चिन्ताको पहाड नाघेर चिन्ताकै समुद्र तरेर, चिन्ताकै खाडलमा पुरिनु पर्ने यो मानव जीवनको अस्तित्व पनि चिन्ताजनक नै छ। चिन्ता ! संसारकै सबैभन्दा ठूलो विषय। चिन्ता बिनाको संसार सोच्न सकिँदैन। सृष्टि आफै चिन्ता ! सृष्टि भएपछि ध्वंस हुन्छ। निर्माणपछि भत्किन्छ। जन्मिएपछि मृत्यु अकाट्य सत्य। चिन्ताकै घेरोमा बाँचेर सकिन्छ जीवन। नानी जन्मिएपछि चिन्ता पनि ऊ सँगसँगै जन्मिन्छ। जन्मिएको नानी रुन्छ कि रुँदैन, हेर्न सक्छ कि सक्दैन, मस्तिष्कको गतिविधि ठिक छ कि छैन, पाचन प्रणालीमा दोष छ कि छैन, हिड्न-बोल्न सक्छ कि सक्दैन, ठूलो हुँदै गएपछि राम्रो पढ्छ कि पढ्दैन, बिग्रेर नासिन्छ कि भन्ने डर ! अनि चिन्ता !
चिन्ताले सन्तुष्टि, अजिङ्गरले बाख्रा निलेझैं निलेको छ। मान्छेले सन्तुष्टि खोजेरै जीवन सक्छन्। चिन्ता जस्तो गम्भीर विषयले मान्छेलाई जहिले तहिले गम्भीर बनाएर छोड्छ। मान्छे सञ्चोले कहाँ बस्न सक्छ र ! बिसञ्चो बनाउँछ चिन्ताले। मान्छेले जन्मिएपछि जीवनमा सँगै ल्याउने अनि कहिले नछोड्ने उपहार नै हो चिन्ता। सामाजिक चिन्ता, आर्थिक चिन्ता, राजनैतिक चिन्ता, अस्तित्वको चिन्ता, जीवन बँचाइको चिन्ता, शिक्षा सम्बन्धी चिन्ता, बेरोजगारको चिन्ता, आफ्नो ठाउँ छोडेर जानुपर्ने चिन्ता, छोरी-चेली तस्कर हुने, बेचिने चिन्ता इत्यादि थुप्रै चिन्तै-चिन्ता लिएर बस्ने लेखक-साहित्यकारहरू चुपो लागेर तमासा हेरिरहँदैनन्। चिन्तित हुँदै भए पनि उनीहरू शब्द-शब्दमा आफ्नो भावना उतार्छन्, चिन्ता पस्किन्छन्।
शीर्षकले नै चिन्ता बोकेको उपन्यास हो “चिन्ता सल्केको पहाड”। एकजना चिर-परिचित साहित्यकार प्रेम प्रधान भारतकै ठूलो पुरस्कारमा पर्ने साहित्य अकादमी पुरस्कारले सम्मानित भइसकेका हुन्। प्रेम प्रधानले साहित्य अकादमी दिल्लीको नेपाली भाषा परामर्श समितिका संयोजकको पद पनि सम्हालिसकेका हुन्। उपन्यास सँगसँगै कथाहरू पनि लेख्नमा खप्पिस प्रेम प्रधान दार्जीलिङ निवासी हुन्। उनले उदासीन रुखहरू उपन्यासको निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त गरेका हुन्। उनको पहिलो प्रकाशित कृति कालो सर्प कथा सङ्ग्रह हो। कथा-उपन्याससँगै बाल साहित्य, मनोग्राफ, समीक्षा, अनुवादतिर पनि निर्धक्क आफ्नो कलम चलाएका छन्।
===
“चिन्ता सल्केको पहाड” उपन्यास बाबा गजेन्द्र (दार्जीलिङ), छोरा अनुराग (दिल्ली, बेङ्गलोर महानगर), छोरा देवराज (दुबई) , छोरी पल्पसा (काठमाण्डौ, अष्ट्रेलिया) वरिपरि घुमेको छ।
गजेन्द्र फौजीमा रहेर देशसेवा गरेपछि अवकाशप्राप्त जीवन दार्जीलिङमा बिताउँछन् पत्नी विष्णुमायासँग। यिनीहरूको ठूलो छोरा अनुराग बिग्रल भइदिएको छ। आमा-बाबादेखि टाढा बसेर सधैं स्वतन्त्र जीवन बिताउने सोंच राख्ने अनुराग सानैदेखि होस्टेलमा बसेर पढेकाे हो। त्यसपछि दिल्ली गएर पढ्ने अनुराग होस्टेलमा अनुशासित जीवन बिताउँदिन भन्ने सोंच राखेर बाहिर भाडा तिरेर फ्ल्याटमा केटीहरू राखेर ढुक्कै लिभ इन रिलेशनशीप-मा बस्ने बानी बसाल्ने अनुराग आजको युवापिढीको प्रतिनिधि पात्र हो। उपन्यासकारले अनुरागलाई यौन-पिपासु युवक बनाएका छन्। जसले नशालु पदार्थ सेवन गर्छ, आजको आधुनिक सभ्य समाजले सानोतिनो पार्टी होस् कि मनोरञ्जन गर्ने बहाना होस्, भेला हुने बहाना होस्, ड्रिङ्क लिने, चलाउने चलन छ। यो अत्याधुनिक सभ्यताभित्र बाँचेको अनुराग आमा-बाबाको हातबाट सम्पूर्ण रुपमा फुस्केको छोरा हो।
हुन त, छोरा होस् यो छोरी यदि आमा-बाबा, घरकाले सानैदेखि टाउकोमा टेकाएर राख्यो भने त्यसले आफ्नो मात्रै सोच्छ अनि आमा-बाबा र परिवारको टाउकोमा टेक्छ निर्धक्क। त्यसलाई आफ्नो स्वतन्त्र जीवन, आफ्नो स्वार्थ छोडेर अरु केही मतलब हुँदैन। आफ्नै आमा-बाबालाई धुरु-धुरु रुवाउँछ, परिवारको मन दुःखाउँछ। सबैले राम्रै ठानेको छोराले एक्कैचोटि यस्तो व्यवहार गर्दा बरू अब यो हामीसित नबसोस्, आफ्नै गरोस्, जे सोच्छ, जे गर्छ खुशी गरोस् भन्ने विचार आउनु स्वाभाविक हो। आफ्नो पीर सर्वोपरि अरुको पीर केही पनि होइन। बाबा-आमाले पढाउनमा खर्च गरेर शिक्षित छोरा त बनाए, तर शिक्षित भएर छोरा घमण्डी भयो। पैसाको घमण्ड हो कि अरू नै के हो। बुझ्न साह्रो छ ती अभागी आमा बाबालाई। टाउकोमा टेकाउन, लपलपी चाट्नु भूल भयो। तर के गर्नु हातबाट फुस्केपछि फुस्कियो।
अनुराग सी.ए. पढेर बेङ्गलोरमा काम पनि गर्छ। दार्जीलिङ पहाडमा शिक्षित बेकारी थुप्रिएका छन्, भने जस्तो काम छैन। सबै बाहिरै जानुपर्ने । तर बाहिर गएपछि सम्पूर्ण रुपमा बाहिरिनु जातिको निम्ति घातक पनि हो। अनुरागसँग विभिन्न समुदायका युवतीहरू लिभ इन रिलेशनमा एउटै फ्ल्याटमा बसे। तर उनीहरू आफ्नो जाति, भाषा, संस्कृति भनेपछि हुरुक्कै हुन्थे, तर अनुराग चिल्लै। अनुरागलाई आफ्नो भाषा-संस्कृतिप्रति मोह छैन। जातिको चिन्ता छैन। चिन्ता सल्केको पहाडमा आमा-बाबासँग बसेर के गर्नु भन्ने विचार पालेको अनुराग बथानबाट छुट्टिएको भेडा भइदिएको छ। आफ्नो समाजदेखि सम्पूर्ण रुपमा टाडिएको छ। बेसी लिभ इन रिलेशनमा केटीहरूसँग मात्र बसेर यौन भोकमा जाँकिएको छ भने यौन तृष्णा मेटाउने बानी लागेको अनुराग आफ्नो नामको अर्थबाट पूर्ण रुपले अनर्थ भइदिएको छ।
अनुरागमा माया-प्रेम भन्ने छिरिक्कै छैन। यूज एण्ड थ्रो गर्ने बानी बसिसकेको अनुरागले कर्म अनुसारको फल पाउँछ। बाबा-आमालाई नकारेर अरुसँगै स्वतन्त्र रुपमा मस्ती गर्दै बस्ने अनुरागले कन्नड जातिकी मन्दाकिनीलाई धोका दिएपछि त्यो केटीले आत्महत्या गर्नु अत्यन्त पीडादायी छ उपन्यासमा। कलियुगमा आफूले गरेको राम्रो कर्मको फल होस् वा नराम्रो कर्मको फल होस् यही युगमै पाइन्छ। त्यसैले सबैलाई राम्रो गर्दै हिड्नुपर्छ, राम्रै राम्रो हुन्छ। नराम्रो गरे पक्का नराम्रो नै हुन्छ। जिवनभरि नराम्रो सोच राखेर स्वतन्त्र जङ्गली प्राणी जस्तै जीवन बिताउने अनुरागले उपहार पनि एड्स जस्तो घातक रोग पाएको छ।
यसरी सन्ध्या, नलिनी, रुपासा, मलिना, मन्दाकिनी अनि श्वेताहरूसँग समयको अन्तरालमा लिभ इन रिलेसनमा बसेको अनुरागले प्रेमको परिभाषालाई गलत तरिकाले हेरेको थियो। अनुरागले थुप्रैलाई यूज एण्ड थ्रो गऱ्यो , तर अन्तमा श्वेताले अनुरागलाई यूज एण्ड थ्रो मात्र गरिन तर निको नहुने रोग दिएर गई। प्राकृतिक परिनियमको कुरा गर्ने उपन्यासकार अनुरागलाई भन्छन् – आफ्नै मात्र इच्छापूर्ति गर्ने, असमझदारी, गैरजिम्मेवारी, कामुक विषवृक्ष अनुरागले पराजित मानसिकता लिएर आफैलाई प्रश्नहरूको प्रहार गरिरहेको छ। एक्लो विसङ्गति जीवन बितायो अनुरागले।
उपन्यासमा भनिएको छ- “अनुरागले आधुनिक सभ्यताले ल्याएको राम्रो विचार अनि सकारात्मक कुराहरू कहिल्यै टिपेन। जान्ने र बुझ्ने पनि कोसिस गरेन।”
अनुराग दिल्ली पढ्न गएपछि सन्ध्यासँगको भेटले उनीहरूको विचार मिल्दा सँगै एउटै फ्ल्याटमा लिभ इन रिलेशनमा बस्छन्। पुरानो सोच र संस्कारदेखि टाढिएर तिनीहरू यसरी निसङ्कोचताका साथ लिभ इन रिलेशनमा साथी भएर बस्न रुचाए।
उपन्यासकार भन्छन्- “दुवै युवा अनि युवतीहरू यौवनको पराकाष्ठामा पुगेकाले समयसमयमा अनियन्त्रित भएर नदीको उग्र प्रवाहमा बगेर समागम हुन्थे। यसलाई उनीहरू अनैतिक मान्दैनन्। बाहिर बसेर जे जस्तो गरे पनि आफ्नो घर-परिवार, जातिप्रति समर्पित छिन् सन्ध्या, तर त्यसको विपरीत छ अनुराग।”
सन्ध्या भन्छे – “आफ्नो भाषा, साहित्य,संस्कृति, कला, सङ्गीत अनि संस्कारलाई म प्रेम गर्छु। यसैले आफ्नो जातिको अस्तित्व र चिनारी बोकेको हुन्छ। हामी यता परदेशमा घरबाट जतिकै टाढा रहेर स्वतन्त्र जीवन बिताए तापनि घरमा त्यस्तो परिवेश हुँदैन…।”
अर्की युवती रुपासाले पनि त्यस्तै कुरा दोहोराउँछे – “अनुराग ! हामी जति नै सम्पन्नतामा बाँचे तापनि, जति नै सभ्यताको उँचाइमा पुगे तापनि हामीले आफ्नोपन कहिले पनि भुल्नु हुँदैन। आफ्नो भाषा, साहित्य, संस्कार अनि संस्कृति भनेको नै हाम्रो जातीय चिन्हारी र अस्तित्वको श्रीपेच हो।”
अनुराग मार्फत उपन्यासकारले सिङ्गो जातिलाई नै व्यङ्ग्य कसेका छन् सन्ध्यद्वारा – “होइन अनुराग ! तिमीले यो देशमा आफ्नो चिन्हारी र परिचय कसरी दिन सक्छौ ? तिमी आफैले आफ्नो बारे भन्न सकेका छैनौ भने अब तिम्रो अनुहारले के परिचय दिन सक्छ? तिमी त यस भीडमा हराएर जानेछौ अनि आफ्नो अनुहार पनि चिन्न नसक्ने स्थितिमा हुनेछौ।”
जाति, भाषा, संस्कृतिप्रति चिन्तित देखिन्छन् उपन्यासकार – “कुनै पनि जाति बाँच्नलाई आफ्नो भाषा, साहित्य चाहिन्छ। भाषा, साहित्य, संस्कृति लोप भए जातिको अस्तित्व नै रहँदैन।”
उपन्यासमा नारीवादी विचार पनि देख्न पाइन्छ – “नारीहरू आफ्नै इच्छाले स्वतन्त्र जीवन लिएर बाँच्नुपर्छ, कसैको नियन्त्रणमा रहनुहुँदैन।” पुरुषसत्ताको हैकमवादको विरोधमा रहेकी सन्ध्याले पुरुष र स्त्रीको सहमतिमा जे पनि गर्न सकिन्छ भन्ने सोच राखेकी थिई।
सन्ध्यासँगको विछोडपछि नलिनीसँगको भेट अनि फेरि अनुरागको उही क्रियाकलाप। मलयालम भाषा अनि साहित्यलाई माया गर्छिन् नलिनी। अनुरागलाई आफ्नो भाषा ज्ञान, इतिहास केही थाहा छैन। कुरैकुरामा महाराष्ट्रकी नलिनीले अनुरागलाई भन्छिन्- “अनुराग। तिमीहरूको भाषाले संवैधानिक मान्यता प्राप्त गरेपछि के के उपलब्धि हुनसकेको छ ? तिमीहरू आफ्नो वासभूमिका निमित्त किन आन्दोलन गरिरहेका छौ ? यस देशमा तिमीहरूको के इतिहास छ ?”
अनुराग केही भन्न सक्दैन। निश्चित रुपमा आज पनि हामी आफ्नो ठाउँ छोडेर भारतकै विभिन्न राज्यमा जाँदा अनि हामी नेपाली भाषा बोलेको सुन्दा, हाम्रो नेपाली अनुहार देख्दा नेपालकै भनेर विदेशी भन्ने गुनासो छ। दार्जीलिङको अनुरागले भन्न नसकेको कुरा मेघालय राज्यका शिलाङ निवासी शौर्य विक्रम थापाले हामी नेपाली भाषी गोर्खा भनेर वास्तविकता बताएका छन्।
देशप्रति समर्पित भएर अवकाशप्राप्त जीवन बिताइरहेको गजेन्द्रको जेठा छोरा अनुराग आफ्नो हुनै सकेन। तर अर्को छोरा देवराज थुप्रै नपढे पनि ऊ अत्यन्त बुझकी छ। के गर्नु र आफ्नो पहाड, आफ्नो निम्ति हुनै सकेन। आफ्नो निम्ति बेरोजगारको समस्या मेटाउनै नसक्ने भएपछि जीवन धान्न अर्थ कमाउन विदेश जानै पर्ने स्थिति भयो। देवराज दुबई उड्यो। उतै खटेर काम गर्न थाल्यो। आमा-बाबालाई याद गरिरह्यो। बालुवैबालुवा भएको खाडी देशमा मेहनत र सङ्घर्ष गर्दै निधारबाट पसिना चुहाउँदै काम गर्ने हाम्रैहरू हुन्छन्। त्यसभीडमा देवराज पनि छ। शारजाँ, दुबई, आबुधावीका महलतिर सेक्युरिटी गार्ड, सेल्समेन आदि अस्थायी काम गर्दै जीवनरथ हाँक्नु थियो।
साँच्चै, नेपाली मूलका नेपालका नेपाली, भारतका नेपाली भाषी गोर्खा, बर्मा र भूटानका नेपालीहरू नपुगेको ठाउँ कहीँ छैन। आफ्नो ठाउँबाट पलायन भएर काम र मामको निम्ति विदेशिनु परेको युवापिढीको बाध्यता छ उपन्यासमा। हिजाेआज शिक्षित भएपछि समाजमुखी नभएर समाजदेखि पलायन हुनेहरू धेरै छन्, परिवारदेखि अलग्गिनेहरू थुप्रै छन्। पश्चिमे संस्कृतिमा हिजाेआज व्यक्तिवादी स्वतन्त्रता रहेको हुन्छ। छोराछोरीहरू वयस्क भएपछि तिनीहरू आफैआफ स्वतन्त्र खोज्दै व्यक्तिवादी जीवन बिताउने गर्छन्।
उनीहरूको एउटी बहिनी पल्पसा। पल्पसा पनि कलेज पढिसकेपछि साथीहरूसित काठमाण्डौँ गएर काम गर्न चाहन्छे। स्वतन्त्र पंक्षी झैँ जीवन बिताउने उसको रहर। पल्पसा एउटी आदर्श छोरी। आधुनिक समाजमा हुर्किने, स्वतन्त्र जीवन रोज्ने शिक्षित युवती। उन्मुक्त भएर अकाशिन चाहने पल्पसा अरु नारी जस्तो छैन। आधुनिक सभ्यतालाई अँगालेर मस्त जीवन जिउने इच्छा उसको, तर ऊ काठमाण्डौको एउटा निजी विद्यालयमा प्रिन्सीपल भएर विद्यालयको प्रगतिमा महत्वपूर्ण योगदान दिने पल्पसा र योगेन्द्रको परिचय हुनु, प्रेम हुनु, सँगै बसेर ड्रिङ्क गर्नु अनि अष्ट्रेलिया गएर लिभ इन रिलेशनमा बसेका छन्। अत्याधुनिक भएर बसेपनि पल्पसाले शारीरिक इज्जत बचाएकी छ। आफ्नो सीमामा बसेरै मस्ती गर्ने यी पल्पसाहरू जस्तै जिन्दगी रोज्नेहरू धेरै नै कम्ती हुन्छन् आजको समयमा। सबै स्वतन्त्र भएर उड्न चाहन्छन्। आफू खुशी जीवन बिताउने पल्पसाले अन्ततः योगेन्द्रसित बिहे गर्छिन्। लिभ इन रिलेशनमा बस्ने एउटा कल्चर दर्शाइएको छ उपन्यासभरि।
उपन्यासमा गजेन्द्र र विष्णुमाया बुढेसकालमा एक्लो हुन्छन्। उपन्यासकारले गजेन्द्र र विष्णुमायाको बुढेसकालको साहारा पूजाको पदार्पण गराएर पाठकलाई ढुक्क बनाएका छन्। विष्णुमाया र गजेन्द्रको हेरचाह गर्नमा पूजाले आफूलाई पूर्णरुपमा समर्पित गरेकी छ। सानै उमेरमा बिहे गरेपछि पूजाको वैवाहिक जीवन सुखमय भएन, लोग्ने मत्थु भएपछि उसलाई छोडेर हिँडेकी पूजाले विष्णुमायाको साहारा पाएकी छ। एकार्काको साहाराले जीवन काट्न सहज भइदिएको छ।
अभाग्यवश विष्णुमायाको मृत्युपछि गजेन्द्र एक्लिएको छ। छोरा अनुराग, देवराज, छोरी पल्पसा आमाको काम सकेपछि आ-आफ्नो कर्मस्थल फर्किएका छन्। अनुरागको अनुराग छैन बाबाप्रति। देवराज आफ्नो ठाउँ छोडेर बाहिरिनु बाध्य छ। फलस्वरुप पूजा नै गजेन्द्रको साहारा भइदिएकी छ। बाबा मानेर बसेकी पूजाले गजेन्द्रको हेरचाह गर्छे छोरीजस्तै भएर।पूजालाई न्याय दिन गजेन्द्रले देवराजलाई बिहेको प्रस्ताव अप्रत्यक्ष रुपमा राखेका छन्। पूजाप्रति देवराजको आकर्षण छ। देवराजप्रति पनि पूजाको झुकाउ छ। उपन्यासको अन्तमा गजेन्द्र छोरी-ज्वाईं भइसकेको पल्पसा र योगेन्द्रकोमा अष्ट्रेलिया जान्छन् अनि देवराजले पनि पूजालाई बिहे गर्छ।
साँच्चै छोरा-छोरी पढेपछि बढेपछि आ-आफ्नो दिशातिर लाग्छन्। अन्तमा बुढाे भएको आमा-बाबा एक्लो पर्छन्। बुढेसकालमा जीवन बाँच्न साह्रो पर्छ। विष्णुमाया र गजेन्द्रको जीवन पनि तेस्तै छ।
उपन्यासको एकांश – “ हो नि ! अहिले वर्तमानमा हामी दुईजना मात्र यहाँ छौँ। छोराछोरीहरू सबै पखेटा लागेर बाहिर गए। यस्तो वृद्धवृद्धा अवस्थामा पनि हामी मात्र एक्लो भएर सङ्घर्ष गर्दै जीवन बिताउनु पनि एउटा विडम्बना नै हो। शायद हाम्रो कर्ममा नै यस्तो होला। तर हामीले मात्र यस्तो स्थिति भोगेका छैनौँ। संसारैभरिका वृद्धवृद्धाहरूले यस्तो स्थिति भोगिरहेका छन्। हिजोआजका छोराछोरीहरू सबै नै छिचिमिरा हुन्। कोही काम र मामका निम्ति घरबाहिर जान्छन्, बिहे गरेपछि कोही छोरालाई बुहारीले तानेर त्यतै लान्छन्। छोरीहरू ज्वाईंसँग जान्छन्। हाम्रो भाग्य पनि त्यस्तै रहेछ।”
उपन्यासकार जीवनवादी बन्दै जीवनको परिभाषा दिन्छन् – “जीवन हाम्रो बग्ने खोला। हामी सुकेको पहेँलो पात। बगेर जान्छौँ अनिश्चित दिशातिर।”
===
सामाजिक यथार्थवादी उपन्यास “चिन्ता सल्केको पहाड”मा यौन मनोविज्ञान पनि भेटिन्छ। चेतन र अर्धचेतन मनको विश्लेषण पाइन्छ। उपन्यासमा दार्जीलिङको राजनैतिक अस्थिरता, सामाजिक विसङ्गति, परिवार विघटन, युवा जमातको अत्याधुनिक परिवेशले सजेको यस उपन्यासमा उपन्यासकारले पाठकलाई दार्जीलिङ, जोमसोम, मुक्तिनाथ मन्दिरदेखि लिएर दुबई, अष्ट्रेलिया, मेलबर्न इत्यादि डुलाएका छन्।
उपन्यासकार आफ्नो जातिप्रति अत्यन्त चिन्तित देखिन्छन्। हामी टुक्रिएर होइन जोडिएर बस्नुपर्छ। जात-जातमा टुक्राएर जातिको अस्तित्व लोप हुने दिशामा गइरहेको छ। दशैं-तिहार हाम्रो महत्त्वपूर्ण चाड।
उपन्यासकार भन्छन्- हिजाेआज हाम्रै जातिमा विभिन्न जातकाहरूले दशैंतिहार हाम्रो सांस्कृतिक चाड होइन भनेर वहिष्कार गर्न थालेका छन्। आफ्ना पूर्वजहरूले मान्दै आएको रीतिथिती र संस्कारको विरोध गरेर एउटा सिङ्गो जातिलाई टुक्राउने काम गरिरहेका छन्। तर यस किसिमको सोचाइमा केवल सङ्कीर्णता झल्किन्छ। हामीले मान्दै आइरहेको रीतिथिती, परम्परा, संस्कृति अनि संस्कारहरूले नै त एउटा सिङ्गो गोर्खा जातिका रुपमा परिचय दिएको छ। सबै जातले आफ्नै प्रकारले, आफ्नै संस्कार र परम्पराअनुसार जातीय चाड मनाउँदा हाम्रो जातीय संस्कृति अझ झ्याँगिएर जानेछ अनि हामीलाई कुनै शक्तिले पनि फुटाउन सक्तैन। तर अलिकता लोभ, लालच, उपलब्धि र स्वार्थको भावनाले मात्र हेर्नु हो भने हामी अझ फुट्नेछौँ अनि फुटेर दुश्मनहरूलाई हँसाइरहेका हुनेछौँ। गोर्खा जाति एउटा फूलबारी हो जहाँ सबै जातका फूलहरू एकै ठाउँमा फुलिरहेका छन्। हामी जति फुट्छौँ त्यति नै कमजोर अनि शिथिल भएर जान्छौँ। तर सबै एक भयौँ भने हामीले संसारै जित्न सक्छौँ…आज हामी फुटेकाले हेपिएका छौँ अनि सबैबाट किनारीकृति पनि हुँदै गइरहेका छौं। वीरेन्द्रले आफ्नो मनको कुरा पोख्छन्।
उपन्यासमा दार्जीलिङ पहाडको वास्तविक यथार्थ चित्रण छर्लङ्ग उतारिएको छ। शिक्षित बेकारी भएपछि काम गर्न आफ्नो ठाउँमा पाइएको छैन। शिक्षित देवराजहरूको आकाशमा कहिल्यै न्यानो घाम लाग्न सकेको छैन। स्वतन्त्र हुनअघि अङ्ग्रेज शासकले विभाजन गर शासन चलाऊ ( डिभाइड एण्ड रूल) भन्ने जुन नीति चलाएको थियो त्यही नीति आज स्वतन्त्रतापछि पनि हामीमाथि चलाइएको छ। समाज सचेतक देखिन्छन् उपन्यासकार। राजनैतीक व्यङ्ग्य कस्छन् उपन्यासमा।
उपन्यासकारले सन् १९८६-८८ को गोर्खाल्याण्डको हिंस्रक आन्दोलनलाई सङ्केत गरेका छन्। गोर्खाजाति वीर तर बुद्धु। आफू-आफैमा विश्वास छैन अरुलाई विश्वास गरिन्छ केही नसोची। उपन्यासकार आफ्नो जातिको अस्तित्वप्रति चिन्तित् देखिन्छन्, उनी भन्छन् – “वर्तमानमा शासकहरूले हामीमाथि गरेको अत्याचार र दमनले पीडाबाहेक के पो दिएको छ र! हाम्रो जातीय अस्मिता र सपनाको आकाशलाई भत्काउने, तहसनहस पारेर मानसिक रुपमा सताउने नीति अति दर्दनाक भएको छ। हामीलाई नै फुटाएर केही सहुलियत, कुर्सी र पैसा दिएर शासकहरूकै खेताला बनाइरहेका छन्। हामी भने आफैआफ फुटेर र जुझेर, आफ्नो आकाङ्क्षालाई भुलेका छौँ। हामी आफै फुटेका छौँ आफ्नो स्वार्थका निम्ति। हामी गृहयुद्धमा होमिएका छौँ अरुको स्वार्थका निम्ति। आफ्नै दाजुभाइ, दिदीबहिनीहरूलाई पक्राउने, तिनीहरूको घरबार तहसनहस गर्ने, घर कुर्की गर्ने, जलाउनेजस्तो घृणित काममा शासकहरूलाई सहयोग गरिरहेका छौँ ।”
उपन्यासकार जातिसँगै भाषाप्रति पनि चिन्तित् छन् । आफ्नो मातृभाषालाई लत्याउनु भनेको आफ्नै आमालाई लत्याउनु हो। अङ्ग्रेजी-अङ्ग्रेजी भनेर मर्ने हाम्राहरू आईएएस, आईपीएसजस्ता परीक्षामा बस्ने आँटसम्म गर्दैनन्। उपन्यासको अंश- “अङ्ग्रेजी स्कूल पढ्ने हाम्राहरू न त इञ्जिनियर बन्न सके न त डाक्टर नै। आईएएस अनि आईपीएस जस्ता परीक्षाहरू बस्ने पनि आँट गर्दैनन् तिनीहरू। फेरि संविधानले स्वीकृत गरेको एउटा भाषा अनिवार्य छ। हाम्राहरूले आफ्नो मातृभाषा लिने आँट गर्दैनन्।”
पढेको शिक्षित छोरा-छोरी आफ्नो ठाउँप्रति गुनासो गर्छन् – “आमा ! यस पहाडमा केही छैन। यहाँ हाम्रो भविष्य छैन। यहाँ कहिले पनि घामको उज्यालो किरण फैलिएन। चारैतिर केवल अन्धकारै अन्धकार छ। यस्तो घाम नदेखिने आकाशमा हामी जहिले पनि अवहेलित छौँ। प्रताडित छौँ। पल्पसाले मनको बोझ बिसाउँदै भनी ।”
जातीयतावादी बन्दै उपन्यासकार भन्छन्- “एउटा प्रजातान्त्रिक देशमा नागरिकहरूको संवैधानिक हकहरू खोसिएको छ। संवैधानिक आवाजलाई क्रुरताका बुटहरूले कुल्चिएको छ। पहाड कदापि हाँसेको छैन। कञ्चनजङ्घा कहिल्यै हाँसेको छैन। तर सम्पूर्ण पहाड अनि कञ्चनजङ्घा रोइरहेको छ ।”
हाम्रो अस्तित्वकै कुरा गर्नु हो भने भारत स्वतन्त्रतापूर्व दार्जीलिङ निर्माण गर्ने बिट्रिशलाई सघाउने हाम्रै पुर्खा थिए भन्ने कुराको उल्लेख पाइन्छ उपन्यासमा।
उपन्यासको अन्ततिर बाबा गजेन्द्र र देवराजको कुराकानीमा गोर्खाल्याण्डको आन्दोलन सफल हुनेथियो होला तर षडयन्त्रकारीहरूले अनि बिक्री हुने नेताले गर्दा हामीले तिनीहरूले गरेको पाप भोगिरहेका छौँ भन्छन् – “हो देवराज ! हाम्रो एकतालाई तोड्ने षड्यन्त्रमा शासक सफल भएको छ। हामीलाई जातजातमा फुटाएको छ। अलिकता सहुलियत र कुर्सीका निम्ति हाम्राहरूले जातिलाई नै छुरा हानेको छ।”
सन् २०१७ मा चर्किएको गोर्खाल्याण्ड आन्दोलनमा बन्द भएको कुरा पनि उल्लेख छ उपन्यासमा। उपन्यासकार प्रेम प्रधानले पुस्तकको समर्पण – यो पुस्तक सन् २०१७ सालमा पहाडमा भएको भाषा अनि अस्मिताको लडाइँमा शहीद हुने आन्दोलनकारीहरूलाई समर्पित छ साथै दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दछु। – यसरी गरेका छन्।
उपन्यासकार आशावादी बन्दै भन्छन् – “यो घाम नदेखिने अँध्यारो ठाउँमा पनि एकदिन घाम लाग्ला।”
नारी तस्करीप्रति चिन्तित उपन्यासकार भन्छन् – “गरीब परिवारमा जन्मेका नारीहरू घरबाहिर गएर पैसा कमाउने र परिवारलाई आर्थिक सहयोग गर्ने सोचमा रहेका हुन्छन्। यस्तै सोच रहेका नारीहरू तस्करीहरूको शिकार बन्छन् । तिनीहरू वेश्यालयमा बिक्री भएपछि अनैतिक काम गर्न लगाइन्छ। अनपढ नारीहरूमात्र होइन पढेका नारीहरू पनि यस्तो जञ्जालमा फस्ने गर्छन्।”
नारी तस्करी रोक्न इन्द्रकलाको एनजीओ-ले गरिरहेको काम-कुराहरू सुन्न पाउँछे पल्पसा काठमाण्डौ यात्रामा।
उपन्यासमा इन्द्रकला भन्छिन्- “नारीहरूको तस्करीका निम्ति पुरुषहरू मात्र दोषी छैनन् तर त्यस घृणित कार्यका निम्ति कति नारीहरू पनि संलग्न छन्। सबैसबै त स्वार्थको गाड़ीमा गुड़िरहेका छन्।”
आधुनिक तकनिकी विकासलाई सबैले मानेरै चल्नुपर्ने हुन्छ। फोन नम्बर, वाट्सएप नम्बर र इ-मेल एड्रेस हिजआज आफ्नो नामभन्दा पनि महत्वपूर्ण भइदिएको छ। जानिएन भने पछि परिन्छ, धेरै पछि।
उपन्यासकार भन्छन् – “आज एलेक्ट्रोनिक मिडियाले ल्याएको आधुनिक उपकरणको उपभोग सबै धनी, मध्यमवर्गी एवम् साधारण गरीब जनता पनि गरिरहेका छन्। अब पोष्ट अफिसमा गएर डाकबाट पत्र, टेलिग्राम, पोस्ट कार्ड, अन्तरदेशीय पत्र पठाउने आदि आउटडेटेड इतिहास भएको छ। घरमै बसीबसी ल्यापटप, कम्प्यूटर, मोबाइलको माध्यमद्वारा व्यापार गर्ने। व्याङ्कको कारोबार गर्ने, लेनदेन गर्ने, शेयरको व्यापार गर्ने। मनी ट्रान्सफर गर्ने, टाढाकाहरूसँग ई-मेल, ट्वीट, मेसेञ्जर, इमो, वाट्सएप, भाइबर, स्काइप आदिद्वारा सम्पर्क गर्ने त साधारण कुरा भएको छ। आज घर बसीबसी रेलको टिकट, हावाजहाजको इ-टिकट, होटल बुकिङ, किनमेल आदि गर्न सकिन्छ। आज समय कहाँदेखि कहाँ पुगिसकेको छ। संसारको कुनै पनि ठाउँमा भएको व्यक्तिसँग सम्पर्क गर्न सकिन्छ।”
जाति, भाषा, संस्कृतिप्रति चिन्तित् उपन्यासकार गोर्खे खानपानको उल्लेख गर्छन् उपन्यासमा। उपन्यासको अंश- हाम्रो जातिले खाने भात, सेलरोटी, गुन्द्रुकका थरीथरीका अचार, सलाद, खल्पीको अचार, किनेमा, ताँबा, सिलाम, टिम्बुर, चिम्फिङ, पिसेको गोलभेँडाको अचार, ऐला, नेवारी खानाका परिकारहरू, छोयला, भटमास, पक्कु, मासु, कचेला, समयबजी आदि। सुकेको माछा, आलु र मटर मिसाइएको अचार, मोमोचा, चाउमिन डल्ले खोर्सानी, दार्जीलिङे मोमो आदि उल्लेख पाइन्छ। उपन्यासकार स्वयं नेवार (प्रधान) भएकाले उनले आफ्नो जातको पकवान पनि सजिलै पस्किएका छन्।
निष्कर्षमा भन्नुपर्दा चिन्ता सल्केको पहाड़ उपन्यासले सिङ्गो भारतमा बसोवासो गर्ने गोर्खा जातिको चिन्ता लिएको छ। आफ्नो चिन्हारी, अस्तित्व, अस्मिताको कुरासँगै आफ्नो आमा भाषा, धनी संस्कृतिको जगेरा गर्नुपर्ने कुराको चिन्ता देखिन्छ। पहाडमा पढेका विद्वानहरू थुप्रै छन् तर पढेका विद्वान बाहिरै गएर भोको पेटको दन्दनी आगोलाई निभाउने कोशिशमै छन्। बाँच्नको निम्ति गाँस जति खाँचो छ त्यतिकै खाँचो वासको पनि हुनुजान्छ। हाम्रो त समस्यै-समस्यै छ। बेकारी समस्याको चिन्ताले युवाहरू पिरोल्लिरहेका छन्। डल्लै पहाडको चिन्तालाई आत्मसात् गरेर उपन्यास सकेका छन्।
सरल र सहज भाषामा लेखिएको चिन्ता सल्केको पहाड उपन्यासलाई एउटा यथार्थवादी उपन्यास मान्न सकिन्छ। आँखा अघाडि भएको, देखेको घटनालाई सुन्दर ढङ्गले प्रस्तुत गर्ने उपन्यासकार प्रेम प्रधानको उपन्यासमा आञ्चलिकताको पनि छाप परेको छ। अघिल्लो चरणको उपन्यास र कथाहरूभन्दा केही भिन्न यस उपन्यासमा उपन्यासकार आफ्नो जातिको अस्तित्वप्रति चिन्तित देखिन्छन्। यौन मनोविज्ञानलाई पूर्णरुपमा नअँगाले पनि यौनमनोविज्ञानको छाया मज्जाले परेको छ उपन्यास “चिन्ता सल्केको पहाड”मा।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।