हुन त ‘बसाइँ’ र ‘मुलुक बाहिर’का पुस्ता प्रवासी नै थिए । प्रवासी पुस्ताका सन्तान भारतभूमिमै जन्मेपछि उनका मातृभूमि भारत भयो र सन्ततिहरु रैथाने नै बन्न पुगे ।

कार्वी कुर्फो आमाइ र कार्वी कल्चर सोसाइटीको निमन्त्रणामा पश्चिमोत्तर भारतको असम प्रान्तभित्र कार्वी आङ्लोङ डिष्टिकमा सपत्नी औपचारिक भ्रमण भयो । फेब्रुअरी१५/१६/१७/१८ मा डिफुस्थित तारालाङ्सोको ७०० विघामा आयोजना हुने कार्वी युथ फेस्टिबलको निमन्त्रणामा जाने अवसर मिल्यो । खास गरी १७ तारिक साँझ लगभग ६० हजार दर्शक उपस्थित सांस्कृतिक मन्चमा अन्तरराष्ट्रिय अतिथिको हैसियतले नेपाल र नेपालीको तर्फबाट सम्बोधन गर्ने समय उपलब्ध थियो। चिफ एक्जेक्युटिभ मेम्बर अफ अटोनोमस काउन्सिल डा. तुलीराम रङ्हाङज्यू र मैले संयुक्त रुपमा असमका चर्चित लेखक रण काफ्लेकृत ‘रैथाने’उपन्यास सार्वजनिक गरियो।

इतिहासद्वारा सुरक्षित ग्रेटर नेपालको मानचित्रले पूर्वमा टिष्टा र पश्चिममा काँगडा उत्तर हिमालयदेखि दक्षिण भारतको केही भूभाग नेपालकै थियो भन्छ । सुगौली सन्धीले मेची,काली र दशगजाभित्र नेपाल खुम्च्यायो । असममा लिलबहादुर क्षेत्रीको ‘बसाइँ’देखि रणबहादुर क्षेत्री(काफ्ले)को रैथानेसम्म दार्जिलिङमा इन्द्र बहादुर राईको ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’देखि सिक्कममा लुइस बिष्टको ‘मनोभिराम’सम्मका जम्मै नेपाली भाषाका कृतिको आयामलाई हेर्दा राजनीतिक रुपले मात्र नेपालको सिमाना दश गजामा आइपुग्यो तर भाषिक र सांस्कृतिक रुपले ग्रेटर नेपाल छदैछ भन्न अलिकति पनि हिच्किच हुँदैन । भाषाविज्ञानकै आधारमा भन्ने हो भने नेपालीको भाषिक भूगोल बर्मा, बेलायत र अमेरिकासम्म फैलिएको छ। यसकारण पनि कि असमका उपन्यसकारको ‘रैथाने ‘ उपन्यास समकालीन साहित्य प्रतिष्ठान बेलायतले प्रकाशन गरेको छ।

नेपाली जीवन काम र मामको खोजीमा मुग्लान पस्यो । बाढी, पहिरो, महामारीले भोक र रोगबाट मुक्तिका लागि उतै पस्यो । उतै सहज हुँदा उतै प्रवासियो, सहज नहुँदा नेपालको मधेश फर्कियो । दोस्रो युद्ध लड्यो । जित्यो उतै बस्यो, हारेर भाग्यो उतै बस्यो । सुगौली सन्धिपछि अङ्ग्रेजले अङ्ग्रेजी भाषा र रेल मार्ग दिएर भारतभूमि छोडे तर नेपालीले भूमि छोडेनन्। प्रवासमा दोस्रो, तेस्रो पुस्ताका नेपालीले आफूलाई त्यहाँ शरणार्थी र प्रवासीको रुपमा स्वीकार गरेनन् । आफूलाई रैथाने घोषित गरे र रैथानेका रुपमा स्थापित गर्न अनेकन सङ्घर्ष गरे ।

प्राकृतिक विपत्ति, राज्य सरकारले गर्ने विभेदविरुद्ध व्यक्तिगत र साङ्गठनिक रुपमा सङ्घर्ष गर्यो । कहिले मूल बासीहरुले गर्ने दल मालको सामना पनि गरे । मूलबासीहरुप्रति सद्भाव र प्रेम बाँडेर मूल बासीहरुको माया र साथ पाएर असमको भूमिमा सम्पन्नता साथ स्थापित पनि भयो । हिंसात्मक आन्दोलनका परिदृश्यहरुबाट भयभीत नेपाली शान्तिको खोजीमा नेपालमै जग्गा किनेर प्रत्यागमित भयो ,छोरी नेपालमा दिएर भए पनि सन्तान सुरक्षित भएको राहत अनुभूति गर्यो । ब्रम्हपुत्र र कपिली नदीको सभ्यता विकासको एउटा कालखण्डको ऐतिहासिक सन्दर्भ र तत्कालीन नेपाल र असमको सामाजिक अवस्थाको चित्रमा देखिने रैथाने अनुहार नै उपन्यासको मुख्य विषय रहेको पाइन्छ। दोहोरो डायस्पोरा पनि उपन्यासको सूक्ष्म विषय हो भन्न सकिन्छ ।

नेपालको राणाकालदेखि जनयुद्ध कालसम्मको समय र त्यसभित्र ग्रामीण इलाकामा व्याप्त चरम अभाव र पीडा अनि असममा आदिबासीहरुको अधिकारमुखी जातीय सङ्घर्षको भयभीत अवस्था उपन्यासको परिवेश हो। कान्छाको बाउ हस्त बहादुर, मामा कैरसिहँ महाजन, माइजू, कान्छाकै सासु ससुरा पहिलो पुस्ता, कान्छा, उसकी पत्नी बोगी, जेठान इन्द्रको मध्यम पुस्ता, कान्छाको छोरो रोहित, बुहारी, रोहितलाई मागेकी केटी आशा, रोहितको साथी म पात्रलाई हेर्दा तीन पुस्ताको कथा छ यसभित्र । सङ्कथन विश्लेषणको आधारमा अग्र सन्दर्भ हस्तबहादुरको बाउ र म पात्रले धरानमा देखेकी आशाकी सानी छोरीलाई पश्च सन्दर्भ बनाएर हेर्दा साङ्केतिक रुपमा त उपन्यासभित्र पाँच पुस्ताको जीवन छ ।

कथामा म पात्र द्रष्टा र भोक्ता दुवै भूमिकामा छ । ऊ समाख्याता हो । उसका भोगाइहरुको जीवन्त फ्ल्यास ब्याकबाट नै कथानक उनिएको छ । हस्तबहादुर असम पस्नु, उनको मृत्यु हुनु, कान्छा छोराको बिहे अधिकारीकी छोरी बोगीसँग हुनु, मामा कैरसिंहको घरमा भित्र्याउनु, मामा माइजूको गोठालो बसेर सुख नहुने निष्कर्षमा बोगी पुग्नु, बोगीको दाजु इन्द्र लिन आउनु, बोगी कान्छा सहित दाजुसँग कार्वि आङ्लोङ माइत पुग्नु कथाको पूर्व भाग हुन् । बोगी मितबाउले बुडेन्टी (आदिबासी कार्वि)ले गोठालोको काम दिनु,रहँदै बस्दै जाँदा रोहित नामको छोरो जन्मिनु, म पात्र र रोहित कृष्ण सुदामा जस्तै हुर्किनु,पढ्नु कथानकका विकास हुन्,पताका हुन् ।

रोहितले आशा मन पराउनु, आशाको बाबुले नेपाल दिने टुङ्गो गर्नु , जागिर स्थायी भएपछि रोहितले ब्रम्हपुत्र छेउकी गोरखा चेली बिहे गर्नु, म पात्र बाबुको कुरा सुनेर असम छोडी नेपाल गौरी गन्ज आउनु, रोहित आफ्नै अनेक कहालीलाग्दा र सनसनीपूर्ण सङ्घर्ष गरेर रैथाने भएर रहनु सङ्घर्ष विकाश पताका हुन् । विद्यार्थी आन्दोलन, पक्राउ, मुक्ति,धोका र विवाह चरमोत्कर्ष हुन् । नेपालमा बिहे गरेकी आसा पनि लोग्नेलाई कतार पठाएर बिराट नगरमा एक्लै, झापाको म पात्र पनि पत्नीलाई विदेश पठाएर एक्लै सङ्घर्ष ह्रासको स्थिति हो । कार्वि आङलोङमा त्यहाँका आदिबासीसँग माया बाँडेर बसेको रोहितले नेपाली भाषामा ‘रैथाने’उपन्यास लेखेर नेपालबाट पुरस्कृत हुनु कथानकको फलागम हो ।

उपन्यासको मुख्य नायक म पात्र र रोहित हुन् । यी दुईपात्रमा तीनओटै पुस्ताको सन्धि हुनाले गोलो पात्र हुन् । घटनाक्रमहरुमा कथाले मागेजस्तै भूमिका छ। सुरुमा दुवै अनुकूल पनि हुन् । आफ्नो पिताको चाहनाअनुसार पितृभूमि नेपाल छिरेर निजी स्कुल पढाउने म पात्र नेपालभित्र पनि विद्यार्थीहरु बिच ‘आसामे सर’ हुनुपर्दा पीडित छ । सङ्घर्षबाट उठेर ससुरालीको टेको पिंडोले आसाम बसेका कान्छा र बोगीको छोरो रोहित प्रवासी नभई रैथाने बन्ने आन्दोलनबाट खारिएर शिक्षकको जीवन अनि लेखकको पहिचान प्राप्त गर्न सफल छ । म पात्र उतै छँदा पनि क्रान्तिका गतिविधिसँग निरपेक्ष रहेको बयान दिन्छ । यसबाट ‘रैथाने ‘को सापेक्षतामा रोहित बढी सफल नायक हो ।

नायिकाको रुपमा पहिलो पुस्ताकी बोगी माइज्यू सासूको घरमा गोठाले जीवन जिएर पेलान खाएर भुक्तभोगी बनेकी छे । बुहारीलाई त्यस्तै सास्ती दिन्छे तसर्थ बुहारीको भुमिकामा पाठकको सहानुभुति बटुले पनि पनि सासुको भूमिकामा पाठकको घृणा पाउँछे । अनुकूल पात्र बन्न सक्दिन । अर्की नायिका आसा रोहितसँग बिहे गर्छु भन्दा सत्पात्र देखिन्छे । बाबुको आज्ञाअनुसार प्रेमका वाचा कसम तोडेर नेपाल बिहे गर्दा केही धोकेबाज जस्तो देखिए पनि नेपालमा लोग्ने विदेश पठाएर एक्लै बस्दा अलिकति सहानुभूति पाउँछे । अन्य पात्रहरु सहायक र गौण पात्रका रुपमा चेप्टो भूमिकामा भएकाले कथानकलाई आवश्यक पर्दा देखा पर्ने पात्र हुन् तर सबै पात्रको महत्त्व भने उत्तिकै छ । खलनायकको रुपमा कैरसिहं महाजन देखिन्छन् । चिल्लो बोलेर भानिजलाई जीवनभर दास बनाउने उसको प्रवृत्ति सामन्त चरित्रको उद्वोधन गराउँछ ।

म पात्रको वर्णनात्मक समाख्यान भएकोले आन्तरिक(प्रथम पुरुष)दृष्टिविन्दु जस्तो लागे पनि समाख्याताभन्दा अनुकूल भुमिकामा रोहित रहेको र म पात्र पनि उसको वरिपरि घुमेकोले तृतीय पुरुष (वाह्य) दृष्टि विन्दुमा संरचित छ । ब्रह्मपुत्र र कपिली नदीको प्रवाह जस्तै प्रवाह मय भाषा र वर्णनात्मक शैली छ । पात्र अनुकूल संवाद र उखान टुक्काको समुचित प्रयोगले भाषालाई जीवन्त बनाएको छ। प्राकृत्तिक विपत्ति र मानवीय विकृतिसँग निम्न वर्गका पात्रले गर्नु परेको सङ्घर्ष होस् वा राज्यका प्रहरी, आतङ्ककारी समूह र चोर डाकासँग बस्तीका मान्छेले गर्नुपरेको सङ्घर्ष दुवै ठाउँमा द्वन्द्व छ । कथानकको प्रारम्भदेखि १८ औं परिच्छेदसम्म लगा लगी पढ्दा कौतुहलताको चुम्बकले पाठकलाई आराम गर्न छुट दिँदैन ।

कतै क्रोध, आक्रोश र घृणाको मूल फुट्छ त कतै करुणा, प्रेम र सहानुभूतिको भाव उठ्छ । ब्रम्हपुत्र नदीको सभ्यतामा नेपालका प्रवासी जीवनले रैथाने बन्न जनजीविका र राजनीतिको क्षेत्रमा कति रगत,पसिना र आँसु चुवाउनु पर्यो ? त्यहाँका आदिबासी मिकिर, कार्विलगायत असामियाहरुले कति माया गरे ? कार्वि आङ्लोङ्को मानव सभ्यतामा आदिबासी र प्रवासीको बिचको सम्बन्ध कसरी सुदृढ भयो । नेपाल सम्झेर आउनेहरुको जीवन सुखद बन्यो त ? जस्ता जिज्ञासाहरुमाथि गहन विश्लेषण गर्नु कृतिको अभीष्ट बन्न पुगेको छ ।

प्रस्तुत कृति समेत १५ ओटा कृति प्रकाशित गरिसकेका उपन्यासकार काफ्ले १५ ओटा पुरस्कार तथा सम्मानले विभूषित भइसकेका छन् । प्रवासी साहित्यमा एक पृथक् दृष्टिकोण सहित बसाइँ सराइ र शरणार्थीको भोगाइ विपरित रैथाने विषयवस्तुमा आधारित छ । दुर्गा खतिवडाले भने झैं-“जन्मभूमिमा पुर्खाको सम्झना बोकेर अस्तित्व र चिनारीको लागि सङ्घर्ष गरेको आत्मकथा हो-“रैथाने” उपन्यास। पढिसकेपछि मलाई लाग्यो -उपन्यासकारले साथीलाई म पात्र बनाएर आफूलाई रोहित बनाएर भूमिका उल्टाएका छन् । उनलाई नजिकबाट चिनेसम्म उपन्यास समायोजन गर्दा रणलाई रोहित बनाएका छन्। जेहोस् सुखान्त कथानकमा लेखिएको सामाजिक यथार्थवादी उपन्यास हो-‘रैथाने।’

प्रस्तुत उपन्यासले छिमेकी मुलुकमा जन्मिएका नेपालीहरुलाई रैथाने बासिन्दाको सम्मान दिलाएको छ। लिलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास र लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ उपन्यासभन्दा एक पाइलो अघि बढेर ‘रैथाने’उपन्यास देखा परेको छ । हुन त ‘बसाइँ’ र ‘मुलुक बाहिर’का पुस्ता प्रवासी नै थिए । प्रवासी पुस्ताका सन्तान भारतभूमिमै जन्मेपछि उनका मातृभूमि भारत भयो र सन्ततिहरु रैथाने नै बन्न पुगे ।

कार्वि आङ्लोङका आदिबासी जनता र प्रवासी नेपालीका रैथाने पुस्ताबिच प्रगाढ सम्बन्धलाई उपन्यासले अरु मजबुत बनाएको छ । छिमेकी मुलुक र मित्र राष्ट्रमा बसेका नेपालीहरुलाई रैथाने बन्न सहयोगी सिद्ध बनोस् । नेपाली मन र नेपालीपनलाई माया गरेरै छिमेकी मुलुकका महान् आदिबासीसँग एकात्मकतासाथ रैथाने बनेर जिउने हार्दिक वातावरण सबैतिर सबैलाई सधैँभरि मिलोस् । सत्यम्, शिवम्, सुन्दरम्।