कल्पना खरेलको ‘रानीतलाउ’उपन्यास पढ्ने अवसर पाएँ । खरेलका लेखनमा शब्दचयन अत्यन्त सरल छन् । लेखिका स्वंय आफूले अनुभव गरेका र समाजका छेउछाउमा घटेका तितामिठा कथाहरु उपन्यासमा समेटिएका छन् । यथार्थको गहिराइमा डुबुल्की मार्न खप्पिस छ उनको लेखनकला । उनका सुरुचिपूर्ण लेखरचना यदाकदा पढ्ने गरेको छु । ती रचनामा खासगर महिलामा रहेको यौनमनोविज्ञान र कुण्ठालाई नलुकाई जस्ताको तस्तै पस्किने गरिएको पाइन्छ । यसैबीच विभिन्न पत्रपत्रिका र फेसबुकका वालहरूमा ‘रानीतलाउ’का बारेमा चर्चा-परिचर्चाहरू पाएँ ।
रानीतलाउमा नेपालगन्ज छेउछाउको बस्ती, धर्म, रहनसहन र त्यस भित्रका समाजको यथार्थ चित्रण रहेको चर्चा गरिएको छ । मेरो करिब ८ वर्ष लामो विद्यार्थी बसाइले नेपालगन्जको विगत र वर्तमान कालखण्डको थोरै भए पनि जानकार थिएँ । नेपालगन्जको मुटुमा रहेको रानीतलाउ वास्तवमा नेपालगन्जको शिरको ताज नै हो भन्दा अत्युक्ति हुने छैन । बागेश्वरी मन्दिर र रानीतलाउबिना नेपालगन्ज शायद अपुरो र अधुरो हुन्छ । यी दुई सम्पदाले नेपालगन्जको वास्तविक अर्थ बुनेका छन् । इतिहास कोरेका छन् । एउटा युगलाई नै साक्षात्कार गराइरहेका छन् ।
उनको उपन्यास पढ्ने जोरजाम बिदामा घर जाने अवसरले सहज पारिदियो । आफूसमेत थोरै साहित्य लेखन र अध्ययनको विद्यार्थी भएकाले उहाँसँग विगत करिब १२ वर्षदेखि चिनजानका हिसाबले भलाकुसारी भइरहन्थ्यो ।
एकदिन लेखक कल्पनाजीलाईफोन गरेँ । म रानीतलाउ पढ्ने व्यग्र प्रतीक्षामाथिएँ । सरल र हँसिलो स्वभावकी धनी उहाँले तुरुन्तै फोन रिसिभ गर्नुभयो । उनको पछिल्लो प्रकाशित कृति रानीतलाउबारे बधाई पनि दिएँ । २-३प्रति रानीतलाउ पठाइदिनआग्रह गरेँ । त्यसको एकहप्तापछि कुरिअरबाट ‘रानीतलाउ’प्राप्त गरेँ ।
बिदाको सदुपयोग गर्दै रानीतलाउ पढ्न थालेँ । पढ्दापढ्दै मनमा यति रस पस्यो कि एकपल नबिसाई उपन्यास पढी सिध्याएँ । मानौँ सिनेमाहलमा बसी चलचित्र पूरै हेरेजस्तो अनुभूति भयो । उपन्यासकारले रानीतलाउ उपन्यासमार्फत् नेपालगन्जमा धुरी जोडिएर बसेको हिन्दू र मुस्लिम समुदायबीच परापूर्वकालदेखि मिलेको अटूट सम्बन्धको यथार्थ चित्रबाहिर ल्याएको देखिन्छ । वास्तवमा समाजका केही स्वार्थीहरुले यदाकदा निहीत स्वार्थमा धार्मिक हिंसा भड्काउन खोजे पनि यथार्थमा दुवै समाजका आमनागरिक धार्मिक हिंसा चाहँदैनन् । उनीहरुको निर्दोष अनुहार, आफ्नै परिवेशमा रमाउने, दुःखसुख साटासाट गरी धार्मिक सहिष्णुतालाई आत्मसाथ गर्ने गरेको वास्तविकता उपन्यासमा चित्रण गरेको देखिन्छ ।
वास्तवमा नेपालगन्जको शान नै मिलेर बसेको दुवै समाजको परम्परागत पहिचान हो । एकै परिवारका दाजुभाइ-दिदीबहिनी झैँ मिलेर बसेको समाजको विशेषता रहेको छ । लेखिकाबाट सुन्दर ढङ्गले समाजको यथार्थ चित्रण उपन्यासका पात्रमार्फत सरल भाषामा पस्कने कोसिस भएको छ । उपन्यासले रानीतलाउ छेउछाउको बस्ती, पात्रलाई विम्बित गर्न खोजेको देखिन्छ । दिनहुँ रानीतलाउमा अनेकौँ मानिसहरु शयर गर्न आउँछन् । आनन्दित हुन्छन् । थकान मेट्छन् । युगलजोडीहरु प्रेममा अँगालिन्छन् । तर रानीतलाउले कहिल्यै जातपात र धर्ममा रोक लगाएन । सबैलाई आफ्नो आँचलमा स्थान दिइरह्यो । उपन्यासकारको लेखकीयमा समाजविन्यासको परिकल्पना देखिँदैन । समाजको दैनिकी, समुदायमा बस्ने मानिसले बाँच्नका लागि गरिएका सङ्घर्षहरु, झुपडी र महलमा बस्नेहरुको बीचको कञ्चनप्रेम, छिमेकीहरु बीचको सद्भाव, सुख-दुःखमा गरिने आपसी सद्भाव र सहयोगी परम्पराले जात, धर्म, उचनिचले छेक्दैन भन्ने कथानकमा रानीतलाउ केन्द्रित रहेको छ ।
उपन्यासमा युवापनमा आउने यौनिकता, महिनावारी सुरु हुँदा आउने शारीरिक परिवर्तन, समाजले हेर्ने दृष्टिकोण आदिलाई खुलस्त रूपमा प्रस्तुत गरिएको छ । त्यस्तै, यौनिकता, महिनावारी, उमेर पुगेपछि हुने सहवास, विपरित लिङ्गीप्रति हुने आकर्षण प्रकृतिको स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्दछ। याे प्रक्रियाबिना सृष्टि चल्न सक्दैन भन्ने चेतनामूलक सन्देश समाजलाई दिन खोजेको देखिन्छ । लेखिकाले रानीतलाउमार्फत् विभेदको कारक केवल पुरुष मात्र हुँदैनन् । विभेदको प्रमुख कारक समाजको गलत प्रवृत्ति र संस्कार हो । पुरुष संरक्षक पनि हुन्छन् भन्ने भावनाबाट कथावस्तु अघि बढेको छ ।
विपन्न मुस्लिम समुदायको युवक र सम्पन्न हिन्दू समुदायको युवतीबीचको निश्चल प्रेमको पराकाष्ठा उपन्यासमा दर्शाएको देखिन्छ । त्यहाँ जातपात, उचनिच र धर्मले छेकबार गरेको देखिँदैन । सम्पन्नता बाहिरी आवरणभन्दा बरु झुपडीको वास र अभाव आफ्नो सुन्दर संसार बसाउन चाहन्छन् उनीहरु । उपन्यासमा हाम्रो कलेजको विद्यार्थी राजनीति र त्यहाँभित्रको शैक्षिक क्षेत्रलाई नराम्ररी गाँजेको कुरालाई समेत सटिक रूपमा प्रस्तुत गरिएको छ । यहाँसम्म कि कलेजमा अध्ययनरत युवतीको रूपरङ्गमा आशक्त केही विद्यार्थीहरूमा समेत द्वेश इर्ष्या र प्रतिशोधको भावना जागृत हुन्छ । विद्यार्थीहरुबिच मारपीटको परिदृश्यहरु देखिन्छन् । तर उपन्यासको अन्तमा कलेज केवल राजनीतिको मात्र अखडा नभई पवित्र विद्याको मन्दिर पनि हो भन्ने भावनासाथ मेलमिलापद्वारा विवादको सुखद अन्त्य भई एक सकारात्मक समाजको परिकल्पना उपन्यासकारले देखाउने प्रयास गरिएको पाइन्छ ।
कथावस्तुमाअर्को महत्वपूर्ण पक्ष यसमा युवतीको ममतामयी आमाले उनीहरुको अन्तरधार्मिक विवाहलाई समाजको देखासिखीले गर्दा बाध्यतावस स्वीकार्न तयार हुँदिनन् । अति प्यारी आमाको त्यो व्यवहारले युवती मानसिक रूपमा विक्षिप्त हुने अवस्था आउँदा बुवाले छोरीप्रति दर्शाएको अगाध स्नेहले समाजमा सबै पुरुष जाति खराब हुँदैनन् भन्ने राम्रो सन्देश प्रवाह गरेको देखिन्छ । उमेर पुगेका छोराछोरीको इच्छाअनुसार वर-वधु चुन्ने अधिकारलाई कानुनमै संरक्षण गरेको, बालविवाहलाई शिक्षाको माध्यमबाट अन्त्य गर्न सकिन्छ भन्ने कुराका माध्यमले उपन्यासमार्फत् समाजलाई जागृत गर्ने प्रयास भएको देखिन्छ । साथै जातपात र धर्मका नाममा कसैलाई पनि विभेद गर्नु हुँदैन भन्ने सकारात्मक चेत दर्शाएको पाइन्छ ।
प्रतिकात्मक उपन्यासमा रानीतलाउ आजसम्म पनि नेपालगन्जको इतिहास र घटना परिघटनाहरुको सजीव साक्षीको रूपमा देखाएको छ । त्यसैले इतिहासदेखि वर्तमानसम्म देशविदेशका हजारौं मानिसहरुले रानीतलाउको शयर गरे होलान् । तर रानीतराउले सबैलाई आफ्नो आँचलमा स्नेह दिई नेपालगन्जको सामाजिक सद्भावको कयौँ पिँढीहरूदेखि परिचय दिइरह्यो । त्यसैले कैयौँ समय व्यतित भए, व्यवस्था परिवर्तन भयो । सडकहरु फराकिला अनि चिल्ला भए तर रानीतलाउ उही पुरानै स्वरुपमाआफ्नो वीरासत धानिरहेको छ । उपन्यासले रानीतलाउमार्फत् नेपालगन्जमा मिलेर बसेको समाजको चरित्र, भूगोल, भाषा र संस्कृति, भेषभूषा, सांस्कृतिक पहिचानजस्ता बहुआयामिक क्षेत्रको प्रवर्द्धन र सन्देश दिन खोजको छ,..‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ ।
लेखिकाको यो उपन्यास खोजमूलक रहेको पाइन्छ । उपन्यासमा माथिल्लो कोटीको लेखनस्तर र प्रस्तुति रहेको छ । अन्तमा, लेखिका कल्पनाजीको थप सामाजिक एवं शिक्षाप्रद रचनाको अपेक्षासहित उत्तरोतर प्रगतिको कामना !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।