साहित्य वृत्तमा पहिलो कृतिबाटै आफ्नो परिचय स्थापित गर्न सफल कथाकार हुन्- ‘विक्रमभक्त जोशी’ । ललितपुर, धोबीघाट निवासी उनी पेशाले इञ्जिनियर र पूर्व-बैङ्कर हुन् । हाल जोशी स्वतन्त्र रूपमा साहित्य सेवामा समर्पित रहेको उनका गतिविधिहरूबाट पुष्टि हुन्छ । थुप्रै फुटकर रचनाहरूको प्रकाशन पश्चात् उनले ‘चोभार ब्लुज’लाई आफ्नो पहिलो पुस्तकका रूपमा बजारमा ल्याएका छन् ।

साहित्यपोस्ट समूहले वि.सं. २०७९ जेष्ठमा प्रकाशन गरेको यस कथासङ्ग्रहमा जम्मा १९ वटा कथाहरू सङ्ग्रहित छन् । अग्रज स्रष्टा स्व. सत्यमोहन जोशी एवं पूर्वप्राज्ञ माया ठकुरीको संक्षिप्त शुभकामना मन्तव्य, साहित्यपोस्टका प्रधान-सम्पादक अश्विनी कोईरालाको प्रकाशकीय र लेखक स्वयमको ‘आरम्भ र आभार’ शीर्षकको लेखकीय मन्तव्य रहेको पुस्तक २२७ पृष्ठको छ र पुस्तकको मूल्य रहेको छ रु. ४५० । काठमाडौँ लगायत चितवन, पोखरा, मकवानपुर, धनगढी आदि शहरहरूका अलावा भारतका सिक्किम, दार्जिलिङसम्मै पनि यस पुस्तकले आफ्नो मगमगाउँदो सुवास छरिसकेको छ भने सञ्चार र पाठक मार्फत् विदेशमा समेत यसले चर्चा कमाइसकेको छ । साथै पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा ‘चोभार ब्लुज’ प्रति समालोचक, पाठकहरुबाट सकारात्मक प्रतिक्रिया व्यक्त भएका देखिन्छन् । यस अर्थमा यो पुस्तक पठनीय बनेको छ भन्दा अत्युक्ति नरहला ।

स्मरणीय छ कि यस पुस्तकको लोकार्पणका अवसरमा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सङ्ग्रहको १८औं कथा ‘अनिच्छित सम्बन्ध’लाई चर्चित रङ्गकर्मी वीरेन्द्र हमालद्वारा नाटकमा रूपान्तरण गरी मञ्चन गरिएको थियो ।

विभिन्न समयमा पुस्तकमाथि चर्चा परिचर्चा हुँदा होस् वा रेडिय‍ो टिभीका अन्तर्वार्ता कार्यक्रमहरूमा होस्, कथाकार जोशीले आफ्नो कथाकृति ‘चोभार ब्लुज’ निकथासङ्ग्रह भएको दाबी गरेका छन् । नि अर्थात् निबन्ध वा नियात्रामा कथा घुलेर ‘निकथा’ विधा निर्माण भएको उनको भनाइ छ । यसो त ‘चोभार ब्लुज’ मा सङ्ग्रहित सबै कथाहरू भने स्पष्ट रुपमा यात्रा वृत्तान्तसित सम्बन्धित छैनन् । त्यसैले १९ वटा कथाहरूलाई दुई समूहमा राखेर विमर्श गरिहेर्दा मैले अनुभूत गरेको कुरा यहाँ व्यक्त गरेको छु ।

पहिलो समूहअन्तर्गत ‘पर्खाल’, ‘नीलो कमिज खैरो पाइन्ट’, ‘सुनको पोको’, ‘ख्याक, मान्छे र कुकुर’, ‘सम्झी बस्छु कता कता’, ‘धिर्बाको विदेश यात्रा’, ‘जगल्टे घर फर्किन्छ’, ‘अनिच्छित सम्बन्ध’ आदि कथाहरूमा तृतीय-पुरुष वर्णनात्मक शैली प्रयोग भएको देखिन्छ । हरेकमा कताकति नियात्राका बाछिटाहरु र निबन्धात्मक बयानहरु भेटिएपनि स्पष्ट रुपमा यात्रा वृत्तान्त भेटिंदैनन् । यी कथाहरुभित्र क्रमश: प्रवेश गर्दै जाँदा मैले विविध सामाजिक एवं पर्यावरणीय मुद्दाहरुलाई सम्बोधन गर्न खोजेको भने देखेँ ।

जस्तो कि, शारीरिक रूपमा मानिस अपाङ्ग भएपनि ऊ भित्रको इच्छा चाहना अपाङ्ग हुँदैन भन्ने सन्देश पाएँ कथा ‘पर्खाल’मा ।

विकासको नाममा गरिने डोजर आतङ्कले भित्र्याउने विनाश र त्यसबाट हुने धनजनको क्षतिले निम्त्याउने दुर्दान्त अवस्था बारे पाठकलाई सचेत गराएको छ ‘नीलो कमिज खैरो पाइन्ट’ कथाले ।

पर्यावरण विनाशले निम्त्याएको अर्को विनाशको कथा हो ‘सुनको पोको’, जसमा मानिस विपन्न भएपनि इमान्दार रहने सन्देश दिन खोजिएको छ ।

त्यस्तै गरेर नेवार समुदायमा प्रचलित मिथक पात्र ख्याकको उत्पत्तिबारे कुरा तथा सडक विस्तारका कारण कतिपय परिवारको उठिबास भएको कुराको उठान गरिएको छ ‘ख्याक, मान्छे र कुकुर’ शीर्षक कथामा ।

कथा ‘सम्झी बस्छु कता कता’ मा युवामा बढ्दो विदेश मोहले ल्याएको विकृति र त्यसको प्रतिकार गर्ने होनहार सन्तानको प्रेरक प्रसङ्ग छ ।

‘धिर्बाको विदेश यात्रा’मा छोरो भेट्न विदेश पुगेका एक पछौटे पात्रले भोगेको तीतो अनुभूति छ ।

‘जगल्टे घर फर्किन्छ’ कथामा थातथलो छोडेर शहर छिरेका र अनधिकृत रूपमा बसोबास गर्दै आएका सुकुम्बासीको नियत र पीडा झल्किएको छ ।

‘अनिच्छित सम्बन्ध’मा कथाका शीर्ष पात्रहरुले विभिन्न कारणवश एकार्काका प्रेमिकासित स्थापना गर्न पुगेको सम्बन्धका कारण सिर्जना भएको चौकोणात्मक प्रेमकथाको चर्चा छ, जुन एकप्रकारले नौलो प्रस्तुति लाग्यो । यी सबै कथाहरूमा भाषा, संवाद र कथानक उत्कृष्ट छन् ।

अर्कोतिर, लेखक म पात्रको रूपमा विभिन्न स्थानहरूको भ्रमण गर्दा त्यहाँको भूगोल, परिवेश, समाज र जनजीवन झल्कने यात्रा वृत्तान्तका गर्भबाट सिर्जित परिवेश सुहाउँदा कथाहरू छन् ।

जस्तै, कथा ‘उत्सर्ग’ मा म पात्र अर्थात् लेखक यात्रा गर्दै ललितपुरको फर्सीडोल पुग्दा त्यहाँ उनको महिला पात्र बाख्री बज्यैसित भेट भएको छ । आमाको मृत्युपछि बाबु चाहिँले सानीआमा ल्याएको र काखे-भाइको बिचल्ली हुने देखेपछि उनलाई हुर्काउने बढाउने क्रममा बाख्री बज्यैले आफ्नो पूरै जीवन उत्सर्ग गरेको मार्मिक कथा छ यसमा । त्यस्तै पदयात्री म पात्र (लेखक) कटुवालदहतर्फ जाँदै गर्दा जोगीको भेषमा भेटिएका बाबाजी अर्थात् श्याम विश्वकर्मासँग भएको वार्तालापको क्रममा उनको जोगी हुनुपरेको कारणको रहस्योद्घाटन नै मार्मिक प्रेमकथा ‘अनि म विरही भएँ’ को निचोड हो । जातीय विभेदका कारण कैयौँको जिन्दगी बर्बाद भएको पुष्टि गर्न धेरै हदसम्म यो कथा सफल छ ।

पुस्तकको शीर्षक-कथा ‘चोभार ब्लुज’ मनस्थिति ठीक नभएको व्यक्तिको कलमबाट सिर्जित प्रेमकथा भएकोले पाठकलाई पढुञ्जेल रनभुल्लमा पार्न सफल छ । यो कथामा काठमाडौँको चोभार वरपरका स्थान तथा धार्मिक सम्पदाहरूको सुन्दर बयान छ ।

यसरी नै ‘यात्राका अनुत्तरित प्रश्नहरू’ शीर्षकको कथामा बेसीशहरबाट घलेगाउँ, घनपोखरा, भुजुङ, पसगाउँ, नागीधार हुँदै पोखरासम्मको पदयात्राका क्रममा कुनै एक होमस्टेमा बस्दा घटित एउटा रोचक घटनाले कथाको रूप लिएको छ ।

त्यस्तै ‘लकडाउन फेन्टासी’ शीर्षकको कथामा कोभिडले निम्त्याएको लकडाउनका कारण सिर्जिएको कुण्ठित अवस्था र त्यसबाट मानिसमा देखिएको अन्तर्द्वन्द्व, मानसिक विचलन, थरिथरिका तर्कनाहरूबाट ग्रसित हुँदाको मनोदशालाई चित्रण गरिएको छ ।

स्वैरकल्पनामा आधारित कथा ‘फ्लानर फेन्टासी’ मा लेखकको भेट बज्रबाराही देवीसित भएको चर्चा छ । एउटा बडेमानको कालो बँदेलको रूपमा प्रकट भएकी देवी मार्फत् लेखक काठमाडौँ उपत्यका उत्पत्तिको बखान, उपत्यकाभित्रका विभिन्न धार्मिक स्थलहरूको विशेषता र धार्मिक महत्त्वका विषयहरुलाई सुन्दर ढङ्गले वर्णन गर्न सफल छन् ।

कथा ‘बोसन हाईट’ पनि निकथा हो । यसमा म पात्र पदयात्रा गर्दै चोभार नजिकै रहेको बोसन हाईट पुग्ने क्रममा एक वृद्धसँगको जम्काभेटका दौरान घटेको घटना र त्यहाँबाट देखिने काठमाडौँ शहरको नजाराको बयान प्रस्तुत गरिएको छ ।

त्यस्तै ‘बाली बैजनी’ मा भने इन्डोनेशियाको भ्रमणमा पुगेका म पात्रबाट त्यहाँको भौगोलिक अवस्था, प्राकृतिक सुन्दरता तथा परिवेशको सुन्दर वर्णन गरिएको छ । साथै बालीका स्थानीय गाइड काडेक र नीलुबीचको प्रेमकथाले पाठकलाई निकथाको स्वाद पस्केको छ ।

समग्रमा भन्ने हो भने जोशीको ‘चोभार ब्लुज’ एक सशक्त कृतिको रूपमा बजारमा आएको छ । कथाका केही शीर्षक र कथाहरूमा पश्चिमेली साहित्यको प्रभाव देखिन्छ । ठाउँठाउँमा नेवारी भाषा, इन्डोनेशियाली भाषा, अङ्ग्रेजी भाषा प्रयोगमा आएको छ । कथामा प्रस्तुत संवादहरु जीवन्त छन् । कथा पढ्दै जाँदा यो कथाकृति लेखकको दीर्घकालीन साहित्य साधनाको उपलब्धि हो भन्दा हिच्किचाउनु पर्दैन ।

अन्त्यमा, जोशीको सुस्वास्थ्य, दीर्घजीवन र सिर्जनात्मक चर्याको उत्तरोत्तर प्रगतिको कामनाका साथै भविष्यमा उनीबाट अझै सशक्त कृतिहरू पढन पाउँ भन्ने शुभेच्छा व्यक्त गर्दछु ।