शनका कवि असल कुराले प्रभावित भइहाल्ने स्वभावका छन् । उनका कविता तिनै प्रभावित क्षणहरू हुन् । कृतज्ञ हुन जान्नु पनि एउटा कला हो । जीवनको सुन्दर कला । उनमा म त्यही कला पाउँछु ।
पुर्खाप्रति कवि बहुत श्रद्धावान् छन् । महाकवि देवकोटा, आदिकवि भानुभक्त, भीमनिधि तिवारी, मास्टर मित्र सेन जस्ता मूर्धन्य स्रष्टाका स्मरणमा कविता लेख्ने उनी महाकविलाई अर्को अवतार लिएर आउन अनुरोध गर्छन् । बेथितिपूर्ण, बिथोलिएको समाजलाई युगानुकूल मार्ग निर्देशन गर्न आह्वान गर्छन् ।
छोरीको वेदना यो एउटा लामो आख्यानात्मक कविता हो । जन्मँदै उपहास सहनु परेको छोरीको करुण दैनिकी दुःख लाग्दो छ कवितामा । पछिल्लो समय कवितामा भनिए जस्तै लिङ्ग विभेदको स्थिति उति चर्को त छैन नै । तर निर्मूल पनि भएको छैन । कविताले विगतको समय ज्यादा बोलेको छ ।
उद्यानमा कैयन् फूलहरू मुस्काएका छन् । ती सबैलाई छुने टिप्ने होइन । कुनै एउटा मात्र रोज्नु पर्छ—फूललाई कवि यसरी मानवीकरण गर्छन् । एकै फूलको वासनामा रमण गर्ने उनी आफूलाई इमानदार भमरो भएको सम्झिन्छन् । उनको त्यो सुदो स्वभावमा कहिलेकाहीँ आघात गर्नेहरू भेटिन्छन् । सङ्लो पानी त विष पो ? कवितामा त्यही आघातका कुरा छन् । मानिसको दुर्बोध्य चरित्र बुझेर कहिल्यै बुझिँदैन, र त निकटमा रहेकाहरूबाट पनि धोका खाइरहनु पर्छ । त्यो धोकालाई केही बेरमै बिर्सिएर, माया प्रेमका बात गर्दै कवि भन्छन्:
प्यार अन्धो हुन्छ
तर झुट्टा हुँदैन
एक आपसको मेलमिलाप
राम्रो हुन्छ
तर समाजले दिँदैन (तर, पृ–१२) ।
मानिसलाई उसको वातावरणले जस्तो निर्माण गरेको हुन्छ, त्यस्तै निर्माण वंशाणुगत गुणले गरेको हुन्छ । सभ्यताको केन्द्रमा पुगे पनि आफ्नो स्वभाव नछोड्ने नेपाली जातिलाई इङ्गित गर्दै अर्को ठाउँमा तीता यथार्थ उनी यसरी बोल्छन्:–
जति सभ्य देशमा गए पनि
आफ्नो बानी नछाड्ने
नेपालीको जातै …(जातै, पृ–१४) ।।
गीतकार घनबहादुरका प्रत्येक कविताले एउटा झिल्को, एउटा चेतना उठाएर छोड्छ । शहीदहरूको बलिदानले ब्युँतिएको मुलुकलाई टुक्रा टुक्रा पारिएको, भागबन्डा लगाइएको चिन्तामा उनी वीर योद्धालाई सम्बोधन गर्दै लेख्छन्:–
टुक्रा टुक्रा पार्न लागे
नेपाल आमा …
अस्तित्व नै तोड्न लागे … (सहिदहरू बाटो खुलायौ, पृ–२२) ।
भौतिकतादेखि परको चेतनालाई प्राथमिकता दिने—उज्यालोमा बाँच्नु पर्छ भन्ने धारणाका कवि जीवनमा सुख, दुःख त आउँछ नै त्यो अस्थिर छ—ऊ कस्तो विचार लिएर बाँच्छ त्यो मूल्यवान् कुरा हो उनी भन्छन् । आमा घिउले बत्ती बाल्यौ मा त्यही चेतनाको कुरा छ ।
लामा, छोटा कविता जस्तै दोहोरो संवादात्मक कविता पनि केही रहेका छन् । कति कविताहरू लोक लयका छन् । साथैमा लैजाने—त्यस्तै एउटा केटाकेटीको प्रेमालाप कविता हो । युकेमा पढ्न गएको युवक— घर-गाउँमा रमाएकी बालाबिचको संवाद कहीँ उनै स्रष्टाको अतीत स्मृति त होइन ? त्यस्तै लाग्छ ।
वर्तमान नागरिक समाजले भोगेको परिस्थिति नै उनका कविता हुन् । वास्तविकताले छोइएर लेखिएका भावनाहरू दैनिक जीवनकै यथार्थहरू हुन् । छोरो परदेशमा सपना किन्न गएको छ, भविष्य खरिद गर्न सक्छ सक्दैन, थाहा छैन । घरमा बूढी आमै मीठो प्रतीक्षामा छिन् । ऋण लागेर साहुले जायजेथा हडपेको छ । पहाडी जनजीवन के यस्तै छैन र ?
‘फुलेको फूललाई फुल्न देऊ’मा—फूलको सुन्दरतालाई खलबल्याउनु हुँदैन कवि भन्छन्, प्रकृतिलाई उजाड पार्नु हुँदैन । प्रकृतिप्रति कृतज्ञ हुन जानेका उनी प्रकृतिको महिमा बोध गर्न सक्षम छन् ।
आफ्ना कविता मार्फत आम जन साधारणलाई असङ्गत समाजप्रति सचेत हुन आह्वान गर्ने कवि प्रेमका विषयमा बोल्न धेरै सिपालु छन् । मायालुलाई फकाउन जानेका उनी घर सानो भए पनि माया गर्ने मन ठुलो बताउँछन् प्रेयसीलाई ।
देशको भविष्य सम्बन्धमा कवि घनबहादुरलाई सुर्ता भइरहन्छ । मुलुकको विखण्डित अवस्थाले आहत भएका—उनी नेपाली जाति पिछडिएको देख्दा भरङ्ग हुन्छन् । यतिखेर आम नागरिकको अवस्था कठिन छ । युवा पुस्ता दुर्व्यसनमा लागेर अकर्मण्यता उन्मुख छ । उता छिमेकी राष्ट्र बिचको मित्रतामा कटुता छ । यही क्रम रहने हो भने नेपालको पूर्ण अस्तित्वमा सङ्कट आउने हो कि ?
कवि देशप्रति, राजनीतिप्रति, समाजप्रति सचेत छन् । उनको कवितामा सुन्दर नेपालको कामना छ ।
भ्रष्टता, दुष्टता बढेको बेला एउटा निरङ्कुशताको अन्त्यसँगै अर्को निरङ्कुशताले जरो हालेको छ । त्यसको विरुद्ध फेरि लड्नु पर्ने दिन आएको छ । कवि सहिद लखन थापालाई फेरि समरमा आउन आह्वान गर्छन्:–
हो ! तिमी जस्तो छोरा चाहिएको छ नेपालमा
आऊ लखन थापा आऊ … (लखन तिमी जस्ता छोरा चाहिन्छ नेपाललाई, पृ–९४) ।
कवि थापा मगर एक स्वाभिमानी स्रष्टा हुन् । हिंस्रक प्राणीसँग बरु उनलाई भय छैन, त्यति भय प्रेमिकाको लाग्छ उनलाई । मायाको संसार भताभुङ्ग हुने हो कि ? त्रास भइरहन्छ । एक ठाउँमा लेख्दा लेख्दै निदाएको सन्दर्भले माया भन्ने चिज के हो ? म सोच्न थाल्छु:–
माया तिम्रो सम्झनामा
एउटा चिठ्ठी लेखेँ
लेख्दा लेख्दै निदाएर
सपना पो देखेँ ( पृ–१०२)
इतिहास पुरुषप्रति पनि कविको ध्यान जागृत भइरहन्छ । महात्मा गान्धीको सम्मानमा पनि एउटा कविता रचिएको छ । ‘भोकले भेदभाव गर्दैन’मा त्यस्तै एउटा सरल तर दार्शनिक चेत छ । कविलाई क्षणिकता मन पर्दैन । केही पाएर गुमाउनु भन्दा बरु नपाउनु उनलाई ठीक लाग्छ:–
हे फूल ! फुलेर एक छिनमै
ओइलिई झर्न भन्दा त
नफुलेर सदा हरियाली कोपिला
लागे त राम्रो हुन्थ्यो नि (क्षणिक फूल, पृ–१२०) ।
कविको समाजसेवी, सहयोगी, उद्धार व्यक्तित्वको छाया उनका कवितामा टड्कारै देख्न सकिन्छ:–
जति सक्छौ उति देऊ
हृदयदेखि नै देऊ (याचना, पृ–१२२) ।
अर्थपूर्ण, अस्तित्वपूर्ण बचाइको लागि आफ्नो भाषा, धर्म, संस्कृति नभुल्न कविज्यूको विनयशील आग्रह छ—त्यो आग्रह विशेषतः डायास्पोरिक भूमिका मानिसहरूलाई गरिएको हुनुपर्छ । उनका कविता एक किसिमले अपनत्व बचाऊ अभियान हो— लाग्छ ।
‘देशको माटोमा मेरो फूल’ कविता सङ्ग्रहमा कविको दृष्टिकोण, विचार, भावना, चरित्र, सादा जीवन, परोपकारी चेत तथा भलाद्मी व्यक्तित्व स्पष्ट देख्न सकिन्छ । शाब्दिक अर्थ दिने यी कविताले लोक जीवन बोलेको छ । उनका कति गीत, कविताहरू रेकर्ड भइसकेका छन् । अरू पनि हुँदै जाऊन् यही शुभेच्छा छ । आगामी दिनमा साहित्यकार घनबहादुरका कविता हार्दिक छँदै छन्, बौद्धिकता उन्मुख पनि हुनेछन् । यही अपेक्षाका साथ अहिलेलाई यति नै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।