पूर्वीय सनातन धर्मसंस्कृति र दर्शनले अभिभूत एउटा ब्राह्मण परिवारको पुत्र एकाएक नक्सलपन्थी (कम्युनिष्ट) विचार धाराका अनुयायी हुन्छन् । त्यसपछिको उनको अनुभव आश्चर्य लाग्ने किसिमको छ । राजनैतिक युवा कार्यकर्ताको रूपमा उनी ज्यादै सक्रिय भएर लाग्छन् । त्यसमा त केही आपत्ति थिएन नै । जति आपत्ति थियो, उनले वैदिक सनातन परम्पराको घोर भत्र्सना गर्न थाले । पूर्वीय दर्शनलाई भ्रमात्मक भएको आरोप लगाउँदै विखण्डन गर्न उद्यत भए । सच्चा कम्युनिष्ट हुँ भन्नकै लागि पनि नास्तिकताको पक्षधर भए । कट्टर नास्तिक भएकोमा गर्व गर्न लागे ।
त्यस्तैमा अचानक स्वीट्जरल्याण्डबाट भारतमा हिन्दू धर्म तथा पूर्वीय दर्शनको अध्ययन, अनुसन्धानका लागि आएका एक अध्येतासँग उनको भेट हुन्छ । त्यसपश्चात् उनी अर्को कुइनेटो मोडिन्छन् । झसङ्ग हुन्छन्—हामी त महान् पूर्वजका सन्तान रहेछौँ । देवभूमिका सन्तति रहेछौँ—जहाँ जन्मिनु मात्रै पनि एउटा सौभाग्य रहेछ । त्यो कुरा उनले बोध गरे ।
टाढा टाढा दूरदेशसम्म फैलिएको भारतभूमिको सुवास, पुर्खाको यश कीर्तिले जगत् नतमस्तक भएको उनले थाहा पाए । रूढ देख्दै आएको प्राचीन सम्पदा कति मूल्यवान् रहेछ । समयभन्दा युगौँ अग्रगामी रहेछन् हाम्रा मानसपुत्रहरू अनि उनीहरूका प्रतिपादित दर्शनहरू । आजको विज्ञान पनि पुग्न नसकेको ठाउँमा उनीहरू पुगिसकेका रहेछन् । पछिल्लो समयका वैज्ञानिकले पत्ता लगाउन नसकेका कुरा हाम्रा ऋषि महर्षिले उसै बेला जानिसकेका रहेछन् ।
एउटा कुरा भनिहालूँ, शुरुमै म प्रस्ट हुन चाहन्छु—यस आलेखमा मैले पूर्वीय सभ्यता पुस्तकबाट—विषय सान्दर्भिक हुने—अनेक विद्वान् विदुषीका केही अभिव्यक्तिहरू लिएकी छु ।
प्राचीन भारतभूमिको उज्यालोमा पश्चिमाले गणित सिके, विज्ञान जाने । अरू धेरै थोक सिके ।
महान वैज्ञानिक आइन्स्टाइन कृतज्ञ हुँदै भन्छन्, “हामी पूर्वीयप्रति चिर ऋणी छौँ किनकि उनीहरूले हामीलाई गणित सिकाए; त्यसको अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन (पृ.९१) ।”
भारतवर्षको उदात्त ज्ञानको अन्तर्तहमा आफूहरू पुग्न नसकेको बताउँछन्, अर्का अमेरिकी भौतिकशास्त्री ज्याक सर्फाती, “सामान्य सापेक्षता र प्रयात्रा (रिलेटिभिटी तथा क्वान्टम) सिद्धान्त दुईवटा कुरा ब्रह्माण्डीय संज्ञानविषयक गम्भीर सिद्धान्तका परिपूरक पक्ष हुन् भन्नेमा मलाई सन्देह लाग्छ । ब्रह्माण्डीय संज्ञान अर्थात् भारतवर्षको साङ्ख्य दर्शन नै सम्पूर्ण सृष्टिको आधार हो (पृ.१२९) ।”
पूर्वीय सभ्यताको गौरव बोधपश्चात् उनी आफैँलाई अवज्ञा गर्छन् । आफ्नो मूढाग्रहप्रति खिन्न भई पूर्वस्थितिमा फर्किन्छन् । अघिदेखि सम्बोधन गरिएको ‘उनी’ तिनै ब्राह्मण पुत्र शिवाकोटी ‘राजेन-चन्द्र’ हुन् । समाजसेवी, एक अभियन्ता उनको लक्ष्य महान् छ, ठूलो छ । उनी एक समाज अध्येता पनि हुन् । उनको समाज सुधारक व्यक्तित्व स्मरणीय छ । अनुसरणीय छ । गृहस्थी जीवनबाट उन्मुक्त भएका, लोक हितमा समर्पित उनी एक त्यागी पुरुष हुन् ।
अनेक संघसंस्थाको आजीवन सदस्यता र संलग्नताले शिवाकोटीको सामाजिक व्यक्तित्वलाई बुझ्न सकिन्छ । कथा, कविता, नाटकमा रुचि भएका उनी साहित्यकार पनि हुन् । अझ बढी अध्येता हुन् । गीत, सङ्गीतका पारखी— उनको प्रतीक्षा गीति एल्बम सन् १९८८ मा सार्वजनिक भएको छ । त्यस्तै उनी नाटक निर्देशक पनि हुन् । उनका आधा दर्जन धार्मिक तथा साहित्यिक पुस्तक प्रकाशन भइसकेका छन् ।
यस बखत म उनको प्रकाशोन्मुख ग्रन्थ प्रकाशपुञ्ज (वैदिक विज्ञानको उज्वल परम्परा) पढेर विचारोत्तेजक अवस्थामा छु । शीर्षक आफैँ बोल्छ—हाम्रा पुर्खाले आर्जन गरेका प्रद्दीप्त ज्ञान विज्ञानको—केही थोकको सङ्ग्रहलाई प्रकाशपुञ्ज भनिएको छ । यो एक खोज अनुसन्धानात्मक पुस्तक हो । यसमा आध्यात्मिक विज्ञान र भौतिक विज्ञानको संयोजन गरिएको छ । अदृश्य अगोचर सत्य र भौतिक सत्यको उत्खनन गरिएको छ ।
यदि प्रकाशपुञ्ज हिन्दू सम्प्रदायका कट्टरपन्थीले तयार गरेका हुन्थे भने उनले प्रशस्तिका खातिर लेखेका भन्ने अर्थ पनि लाग्न सक्थ्यो । त्यसो त शिवाकोटी हिन्दू सम्प्रदायकै एक क्रियाशील अध्येता हुन् । तथापि उनी अन्धानुभक्त, अनुयायी भने होइनन् । कम्युनिष्ट सिद्धान्तका कार्यकर्ता पछि गएर पूर्वीय वाङ्मयको खोजमा लाग्नु निश्चय त्यसमा केही थियो र उनले मार्ग बदलेको कुरा थाहा हुन्छ ।
आध्यात्मिक र भौतिक दुवैमा शिखर पुगेको प्राचीन भारतवर्षलाई सभ्यताको आदि स्रोत मानिन्छ । जगतले यसरी लिएको छ । जर्मन दाशर्निक जोहान गटफ्रिड हर्डरको भनाइ पनि त्यही रहेको छ, “मानव जातिको उत्पत्तिको आद्यरूप खोज्दै जाँदा भारतवर्षमा पुगिन्छ, जहाँ मानव मस्तिष्कले सर्वप्रथम विद्वता र सदाचारको आकार पत्ता लगायो । ती गुणहरू सरलताले र शक्तिले उदात्तता सम्पन्न थिए, जसका तुलनामा कुनै कुरा हामी युरोपेलीहरूका, यो चिसो दार्शनिक जगतका कसैका मनमा आउँदैनन् (पृ.४४) ।”
मैले केही समय अघि अन्वेषक शलील ज्ञवालीको खोजमूलक पुस्तक ग्रेट माइन्ड्स अन इण्डियाको नेपाली अनुवाद पूर्वीय सभ्यता पढेकी थिएँ । डा. गोविन्दराज भट्टराईले त्यसको अनुवाद गरेका थिए । उक्त पुस्तकबाट मलाई अद्भुतको शक्ति मिलेको थियो । हामी साधारण पुर्खाका सन्तति होइन रहेछौँ । अब हामी पनि केही विशेष हुनुपर्छ भन्ने भयो । पूर्वजको प्रतिष्ठा पुनः प्रज्वलित गर्नुपर्छ—एउटा सुषुप्त चेतना ब्युँझियो । फेरि गर्न सक्ने त केही होइन । त्यसो त केही गर्न असमर्थ भए पनि प्राचीन गौरवको ज्ञान हुनु मात्रै पनि ठूलो सौभाग्य हो । त्यही ज्ञान नहुँदा हाम्रो अस्तित्व मेटिँदैछ ।
एक किसिमले हामी परिचय सङ्कटको अवस्थामा छौँ । हीनता बोधले आफू, आफूजस्तै हुन छोडेको धेरै भयो । दुःखको कुरा अरू जस्तो हुन पनि सकेका छैनौँ । उता पश्चिमीहरू, युरोपेलीहरू भारतवर्षलाई हृदयदेखि स्तुति गरेको सुनिन्छ । हाम्रा तपस्वी मुनिहरूका अद्भुत ज्ञान शक्ति देखेर सम्मोहित भएका छन् । उदेक लाग्ने कुरा त के छ भने फेरि हामी चाहिँ निरर्थक देखेर पूर्वीय दर्शनलाई सम्झिन पनि चाहँदैनौँ । अझ होइन त्यसले हामीलाई आधुनिक हुन वञ्चित गरेको आक्षेप लगायौँ । फेरि होइन, त्यसलाई बहिष्कार गर्नु नै उत्तम ठहर्यायौँ । संस्कृतका पुस्तकहरू जलाइनु, स्कूलमा पठन पाठन रोक्नु आफ्नै अपनत्वमाथि क्रुद्ध भएर गरिएको विद्रोह थियो त्यो ।
यस दुखद अवस्थामा अमेरिकी कवि टी.एस.एलिअटको वाणी स्मरण गरेर आफूलाई शान्त बनाउन चाहन्छु, “पूर्वीय दार्शनिकहरूको विलक्षणताका तुलनामा महान् युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन् (पृ.९८) ।”
आफैँप्रति वितृष्णा पैदा हुनु एक अपवाद हो । असल र खराब पहिचान गर्न नसक्ने गरी हामी रुमलिएका छौँ । विपथगामी भएका छौँ । दूरभूमिका विद्वत्जन मणि खोज्दै हामी कहाँ आउँदा, हामी भने त्यसलाई नास्नमै तत्पर छौँ ।
विडम्बनाको यस घडीमा अनुसन्धाता शिवाकोटीको प्रकाशपुञ्जले केही राहत दिने छ भोलिका दिनमा । धार्मिक सम्प्रदायहरूले एउटा साझा मानसिकता निर्धारण गर्दै आएका छन्— त्यो के भने धार्मिक दर्शन विज्ञान सम्मत हुँदैन । ती मिथ्या र अतिरञ्जित हुन्छन् । विश्वका अनेक धार्मिक वैचारिकतालाई अव्यावहारिक मानिन्छ । यसैबीचमा हिन्दू धर्म पनि एउटा धार्मिक सम्प्रदाय नै हो हुन् त । तथापि यसले आध्यात्मिक दर्शनसँगै भौतिक विज्ञानलाई पनि सम्बोधन गरेको छ । वैज्ञानिक रूपमा अर्थ्याउन सकिने प्रशस्त आधारहरू छन् । अहिलेको विज्ञान त्यसैको जगमा अडेको बताउँछन् पश्चिमाहरू ।
कतिपय धार्मिक सम्प्रदायमा मतान्ध प्रचारक र अनुयायीहरू अरू बढी कठोर हुन् । अन्य सम्प्रदायलाई निन्दा गरेको पनि देखिन्छ । हिन्दू सम्प्रदायमा त्यस्तो पाइँदैन । महान् चिन्तक अरविन्दो भन्छन्, “जसलाई हामी हिन्दू धर्म भन्दछौँ, यो वास्तवमा अनन्त धर्म हो किनभने यसले सारा धर्मलाई स्वागत गर्दछ (पृ.८७) ।”
उता प्रसिद्ध अमेरिकी विदुषी लिन्डा जोनसेनले पनि त्यस्तै केही भनेको सुन्छु, “हिन्दू धर्म एक विश्वधर्म हो, जसले अन्य मत/धर्महरूलाई आदरसाथ स्वागत गर्दछ, किनकि यसले दैवी अनुकम्पाबाट केही पनि वर्जित हुनु हुँदैन भन्ने धारणामा विश्वास गर्छ (पृ.३५) ।”
हिन्दू धर्म विज्ञान स्वीकृत भएको बताउँदै फेरि भन्छिन्, “हामी हिन्दू धर्मजस्तो पूर्वीय धर्मको क्षमताबाट प्रभावित छौँ—ब्रह्माण्डको आयु र आकृतिजस्ता अनेक महत्त्वपूर्ण विषयमा धेरै पक्षबाट हेर्दा यो धर्म विज्ञानसम्मत देखिन्छ । आज यो सार्वभौम चेतना धर्मको अवशेषका रूपमा रहेको अन्तिम अन्तः क्षेत्र हो ।”
हिन्दूशास्त्र चराचर सृष्टिको हितमा रहेको छ । उदार छ । हरेक प्राणीको प्राणतत्त्व एउटै रहेको, स्वरूपले मात्र भिन्न भएको, मानवेतर प्राणीको अस्तित्वलाई समेत स्विकारिएको छ । मानवेतर जगतलाई पनि समदृष्टिले हर्ने हाम्रा तपस्वी पुरुषहरू एकात्मवादका समर्थक थिए । उनीहरूले प्रकृतिलाई प्राण दाताको रूपमा उपासना गर्न सिकाएका थिए । हाम्रा आदर्श ग्रन्थहरूमा सृष्टि, स्थिति र संहारको वैज्ञानिक आधार रहेका छन् । पृथ्वी, भूमण्डल, तारा, नक्षत्र सबै सबैको अध्ययन गरिएको पूर्वीय दर्शन व्यापक छ, विस्तृत छ । आधुनिक युगको प्रविधि पनि त्यो गहिराइमा पुग्न नसकेको बताउँछन् वैज्ञानिकहरू । हाम्रो प्राचीन आँगनमा विशद ज्ञानराशि देखेर उनीहरू विस्मित छन् ।
प्रकाशपुञ्जबाट धेरै थोक ज्ञान हुन्छ । प्रागैतिहासिक कालमै पूर्वीय सभ्यता सम्पूर्ण रूपले समृद्ध थियो । ज्ञान-विज्ञानका र आविष्कारका क्षेत्रमा समगति थियो । बीचमा आएर कसरी अवनति भयो ? त्यो खोजको विषय हो । अब हामीले पूर्व स्थितिमा पुग्ने लक्ष्य राख्नुपर्छ जुन स्थितिमा हाम्रा पुर्खाहरू थिए । त्यसको लागि प्रथमतः पौरस्त्य वाङ्मयहरूको आधुनिक किसिमको खोज अध्ययन हुनुपर्छ । त्यसो हुन आवश्यक छ ।
युरोप, अमेरिका, पश्चिमी मुलुकहरू पूर्वको अपार ज्ञानपुञ्जबाट कति थोक जानेर उत्कर्षमा पुगे, हामी चाहिँ उनीहरूको उपलब्धिमा दङ्ग परेका छौँ । जसलाई देखेर हामी विस्मित भएका छौँ तिनीहरू हाम्रा महर्षिलाई देखेर झनै विस्मित भएका थिए । बेलायती महान दार्शनिक एवं गणितज्ञ अल्फ्रेड नर्थ ह्वाइटहेडले त्यसै भनेका छैनन्, “आजका सबैभन्दा महान् ज्ञानले पनि प्राचीन भारतवर्षका ऋषिहरूका बुद्धिलाई जित्न सक्तैन अनि अहिलेको सर्वाधिक उन्नत अवस्थामा देखिएको विज्ञान वेदान्तको थोरै नजिक मात्र पुगेको छ (पृ.७७) ।”
पश्चिमीहरू बडो इमानदारी लाग्छन् । उनीहरू आज आफूलाई गर्व गर्ने भएका छन्—तथापि त्यस स्थितिमा पुग्नुको श्रेय भुलेका छैनन् । पूर्वको अनमोल ज्ञानराशिलाई खुलेर प्रशंसा गरेका छन् । हाम्रा पूर्वजहरू तपस्वी मात्र थिएनन् वैज्ञानिक पनि थिए । केही समयको शोध र अध्ययनबाट प्राप्त नतिजा—प्रकाशपुञ्जमा त्यो तथ्य अभिव्यञ्जित छ ।
आज हामीलाई यस्तो शिक्षा चाहिएको छ जसले हामीलाई सन्तुलन र मानसिक रूपले सबल जीवन बाँच्ने कला सिकाओस् । त्यसको लागि हामी कहीँ भड्किनु पर्दैन । हाम्रै पूर्वीय वाङ्मयमा ती कुरा पाइन्छन् । ज्ञान र विज्ञान दुवै थोक यहीँ प्राप्त गर्न सक्छाैँ । यद्यपि त्यसको लागि हाम्रो चिन्तनको दायरा विस्तृत गराउनु पर्छ—जति विस्तृत हुन सक्छौँ त्यति नै पाउन सक्छौँ । समुद्रमा पानी त्यति मात्र लिन सकिन्छ जत्रो आफ्नो बर्तन छ । त्यस्तै हुन् वेद, पुराण, उपनिषद, गीतादिहरू ।
जर्मन विद्वान् अगस्ट विलहेल्म भोन स्लेगेल पूर्वीय दर्शनका अगाडि आफ्नो ज्ञानशास्त्र अकिञ्चन भएको यसरी बताउँछन्, “युरोपेलीहरूको उच्चतम दर्शन पनि वेदान्तका तुलनामा एउटा निस्तेज फिलिङ्गोजस्तो मात्र देखिन्छ (पृ.५१) ।”
भोन स्लेगेलकै अभिव्यक्तिको सिलसिलामा मलाई भगवद्गीताको थोरै सन्दर्भ जोड्न मन लाग्यो । शुरुमा मानिसले स्वयंलाई बोध गर्न सक्नुपर्छ । ऋषिमुनिहरूले अति उच्चतम ज्ञान प्राप्त गर्नुको पछाडि रहस्य त्यही थियो । आफैँभित्रको उज्यालोलाई देखेपछि असम्भव भन्ने केही छैन । म त भन्ने गर्छु अब गीताको पाठ शिशु कक्षादेखि नै हुनुपर्छ । यद्यपि त्यो पठन वैज्ञानिक आधारमा हुनुपर्छ । पाठ कण्ठ पार्ने र शाब्दिक अर्थमा भुलेर हामी बर्बाद हुँदै आयौँ । गहिराइमा पुग्न नसक्दा हाम्रा दर्शनशास्त्रमा ऐँजेरु लाग्न थाले ।
प्रथमतः यस धर्तीमा आफ्नो गौरवशाली अस्तित्व कायम राख्न मानसिक रूपमा बज्र जतिकै बलियो र स्वस्थ हुनुपर्छ । यतिसम्म कि मृत्यसँग पनि नडग्ने । केहीले विचलित गराउन नसक्ने । त्यतिखेर मात्र हामीले चाहेको कुरा सम्पादन गर्न सक्छौँ । आकाशकै तारा टिप्न पनि सक्छु जस्तो अनुभूति हुन थाल्नेछ । त्यो अनुभूति गीताले दिनेछ । जब अर्जुन युद्ध गर्न उद्यत हुँदैनन्, अधैर्य हुन्छन् । त्यतिखेर कृष्णले उनलाई युद्धका लागि तत्पर बनाएका थिए । आजका हामीलाई कृष्ण जस्तै एक मनोवेत्ता चाहिएको छ । जसले आफूभित्रको क्षमतालाई चिनाइदियोस् । हामी मानसिक रूपमै शिथिल छौँ । लघुताभासले अग्रगामी हुन रोकेको छ । लक्ष्यहीन भएका छौँ । त्यसको परिणति वर्तमानका हामी हौँ ।
भौतिक सुख सुविधाले मानिसलाई यश आराम त दियो, वैभवपूर्ण बनायो । तथापि मानसिक रूपमा समृद्ध भएनौँ । अस्थिर छौँ। अधैर्य छौँ । ससना कुरामा द्वन्द्वरत छौँ । संयमता गुमामएका छौँ । गीताले हामीलाई त्यसो हुनबाट जोगाउँछ । आन्तरिक शक्तिको पहिचान गराएर प्राणत्वको बोध गर्न लगाउँछ । त्यो बोध गर्न सक्यौँ भने हामी स्वयं प्रकाश्य हुनेछौँ । अझ बढी त कर्मयोद्धा हुनेछौँ । कृष्णले हामीलाई कर्ममा एकाग्र हुन अभ्यस्त बनाउँछन् ।
प्रकाशपुञ्जका लेखक शिवाकोटी एक क्रान्तिकारी धार्मिक योद्धा हुन् । यस पुस्तकमा उनले हाम्रा पितामह (ऋषि) का कर्मलाई दुई खण्डमा विभक्त गरेका छन् । पहिलोमा भौतिक विज्ञानका विषय छन् । आविष्कारका कुरा छन् । दोस्रोमा आध्यात्मिक विज्ञानका कुरा छन् ।
तपाईं हामीलाई लाग्न सक्छ—आध्यात्मिक विषय कहिल्यै वैज्ञानिक हुनसक्छ ? त्यो एउटा भ्रममाथि गरिएको विश्वास मात्र हो । अझ कतिले त अध्यात्मलाई कर्मकाण्ड र मूर्ति पूजासँग जोडेर हेर्ने गर्छन् । तर होइन । अध्यात्म र कर्मकाण्ड अलग कुरा हुन् । सबै कर्मकाण्डीहरू अध्यात्मवादी नहुन सक्छन् । यतिखेर धर्मकर्म पूँजीकरण भएका छन् । विधानको साधना र कर्मको साध्य नभई औपचारिकतामा ती अनुष्ठान सम्पादन भएका छन् । कर्मकाण्डीय पद्धतिमा वितृष्णा उत्पन्न हुनुको जड यही हो । यस किसिमको धार्मिक अनुष्ठान गर्दा नगर्दा केही फरक पर्दैन भने नगर्नुमा पनि केही अनर्थ हुँदैन । त्यो त एउटा लोक ढाँट्ने कर्म मात्रै भएको छ ।
वैदिककालमा कति थोक यज्ञबाटै पूरा गरिन्थ्यो । शत्रु क्षय तथा विजय यज्ञादिबाटै हुन्थ्यो । राजा द्रुपदले शत्रु विनाशको लागि यज्ञबाटै द्रौपदी र उनका भाइ अनि शिखण्डीलाई जन्माएका थिए । अहिले त्यस्तो सम्भव छैन । किनकि ती कर्महरू अघि नै भनियो औपचारिकतामा सीमित भए । त्यसको लागि साधना र तपोबल खै ? सत्यता अनि सत् आचरण खै ? धैर्य र विश्वास खै ? बरु उल्टै शास्त्रलाई हामीले तथ्यहीन बनाउँदै गयौँ । अपव्याख्या गर्दै रह्यौँ ।
वैदिक सभ्यताको थोरै मात्र कुरा पनि अहिले हुने हो भने हामी विश्वकै शक्तिशाली हुने थियौँ । हामीले वेद बुझेनौँ । यो कुरा बुझ्न जरुरी छ । जीविकामै हामी खुम्चियौँ । जीविकामै हाम्रा शास्त्रहरू सीमित भए । यसो भनौँ न जानेरै अझ नजानेरै शास्त्रको व्यापार भयो । वैदिककालीन सभ्यतालाई एउटा संस्कारको रूपमा अनुसरण गर्दै आयौँ । कर्मको रूपमा होइन ।
हाम्रा ती शास्त्रहरूले सृष्टिका यावत प्राणीलाई अभिन्न मान्छ । मानव र पशुमा पनि भेद राखिएको छैन । सम्पूणर्मा उही प्राणतत्त्व रहेको बताउने —एकात्मवादले हरेकलाई आफूजस्तै देख, आफूजस्तै ठान भन्छ । म र अरूको भेद नराख्न भन्छ । दोस्रो व्यक्तिलाई दुखेको पीडा आफ्नै भएको अनुभूत गर्न लगाउँछ । त्यतिखेर सारा जगतकाे अस्तित्व उसले आफैँमा समाहित भएको पाउँछ । हो त्यस निमेष उसमा हिंसाको भाव कहीँ हुँदैन । ऊ आफैँमा एउटा सृष्टिकर्ता जस्तो अपार करुणा र सद्भावले आर्द्र हुन्छ ।
यस्तो चेतनालाई अब हामीले विश्वसामु पुर्याउनु पर्छ अर्थात् अमृत समान हिन्दू दर्शनलाई सबैमाझ चिनाउनु पर्छ । जसको उद्देश्य सम्पूर्ण मानव जगत् शान्तिकामी होऊन् । अरूको अस्तित्वलाई पनि स्वीकार्न सकून् । मानवेतर प्राणीलाई पनि हित भावले हेर्न सिकून् । बन्धुत्वको भावनाले ओतप्रोत होऊन् ।
पूर्वीय दर्शनले प्रकृतिलाई ईश्वर समान पुकारेको छ । कति महान्, कति अग्रगामी, कति पश्चगामी प्रभाव पार्ने ती अमर चेतना छन् । त्यस कुरालाई नबुझेर हामीले अन्धविश्वासको आक्षेप लगाउँदै आएका छौँ । अवैज्ञानिक भएको तर्क राख्दैछौँ । पश्चिमाले आज आएर बल्ल प्रकृतिको अस्तित्वलाई स्वीकार्न सकेको छ । प्राचीन भारतका मुनिहरूले उहिल्यै स्वीकारेका थिए । प्रकृति, धर्ती जे भनौँ उनी प्राणरक्षक भएको जानेर नै उपासना गरिएको थियो । कृतज्ञ हुन सकेका थिए ।
पञ्चतत्त्वले नै जीव निर्धारण गर्ने र जीव बाँच्ने आधार नै पञ्चततत्त्व भएको सत्यलाई अझ पनि हामीले बुझेनौँ र हाम्रो दर्शनलाई भ्रमपूर्ण भएको आरोप लगायौँ । एकै निमेष वायुको गति रोकिने हो भने सारा जगत् तत्क्षणमै विनाश हुनेछ । अनि कसरी वायुको अस्तित्वलाई स्वीकार्नु अवैज्ञानिक भयो ? कृतज्ञताको भावमा पृथ्वी, जल, वायु, तेज, आकाश त्यस्तै अरू प्राकृतिक तत्त्वको उपासना गर्नु कसरी भ्रमपूर्ण भयो ? हाम्रो दृष्टि विज्ञान सम्मत हुन सकेको छैन । त्यसो हुँदा मिथ्या ठहर्याउँदै आयौँ पूर्वीय सभ्यतालाई ।
विश्वमा यति तर्कपूर्ण धर्मशास्त्र शायदै होला जति हिन्दू धर्मशास्त्र अकाट्य छ । महान् बेल्जियन लेखक काउन्ट मौरिस म्याटरलिङ्कको भनाइ पनि यही रहेको छ, “हिन्दूहरूको धर्म कसरी उत्पत्ति भयो भन्ने कुरा हामी भन्न सक्दैनौँ । यसबारे सचेत हुँदा, हामी अघि नै यो भूमि आफ्ना व्यापक रूपरेखामा र प्रमुख सिद्धान्तमा पूर्ण भैसकेको पाउँछौँ । यो पूर्ण मात्र हैन अपितु हामी पछि फर्केर जति टाढासम्म हेर्छौं यो त्यति नै परिपूर्ण पाइन्छ, अनि त्यति नै अप्रदुषित र त्यति नै बढी आधुनिक अनि अज्ञेयवादका भव्यतम अनुमानसँग अर्थात् सैद्धान्तिक मीमांसासँग जोडिएको पाउँछौँ तर सुदूर अतीतको समयतिर जाँदा यो जति पूर्ण छ र जति अमिश्रित छ, त्यति बढी आधुनिक अज्ञेयवादी महान् अनुमानसँग नजिकबाट जोडिएको पाइन्छ (प.७९) ।”
अघिदेखि भन्न खोजिएको विषय बीचैमा छुटेछ—आध्यात्मिक विषय के वैज्ञानिक हुन सक्छ ? भन्ने प्रश्नमा म बोल्दै थिएँ । अध्यात्मवाद प्रकृतिवादको समानार्थी शब्द हो । जब प्रकृति भ्रमपूर्ण छैन भने अध्यात्म कुन विश्लेषणले मिथ्या हुन सक्छ ? अदृश्य अन्तर्जगत्को वैज्ञानिक अध्ययन गर्ने विधा नै अध्यात्मवाद हो । माया, प्रेम, सद्भाव, आस्था, विश्वास, सहानुभूति जस्ता भावनात्मक विषयको अध्ययन निकै जटिल कुरा छ । मनोविज्ञानसँग अध्यात्मवादको धेरै थोक मेल खान्छ । मन, बुद्धि, विचार, चेतना, आत्मा (प्राणतत्त्व) जस्ता अति सूक्ष्म विषयको विस्तृत विश्लेषण गीतामा श्री कृष्णले गरेका छन् । धर्तीकै, सृष्टिकै उनी पहिलो मनोवैज्ञानिक हुन् । उनको त्यो गहनतामा अझ पनि कोही पुग्न सकेको छैन ।
वर्तमान जगत् यान्त्रिकीरण भएको बेला छ । भौतिकता मात्रै शिखरमा पुग्यो, आध्यात्मिकता शून्य स्थितिमा छ । दया, माया, करुणा, सद्भाव, सहानुभूति बेगरका हामी स्वरूपले मात्रै मान्छे भएका छौँ—मानवता हराउँदै गएको छ । मानवताको पाठ त आध्यात्मको मार्ग हो । बालकृष्ण समको भनाइ फेरि स्मृतिमा दोहोर्याउन मन लाग्यो—ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ । हो एक दिन ज्ञान विज्ञान दुवै मर्छन । तर ज्ञान हाँसेर मर्छ भने विज्ञान रोएर ।
बोल्छु भन्दाभन्दै एउटा कुरा त फेरि छुटिसकेछ त्यो नबताइकन अध्यात्मवाद अधूरै रहनेछ । हाम्रा तपस्वीले मानसिक रूपमै सबल हुनको लागि भनेका थिए—जब हाम्रो वशमा नरहेको समयलाई बन्धित गर्न खोज्छौँ त्यतिखेर हामी धेरै दुःखी हुनेछौँ । समयलाई नियन्त्रित गर्ने होइन । त्यसो त नियन्त्रण हुने पनि होइन । बस् समयअनुसार गतिशील हुनु मानवीय धर्म हो, अर्थात् हामीले चाहे अनुसारको नहुनु, नइच्छ्याइएको कुरा घट्दै जानु नै हाम्रो नियति हो । त्यसलाई स्वाभाविक रूपमा स्वीकार्नु नै अध्यात्मको मूल चुरो हो । जब त्यसलाई स्वीकार्न अभ्यस्त हुन्छौँ, हो त्यतिखेर हामीलाई कुनै पनि आँधीले दुर्बल बनाउन सक्दैन । समयको दायित्व अझ भनौँ नियतिको जिम्मेवारी लिन जब हामी तयार हुँदैनौँ त्यस बखत हाम्रो अभिमान पनि मत्थर हुन थाल्छ । त्यही अभिमानले त हो हामीलाई व्यर्थमा दुखाइरहने ।
त्यस्तै विषय सन्दर्भमा अर्को कुरा पनि आवश्यक लाग्यो—हाम्रो बुझाइमा के छ भने अध्यात्मवादले भौतिकतालाई अस्वीकार गर्छ । त्यसो होइन । अध्यात्मले भौतिकतामाथि प्रतिबन्ध किमार्थ लगाउँदैन । केही तथाकथित धार्मिक सम्प्रदायले धर्मको नाउँमा कठोर आचार संहिता बनाउँदै थप्दै जड स्थितिमा पुगेको प्रशस्तै पाइन्छ । एउटा प्राणवान् देह आफूलाई जीवित राख्न, गतिशील हुन उसले भौतिकता, समय र परिस्थितिलाई ग्रहण गरेकै हुन्छ । हाम्रो अस्तित्व भौतिकतामै अडिएको हुन्छ भने आध्यात्मिक व्यक्ति कसरी अभौतिक हुन सक्छ ? कसरी गतिहीन हुन सक्छ ?
अलग कुरा त्यति हो अध्यात्मले आन्तरिकताको अध्ययन गरेको हुन्छ । प्रकृतिप्रति कृतज्ञ हुन सिकाउँछ—उसको अस्तित्वलाई ससम्मान पुज्न लगाउँछ । प्राणतत्त्वको बोध गर्न अह्राउँछ । नचाहेरै पनि कति परिस्थितिको सामना गर्नु पर्दा नियतिको सत्तालाई बुझ्न सिकाउँछ । जीवनलाई सरल र शान्त बनाउने यस्तोे अद्भुत ज्ञान भौतिक विज्ञानले किञ्चित सिकाउँदैन । अन्तर्हृदयको असाधारण सुखानुभूति बाह्य जगतमा कहीँ छैन भन्ने अमूल्य कुरा पनि यसैभित्र छ । कलात्मक जीवन त्यतिखेर हुन सक्छ जतिखेर भौतिकता र आध्यात्मिकताको समीचिन सन्तुलन कायम रहन्छ ।
पूर्वीय मनीषीले सुन्दर जीवनको लागि यस किसिमको विलक्षण ज्ञान छोडेर गएका थिए । अध्यात्मवादको पक्षमा मात्र बोल्दा हुन् त उनीहरू अपूर्णै हुने थिए । आधुनिक युगका वैज्ञानिक समेत उनीहरूप्रति श्रद्धावान् हुनुको पछाडि त्यही विज्ञानका कुरा छन् । वैदिककालमै हाम्रो सभ्यता विज्ञान प्रविधि सम्पन्न थियो । रामायणकालीन समय हेर्नू त्यहाँ विज्ञानको कत्रो चमत्कार छ । रावण वायुयान चढेर सीतामातालाई हर्न आएको प्रसङ्ग छ । महाभारतकालीन सभ्यतामा वर्तमान युग पुगेकै देखिँदैन । त्यस समयको उच्च आधुनिक शस्त्रास्त्र अहिले पनि बनिएका छैन शायद । अग्नि उत्पन्न गर्ने, पानी वर्षाउने, बादल उमार्ने, सागरको जलराशि नै सुकाइदिने जस्ता अस्त्र साधारण कुरा हुन् ?
प्रकाशपुञ्जले मलाई ज्ञान विज्ञानका सम्बन्धमा यति धेरै कुरा मनमा उब्जाउने एउटा अवसर दिएको छ । पुस्तक पढ्दै गर्दा पुनः पुनः ती महान् पुर्खालाई सम्झिएर झुकेँ । नमन गरेँ । त्यो महिमाशाली इतिहासलाई जान्न बुझ्न नसकेकोमा क्षमादान मागेँ । हामीले कति बेकम्मा, कति मूल्यहीन ठानेका रहेछौँ महान् सभ्यतालाई, महान् कर्मलाई, महान् दर्शनलाई । आफ्नै उद्धारको निम्ति भए पनि अब पूर्वजको खोजी गरिनु पर्छ । अन्वेषक शिवाकोटीबाट अत्यन्तै राम्रो काम भएको छ । यस्तै अन्वेषक हामीलाई चाहिएको छ, जसले पूर्वीय वाङ्मयलाई वैज्ञानिक आधारमा अध्ययन गर्न सकोस् । पूर्खाका ती दर्शनशास्त्रलाई मनन गर्न, ज्ञान र विज्ञान दुवैमा दक्ष भएको अध्येता चाहिन्छ ।
नवीन ज्ञान नभएका श्लोक मुखमा चडाएका कर्मकाण्डी पुरोहितहरूको अब काम छैन । केही मूल्यमा धर्मशास्त्रको व्यापार गर्ने ती वणिक् हुन् । आफ्नै सम्पदाप्रति हामी अनभिज्ञ छौँ । कर्मकाण्डीय पद्धतिको दृष्टिले मात्रै हेर्यौं ।
ल … हेर्नु त आधुनिक वैज्ञानिकहरूले आविष्कार गरेका कुरा, गुफामा योग साधना गर्ने ऋषि मुनिहरूले कसरी जान्न सके ? महर्षि अगस्त्यको आविष्कार हो ‘ब्याट्री’, रसायन विज्ञान प्राचीन भारतको देन, आधुनिक गणितको आधार वैदिक भारतीय गणितलगायत आलेख प्रकाशपुञ्जको पहिलो खण्डमा— यस्तै वैज्ञानिक अनुसन्धानका विषय रहेका छन् ।
बेन्जामिन फ्रैंकलिनले विद्युतीय ब्याट्रीको आविष्कार गर्दा आधुनिक जगत धन्य भएको थियो । भारतवर्षका महर्षि अगस्त्यले त्यो आविष्कार उसै समयमा गरेका थिए, जुन कुरा अगस्त्य संहितामा बताइएको छ—शिवाकोटीको खोजले यही भन्छ ।
अनौठो त त्यसबखत हुन्छ ओढारमा बसेका तपस्वीले कसरी पत्ता लगाउन सके ती अद्भुतका कुरा । दर्शन, गणित, ज्योतिष, व्याकरण, आयुर्वेद, योग विज्ञान, खगोलशास्त्र, भूगर्भशास्त्रको ज्ञान उनीहरूलाई कसरी मिल्यो ?
ब्रह्मतत्त्व बोधले त्यो आन्तरिक शक्ति मिलेको हुनुपर्छ । स्वयं प्रकाशित, ज्ञानमय, स्थितप्रज्ञ अवस्थामा पुगेपछि अज्ञेय भन्ने नै रहँदैन शायद । गुफामा ध्यान बसेका तपस्वीहरूलाई प्रयोगशालाको जरुरत थिएन । दिव्यदृष्टिमा सम्पूर्ण जगत् अडिएकोे थियो निश्चय । यसबाट के बोध हुन्छ भने ज्ञानशक्ति हामीभित्रै छ । तर त्यो ढाकिएको छ । अनेक आवरणले प्रकाशमय हुन बाधित गरेको छ ।
भारतवर्षको गौरवशाली अतीतमा फर्किन प्रकाशपुञ्ज एकचोटि सबैले पढून् होला । म यही चाहन्छु । पुर्खाको गौरव गर्न पनि यस किसिमका पुस्तक अध्ययन गर्नु आवश्यक छ । विद्यमान समयको उन्नति हामीलाई साधारण लाग्ने छ, जब पूर्वीय सभ्यतासँग परिचित हुन्छौँ । चिकित्सा क्षेत्रमा धन्वन्तरि, अश्विनी कुमारको चर्चा अत्यन्तै ठूलो छ ।
आचर्य चरकले मानव संरचनाको जस्तो वणर्न गरेका छन्—त्यो आजको शरीर विज्ञानसँग दुरुस्तै मिलेको बताएका छन् शिवाकोटीले । प्राचीन भारतको उन्नत शल्य चिकित्सा विज्ञान शीर्षकमा भनिएको छ—इंग्लाण्डका चिकित्सक समूहले एउटा क्यालेण्डर प्रकाशन गरेको र त्यसको पहिलो पृष्ठमा ऋषि सुश्रुतको चित्र छापिएको र उनको परिचय दिँदै विश्वका प्रथम महान् शल्य चिकित्सक भनेर सुन्न पाउँदा हामीलाई कत्रो हर्ष मिलेको छ ।
आधुनिक भौतिक विज्ञानका जन्मदाता सर आइज्याक न्यूटनको परमाणु विज्ञान, क्वान्टम भौतिकी तथा अनिश्चितताको सिद्धान्तले जगतमा ठूलो हलचल ल्यायो । यही कुरा पूर्वीय भारतका महर्षि कणादले हजारौँ वर्ष अघि प्रतिपादन गरेका थिए । यसै सन्दर्भमा अणुबमका पिता जुलिअस रोबर्ट ओपेन्हाइमर अमेरिकादेखि बोल्छन्, “आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौँ, त्यो सबै प्राचीन हिन्दू विद्वत्ताको प्रतिपादन, समर्थन र परिष्करण मात्र हो (पृ.११२) ।”
अमेरिकी भौतिकशास्त्री जोन आर्किबोल्ड ह्विलरले त्यो असम्भव जस्तो लाग्ने उपलब्धि देखेर, पूर्वीय चिन्तकलाई सर्व ज्ञाताको उपाधि दिएका छन्, “पूर्वीय विद्वानहरूले सबै कुरा जानेका रहेछन्; मनमा यस्तो पनि धारणा आउँछ—हामीले उनीहरूका उत्तरलाई आफ्नो भाषामा अनुवाद गर्न मात्रै सक्ने हो भने पनि सबै प्रश्नका (जिज्ञासा) उत्तर पाउने थियौँ होला (पृ.११९) ।”
वैदिक भारतमा विमान विद्या आलेखले भारद्वाजको यन्त्र सर्वस्व ग्रन्थबारे गम्भीर अध्ययन गरेको पाइन्छ । त्यसमा विमानको प्रकार, विमान चलाउने कौशलता, विमान मर्मत गर्ने तरिका, आकाश मार्गको प्रकारलगायत विषयहरू अहिले पनि सान्दर्भिक लाग्छन् । आश्चर्य लाग्छ पूर्खाको विज्ञाता देखेर ।
आधुनिक युगमा जेजस्ता उपलब्धिहरू भएका छन् ती वैदिककालीन भारतका वेद, उपनिषद, गीता र अनेक संहिताकै नवीकरण हुन् । विश्वका शास्त्रीहरूको यही भनाइ छ ।
प्रकाशपुञ्जमा—गणित, रसायन विज्ञान, खगोलशास्त्र, चिकित्सा विज्ञानलगायत पूर्वीय (प्राचीन) भौतिक विज्ञान—वर्तमान विज्ञानसँग मेल खाएका अनुसन्धानात्मक लेखहरू रहेका छन् । पश्चिमाहरूले विज्ञान—आविष्कारको सूत्र भारतवर्षबाटै लिएको कुरा त विविध व्यक्तित्वको भनाइबाट थाहा भाइसकेकै छ । अर्को ठाउँमा ए. एन.बाशमको अभिव्यक्तिले म उसै गरी सम्मोहित हुन्छु, “विश्वले भारतको ऋण कदाचित चुकाउन सक्तैन ।”
जगतले गर्व गरेको छ, भारतीय अङ्क प्रणाली नभएको भए विज्ञानको गति नै अवरोध हुने थियो । धातु ज्ञान एवं रसायन विज्ञान, अदृश्य बदात्म संयोग (क्यान्टम सिद्धान्त), प्राचीन वनस्पति विज्ञान जस्ता आलेख पनि उस्तै विस्मित पार्ने, महतत्त्वपूर्ण रहेका छन् ।
आइन्स्टाइनको सापेक्षतावाद सिद्धान्तले विज्ञानको क्षेत्रमा विस्तृत परिवर्तन ल्यायो । ऋषि कणादले आविष्कार गरेको अनिश्चितताको सिद्धान्त नै आजको सापेक्षतावादको रूपमा चिनिएको उल्लेख शिवाकोटीले गरेका छन् ।
प्रसिद्ध दार्शनिक अलान वाट्सले भनेका थिए, “समयलाई लाखौँ कल्पको रूपमा (एक कल्पमा ४,३२०,००० वर्ष हुन्छन्) सोच्न अभ्यस्त भारतवर्षका दार्शनिकहरूको निमित्त सापेक्षताको सिद्धान्त कुनै नवीन आविष्कार होइन (पृ.१२१) ।”
पृथ्वीको आयु समेत पत्ता लगाएका वैदिककालीन भारतका महात्माहरू खगोलशास्त्रमा पनि उतिकै विज्ञ थिए । ग्रह नक्षत्रको व्यासदेखि सूक्ष्म समय विभाजनको विस्तृति आश्चर्य लाग्ने कुरा छ ।
===
प्रकाशपुञ्जको दास्रो भाग रहस्यम-श्रीकृष्णबाट शुरु हुन्छ । यो स्वाभाविक कुरा हो—ठूला ठूला महापुरुषलाई पनि समयले प्रश्न गर्दै जानेछ । उत्तरआधुनिक युगमा सबैभन्दा बढी प्रश्न उठाइएका पात्र हुन् श्रीकृष्ण । उनलाई मानवीकरण गरेर एक आसक्त पुरुषका रूपमा उनको आलोचना ज्यादै हुने गर्छ । अझ बढी नारीवादी र प्रगतिवादी समालोचकले उनको घोर विरोध गरेको सुनिन्छ । त्यसो हुनुमा कुनै आपत्ति भने छैन । उसको विवेकले जति भेट्छ त्यही अनुरूप ऊ अभिव्यक्त हुनुमा समर्थन र विमर्थनको जरुरत पर्दैन । जरुरत त सत्यको अन्वेषण गर्नुमा रहन्छ ।
कुनै साम्प्रदायिक मतमा निकट हुँदा हाम्रा अभिव्यक्तिहरू निष्पक्ष हुन सक्दैनन् । पूर्वाग्रह रहित हुन मस्तिष्कलाई शून्य स्थितिमा पुर्याउनु पर्छ । त्यतिखेर उसको अभिव्यक्ति उसको हुनेछैन । त्यो केवल एउटा चेतना मात्र हुनेछ ।
प्रकाशपुञ्जलाई लिएर म अहिले त्यसरी नै बोल्ने चेष्टामा छु । वास्तवमा हामीले श्रीकृष्णलाई शाब्दिक अर्थमा बुझ्दै आयौँ । यहीँनेर हामी गलत भएका छौँ । त्यसो हुँदा कति उनका प्रतिपक्ष जस्ता भएका छन, कति उनका परमभक्त भएका छन् ।
कृष्ण त्यति सजिलै बुझिने अर्थिने पुरुष होइनन् । यहाँ पुरुष भन्न खोजिएको अर्थ मानव जतिको पुलिङ्ग होइन । हिन्दू धर्मशास्त्रमा कृष्णलाई परमचैतन्य पुरुषको दृष्टिले हेरिएको छ । उनी स्वयंलाई एक प्रकाशपुञ्जको रूपमा लिइएको छ । दया, करुणा, सद्भावका प्रतिमूर्ति हुन् भनिएको छ ।
गीतामा कृष्णले भनेका छन्, “म ऋतुहरूमा बसन्त हुँ, उत्पत्तिको हेतु कामदेव हुँ अनि जहाँ जहाँ सौन्दर्य रस, तेज, प्रतिभा छन् त्यहाँ म छु ।”
कृष्ण स्वयं सृष्टिका कारक हुन् । हावामा, प्रकाशमा, तेजमा, वायुमा जहाँ पनि आफू व्याप्त भएको उनले बताएछन् । “सम्पूणर्को अस्तित्व ममै अडिएको छ फेरि म कहीँ देखिन्नँ, शून्य छु”—उनको यस अभिव्यक्तिमा अदृश्य शक्तिका कुरा छन् । व्याप्ति— फेरि शून्य यही नै हामीले बुझ्नु पर्ने मूलभूत कुरा हो ।
प्राणवान् देह कुन तत्त्वले चलेको छ ? फेरि कुन तत्त्वको अनुपस्थितिमा त्यो मृत हुन्छ ? बसन्तमा त्यो फूलको रङ्ग कसले पोतिदियो ? वायु कसको इसारामा चलेको छ ? सूर्य अविश्राम किन गतिवान् छ ? एकछिन रोकियो भने के हुन्छ ? उसलाई कुन शक्तिले गतिशिल बनायो ? सृष्टिका यस्तै अनुत्तरित प्रश्नको जवाफ हुन् श्रीकृष्ण । गीतामा त्यही भनिएको छ, प्रकाशपुञ्जमा यही कुरा व्यक्त गरिएको छ ।
जाति, धर्म, सम्प्रदायमा विभाजित गरिने चिज होइनन् श्रीकृष्ण । उनलाई स्वीकार्नु नस्वीकार्नुको पनि भेद छैन । उनी सर्व व्याप्त छन्, सबैका प्राणमा विराजित छन् । कृष्णलाई गीतामा यसरी नै अर्थ्याइएकाे छ । उनलाई बुझ्न हामीले प्रकृतिलाई बोध गर्न सक्नु पर्छ । तब मात्र हामीले अगम्य स्वरूपका कृष्ण चैतन्यको लीलालाई अलौकिक तर स्वाभाविक तरिकाले लिन सक्नेछौँ । उनका अभिव्यक्तिहरू नबुझेकैले उनलाई धार्मिक सम्प्रदायमा खुम्च्याएका छौँ ।
प्रकृति, सृष्टि, स्थिति र अन्त्यको लय अलौकिक छ । त्यही अलौकिकता नै श्रीकृष्ण हुन् भनिएको छ । यो कुरा अवगत नहुँदा भगवद् गीता र कृष्णको लीला अतिरञ्जित लाग्छ । चेतनाको तहमा नपुग्दा, अतिरञ्जित, तथ्यहीन र अव्यावहारिक लाग्छ । हर्मन हेस्से अभिभूत हुँदै जर्मनीदेखि भन्छन्, “गीताको आश्चर्य भन्नु नै यसको यथार्थ जीवन विषयक ज्ञानको सुन्दर रहस्योद्घाटन हो, जसले गर्दा दर्शनलाई धर्मको रूपमा पुष्पित हुन सहयोग पुर्याउँछ (पृ.९०) ।”
ब्रिटिस-इण्डियाका प्रथम गभर्नर लर्ड वारेन हेस्टिङस्ले, गीतामा कृष्णले भनेका कुरा थोरैमा सम्पूर्ण बताएका छन्, “भगवद्गीता एक महान् मौलिक चिन्तनको निष्पादन एवं लोकोत्तर धारणा अनि अतुलनीय प्रकृतिका तर्क र शब्दले युक्त ग्रन्थ हो, जो सम्पूर्ण ज्ञात मानव धर्महरूमा एक मात्र अपवाद हो भनेर म घोषणा गर्छु (पृ.४२) ।”
कृष्णका विषयमा स्पष्ट हुन् अझ केही कुरा बाँकी नै छ । मुख्यतः उनलाई लगाइने आक्षेप—एक कामासक्त भोगी पुरुष भनेर विरोध गरिन्छ । अघि नै भनिएको छ, बोध क्षमता कम्ती हुँदा सही मूल्याङ्कन नआउन सक्छ । कृष्ण आसक्त पुरुष हुन् भन्नुमा अझ ठूलो अज्ञानता लाग्छ । उनको उपहास गर्न सोह्र हजार गोपिनीको चर्चा कहीँ छुटाइँदैन । उनी एक चैतन्यपुरुष—सबैमा समान छन् । हामीभित्र पनि उनै चैतन्यपुरुष (प्राणतत्त्व/आत्मा) छन् । उनको अनुपस्थितिमा हामी कोही जीवित रहँदैनौँ भने उनी कसरी कामासक्त भए ?
उनी सोह्र हजार गोपिनीसँग एकसाथ लीला गर्न सक्थे भनिएको छ । तिनीहरू सबैले उनको उपस्थितिको अनुभूत गरेका हुन्थे । एक लौकिक पुरुषबाट के त्यो कुरा सम्भव छ ? यदि छैन भने माथिको बुझाइ नै गलत हुनुपर्छ । एउटा प्राणवान् देह कामासक्त हुनु सृष्टि स्थितिकै कारक हो । उनी प्रकृति हुन्, सृष्तिकर्ता हुन् भने उनी भोगी थिए भन्नु कतिको जायज होला ? उनले त सृष्टि रच्नु नै छ । उनले प्रत्येक देहमा काम वासना पैदा गर्नुछ । त्यो पैदा हुनु भनेकै प्राकृति हो, प्रकृति भनेकै कृष्ण हुन् ।
फेरि अर्को कुरा आसक्ति नराखी गरिएको भोगलाई भोग भनिँदैन । समय र परिस्थितिलाई स्वीकार्नु एउटा घटना हो । त्यस्तै कृष्णले समय र परिस्थिति भोगेका थिए । आसक्ति होइन ।
दुराचारी दुष्ट भौमासुरले बन्दी बनाएका १६,१०० युवतीहरूलाई उद्धार गरेपश्चात्, परिवार र समाजबाट तिरस्कृत भएका ती नारीहरूलाई, कृष्णले स्वीकार गर्नु उनको महानता हो । एउटा साधारण पुरुषले परित्यक्तालाई त्यसरी स्वीकार्न सक्थ्यो ? परहितको लागि उनी जसो गर्न पनि तयार हुनु उनको कर्तव्य थियो । उनले लीला रच्नु त्यही कर्तव्य निवारणको निम्ति थियो ।
श्रीकृष्णलाई बुझ्न म कर्कलाको पातमा अडिएको पानीलाई दृश्य बनाउँछु । जब पानी भुइँमा पोखिन्छ पात ओभानै हुन्छ । पानीको चिसो कतै पनि टाँसिएको हुँदैन । त्यस्तै आसक्तिबाट मुक्त भएपछि भोगको प्रभाव पनि त्यसै निमेष सकिन्छ । कृष्णले बस् समय र परिस्थिति भोगेका थिए भन्नुको आशय यही हो । भगवद् गीताबाट जन्नु पर्ने मूलभूत कुरा पनि यही हो—आसक्ति रहित भोग । आसक्तिले त मानिसलाई सधैँ दुःख दिइरहन्छ । दुर्बल बनाइरहन्छ । केही गुम्छ कि भन्ने सन्देहले पीर पारिरहन्छ ।
ज्ञानप्राप्तिको लागि गौतम बुद्धले घर त्यागे । त्यसरी गृहस्थी त्याग्नु उनको ज्ञानप्रतिको आसक्ति हो । लीला रचेरै पनि कृष्ण ज्ञान प्राप्त थिए । भनाइको अर्थ फेरि असाक्तिमै पुग्छ । अनासक्त भई कृष्णले जगत भोगेका थिए । गीताले यसरी हामीलाई अनासक्त हुन भनेको छ । आसक्ति नै सम्पूर्ण थोकको बाधा हो । त्यसबाट उन्मुक्त हुन सक्दा, दुःखमा पनि हामी रम्न सक्छौँ । त्यस निमेषसुख, दुःख भन्ने केही थोक रहँदैन । दुःख, दुःख नै लाग्दैन ।
श्रीकृष्णको प्रसङ्ग जहाँ आउँछ त्यहाँ गीता स्वतः आउँछ । त्यसमा उच्च चेतनाको जीवन बाँच्ने कला छ । त्यहीँ कलाले कृष्णको व्यक्तित्व विराट भएको लाग्छ ।
अध्येता शिवाकोटीको भनाइमा म सहमत छु । कृष्णको अनर्थ व्याख्या गर्नेहरूमा कम्युनिष्टहरू पहिलोमा पर्छन् । आफूलाई साम्यवादी भएको उल्था गर्न मन पराउँछन् । तर साम्यवादको लागि लड्ने, निष्पक्षता, समानताको पक्षमा सङ्खघोष गर्ने कृष्ण बाहेक अरू कोही हुन सक्दैन, “श्रीकृष्ण साम्यवाद दर्शनका प्रथम स्रोता हुन् ।” लाग्छ अन्तिम स्रोता पनि उनै थिए । माक्सवाद कहिल्यै साम्यावादी हुन सक्दो रहेनछ । अहिलेसम्मकै राजनैतिक इतिहासले यही बताउँछ । मान्छेको मन, बुद्धि, चेतना र संवेग कहीँ न कहीँ दुर्घटित भइहाल्छ । समानता र निष्पक्षतालाई व्यवहारमा उतार्न कठिन कुरा छ । श्रीकृष्णबाट मात्रै त्यो सम्भव भएको छ । उनी धर्मका प्रथम वैज्ञानिक पनि हुन् । उनको लीला साम्यवादकै एक दृष्टान्त हो । अन्त कहीँ साम्यवादको नमूना भेटिँदैन ।
प्रविधि सम्पन्न युगमा भगवद्गीताको आवश्यकता अरू बढी खड्किएको छ । मेसिनरी युगमा माया, प्रेम, स्नेह, सहिष्णुता, हार्दिकता, मित्रता सबै सबै भावनात्मक संवेग मर्दै गएको छ ।
गीता कुनै धर्ममा आधारित ग्रन्थ होइन । यो त सम्पूर्ण मावन जातिको हितमा दिइएको अनुपम ज्ञानामृत हो । अस्तिका दिन स्वास्थ्य खबर अनलाइन पत्रिकामा—मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दिएको एक अन्तर्वार्तामा “मेरो जीवनमा सबैभन्दा प्रभाव पारेको किताब भगवद्गीता हो, म गीताका प्रत्येक कुराहरू जीवनमा लागू गर्ने कोसिस गर्छु । त्यसमा लेखिएका विषयहरू म आफू पनि सिक्छु र अरूलाई पनि सिकाउँछु”भनेका थिए ।
यसरी हरेक कर्म क्षेत्रका, हरेक उमेर समूहका व्यक्तिबीच गीताको प्रभाव बढ्दै गएको पाइन्छ । जीवनलाई सार्थक, मूल्यवान्, कलात्मक बनाउनु पर्छ भन्ने लाग्यो भने कम्तीमा तपाईंले पनि एकपटक गीता अध्ययन गर्न सक्नुहुन्छ । त्यसले तपाईंलाई परिष्कृत गर्नेछ, चेतनाको तह माथि उठाउनेछ ।
एक ठाउँमा कृष्णले अर्जुनलाई भनेका छन्— “स्वधर्म निधनम्श्रेयः परधर्म भयावहः ।” युद्धमा अभिप्रेरित गर्ने हेतु अर्जुनका लागि मात्र भनिएको वाणी होइन यो । शब्दान्तरमा हामी सबै जीवनको युद्धमा क्लान्त, शिथिल भएका अर्जुन हौँ । वास्तविकतामा बाँच्न र सही मार्गमा लाग्न उक्त अभिव्यक्ति हरेक युगका हरेक मानिसका लागि उतिकै जीवनोपयोगी रहेको छ । आफ्नो स्वभाव र इच्छाअनुसार कर्म गर्नु, त्यसको विपरीत कर्ममा लाग्दा विफल भइन्छ भन्ने मनोवैज्ञानिक सूत्र रहेको छ ।
वर्तमान समयमा गीताको महत्त्व र सान्दर्भिकता अरू थप भएको छ । आजका हामी आफूजस्तो हुन किञ्चित मन पराउँदैनौँ । अरू जस्तै हुन खोज्छौँ । आफूभित्रको ‘म’ बिस्तारै मर्न थाल्छ । अन्ततः सम्पूर्ण मरेपछि हामी कहीँ रहँदैनौँ । पानीमा पौडिने माछाले आकाशमा उड्न चाह्यो भने के हुन्छ ? हो हाम्रो स्थिति त्यही भइरहेको छ ।
स्कूल कलेजमा गीताको मनोवैज्ञानिक अध्ययन, अध्यापन गराउन विलम्ब भइसकेको छ । यसलाई आध्यात्मिक पुस्तकको रूपमा परिमित गरिनु हुँदैन । कृष्णले जीवन नै कर्म हो—कर्म विमुख भएपछि जीवित हुनुको पनि सार छैन भनी अर्जुनलाई कर्मवीर हुन उत्साहित गरेका थिए । अर्कै आदतमा भुलेका युवापुस्तालाई कर्मचित्तमा फर्काउने एउटै उपाय छ—गीताको अध्ययन गर्नु, गराउनु । लक्ष्यमा विचलित अर्जुन अन्ततः दिग्विजयी भए । भोलि हामी पनि न त्यस्तै हुन्छाैँ कि ? अझ बढी युवा पुस्तालाई भगवद्गीता अध्ययनबाट विमुख नहुन म अनुरोध गर्छु ।
यथार्थमा श्रीकृष्णको जीवन चरित्रले मानवलाई सार्थकता र पूणर्तातर्फ उदात्त हुन निर्देश गरेको बताउने शिवाकोटी, कृष्णलाई धार्मिक मान्यताले नहेर्न अपिल गर्छन्, “श्रीकृष्णको सन्देशलाई चाहिँ आँखा ओझेल नपारी उनको नाम मात्रै जप्नु वा पूजा अर्चना गर्नु मात्र उनको भक्तिको सम्पूर्णता ठान्नु अति नै अव्यावहारिक ठहरिन्छ ।”
शाकाहार मानवको प्राकृतिक आधारमा लेखक शिवाकोटीको मत सम्पूर्ण रूपले तथ्यपूर्ण हुँदाहुँदै पनि मांसाहारीको लागि भने रुचिपूर्ण नहुन सक्छ । तर यथार्थ भने त्यही हो—मानिस प्राकृतिक रूपमै शाकाहारी प्राणी हो । शारीरिक संरचनाले ऊ मांसाहारी हो भन्ने कुनै प्रमाण दिँदैन लेखक बताउँछन् ।
भविष्यमा को कस्तो बन्दैछौँ ? त्यसको निर्धारण हाम्रै विचारले गर्नेछ । अनि विचारलाई खानपानले ज्यादै प्रभाव परेको हुन्छ । ऊ के सोचको छ ? त्यही सोचले उसको मांशमेसीमा रसायन उत्पादन गर्न थाल्छ । सम्भवतः मांस खाने मानिस हिंसात्मक स्वभावकै हुन्छ भनिन्छ । प्रत्यक्षतः ऊ हिंसात्मक नहोला तर अन्तर्मनमा कहीँ न कहीँ हिंसात्मक चेत सुषुप्त अवस्थामा दबिएर बसेको हुन सक्छ । फेरि सबै शाकाहारी अहिंसात्मक नै हुन्छन् भन्ने पनि होइन ।
मन, वचन र कर्म भिन्दाभिन्दै हुँदा मानिस हमेसा तनावमा हुन्छ । त्यसबाट मुक्त हुन ती तीन थोक एकात्मक हुनुपर्छ । त्यतिखेर बल्ल हामी वर्तमानवादी हुन सक्छौँ । “अटल स्मृति भएको व्यक्ति शुद्ध एवं तनावरहित हुँदछ ।” लेखकको यस भनाइको तात्पर्य शुद्ध आहारसँग जोडिएको छ । कृष्णका-बुद्धका “वर्तमानमा फर्क” भन्ने सन्देशमा पनि अटल स्मृति र तनाव रहितका कुरा आउँछन् । तर त्यसको प्रसङ्ग अर्कै छ । वर्तमानसँग जोडिएको छ ।
हरेक क्षण विद्यमानमा बाँच भन्नुको अर्थ बोधपूर्ण कर्म गर, तत्क्षणलाई बोध गर भनिएको हो । त्यतिखेर हाम्रो कमै नै ध्यान बनिदिन्छ । शारीरिक रूपमा हामी काममा व्यस्त हुन्छौँ । तर आफूले के गरिरहेको छु आफैँलाई थाहा हुँदैन—मन भाँडिँदा । त्यही थाहा नहुँदा नहुँदै एक दिन जीवनकै अन्त्य भएको पनि थाहा हुँदैन । वर्तमानलाई बोध गर्न नसकेर हामी बर्बाद भएका छाैँ । भूत र भविष्यमा बाँच्दै आएका छौँ । त्यसो नगर्न एक पटक फेरि गीता पढ्न अनुरोध गर्छु ।
प्रकाशपुञ्जले पूर्वीय दर्शनलाई वैज्ञानिक तरिकाले मात्र अध्ययन गरेको छैन । आध्यात्मिक जीवनको लागि पनि अनुरोध गरेको छ । विश्वशान्ति कायम राख्न अब जगतभरि नै आध्यात्मिक अभियानको दिन आएको छ—त्यो धर्म प्रचारको लक्ष्य राखेर भने होइन । त्यसले त झन् अशान्ति फैलाउनेछ । विकास र प्रविधिका हिसाबले हामी जति समृद्ध भयौँ मानसिक रूपमा हामी थोरै पनि समृद्ध हुन सकेका छैनौँ । त्यसको एक मात्र उपाय पूर्वीय दर्शनमा छ ।
पर्यावरण अनि हिन्दू संस्कृतिमा हाम्रा पुर्खाहरू कति धेरै प्रकृतिप्रेमी थिए थाहा लाग्छ । यतिखेर प्रकृतिको अतिक्रमणले विश्व नै हाहाकार भएको छ । पर्यावरण बचाऊ अभियानहरू शुरु भएका छन् । प्रकृतिको अस्तित्वलाई स्वीकार्न वादहरू जन्मिएका छन् । यही कुरा हाम्रा दिव्य द्रष्टा मुनिहरूले मानव अस्तित्वसँगै प्रकृतिको सत्तालाई स्वीकारेका थिए । प्रकृतिको पूजा अर्चना गर्न सिकाएका थिए । तर विडम्बना त्यसलाई हामीले रुढिवादको आक्षेप लगायौँ । विभ्रान्त दृष्टिले हेर्यौँ ।
हिन्दू धर्मका चाडपर्वहरू नै हरौँ न—कति धेरै प्रकृतिको आराधना गरिएको छ । कृतज्ञ हुन सिकाएको छ । त्यसको अर्थ नबुझी संस्कारको रूपमा हामी औपचारिक हुँदै आयौँ । औपचारिकता पूरा गर्नु नै त्यसको उद्देश्य देख्यौँ । ती पर्वहरू कुनै न कुनै किसिमले प्रकृतिसँग जोडिएका छन् । वनस्पति तथा अन्य प्राणी जगतलाई मानवकै अस्तित्व बराबर पुजिएको छ ।
पश्चिमाले पर्यावरण हितको लागि विनाशपछि बचाऊको अभियान ल्यायो । तर भारतवर्षमा विनाश नहुँदै पनि संरक्षणको नीति थियो ।
वृक्षहरूमा पनि चेतना हुन्छ—कृष्णले गीतामा भनेका छन्, “हरेक प्राणी तथा वनस्पति जगत्, चराचरमा म नै छु” भन्नुको अर्थ त्यसमा पनि प्राण छ भनिएको हो । भारतीय वैज्ञानिक जगदीशचन्द्र बसुले बोट विरुवाहरू पनि सङ्गीत प्रिय हुँदा रहेछन् भन्ने पत्ता लगाएका छन् । गीत सङ्गीत सुनाएका विरुवाहरू हलक्कै बढेको, उनको अनुसन्धानले बताएको छ ।
केही दिन अघि प्रा.डा. विष्णु एस राईको मौन आवाजहरू, प्रकृति र म ! एक पर्यावरणीय आलेख पढेकी थिएँ—सोलोमन द्वीपका आदिवासीहरूले रुख कहिल्यै काट्तैनन् । केही रुखको खाँचो पर्दा त्यस रुखलाई थुक्ने, गाली गर्ने, उपेक्षा गर्ने गर्छन् रे ! त्यसरी । अनि त रुखका पातहरू बिस्तारै झर्न थाल्छन्, एवंरीतले एकदिन रुखै मर्छ रे ! बोट बिरुवामा पनि संवेदना हुन्छ भन्ने दृष्टान्त हो यो ।
प्राचीन भारतका दार्शनिकले आध्यात्मिक हुनु भनेकै प्रकृतिको भाषा बोध गर्न समर्थ हुनु हो भनेका छन् । हिन्दू दर्शनमा यति धेरै विस्तृति छ कि त्यो गहिराइ, त्यो व्यापकता, त्यो उचाइ उत्तरआधुनिक युगले पनि सोच्न भ्याएको छैन । सबै कोणबाट पूर्ण छ पूर्वीय वाङ्मय । पूर्ण मानव हुनको लागि आवश्यक ज्ञान पर्याप्त छ त्यसमा । उदेकको कुरा त के छ भने हामी इतिहास बेगरका, सभ्यता बेगरका, परिचय बेगरका—एक किसिमले विश्वमा किनारीकृत जातिको रूपमा दर्जिनुको कारण बताउँदै शिवाकोटी बोल्छन्, “कर्मकाण्डवादलाई मात्र प्रमुखता दिने धर्मान्ध समाजका कारण धर्मशास्त्रमा रहेका मानव हितकारी रहस्यमय तत्त्व चाहिँ प्रकाशमा नआउनु नै ठूलो दुर्भाग्य हो ।”
भारतीय दर्शनको मूल आधार नै मुण्डक र माण्डूक्य उपनिषदको सार तत्त्व भएको शिवाकोटीले बताएका छन् । जीव, जगत् र आत्माको वैज्ञानिक विश्लेषण अन्य कुनै धर्मशास्त्रमा पाइँदैन—यो पश्चिमा तथा युरोपेलीहरूकै भनाइ हो । मुण्डक उपनिषदको मूल उद्देश्य मानवलाई परमानन्दको बोध गराउनु हो भनिएको छ ।
जर्मन दार्शनिक फ्रेड्रिक हिगेल त्यसै समयमा अवगत थिए, जब हामीलाई अहिले पनि अवगत छैन । मिथ्या नै सोचिरहेका छौँ । हिगेल भन्छन्, “भारतवर्ष (आर्यावर्त) एउटा स्वप्नभूमि हो । यसले सधैँ मानिसको अर्थात् परमानन्दभन्दा परको सपना देख्यो; त्यो नै मानवको अन्तिम लक्ष्य हो । यसैले भारतवर्षलाई इतिहासमा अरू राष्ट्रहरूभन्दा बढी सिर्जनशील बन्न सघायो । त्यसैले मिथक, पुराणकथा, धर्म, दर्शन, सङ्गीत, नृत्य र विभिन्न प्रकारका वास्तुकलाहरूले यसलाई सधैँ जीवन्त राखेका छन् (पृ.५२) ।”
अध्येता शिवाकोटीले उपनिषदको निष्कर्षमा भनेका छन्, “सनातन हिन्दू धर्मको गुढ रहस्य पूर्वीय संस्कृतिको चिन्तन तथा भारतीय ऋषिमुनिहरूद्वारा आत्मा, परमात्मा र सम्पूर्ण ब्रह्माण्डका विषयमा उच्चतर विवेचना गरिएको अद्वितीय ग्रन्थ हो ।”
सम्पूर्ण थोक पाएर पनि आजको मानव शान्त हुन सकेको छैन । आसक्ति नै शान्तिको बाधक हो । आसक्तिबाट टाढिँदा सारा बन्धनबाट मानिस उन्मुक्त हुनेछ ।
हाम्रो बुझाइ छ—आसक्तिबाट टाढिनु भनेको अभौतिक हुनु हो । जोगी, सन्यासी, ब्रह्मचारी हुनु हो । त्यसो होइन आसक्तिबाट दूरस्थ भई सम्पूर्ण रूपले हामी भौतिक सुख सुविधा भोग्न सक्छौँ ।
आसक्ति हाम्रो धारणासँग जोडिएको छ । जब सुख दुःखको धारणा नबनाइकन निरपेक्षित भई परिस्थितिको भोग गर्न अभ्यस्त हुन्छौँ—हो त्यतिखेर हामी परमानन्दको स्थितिमा पुग्छौँ । मन, बुद्धि र विचारदेखि माथि उठ्न सक्यौँ भने मृत्यु पनि हाम्रो लागि मृत्यु हुनेछैन, अरू त के कुरा रह्यो र ? मृत्युप्रतिको हाम्रो परिभाषाले नै मृत्यु शब्दले भय उत्पन्न गरेको हो । वास्तवमा मृत्युले त्यसरी भयभीत गराउन सक्तैन । किनकि मृत्यु कसैले देखेकै हुँदैन । त्यसप्रतिको परिकल्पनाले मृत्यु डरलाग्दो भएको हो । त्यस्तै दुःख पनि त्यही हो । दुःखको धारणा नबनाउने हो भने दुःख, दुःख नै लाग्दैन । बस् त्यो त एउटा परिस्थिति मात्रै हुनेछ । यो अति महत्त्वपूर्ण कुरा पूर्वीय दर्शनले बताएको छ । यति कुरा मात्रै विदित हुन सक्यो भने हामी विश्वकै उच्च चेतनशील मानव हुनेछौँ ।
पूर्वीय धर्मशास्त्रले मरेर मुक्ति होइन जीवितमै उन्मुक्त हुने परमज्ञान दिएको छ । जहाँ एउटा साधारण मानवबाट महामानव अझ ब्रह्मत्वकै बोध गराउने अमृतवाणीहरू हाम्रा महर्षिले छोडेर गएका छन् ।
प्राणत्त्वलाई न सुख छ न दुःख नै छ । देह त्याग्नु पर्दा न सन्ताप छ । हामीले गरेका अनुभूतिहरू देहका हुन् । ती अनुभूति विचारले उत्पन्न भएका हुन्छन्, आत्माले होइन । कायालाई जीवित राख्ने चिज न जन्मन्छ न त मर्छ नै । सूर्य न उदाउँछ अस्ताउँछ भन्नु जस्तै हो । ऊ सधैँ निर्विकार छ, गतिशील छ । तर हामी आज घाम लागेन, घाम अस्तायो, घाम उदायो भन्छौँ । त्यो एउटा परिस्थिति हाम्रो लागि सत्य लागेको हो—सूर्यको लागि त्यो सत्य होइन ।
साधारण मानिसलाई परमत्त्वको बोध झुक्किएर कहिलेकाहीँ एउटा झिल्का जस्तो भएर आउन पनि सक्छ । तर धेरै निमेष टिक्दैन । मैले त्यसदिन गरेको अनुभूति यहाँ साझा गर्न मन लाग्यो । अनेक व्यक्तित्व भएका, नेपाली वाङ्मयमा बौद्धिक साहित्यकारको परिचय भएका, विद्वान् नगेन्द्र शर्माको त्यस अन्त्यले मलाई केही थोक सोच्न लगायो, “अब हामीसँग उहाँको निष्प्राण देह मात्रै बाँकी थियो ।
जतिबेला मेरो अन्तश्चेतनाले बार-बार एउटै प्रश्न गरिरह्यो— हामीले चिन्दै आएका नगेन्द्र शर्मा आत्मा हुन् या देह ? पाञ्चभौतिक देह नै नगेन्द्र शर्मा थिए भने उहाँकै अगाडि रहेर हामी कुन नगेन्द्रको शोक मनाउँदैछौँ ? अनि पार्थिव देहमा अदृश्य आसीन हुने प्राण तत्त्वलाई नै नगेन्द्र भनी ठान्छौँ भने उहाँको मृत्युमा किन सन्तप्त हुन्छौँ ? जहाँ आत्मा (प्राण)को मृत्यु भयो या भएन ? भयो नै भने खै कसरी भयो ? कसैले देख्न सकेन । त्यस पश्चात् लाग्यो हामी अज्ञानकै कारण दुःखी हुँदा रहेछौँ । असत्यलाई नै सत्य ठानी हामी अतननार्यघाट जाँदै थियाैँ, मलामी बनेर (पृ.२७१) ।”
यस धर्तीमा हामी जन्मिनुको पनि केही कारण छ । व्यर्थमा यो जन्म पाइएको होइन । सृष्टिको कारण-कार्यको शृङ्खला एक धूलकण जति पनि तथ्यहीन हुन सक्दैन । विशेष उद्देश्यकै लागि हामीलाई जन्माइएको हो भने त्यो कस्तो उद्देश्य हो ? जसको उत्तर हाम्रा मनीषीले दिएका छन् । आफ्नो बचाइलाई सार्थक बनाउनकै लागि भए पनि पूर्वजको शास्त्र खोजी गर्न आवश्यक छ । हामी व्यर्थ खेर गइरहेका छौँ, अब खेर जानु हुँदैन ।
अमृत समान जीवन दायिनी प्राचीन वाङ्मयलाई ध्वस्त बनाउन अनेक तत्त्व लागेका छन् । त्यो देखेर शिवाकोटी दुखित हुन्छन्, “आ-आफ्ना राजनैतिक पृष्ठभूमि सुनिश्चित गर्न तथा आफ्नो पार्टीलाई अग्रङ्क्तिमा राख्ने उद्देश्यले नेताहरू हिन्दूतत्त्व लई उग्र आतङ्कवादसँग जोडेर मिथ्या प्रोपोगन्डा चलाउन प्रयासरत छन् ।”
हामीले यो बुझ्न आवश्यक छ,“हिन्दूत्व एकबाट अनेक, लघुबाट महत्, ब्रह्मबाट ब्रह्माण्ड धारणको विज्ञान हो । हिन्दूत्व कुनै विशेष पन्थ, सम्प्रदाय वा पूजा पद्धति नएर सबैलाई सम्मान गर्ने सर्वसमावेषकको अवधारणा हो । हिन्दूत्व उच्चतर र आदर्शमय जीवन जिउने कला हो । हिन्दूत्वले राग, द्वेषरहित मानवीय मूल्यहरूलाई प्रतिपादन गर्दै प्राणी मात्रका कल्याणको मार्ग प्रशस्त गर्दछ ।”
अन्वेषक शिवाकोटी यस्तो ज्ञानामृत लोक जीवन समक्ष पुर्याउन, जनहितको अभियानमा अविश्राम खटिएका छन् ।
हिन्दू धर्मशास्त्रले सिकाएको मार्ग नै यही हो—स्वहितलाई प्रमुखता नदिएर परहितमा चित्त लगाऊ –
सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भ्रदाणि पश्यन्तु, मा कश्चित दुःख भागभवेत् ॥
निष्काम कर्मयोगको प्रसङ्ग पनि प्रकाशपुञ्जमा रहेको छ—सूत्रात्मक, संक्षिप्त छ । बेला बेला कृष्णका वाणीहरूको अपव्याख्या हुने गर्छन्, अघि नै भनिएको छ । अर्थको विस्तृतिमा पुग्न नसक्दा पनि शायद त्यसो हुने गर्छ । गीताले कर्म गर फलको आशा नगर भनेको छ—त्यो कसरी हुन्छ ? फलकै लागि कर्म गर्ने होइन ?अहँ, कृष्णले त्यसो भन्न खोजेका होइनन् । कर्म गरेपछि आशा राखे पनि नराखे पनि थोर बहुत फल त अवश्य लाग्छ । त्यसमा कुनै सन्देह छैन । हामीमा देखिएको एउटै समस्या के हो भने कर्म गर्नु अघि नै फलको अपेक्षा राखेर, कर्म गरेका हुन्छौँ । अझ कर्म गर्नुअघि नै काल्पनिक फलको उपभोग गरिसकेका हुन्छौँ । त्यतिखेर हामीले राखेको अपेक्षा नै कर्मको बाधक बनिदिन्छ । त्यस निमेष ऊ निर्भीक, आत्मविश्वासी हुन सक्दैन । किनकि उसको कर्म प्राप्ति (फल)सँग जोडिएको हुन्छ—यदि फल प्राप्त गर्न सकिनँ भने म बर्बाद हुन्छु, यही सोचले ऊ कर्म गर्न थाल्छ । यो सूचना मस्तिष्कमा पुगेपछि उसलाई दुर्बल गराउने रसायन उत्पादन शुरु हुन थाल्छ । त्यतिखेर कर्मप्रति ऊ दृढ हुन सक्दैन । आत्मविश्वास डगमगाउन थाल्छ । स्वतः कर्म शिथिल हुन जान्छ । निष्काम कर्मको आशय यही हो—निष्कामनाले गरिएको कर्ममा एउटा अद्भुतको शक्ति प्राप्त गर्न सक्छौँ ।
दोस्रो कुरा रहेको छ— उसले अपेक्षा गरे जति उपलब्धि मिलेन भने ऊ निराश हुन थाल्छ । उदासिन्छ । आफूले चाहेको उपलब्धि र प्राप्त उपलब्धिबीच सन्तुलन बिग्रिएपछि कर्मचित्तबाट ऊ भड्किन थाल्छ । वर्तमान समयमा मानसिक रोग वृद्धि हुनुको एउटा कारण यही हो । निष्काम कर्म भनेकै आसक्ति रहित होऊ भनिएको हो ।
विद्यमान समयमा हिन्दू धर्मशास्त्रको महत्त्व अत्यन्तै रहेको छ । धेरै जीवनहरू अहिले ध्वस्त भएका छन् । जगतकै उद्धारको निम्ति, प्राचीन भारतवर्षको ज्ञानराशि—विश्व अभियानको रूपमा विस्तृत गर्नु पर्ने समय आएको छ । डेनिस भौतिकशास्त्री निल्स बोरले भनेका छन्,“म आफ्ना जिज्ञासा प्रकट गर्नका निमित्त उपनिषदमा प्रवेश गर्दछु (पृ.९३) ।”
पूर्वीय दर्शनको विरोधमा विकृत भाष्य हुन थालेको खराब समयमा—शिवाकोटीको कर्म मरुभूमिमा जलको मूल्य बराबरकै रहेको छ । त्यो साहित्यिक किसिमले होइन । विषयवस्तुको हिसाबले भन्न खोजिएको हो । पूर्वीय अतीतमा आफैँभित्रको दीपलाई प्रदीप्त गराउने अद्भुतको रहस्य छ ।
जीवनभर हामीले अरूलाई चिन्न खोज्यौँ, अरूकै चर्चोमा रमायौँ । आफूलाई किञ्चित समय दिएनौँ । आफूलाई किञ्चित चिनेनौँ, बुझेनौँ । आफैँसँग परिचित नभइकन अन्ततः हामी जान्छौँ । त्यसो नहुनलाई एकचोटि झुक्किएरै भए पनि गीता, वेद, उपनिषदको अध्ययनमा लाग्यौँ भने आफू सार्थक भएको अनुभूति गर्नेछौँ ।
“पाश्चात्य विज्ञानलाई रक्ताल्पताबाट बचाउन पूर्वबाट पश्चिमतिर केही रक्ताधान आवश्यक भएको छ ।” अस्ट्रिअन भौतिकशास्त्री, क्वान्टम फिजिक्सका पिता आर्विन श्रोडिङ्गरले पनि आत्मासँग अवगत हुन प्राचीन उपनिषदको ज्ञान चाहिन्छ भनेका छन्, “सम्पूर्ण विश्वमा त्यस्तो प्रकारको संरचना कतै छैन जसभित्र हामीले चैतन्यलाई बहुलस्वरूपमा पाउँछौँ, त्यो चैतन्य ता हाम्रो आफ्नै निर्मिति हो किनभने मानिसहरू तात्कालिक रूपमा बहुल हुन्छन्, तर यो निर्मिति मिथ्या हो; यस द्वन्द्वको एकमात्र समाधान यदि कहीँ छ भने, त्यो प्राचीन उपनिषद्को ज्ञानमा मात्रै पाइन्छ (पृ.९६) ।”
वैदिक विज्ञानको धरातलमा प्रकाशमान हुँदै गरेको आधुनिक विज्ञान एक आलेखले अरू स्पष्ट पारेको छ, “वास्तमा भन्नु हो भने आज विज्ञान जुन उचाइमा पुगेको छ । प्राचीन भारतको विज्ञान त्यो भन्दा पनि अझ व्यापक र उच्च स्तरमा पुगेको यथार्थलाई अनेकौँ आधुनिक पूर्वीय तथा पश्चिमका शोधकर्ताहरूले स्वीकारोक्ति गरिसकेका छन् ।”
हामीबाट ठूला ठूला भूलहरू भए, हुँदै आए । अब त्यसो नहोस् भनेर केही बुद्धिजीवीहरू पूर्वीय दर्शनको वैज्ञानिक अध्ययनमा लागेका छन् । अध्ययन अनुसन्धान भएका छन् । शिवाकोटी त्यस्तै एक क्रियाशील अभियन्ता हुन् । उनको प्रकाशपुञ्जले त्यस्तै भूलहरूबाट सच्चिन एउटा उज्यालो लिएर आएको छ । त्यति ठूलो त होइन नै । तर यो प्रयास प्रशंसनीय छ । उता अन्वेषक शलील ज्ञवाली उस्तै धावामा छन् । त्यस्तै अरू पनि कति छन् ।
देखिने भन्दा नदेखिने सत्य कैंयन् गुणा विराट् हुन्छ, शक्तिशाली हुन्छ । त्यस्तै देखिने सत्यहरू परिवर्तनशील हुन्छन् । तर अदृश्य, अलौकिक सत्यको कुनै परिवर्तन छैन । विज्ञानले त्यसको अनुसन्धान गर्न अझै सकेको छैन । यता पूर्वीय अध्यात्मवाद यस विषयमा प्रस्ट छ । प्रकृतिको स्वभाव अनुसार चल्नु नै हाम्रा दिव्य महर्षिहरूको अन्तिम सार हो । यति मात्रै बुझ्न सक्यौँ भने पनि हाम्रो आधा जीवन यसै उसै सफलीभूत हुनेछ ।
अब हामीले आफ्नो गौरवको लागि, आफ्नो अस्तित्वको लागि सही तरिकाले, सही अर्थमा जति सकिन्छ बोल्नु पर्ने दिन आएको छ । त्यसो हुँदा मैले यति बोलेँ भन्दा फरक नपर्ला । अनि एउटा कुरा—यो कुनै धार्मिक मान्यतामा बोलिएको विषय होइन । यो त अतीत भारतको दर्शन विषयमा गरिएको तर्कपूर्ण विश्लेषण हो । वैज्ञानिक अध्ययन हो ।
अध्येता शिवाकोटीलाई अनेक बधाई तथा शुभकामना दिँदै, आगामी दिनमा खोज अनुसन्धानमूलक कार्य अझै सशक्त होस् यही कामना छ ।
===
सन्दर्भ सूची
भट्टराई, गोविन्दराज, (२०७९ अनु.), पूर्वीय सभ्यता, ओरिएन्टल प्रकाशन गृह प्रा.ली., काठमाडौँ ।
पन्थी, अनिता (२०७५), नगेन्द्र शर्माको जीवनी र कृतित्व, ओरिएन्टल प्रकाशन गृह प्रा.ली., काठमाडौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।