इतिहास-कला, भाषा, लोकसंस्कृति र धर्मका लागि मैले ज्यादा चिनेको हुँ सत्यमोहन जोशीजीलाई । अहिले उनको भौतिक देह हामीमाझ नरहे तापनि उनको लेगेसी (legacy) र देन अनुपम छ औँ यादगार पनि। जोशी नाटककार नि हुन् र केही नाटकमा हरिहर शर्माको मजेदार प्रस्तुति छ भन्ने सुनेको थिएँ। सौभाग्यवश; उनको नाटक पढ्ने मौका मिल्यो हिजो।

किताबको आवरण र शीर्षकले जिज्ञासा जगाएको थियो। बहुआयामिक व्यक्तित्वका धनी जोशीका नाटक नि सरल  र उम्दा लाग्ने रहेछ … उनको छवि र रवि जस्तै। उनका नाटकमा समाज बोलेको छ भन्ने कुरो सुनेको थिएँ, जुन अहिलेको अवस्थामा पनि उस्तै अनुभूति हुने… हो रहेछ भन्ने लाग्दैछ नाटक सकिएपछि।

अरू जस्तो भारी शल्यक्रिया गरिन्न तर निर्धक्क मनमा लागेको बताउने काम हुन्छ आफ्नो त। वि.सं. २०३४ सालमा मञ्चन गरिएको र राम्रो सफलता हात पारेको र वि. सं. २०३५ सालमा किताबका रूपमा प्रज्ञा प्रतिष्ठानले निकालेको यो नाटक “जब घाम लाग्छ” सरल, सहज र आफ्नै ओज-डोज बोकेको आभास भयो। सत्ता र शक्ति अनि चलखेलले भरिएको केन्द्र नजिक बसे तापनि गाम-घर र अन्य भेगका कथा उनका किताबमा अटाएको हुन्छ। ग्रामीण परिवेश, भेषभूषा, भाषा संवाद, आमोद-प्रमोद यस नाटकमा पाएँ। कथानक सरल छ । गाउँघरमा विकासको मूल फुटाउने सम्बन्धी अनि विकासकार्यमा तगारो बन्ने के कस्ता महानुभाव हुन्छन् भन्ने बारे,  छ सँगसँगै नारीले पनि विकास निर्माण र जन-कल्याणका मार्गमा लाग्न सक्छन् भन्ने सन्देश; बस मौका दिएर र गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ।

३०-४० सालको नेपालमा कसरी विश्वविद्यालयले शिक्षाका अलावा प्रत्यक्ष रूपमा गाउँ गाउँ गएर विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिने रहेछ थाहा पाएँ। अहिले त हाम्रा विश्वविद्यालय कि त भेँडा उत्पादनमा अब्बल छन् कि राजनीतिक कार्यकर्ता कि भनेजस्तो सोचेजस्तो रोजगारी… बरु अध्ययनको दायराभन्दा बाहिरको मा नै मजा रहेछ रोजगार खोज्न गर्न खान त। अत: समाजको ऐना र तस्वीर बदल्नु छ भने हामी आफैँ बदलिनु त पर्छ नै, परिवारलाई पनि बदल्ने सामर्थ्य राख्नुपर्छ भन्ने ज्ञान भयो।

यस नाटक पढ्दै जाँदा दिमागमा फरक आयामका तस्वीर त आउँछन् नै, आफू पनि गाउँमा यात्रामा व्यस्त अभ्यस्त भएको महसुस गर्दछौँ। कथानक धेरै घुमेको छैन बस काठमाडौँ र ज्यामिरे गाउँ (सिन्धुपाल्चोक जिल्लाको ज्यामिरे भन्ने ठाँउ)बाहेक। सुलेखा, सुलोचना, मेनका, च्यान्टी, काइँली, सुब्बा महेन्द्रबहादुर, कुम्हाले (बलवीरे), प्रधानपन्च, काजी, साहु आदि महत्त्वपूर्ण पात्रहरू छन् जो वास्तविक जीवनमा पनि हामीले देखे भेटेकै प्रतीत हुन्छन्। गाउँले जीवनको उतारचढाव, सामाजिक रहन-सहन, थिचोमिचो, एकता, चौतारीमा हुने बसिबियालो, संवाद-विवादको बहुतै गजबको चित्रण पाएँ नाटकमा।

काठमाडौंमा सुरु भएको राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रममा जान तमतयार रहेकी चेली सुलेखाको साथीहरूसँगकाे सानो पार्टी र सौतेनी आमासँगकाे टकरावबाट। प्रजनन, नारी स्वास्थ र कृषिका पक्ष अलावा राविसेमा खटिँदा गर्ने कामहरू, मुख्यतः बालबच्चा जन्माउँदा राख्नपर्ने ३-४ वर्षको फरक बारेको जनचेतनावाला पोस्टरले सौतेनी आमामा क्रोध उत्पन्न हुने दृश्य वास्तविक लाग्छ। अहिले पनि त कतै कतै HIV\ AIDS र सुरक्षित यौनबारे गाउँघरमा नाक खुम्च्याउने, रिसाउने महानुभाव यदाकदा भेट हुन्छन् नि। छोरीलाई पढाउन लेखाउन र एक्लै समाजसँग लड्न कुद्न स्वतन्त्रता दिने भन्दा डर र धम्की देखाउने र कमजोर आँक्ने पनि छन् नि यहीँ समाजमा। सौतेनी आमाको मन भारी हुने र आफ्नालाई लाखा, अरूलाई पाखा गर्ने आनीबानी, पत्नीका अगाडि पति चुपचाप बस्ने र सकेसम्म हलुका सम्झाउने यत्न गर्ने नि देखेकै छु वास्तविक जीवनमा। पति र पत्नी बीच आउने टकरार र विवाद नि हल्का आएको छ नाटकमा, सामाजिक इज्जत कायम राख्न छोरीलाई बन्धन र घरमै बाँध्ने दृश्यका साथमा।

केही बोल्दा भन्दा बात लाग्ने र मान्छे सही हो भन्नेले अलिकता आफ्नो मतभेद र फरक विचार राख्दा चोथाले भनिने प्रवृति पाएँ नाटकमा। गाउँतिर हुने चौतारी गफ, प्रकृतिको काखमा खेल्दै सुसेल्दै रल्लिँदै हल्लिँदै हुर्कने जीवन, माटोपानीमा रम्ने उर्लने कुर्लने यौवन र गाईवस्तु चराउने दैनिक गतिविधिबाहेक गाउँले प्रेम पनि अटाएको छ। सारङ्गी बजाउनेले हृदयमा पुग्नेगरी बडो अदब र दु:खका साथ गाउने गीत, सुसेलीमा बज्ने मिठो लोकभाका र वातावरणमा मिल्ने रम्री आवाज पनि भेटेँ नाटकमा। आफ्नो बाल्यकाल र युवाकाल अनि गामघरमा बिताएका ती दिनहरूको तस्वीर सम्झनामा आउँछ। नयाँ मान्छे देख्नासाथ गाउँलेका मनमा आउने खुलदुली र दिल खोलेर घरमा स्वागत गर्ने मिठो परिपाटी शहरमा कहाँ भेटिनु र ? अझ , पहिलो भेटमै मिठो मन्द मुस्कान निस्वार्थ फैलाउने कमै भेटिन्छ महँगिदै गएको शहरमा त।

राजधानीबाट आएको मान्छे, कि त सरकारी अफिसर, कि ठुलै मान्छे परे, ‘कि’ भन्ने लाग्ने त अहिले पनि हुन्छ बेलामौकामा। देश निर्माणका लागि गाउँको विकास पनि महत्त्वपूर्ण छ र निर्वाचनका बेला जोशमा दिने भाषणभन्दा जनप्रतिनिधिले मौन रूपमा विकास निर्माणलाई पहलकदमी लिनुपर्ने भान हुन्छ। नाटक पढ्दा ठुलाठुला विकास कार्य भन्दा गाउँघरमा कृषि, धारापानी, बाटा गोरेटा र इलम शिक्षा दिगो हुन्छन् भन्ने बुझिन्छ।

अनि , विकासनिर्माणका काममा बाधा दिने उस्तै गाउँलेका नेता र आफूलाई गन्नेमान्ने ठान्ने साहुखलक हुन्छन् भन्ने कुरा आएको छ। देशमा मुलुकी ऐन लागु भएपछि कसरी अनमेल विवाह, बाल-विवाह र बहु-विवाह ज्यादा चले पनि चलन नरोकिएको र राविसेबाट खटिएका विद्यार्थीहरूले त्यस बारे जन-चेतना विस्तार गर्ने ध्येय बारे पनि कुरा आएको छ। प्रबल इच्छाशक्ति र गरिछाड्ने हिम्मत छ भनेर परिवर्तनको आँधी तुफान रोकेर रोकिन्न, छेकेर छेकिन्न भन्ने अर्को तस्वीर आउँछ दिमागमा।

साँच्चै , हामी जनताहरूसँग हर समस्या निवारण, देश र समाजका लागि केही गर्न सक्ने र राज्य सत्तालाई न उथलपुथल गराउने शक्ति हुन्छ तर अफसोस ! परेको चाहिएको बेला त्यो शक्ति छिन या अलपत्र हुन्छ। नाटकमा देखाएको जस्तै गाउँमा हुने विकास निर्माणका लागि हुने श्रमदान र साथ सहयोग साक्षी बसिएको नै छ। गजबको लाग्यो यो छोटो मिठो नाटक।

अरुलाई हेप्ने, धनका आधारमा गरीब भन्ने र राजनीतिक पहुँचको हौवा दिँदै शारीरिक भौतिक आक्रमण र शोषण गर्नेहरूका पनि तस्वीर आउँछ नै नाटकमा। आफ्नो कुरा र अभिमानले जित्न नसकेपछि आक्रमण गराउने र एउटा कुविचार र गलत भाव अभिप्राय राख्नेलाई हटाए पनि त्यसको ठाँउमा उस्तै जब्बर नमूना आउने कुरोलाई पनि मैले वास्तविक जीवनसँग तुलना गरेर हेरेँ। आखिर एउटा राजा हटाए भनेर गमक्क परेपनि अहिले त कति हुन् कति छोटे राजा। अत: गाउँघरतिर स्वास्थ्य सेवाको पहुँच के कस्तो कमजोर छ र साहु महाजनबाहेक आम गाउँलेहरू बिरामी पर्दा हल्का रुपमा लिने केही स्वास्थ्य कर्मचारी हुन्छन् भन्ने कुरा पनि कुनै कुनै गाउँना अझै देखिएको छ नै। धेरै अब्बल नाटक त लाग्दैन केहीलाई यो, र हलुका लाग्ला नै। मलाई चैँ यति सरल र सहज तवरले पनि नाटक लेखिन सकिने रहेछ है भन्ने भान भयो। यो नाटकको पठन रोचक र मिठो नै रह्यो है मेरा लागि। रमाइला र घतलाग्दा क्लासिक नाटक पढ्न पाउँदा छुट्टै हर्षोल्लास अनुभूति हुने रहेछ नै।