त्यसो त शीर्षक आफैँले सङ्केत गरेझैँ समीक्ष्य कृति ‘त्यो उज्यालो कर्णाली’ले पहाडी जीवन, उकाला–ओराला बाटाघाटा, अविश्रान्त गीत गाउँदै छङछङ बगिरहने झरना–छाँगा, कतै समथरिँदै कतै भँगालिँदै अविरल सल्सलाउने नदीनाला, निरन्तर लेकबेंसी गरिरहनुपर्ने बस्तुभाउ, हिमाली चिस्यान र दुर्गम आजीविकाभित्र परम्परा एवं आधुनिकतासित पौंठेजोरी खेल्दै दुष्कर जिन्दगी बिताइरहेका सोझासाझा मानिसहरूको कथेसो बयान गरेको अनुमान गर्न सकिन्छ । सँगसँगै लेखक प्रतीक ढकाल पुस्तकमा कर्णाली प्रदेशको सुन्दरता, त्यहाँको बुट–बुट्यान र हरियाली, दुर्लभ जडीबुटी अनि स्थानीय लोकसंस्कृति आदि समेत विभिन्न भ्रमणोचित स्वाद पस्किँदै अगाडि बढेका छन् ।

कर्णाली प्रदेश भनेको मुलुकको हिमाली प्रदेश हो । प्राकृतिक रूपमा सुन्दरतम तर सामाजिक अथवा मानवीय बसोबासस्थलका रूपमा दुर्गमतर क्षेत्र हो । यहाँको जीवन जति कठिन छ, त्यसभन्दा धेरै बढी चुनौतीपूर्ण छ त्यस क्षेत्रको भ्रमण । विदेशीहरूका लागि त नितान्त कौमार्ययुक्त त्यो क्षेत्र पदमार्गका रूपमा अत्याकर्षक छ नै, स्वयं गैर–हिमाली क्षेत्रका नेपाली बासिन्दाका लागि पनि उत्तिकै हाँकिलो छ । समग्रमा जोसुकैका लागि जोखिमै जोखिमले भरिएको यात्रा गर्नका निम्ति यो सदाबहार क्षेत्र हो ।

लेखक प्रतीक ढकालले यही क्षेत्रका विभिन्न हिस्साको यात्रा गरेर त्यससम्बधी अनुभूति सार्वजनिक गरेको लेखकीय अवतरण ‘त्यो उज्यालो कर्णाली’ हो । यो लेखक ढकालको पछिल्लो भ्रमण–कृति हो । यसअघि उनका विभिन्न शीर्षकमा नौवटा भ्रमण–कृति प्रकाशित भइसकेका छन् । रोचक के छ भने, स्वयं ढकालकै अनुसार, ती कृतिहरूमध्ये ‘हिमालपारि पुगेपछि’ नामक पुस्तक अहिलेसम्म सात संस्करण निस्किसकेको छ भने उनका अरू दुई कृति क्रमशः ‘सेती पनि काली पनि’ र ‘सगरमाथाको आधारशिविरबाट’ पाँच–पाँच संस्करण प्रकाशित भइसकेका छन् ! नेपालमा विद्यालयीय पाठ्यक्रममा समावेश भएकाबाहेक अन्य कुनै यात्रा–संस्मरण कृतिले यस्तो सफलता विरलै पाएका छन् । त्यसकारण यो उत्साहवर्धक हो, प्रशंसायोग्य हो र प्रेरक पनि हो ।

साउन २०७८ मा शिखा बुक्स, काठमाडौंले नेरु. ३६५ मूल्य राखेर प्रकाशन गरेको ‘त्यो उज्यालो कर्णाली’ किताबमा मूल शीर्षकसमेत विभिन्न एक्काइसवटा उपशीर्षक छन् र पुस्तक कुल २४४ पृष्ठसम्म विस्तारिएको छ । यात्राका लागि जुम्ला जाने क्रममा काठमाडौंबाट नेपालगञ्ज र त्यहाँबाट फेरि हवाईजहाजबाट जुम्ला पुगेको करिब चौध पृष्ठ लामो वर्णनबाट किताबीकथा सुरु हुन्छ र लेखक कर्णाली प्रदेशका जुम्ला, कालीकोट र मुगु तीन जिल्लाका रारा तालसमेत कतिपय ठाउँ घुमेर अन्ततः फेरि जुम्लाबाट नेपालजञ्ज आइपुगेर यात्राको पनि र कथाको पनि समापन हुन्छ ।

ठाउँठाउँमा लेखकले आफू घुमेका वा पुगेका वा देखेका कतिपय स्थान, दृश्य, मानिस र ऐतिहासिक भवनादिको तस्विर पनि पुस्तकमा राखेका छन् । खासमा त्यसरी यात्रा–वर्णनको क्रममा सम्बन्धित चित्र राख्नु त औधी राम्रो हो तर ती चित्रहरू यथाशक्य रङ्गीन र त्यसो हुन नसके प्रस्ट बुझिने-देखिने गरी राखियो भने बेस हुन्छ । ‘त्यो उज्यालो कर्णाली’ पुस्तकमा समावेश गरिएका तस्विर श्यामश्वेत छन् र कागजको कमसलपन अथवा छपाइको प्राविधिक कमजोरीले गर्दा प्रयुक्त तस्विरले आफ्नाे सम्पूर्ण महत्ता प्रकट गर्न सकेका छैनन् ।

लेखक ढकालले पुस्तक मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीलाई समर्पण गरेका छन् –एउटा झापाली कलमकर्मीले अर्को झापाली कलमकर्मीप्रति दर्साएको सम्मान मान्नुपर्छ । र, किताबको अन्तिम खण्डमा धरावासीले “मुक्त पाटो” भनेर ‘जीवनको लीला : एक बाँच्ने खेल’ शीर्षकमा चौध पृष्ठ लामो अनौपचारिक मन्तव्य लेखेका छन्, जुन पठनीयताका हिसाबले सुन्दर छ र जुन लेखक प्रतीक ढकालको संक्षिप्त जीवन–चित्र पनि बनेको छ ।

यसमा उनले कसरी घरपरिवार, विद्यालय र सरकारी–गैरसरकारी कागजातहरूमा ‘खडानन्द ढकाल’ का रूपमा रहेका आफ्ना स्कुले साथी साहित्यिक फाँटमा ‘खडानन्द प्रतीक’ हुँदै अचानक ‘प्रतीक ढकाल’ का रूपमा उदाएको देखेर आफू पनि ‘कृष्णप्रसाद भट्टराई’ बाट ‘कृष्ण धरावासी’ बनेको हो भनेर खुलाएका छन् । उनले प्रतीक ढकाल तन्नेरी वयमा छँदा वक्तृत्व–कलामा उस्ताद रहेको र राष्ट्रिय–अन्तर्राष्ट्रिय पदकहरू जितेको बताएका छन् र विद्यार्थी राजनीतिमा सक्रिय संलग्नता देखाएर पछि शिक्षक हुँदै सरकारी जागीरमा प्रवेश गरेपश्चात् पहिले जस्तो कविता र कथा लेख्न छाडेर यात्रा–साहित्य –त्यसमा पनि हिमाली यात्रा–साहित्य– लेखनतर्फ प्रवृत्त भएको उल्लेख गरेका छन् । धरावासीको यो लेखनलाई एउटा साहित्यकारले आफ्नो सुपरिचित दौंतरी साहित्ययकारको मीठो चिनारी प्रस्तुत गरेको रूपमा लिन सकिन्छ ।

जहाँसम्म पुस्तकको प्रसङ्ग छ, लेखक ढकालले लेख्नकै लागि भनेर यो यात्रा गरेका छन् । यो उनको सम्पूर्णतः उद्देश्यमूलक एवं योजनाबद्ध यात्रा हो । सरकारी सेवाबाट अवकाशप्राप्त भएपछिको कुनै समय (विसं.२०७४ चैत) मा उनी निजी खर्चमा केही दिनका लागि कर्णाली प्रदेशका केही क्षेत्रको भ्रमणमा निस्केका हुन्छन् ।

एक रात जुम्ला विमानस्थलनजिकैको होटलमा बिताएपछि उनी नाग्म भन्ने ठाउँतिर लाग्छन्, अर्थात् स्थानीय तिला नदीमाथि बनाइएको पक्की पुल रहेको त्यो ठाउँ तरेपछि तीनतिरको बाटो छुट्टिन्छ– पश्चिमतिर लागे नाग्मको मूलबजार हुँदै कालीकोट पुगिने, अझ अगाडि बढे सुर्खेत र कोहलपुर पुगिने । उत्तर–पूर्वतिर लागे जुम्लाको सिञ्जा क्षेत्र हुँदै मुगु जिल्लाको गमगढी पुगिने । पुल तरेर दक्षिणतिर लागे अघि आएकै बाटोबाट जुम्ला पुगिने । बाटोमा राखिएको बोर्डले नै सबै भनिदिने ।

बाटोमा उनले ‘श्रीनगर’ भन्ने ठाउँ देख्छन् र उनलाई भारतको कश्मीरको श्रीनगर र पाल्पा तानसेनको श्रीनगरको याद आउँछ । अझ अगाडि उनले अन्य ठाउँका अतिरिक्त धौलापानी र तातोपानी भन्ने ठाउँ देख्छन् र उनलाई नेपालमा ‘तातोपानी र चिसापानी’ नाम भएका अनेकानेक ठाउँहरूको हेक्का हुन्छ । त्यसपछि त उनले झन्डै एक पृष्ठ नै ‘पानी’ प्रत्यय जोडिएका ठाउँहरूको नाम उल्लेख गरेका छन् । यस्तै अलि पछि गएर लेखक ढकालले शब्दको अन्त्यमा ‘हवा’ (जस्तो– भैरहवा, पिपरहवा आदि), ‘बाङ’ (जस्तो– भालुबाङ, लिबाङ आदि), ‘कोट’ (जस्तो– मानकोट, रुपाकोट आदि), ‘बाडा’ (जस्तो– कोटबाडा, ओडबाडा आदि), ‘माडौं’ (जस्तो– काठमाडौं, मष्टामाडौं आदि), ‘ढुङ्गा’ (जस्तो– अर्जुनढुङ्गा, ओखलढुङ्गा आदि) भएका नाम शब्दहरू पनि एकभन्दा धेरै पृष्ठभरी उल्लेख गरेका छन् । यस्ता नामहरूको सङ्ग्रहप्रति लेखक ढकालको राम्रो रुचि देखिन्छ ।

यात्राक्रममा, माथिल्लोस्तरको पूर्व सरकारी कर्मचारी भएको लाभ उनलाई मिल्दछ र निशाकुसुम पौडेल, रञ्जीता पोख्रेल आदिसमेत कतिपय स्थानीय सरकारी कर्मचारीको सहयोगले उनको यात्रा अपेक्षाकृत सहज हुन पुग्दछ । उनी गोठीज्यूला पुग्छन्, गमगढी पुग्छन्, अनेक सानातिना स्थान हुँदै राराताल पुगेर रमाउँछन्, मुगुकै ताल्चा विमानस्थल हँदै मुगु गाउँ पनि घुम्छन्, फेरि नाग्म हुँदै सदरमुकाम खलङ्गाबजार पुग्छन्, अनि बस चढेर कालीकोटको मान्मबजार र फेरि जुम्लाबजार हानिन्छन्, कर्णाली प्राविधिक शिक्षालय घुम्छन्, पातारासी हिमाल दर्शनको रौनक महसुस गर्छन् र फेरि यस्तै अनेक ठाउँ चहार्दै अन्ततः नेपालगञ्ज फर्किन्छन् ।

बीचबीचमा उनी चन्दननाथसमेत कतिपय मन्दिरहरूको दर्शन गर्छन्, केही पारिवारिक वा सामूहिक भोजमा सम्मिलित हुन्छन्, जीवनको पछिल्लो कालखण्डमा गएर योगी नरहरिनाथ बनेर चिनिएका कालीकोटका महान पुत्र बलबीरसिंह ऋक्सेन थापाको पहेंलो प्रतिमा दर्शन गर्न पुग्छन्, हिमाली प्रदेश भए पनि मस्तै समथर जमिन देखेर दङ्ग पर्छन् । कतै स्थानीय गीत सुनेर फुरुङ्ग हुन्छन् त कतै आफैँ पनि त्यस्तै गीत सुसेल्छन् र ती गीतले किताबमा ठाउँ पाउँछन् । यस्ता यस्ता थुप्रै प्रसङ्ग छन् किताबमा ।

यो सबै यात्रा गर्दा लेखक ढकाललाई कति रमाइलो भयो, त्यो उनी आफैँले जान्ने कुरा हो तर उनले अनुभव गरेको सबै अन्तरकुन्तर पाठकले महसुस गर्न पाउँदैन । सक्दैन । किनभने यो केवल ढकालले गरेको यात्राको कुरा मात्र होइन, यो त उनले विभिन्न अठारवटा सन्दर्भ–सामग्रीको सहयोग लिएर गरेको उद्देश्यमूलक यात्राक्षेत्रको इतिहास, संस्कृति र समाजको मूलभूत विकासक्रम अनि विशेषता पनि दर्साउने परिश्रमपूर्ण प्रयास पनि हो । यसका लागि उनले यात्रा सुरु भएदेखि नै कलम र कापी सँगै लिएका देखिन्छन् र पाइलैपिच्छे देखा पर्ने ठाउँविशेषका र अन्य तमाम नामहरू लिपिबद्ध गर्दै अगाडि बढेका प्रतीत हुन्छन् । यसले गर्दा उनको लेखनलाई बुझ्न पाठकले अलि मिहिनेत गर्नुपर्ने देखिन्छ ।

उनले पुस्तकको सुरुतिरै लेखेको “… लौ विमान चार्टर गरेर उड्ने भइसकिछस् नि पर्तिके !” अथवा, “प्रतीक्षालयमा राखिएकै एउटा सिटमा थेचारेँ आफूलाई… ।” अर्थात्, ‘पर्तिके’ अथवा ‘थेचारेँ’ आदि जस्ता कतिपय शब्द प्रयोग प्रतीक ढकालको स्तरका लेखकले लेख्नका लागि उस्तोविधि सुपाच्य लाग्दैनन्, अतिअनौपचारिकताको पनि सीमा नाघेको जस्तो लाग्छ । य

सैगरी, खोई किन हो, लेखक ढकालले किताबमा अनेक स्थानमा अङ्ग्रेजी शब्द र वाक्यहरू नै पनि प्रस्तुत गरेका छन्, ती भावहरू नेपालीमै लेख्दा पनि उनको आशय सहजै बुझ्न सकिन्थ्यो भन्ने प्रस्ट महसुस गर्न सकिन्छ । यस्तै अरू कतिपय सन्दर्भमा लेखक ढकालको एउटा प्रवृत्ति पनि उजागर हुन्छ– उनी कुनै खास प्रसङ्गमा केही लेख्नु वा भन्नु पर्दा “यस सम्बन्धमा मेरो फलानो किताबमा लेखिसकेको हुनाले यहाँ लेखिरहनु परेन” भनेर आफ्नै अर्को कुनै किताबको विज्ञापन (?) पनि गर्न मन पराउँदा रहेछन् !

यति मात्र होइन, पुस्तकमा ठाउँठाउँमा लेखक ढकालले मुलुकको वर्तमान राजनीति, राजनीतिक पात्र, नेता, कार्यकर्ता, राष्ट्रिय कार्यक्रमहीनताको अवस्था, माओवादी सशस्त्र द्वन्द्व र द्वन्द्वकालपछिको अवस्था र त्यसमा बाँचिरहेका नेता–कार्यकर्ता–प्रभावित जनता सबैको तुलनात्मक अवस्था, अनेक किसिमबाट मुलुकबाहिर भइरहेको युवा बुद्धि–तरुण बल–मांसल शरीरको दुर्भाग्यपूर्ण विदेश पलायन, भाषाको समुचित विकासमा लाग्नै नसकेको प्रज्ञा प्रतिष्ठान आदि–इत्यादि अनेक मामिलाहरू उल्लेख गर्दै सबैप्रति धारे हात उठाउँदै कटु आलोचना गरेका छन् । बुझ्न झन् कठिन हुन्छ, यसरी राष्ट्रिय राजनीति र त्यसका प्रतिनिधि पात्र एवं तिनले अख्तियार गरिरहेका नीतिहरूलाई तीखो आलोचना गर्दै अगाडि बढेर लेखकले कुन किसिमको यात्रा–साहित्यको स्वाद पस्किन खोजेका हुन् ? लेखकको यस्तो चर्को राजनीतिक आक्रोश पढेर कसरी ‘त्यो उज्यालो कर्णाली’ देख्न र हासिल गर्न सकिन्छ ?

पुस्तकभित्रको एउटा उप–शीर्षक र त्यस अन्तर्गतको वर्णन पनि निकै चातुर्यपूर्ण छ। अत्यन्त ‘‘ट्रिकी टाइटल’’ भन्न सुहाउने । त्यो हो– मुगुभित्रको अर्घाखाँची । पंक्तिकार स्वयं पाल्पा जिल्ला र लुम्बिनी अञ्चलको भएको हुँदा अर्घाखाँची जिल्ला पनि पुगेको आधारमा स्वतः एक किसिमको चासो बढ्यो, के होला त्यस्तो उप–शीर्षकभित्रको कथामा भनेर । पढेपछि थाहा भयो, त्यो त लेखक ढकाल करिब बत्तीस–तेत्तीस वर्षपहिले एकजना साथीको बिहेमा सम्मिलित हुन अन्य दुईजनासहित तीनजनाको टोली भई पाल्पाको अर्गलीबाट रिडी हुँदै गुल्मीको मानकोट पुगेर रातारात हिँड्दै अर्घाखाँचीको वाङ्गला भन्ने गाउँमा पुगेको एक रातको संस्मरण पो रहेछ !

संस्मरणको मध्यभागतिर उनले आफूहरू जङ्गलको बीचमा राति चिहानमाथि सुतेको उल्लेख गरेका छन् । आश्चर्य लाग्छ, अर्घाखाँचीको जङ्गलमा चिहान ? किनभने त्यहाँ त शव गाड्ने नभई जलाउने संस्कार पो हुन्छ । कथामा उल्लेख नभए पनि हो के भने वास्तवमा अर्घाखाँचीमा उल्लेखनीय मात्रामा मुस्लिम जनसङख्याको बसोबास छ र उनीहरूकै लागि वाङ्गलाको जङ्गलसमेत जिल्लाका अन्य तीन–चार स्थानमा शव गाड्नका लागि ‘चिहानघारी’ (कब्रिस्तान) को व्यवस्था छ ।

अन्त्यमा, किताबको मूल शीर्षक ‘त्यो उज्यालो कर्णाली’ नै पनि राख्ने आधार भनेको लेखकले जुम्लामा आफू सहभागी कुनै एक छोराको न्वारन–भोज अवसरमा गरेको करिब चार पृष्ठ लामो भाषण हो । विद्यार्थी जीवनदेखि नै वक्त्तृत्वकलामा महारथ हासिल भएका लेखक ढकालले छोरा मात्र किन, छोरीको न्वारनमा समेत त्यसरी नै महाभोजको आयोजना गर्नुपर्ने भन्दै लामो भाषण गरेका हुन्छन् । त्यो भाषणका लागि उनले पुराण, धार्मिक–ग्रन्थ, इतिहास, परम्परा, संस्कृति र स्थानीय विगतसमेतका अनेक उदाहरण अनि इतिहासप्रसिद्ध वीर–वीराङ्गनाहरूको नाम उल्लेख गरेका छन् । उनको त्यस्तो बौद्धिक एवं लामो वक्तव्य जुम्लाका सामान्य जनसमुदायले के कति बुझे बुझेनन्, त्यो बेग्लै कुरा तर लेखकका अनुसार, सबैले परर्र ताली बजाएर उनको भनाइप्रति समर्थन जनाउँछन् ।

उनी लेख्छन्, ‘अलिअलि मात्रै पुछपाछ पार्न सके कर्णाली साँच्चै नै उज्यालो छ । यसको समृद्धिको सम्भावना त कति छ कति, मेरो मनले मैलाई भनिरह्यो ।’

उनलाई पढेपछि मलाई लाग्यो, त्यसो त कर्णालीलाई मात्र किन, विभिन्न स्थान विभिन्न विशेषताले भरिएको समग्र नेपाललाई नै अलिअलि मात्रै पनि पुछपाछ पार्न सक्ने हो भने त सम्पूर्ण मुलुककै अनुहार उज्यालो हुनेछ । देशकै मुहार हँसिलो हुनेछ ।

र, सबैलाई थाहा छ– हँसिलो अनुहार जहिले पनि उज्यालो हुन्छ ।