
परिचयः
कवि र काव्य पर्याय बोकेका शब्द हुन् । कविको कार्य नै काव्य हो । कविको कार्यकुशलता ,मिहिनेत अभ्यास बिना काव्य रचना सम्भव छैन । नेपाली कविता क्षेत्रका व्योममा उदाउँदा नक्षत्र हुन् युवाकवि मनोज भण्डारी । उनले नेपाली कविता सिङ्गो आधुनिक कालको समसामयिक धारामा शास्त्रीय छन्दमा कलम चलाएर मृतप्राय: बनेको छन्दमा कविता लेखनलाई उत्कर्षमा पुर्याउने कार्य गरेका छन्। यहाँ चर्चा गरिएको कविताकृति हो “ईश्वरलाई चिठी”। उनका कवितामा कतै देवकोटा शैली, कतै समको आध्यात्मिकता र भौतिकवादको संयोजन त कतै रिमालको स्वच्छन्दतावाद पाइन्छ । यस अर्थमा कवि भण्डारी स्वच्छन्दतावाद,भौतिकवाद र जिन ज्याक रूसोको प्रकृतितर्फ फर्क भन्ने भावका कविता लेख्ने भएकाले उनी यी सबै कुराका सङ्गमका रूपमा प्रस्तुत हुन्छन् ।
भण्डारीको यो पहिलो कृति हो । उनी गजल लेखनबाट नेपाली साहित्यमा औपचारिक रूपमा पाइला टेक्छन्। नौ कक्षामा अध्ययन गर्दा नै उनले मुना बालपत्रिकामा गजल प्रकाशित गर्न सफलता भएका थिए । यो कृति वि.सं.२०७४ साल कार्तिकमा प्रकाशित भएको हो । यस काव्यमा पृष्ठसङ्ख्या ९ देखि १२१ सम्म नितान्त कविता सङ्ग्रही छन् भने प्रारम्भिक भागमा रचनावाचनको कृतज्ञता ज्ञापन प्रस्तुत छ।
आवरण पृष्ठमा उनले वेदान्त दर्शनतर्फ इङ्गित गर्दै दुई हातले सूर्यको प्रार्थना गरेको र सूर्यले आभा प्रदान गरेको आवरणले कृति अझै सुललित र आकर्षक बनेको छ । कृष्णप्रसाद अर्यालको भूमिकाले कृतिमा प्रज्वलित अग्निमा घिउ थप्ने कार्य गरेको छ ।
===
विषयवस्तुः
ईश्वरलाई चिठी अध्यात्मवाद र भौतिकवादको संयोजन हो । यस फुटकर कविता सङ्ग्रहका लेखक अहिलेका चर्चित कवि मनोज भण्डारी हुन् । भण्डारी नेपाली साहित्य जगतमा चिरपरिचित नाम हो । ईश्वरलाई लेखिएको चिठी यस कवितासङ्ग्रहको नाम छ । मान्छेले जतिसुकै प्रगति गरे पनि अन्तिममा ईश्वरसामु पुग्नैपर्छ। कसैले मृत्युपश्चात् ईश्वर देख्छन् र अनुभूत गर्छन् कसैले जीवित रहँदै पनि ज्ञान, ध्यान आदिको माध्यमबाट ईश्वरप्राप्ति गर्छन्। ईश्वर प्राप्तिका अनेकन् साधन छन् जस्तै ध्यान, ज्ञान, योग आदि। तर कवि भण्डारीले यस कृतिमा ती कुरा नभएर चिठीको माध्यमबाट संसारमा भएका कुरा ईश्वरलाई ज्ञात गराउन खोजेका छन् । यस कवितासङ्ग्रहमा “नयाँमिल”, “नेपाल मेरो घर”जस्ता अनेकौं देशभक्ति पूर्ण र प्रकृतिप्रेम सम्बन्धी कविता छताछुल्ल छन् । शास्रीय लय र छन्दको नियममा बाँधिएर भण्डारीले यो सङ्ग्रह प्रकाशित गरेका छन् । बिम्ब प्रतीक पनि यस कवितामा प्रशस्त पाइन्छन् ।
“पानी हैन सहिदको रगत हो नारायणीको जल” यो पङ्क्ति पढ्दा सायदै कमै मानिसमा देशभक्तिको भावना नआउँदा।यस कृतिमा वर्तमान नेपालमा रहेको चरम महङ्गीलगायतका कुरा पनि भण्डारीले प्रस्ट पारेका छन् । वर्तमान समाजमा विद्यमान समस्या पनि ईश्वरलाई चिठी कवितासङ्ग्रहमा उल्लेख गरेका छन्।
पूर्वीय काव्यमान्यता अनुसार विभिन्न छन्दको सकुशल प्रयोग यस काव्यको सराहनीय पक्ष हो । उपमा, उत्प्रेक्षा, सम्भावना आदि अलङ्कारले झनै काव्यलाई उत्कर्षमा पुर्याउने काम गरेका छन्। यो कवितासङ्ग्रहमा कवि आफूले अनेकन सङ्घर्ष गरेको तर त्यो सङ्घर्ष नबुझेर कविलाई सबैले अभागी भनेर संज्ञा दिएकामा उनी खेद प्रकट गर्छन्। उनी आफूलाई र आफ्नो संसार देखेर कोही नहाँसोस् भन्ने उनको चाहना रहेको छ। यो संसार दुखःको भुमरी रहेको र बाँझो खेतमा रत्न खोज्दा भनेर उनले आफ्नो सङ्घर्षलाई अङ्कित गरेका छन्। आफ्नो सङ्घर्ष र मिहिनेत नबुझ्नेहरु देखि आफू दूर रहन चाहेको र टाढा रहेको नै उपयुक्त रहेको कुरा उनी यसरी प्रस्तुत गर्छन्
सधैं खोजियो रत्न,बाँझो खनेर,
सरापे सबैले अभागी भनेर,
म चाहन्न संसार हाँसोस् ममाथि,
तिमीबाट टाढा भएकै छ जाति।
हास्यव्यङ्ग्यात्मक पनि यस काव्यको विशिष्ट पक्ष हो उनले आफू उपचार गराउन अस्पताल गएको र त्यहाँ हुने ढिलासुस्ती, बेमतलबी व्यक्ति, कुनै नियम कानुन नरहेको कुरा उनी यसरी हास्यव्यङ्गात्मक तरिकाले कवितामा यसरी उल्लेख गर्छन्,
हर्रो र अमलजस्ता सरकार र कानुन
बर्रो सांसद जस्तो भो अख्तियार बन्यो नुन
बिजुलीमा तताएर कोशी गण्डकीको जल,
छिमेकी त्रिफला खान्छ निकाल्छ त्यसैको बल।।
यस श्लोकमा देशमा सांसद भवन बर्रो जस्तो टर्रो भएको र अख्तियार त्यसै अनियमित रूपमा उम्रिने बर्राेजस्तै सांसद उम्रिएका र तिनको नियन्त्रण गर्न अख्तियारलाई गाह्राे पर्ने कुरा उल्लेख गरेका छन्।
काव्यमा माया प्रीतिका कुरा पनि भण्डार चुस्त र दुरूस्त तरिकाले राखेका छन्। यसका आधारमा उनलाई शृङ्गारिक कवि भन्न मिल्ने अवस्था नभएपनि उनका कवितामा शृङ्गारिकता प्रचुर मात्रामा पाइन्छ भन्न सकिन्छ।
न सम्झिउँ तड्पन बढ्छ फेरि
या सम्झिउँ धड्कन बढ्छ फेरि
बढे त हुन्थ्यो परितृप्ति भोक
म पाउँथे सम्झन सबथोक
यसरी यहाँ अभिधार्थक रूपमा प्रेम प्रेमिकाको बिछोडका कुरा बुझिन आएपनि व्यञ्जनात्मक अर्थ भने अर्कै प्रतीत हुन आउँछ । यहाँ भण्डारीले ईश्वरलाई नसम्झिँदा तड्पन बढ्छ; सम्झिँदा धड्कन बढ्ने कुरा बुझिन आउँछ। उनी ईश्वरलाई पाउने परितृप्ति अर्थात् चारैतिरबाट सन्तोष प्राप्त हुने प्रस्तुत गरेका छन्। उनी ईश्वरलाई सम्झिन पाए सबै थोक सम्झिन पाएको आनन्द पनि प्रकट गर्छन्। यस कवितासङ्ग्रहमा शार्दूलविक्रीडित, मन्दाक्रान्ता, वार्तोर्मी शिखरिणी जस्ता कठीन मानिने १३ वटा छन्दको प्रयोगले यो काव्य अझ सुन्दर बनेको छ ।
प्रस्तुत काव्यमा भूमिका खण्डमा कवि भण्डारीले वर्तमान समयमा लुप्तप्रायः रहेको छन्दबद्ध कविता लेखन प्रक्रिया एक्लै प्रतिनिधित्व गर्न सक्ने कुरा राष्ट्रकविले उल्लेख गरेका छन् । यस सङ्ग्रहमा सानाठूला गरी लगभग अठ्चालीस वटा कविता सङ्ग्रहित छन् । सङ्ग्रहित कविता आफैँ सन्देशमूलक र आफैमा परिपूर्ण र छुट्टै भाव प्रदान गर्ने खालका छन्।कवितसङग्रह भएर पनि यान्त्रिकताको प्रयोग नहुनु, पाठकवर्गलाई सरल र सुबोध हुनु यस सङ्ग्रहका विशेषता हुन् । जिन ज्याक रूसोको प्रकृतितर्फ भन्ने धारणा आत्मसाथ गरेर उनले प्रकृतिप्रेम छताछुल्ल रूपमा प्रयोग गरेका छन्।
आधुनिक कालको मध्यवर्ती चरणमा रचित र प्रकाशित यस कृतिले कवितासङ्ग्रहको हुटहुटी चलेको समयमा आफ्नो कृतिगत वैशिष्ट्यले गर्दा महत्तम स्थान प्राप्त गर्न सफल भएको छ। यसमा संस्कृतमा आचार्य र अङ्ग्रेजीमा दख्खल राख्ने कवि भण्डारीका कतैकतै तत्सम शब्दको आधिक्य पाइन्छ। कतै भने तद्भव आगन्तुक शब्दको पनि प्रयोग गरेका छन् । डाक्टरसाप, एक्सिलेन्ट होलीजस्ता आगन्तुक र अङ्ग्रेजी शब्दको प्रयोगले काव्य अङ्ग्रेजी भाषाको ज्ञान नभएका मानिसलाई अलिकति दुर्बोध्य भएपनि अङ्ग्रेजी डिक्सनरी नै पल्टाएर हेर्नुपर्ने शब्द चयन र प्रयोग भने यस काव्यमा छैन ।
क्रियापदलाई नै शीर्षक बनाएर लेख्ने विशेषता भएका भण्डारीले यस सङ्ग्रहमा पनि प्रयोग गरेका छन् मुस्कुराऊ,जानु जस्ता कविताले उनको यो विशेषतालाई प्रस्फुटित पार्छन्। कवि भण्डारी इतिहास पुराण पनि अनौपचारिक रूपमा अध्ययन गरेको वैशिष्ट्य उनी शिवजी भिनाजु,देवनारायण यादव उवाच उनको पुराण अध्ययनको कुशल प्रयोग हो । शिवजी भिनाजु कवितामा शिवजीको र पार्वतीको बारेमा वर्णन गरेको पाइए तापनि आर्थी व्यञ्जनाको प्रयोग गरेर समस्त नेपाली युवकलाई शिवजी र नेपाली नारीलाई पार्वतीको रूपमा चित्रित गरेका छन्। देश नमासियोस् फुटकर कवितामा उनले देशप्रतिको अगाध माया र श्रद्धा प्रकट गर्दै आफू मरेपनि आफ्नो देश बाँचिरहोस् र आफ्नो प्राण सकिएपनि देशको नाश हुन नहुने कुरा उल्लेख गरेका छन्। उनको यो कवितालाई देशप्रतिको स्नेह, माया, सद्भाव र आफू मरे पनि आफ्नो देश बाँचिरहोस् भन्ने आशय प्रकट गरेका छन् ।
प्रारम्भमा प्यारो छ नेपाल यो शीर्षकबाट कविता सुरु भएपश्चात् कविता सङ्ग्रहको अन्तिम कविता जानु कविता रहेको छ।संस्कृतमा कालिदासको जस्तो सरल शब्द संरचना गर्ने भण्डारी कतैकतै भने दुर्बोध्य पदावली पनि संयोजन गरेका छन् । यो उनको बौद्धिकताको स्वतन्त्र अभिव्यक्ति हो यसले खासै काव्यमा जटिलता ल्याउने काम गरेको भने छैन।
दुर्गाले जल अर्पिइन्, फल लिई आए त्यहाँ राघव।
मार्कण्डेय पुगे पराशर पुगे बिर्सेर माला जप।
प्रस्तुत पङ्क्ति उनका काव्यमा प्रयुक्त अलङ्कार बिम्ब कतिसम्म दरिला र पेचिला छन् भन्ने कुराको यथेष्ट प्रमाण हो।मालुङ्गा भन्ने ठाउँ वर्तमान स्याङ्जा जिल्ला पर्दछ त्यही ठाउँमा सारा देवी देवता आएर ध्यान तपस्या गर्ने गर्छन्। मानिस फेरि त्यही धराधामलाई नचिनी जड भएर शिला बनेर बसेका छन् भन्दै उनले खेद प्रकट गरेका छन्।
के लेखे सम लेखनाथ कविले यो देशको नाउँमा।
सारा भो अधुरो चढाउनु र के नेपालको पाउमा ।।
यी पाखा चुचुरा भरी छ कविता ल्याएर सिद्धिन्न यो।
लाखौँ फूल अतालिएछ भमरा प्यारो छ नेपाल यो।
नेपालको नाउँमा कवि लेखनाथ, समले जति लेखे नेपाल त्यो वर्णन र लेखाइ भन्दा कैयन गुणा सुन्दर छ। उनले आफूले यो देशका नाममा केही चढाउन र अर्पण गर्न सकिँदैन किनभने यो देश स्वयंमा भरिपूर्ण छ। यो देश फूल हो तर यहाँको सुगन्ध चिन्न नसकेर भमरा अतालिएका छन्। नेपालीले नेपालको बारेमा अझै बुझ्न सकेका छैनन्। नाट्यसम्राट शेक्सपियरका संवाद बिर्साउन र सम्झिन उनका काव्य कृति पढिरहन नपर्ने नेपालमा गाइने रोदी नै पर्याप्त छन्। यहाँ मानिसले मात्र हैन चराचुरुङ्गीले पनि कवितामै बोल्छन् कवितामै रम्छन् । यो ठाउँमा कालिदास केही सिर्जना गर्न अलिकति गाह्राे पर्याे भने कसैलाई थाहै नदिई साधना गर्न आउने ठाउँ नेपाल हो। यहाँ नदीहरू नदी हैनन् सबै भगवानका स्वरूप हुन्। यहाँको बारेमा कसैको बाणीले वर्णन गरेर वर्णन सकिँदैन नेपाल अवर्णनीय छ। जतिसुकै शब्दमा वर्णन गरेपनि यस ठाउँको सुन्दरता कसैले पर्याप्त रूपमा वर्णन गर्न सक्दैन।
प्राचीन गुरुकुल सभ्यताको अध्ययन गर्ने परिपाटी अहिले पनि विद्यमान रहेको उनी कवितामा प्रस्तुत गर्छन्। कदाचित् देवघाटस्थित गुरूकुलमा अध्ययन गर्दा उनका मनमा लाएका कुरा उनी वटुक आवाज कवितामा उल्लेख्य रूपमा वर्णन गर्छन् । गुरुकुलको मनोरम दृश्य पनि उनले वर्णन गर्न तत्पर छन्।
===
उपसंहारः
समग्रमा ईश्वरलाई चिठी आधुनिक कविताको क्षेत्रमा एउटा कोशेढुङ्गा सावित हुन पुगेको छ ।आउने पुस्तामा अरू कसैले छन्दकवितामा कलम नचलाए पनि मनोज मात्र उभिएर संसारलाई हाँक्न सक्छन् यो उद्धरण व्यक्त गर्दै आशुकवि रमेश खरेल भण्डारीलाई छन्दका कुशल प्रयोक्ता हुन् भन्न नहिच्किचाई छाती फुलाएर प्रशंसाका पुष्प गुच्छा अर्पण गर्छन् । कवि भण्डारीको र उनले वर्तमान समयमा प्रतिनिधित्व गरेको छन्दको भविष्यमा अबको कालमा उज्ज्वल छ भनेर राष्ट्रकवि माधवप्रसाद घिमिरेले भण्डारीलाई आफू र आफ्नो उत्तरार्ध समयका कुशल कवि व्यक्तित्व भनेका छन् ।
यस कविता सङ्ग्रह कविता सरल मात्र छैनन् नदीको प्रवाहजस्तै सुरुदेखि अन्तिमसम्म एकै लयमा अनवरत रूपमा अगाडि बढेका छन्। पारिवारिक पृष्ठभूमिमा आधारित, बाह्य पृष्ठभूमिमा आधारित, गुरुकुलीय परिवेशमा आधारित, समसामयिक घटना, प्रगतिवादी चिन्तन, प्रकृति प्रेम, अलङ्कार र छन्दको सकुशल र नियमबद्ध प्रयोगमा जोड, सरलता, लयबद्धता, विभिन्न बिम्ब प्रतीकको समायोजन, हास्यव्यङ्गात्मकता, पौराणिक विषयवस्तु, आगन्तुक शब्दको किञ्चित् प्रयोग, तद्भव शब्दको प्रयोग, तत्सम शब्दको आधिक्य यस कृतिका कृतिगत विशेषता मान्न सकिन्छ । यिनै विशेषताले गर्दा यो कृति पाठकमाझ अत्यन्तै लोकप्रिय र पठनीय बनेको छ ।
सन्तोष बन्जाडे
परमानन्द संस्कृत विद्यापीठ,
देवघाट , तनहुँ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

