साँच्चै कविता के हो, यसको सामर्थ्यको आयतन कति हुन्छ । यसका मापकहरु के के हुन् ? के कविता फगत कविता मात्रै हुनसक्छन्। यो समाजको स्तर नाप्ने ब्यारोमिटर कविता बन्न सक्छन् कि सक्दैनन् ।

यस्तै सवालहरुको उत्तर बोक्ने एकमुष्ट दष्ताबेज हो कवि नवीन अभिलाषीकृत “मौलामा बाँधिएको राँगो” । सङ्ग्रह मैले तीन पटक पढेँ , निष्कर्ष यही हो कि कविताको क्षेत्रमा यो समय सबैभन्दा उम्दा बौद्धिक चेत भएको सक्षम र क्रान्तीकारी नाम अरु कुनै छ भने त्यो नाम नवीन अभिलाषी नै हो । यो कविता सङ्ग्रह मौलो चुँडाल्न खोजेका नवीनहरुको कथा हो । औसत कविताहरु लेख्न सकिने हैसियत जोसँग पनि हुन सक्छ तर काव्य सम्वेदनाले भरिएका कविता लेख्ने कवि नै वास्तविक कवि हुन सक्छन् । अभिलाषी साहित्यको दिग्विजयमा निस्केका घोडा हुन् । कसैले रोकेर नरोकिने, उसो त कवि आफूलाई मार्क्सवादी भन्न रुचाउँछन् ।

प्युठानी माटोले जन्म दिएर दाङ जिल्लाका खोल्सा कुलेसा नापेका कवि नवीन अभिलाषी सङ्घर्षका अनेक हुण्डरी खेपेका अद्भुत प्राणी हुन्, र पो उनका कविताहरुले भुइँमान्छेलाई बोक्छन्, नव सामन्त र दलालहरुका तख्ता हल्लाउने आँट गरेका छन् । बोल्ने आँट गरेका छन् उनीहरुको आवाज जसको जिब्रो छ आवाज छैन, जसको पसिना छ मूल्य छैन ।

कृति मौलामा बाँधेको राँगोमा जम्मा जम्मी ४८ वटा कविता छन्। कवितासङ्ग्रहको गति शून्यको सुरुवातबाट प्रारम्भ भएर बक्यौता हिसाबमा पुगेपछि रोकिन्छ ।

कवि पहिलो कविता शून्यको सुरुवात मै बोल्छन भरखर उठेका र उठ्न खोजेकाहरुको आवाज भएर, जो बर्षौंदेखि दबिएका थिए दबाइएका थिए जात व्यवस्थाको दलनमा, हुँदा खाने र हुने खानेहरु बिचको गहिराइमा। यस्तो लाग्छ कविता नवीन अभिलाषीले लेखेका होइनन् बरु नवीन अभिलाषीद्वारा लेखिएका हुन् ।

दस बर्षे सशस्त्र युद्धको बज्रपातले कलिलो उमेरमै पिताको अभिभावकत्व खोसिएका कवि पिता गुमाउनुको विक्षिप्ततालाई कवितामा मर्मस्पर्शी ढङ्गले पोख्छन्। जुन अक्षरहरु पढ्दा मन भावविह्वल बनाउँछ। मन एकछिन थामिन्छ आखिर युद्ध जे र जसका लागि लडिएको थियो ती लक्ष्यहरु पूरा भए त ।

पुँजिवादको कुरुपता सबैभन्दा बढी यदि कसैलाई अनुभूती हुन्छ भने घर छोडेहरुलाई हुन्छ, घर छोडेर शहर पस्नेहरु त्यही कुरुपताभित्र विलीन हुन्छन्, बनाइन्छन्। त्यो केवल कसैको भौतिक विलीनता मात्र होइन त्यो त सपनाहरुको विलीनता हो ,रङ्गिन जीवनको अपूर्णता पनि हो र विसर्जन हो आमाहरुको अपेक्षाहरुको । त्यही विलीनता र पलायनताको भाष्य बोल्छ कविता सहर पसेको छोरोले ।

युद्ध जुन जहाँ र जहिल्यै होस् त्यो निर्मम नै हुन्छ तर युद्धका नाममा निहत्था माथिको असामान्य धरपकट मानवताहीन मात्र होइन अक्षम्य अपराध हो । सरकार वा विद्रोही पक्षको लागि आम मानिस एउटा पात्र वा साधन मात्र हुन सक्ला तर ऊ कसैको लागि सिँगो जीवन हो यही भन्छ लोग्ने बेपत्ता पारिएकी भाउजुको कथाले । सरल शब्दहरुलाई उनेर शक्तिशाली कविताको रचना गर्नु कविको विशेषता हो । यिनै विशेषताले समकालीन कवि र कविताको दुनियाँलाई प्रभावित पार्ने हैसियत राख्छन् उनी ।

यस्तै जनताका जीवस्तरमा आमुल परिवर्तन ल्याउँछु भन्दै बन्दुक बोकेकाहरु नै सीमित सत्ताको सुगन्धको पछि लाग्दा जनतामा जागेको चरम निरासा र त्यसकाे तीब्र असन्तोष देख्न सकिन्छ कविता आधी बाटोमा । वास्तविक क्रान्तीको भोक र जोश देखिन्छ सर्जकमा ।

कवितामा घोत्लिरहेका पाठकहरुलाई कवितामै चुर्लुम्म डुबाउन सक्नु कविका अर्को विशेषता हुन् । कैयौंपटक पाठकले कवितामा आफूलाई पाउँछन् ।

कवि कहिले संसद भवन भित्र छिर्छन भण्डाफोर गर्छन् त्यही संसद भवनको जसलाई हामी भन्दै आएका छौँ खसीको टाउको देखाएर कुुकुरको मासु बेच्ने थलो । कविको कलम बोल्छ

संसद एउटा बजार ,
टाउकाहरुको बजार
किन्न र बेचिन तयारहरुको बजार

बिम्बहरुको बौद्धिक र चोटिलो प्रयोग कवितासङ्ग्रहमा भएका कविताहरुको अर्को ओजनदार पक्ष हो ।

निरन्तर तपाईंको मगज हल्लाउने कविताहरुको फेरो समाइरहँदा शीर्ष कविताले तपाईंलाई तृप्ती नदिन पनि सक्ला तर तपाईंलाई आफूसँगै बगाउन सक्ने कविताहरुको शृङ्खला यही रोकिँदैन । कविमा विद्रोहको चेत कति छ विरुद्धमा कविता पढेपछि थाहा हुन्छ उनी चुँडाल्न चाहन्छन् दासताका जन्जिरहरू, ज्वालामुखी भएर विस्फोट हुन आह्वान गर्छन् सामाजिक रुपले उत्पीडनको गर्तभित्र दबिरहेकाहरुलाई ।

हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो,
फेरिरहेको यो एकमुट्ठी श्वास हाम्रो हो ,
देखिरहेको यो एकटुक्रा आकाश हाम्रै हो ,
र यो आवाज हाम्रै हो ,
चुडालौँ
यो दासताको दाम्लो घाँटीहरुबाट

जात व्यवस्थाको बारेमा थोरै मात्र सोच्नु हुन्छ भने पनि तपाईंभित्र आँधी ल्याउने ल्याकत राख्छ कविता शुद्रको प्रश्नले।
शुद्रको प्रश्न फगत एक कविता मात्रै होइन यो त सदियौँदेखि अ-मानवले मानवमाथि लादिएको व्यवस्था विरुद्धको आवाज हो। कविता यसरी बोल्छ-

को जन्मेको छ नाम लिएर यहाँ ?
र संसारमा ठेगाना बोकेर को आएको छ ?
तर त्यो को हो ?
जसले मेरो नाम मैलाई नसोधी राख्यो
र सदियौँ देखि दास बनायो।

अभिशप्त बनाउने एउटा सत्य घटना
कमलरीहरुमाथि साहु महाजनहरुले गरिने यौनशोषणको
एक प्रतिनिधि पात्र बुझौना थारु,

जो जमिन्दारको रगत बोकेर जिइरहेकी हुन्छिन् ताकि भोली त्यही रगत लड्नेछ त्यही शोषकका विरुद्धमा तर त्यो प्रतिज्ञा नवजात लासको कुटुरोसँगै विलीन भएर जान्छ नभेटिएको चिहान पढिरहँदा तपाईंलाई बिझाउँछ यो कविताले ।

कवि यो दृष्टिकोणमा अविचलित छन् कि जबसम्म समाजमा वर्ग छ तबसम्म शोषण छ र यही वर्गीय समाजमा कवि देखाइरहेछन् आफ्नै वर्गप्रतिको प्रेम ।

बक्यौता हिसाब:
कि कचाकच काटिनेछ हामीलाई
र हाम्रै लासको मन्च उठाएर भाका सारिनेछ
कि
थुत्नेछौँ हामीले सिँहासनबाट र बर्षौंदेखिको
हिसाब चुक्ता गर्नेछौँ ।
तर
मन्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भुगोलमा
आफै
अनागरिक बन्न ।

एउटा कवितामै इतिहासकै यति ठुलो विनिर्माणको उद्घोष ! सामाजिक रुपान्तरणको अनुराग र दायित्व बोध ।
यो कसरी हुन सक्छ ? यही त हो अभिलाषीका कविताहरुको खास सुगन्ध । किनकी उनले बुझेका छन् धुलो हुनुको कुल्चाई ।

सत्तरीको दशकमा लेखिएका अधिकांश कविता सङ्ग्रहहरु कपि पेस्ट छन् तर बौद्धिक टाटपल्टाई भोगिरहेको यो वर्तमानमा बागी लेखक हुन् नवीन ।

कवि भन्छन् यो सङ्ग्रह उनको बितेको ७ बर्षको दस्ताबेज हो तर गुदी कुरो यति मात्र होइन सङ्ग्रह मौलामा बाँधिएको राँगो विभेदको लामो कालखण्डको माथिको एक प्रहार हो, कथित व्यवस्था विरुद्धको एक झिल्को हो र आफ्नै जिन्दगी सँगको आन्दोलन पनि ।

कविको कल्पनाहरु निजी हुन सक्छन् तर उसको सिर्जना कहिलै निजी हुनसक्दैन यसलाई यसो पनि भनौँ सिर्जना तबसम्म सर्जकको मात्र हुन्छ जबसम्म पाठकमाझ आउँदैन, पाठकको माझ आएपछि त्यो सबैको हुन्छ। जसरी यो कृति अब हाम्रो भएको छ ।