जुन समय, कालखण्डलाई आधार बनाएर उपन्यास लेखिएको छ त्यसबेलाको अन्य समसामयिक घटनाहरूको सम्बन्ध आपसमा जोड्न सक्नु लेखकको सबल पक्ष हो ।
महेन्द्र उपाध्यायकाे उपन्यास हाे “मिन्झारी” ।
पाँच-छ बसाइँमा मिन्झारी पढेर सकियो। उपन्यासमा विभिन्न रुप, रङ्गका कथावस्तु आइरहेको बेला, पिछाडिएका वर्गको समस्या, उनीहरूले खेप्नु परेको असमानतालाई मुख्य विषय बनाएर लेखिने उपन्यासमध्येको एक हो यो। यसले तिनीहरूको उत्थानका लागि बोलिने/गुन्जिने आवाजमा अतिरिक्त सास भर्ने देखिन्छ।
आख्यानका वाक्यमा थप मिठास ल्याउन बिम्ब, अलङ्कार जस्ता तत्त्वहरु घोलिएका हुन्छन्। पढ्दै जाँदा खोजिने/भेटिने ती तत्त्वहरू यस उपन्यासमा त्यति धेरै प्रयोग भएका छैनन्। तर पनि कथाको बहावमा आनन्द आइरहन्छ।
भौगोलिकताको हिसाबले कैलालीदेखि काठमाडौं हुँदै दैलेखसम्मको यात्रा शिव (म) पात्रले तय गर्दा उपन्यासको क्षेत्रफल विस्तार भएको छ। तर कथाले काठमाडौंमा तीव्र गति समात्छ। उपन्यासले समेट्न खोजेको मुख्य मुद्दा तत्कालीन समयमा प्रचलित कमैया प्रथा भएर नै त्यस्तो भएको होला। तर पनि घटनाक्रम एकनासले नबढ्नुले लय सिर्जनामा कमजोरी भएको देखिन्छ।
प्रकाशक वा लेखक एकको कमजोरीले वाक्य समापनमा प्रश्न छोडेको झैं हुन गएको छ। धेरै ठाउँमा पूर्णविरामको स्थान प्रश्नवाचक चिन्हले लिएको छ। हेर्दा सानो गल्ती देखिए पनि एक सुरमा पढिरहेको पाठकको एकाग्रता त्यसले बीचमा खलबलाई दिएको छ।
अन्तिमबाहेक हरेक अध्याय बड्को र अङ्कलबिचको संवादले सुरु हुन्छ। लेखकको यो मौलिकता आफैमा सुन्दर हुँदाहुँदै मैले त्यस संवादको सार अध्यायभरी भेट्न सकिनँ।
शिव पात्रको स्वभावमा बेलाबेला फेरबदल भए झैं पनि लाग्छ। कल्लुप्रति बिस्तारै सहानुभूति बढाउँदै गएको उसले केशरीलाई आफ्नो यौन इच्छा तृप्तिको लागि मात्र प्रयोग गरेको देखिन्छ। कल्लुलाई सँगै बसाउनु, उसको घर बनाउनमा खुलेर सहयोग गर्नुले एकापट्टि शिवको उदारता देखाउँछ भने अर्कोतिर केशरीबाट स्वार्थ पूरा भइसके पछि उसलाई पुरै वेवास्ता गर्नुले एकातिर शिवको निर्दयता देखाउँछ। यहाँनिर मुख्य पात्र निर्माणमा लेखकको केही कमजोरी भएको छ।
जटिल घटना, विषयहरु सरल तरिकाले बुन्दै लैजानु, विगत र वर्तमानलाई एउटै अध्यायमा मीठो तवरले गाँस्न सक्नु, एक राम्रो लेखकको खुबी हो। यस उपन्यासमा त्यस शिल्पको प्रयोग लेखकले सुन्दर ढङ्गले गरेका छन्।
कमैया प्रथा थारु समुदायले त्यस समयमा भोग्नु परेको एक अमानवीय कुप्रथा हो भनेर उपन्यास पढिसकेसि जो कोहीले ठम्याउन सक्छ। लेखकले यस प्रथालाई दुरुस्तै रुपमा उठाउनु भएको छ। उपन्यासमा आउने धेरै घटनामा त्यस बखत पहाडीयाले थारुहरुमाथि गरेको ज्यादतीका चित्रहरु छर्लङ्ग देखिन्छन्। यसरी एक जनजाति उत्पीडनमा परेको कथावस्तु उठान गरेर लेखकले सामाजिक चेतनाको पक्षमा सशक्त छाप छोड्नु भएको छ।
कुनै विशेष ठाउँ, क्षेत्रका स्थानीय कथालाई टिपेर उपन्यास तयार पार्नु चुनौतीपूर्ण काम पनि हो। त्यहाँको भाषिक, सांस्कृतिक मौलिकतालाई मर्न नदिएर पटकथा निर्माण गर्नुपर्ने सिलसिलामा लेखकको अथाह मिहिनेत प्रस्टै देखिन्छ। त्यसैले नै उपन्यासको सुन्दर पक्ष यसमा प्रयोग भएका देउडाका टुक्का र थारु भाषाको प्रयोग हो। यसले त्यहाँको माटाको सुगन्ध मजाले छरेको छ।
लेखकले पात्रहरु स्वतन्त्र र चलायमान रहन दिएका छन्। यसरी लेखक पात्रहरूमाथि हावी नहुनुले कथालाई थप आकर्षित बनाएको छ।
जुन समय, कालखण्डलाई आधार बनाएर उपन्यास लेखिएको छ । त्यस बेलाको अन्य समसामयिक घटनाहरुको सम्बन्ध आपसमा जोड्न सक्नु लेखकको सबल पक्ष हो। यस उपन्यासमा, माओवादी आन्दोलनसँग जोडिएका घटना कथाभित्र अटाएका मात्र छैनन्, कथामा उत्तिकै ठोकिन पनि पुगेका छन्। अङ्कल पात्रमा विद्यार्थी छँदा पलाएको विद्रोही स्वभावबाट जनआन्दोलनका केही प्रसङ्गहरु देखा पर्छन्। यसले त्यस बखत जनमानसमा उत्पन्न डर, त्रास र क्रान्तिको भावना उजागर गरेको छ।
केही कमी, कमजोरी बाबजुद लेखकको पहिलो उपन्यासमा धेरै मौलिकता भेटिनुले आगामी दिनको लागि प्रचुर सम्भावना देखाउँछ। भू-धरातलका कथा, किस्साहरु समेटिएका उपन्यासहरु प्रशस्तै भएता पनि यस उपन्यासमा पाठकले केही फरकपन अवश्य भेट्नेछन्। यो नै सम्पूर्ण उपन्यासको सराहनीय पक्ष हो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।