
निबन्धकार प्रा.डा. ज्ञानू पाण्डेको निबन्धकृति ‘जीवनको अभिनन्दन’ घुमाउरो बाटो तय गरेर मेरो कम्प्युटरमा आइपुग्यो । एकताका निबन्धकार र म दुवैले पद्मकन्या क्याम्पसमा प्राध्यापन गर्थ्यौं । यस अर्थमा हामी चिनारु हौँ । यद्यपि निबन्धकार प्रा.डा. ज्ञानू पाण्डेसँग एक प्याला चियाका साथ दुख्यौली सुख्यौली बाँड्न भने अनुकूल परेको होइन । किनभने त्यति बेला नै निबन्धकारको साहित्यिक तथा प्राज्ञिक उचाइ शिखरभेदी थियो भने म इतिहासका हड्डी केलाउँदै बसेको लिलिपुटियन प्रजा थिएँ ।
अहिले संयोग यस्तो परेको छ कि म निबन्धभित्र पसेको छु । खासमा मैले यो निबन्धकृतिभित्र पस्नु हुन्नथ्यो । निबन्धभित्र पस्न त ठिकै थियो, तर पढेर ग्रहण मात्र गर्नु पर्थ्याे । हुँदो न खाँदोसँग पाठक्यौली लेखेर भाउँतो भिर्नु हुँदैनथ्यो । किनकि यो कृतिमाथि नेपालका गिनेचुनेका घागडान विद्वत्वर्ग तथा घच्चीका सञ्चार माध्यमले दृष्टि पुर्याएर टल्काइसकेका छन् ।
अर्कोतिर निबन्धकार ज्ञानू पाण्डे आफैँ पेसाले, पढाइले, परिवेशले, चिन्तनले, मननले, चेतले, विचारले, ज्ञानले तथा दर्शनका हिसाबले घागडान प्राज्ञिक चेतकी साहित्यस्रष्टा एवम् आधिकारिक साहित्यद्रष्टा हुन् । त्यस्तो कृतिमाथि पाठक्यौली लेखिहाल्नु चाहिँ मेरो दुस्प्रयास नै हो भन्ने ठान्छु म । त्यसैले मेरो यो एक बिसाउनी पाठक भइरहेको क्षणको रहर मात्र हो ।
निबन्धकारको सातौ कृतिसन्तानका रूपमा रत्न पुस्तक भण्डारले प्रकाशन गरेको यो कृति कृतिकारका आमाबुवामा समर्पित छ । ‘दार्शनिक भावका यी सुललित निबन्धहरूको एक पठन’ शीर्षकको डा. गोविन्दराज भट्टराईको भूमिकाले कृतिको अन्तर्य खोतलेको छ । रौँचिरा पारेर चिनारी दिएको छ । गर्तगर्त छामेको छ । डा. भट्टराईले कृतिलाई जीवनवादी दर्शन बोकेको, जीवनकै रहस्य उद्घाटन गर्न खोज्ने निबन्ध भएको, अस्तित्व दर्शन, सकारात्मक दर्शन, नियति स्वीकृति दर्शन, ईश्वर दर्शनमा सन्देहवादको सामल मिसिएको भनी उद्घोष गरेका छन् ।
संक्षिप्त मन्तव्यकार कुमारी लामा कृतिभित्र प्रेमको बहुल चिन्तन भएको, स्वप्रेम, स्वबोध तथा अस्तित्ववाद भएको सुखद अवसर बताउँछिन् । श्रीओम श्रेष्ठ ‘रोदन’ कृतिभित्रका निबन्धहरू अनेक विषय, विचार, अनुभूति र संवेदनाको सङ्ग्रह बनेको कुरा बताउँछन् ।
कृतिभित्र ११ ओटा निबन्धहरू छन् । निजात्मक शैली तथा निजात्मक अनुभूतिका आधारमा जीवनलाई आँखीझ्यालबाट चियाउनु कृतिको प्रमुख अभिध्येय रहेको छ । सबै निबन्धहरूले जीवनका विविध कोणहरू समातेका छन् ।
‘ऊ मेरो अमुक प्रेमी’ शीर्षकको पहिलो निबन्ध हो । यसमा स्वःप्रेमको श्रेष्ठता तथा महत्त्व दर्शाइएको छ । आफ्नै स्वःलाई आफ्नै प्रेमी करार गरेर स्वःबोध दर्शन अभिव्यक्त भएको छ । यस अर्थमा आत्मबोधी छ निबन्ध । निबन्धकारकै शब्द सापटी लिँदा, ‘मेरो प्रेमी अन्ध आकर्षणको प्राप्ति होइन, मेरो चेतनाको सम्प्राप्ति हो ऊ । चुलीमा पुग्नु भनेको यात्राको अन्त्यको सङ्केत (मात्र) होइन, यात्राको वास्तविक अर्थ बोध गर्न सक्ने उचाइमा उठ्नु पनि हो’ भनिएको छ । वास्तवमा अध्यात्मवाद तथा भौतिकवाद दुवैका पृष्टफलकमा जीवनवादी विचारबाट हेर्यो भने आफ्नै स्वः जत्तिको जीवनबोध अरू केही छैन ।
‘विरोधाभाषको मिठो तनाव’ शीर्षकको दोस्रो निबन्धमा निबन्धकारले ‘यो जीवन के हो ? किन यसमा दुःखको स्थायी वास तर सुखचाहिँ आक्कल झुक्कल मात्र ?’ भन्ने प्रश्नलाई आफ्नासमीपमा अवतरण गराएर त्यसैको सेरोफेरोमा जीवनको अन्तर्य केलाउने बौद्धिक प्रयत्न गरेको पाइन्छ । यसै प्रयत्नका सिलसिलामा जीवनको चिन्तनलाई रक्सीको लतभन्दा कडा लतका रूपमा चित्रण गरिएको छ । निबन्धमा जीवनलाई फूलको सत्तासँग तुलना गरिएको छ । निबन्धकारकै शब्दमा, ‘झर्नका लागि फुल्ने अनि फुल्नकै लागि झर्ने एउटा फूलको कथाजस्तै रहस्यमय हो यो हाम्रो जीवन । जन्मनुअघि पनि अँध्यारो, मृत्युपछि पनि अँध्यारो, हरेक मान्छेको जीवन दुई सघन अँध्यारोका बिचमा च्यापिएर अडेको एउटा क्षणभंगुर यथार्थ हो’ भनिएको छ । र, निचोड निकालिएको छ आजसम्म ज्ञानको दुनियाँमा कसैले पनि जीवनका विषयमा सर्वस्वीकार्य कोण निर्माण गर्न सकेको छैन । जीवन यथार्थमा विरोधाभासको एउटा मिठो तनाव हो र तनाव ! तर मिठो !’
‘बन्दाबन्दीको उन्मुक्ति’ शीर्षकको अर्को निबन्धमा निबन्धकारले कोरोनाकहरले निम्त्याएको अत्यासलाग्दो परिवेशलाई चित्रण गरेर मानिसको जीवनको अर्थ खोजेको देखिन्छ । यस्तो सङ्कटका बेलामा पनि जीवनलाई सकारात्मक तरिकाले सोच्ने अन्तर्य देखिएको छ । निबन्धकारको शब्द ‘परिस्थितिले साथमा बोकेर आएको विशिष्ट पाठलाई बोध गर्न यो शून्य समयको भरपुर उपयोग गरौँ । सधैँ सकारात्मक सोचौँ’लाई सापटी लिने हो भने यो निबन्धमा जीवनको सकारात्मक दर्शन प्रकटीकरण भएको पाइन्छ ।
‘भूकम्पको भयमा उच्छलित अनुभूतिका तरङ्गहरू’ शीर्षकको निबन्धमा २०७२ सालको महाभुकम्पपछि देखा परेको मानव मनोविज्ञान र प्रकृतिको बिनाविभेदीय क्रियामाथि चर्चा गरिएको छ । वास्तवमा प्रकृतिले मान्छेलाई अविभेदीयका रूपमा स्वीकार गरेको छ । भुइँचालोले मान्छेको समान हैसियत देखाएको चित्र प्रस्तुत गरेर निबन्धकारले मान्छेको समान दुखाइ, समान पीडा भएकाले सत्यका सौन्दर्यमा वर्गविहीन मान्छेको जीवनदर्शन प्रकट गरेको देखिन्छ । ‘न त दम्भको उन्मादको कुनै अर्थ । प्रकृतिले त हामी सबैलाई बराबरको रचना गरेकी रहिछन’ भन्ने वाक्यले यही कुराको सङ्केत गरेको छ ।
‘पाठकको सत्ता’ निबन्धले समालोचक, पाठक तथा लेखकको अधिकार, सामिप्य र दुरीका बारेमा व्याख्या गरेको छ । सबैका आआफ्नै सीमा हुन्छन् भन्ने निष्कर्ष निकालिएको छ । ‘सङ्क्रमणको प्रशिक्षा’ नामक निबन्धमा कृतिकार आफैँलाई कोरोना लाग्दाको मनोविज्ञान उल्लेख छ । कोरोनाका आतेसहरू भोगेर जीवनको अन्तर्यभित्र पस्ने जमर्को गरिएको छ ।
‘स्मृतिबिम्बमा अमेरिका’ नियात्राकारको अमेरिका यात्राको अनुभूतिजन्य कैरन हो । यही कैरनका दौरान मान्छेका जीवनअन्तर्यमा समयले खेलेको वा खेल्ने भूमिकाको प्रभुसत्ता प्रष्ट पारिएको छ । नियात्राकार समयको वलवत्तालाई ‘हामी मान्छेहरूका जीवन फगत क्रीडाभूमि हो समयको । समयकै स्वीकृति/अस्वीकृतिले निर्देशित हुन्छन् हाम्रा प्रत्येक पाइलाहरू’ भन्ने शब्दमा अभिव्यक्त भएको छ । यदि कुनै नेपालीले पूर्वाग्रह नराखेर अमेरिका भ्रमण (काम होइन) गर्छ भने नियात्राकारले यही निबन्धमा भनेझैँ अमेरिकाका राम्रा पक्ष (विकास) देख्दा मन गदगद त हुन्छ तर तत्क्षण आफ्नो देशसँग तुलना गरेर आफ्नै विगति सम्झेर धुरुधुरु रुन भने मन लाग्छ ।
किनभने नियात्राकारको भनाइ छ, ‘प्रत्येकका लागि देश भन्नु आफू स्वयं हो । आफूलाई कसरी बिर्सन सक्छ र जीवनमा ?’ भन्ने भनाइले प्रष्ट पार्छ । यही प्रसङ्गमा मलाई स्वाद तथा यथार्थ लागेको कुरा चाहिँ के हो भने निबन्धकार आम नेपाली विज्ञयात्रीले जस्तो अमेरिकालाई गाली गरेर आफू अग्घोर राष्ट्रवादी भएको विचार प्रक्षेपण भने गरिएको छैन । यही कुराले पनि निबन्धकारको न्यायाधीश चैतन्य फराकिलो देखिन्छ ।
‘निर्बन्ध नायिकाको महाप्रस्थान’ निबन्ध प्रख्यात साहित्यकार तथा निबन्धकारकी अग्रज सहकर्मी वानीरा गिरिको सान्निध्यको संस्मरण हो । साहित्यकार वानीरा गिरिको लेखनीको मन्त्रमुग्धताबाट अति प्रभावित हुने (फ्यान) म आफैँ पनि भएकाले र केही समय पद्मकन्या क्याम्पसमा सहकर्मी पनि भएकाले यो निबन्धले मेरो हृदयको छेउकुनासमेतलाई पल्लवित बनाएको छ । यो निबन्धमा निबन्धकारले साहित्यकार वानीरा गिरिको लेखनीको विशेषता केलाउँदै ‘आधुकिताको चेतसहित प्रयोगवादी धाराको प्रभाव पनि ग्रहण गर्दै अस्मिताबोधी स्वरका साथ कलम चलाउने सामर्थ्य भएका नारी प्रतिभा’ भनिएको छ । नियात्राकारको वानीरा गिरिसँगको सम्बन्धलाई ‘कता हो कता उपल्लो कोटिको सम्बन्ध हो श्रद्धाको सम्बन्ध, आदरयुक्त प्रेमको सम्बन्ध’ भनेर परिभाषित गरिएको छ ।
अर्को निबन्ध छ ‘त्यहाँ म केवल छोरी मात्र बाँकी रहन्छु’ । यो निबन्ध निबन्धकारको पितृभक्तिको अभिव्यक्ति हो । यद्यपि सबै सुसन्तानलाई आफ्ना पिताप्रति गर्वबोध हुन्छ । किनकि माता धरती हो भने पिता आकाश हो । त्यसमाथि तीनसहर नेपालभित्रै मुकाम भएका शिखरभेदी आदरणीय साहित्यकार पोषण पाण्डेकी छोरी हुनु नियात्राकारको विशिष्ट भाग्य हो । पोषण पाण्डेको लेखनीको गुणको दप्कोले तत्कालीन साहित्य नै एकपल्ट हच्किन्छ । यस्ता पिताको सान्निध्य पाएकी निबन्धकारको पितृअनुभूति वा हृदय पल्लवता सौन्दर्यले परिवेष्टित नहुने कल्पना पनि गर्न सकिन्न । त्यसैले नियात्राकार आबुवा (पिता) का सुवचनलाई संस्मरण गर्दै ‘मेरो सोच, मेरो संस्कार, मेरो शिक्षा, ज्ञान, दृष्टि, दृष्टिकोण सबैसबै कुराका मुख्य स्रोत उहाँ’ भन्छिन् ।
त्यसपछिको निबन्ध छ ‘भगवान : ?’ । भगवानकाे अस्तित्व, रूप तथा गुणका विषयमा दार्शनिक प्रश्न उठाएर यो निबन्ध लेखिएको छ । मूलतः भगवान् छैन (नास्तिक), भगवान् छ (आस्तिक) तथा भगवानको कर्मकाण्डी प्रयोगका बारेमा लेखिएको छ । नियात्राकारको ‘म पनि भगवान मान्छु । आस्तिक हुँ म, खाँटी आस्तिक । त्यसैले त मान्छेहरूले भगवान्माथि अनावश्यक जिम्मेवारीको बोझ थोपर्न खोजेको मलाई मान्य हुँदैन नि’ आफ्नो निजत्व दृष्टिकोण नै निबन्धको सार हो । त्यसकारण निबन्धकार भगवानकाे रूपलाई ‘भगवान मनको अडेस हो, आडम्बरको खेल होइन, आस्थाको स्वरूप हो, सत्ताको खोजी होइन, श्रद्धाको समर्पण हो, विधिविधानको रुढि होइन’ भनेर निबन्ध समापन गर्छिन् ।
कृतिभित्रको अन्तिम निबन्ध ‘जीवनको अभिनन्दन’ शीर्षकमा रहेको छ । यो कृतिकै शीर्षक पनि हो । आफ्ना एक सहकर्मीले जीवनसँग थाकेर गरेको आत्महत्याका कारणले कार्यालयमा गरिएको शोकसभामा व्यक्त गरिएका विचार तथा दिइएको बिदालाई केन्द्रमा राखेर यो निबन्ध निर्माण गरिएको छ । त्यसैले जाहिर छ कि निबन्धभित्र जीवन र मृत्युलाई पर्गेल्ने प्रयत्न गरिएको छ । मान्छे किन कायर बनेर आत्महत्याको बाटो रोज्छ भन्ने चिन्तित विषयमा निबन्ध बोलेको छ । आत्महत्या गर्ने व्यक्तिको तत्कालीन अवस्थाको मन कस्तो होला भन्ने तिखो आर्तनाद रहेको छ ।
‘अरूलाई खुसाउन, ज्ञान दिन सक्ने ती गुरुले जीवनमा स्वयं आफूलाई किन खुसी पार्न सकेनन् ?’ भन्ने प्रश्न उठाएर जीवनसँग प्रश्न गरिएको छ । ‘हो, जीवनमा धोका छ, बेइमानी छ । घातप्रतिघातको खेल यसमा निरन्तर चलिरहन्छ । तर पनि रमाइलो कुरा के भने जीवनको यही परिधिभित्रै खुसी खोज्ने, खोस्रने, खोस्रन सक्ने सिसिफसे आँट त हामीसँगै छ नि’ भन्ने सकारात्मक दृष्टिकोण निबन्धकारको रहेको छ । मृत्यु अवश्यम्भावी तथा अनिवार्य भएकाले नै जीवनको महत्त्व छ । मान्छेले आफ्ना जीवनमा सपनाको महल बनाउन जरुरी हुन्छ, ताकि सोही सपना पूरा गर्दागर्दै मान्छेको समय बितोस् । यही कुरालाई पुष्टि गर्न निबन्धकारले ‘सपनालाई कदापि मर्न दिनु हुन्न जीवनमा । मृत्युपछिका मुक्तिका कुरा, मृत्युपछिको मोक्षका कुरा, ती त सब कथाहरू हुन् बस् । एकबारको जुनीमा आफ्नो भागमा पाइएको समयको एकएक कणलाई कसरी हुन्छ सुन्दर बनाउन जाँगर गर्नुपर्छ’ भन्ने दृष्टिकोण पस्केर जीवनको सकारात्मक अन्तर्य बताइएको छ ।
कृतिभित्र रुमलिँदा जीवनका कोणहरू छताछुल्ल भएर देखा परेका छन् । जन्म, जीवन, सम्बन्ध तथा मृत्यका बारेमा सघन दार्शनिक तथा वैचारिक विवेचन भएको छ निबन्धमा । तथापि कृतिभित्र केही शुद्धाशुद्धिका अब्डेराहरू देखा परेका छन् । यद्यपि नेपाली भाषामा शुद्ध लेख्नु सकसपूर्ण कार्य हो, तथापि कृतिकार प्रा.डा. ज्ञानू पाण्डे नेपाली विषयको आधिकारिक शुद्धतामा लेख्ने स्रष्टा हुन् । यस्ता कृतिकारले लेखेको हिज्जे लपसिक्खाका लागि मानक हुन् । तर कृतिमा प्रयुक्त हिज्जे धेरै शुद्ध भए पनि शतप्रतिशत शुद्ध भने नभएको देखिन्छ । उदाहरणका लागि वानिरा कि वानीरा ?, भिसा कि भीसा यी दुवै शब्द कृतिमा प्रयोग भएका छन् । कृतिकारले कृतिलाई फेरि पढ्दा थाहा हुन्छ । अर्को संस्करणमा यी हिज्जेदोष मेटिने छन् भन्ने आस गर्नु एउटा पाठकको अधिकार हो ।
भगवानका प्रसङ्गमा निबन्धकारलाई वर्तमान नेपाली समाजको रुढी परम्पराले मुक्त हुन दिएको छैन । नदेखेको भगवानकाे स्वरूपलाई मनोवैज्ञानिक लयमा उतारेर जबर्जस्ती आस्तिकता पस्किएको अनुभूत हुन्छ । भगवान् छ भन्ने आस्तिकताको दर्शन अभिव्यक्त गर्ने हो भने जुन मान्छेलाई जस्तो भगवान् मनपर्छ, त्यस्तै स्वरूपमा मान्न पाउनु पर्छ भन्ने मेरो भनाइ हो । किनकि निबन्धकारको भगवान् मनोवैज्ञानिक हो । र त्यो मनोवैज्ञानिक भगवान् कर्मकाण्डीय वा गैरकर्मकाण्डीय दुवै हुन सक्छ । नास्तिकता विचार अपनाउने हो भने धर्म, धर्म मान्ने प्रचनल वा परम्परा, धर्मले देखाउने सम वा विभेदीय दृष्टिकोणमा प्रष्ट हुँदा निबन्ध झन् राम्रो हुने मेरो अनुमान छ । अँध्यारोमा छाम्दा पनि नभेटिएको वस्तुको के प्रारूप ? के समायोजन ? के आस्तिकता ? के नास्तिकता ?
निबन्ध भनेको विचारको सिलसिलेवार प्रस्तुति हो । विचारको त्यान्द्रोमा निबन्धरूपी माला गाँसिन्छ । कृति वैचारिक तथा दार्शनिक विषयका थिममा लेखिएको छ । कृतिभित्र निबन्धकारका कोरोनासँग सम्बन्धित दुई निबन्ध छन् । पहिलोले कोरोना विषयले उत्पन्न गरेको मानिसको मनोविज्ञान पस्केको छ । त्यो सैद्धान्तिक धरातलमा छ । भने दोस्रो निबन्धले निबन्धकार आफैँलाई कोरोनाले आक्रान्त पारेको अनुभूति छ । यसमा सैद्धान्तिक होइन, भोगीय मनोविज्ञान प्रष्ट छ । विचारणीय पक्ष के हो भने यी दुवै निबन्धमा नियात्राकारका विचार र अनुभूति भने फरक छन् ।
आफ्ना पिता पोषण पाण्डेका प्रतिको संस्मरण मार्मिक तथा भावुक छ । नियात्राकारको निजत्व एकदम ज्वाजल्यमान भएको छ । पितृसम्मान आस्तिकता तथा नास्तिकता दुवैमा अब्बल विषय हुन् । कृतिभित्र गुरु तथा पिताको सम्मान निकै राम्रो छ । यसका लागि नमन नियात्राकारज्यू ।
वास्तवमा निबन्धहरू निकै सुन्दर त छन् तर भूमिकामा डा. गोविन्दराज भट्टराईले कृतिको सार खिचिदिएकाले कृतिभित्र नपसी भूमिकाबाट निक्लँदा पनि निबन्धकार प्राडा ज्ञानू पाण्डेका ती वैचारिक तथा दार्शनिक खुराक पाठकले प्राप्त गरिहाल्छन् भन्ने मलाई लागेको छ । यसले मभित्र एउटा द्विविधा भने जन्माएको छ ।
एउटा निबन्धको शीर्षकबाट कृतिशीर्षक राखिएको सन्दर्भ अचम्मको छ । ‘पाठकको सत्ता’ निबन्धको अन्तर्य कृतिशीर्षकले कसरी बोक्न सक्छ र ? त्यसकारण सबै विषय अटाउने अलग्गै शीर्षक भएको भए हुने भन्ने मलाई लागेको छ । त्यसो त कृतिशीर्षक ‘जीवनको अभिनन्दन’ निकै सुन्दर शीर्षक हो ।
भूमिकामा निबन्धकारलाई स्वभावैले नारी हस्ताक्षर भनिएको छ । यो नारी हस्ताक्षर भन्ने शब्दले मेरो मन भने अमिलो भएको छ । किनभने जहाँसम्म मेरो बुझाइ छ, प्राडा ज्ञानू पाण्डे नेपाली भाषा/साहित्यका स्वदेशी वा विदेशी कुनै पनि खाले हस्ताक्षर (अहिले त लिङ्ग पनि ६ वटा भन्न थालिएको छ) भन्दा कमजोर स्रष्टा होइनन् । मलाई लाग्छ नारी हस्ताक्षरको ट्याग लगाउनु निबन्धकार प्राडा ज्ञानूको मानउत्थान किमार्थ पनि होइन । ज्ञानू सकल आकाशमा उच्च चम्किलो तारा हो, खण्डित आकाशमा होइन ।
अब मैझारोतिर छु । निबन्धकारले उठाएको विषय तथा विचारमाथि कैयौँ अनुसन्धान भएका छन् । अध्ययन, चिन्तन, मनन तथा तपस्या भएका छन् । शोधसार निकालिएका छन् । कैयौँ विद्वानका कलमले जीवन पस्केका छन् । बुझेँ-बुझाएँ भनेका छन् । फेरि पनि सार कुरा के हो भने जीवन भन्ने कुराको मथाइ जस्ताको तस्तै छ । अमूर्त र अआकारीय छ । अभेद्य र अनासीन । यही पृष्टभूमिमा निबन्धमा जीवनसम्बन्धी निजत्व पस्किएको छ । सारमा भन्ने हो भने कृतिकारको निजात्मक अनुभूतिको सुन्दर प्रस्तुति हो यो कृति । मान्छे, परिवेश, जीवनजगत्, मायाप्रेम, मोह, संवेग, समवेदना, हार्दिकताका कुराहरू समेटिएको कृति हो यो । निबन्धकारको विद्वता आत्मबोध याने मबोध, जीवनको क्षणभंगुर यथार्थ, कोरोनाकहर, भुइँचालो, अमेरिकाका जिजीविषाहरू भएर उजागर भएका छन् । गुरुभक्ति, पितृभक्ति, भगवान तथा आत्महत्यामा जीवन खोतल्ने प्रयत्न निकै चोटिलो छ ।
पाठकको सत्ताको सार्वभौमीकरण गरिएको छ । समसामयिक समालोचकीय सिद्धान्त परिवेशी बनेका छन् निबन्ध । मान्छे स्वतन्त्रतालाई मन पराउने प्राणी हो । यद्यपि आफ्नो स्वतन्त्रताको भरपूर प्रयोगमा अर्काको स्वतन्त्रतालाई क्षयीकरण गरिरहेको पाइन्छ । त्यो अर्कै विषय हो । निबन्धकारको आफ्नो पन छ । आफ्नो विचार छ । आफ्नो बुझाइ छ । दर्शन छ । त्यसका प्रति किटुवा अडान छ । पाठकलाई चित्त बुझ्छ वा बुझ्दैन त्यो अर्को कुरा हो । बुझ्नु वा नबुझ्नुले केही फरक पनि पर्ने होइन । तर निबन्धकारको वैचारिक स्पष्टता तथा नवीनतामा प्रश्न उठाइहाल्नु पर्ने अवस्था नहोला भन्ने मेरो निजी मान्यता छ । मैले भन्नु परेन कि निबन्धकारमा भाषा शिल्पको खजाना भएको कुरा जगजाहेर छ । र, यो निबन्धकृतिमा प्रयुक्त भाषा सुललित छ । बोधीय छ । प्रस्तुत विषय प्रकटीकरणमा भाषैले मात्र पनि पाठक माझ प्रभाव पार्ने खालको छ ।
किताबहरू पढ्ने क्रममा धेरै दिनदेखि एउटा गहकिलो वैचारिक, दार्शनिक तथा जीवनजगत् पुकारिएको पुस्तक पढ्न लालयित थियो मेरो मन । यो कृति पढेपछि भने मेरो त्यो जिजीविषा केही दिनलाई शान्त भएको छ । पूरा भएको छ । यसका लागि निबन्धकार प्रा.डा. ज्ञानू पाण्डेप्रति आभार व्यक्त गर्दछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
