कवि सुष्मा दाहाल तेह्रथुमको फेदाप ३ जलजलेमा माघ २९ मा यस धर्तीमा पदापणर् गरी स्नातकोत्तरसम्मको औपचारिक अध्ययन पूरा गरी अध्यापन कार्यमा संलग्न रहेकी छिन् । विभिन्न साहित्यिक संस्थामा काम गर्दै आएकी दाहालले आफ्नो जीवनको मध्यान्तरमा मध्यान्तर कवितासङ्ग्रह पाठकसामु पस्कन सफल भएकी छिन् । मध्यान्तर कवितासङ्ग्रहभित्र ५० ओटा कविता सङ्ग्रहित रहेका छन् । सबै कविताहरू तत्त्वगत आधारमा तन्दुरुस्त छन् । प्रगतीवाद, अस्तित्ववाद, नारीवाद, प्रकृतिप्रेम, राष्ट्रप्रेम, सामाजिक यथार्थवाद जस्ता प्रवृति र विशेषता बोकेका ओजिला कविताहरू कवि सुष्मा दाहालको मध्यान्तरमा छ्यापछया्पती भेटिन्छन् ।

सुष्मा दाहालले जीवन भोगाइमा आइपरेका समस्या, आरोह, अवरोहसँग पौठेजोरी खेल्दै, एउटा नारी स्रष्टाले झेल्नु पर्ने व्यवधान पन्छाउँदै अघि बढ्नुपर्छ भन्ने उदाहरण दिँदै मध्यान्तर कवितासङ्ग्रह लिएर टुप्लुक्क पाठकसामु आएकी छिन् । उनको यस कवितासङ्ग्रहमा नारीवादी दृष्टिकोण प्रायः अधिकांश कवितामा भेटिन्छ । नारी स्रष्टा त्यसमा पनि व्यस्त जीवन, ग्रामिण जीवन चाखेकी, सामाजिक परम्परामा सर्लक्क पौडिन सफल, सुष्मा दाहालका कवितामा नारीका समस्या बुझ्न सक्ने क्षमता रहेको आकलन गर्न सकिन्छ । उनका मध्यान्तर कवितासङ्ग्रहका कविताका भावले नारीवादी दृष्टिकोण बोकेको कुरा छर्लङ्ग देखिन्छ ।

सैद्धान्तिक आधार :

प्रकृतिकी अमूल्य उपहार, जैविक रूपमा भूमिका निर्वाह गर्न सफल, सामाजिक, आर्थिक, सांस्कृतिक, राजनैतिक र शैक्षिक स्वतन्त्रता र समानताका लागि कारक तत्व नै नारी हुन् । पितृसत्ता र परम्परित मूल्य मान्यतासँग मुकाबिला गर्दै नारीका अनुभव, पीडा, हक, समानता, दृष्टिकोण, मान्यता, कल्पना र अस्तित्वलाई समेट्नु नै नारीवाद हो । नारीवादको विकास १७औँ शताब्दीबाट हुँदै आए पनि सन् १८४८बाट विधिवत रूपमा नारीवादको विकास भएको पाइन्छ ।

केही सचेत नारीहरूकोअगुवाइमा पढ्न र कमाउन पाउने अधिकार, पुरुषद्वारा हुने सबै शोषणको अन्त्य र मताधिकारलाई सोही समयमा अधिकारको रूपमा स्थापित भएको थियो । त्यसमा पनि नारीवादी सिर्जना र समालोचनाको सचेत प्रयास सन् १९६०को दशकबाट भएको देखिन्छ ।

हालसम्मको घटनाक्रम हेर्दा समाजमा प्रायः सबै चिन्तक, दार्शनिक, नेता, वैज्ञानिक, विज्ञ, भविष्यवेत्ता जस्ता क्षेत्रमा पुरुषकै बाहुल्यता पाइन्छ । त्यसबाट के प्रश्न उठ्छ भने के नारीहरू प्रस्तुत क्षेत्रमा अब्बल छैनन् त ? उनीहरूमा क्षमता नभएको हो ? यसलाई गम्भीर रूपमा मनन गर्नुपर्ने देखिन्छ । समाजले नारीका कार्यलाई हिनत्तर दिृष्टबाट हेर्दछ । नारीलाई प्रकृतिले भन्दा पनि सामाजिक व्यवस्थाले हीन तुल्याएको नारीको ठम्याइँ छ । त्यसैकाे विरुद्धमा नारीवादको जन्म भई साहित्यमा पनि नारीवाद मौलाएको देखिन्छ । शारीरिक भिन्नता, अनुभूतिगत भिन्नता, भाषागत भिन्नता, मनोविश्लेषणात्मक भिन्नता, सामाजिक, आर्थिक भिन्नतालाई नारीवादले असहमति प्रकट गरेको छ । नारी लेखक तथा नारीवादी लेखकको आफ्नै चिन्तन छ, मान्यता छ । ती नारीवादका मान्यता तथा दिृष्टकोणमा नारीको आफ्नै संसार छ, भाषा छ, विचार छ, सिद्धान्त छ भन्ने कोणबाट नारीवाद अघि बढेको छ । नारी मुक्ति र समानताको अटुट पक्षधरता पनि नारीवादी साहित्यमा भेटिन्छ ।

कवि सुष्मा दाहालको मध्यान्तर कवितासङ्ग्रह पनि नारीवादी चिन्तनले लपक्क भिजेको छ । उनका मध्यान्तरमा रहेका नारीवादी दिृष्टकोणलाई तल प्रस्तुत गरिएको छ । कवि सुष्मा दाहालको मध्यान्तर कवितासङ्ग्रहभित्र प्रगतीवादी, अस्तित्ववाद, क्रान्तिकारीभाव, प्रकृतिप्रेम, देशप्रेम, नारीवादको बिगबिगी भएपनि म यहाँ भित्र रहेका नारीवादी चिन्तन तथा दृष्टिकोणको समीक्षा तथा चर्चापरिचर्चा गर्दैछु ।

नारी पीडा वा समस्या

कवि सुष्मा दाहालको कवितामा नारीले वर्षौंदेखि पीडा भोग्दै आएको कुरा सजिव चित्रण पाइन्छ । यही पीडा आजको युग र समाजको जटिल समस्या बनेको भाव  उनका अधिकांश कवितामा रहेका छन् । उनका कवितामा नारी चित्कार, नारी चाहनाको हत्या, पारिवारिक भुलभुलैया, व्यक्तिगत सुखको बेवास्ता, सहनशीलताको पराकाष्ठ, अन्धविश्वासले जेल्नु, जानिफकारहरूको स्वार्थी दया, नारीहरू दीनहीन भएर बाँच्नु पर्ने वाध्यता देखिएको छ । उपेक्षित भएर कमजोर ठानिएकी नारीलाई लक्ष्यमा पुग्न बाधा अड्चनका पर्खालले जहिल्यै छेक्ने बिडम्बना देखिन्छ । तसर्थ, नारीका कारुणिकता, पीडा र समस्यालाई उनका कविताका यी साक्ष्यहरू मार्फत यसरी पोखेकी छिन् ।

आँट, हिम्मत, जोस, जाँगर,अठोट सबै सबै थिए तर के ले खोस्यो या भुलायो थाहा छैन (मध्यान्तर)

प्राप्तिका लागि मुटु जोडेका थियौ, साझा सपना बाडेका थियौ, सबै सबै बिलाएर खरानी भए (यादको भूमरी)

कहिलेकाँही कविताका शब्दहरूमा आँशुका ताल छचल्किन पुग्छ अनि आँशुमय बन्छ कविता (प्रतिक्षा)

यो मान्छे हराएको शहरमा म तिमीलाई भेट्ने रहरमा, वर्षौंदेखि भौँतारिई रहेछु (अनकन्टार शहर)

नारी विद्रोह 

कवि सुष्मा दाहालका कवितामा नारीले वर्षौंदेखि सामाजिक, सांस्कृतिक र परम्परागत मूल्यमान्यताबाट भोग्दै आएको पीडा विरुद्धमा स्पष्ट विद्रोह प्रस्तुत गरेकी छिन्।नारीहरू सहनशील हुन्छन तर अति भएमा सशक्त प्रतिकारमा उत्रन्छन् भन्ने कुरा उनका कवितामा पाइन्छ । उनका कवितामा नारीहरू मझेरी र पँधेरीमा मात्र सीमित हुन नचाहनु, पारिवारिक र सामाजिक जञ्जीर तोड्न खोज्नु, नारी शक्तिलाई कमजाेर नजर अन्दाज नगर्न आग्रह, नारी उन्मुक्तिको आग्रह, पितृसतात्मक हैकमवादको विरोध, नारी संवेगको बाढी, विभेदकारी सामाजिक संरचनाको विरोध, दमनलाई शक्तिमा बदल्नु नारीको जिउने शैली फेरिनु, यौन तथा प्रजननमा नारीको प्रमुख भूमिका, उत्पीडनको विरोध, अन्ध परम्पराको विरोध अथवा विद्रोह उनका कविताका यी साक्ष्यहरूमार्फत यसरी प्रस्ट गरिएको पाइन्छ ।

कसले नजर अन्दाज गर्न सक्छ मेरो स्वतन्त्रतालाई, कसले अड्कलबाजी लाउन सक्छ मेरो तागतलाई, कसले दिन सक्छ चुनौती म र मेरो कर्महरूलाई (हजारौँ माइल टाढाबाट)

खुलेर जिउन चाहने त्यो आदतलाई सलाम (त्यो आदतलाई सलाम)

कलमलाई हातबाट थुतेर गर्भबाट शब्दहरू तुहाउने दुष्प्रयासमा सडकमै किचिपिची पारेको क्षणका मनको भित्री कुनाबाट आरम्भ भै सक्दो रहेछ मेरो कथा (आफ्नो कथा)

असमय र असमर्थताका बाबजुद जबरजस्ती बलात्कृत भएर लाज मर्दो गर्भधारण हुन्छ, हो यही अवस्थामा शब्दभाव बनेर अनायासै सिर्जिन पुग्छ कविता (कविताको जन्म)

समयले ममा परिपक्वता ल्याएको छ, म पहिला जस्तो निसङ्कोच, निरीह, अबला, सज्जन रहिन अब (समय,ढुङ्ग र म)

नारी अस्तित्वको खोजी

राज्यबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि विद्रोह गर्ने कुराको उद्घोष उनका कवितामा गरेकी छिन् । नारीहरू अंश, वंश र मानवतामाथि आफ्नो स्वामित्त्व र सह-अस्तित्वको खोजीका लागि निरन्तर लागिरहनु पर्ने सन्देश उनका कवितामा पाइन्छ । कवि दाहालले आफ्नो कवितासङ्ग्रहमा नारीको जीवन सङ्घर्षपूर्णर छ, नारी आफूले आफैलाई चिन्न सक्नुपर्छ, नारी पहिचानको खोजी गर्न समाजमा केही गर्ने धारणा, स्वको खोजी, जन्मको सार्थकता, नारीको सामाजिक भूमिका, नवीन मूल्यको खोजीमा उन्मुख गराउनु, अस्तित्व रक्षाको लडाइँ, जटिलताको पराकाष्ठा, विसङ्गगतिभित्र  सङ्गतिको खोजी,  प्रयोजनहीन मानव जीवन,  नारी जीवनको मान्यता, पराधीन र विवश जीवन जस्ता विषयहरू उनका कविताका यी  यसरी पुष्टि गर्न सकिन्छ ।

उसको खोजीमा कोही ननिस्किए आफ्नो खोजीमा आफै निस्किँदै छ अचेल
अस्तित्वको लडाँइमा हारजीतका (गोरेटो हराए पछि)

कथा मिलाई लेखिएको त्यो कालखण्डको इतिहासले नसरापोस् (अस्तित्व)

राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो मान्दै कसैले गुनासो नसुनोस् नदेखोस्, बेपरहवा नै धर्ती नाप्दै बाँचेको मान्छे हुँ (म शब्दको सस्तो व्यपारी होइन)

जीवन्त बन्नका लागि अस्तित्व बचाउनु पर्छ, अस्तित्व तब मात्र जोगिन्छ जब त्यसका लागि सङ्घर्ष कयौं उतारचढावहरू सहज मानेर अघि बढिरहन्छ मान्छे (जीतको कथित पराजय)

भोलि के हुने हो दिन देखे रात देखिने हो कि होइन (दुविधा बीचको आसा)

ए समय मलाई बतास जस्तो उड्नु छैन, मौसम जस्तो बदलिनु छैन सक्छस् भने यस्तो हिम्मत दे मलाई आकाश बन्नु छ । (मलाई आकाश बन्नु छ )

नारीमा राजनीतिक चेतना

राजनीतिले नै सबै विषयको निर्धारक हो । महिलाहरू अगाडि बढ्न राजनैतिक चेतना हुन अनिवार्य हुन्छ । राज्यका सबै तह र तप्कामा प्रतिनिधित्व गर्न तथा प्राप्त अधिकारलाई संस्थागत गरी थप अधिकारका लागि अगाडि बढ्ने कुराको उद्घोष गर्दै विभिन्न विकृति,विसङ्गती विरुद्ध खराे आवाज उनका कवितामा भेटिन्छ । नारीमा राजनैतिक चेतना मौलाउनु, आरक्षणको घेरामा सीमित, अझै नारीले राजनीतिमा ठाउँ नपाउनु, नारी समानताको सस्तो नारा, राजनीतिक चेतनासँगै सशक्तिकरणको खोजी, दूरदराजका नारीको राजनीतिक भूमिका कम, नारीहरू आवश्यकताअनुसार चल्ने, प्रभुत्वशाली वर्गको दबाब राजनीतिक क्षेत्रमा पर्ने, अधिनस्थ र उदीयमान नारीको पर्दाफास, अवसरको खोजी, नेतृत्वको खोजी, जानिफकार कै हालीमुहाली, टिके प्रवृत्ति मैलाउनु जस्ता नारीमा राजनीतिक चेतनाका विषयहरू उनका कविताका यी साक्ष्यहरू मार्फत यसरी हेर्न सकिन्छ ।

मान्छे, मान्छे बनेर बाँच्दैन अब म र मेरोमा सीमित बन्दै जान्छ पहिचान परिचयको नाउँमा आफूलाई सङ्कीर्ण र साँघुरो बनाउँदौ जान्छ (स्वार्थ)

समानताको नारा रचेर मात्र के गर्नु ? शोषण जस्ताको त्यस्तै छँदैछ, हेराइको शोषण, अन्तदेखिको शोषण, ओहदाको शोषण, उच्च ओहोदाका नारी पनि आफूलाई शोषण रहित भन्न सकिरहेका छैनन । (नारी शक्ति र यथार्थता)

म जलेको हल्लाले तातिएको गल्ती, भोक र शहर, एउटा सानो टुक्रो भोकसँग कति सहजै साटिएका छन् है, यहाँ अनमोल प्राणहरू (एक टुक्रो भोक)

केवल उज्यालोको किरणसँगै स्वर्णिम बिहानीको सुन्दर आभा लिएर सुदुरका बस्तीहरु बिउँझिनेछन् ।(गोधुलीका बस्तीहरु)

यी सारा बेथिति र विसङ्गति तोड्न म रिभल्बर बोक्छु, म आतंककारी बन्छु ।(म आतंककारी बन्छु)

मातृत्व प्रेम

प्रकृतिकी जननी नारी हुन् । नारीमा निस्वार्थ प्रेम, निश्चल भाव र प्राकृतिक परिवर्तका नियमहरू बुझ्ने र कठिन परिवेशलाई पनि सहजहरूमा बहन गर्ने क्षमता हुन्छ । कविका कवितामा असल मित्र नारी हुन्(सन्तानकी असल मित्र), आमाका सपना पूरा गर्ने चाह, निस्वार्थी प्रेमको अभावको पीडा, सन्तानको प्रेमले तड्पिनु, सन्तानप्रति उत्तरदायित्व, मातृत्वप्रतिको मोह, मातृत्वको भोक, नारी मातृत्व प्रमुख विषयहरू उनका कविताका यी साक्ष्यहरू मार्फत् यसरी प्रमाणित गर्न सकिन्छ ।

म एक भाग्यमानी आमा हुँ किनकि तिम्रा हरेक असहजताहरूका लागि सहजता बनेर उठ्न तयार छु, प्राकृतिक परिवर्तनका नियमहरू बुझ्ने दिमाग मसँग छ ।(पहिलो महिनावारी)

आमा चिन्ता नगर हामी पनि सुखी हुनेछौँ, सम्मानित जीवन बिताउनेछौँ, तिमी पनि बिसेक हुनेछौँ । (परिवर्तनले नछोएकी मेरी आमा)

रुवाबाँसी चल्यो घर दलानमा बोल्दै बोलिनन् आमा हल्लाउँदै क्रन्दन गर्दै चिच्याए बोल्दै बोलिनन् आमा । (मातृ विगोगको पीडा)

लडिराछे गोले ठूली वर्ष दिन भो अरे वेपत्ता छ ठूलो छोरो फर्किएन अरे (अक्करको गर्भभित्र अरुणका सुस्केराहरू)

निष्कर्ष:

समग्रमा भन्नुपर्दा कवि सुष्मा दाहालको मध्यान्तर कवितासङ्ग्रहले विभिन्न प्रवृत्ति र विशेषता बोकेर आए पनि मैले यसमा रहेको नारीवादलाई पर्गेल्ने जमर्को गरेकी छु । नारीमाथिको विभेद, शोषण र दमनका विरुद्धमा समाजमा चेतना बढिरहेको छ तर पनि यो क्रम घटेको छैन। शिक्षित परिवारमै पनि यस्ता घटनाहरू प्रशस्त भइराखेका छन् । त्यसैले झन् अशिक्षित परिवारमा नारीको अवस्था दयनीय रहेको छ । नारीमा हुने लैङ्गिक विभेदको अन्त्य गरी लैङ्गिक समता सिर्जना अपनाउनु पर्ने देखिन्छ । मानिसले समयअनुसार चल्नु पर्दछ समयसँग चल्न सकेन, विचार परिवर्तन गर्न सकेन भने समाजको गति नै रोकिन्छ । आजको एक्काइसौं शताब्दीमा नारी चेतनाको राको दन्किसकेको छ, सकारात्मक व्यवहारले रोक्न नखोजे यसले विकराल रूप पनि लिन सक्छ ।

उनले आफ्ना कवितामा नारी पीडा आजको युग र समाजको जटिल समस्या बनेको भाव दिँदै महिलाहरू अगाडि बढ्न राजनैतिक चेतना हुन अनिवार्य हुन्छ भन्ने कुरालाई जोड दिएकी छिन् । रुचिकाे जीवनदर्शन  नारीकाे आफ्नाे अधिकार, सम्पत्ति र वंशको समान हक, लैङ्गिक विभेदको अन्त्य, नारी अस्तित्वको खोजी, आत्मसम्मान, सामाजिक संस्कारमा सकरात्मक भूमिका, राजनैतिक चेतना, मातृत्व प्रेम जस्ता विषय उनका कवितासङ्ग्रहले समेटेको देखिन्छ । तसर्थ नारीले आफू सुरक्षित र सम्मानित भएको महसुस गर्न पाउनुपर्छ भन्ने विद्रोही चेत कवितामा छन् । पीडालाई शक्तिमा बदल्नुपर्छ भन्ने हिम्मत नारीले लिनुपर्ने सन्देश कवि सुष्मा दाहालको मध्यान्तर कवितासङ्ग्रहमा  रहेको पाइन्छ ।