पुस्तक परिचय
हरिशरण परियारले २०७९ साल बेला पब्लिकेशनबाट प्रकाशित भएको ‘कैंची’ कविता सङ्ग्रह प्रकाशन गरेका छन् । यस सङ्ग्रहले जम्मा जम्मी १०२ पृष्ठमा ४२ कविताहरू सङ्ग्रहित गरेको छ | भूमिकामा आहुतिले लेखेका छन् – सङ्ग्रहका कविताहरू पढ्दा उनको भविष्य उज्ज्वल देखिन्छ, कविलाई बधाई ।’
सङ्ग्रहको चिरफार
धेरै कविताहरूले वर्तमान समयको विसङ्गति बोलेको छ अनि त्यो विसङ्गतीपूर्ण समाजमा प्रताडना भोग्ने समुदायको आवाज बोलेको छ । अझ अघि बढेर त्यो समुदायभित्र छिरेर अब त्यो समुदाय नवीन सोचकासाथ सबै विसङ्गतिहरू हटाउन अघि बढ्नेछन् भन्ने उद्घोष छ यस सङ्ग्रहभित्र भएका कविताहरुको ।
अधिकांश कविताहरूले पुरातन समयदेखि उल्लेखित समुदायले भोग्दै आएको विभेदपूर्ण व्यवहारले खेप्नु परेको दुख, दर्द र प्रताडनाको अभिव्यक्ति पस्केको छ र त्यो भन्दा अझै अघि बढेर त्यो समुदाय अब चुप लागेर बस्दैन । नयाँ परिस्थितिमा अहिलेको समाजमा व्याप्त विभेदको अन्त्य गरेर आफ्नो समान हैसियत कायम गर्न अघि बढ्नेछ भन्ने अर्को उद्घोष छ ।
राजनैतिक व्यवस्था फेरियो तर अवस्था उही छ । मेहनतकस समुदाय र तप्काको अवस्थामा परिवर्तन ल्याउन पहलकदमी अब अरूले होइन आफैँले लिनुपर्छ भन्ने गहिरो सन्देश दिएको छ, यस सङ्ग्रहभित्र परेका अधिकांश कविताहरूले । केही कविताहरुको मिहिन सन्देश यस्ता छन् –
कविको मनको आवाज
‘प्रतिबिम्ब’ कवितामा उनले ऐनाअगाडिज उभिएर हेर्ने एउटा किसान, एउटा दमित वर्ग र मेहनत गरिब मानिसले सधैँ आफ्नो थोत्रो अनुहार, मैलो लुगा, मुजा परेको शरीर र परिश्रमका धर्साहरु मात्र देख्दैनन् । समयको मागबमोजिम उसले आफ्नो टाउकोमा उच्चतम विचार भरिएको र पैतालामा मुक्तिको पदचाप पनि देख्छन् र विस्फाेटकाे तैयारी स्वरूप आफ्नो नवीन प्रतिबिम्ब बोकी हिँड्दछ, भनेका छन् ।
‘अक्षम्य अपराध’मा उनले अन्धविश्वास, रुढीवादी प्रचलन, सामाजिक परिवेश, लाजगाल, हेपाहापन के के हो के के ले हरेक मानिसको जिजीविषा र सपनाको भ्रूण विभेदले निषेध गरेको देख्दा आक्रोशित त हुन्छ मन तर त्यो सब अपराध हुन् जसलाई उजुरी दिने र प्रमाणित गर्नु पर्ने छैन । अपराध गरेर तिमी खुशी मनाऊ, कवि कविता लेखेर आक्रोश पोखेका छन् ।
‘गाँजे बूढा : सोमबहादुर नेपाली’ शीर्षकको कवितामा ६० को उमेर पुग्दा नपुग्दै सबैले छाडेर एक्लो बनेका सोमजी सोध्छन् – “उनी एक्लो हुनुमा दोष कसको हो ?”
‘मोनालिसा र म’ कवितामा उनले एउटै राष्ट्र गान गाउनेहरूको अनुहारमा जातको भिन्नता खोज्ने समाजको अघि लियोनार्दो दा भिन्ची आए भने सोध्नु छ – “मोनालिसा र मेरो अनुहारमा के भिन्नता छ” भन्ने भाव व्यक्त गरेका छन् ।
‘रफ्फु’ शीर्षकको उनको दमदार कविताले जसले आफ्नो इन्द्रीयहरू नियन्त्रणमा राख्न सक्दैन भने तिनीहरुको रफ्फु त झन् के सम्भव होला र भन्ने प्रश्न गरेको छ ।
‘यी आँखामा’ भन्ने कवितामा उनले यी आँखामा उनी अटाइनन् – सारा संसार अटायो भनेर लेखेका छन् ।
‘रुनु छ मलाई’ भन्ने कवितामा मनमा पिर साँधेर अनुहारमा कृत्रिम मुस्कान ल्याउनुभन्दा रोएर पिर पखाल्नु श्रेयस्कर हुन्छ र ‘सडक पेटीमा हिंडिरहेको समय’ मा हराएको बर्षौंपछी भेटिएको बूढो समय, लखतरान छ, हैरान छ भन्ने मनको भाव उल्लेख गरेका छन् ।
‘स्वाभाविक’ कवितामा तिमीले स्वाभाविक ठानेका अस्वाभाविकहरू भत्काउनु, पर्गेल्नु, विनिर्माण गर्नु आजको आवाज हो भन्ने उद्घोष छ ।
आमा बिम्ब बनाएर लेखिएका कविताहरू
‘दमिनी आमा’ कवितामा कविले हेराइमा फरक हो बराजु ! म्याक्सिम गोर्कीले टिलिक्क टल्काएकी रसियन ‘आमा’ आज विश्वभरी अत्यधिक पढिन्छ । दिपेन्द्र के.सि.को नेपाली चलचित्र ‘आमा’ ले रङ्गमञ्चमा तहल्का मच्चाउँछ । तिमी मेरी आमालाई खाली ‘दमिनी आमा’ देख्छौ । सियो, धागो र कैँचीमा अल्मलिएकी मेरी आमा र तिम्री आमामा म त कुनै भेद देख्दिनँ – आमाको काखबाट मात्र होइन, आमा शब्दबाट नै एक प्रकारको सुवास मग्मगाउँदछ भनेर लेखेका छन् ।
त्यस्तै ‘भुइँफूलहरू’ शीर्षकको कवितामा उनले किनारमा फुलेको फूल र डालीमा फुलेको फूलमा रहेको सामाजिक विभेदप्रति आमाको आक्रोस अछुत डिम्बहरुलाई देउरालीमा फुलाउने रहर छ भन्ने लेखेका छन् |
कविले भोगेको समाज
‘बाटो’, ‘काठमाडौं’, ‘महामहिमको सवारी’, ‘हाम्रा पदचापहरू’, ‘रामभरोस’, ‘उल्टो यात्रा’ र ‘यात्रा’ शीर्षकका कविताहरूमा उनले बाटो खोज्दै बाटै बाटो हिँड्दा हिँड्दै बाटो नदी भएर बगेको छ र निर्भीक पहाड र स्वच्छन्द पंक्षी भएर मुक्त आकासमा उड्ने उत्कट चाहना राखेका छन् कविले । फराकिलो सडक बोकेर पनि साँघुरो प्रतित हुन्छ – शासक पाल्ने काठमाडौं शहर । सडकलाई आफ्नो कर्म थलो बनाउने सारा तप्कालाई बिर्सेर, उनीहरूलाई निषेध गरेर गरिने राष्ट्रपतिको सवारी सर्वथा निन्दित छ, विवादित छ तर यो क्रम अध्यापी जारी छ । बाटो उही, समय उही, पाइला उही तर हामीले छाडेका डोबहरू किन फरक फरक ? यो सडक यति निर्दयी छ, जीवनभर पसिना बगाउँदा पनि डोब एकरत्ति बस्दैन । समय यन्त्रको यात्राले ल्याएको ऐतिहासिक अनि पौराणिक/शास्त्रीय मिथकहरुको रचना हुँदै गर्दाको समयमा पुगेर नयाँ मानवता र भुगोलीय यथार्थको मिथकको सिर्जना । र नदी, ताल र छहरा झैँ बग्नु रहेछ यात्रा, अब बाँधहरु फुटालेर भेल बनी बग्नु छ भन्ने आशय व्यक्त गरेका छन् ।
‘बल्छी’ कवितामा उनले जब आफ्नै रहर र भोकलाई बल्छीमा उनेर असला र बामसँग साट्न विवश हुन्छन्, घोलिएर जिन्दगी नदीको पानीमा तर पखलिएन सारा दुख अनि मनले पृथ्वीकाे गर्भसम्म पुगेर आदिम धातु बोकेर नवीन बल्छी बनाउँदै सत्ता सम्हालेर बसेकाहरूको थाप्लोसम्म उधिन्ने सङ्केत गरेका छन् ।
‘भन्नु छ केही तिमीलाई’ कविताभित्र उनले यो हावा, प्रकृति, पानी, वातावरण सबै एउटै हो फरक मात्र धर्म र देवी देवता हो मेरो मायामा कमी छैन भनी भन्नु छ तिमीलाई भनेर लेखेका छन् ।
‘ढाड’ शीर्षकको कविताभित्र कविले दुख र कहर खेप्ने ढाडको छेको पारेर छुरा धस्नेहरु, फाइदा उठाउनेहरु ढाडलाई आफ्नो उकालो चढ्ने सिँढी मात्र बनाउँछन् भन्ने सत्य कुरा बोलेका छन् ।
‘पेम्बा’ कवितामा उनले दुई थुँगा राष्ट्रिय फूलको मोल तिर्ने सुकिला पर्यटकको भन्दा पेम्बाले बुझेको गुराँस भन्दा रातो रङ्गको श्रद्दा ठूलो भन्ने लेखेका छन् ।
‘दुर्घटित सपनाहरू र गणतन्त्र’ कवितामा उनले शहिदको सपाट छातीमाथि गणतन्त्र दिवस मनाउने र गणतन्त्रको उद्घोष गर्ने पक्षलाई बिर्सेर भोट माग्दै हिँड्नेप्रति तिखो प्रहार गरेका छन् ।
‘पत्थर’ शीर्षकको कवितामा उनले पत्थर हुनुको नैसर्गिकता बिर्सेर देवताको भेषमा विभेद निम्त्याउने मुर्ति जस्तै अनगिन्ती भेटिन्छन् पत्थरहरू रुपी अबयाभारू भनेर लेखेका छन् ।
बिद्रोह बोलेका अन्य कविताहरू
‘विद्रोह’ र ‘बिद्रोही रङ्ग’ शीर्षकका कविताहरूमा उनले नदीको बाटो छेक्ने पहिलो, घामको किरण छेक्ने अँधेरीसँगको विद्रोहमा अक्षरलगायत सिर्जनाका हरेक आयाम लामबद्द छन् र विद्रोहको या क्रान्तिको अर्को छुट्टै रङ्ग हुन्न | सपाट सेतो रङ्ग नै सबै रङ्गहरूको मिश्रण हो त्यही रङ्गभित्र यथार्थ रङ्गहरू भेटिन्छन् भन्ने आशय व्यक्त गरेका छन् ।
‘अब मलाई मन छ, चिल हुन’, ‘कोयो’, ‘एउटा फिलिङ्गो’, ‘कैँची’, ‘आगो’ जस्ता झरिलो कवितामा उनले विद्रोह बोलेका छन् । चिलको जस्तो हेर्ने आँखा लिएर पिँधबाट होइन अब आकाशबाट लड्ने इच्छा छ कविको हरेक बेथितिको विरुद्ध । कोयो फोरेर अब रेसम कीरा झुसिल्किरे प्रवृतिको विरोधमा खुल्नेछन् । जुका बनेर टाँसीनु भन्दा लाख गुणा असल हुन्छ एक्लो बस्नु र हुनु । परजीवी बनेर अर्काको भरमा बाँच्नेले दम्भ गर्नु बेकार छ – एउटा फिलिङ्गो काफी हुन्छ उसको सर्वनाश गर्न । मान्छेको लाज ढाक्ने र रास्ट्रको शिर उच्च राख्ने राष्ट्रिय झण्डाको काँट छाँट गर्ने कैँचीको आक्रोस पोखिन के बेर ? आफ्नै आँगनबाट निस्केको आगोको फिलिङ्गो सहजतामा मात्र होइन असहजतामा झन् कहिलै ननिभ्ने गरी दन्किन्छ आगो भन्ने उद्घोष गरेका छन् ।
त्यसैगरी ‘मरेपछि डुमै राजा’, ‘गिद्दहरु’, ‘स्पर्श’, ‘पसिनाको हिसाब’, ‘प्रश्नहारको संहार’, ‘सनइ’, ‘सिउंडी’, ‘पुर्खाको नाममा एक सपथ’ जस्ता कवितामार्फत कविले हेला होचो गर्नुको पनि सीमा हुन्छ – आँगनमा सुगन्ध छर्ने हातहरू देखी तिमी भन्छौ र घोचपेच गर्छौ – मरेपछि डुमै राजा भनेर प्रश्न गरेका छन् । मृत्यु उत्सवको रमझममा गिद्दहरु बेपर्वाह छन् | सुगन्धित स्पर्शमा कोही छोइ छिटो हाल्दो हो ? बालीले तिर्न नसकेको पुर्खाको पसिनाको हिसाब माग्ने । मान्छेको हत्या गर्नु या उसका प्रश्नहरुको हत्या गर्नु जिज्ञासाको हत्या गर्नु उस्तै उस्तै अपराध हो । उनका पुराना प्रश्नहरुको खोतल खाताल गरेर जवाफ खोज्ने दमितहरूले तरङ्ग ल्याए भने । भाखा फेरी फेरी बजाउने दमाई दाइको धुनले अझै पनि छुन सक्दैन भने तिम्रो मन छतीस ख्याली र छत्तिस रागमा बजाउनेछु । सनातन सौन्दर्य शास्त्रको कसीमा गुलाब जस्तै हुनु पर्दैन सिउँडीहरूले चिथोर्न सक्ने अवयव नै ऊभित्रको सौन्दर्य हो । तिमीले घोकाएका कपटी पाठहरू चिर्न पुर्खाले आरनमा अर्जापेका हतियार निस्कन बेर छैन ।
संग्रहभित्र कतिपय कविता नपरेको भएपनि हुन्थ्यो भन्ने लाग्दछ, जस्तो – भ्याकेन्सी, अबिलम्ब र दमित चेतना । यो यस कारण कि अरू धेरै कविताले विद्रोह बोलेको छ, आक्रोश बोलेको छ, दमित भनिएका र दलित भनिएका समुदाय र पक्ष उठ्नु पर्छ भन्ने आशयका साथ साहस भर्ने काम गरेको छ तर यी ३ कविताहरू विषयका हिसाबले पृथक छन् ।
******
उपसंहार
समाजको विभेद फरक फरक मुद्दामा विभक्त छ । कतै विभेदको वर्गीय पक्ष छ । धनी र गरिबमा जीवन र जगतलाई हेर्ने दृस्तिकोण फरक छ । लैङ्गिक विभेद छ – परम्परादेखि चलिआएका धेरै संस्कारमा महिला र पुरुषमा विभेद छ । पेशाले छुट्ट्याएका जातभातलाई विभेदको कसी बनाएको छ – ठुला भनिएका जातिहरू र अन्य जातिहरुको कार्य विभाजन क्रमशः दुखपूर्ण, परिश्रम गर्नु पर्ने र कम आम्दानी अर्थात् कम नाफा हुने जति अरू जातिका लागि र जहाँ सजिलो, परिश्रम गर्नु नपर्ने र मुनाफा धेरै हुने कार्य ठुला जातिला गरेको पाइन्छ |
तथापि परिश्रम गर्नु पर्ने कार्यहरू सिर्जनात्मक, उत्पादनमूलक, सिर्जनशील, आधारभूत र प्रथम उत्पादनहरू हुन् | जसको आधारबिना उपरी उत्पादन सम्भव छैन । त्यसैले त्यो प्राथमिक उत्पादन महत्त्वपूर्ण छ । ती महत्त्वपूर्ण उत्पादन गर्न मेहनत गर्ने समुदाय या जातिहरू उत्तिकै स्तुत्य छन् । न कि हाम्रो विभेदपूर्ण समाजले व्यवस्था गरे जस्तो ‘दलित’ बन्नु पर्ने, अछुत बन्नु पर्ने, नीच बन्नु पर्ने होइन । र त्यो उत्पादनमा प्रयोग हुने औजार, मिसिन तथा टुल्सहरु उत्तिकै स्तुत्य हुन्छ | कामीको आरन, घन र हथौडा, दमाईको कल, सियो र सहनाई, सार्कीको सियो र धागो, सिकर्मीको औजार, डकर्मीको औजार आदि सबै एकै हुन् र स्तुत्य पनि छन् । आधुनिक समाजमा कामका विविध रूपहरूमा पनि पेशा, पेशा अँगाल्ने व्यक्ति र पेशामा व्यक्तिले प्रयोग गर्ने सामग्री तथा औजारहरु उत्तिकै स्तुत्य छन् । शिक्षकले समात्ने चक, डस्टर होस् या प्राध्यापकले बोक्ने कम्प्युटर, मोटर गाडी बनाउनेको औजार होस् या इन्जिनियरको नक्सा र सिसाकलम होस् ।
त्यसैले विभेद पेशासँग, पेशा अँगाल्ने जातसँग या पेशामा प्रयोग हुने औजारसँग होइन मानिसहरुको मनोभावसँग सम्बन्धित छ । एकले अर्कालाई समभावमा हेर्ने, एकले अर्कोलाई कदरभाव राख्ने तथा सबैको समान अधिकारको दृस्टीभाव राखेमा मात्र समतामूलक समाजको निर्माण हुने देखिन्छ ।
त्यस्तो अवस्थाको सिर्जनामा लागिएन भने विभेदको विरोधमा विद्रोह अवस्यम्भावी छ । विद्रोहको भाषा फरक हुन्छ | विद्रोहको प्रकृति फरक हुन्छ । विद्रोहमा तिनै दमित जाति, दमित औजार, र दमित समुदाय जुरुक्क उठ्नेछन् भन्ने भावलाई कवि हरिशरण परियारले कविता मार्फत व्यक्त गरेका छन् ।
कला, साहित्य र प्राज्ञिक उत्पादनहरूले मानिसको मन र अन्तस्करणलाई छोएर समाजमा व्याप्त बेथिति र विभेदप्रतिको आफ्नो धारणा बनाउने र समुन्नत, दिगो र समानतामूलक समाज निर्माणमा आम नागरिकसरह आफ्नो दायित्व पुरा गर्ने तर्फ अघि बढ्न प्रेरित गर्दछ । यस मानेमा कविको अभिव्यक्ति सशक्त, बेजोड र प्राथमिक उत्पादन शक्ति अनि सिर्जनाको सौन्दर्यले ओतप्रोत छ । अझै यसलाई निखार्न र तिखार्न सके भविष्यमा उत्तम रचनाको सिर्जना सम्भव छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।