समीक्षा गर्भः
खेमराज पोखरेल र विश्वराज अधिकारी कृत ‘सदृश्य पर्दा’ मेरो कम्प्युटरको स्क्रीनमा छ। हुन त उहाँ दुवै जनासँग मेरो भौतिक भेटघाट र चिनाजानी छैन। तथापि साहित्यिक कार्यक्रम र सङ्गोष्टि मार्फत अभौतिक चिनजान बाक्लै छ। त्यही नाताले विश्वराज अधिकारीबाट विद्युतीय हुलाकमार्गमार्फत सदृष्य पर्दा मैले पाएँ। मैले यो कथासङ्ग्रह पढ्नु छ र यसको बारेमा पाठकीय धारणा पनि राख्नु छ। पढ्ने चाहना तीव्र छ। यसका साथसाथै यसको टीका टिप्पणी गर्ने चुनौती पनि छ। किनभने यो सङ्ग्रहमा समेटिएका कथाहरू यौनकथाहरू हुन्।
कृतिकार द्वयले नेपाली साहित्यमा अपरिहार्य तर संवेदनशील विषय – ‘यौन’ यस कथासङ्ग्रहमा लिएका छन्। यस विषयमा नेपाली साहित्यमा रहेको खडेरीमा यो कृतिले राम्रै स्थान ओगट्ने आँकलन गर्न सकिन्छ।
शीर्षक र कलेवरः
कथा सङ्ग्रहको नाम ‘सदृश्य पर्दा’ हो। ‘सदृश्य’ शब्द न संस्कृत भाषामा छ, न त नेपाली भाषामा भेटिन्छ। हिन्दी भाषाको शब्दकोशमा पनि यो शब्द छैन। तर नेपाली भाषा निर्माणको विधानअनुसार ‘दृश्य’ शब्दमा ‘स’ थप्दा वैयाकारणीय हिसाबले ‘सदृश्य’अशुद्ध हुँदैन भन्ने सुझाव भाषा विज्ञहरू दिएको जनाउँछन् खेमराज पोखरेल। यसको अर्थ बिना छेकबार स्पष्ट देखिने हुन आउँदछ। यसैगरी नयाँ नयाँ शब्दका शीर्षक खोज्नमा खेमराज पोखरेल पोख्त छन् भन्नमा अत्युक्ति नहोला।
कालो – निषेधको रङ्ग र रातो – प्रेमको रङ्गको समिश्रणको भुइँमा महिला र पुरुषको छवि छ। महिला निधारको टीका समेत देखिने पर्दा भित्र छे भने पुरुष वासनामा लिप्त देखिन्छ। तर पर्दा सदृश्य भएकाले सबै कुरा स्पष्ट देखिएका छन्। कथासङ्ग्रहको नाम सदृश्य पर्दा सबैभन्दा माथि राखिएको छ। त्यसको मुनि कथाकार द्वयका नाम छन्। यति उत्कृष्ट आवरणका सिर्जनाकार अमित घिमिरे हुन्। पृष्ठ आवरणमा श्रीओम श्रेष्ठ रोदनको टिप्पणी छ।
किताबको ले-आउट केदार आचार्यको छ। शिखा बुक्सले प्रकाशन गरेको कृतिको वितरक ज्ञान ज्योति बुक्स पब्लिकेसन प्रा. लि. हो। किताबको मूल्य रू. ३१५ |- छ।
यस कथा सङ्ग्रहलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा खेमराज पोखरेलका ६ वटा कथाहरू छन् भने दोस्रो भागमा विश्वराज अधिकारीका ६ वटा कथाहरू छन्।
यस कथासङ्ग्रहको भूमिका मन्दिरा मधुश्री र अनुपम रोशीको रहेको छ। कथासङ्ग्रहको अन्त्य भागमा कथाहरूका रचना गर्भ र कथाकार द्वयको परिचय छ।
विशेषता र चुनौतीः
यौन विषयमा साहित्य लेख्नु चुनौतीपूर्ण हुन्छ। किनभने हाम्रो समाज यौनका मामलामा त्यति खुला छैन। यौन समाजका हरेक व्यक्तिको जीवनमा अपरिहार्य छ। हिन्दु दर्शनका चार आधारहरू – काम, क्रोध, लोभ, मोह मध्ये काम भनेकै यौनसँग सम्बन्धित छ। तर यौनका बारेमा खुलस्त रूपमा कुरा गर्न, लेख्न र एक आपसमा छलफल गर्न त्यही समाजले बन्देज लगाउँछ। त्यही भएर पनि यो संवेदनशील बनेको हो।
कृतिकार द्वयको हालको बसाइँ अमेरिकामा छ। र जीवनको प्रौढ अवस्था (साठी वर्षभन्दा माथि) हुनुहुन्छ। ‘परदेशिएका बूढाहरू पात्तिएछन् !’ भन्ने आक्षेप आउने सम्भावना पनि छ। पङ्क्तिकारको बसाइँ पनि क्यानाडामा छ। ‘देशबाहिर भएकाले जे पनि लेख्ने ?’ भन्ने प्रश्न पाङ्क्तिकारले पनि बेहोर्नु पर्ने पनि हुन सक्छ।
यस कथासङ्ग्रहको भूमिकामा मन्दिरा मधुश्रीले यौनकथालाई तीन विषयमा बाँडेकी छिन्। यी तीन विषयहरू हुन् – यौन दर्शन, यौन मनोविज्ञान, र यौन अपराध। नेपाली साहित्यमा पाइने यौनजन्य सिर्जनाहरूमा यौन मनोविज्ञानको बाहुल्य छ। यौन दर्शनको बीउ भेट्न पनि कठिनाइ छ। खेमराज पोखरेलका कथाहरूले यौन दर्शन बोकेका छन् भने विश्वराज अधिकारीका कथाहरूले यौन मनोविज्ञान बोकेका छन्।
व्यक्तित्त्व कृतित्त्वः
खेमराज पोखरेल र विश्वराज अधिकारी नेपाली साहित्यमा नयाँ नाम होइनन्। वि. सं. २०३९ मा साहित्यमा जोडिएका खेमराज पोखरेलले नेपाली साहित्य भण्डारमा लघुकथासङ्ग्रह, कथासङ्ग्रह, कवितासङ्ग्रह, नियात्रासङ्ग्रह, निबन्ध सङ्ग्रह, समीक्षासङ्ग्रह सहित पन्ध्रवटा कृति थपिसकेका छन् । प्राध्यापनबाट सेवा निवृत्त उनी हाल पूर्णतः साहित्य सेवामा तल्लीन छन्।
अमेरिकाको ओक्लोहोमा राज्यमा प्राध्यापन गर्दै गरेका विश्वराज अधिकारी बहु प्रतिभाशाली साहित्यकार हुन्। सूर्य लघुकथासङ्ग्रहसहित नेपाली साहित्यमा हामफालेका विश्वराज अधिकारीले लघुकथासङ्ग्रह, कथासङ्ग्रह, छोटा कथासङ्ग्रह, गीतसङ्ग्रह, नियात्रासङ्ग्रह, निबन्ध सङ्ग्रह, संस्मरण, धार्मिक ग्रन्थका व्याख्या, अनुभव एवं दृष्टिकोणसहित बीस कृति नेपाली साहित्यको भण्डारमा थपेका छन्।
===
कथासारः
भिँजेको ओछ्यान
पहिलो कथामा खेमराज पोखरेलले हिमेश सत्याल र अनामिका पटेल बीचको सम्बन्धलाई कथा बनाएका छन्। नेपालबाट सपरिवार अमेरिका आएको हिमेशसँग श्रीमतीले पारपाचुके गरेपछि एक्लै बस्दै आएको हुन्छ। हिमेशसँग अनामिकाको भेट हिमेशकै कार्यालयमा हुन्छ। असी वर्षीय आफ्नो श्रीमानसँग असन्तुष्ट अनामिकाले हिमेशसँग सम्बन्ध अघि बढाउँछे। एक वयस्क महिला र एक वयस्क पुरुष बीच हुनु पर्ने सामान तहको सम्बन्ध र समभोग यसमा देखाइएको छ। पुरुष प्रधान समाजमा पुरुषले स्त्रीको चाहना विपरित यौनाकाङ्क्षा पूरा गर्छ। तर स्त्रीले जब यौनाकाङ्क्षा राख्छे तब पुरुष अशक्त भइदिन्छ। यस्तो अवस्थामा स्त्रीले आफ्नो यौनाकाङ्क्षा स्वच्छन्द रूपले पूर्ति गर्न पाउनु पर्छ। हिमेश र अनामिका मार्फत यो कथाले पुरुष र स्त्री बीचको यौन सम्बन्ध समतृप्तिको आधारमा हुनु पर्छ भन्ने दर्शन दर्शाउँछ।
रतिरहस्य
यस कथामा अमेरिका पुगेको श्याम पूर्वीय संस्कारको मारमा यौन चाहना व्यक्त गर्न सक्दैन। तर ऊ आफ्नो र नेपालमा रहेको श्रीमतीको दमित यौन इच्छा बारेमा कल्पना गर्न पछि पनि पर्दैन। कामाग्नी बढेको बेला श्यामले सपनामा पौराणिक कथाका पात्रहरू कामदेव र रतिको वार्ता देख्छ। महादेवले छलेर रतिको सतीत्व लुटेपछि आफू सम्भोग गर्न अयोग्य भएको कुरा रतिले कामदेवलाई सुनाउँदै कामदेवलाई जालाउन तयार भएको ज्वालाग्नीमा प्रवेश गर्छिन्। श्यामले मानव प्रतिनिधि बनेर रतिरहस्य बारेमा सोध्छ। त्यसैको उत्तरमा रतिले ‘योनी अपवित्र हुन सक्दैन। किनभने संसारको सृष्टि योनीबाट नै हुन्छ। अनि योनी भन्नु देवत्व हो। वीर्य गौण हो, गर्भाशय नै सृष्टि को स्रोत हो’ भन्छिन्। यही दर्शन बुझ्न नसकेकाले मान्छे जिन्दगीभर रतिरहस्यको पछाडि दौडिरहन्छ।
अबन्दी
यस लघुकथामा अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिन अमेरिका पुगेकी कवयित्री वन्दना ‘बन्दी’ विवाहेत्तर सम्बन्ध राख्न पुग्छिन् अर्को साहित्यकार राजाराम ‘बिन्दास’ सँग। नेपाल छँदासम्म विवाहेत्तर सम्बन्धलाई गलत ठान्ने वन्दनाले राजारामबाट ‘विवाह भनेको प्रणय हो। प्रणय भनेको श्रीमान् र श्रीमती एक-अर्कामा अन्तरघुलन हुने हो। यौन नै त्यस अन्तरघुलनको योजक हो। यदि श्रीमान् वा श्रीमती आफ्नो सम्बन्धमा पूर्ण सन्तुष्ट छैनन् भने यौन सन्तुष्टिका लागि विवाहेत्तर सम्बन्ध राख्दा अनुचित हुँदैन।’ भन्ने ज्ञान पाउँछिन्। र उनी राजारामसँग सम्बन्ध राख्न पूर्वीय संस्कारबाट अबन्दी बनेर अगाडि बढ्छिन्।
ग्वापो अमिगो
यस कथामा अमेरिका लगिएका विधुर मिस्टर उपाध्याय एक्लिएर पार्कमा घुम्न गएको बेलामा एक जना भारतीय महिला भेट्छन्। महिला पनि एक्ली र झण्डै समवयी भएकीले अमेरिकामा एक्लै कसरी जीवन बिताउने भन्ने प्रश्न मिस्टर उपाध्यायले गर्छन्। ब्वाइफ्रेन्ड-गर्लफ्रेन्डका लागि प्रस्ताव पनि गर्छन्। ती महिलाले त्यो प्रस्ताव ठाडै अस्वीकार गर्दै प्रौढ नागरिकका लागि अमेरिकामा सरकारले नै स्वीकृति दिएका प्रौढ मनोरञ्जन केन्द्रका बारेमा जानकारी दिन्छिन्। त्यस्ता मनोरञ्जन केन्द्रले प्रौढहरूका सुख दुःखका गन्थन सुनिदिने, पट्यार लाग्दा विगतको कथा सुनिदिने, अनि प्रौढमा आउने आवेगलाई समन गरिदिने व्यवस्था पनि हुन्छ भन्ने जानकारी पनि दिइन्।
अर्को दिन ती महिलाले मिस्टर उपाध्यायलाई शहरको एक प्रौढ मनोरञ्जन केन्द्रमा लगेर त्यहाँकी परिचारिका मेरीलाई सुम्पिन्छिन्। अमेरिकामा भएको यौन उदारताले नेपाल जस्तो विधुर वा विधवा भएर जिन्दगी भर कुण्ठित भएर बाँच्नुकोसट्टा जीवनको पूर्ण उपभोग गर्न दिन्छ। मेरीले मिस्टर उपाध्यायलाई स्वागत गर्दै मेक्सिकान भाषामा ग्वापाे अमिगो (ह्यान्डसम साथी) भनेर स्वागत गरेको शब्दबाटै कथाको शीर्षक रहेको छ।
बेसाहा लोग्ने
यसमा अमेरिकाको अर्कै शहरबाट लिभिङ टुगेदर (विवाह नहुँदै केटा र केटी सँगै बस्ने चलन) का लागि आएकी देवयानी र क्रिसको सम्बन्धको कथा छ। दुवैका आ-आफ्ना परिवार नेपालमै छन्। यस लिभिङ टुगेदर सम्बन्धमा यौन लगायत सबै गतिविधि संलग्न छन्। तैपनि पहिलो भेटमा मन नपराए कसैले पनि अस्वीकार गर्न सक्ने सहमति छ।
क्रिसले आफूले सोचे जस्ती केटी नपाएकाले देवयानी सँग भेटको पहिलो रातमै सुत्न अनिच्छा व्यक्त गर्छ। यसैका जवाफमा देवयानीले भन्छे – “जीवन कथाहरूको सँगालो हो र ती कथाभित्र थुप्रै उपकथा हुन्छन्। तर यी कथा, उपकथाहरू स्वार्थले जन्मिएका हुन्छन्। सम्बन्ध भनेको स्वार्थको सन्तुलन हो। आऊ एकबारको जुनीमा सबै कुराको भोग गरौँ। यो सम्झ आजको रात म तिम्रो बेसाहा श्रीमती र तिमी मेरो बेसाहा लोग्ने।
बिगडल छौँडा
मैथली समाजमा स्थापित धनी परिवारको बिग्रेको सन्तान जीवनाथ अमेरिका छिरेपछिको कथा यसमा छ। उसले अमेरिका बसेर व्यापार गर्यो, लगानी गर्यो। तर व्यापारमा सधैँको चिन्ताले एउटा जागीर खोज्यो। जुन ठाउँमा जागीर खान थाल्यो, त्यो ठाउँको हाकिम नेपाली आइमाई नै रहिछ अर्चना नाम गरेकी।
एकदिन हाकिमले जीवनाथ कफी पिउन घरमै बोलाउँछे। त्यो भेटमा उसले कफीको सट्टा बियरले स्वागत गर्छे। नशा चढ्दै गए पछि उसैले सहवासको प्रस्ताव गर्छे। सहवासको क्रममा आफ्नो कथा पनि सुनाउछे। सुहागरातमा श्रीमानसँग आफुले विवाहपूर्व राखेको यौन सम्बन्धका कुरा राखेपछि उसले अर्काकी श्रीमती जस्तो व्यवहार गरेर मानसिक पीडा पाएको। र त्यसकै कारणले श्रीमान्सँग पारपाचुके गरेर र फुक्काफाल भएकी रहिछ। लोग्ने मान्छेले विवाह पूर्व यौन सम्बन्ध राख्न हुने। तर स्वास्नीमान्छेले राख्दा किन अपच्य? यही विषयलाई लिएर यो कथा लेखिएको छ।
मिलनुआ
भाग दुईको पहिलो कोशेली विश्वराज अधिकारीले तराईको गाइने समाजमा घटेको घटनालाई कथा बनाएका छन्। उनको यस कथामा आफ्नो श्रीमानबाट यौनाकाङ्क्षा पूर्ति नहुँदा विगना हजराकी श्रीमतीले आफ्नो माइती गाउँको मिलनुआ (प्रेमीलाई) गाउँलेभाइ बनाएर घरमा ल्याउँछे। राति श्रीमानसँगै सुतेको बेला मिलनुआसँग सम्भोग गर्छे। मनोविज्ञानमा आधारित यो कथाले त्यस समाजमा रहेको संस्कृति झल्काउँछ।
चमचोर
तराईको जनजीवन विधुर विधवाले कसरी समाजको आँखा छलेर आफ्नो यौन चाहना पूर्ति गर्छन् भन्ने विषयवस्तुमा यो कथा उनिएको छ। विशेष गरी विधुरहरूले आफ्नो प्रतिष्ठा र धनको आडमा विधवाको शरीरको उपभोग गर्नेछन् र चमचोर बन्छन्। आफै चमचोर र आफै पञ्च भलाद्मी भएपछि समाज पनि तैँ चुप मै चुपको मनोविज्ञानले कथा भरिपूर्ण छ।
सतभतरी लछमिनिया
अहिले अमेरिका बस्दै गरेका रौतहटको बालपुरका असी वर्षिय मगँरूको संस्मरणमा यो कथा लेखिएको छ। उनले पचास साठी वर्ष अघिकी लछमिनियालाई सम्झँदै छन्। जसले गाउँका युवा, जवान, वृद्ध, धनी, यौन चाहना भएका तर व्यक्त गर्न नसक्ने सबैलाई यौन कार्यका लागि सहभागी मिलाइदिन्थी। त्यो पनि कसैले पनि चाल नपाउने गरी। लछमिनिया विरुद्ध पञ्चायतमा परेको उजुरीको समर्थनमा स्कूलका प्रधानाध्यापक उभिए पनि लछमिनिया बिरुध्द कसले निर्णय गर्न सक्ने? यौनका भोकाहरूको निम्ति सेतु बनेकी लछमिनिया सबैकी धरोहर जो थिई।
अचम्मको सुहागरात
यो कथा युवावस्था देखिका प्रेमी कैलशबा र एतबरियाको हो। उमेर नपुगेका र फरक जातका भएकाले कैलशबाको विवाह गरौँ भन्ने प्रस्ताव एतबरियाले ठाडै अस्वीकार गरेकी थिई। पाँच वर्षपछि कैलशबा वीरगञ्जबाट गाउँ जाँदा घरकी भौजीको मुखबाट एतबरियाको त्यसै दिन गौना (विवाहित छोरीलाई माइतीबाट घर पठाउने उत्सव) हुन लागेको खबर उसले पायो। तर कैलशबाले जसरी भएपनि एतबरियालाई भेट्न मन लागेको कुरा भौजीलाई भन्यो। भौजी एतबरियाको घरमा पुगेर खबर सुनाइदिन्छिन्। गौनाको काम बीचमा छोडेर एतबरिया कैलशबालाई भेट्न आई र सुहागरात मनाएर गई।
रौताइन , बा र म
यो कथामा म भन्ने पात्र र उसको बाको यौन मनोविज्ञान बडो रोचक ढङ्गले प्रस्तुत भएको छ। वीररगञ्जबाट हिँडेर चन्द्रनिगाहपुर जाँदा बाटामा पर्ने राउतको चियापसलमा दुईजना रोकिन्छन्। चियापसलमा राउत नभएर रूप र बान्की मिलेकी रौताइन हुन्छे। कुरकुरे बैँस लागेको म पात्र र उसका बा दुवै रौताइनको कामुक शरीर देखेर मन्त्रमुग्ध हुन्छन्। तर यायावर को कामै हिँड्नु हो। चियापसलबाट टाढा भए पनि रौताइनको रूप र लावण्यले बाबु छोरालाई दुवैलाई छोडेन।
===
भाषाः
यौन साहित्यमा भाषाको महत्त्वपूर्ण स्थान हुन्छ। हाम्रो समाज एक्काइसौं शताब्दीमा पनि यौनका बारेमा खुला रूपमा छलफल, वार्ता गर्न सक्दैन। यस्तो अवस्थामा साहित्यकारलाई यौन साहित्य लेख्दा भाषाको सीमा थाहा हुनु पर्छ। कुन श्लील र कुन अश्लिल हो भन्ने कुराको हेक्का रहनु पर्छ। साहित्यकारको लागि यो एउटा चुनौती हो।
सदृश्य पर्दा पढ्दा कथाकार द्वयले भाषाको मर्यादा राखेका छन् भन्ने मेरो मान्यता छ। म मात्रै नभएर साहित्यकार तथा गोरखापत्रका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ भन्छन्, ‘यौनकथा भन्नासाथ भद्दा र अश्लिल विषयको प्राधान्य रहने गरेकोमा ‘अदृश्य पर्दा’ का कथाहरू स्वाभाविक र पूर्ण श्लील छन्।’
सङ्ग्रहित कथाहरू सलल अगाडि बढेका छन्। भाषा बोधगम्य छ। यसै त दर्शनको भाषा सरल हुँदैन। तर खेमराज पोखरेलले आफ्ना कथामा त्यो अनुभव हुन दिँदैन। विश्वराज अधिकारीका कथाहरू सामाजिक परिवेशका भएकाले सरल भाषाका छन्। तराईको मधेशी लवज छ, सुवास छ। यसले भाषा झन् सुन्दर बनेको छ।
पाठकको नजरमा सदृश्य पर्दाः
सदृश्य पर्दा लघुकथा सङ्ग्रह पठनीय मात्रै हैन, सङ्ग्रहनीय पनि छ। नेपाली यौन साहित्यमा यौन दर्शन भनेको के हो ? र यौन मनोविज्ञान भनेको के हो? भनेर उदाहरणसहित कथामार्फत लेखिएको पहिलो साहित्य होला। त्यसैले पनि यो सङ्ग्रहनीय छ।
खेमराजको बिन्दुमा सिन्धु देख्न सक्ने विशिष्ट क्षमता कथाहरूमा प्रविष्ट भएको छ। त्यही भएर होला उनले यौन दर्शनको पाटो समातेको। खेमराजका कथाहरू अमेरिकी परिवेशमा लेखिएका छन्। तर मुख्य पात्रहरू नेपाली नै छन्। यसैले सबै कथामा नेपाल र नेपाली जोडिएका छन्। कथाहरू पढ्दै जाँदा उनी पश्चिमी सभ्यता, जीवन र रहन सहनबाट निकै प्रभावित छन्।
यसो भनिरहँदा एउटा कुरा खट्किन्छ। के खेमराजका कथाहरूले अमेरिकामा बसेका नेपाली समाजको प्रतिनिधित्व गर्छन् ? अमेरिका पुगेको नेपाली समाजमा पहिलो पिँढी अझै टर्चलाइटको सहायताले सिरक भित्र यौन पढ्छ। दोस्रो पिँढीमा केही पश्चिमा सभ्यताको असर परे पनि पचास प्रतिशत नेपाली संस्कार गढेको छ। तेस्रो पिँढीमा मात्र खेमराजले कल्पना गरेका पात्र हुन सक्छन्।
मनोविज्ञानमा विश्वराज खप्पिस छन्। उनका कथाहरूका अन्त्य बन्द भावका छन्। यसको मतलब कथा पढिसकेपछि अब के होला भन्ने चिन्ता गर्नु पर्दैन। तर रौताइना, बा र म कथाकी रौताइनको मनोविज्ञानको छनक कथामा छैन। हुनसक्छ उनी यसको दोस्रो भाग निकाल्ने सोचमा छन्।
अन्त्यमा, यस लघुकथाले नेपाली साहित्यमा एउटा नयाँ आयाम थप्ने छ भन्ने पूर्ण विश्वास गर्छु।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।