प्रकृतिको सँगैसँगै सङ्गीतको धुन हुन्छ आफूतिर सधैँ मन तान्ने । यही धुनमा जीवनको सुख यहीँ मिल्ने गर्छ, रम्न सके हृदयको भित्रभित्र यो धुन बसेको हुन्छ । प्रकृतितिर मान्छेको झुकाव यसैले पनि रहेको छ कि मुख्यतः ऊ यही प्रकृतिको अंशानुगत पिण्ड हो । प्रकृति अध्ययनमा मान्छे यसैले पनि उद्यत रहन्छ कि उसको स्वत्व अंश त्यसमा कति बसेको छ, कति लुकेको छ र कति छरपष्ट छ । यो लेखाजोखाले मानिस आफू आध्यात्मिकतामा पौडी खेल्न थाल्दछ । दार्शनिकताको मुहानमा डुबुल्की मारेर ताजापनमा रमाउँदछ अनि उन्मुक्तिको उडान भरेर स्वतन्त्रताको ब्रह्माण्डमा परिक्रमा गर्न पुग्दछ ।
यही प्रकृतिको गुणमा लयात्मक अनुराग राखेर यसपल्ट आफ्नो कृतिको नाम नै जुराएका छन् ठाकुर शर्माले– “प्रकृतिमा मान्छे” शीर्षक दिँदै । यस सातौँ पुस्तककार पदार्पणअगाडि उनका २०५२ सालदेखि ६ वटाको छैँठी गरिसकेका देखिन्छन् । गोनिष्क्रमणस्थलको महिमा अनुवादबाट आफूलाई डोर्याएका ठूलोबाबू भन्ने ठाकुर शर्मा भण्डारीले २०५५ वैशाखमा ‘अन्तर्ध्वनि’ कवितासङ्ग्रहद्वारा आफ्नै मौलिक सिर्जना पस्केका देखिन्छन् । यसैलाई निरन्तरता दिँदै २०५९मा ‘आस्थाका पाइला’ कवितासङ्ग्रह, २०६० को अन्त्यतिर ‘उपासना’ अनि त्यसपछि ‘वसन्तानन्द’ चम्पूकाव्य, २०६५ मा आफ्नो सिर्जनधार बहाएको देखिन्छ । यसअघि २०६३ मा सहलेखनका बान्की पस्कँदै ‘तीतामीठा कुरा’ र ‘अनिवार्य नेपाली’ (आई.ए. र सोसरहका पाठ्यक्रममा आधारित)जस्ता किताबहरू प्रकाशित गरी आफ्नो क्षमता प्रदर्शन गरिसकेकै देखिन्छ ।
गुल्मीको मनोरम वातावरणमा हुर्की–बढी प्रगतिटोल, धुम्बाराही बसोबास गर्दै आएका ठाकुर शर्मा नेपाल राष्ट्र बैङ्कदेखि प्राध्यापन पेशा पनि भ्याउँदै समयलाई खेलाउँदै रहने व्यक्तित्व हुन् । समयले आफूलाई खेल्न नदिनमा उनको सचेतनताका परिणामस्वरूप नै मौका पाउनासाथ सिर्जनामा रमाउन थालिहाल्ने बानी बसिसकेको देखिन्छ । यही बानीले उनी सम्पादनको सोपानमा समेत टक्टकी चढ्दै पनि छन् । यसपल्ट भने मुक्तक सँगालोलाई उछालेका छन् पाठकसमक्ष उनले । यस छालको उछालले कतिलाई भिजाउन सक्यो, त्यो हेर्न टक्टकीकै प्रयासमा यो लेखनी बढ्न खोज्दै छ पनि ।
समयको यस छेउको माग नै छोटो–मीठोमा जीवनाधार आजको साहित्य–संसार बनिदिएको परिप्रेक्ष्यमा काव्य जगतमा मुक्तकका साथै तान्का, हाइकू, लघुकथा र मात्र दुई हरफका निबन्ध आदि हाँक स्वीकारमा होमिएको साहित्य जगतमा आफ्नो खुबी देखाउन तँछाडमछाडको पङ्क्तिमा शर्माजी पनि भित्रिएका छन् मुक्तकद्वारा ।
मुक्तक अर्थात् आबद्धताहरूबाट अलग्गिएर प्रतिबद्घ ताको मुठी विस्तारै खोलेर हृदय हत्केलाको स्वरूप देखाउने कला भन्न सकिन्छ मुक्तकलाई । शब्दको चिरिच्याँट टिमिक्क पारेर बेहुलीझैँ सिँगारिएको अवयव हो मुक्तक अथवा शब्दको धारिलो काव्यात्मक साँधद्वारा मुटुलाई चसक्क चस्काउने हो मुक्तक । थोरैमा धेरै उपमामेय भेद्य काव्यात्मक कलाको सशक्त प्रस्तुति यसले प्रस्तुत गर्दछ भन्दैमा अङ्ग पुगेको बाह्य आकृतिमा यसले आफ्नो स्वरूपको पहिचान गराउँदैन । मर्म छुने, हृदय तान्ने क्षमता नै यसको सही पहिचान हो ।
आजको प्रतिस्पर्धात्मक हूलचालमा साहित्यिक आस्वादनमा अभ्यस्त मान्छे छ । यही बाध्यता एवम् आवश्यकताले सम्पूर्ण साहित्यिक माध्यमहरू कसिलो, छाँटिलो र सारतत्त्वपूर्ण रहनु समयको माग भएको छ । यस मागको आपूर्तिको हाँक स्वीकार्नु स्रष्टाको पुरुषार्थ पनि रहन पुगेको छ ।
हुन त नेपाली साहित्यमा मुक्तक छनक दिने प्रयोग मोतीराम भट्टदेखि नै सुरु भएको देखिन्छ तर पनि सामूहिक माग र धारणमा चाहिँ भीमदर्शन रोक्काबाट आरम्भ भई कृष्णप्रसाद पराजुली, भूपी शेरचन, रत्नशमशेर थापा, वासु शशी, यादव खरेल, अशेष मल्ल आदिबाट यसको परिचय क्षमता उजागर हुँदै आएको मानिएको छ । आज यसको प्रयास गजलझैँ व्यङ्ग्यात्मक धारमा पनि त्यत्तिकै सशक्त स्वरूपले हुन थालेको पाइन्छ । मुक्तकको यस यात्राक्रममा प्रकृतिमा मान्छेको स्वरूप उजागर गर्न मुक्तकीय धारलाई साथमा लिएर ठाकुर शर्मा कहाँ पुगेका छन् त ?
“प्रकृतिमा मान्छे”मा बृहत् उत्तर निस्कने गर्दछन् । खोलो तर्यो, लौरो बिस्याे, शेषको अवशेषले मान्छे झन्–झन् असन्तुष्ट बन्दै गइरहेका छन् । अशान्तले मन मथिङ्गल बढ्दो छ किन ? यसैको उत्तर समाधानको पहुँचसम्म पुर्याउने उद्यत देखापर्दछन् । “प्रकृतिमा मान्छे”का स्रष्टा ठाकुर शर्मा । प्रकृतिलाई जित्न लालायित पुरुषार्थले जतिसुकै पौँठेजोरी खोजे पनि मानिसको मुढेबलमा सीमित रहने गर्दछन्, किन ? यसको उत्तर दिन खोजिरहेका लाग्छन् शर्माजी यहाँ । यहाँ प्रकृतिलाई चिनेर पनि त्यससँग इमानदारीपूर्वक सङ्गत गर्न नसक्दा समस्यै समस्याको जालोमा अल्झिरहेका उन्मुक्तिका मार्ग राम्रो मको संस्कार बोकेका मान्छेका संस्कारलाई औँला ठड्याउँदै यहीँ उनी यसरी बगेका छन्ः
कस्ता हुन्छन् मान्छेहरू खुट्टा तानी बाँच्ने गर्छन्
अँध्यारोमै पाइला चाल्दा खाल्टोभित्र पस्ने गर्छन्
सङ्कीर्णको घेरा भाँच्ने जीवन सधैँ मुस्काउँछ
आर्दश नै गुमाउँदा आफैँ तल झर्ने गर्छन् ।
प्रकृतिमा हुर्केबढेको मान्छे अरूअरूबाट होइन, आपसमै हुर्मत लिने क्षणिक आनन्दमा रमाएर खाल्टोतिर आफैँ पसिरहेछन् । प्रकृतिको प्रवृत्ति बुझ्नभन्दा मदमा मात्तिएर अधोगतितर्फ आफैँलाई पुर्याइरहेछन् । यसको हेक्का रहोस् भन्ने भावना ओराल्दै समस्यापूर्तिको स्वरूपमा आफ्नो चिन्तन यसरी ओरालेका छन्ः
नम्रताको पीयूषले तन भिजे कति राम्रो
सुधासरि वचनले जीवन बने कति राम्रो
समताको फूल रोपे जीवन नै मुस्कुराउँथ्यो
हाँस्ने रुने जीवनमा मुस्कुराउँदा कति राम्रो ।
प्रकृति संवेदनशील छ । ऊ आफ्नो ठाउँमा सन्तुलनको सौहार्द्रताको सन्देश छरिरहन्छ र यही प्रकृतांशका मान्छे एक–अर्कोमा परपीडनमा आफ्नो पुरुषार्थ देख्छ, भौतिकताका अन्धा धृतराष्ट्र–गान्धारी स्वभावका मान्छेमा बाउन्न घुस्सा त्रिपन्न ठम्क्कर खाएर पनि अहमकाे जालोबाट मुक्त हुन सकेका छैनन् । समष्टिस्वरूपमा भूमण्डलीय तापीकरण विकिरण आदिबाट समयमै चेत्नुको अपेक्षा शक्तिको मदमा मात्तिएर हरितगृहको भण्डारण मात्र होइन, सत्ता र सिद्धान्तकाे थोत्रो दावानलमा होलिका बन्दा छन् र मानवीय सद्भावना संवेदनबाट विलग भई दानवीय दुर्गण आफूमाथि थोपर्दै भस्मासुरको रागात्मक अनुरागमा अन्धतापूर्वक जकडिरहेका छन् र पाषणसरी कठोर भई अशान्ति, अतृप्तिको घेरामा आफैँलाई वेष्टित पार्दछन् । यस अवस्थाले पनि प्रकृति–प्रेममा आबद्घ उनको मानवीय अकिञ्चन आग्रह समता सुवचनद्वारा जीवन निर्मल धारणामा बहाउन आग्रह गर्दछ ।
अवलोकन स्रष्टाको तृष्णताकै परिणति नै हो कि सन्तुलनको आग्रह निरन्तर रापमा प्रवाहित रहेको छ । वसुधैव कुटुम्बकमकाे नारीशक्ति उनमा निरन्तरावस्थामा छ । यसैले आग्रहमाथि आग्रह विशुद्ध मानवीय जाग्रतावस्थाका निम्ति नै छ । मात्र भौतिकतामा अघि बढेका मान्छे आज आएर निजात्मक स्वार्थमा सर्वपक्षीय वातावरण विषाक्त पार्दै गइरहेका छन् । यस वातावरणले आप स्वाहा हुँदै सम्पूर्णलाई स्वाहा पार्नेतर्फ अघि बढ्न गइरहेका छन् । समता, ममतालाई तिलाञ्जली दिए प्राप्तिमा यस्तो रोजाइ किन ? रोजिरहेछन् भन्नेमा उदेकपन व्यक्त गर्दछन् मुक्तककार । हुन त जीवन र जगत् सुख र दुःखमा बाँधिएका छन् । स्वयम् ईश्वर पनि यो सुख–दुःखको भार वहन गर्दछन् त मान्छे यसबाट मुक्त कसरी रहन सक्छ ? तर पनि दुःखलाई गहनतातर्फ नलगी सन्तुलनमा ल्याउन सक्ने आफ्ने अन्तर्शक्तिको पहिचान र उद्भव क्षमताको प्रस्फुरणकै आवश्यकता आज टड्कारो रूपमा रहेको प्रकृतिमा मान्छेभित्रको मूल आग्रह देखिन्छ । यस आग्रहलाई प्रष्ट पार्दै मुक्तक मुखरित भएर बोल्न पुगेको छः
प्रकृतिले जुराएको कति राम्रो भविष्य छ
हाँसी हाँसी बाँच्न सक्ने प्रपञ्च छन् जीवन छ
प्रेमरस सुक्ने छैन अविरल बग्दाबग्दै
सागरसम्म पुग्ने आफैँभित्र मधुमुस्कान छ ।
यसरी, मुक्तकले जीवनका यथार्थता दार्शनिक तवरबाट केलाउँदै सत्यम् शिवम् सुन्दरमकाे पथमा अग्रसरताको कडीहरू उचालेको छ । दुर्गमतर्फ बदलिने सूत्रहरू रटिएका छन् । सत्यतथ्यहरू बुझेर पनि बुझपचाउने कार्य ज्यास्ति नै भएपछि संवेदनशील कविको ब्रह्म बल्दै गएको छ । यसैले पनि मुक्तकसङ्ग्रहको नामकरण अत्यन्तै अनुकूल बन्न पुगेको पाइन्छ । एउटा मुक्तक एउटा फूलसरि चुनी-चुनी, उनी-उनी यस्तो माला बन्न पुगेको छ जसले दूबोको मालाझैँ अमरत्वको प्राप्ति गर्न उद्यत देखिन्छ ।
अमरत्व प्राप्त गर्ने अनि सौन्दर्यमय जगतकाे परिकल्पना साकार पार्न प्रकृतिले-परमेश्वरले मानिसलाई पुरुषार्थ र क्षमताले युक्त तुल्याएका हुन्, न कि सोको मृगतृष्णामा स्वसंसार परिवारलाई धूलिसात पार्न यो ज्ञान सागरका स्वत्व अन्तरअन्तरमा व्याप्त मान्छे शुष्क हुँदै गइरहेका छन्, किन ? सभ्य अनि सर्वश्रेष्ठ कहलिएका मान्छेमा देखापरेका असभ्यताका गतिविधिहरू सर्वश्रेष्ठताको अहम्मा प्रदर्शित असभ्य व्यवहारहरू नै यसको परिणति हुन् । समताको भाइचाराको बाँच र बाँच्न देऊको भावनाभन्दा शक्तिको मताका मतमा कर्तव्य–अकर्तव्य पहिचानबाट टाढिएका छन् मान्छे । यसैले आफैँ अशान्तितर्फ धकेलिएका छन् । चेतनतत्त्वबाट विचलित बन्दै छ मान्छे । यसैले आफैँ अशान्तितर्फ धकेलिएका छन् । चेतनतत्त्वबाट विचलित बन्दै छ मान्छे । विज्ञानका अनेक आविष्कार थपिँदै छन् । चमत्कार चुलिँदै छन् । यस प्रवृत्तिले मानिस आफ्नो अस्तित्वमाथि नै ब्ल्याकहोलहरू थप्दै छन् र सन्तुलन गुमाएर मान्छे स्वार्थी बनेका छन् ।
बन्धुत्वका खोल ओढेर स्वार्थपूर्ति गर्दै मानवताबाटै गिर्ने काम भइरहेछ । अरूलाई भासमा पार्ने आफैँ पनि नजानिँदो तवरबाट भासमा जाकिन पुगिन्छ भन्ने सचेतनको खबरदारी गर्दै कवि यसरी भन्न पुग्दछन्ः
जालीले त जालमै पार्छ ढाडै सेक्ने गरी झार्छ
भविष्य नै अँध्यारोमा पुग्ने गरी तल झार्छ
साथीभाइ चिन्नै पर्छ मीठो मेवा पाए पनि
सर्तकता हुनै पर्छ नत्र भने तल झार्छ ।
मान्छे मान्छेकै राप र तापले चर्किरहेछ, मान्छेले मान्छे नै उडाइरहेछ, सिद्धान्तका भुत्ते तलबारमा, बन्दुक–बम, पड्किँदा छन् । श्रेष्ठताको दम्भता अन्धाहरू महाभारतको लडाइँ हाँकिरहेका छन् । नाटकका यी पात्रहरू सहमतिका शकुनीपासाको दाउमा सोझासीधा मान्छेकै च्याँखे थापिरहेका हुन्छन् । प्रकृतिप्रदत्त जीवन, सौन्दर्य तिनका लागि घिन बनेको भान हुन्छ । समानता र सौहार्दताविमुख यी पाशविक स्वभाव देखेर भावुक हृदय चरक्क चिरिन्छ अनि त्यहाँबाट चुहिएका रगत तपतपी झरेर यस्तो शब्द बन्दछः
फूलसँगै सुगन्ध छ, सबैमा त्यो समान छ
प्रकृतिका फल पनि सबैलाई समान छ
हाम्राे बानी किन यस्तो पलपल हिसाबमा
कहाँ पुगी टुङ्गिने हो विदीर्ण त्यो विचार छ ।
हो, विदीर्ण विचारहरूले यहाँ मानवता विदीर्य र जर्जरतामा उन्मुख छ, टड्कारो परिस्थिति अवलोकनमा निम्ति टाढा पुग्नु पर्दैन । जसलाई हामी आफ्नै वरिपरि देखिरहेका हुन्छौँ टुलटुलु । विलियम शेक्सपीयरले भनेका छन्– ‘संसार एउटा नाट्यशाला हो ।’ हामी सबै यस नाटकका पात्र जुन अभियान गर्न लगाइन्छ त्यही गरेर हामी ‘मौनं सम्मति लक्षणम्’को सङ्घार टेकिरहेका छौँ र सङ्घारबाट फुत्केर झरिरहेका छौँ । राजनीतिक शक्ति–मताहाको मातमा बन्धित हामी कैदी आ–आफ्ना स्वतन्त्रता र स्वाभिमानपट्टीलाई बाध्यता भन्दै स्वीकार गरिरहेका छौँ र कहिलेकाहीँ आत्म दीर्घ निःश्वास निकाल्दा यतिसम्म भन्ने गर्दछौँः
हाहाकार हुदाँ धेरै नेता सुधा पिलाउँछन्
काँचुली नै फेरेर ती आश्वासन पिलाउँछन्
स्वर्गको कल्पना त जनताले छाडिसके
कोरा बाचा दिन छाडौँ, जनताले रुचाउँछन् ।
कुण्ड–कुण्ड पानी मुण्ड–मुण्ड विचारको प्रत्यक्ष अवलोकन गरेर पनि हामी विभाजित नै छौँ । यसले विभाजनको फाइदा राजनीतिले लिन्छ । हामी टुपी मात्र बाँकी भएसम्म ती विचार बोकेर हिँड्दिन्छौँ । बलेको आगो ताप्दै त्यो अस्तित्वको टुपी पनि झोसिन पुग्छ । हाम्रो व्यवहार यस्तै छ । यस व्यवहारले हाम्रो भविष्य स्वाभिमान, मानव चेतनशील मानवको पहुँच कहाँ पुग्ने हो ? त्यो हिँडाइप्रति इङ्गित गरेरै मुक्तकतत्त्वमा फुर्दछः
जीवनमा फुल्न सिकौँ फूलैसरि जीवन हो
जस्तो मलाई बनाउँदछौ त्यो त काँचो माटो न हो
ज्ञानगङ्गा बगाएर आफूलाई स्वस्थ पारौँ
चोला फेरी हिँङ्नुपर्छ एकछिनको मञ्चन हो ।
हो, मञ्चनको बेला झन्–झन् खस्किँदै जाँदो छ । अनेकतामा विभाजित भएर हिँडे प्राप्तिमा केही मिल्दैन । समताको उद्देश्य राखी एकबद्ध भएर मानवीय लक्ष्यप्राप्तिमा लाग्नु आजको टड्कारो आवश्यकताको आह्वान मुक्तककारले आफ्नो क्षमताअनुसारको भावोद्वार उत्प्रेरित गरेका छन् । आफूले गरेका सबै ठिक्क र अरूले गरेकामा आफू दिक्क चरित्रका स्वनामधन्य नेताहरू धर्मपिताहरूको स्वस्वार्थ उत्पन्न नीति–नियमहरूले नै प्रकृतिप्रदत्त मानवीय प्रकृत्तिको ह्रासोन्मुख स्थितिलाई आँखा चिम्लेर स्वीकार्ने पद्धतिले नै यो स्थिति उन्पन्न भएको छ । अतः सत्य स्वत्वमै चिरफार गर्दै जीवनले कञ्चनमय तुल्याउन कविको आग्रह यस रूपमा भएको छः
समाजका कुरा गर्दा भित्री मर्म बुझी गरौँ
जनतालाई पन्छाएर चल्ने बानी छोड्ने गरौँ
मानवताको सेवा भन्छौँ संसारको ठूलो धन
क्षणिकमा बाँच्ने बानी हटाएर बाँच्ने गरौँ ।
सहअस्तित्वको समादर प्रकृति एवम् ईश्वरको अनि आफ्नै आनीबानीले यो दग्ध वसुन्धरालाई ‘वसुधैव कुटुम्बकम्’को आधार मल्हम लगाउने जागरणको मन्त्र नै प्रकृतिमा मान्छेको सन्देश हो । रुवाइ छन्दमा पस्किएका मुक्तकहरू जीवन र जगतका प्रदूषित तत्त्व उत्सर्जनका लक्ष्यमा बहेका छन् । जुन सफल देखिन्छन् । मुक्तकहरूबीच मुक्तककार एउटा कथावाचक पण्डितझैँ देखापरेका छन् । प्रकृति, ईश्वर र मान्छेको समन्वयता वा भनूँ, सन्तुलनका कुराहरू अनि मायाका भाका पनि ठाउँ–ठाउँमा सजाइएका छन् ।
मुक्तकका प्रवाह निरन्तर बग्दाखाले छन् तर पनि धारलाई बदल्ने शिल्पप्रति पनि ध्यान दिन सकेको खण्डमा कवित्वको प्रभाव अझ तिखारिने थियो कि ! जे होस्, पारम्परिक दर्शनको सीमानामा कैद नरहेर भूपीका प्रकार र रिमालका उफ्राइ पनि आफ्नो तुल्याउँदै हतारमा भन्दा कालजयी काव्यको सिर्जनामा अझ बढ्न सक्ने क्षमता (ठाकुर शर्मामा निहित रहेकैबाट) को अभिवृद्धिको अपेक्षा पूरापूर राख्न सकिन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।