समकालीन घटनाक्रम र परिस्थितिमा तत्काल लेख्ने प्रचलन चलेको छ । आफूले देखेको, सुनेको, व्यहोरेको परिस्थितिलाई तत्काल लेख्नु भनेको ठुलो जोखिम मोल्नु हो, धेरैले लेख्दैनन्, त्यस्तै कोरोनाको समयमा कोरोना बोलेको छ : यस कृतिले ।

बखत बहादुर थापाको यस उपन्यासले नेपाली समाज र कोरोना इतिहासको अनेक पाटा बोलेको छ । लेख्छु भनेको भरमा लेख्नकै लागि लेखिएको होइन यो उपन्यास । वास्तवमा कोरोना कहाँबाट कसरी फैलियो । मानिसको आफ्नै बलमिचाइ, असावधानीको कारण कसरी दुःख पायो, त्यो समय छ यसमा ।

यो प्रश्न धेरै पहिलेदेखि मेरो मनमा छ । समाधान हुन सकेको छैन । म लेखक हुँ र समकालीन घटना र परिस्थितिको बारेमा कलम चलाउन सोच्छु तर सक्दिनँ, यो यथार्थ म स्वीकार्छु । तत्कालीन घटनाको बारेमा कलम चलाउन म जोखिम देख्छु । उपन्यास लेख्न सजिलो विषय त पक्कै होइन । तत्कालीन घटनाको बारेमा उपन्यास लेखनको सारतत्त्व भनेको सत्य र इमान हो । सफल उपन्यासकार बखत बहादुर थापा २०७८ मा ‘देशान’ कृतिका माध्यमबाट कोरोनाको कारण अस्तव्यस्त भएको समय पस्कनु भएको छ ।

यो कोरोना बारेको राम्रो कृति हो । दैलेखमा हुर्किएका थापा कामको खोजीमा काठमाडौँ आए, आए मात्र होइन समसामयिक विषय र घटनाक्रममा आधारित लेखनको क्रममा यो कृति ल्याए । यस कृतिलाई लेखकले नै ‘मानसिक गुम्फनहरूको सँगालो’ भन्नु भएको छ ।

ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि. काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तक २२३ पृष्ठको छ । एक्काइस खण्डमा वाडिएको कृतिको आरम्भ न्युयोर्कमा स्नातकोत्तर अध्ययन गर्दै गरेकी करिना र सन् २०२० को आगमन उत्सवबाट भएको छ । सन् २०१९ सँगै दुःख, पीडा र मनमुटावबाट मुक्त हुन आफन्तसँगै सुख-दुःख बाँड्ने प्रसङ्ग आएको छ । यस खण्डमा सहपाठी जङ्गे थापा र कोभिड १९ को फैलिँदो परिवेश छ । नेपालमा रहनु भएकी आमासँग करिनाको फोनवार्ता आमाको निश्छल मायाको सजिव चित्रले पाठकको मन अवश्य तरङ्गित बनाउँछ । कोरोनाले समाजमा पार्न थालेको पीडाको पत्रपत्र छ यसभित्र । यस खण्डमा कोरोनाको सङ्क्रमण थाम्न वुहानमा लकडाउन लगाएको कुरा छ । यानी संसारमा कोरोना फैलिँदै गएको, मान्छेहरू आफन्त र आफ्नो गाउँठाउँ फर्कन थालेका छन् ।

दोस्रो खण्डमा अत्यासै अत्यासमा करिना र जङ्गे थापा नेपाल फर्किएका छन् । धनी बाउकी एक्ली छोरी, मायाले पुलपुलिएकी करिना । विदेशी संस्कृतिअनुसार करिना आफन्तसँग अँगालोमा बेरिनु सामान्य । नेपालमा कोरोनाले डेढ-दुई मिटरको दुरी कायम राखी नमस्कारको चलन चलाएको थियो । करिनाको प्रेमी करनको आमाले कोरोनाले चलाएको चलन पालन गर्ने गर्थिन् । कोरोनाले युवा करन र करिनाको भौतिक अनुभूति बिथोल्न सकेन । बिस्तारै कोरोना महामारीले उग्र रूप लिन थालेको वर्णन छ ।

तेस्रो खण्डमा लकडाउनले बजार सुताएको छ । वातावरण स्वच्छ बन्दै गएको हुँदा करिनाले आफ्नो कोठाको झ्यालबाट चराचुरुङ्गी रूखका हाँगामा नाच्दै गरेको मनमोहक दृश्य पाएर रङ्गीन कल्पनामा हराएको घटना उल्लेख गर्नु सजिलो काम थिएन । दैलेखमा जन्मे हुर्केको मानिस काठमाडौंमा कठोर श्रम गरेर केही समय बचाएर सिर्जनामा दत्तचित भएको प्रमाण त समय समयमा प्रकाशति हुँदै आएका उहाँका कृतिहरू नै छन् ।

चौथो खण्डसम्म पुग्दा पाठकमा रस बस्दै जान्छ । अनेक थरिका कुरा र अमेरिकाबाट सँगै फर्केको जङ्गे थापालाई कोरोना भएको समाचारले करिनाको मन महाव्याधि कोरोनाको त्रासदी दशमा गोता खान थाल्यो । अनि बल्ल करिनाले सामाजिक दुरी कायम राख्न थालेको प्रसङ्ग छ ।

अमेरिकाबाट ज्ञान, सीप अनुभव र कोभिड १९ लिएर फर्किएपछिको करिनाको जीवन कष्टकर हुन्छ । घरपरिवार अलग टेकुस्थित अस्पतालको परिवेशमा वाध्यताले बसेकी छ । अस्पतालमा बस्न कसलाई पो सजिलो हुन्छ र ।

पाँचौँ खण्डमा कोरोनाबाहक करिनाको आत्मलापबाट भविष्यको इच्छा थाहा पाउन सकिन्छ । अस्पतालमा कोभिड १९ का सङ्क्रमितहरू आइरहेका छन् । सुधार भएर गइरहेका छन् । केहीको नमिठो समाचारले सुन्नेको मनमा झस्काउँछ । नेपालको मात्रै होइन संसारका धेरै ठाउँको अवस्था यही थियो । लक डाउन— सामाजिक दुरी साथै माक्स, सेनिटाइजर र साबुन पानी । यसबाहेक पनि रोगप्रतिरोध क्षमता निमित्त घरेलु, आयुर्वैदिक र ऐलोपैथिक लगायतका विधी । यस बाहेक पनि चिनेजानेका, आफन्त वा मनले खाएकाको सुझाव पालन । मृत्युको डरले मानिसलाई एकदम अनुशासित बनाइदियो । मानिस घरबाट निस्कन्थे र आफ्नो काम सकिनासाथ फर्कन्थे पनि ।

यो स्वभाविक रूपमा धेरैले पालन गरेकाे नित्यकर्म थियो । यो सब मृत्युसँग डराएर पालन गरिएको कुरा थियो । नेपाल सरकार पनि आफूले सकेको गर्दै थियो । सरकारमा रहेका शासकको नियत ठिक नभएपछि कोभिडमा पनि कमशिन खोज्दै थिए । प्रत्यक्ष देखेको भोगेको कुराबाट प्रेरित बखत बहादुरले कोरोनाकै घटनाक्रमहरूकै सेरोफेरो ‘देशान’ उपन्यासमा राख्नुभयो ।

छैठौं खण्डमा कोरोना अस्पतालको वणर्न छ । संसारलाई त्रसित बनाएको महामारीमा नेपाल सरकारको जिम्मेवारीको नमूना टेकू अस्पतालको सेरोफेरोमा छ यो खण्ड । यो खण्ड करिनाको जीवनको टर्निङ प्वाइन्ट पनि हो ।

सातौं खण्डमा बीस-बाइस वर्षकी नवीना अस्पताल आउँदाको प्रसङ्ग छ । कोरोनाको सास्ती र पश्चिम नेपालको छाउपडीकाे कहरसँग तुलना गरिएको छ । उपन्यासको अङ्कल पात्रले हस्यौलि पारामा नवीनालाई अस्पतालको यथार्थ जानकारी गराउँछन् । कोरोनाले मनोबल गिराएकामा आत्मबल बढाउन कोरोना पीडितकै प्रयास । मान अवस्थाका बीचको रमाइलो कुराकानीले जीवनप्रतीको उत्साह जगाउँछ । भेट्न कोही आउँदैनन्, परिस्थिति नै यस्तै छ । लाग्दछ कोरोना कहरले मानवबाट संवेदना भन्ने कुरो हरण गर्यो ।

कहिलेकाहीँ कुनै आफन्तले फोन गरेर हालचाल बुझ्नुलाई नै कर्त कुनै कुनामा संवेदना बाँचेको रहेछ भनेर बुझ्नु पर्ने परिस्थिति । शायद कोरोना पिडितमा निराशा, डिप्रेशन नआओस् भनेर वाडमा राखेर एक अर्कासँग बात मार्ने व्यवस्था मिलाइएको हुनसक्छ । अस्पतालमा के हुन्छ ? कोही नेगेटीव रिपोटको प्रतिक्षामा रहन्छन् ? कसैलाई अक्सिजनले भरथेग गरेको हुन्छ र कोही आफूभित्रको डर भगाउन गफिन्छन् । यहाँ यी सबैलाई कोरोना लागेको हुँदा अरू सङ्क्रमित हुन नपाउन भनी ल्याइएको हो । किन, उपचार ? घरमा बसेर हुन सक्दैन र ? अहँ, हुँदैन । घरमा हो प्रसन्नता पाइन्छ । प्रसन्नता !

यही प्रसन्नता अन्यलाई सङ्क्रमित गर्न सक्छ । यसबाट उपलब्धी के ? तब त अन्य सङ्क्रमित हुन नपाऊन् भनी सङ्क्रमितलाई अस्पतालमा राखिएकाे। कष्ट सास्ती खेपेर कोरोनाबाट आफूले मुक्ति पाए पनि अरूलाई सङ्क्रमित नबनाएकोमा धन्य ।

आठौं खण्डमा करन र करिनाबीच संवाद रहेको छ । करिना खोक्दाखोक्दै दिक्क लागेर टाउको समातेर बसेकी छ— प्रायः सबैको अवस्था यही हो । कोरोनाको पहिलो छनोटमा विदेशबाट आएका र तिनीहरूको सम्पर्कमा रहेका परेका छन् । अहिलेसम्म घर परिवार सुरक्षित रहेको जानकारी बुवाको म्यासेजबाट पाउँछिन् । यस जानकारीले पनि करिनाले आफूबाट अन्यत्र  कोही सङ्क्रमित नभएको अनुमान लगाएर प्रफुल्ल हुन्छिन् ।

दशौं खण्डमा कोरोना पीडितहरूबीचको रमाइलो कुराकानी छ । कुराको प्रसङ्गमा जनयुद्ध र विदेशको भोगाइ पनि आएको छ । यस खण्डबाट धेरै कुरो थाहा पाइन्छ ।

आख्यान लेखक थापाका कथा र उपन्यास चलेकै छ । सिर्जनामा कहिल्यै नथाक्ने उहाँ व्यावसायिक रूपमा कम्युटर मेकानिक हुनुहुन्छ । कम्युटर संसारको क्षमतावान व्यक्तित्व । मलाई यस विषयमा कुनै ज्ञान छैन, प्राविधिक सहयोग चाहिएमा उहाँलाई नै सम्झिने गरेको छु । हो कोरोनाले नेपालमा धेरैको जीवन खोस्यो । व्यवसाय चौपट बनाएर अधमरो त निकै धेरैलाई बनायो ।

एघारौं खण्डमा करिनाले देखेको सपनाको प्रसङ्ग रहेको छ । थाहा छ, देशको भाग्य बनाउँछु भनी जनताको मत लिएर शासनको डोर समातेकाहरू आफू धनी बन्ने उपायमा लागेका छन् । जनताको नाममा कोरोना समेतबाट पैसा हसुर्न पछि परेनन् । यस्तोमा देशले सही निकास पाओस् कसरी, संसारको राम्रो व्यवस्था त भनियो तर यसैको आडमा भ्रष्टाचारी र व्याभीचारीले देश वर्वाद बनाए । यो कृतिले कोरोनाको भयावहमात्र थाहा पाइन्न समय, काल, परिस्थिति, संस्कृति, राजनीति, प्रशासन, बेथिति, प्रगति र विकृति समेत बुझिन्छ । सकभर सत्य र तथ्य राख्ने यत्न कुनै पनि लेखकको हुन्छ उहाँले पनि सक्दो यत्न गर्नुभएको छ । उपन्यासको बाह्रौँ खण्ड पढ्दा यो कुरा मेरो मनमा आयो ।

र तेह्रौं खण्डलाई कोभिडले आक्रान्त अङ्कल खण्ड भन्न सकिन्छ । अङ्कल सरकारी अफिसमा पिउन थिए । पिउन अफिस खोल्न सबभन्दा पैले पुग्नै पर्छ, काम सकेर सबै गएपछि सबभन्दा अन्तमा ढोका बन्द गरेर घर फर्किन्छ । तलबको कुरा गर्ने हो भने सबको भन्दा थोरै । सबैले अराएकाे खटाएको काम गर्नुपर्ने जिम्मेवारी । जस्तो पिउन काम गर्नकै लागि जन्मिएको हो जस्तोसुकै काममा जति दलाए पनि हुन्छ ।

अन्ततः कोरोनाले मोहनी लगाएको हुँदा बिग्रँदो अवस्थाको कारण अङ्कललाई कोठा नम्बर ‘सी’मा लगेको नमीठो प्रसङ्ग चौधौँ खण्डमा छ । कोरोनाको प्रकोपलाई करिनाले प्रकृतिले जनसङ्ख्या नियन्त्रण गर्न चालेको कदम पो हो कि भनी सोच्छिन् । तर्क कमजोर पनि छैन । तब पनि करणले मनोबल बढाएर कोरोनालाई पछार्न नियमित औषधि सेवन गर्न करिनालाई सल्लाह दिन्छ । यसलाई दुर्भाग्य नै भन्नुपर्छ मोवाइलको माध्यमबाट मात्र सम्पर्क ।

पन्ध्रौं खण्डमा सबैको उत्साह बढाउने अङ्कलको भयानक मृत्युको प्रसङ्ग छ । मूलतः यस खण्डमा अमेरिकाबाट फर्किएकी करिनाको घाँटीमा कोरोनाले घरगृहस्थी जमाएर सास फेर्न असजिलो बनाएको नमिठो जानकारी पनि छ । अन्ततः करिनालाई पनि कोठा नम्बर ‘सी’मा पुर्याएरै छाड्यो । नेपालको अवस्था एउटा अक्सिजन सिलिन्डरबाट चार जनाको नाकमा जोडिएको । यसले कोरोनाको कहर कतिसम्म थियो त्यसको कथा पनि बताएको हो । यस कोठामा छिरेकामध्ये प्रायशः दिर्घरोगी जति यमराजको नजिक पुग्ने गर्थे । मृत्युअघिको छटपटाहट देख्नेको आधा प्राण त्यसै पनि जाने गर्थ्याे । कोरोनाबाट मृत्यु भएकालाई अर्को बेडमा राखेर कालो प्लास्टिकले बेरेर टेप लगाएर लगेको दृश्य असमान्य छ । त्यस कोठाको प्रत्येक आवाज र प्रत्येक क्रियाकलापले रोगीलाई हतोत्साहित बनाउँथ्यो ।

अब हामीले सोह्रौं खण्डको विषयमा गफिने अवसर पाएका छौँ । कोरोनाको भयावहको बारेमा मात्रै चिन्तित बनेर केही हुनेवाला छैन । भगवानको भरोसा गरेमा मुखमा माड पनि लाग्दैन । सरकार जनताको हितमा छ भन्ने कुराको अब सपना पनि देख्न छाडे । यो कोरा गफ नभएर नेपालको हकमा यथार्थ हो । नेपालका शासकलाई नैतिकता शब्दसँग नै एलर्जि छ । कोरोनाको कारण मानिस शत्रुसँग भागे जसरी नै मित्रसँग भाग्ने वातावरण बन्न गएको छ चारैतिर ।

चर्चित उपन्यासकार बखतबहादुर थापाको “जङ्गेको डायरी” पछि नयाँ उपन्यास “देशान” गतबर्ष आएको हो । थापाको लेखनको ठुलो विशेषता भनेको उनको प्रत्येक उपन्यास पहिलेको भन्दा निकै भिन्न हुन्छ । जस्तो यस पुस्तकमा संसार आक्रान्त बनाएको कोरोना बारे छ । यथार्थतः देशान उपन्यासको केन्द्रमा उच्च शिक्षा आर्जन गर्न अमेरिका गएर फर्किएको एक उच्च वर्गीय परिवार छ हो यसको वरिपरि विदेशको मोह या बाध्यतामा परेका नेपाली समाज छ ।

उपन्यासको सत्रौं अध्यायमा करिनाले कोरोना जिते पनि त्यसको असरले नछोडिसकेको प्रसङ्ग छ । करनले बतायो। मया भन्ने कुरा कति महान छ, आफ्नो भन्दा अर्काको खुशीमा विचार पुर्याउने एकअर्काको मनको कुरा अनुभूति गर्ने ।

यदि तपाईंले अठारौं अध्यायमा ध्यान दिनुभयो भने अस्पतालबाट घर फर्किएकी करिनाले जब कोरोनाको बाहक आफू रहेको थाहा पाएपछि विक्षिप्त बगेको पाउनुहुनेछ । समयमै करिना सजग नबनेको हुँदा आफ्नो र करनको घर परिवार कोरोनाले आक्रान्त बनेको र प्रेमी करनलाई धेरै टाढा लगेको नमिठो यथार्थ छ ।

उन्नाइसौं अध्याय निकै दारुण छ— करिनाको आमाबुबा र करनको लास ! कोरोनाले मृत्यु भएका मृतकका आफन्तले टाढैबाट हेर्न पाउने, शव नपाउने ।

उपन्यासमा नेपालमा कोरोना ल्याउने वाहकको रूपमा करिना र जङ्गे थापालाई देखाइएको छ । हो यो यथार्थ हो विदेशबाट आएकालाई समयमै ध्यान दिन नसक्दा, उनीहरूका खुलापनको कारण पनि कोरोना भयावह बन्न गएको हो । करिनाको कुरा गर्ने हो भने खुलापनले कोरोना फैलिएको हो । परिणाम प्रेमी र आमा-बुबा अर्को धाम पुगे ।

आमा-बुबाको मृत्युपछि ताल्चा लागेको करिनाको घरमा चोरी भयो । उसको लागि यो दुःखमाथिको अर्को दुःख हो । कुन घरमा मानिस छैनन् चोरीकर्म अपनाएकाको लागि त्यस्तो घर पाउनु सुनौलो अवसर बन्न पुग्छ । आफ्नो चोरी गर्ने कार्य देखेर, समातिए पछि कानूनी सजाय त छँदैछ समाजको घृणाले पनि तिनीहरू निरास हुँदैनन्, ग्लानी महसुस गर्दैनन् । उनीहरूका यस्ता घृणित कार्यले समाज उत्तेजित बन्ने गर्दछ । समातिएका चोर तनावपूर्ण वातावरणमा समाजले मारिदिएको समय समयमा सुन्न पाइन्छ ।

बीसौं अध्यायमा षडयन्त्रको शिकार बन्न पुगेकी करिनालाई बुबाले बनाएको घर कौडीको मूल्यमा बेच्न बाध्य पारिएको विवरण छ । सहयोग गरेको बहानामा लाभ लिने एकखालका मान्छे हुन्छन् समाजमा त्यस्तो पात्रको प्रतिनिधिको रूपमा उपन्यासकारले यमराजलाई उभ्याएको छ । करिनाको आमाबुबाको मृत्युको कारण सुगर र प्रेसर भए जस्तै करनको मृत्युको कारण गाँजा, अफिम र चुरोट पनि रहेछ ।

अन्तिम एक्काइसौं अध्यायमा कोरोनाबाट बाँचेको जङ्गे थापासँग सामाजिक सञ्जालमार्फत भेट गराउँछ करिनाको । अस्पतालमा जङ्गे थापाकै अगाडि करिनाको आमा, बुबा र प्रेमी करनको मृत्यु भएको जानकारी गराउँछ— कोरोनाले थिलथिलो बनाएको भएता पनि अन्त सुखद रहेको उपन्यास हो यो ।

यस उपन्यासको शिल्प नयाँ छ नै, भाषा र सौन्दर्य पनि अप्रतिम छ जो ठाउँ ठाउँमा खासगरेर नाजुक परिस्थितिहरू पनि संवादमा जीवन्त लाग्दछ । निश्चित रूपमा थापाको यो उपन्यास यता प्रकाशित उपन्यासमा एकदम उच्चकोटीको रहेको छ । सबभन्दा राम्रो पक्ष त घटनाका वरिपरिका ससाना कुरा जो धेरै लेखकबाट वास्ता गरिएको हुँदैन, ती कुरा पनि यसमा आएका छन्, यसकारण पाठकले यो उपन्यास यथार्थको नजिक रहेको मान्न पाठक बाध्य हुनेछन् ।