
वि.सं. २०५० सालमा प्रकाशित भएको “शहर-यन्त्र” कथासङ्ग्रहमा ढकालका २२ कथाहरु सामेल छन्। काठमाडौँआसपासका स्थानलाई मात्र कथामा स्थान दिने कुरो उनको अघिल्लो पटक पढेको कृति “बहिर्गमन”मा याद दिलाएको थिएँ पहिले । यस कथासङ्ग्रह भने उक्त कृतिभन्दा अलि अलग लाग्यो, काठमाडौं बाहिरका परिवेश, समाज र जनताहरुका कथालाई स्थान दिएकाले। आफ्नो समयमा देखेका- भोगेका र प्रष्टसङ्ग ती बितेका पलका समय-साक्षी रहेकाले उनको कथालेखनमा आउने छाँयाछवि (reflection) मजेदारको लाग्छ मलाई चाहिँ ! आनन्दतिरेक अनुभव काइदासँग हुने रहेछ यो सङ्ग्रह पढेपछि। ढकालकै “बहिर्गमन” भन्दा त उम्दा बलियो लाग्यो यो किताब मलाई।
जीवन, जगत् र समाजका अनेक रङ्ग- ढङ्ग- छ्न्द बहुतै मिठो, सरल र आम पाठकले टपक्क टिप्न सक्नेगरी प्रस्तुत गर्दछन् ढकाल । कथाहरुमा आउने पात्रहरूको हाउभाउ – शैली- आचरण अनि संवादका अलावा दैनिक जीवनमा हुने आम दैनिकी कति मीठो तवरले प्रस्तुत गरिएको छ। केहीलाई उनका कथाहरुमा हुने सम्पादकीय त्रुटी\कमजोरीका कारण हलुका मन नपर्ने र उराठ लाग्ने रहेछ । मलाई केही २-४ कथाहरु खास्साको लागेन किनकि त्यस्तै तरिका र धार-सारमा रहेका उस्तै कथाहरु अरुले लेखेको वाला पढेको थिएँ । हुन पनि कसैलाई के मन पर्छ-मन पर्दैन, तान्छ-तान्दैन, बाँध्छ- बाँध्दैन । कथाहरुले पनि नयाँ पाठक र नयाँ पुस्ताकालाई ओक्खो यस्तो नि हुने रहेछ भान गराउँछन् त त्यो समय बाँचेर आएकाहरुलाई खासै तानेन हो भन्ने भान हुन्छ । कुनै कथा साँच्चै नै साधारण लाग्दछन् त कुनै असाधारण ।
शहर-यन्त्र काइदाको कथाहरु समाविष्ट कृति लाग्यो है मलाई त । बजारमा भेट्न नि गाह्रै रहेछ ढकालका पुराना कथा किताब त (भेटेको पनि साझाको मेलामा थियो यो एक प्रति त्यो बेला)। अत: यसका केही कथाहरु उनका अरु पुरानाहरु सङ्गै सङ्कलन गरेर “नारायण ढकालका कथा” र “तमस” मा मिलाइएको छ है । कुनैकुनै कथाहरु त टक्क वर्तमान समयकालबाटै टिपेर हालिएको रहेछ भन्ने भान पनि हुन्छ । अनि कुनै कथाहरु पढ्दा स्थिति त अहिले पनि उस्तै रहेछ – बस मिति मात्र बदलिएको त रहेछ नि भन्ने लाग्छ ।
“बमन” कथामा कसरी पत्रकारले आफ्नो शक्ति र सम्पर्कको दुरुपयोग गर्न सक्छन्, बेरोजगार युवाका मनमा आउने आवेग र अनेकौं विचार, मिडिया मालिक कसरी धनी बन्छन् र व्यापारीले कसरी आफ्ना सामान बजारमा मिडिया प्रचारभन्दा फरक लान्छन् देखाइएको छ। समाजमा धनीमानीहरुका “साहु”खलकवाला इज्जत अनि कसरी केही यस्ता पात्रहरू पनि छन् जो धनका अधिक धनवान् त हुन्छन् तर मनका अत्यन्तै दरिद्र हुन्छन् भन्ने देखाइएको छ । अत: आफ्नो धन, वैभव र तागतको प्रदर्शन र फुइँ लाउने धनाढ्य छन् भन्ने अर्को तस्वीर आउँछ यो कथा पढेपछि ।
“अपाङ्ग” कथामा कसरी राजनीतिक आधारमा जागिरमा नियुक्ति र निस्कासन हुन्छ, आफूले गरेको कामको हिसाबकिताब माग्दा र बहिर्गमन पत्र माग्दा मालिकले बाइफाले\ फिजुल कुरा निकाल्ने र आर्थिक कमजोरीमा पर्दा कसरी सहयोग गर्न भन्दा अर्ती उपदेश दिने साथीभाइको प्रसङ्ग पाइन्छ । हामीले पनि त जीवनमा कुनै जागिर खाँदा समयमा तलब नपाउने, ज्यादा काम र कम तलब, आफ्नो प्रमोसनभन्दा मालिकहरुकै मान्छेको प्रमोसन अनि कामको जसभन्दा अपजस ज्यादा पाउने स्थितिको सामना गर्नुपरेको छ नि ! त्यो कुरा याद आउने के यो कथा पढ्दा । निति-नियम मान्छेको पद, प्रतिष्ठा र राजनीतिक शक्तिसङ्गको खिचातानीका आधारमा लाग्ने सत्यता पनि कथामा पाएँ मैले । मनमा आँधी नै आए पनि अरुका सामने आफू कमजोर नदेखिन त्यो लुकाउने र हाँस्ने कुरो नि आएको छ कथामा ।
त्यस्तै “रचना-विधान” कथामा उनले आर्थिक स्तरमा देखिने विविधताले कसरी सम्बन्ध बदलिन्छ, कसरी व्यापारमा लागेकाले शक्ति हातमा लिएर आफूलाई बलियो र अरुलाई कमजोर आँकेर हेप्ने परिपाटी याद गरेँ।
“अर्थतन्त्र” कथामा कमजोर आर्थिक स्थितिका कारण गरीब नागरिकले कसरी स्वास्थ्य सेवाबाट वञ्चित हुनु पर्छ तर श्रोतसाधन भएका पावरवालाहरुले कसरी सजिलै ती सेवा पाउँछन् देखाउँछ। यो कथा पढ्दा ठ्याक्कै केही समय पहिले रिपोर्टिङ गर्दा असली दलित , मधेशी र जनजातिका नाममा आएका छात्रवृत्ति एवम् आर्थिक सहयोग नक्कली पावरवालाहरुले राजनीतिज सोर्स फोर्सका आधारमा पाउँछन् भन्ने खबर याद आयो। गरीब, दिनदुखी र सर्वहारा वर्गका हितका लागि आएको ल्याएको प्रजातन्त्र / प र जा त न्त्र केवल नेताहरुका लागि कमाउने भाँडो र सत्तामा पुग्ने भरेङ्ग भएको छ भन्ने बुझेँ। अहिलेको लोकतन्त्र र गणतन्त्र युगमा पनि त सत्ता र शक्तिकै लडाइँ चलिरहेको छ नि त। कुनै घटना परिघटना हुँदा तमासा हेर्ने नेपालीहरुको आनीबानी र आफूले सहयोग गर्नुभन्दा भीडबाटै कसैले सहयोग सहायता गरोस् न भन्ने प्रवृत्ति पनि अटाएको छ यो कथामा।
“छद्मभेषी” कथामा नेताहरुको चुनाव अघि र पछिको भाषण र व्यवहार उतारिएको छ। गामतिर गएर तामझामका साथ गरीब जनताहरुलाई अनेक साइनो लाएर मिठो भाषण र सुन्दर सपनाहरू देखाउने अनि तिनकै पैसा उठाएर बालबच्चाहरु स्कुलबाट लखेटेर भोज गर्ने प्रवृतिको चित्रण छ। जीवनमा अनेक सङ्घर्ष गर्ने भए पनि नेताको भाषणमा केही बेर भए नि जीवनका सबै दु:ख भुलेर सुख कल्पनेका कथा छ यसमा।
अरु कथाहरुमा मैले निकै सादगीपूर्ण र मिठासयुक्त पात्रहरू, घटना सन्दर्भ अनि समाजका अनेक आयामहरु पाएँ। मजदुरले आफ्नो तलब बढाउन आग्रह र अन्य साथीहरूसँग मिलेर हक माग्दा लाग्ने उग्रवादी, विपक्षी , प्रगतिको बाधकवाला तक्मा र जबर्जस्ती निस्कासनको कथा छ। पञ्चायत कालमा सत्ता र नेतृत्वको विरोध गर्दा चोर, फटाहा, व्यवस्था विरोधी भन्दै हुने कार्वाही र निस्कासन, साहुबाट हुने गरीब कामदारहरुको शोषण , फरकफरक पुस्ताक बीच देखिएका विभेद र कलह, दाजुभाइका बीच आउने टकराव, शिक्षाका कारण आउने परिवर्तन, मौका अनुसार बदलिने फेरिने मान्छेका द्वैध-चरित्र र आफ्ना फाईदा हुँदा मात्रै बोल्ने र अरुलाई अर्दापर्दा चुपचाप रहनेका कथा भेटेँ।
सामान्य गाम विकासका कार्यहरु जस्तै धारा निर्माण , खानेपानी व्यवस्थापन, स्कुल व्यवस्थापन, बाटोघाटो मर्मत आदिलाई चै कसरी पटकपटक चुनावी अजेन्डा बनाइने तर जितेपछि फर्केर नि नहेर्ने नेताहरुको प्रवृतिको चित्रण छ। नेता र पार्टीगत सिद्धान्तका पछाडि मान्छेहरु (कार्यकर्ताहरु) कतिसम्म पागल र अन्धा हुन्छन् भन्ने तस्बिर आउँछ कुनै कथामा।
घर भनेको के हो, बुढ्यौली उमेरका मान्छेहरुको मनमा कस्ता विचार आउँछन् ? आफ्ना घर-परिवारभन्दा अर्काको ज्यादा चासो जासुसी गर्ने, मायाप्रेमका कुरा अनि घरपेटी- भाडावाल द्वन्द्वका कुरा नि आउँछन् कथाहरू पढ्दा। अत: समाजको साइकोलोजी, बुद्धिजीवीहरु मान्ने ठान्नेहरुका ईगो, गरीबहरुको भएको थोरै जमीन हत्याउन साहुले गर्ने अभिनय अनि मान्छेहरुले बेलामौकामा देखाउने नक्कली हिरोइजम नि आएको छ कथामा। पञ्चायत कालका बेलाको जनमत सङ्ग्रह भएपछि र अघि के कस्तो अवस्था थियो गाउँतिर भनेर पनि देखाइएको छ यस सङ्ग्रहमा रहेको कथामा। राजनीतिक आग्रह पूर्वाग्रहका कारण देखा पर्ने सामाजिक अलगाव र लगावको प्रसङ्ग पनि सान्दर्भिक तरिकाले आएको छ – अहिलेको अवस्थासँग मेल खाने गरी ।
एक किसिमले फरक विभिन्नताका कारण पढ्दै जाँदा मलाई त कदै बोर लाग्दै लागेन पठनमा। कुनै कथाहरू हल्का सामान्य लागेका र पढिसकेको जस्तो लाग्दा चै अलि उराठ लागेकै हो केही बेर। समग्रमा भन्दा चै कथाहरु उम्दा लागे र आफ्नो समयको ऐना लागे। ट्याम मसिनले झैँ अहिलेको समयमा त लग्यो नै गाउँचरतिर यसमा सामेल कथाहरुले – पहिलेका बितेका समयमा पनि लग्यो मज्जाले ! संग्रहका यी कथाहरुले पाठहरु सिकाए – एउटा इमोसनल ग्राटिफिकेसन दिलाए अनि केही चिन्तन-मनन गराउने सामर्थ्य राखे। कतिपय कथाहरु यथार्थपरक त लागे नै भने केही पूर्वकालका घटना लागे । अनि केही अहिले आफू बाँचेकै युग समयका चित्रण लागे।
नेताहरू, व्यापारी र आआफ्ना नितान्त निजी स्वार्थ हेरेर सम्बन्ध बनाउने र नजिक आउनेहरु कहिले परिवर्तन नहुने जीव रहेछन् हौँ भन्ने नि अनुभूति हुन्छ । यो समाज कति ढोङ्गी हुनसक्छ र सत्य तथ्य नबुझेर कुनै विचार राख्न सहज अनुभव गर्छ भन्ने कुरो अर्को कथामा आएको छ। इमानदारिता , वचनको पक्का रहने, नातासम्बन्ध सही तरिकाले निभाउने र परेको बखत कसैको काम आउने परिपाटी नि भेटेँ कुनै कथामा त भेटिनँ कुनै अरुमा। पार्टीप्रतिको गहिरो आस्था, आफ्नो लागि पार्टी सर्वप्रिय रहने र अन्ध-विश्वासले के कस्ता विभाजन ल्याउँछन् गाम-ठामका मान्छेमा भन्ने अर्को तस्वीर कोरिएको छ।
पुराना साहित्य पढ्न उल्का मज्जा आउने के ! अनि कहिलेकाहीँ आफूले स्कुले जीवनमा रहँदा पुस्तकालयमा विध्यार्थीहरुले यस्ता क्लासिक हराउँछन् भनेर पढ्न नदिएको प्रसङ्ग याद आयो। पुराना किताब र साहित्यमा किनकिन अजम्मरी प्राण छ भन्ने आभास हुने रहेछ। संवाद र पात्रहरूका बीचको अन्तरक्रिया पनि कति मिठो लाग्ने गरी प्रस्तुत गर्न सक्ने रहेछन् नारायण ढकालजी।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

