सामाजिक धार्मिक अनि शैक्षिक दृष्टिकोणबाट केलाउँदा कोट्याउँदा बाछिटाकर, कथाकार अम्बिका धिताल ‘न भूतो न भविष्यति’ एक होनहार विलक्षण तीक्ष्ण,प्रखर,अचुक,अमोघ,अव्यर्थ कलम हो।

सुमेरू पर्वत झैँ थचक्क बसेको नेपाली साहित्यको महफिलमा अक्षय बाछिटा सङ्ग्रहले सञ्जीवनीरूपी मातृभाषाको बुटीलाई संवर्द्धन संरक्षण गरेको कुरामा दुईमत छैन। अझै सरल-सरस रूपमा भन्ने हो भने अक्षय बाछिटासङ्ग्रह भाषा साहित्य र सङ्गीतको ढुकुटीको प्रोज्ज्वल स्मारक हो। विश्व साहित्य फाँटमा कोसे ढुङ्गो हो। बाछिटा काव्यिक उपविधाको अभियन्तामा मेरूदण्ड धितालको अक्षय बाछिटासङ्ग्रहलाई मेरो मस्तिष्कको कसौटीले नजिकबाट दिग्दर्शन गर्ने अवसर पायो। यो अनुकूललाई सुलभ गराउनु हुने मित्र केशव बैरागी माइलोलाई दण्डवत्। ज्ञानेन्द्रियले कैलीको सुधा रसास्वादन गरे झैँ रसेन्द्रिय हुँदै गिदीको गुदीमा हुन्डरको प्रसव गरायो । कर्मेन्द्रियले शनैः शनैः कलम र कापी तर्फ इसारा गरेपश्चात् केही लेख्ने साहस गरेँ।

धेरै गन्थन् मन्थन् छैनन् आफ्ना! बाछिटा विधा लेख्न सत्कार्यको यात्रामा परिचित अम्बिकाजीका बाछिटा रसाल वृक्षका फलयुक्त, सर्वौषधितुल्य, सौन्दर्य प्रधान, प्रकृति बिम्बको तीव्रता वम् तीक्ष्णता पूर्ण प्रयोगले श्रुति माधुर्य,लक्षणा व्यञ्जनाले सरल र सरस, समाजिक कुसङ्गति कुसंस्कार क्षा क्षेत्रमा खेप्नु परेको कुटिल राजनीतिक चहल-पहलमाथि शल्यक्रिय,धार्मिक फाँटमा उत्ताउलाे कर्मचारी, ठेकेदारमाथि रामवाण, रोजगारको चुलिँदो जटिल अवस्थाप्रति प्रहार, अकासिएको बजार भाउप्रति भर्त्सना, जन्मभूमिलाई बेचिखाने नालायक कुपात्रप्रति क्षोभ, रागात्मक विषय वस्तुलाई मुक्त कण्डले प्रशंसा र उच्च सम्मान, संयोग र वियोगलाई संवेदनशील र प्रतीति ढाँचामा प्रस्तुत,एकमुष्ट रूपमा विद्वानलाई प्रतिष्ठा सज्ज्नलाई इज्जत र प्रतिभालाई प्यार गर्ने, ज्ञात सर्जकलाई सम्मान र अज्ञात स्रष्टालाई यस बाछिटा विधाको महफिलमा आह्वान गर्दै, जज्वल्यमान् भविष्यको खोज यस्तै यस्तै समस्याको पूर्ति हेतु अहोरात्र देश काल परिस्थितिसँग सङ्घर्ष गर्ने अठोटलाई अक्षय बाछिटा सङ्ग्रहालयमा कलात्मक अभिव्यक्ति यो बाल मगजले कैद गर्यो।

बाछिटामा प्रयोग गरिएका कलात्मक भाषा वर्णविन्यासबाट पाठकको मनमा अनेक प्रकारको उत्साह तरङ्ग रोमाञ्च जन्माउन सक्ने अम्बिकाको कला कौशलतालाई सलाम। निजको एक बाछिटा उदाहरणतः (पसिना-सुवर्ण दाना-मसिना) धरामा धानरूपी पसिना रोपेर मोति दान फलाउने यो कर्मधारय अग्रणी शालीन स्रष्ट सर्जकलाई अद्योपान्त साधुवाद !

यो प्राण पखेरू रहुञ्जेल पाठक बन्ने सौभाग्य मिलिरहोस्।

(हैरिस्वर्ग,पेन्सिल्भेनिया संयुक्त राज्य अमेरिका)