विषय प्रवेशः साहित्य र प्रगतिवाद

उन्नाइसौं शताब्दीमा चार विचार दर्शनले सम्पूर्ण मानव जीवन र सोचवृत्तिलाई प्रभाव पार्यो । जीवनदृष्टिलाई प्रभाव पार्ने यी पक्षले लेखकीय प्रवृत्तिलाई प्रभाव पार्नु स्वाभाविक थियो । पहिलो सिद्धान्त वा विचार दर्शन चाल्र्स डार्विनको विकासवाद थियो । वंशाणु सिद्धान्तका नामले प्रख्यात यस सिद्धान्तले मानवीय व्यवहार जैविक विकास क्रम (जीन वा वंशाणु) ले निर्धारण गर्दछ । विकासवाद वा वंशाणु दर्शनअनुसार जीवहरु सङ्घर्ष (प्रतिस्पर्धा) का आधारमा अस्तित्वमा रहन्छन् । वा सर्भाइभल अफ फिटेष्टका आधारमा नै मानवीय अस्तित्व निर्धारण हुन्छ । यसले विकास र सामाजिकतालाई परिस्कार र प्रतिस्पर्धाको कोणमा हेर्छ ।

दोस्रो विचार दर्शन मनोविज्ञानविद सिग्मण्ड फ्रायडले विकास गरेको मनोविज्ञानवाद हो । फ्रायडको मनोविज्ञान सिद्धान्तअनुसार मानिसको जीवन व्यवहार अवचेत वा दमित इच्छाबाट निर्धारण हुन्छ ।

गोपी मैनाली

तेस्रो वैचारिक सिद्धान्त स्वच्छन्दतावाद हो । प्राचीन पश्चात्य परम्परामा रामन्सेली र पूर्वीय परम्परामा प्रकल्पना, रमणीयता, भावोन्मुक्तताका नाम (प्रवृत्ति) मा रहेको स्वच्छन्दतावाद अठारौं शताब्दीबाट जर्मन दार्शनिक हिगेल, सिलर र फ्रान्सेली दार्शनिक जियन ज्याकुस रुसोले विकास गरेको आत्मवादी, निजत्वमुखी, भावनात्मकताले फराकिलो बनाएको छ । यो परम्परावादी कलाभन्दा भिन्न नवोन्मेसकारी सौन्दर्यशास्त्रीय सिद्धान्त हो । स्वअभिव्यञ्जना, कल्पना, यथास्थितिमाथि असहमति, भावुकता जस्ता विशेषता स्वच्छदन्तावादमा पाइन्छन् । स्वच्छन्दतावाद सबैभन्दा फराकिलो आधार र प्रयोग भएको वैचारिक धार हो । यसले जनजीवनका सबै क्षेत्रलाई निथ्रुक्क पारेको छ । साहित्य वाङ्मयमा यसलाई जेन अस्टिन, एड्गर एलेन पो, वर्डस्वर्थ, किट्स, शेली, कलरिज, लक्ष्मीप्रसाद देवकोटा, रविन्द्रनाथ ठाकुर लगायतले विस्तारित स्वरुप दिएका छन् ।

चौँथो र सारै सशक्त विचारधार कार्ल मार्क्सले विकास गरेको भौतिकवादी दर्शन हो । मानिस सामाजिक र आर्थिक वातावरणको उत्पादन हो, आर्थिक अवस्था नै जीवनको आधार वा पूर्वाधार हो । यही आधारबाट समाज, संस्कृति र विचार निसृत हुन्छ भन्ने मान्यतामा मार्क्सवाद विकास भएको छ । त्यसैले अवचेतनमा होइन, चेतनमा, सौन्दर्य अनि आदर्शमा होइन, यथार्थमा, सीमान्त अभिवृद्धिको विकासमा होइन, वर्गसङ्घर्षमा समाज गतिशील हुन्छ भन्ने वस्तुपरक दृष्टिकोण यसले राख्दछ । यो यथास्थिति प्रतिको आलोचनात्मक चेत हो । त्यति मात्र होइन, कार्ल मार्क्सका अनुसार ‘दार्शनिकहरुले विभिन्न प्रकारले संसारलाई व्याख्या मात्र गरेका छन्, मुख्य कुरा यसलाई बदल्नु हो’ । विचार वा दर्शन मात्र भएर हुँदैन, मुख्य कुरा आफूलाई फेर्ने, समाजलाई फेर्ने र आर्थिक–सामाजिक सम्बन्धलाई उत्पादनशील रुपमा गतिशील बनाउने हो । त्यसैले मार्क्सेली विचारदर्शनले जीवन प्रणालीमा कार्यात्मक परिवर्तनको आग्रह गर्दछ । मार्क्सले प्रतिपादन गरेको विचार दर्शन कला साहित्यमा प्रगतिवादका नाममा प्रयोगमा छ । विश्वका विशिष्ट साहित्यकार कला साहित्यलाई प्रगतिवादी प्रयोगमा अपनाइरहेका छन् ।

०००

प्रगतिवाद र रमेश विकल

प्रगतिशीलता वा प्रगतिवाद के हे भन्ने विषयमा वरिष्ठ समालोचक इन्द्रबहादुर राई आफ्नो सर्वाधिक महत्त्व पाएको समालोचनात्मक अन्वेषण ‘नेपाली उपन्यासक आधराहरु’ मा भन्छन्–प्रगतिशीलतावादले समाज परिवर्तन खोज्छ । सामाजिक परिवर्तन तर व्यक्तिमा मात्र होइन, त्यो नैतिकवादमा हुन्छ । सामाजिक व्यवस्थापनमा परिवर्तन चाहन्छ प्रगतिशील साहित्यले, स्थित सामाजिकतामा प्रगतिपथ रुद्ध देख्छ । यसले सामाजिक (बौद्धिक, आर्थिक, राजनीतिक) अवरोधनहरु पन्साउनुपर्ने अनिवार्यता उघारो पार्छ । प्रगतिशीलतावाद सटिकतः सिद्धान्त (वाद) होइन, चेतना हुन्छ । प्रगतिशील दृष्टिहरु एकजातीय हुँदैनन् स्थावरिक समाजलाई परिवर्तनको निकास दिनु चाहचेतनामा ती सजातीय हुन्छन् । सामाजिक व्यवस्थाको पूर्णतः विस्थापन वा आंशिक सुधार चाहनेसम्म विभेदका प्रगतिशील चिन्तक र लेखकहरु हुन्छन् । सामाजिक निर्माण वा सुधारका विकल्पहरु उनीहरुमा भिन्दाभिन्दै हुनसक्छन्, हुन्छन् । परिवर्तनको खोज अवश्य तर सार्वजनिक स्वीकृति र समर्थनमा अढेको हुन्छ । समाजपरकता नै प्रगतिशीलताभावको तल हुन्छ । (राई, २०३१)

रमेश विकल

नेपाली साहित्य आधुनिककालमा प्रवेश गरेपछि प्रगतिवादी विचार दर्शनले यसलाई प्रभाव पार्दै आएको छ । आधुनिककालले सामाजिक यथार्थलाई साहित्यमा भित्र्याउन पुग्यो । साहित्य तिलस्मीता, प्रकल्पना र अवास्तविकताबाट वस्तुपरक सामाजिक यथार्थ उठाउन थाल्यो । सामाजिक यथार्थमा सामाजिक चेत हुन्छ, जसका कारण आलोचनात्मक चेतले पृष्ठभूमि पाउँछ । रमेश विकलका आख्यानहरु सामाजिक यथार्थमा उभिएका छन्, ग्रामीण र अर्धसहरी परिवेशका दैनिकीहरु उनका कथा–उपन्यासमा मिहिन रुपमा चित्रण गरिएको छ । समाज पुरातनिक संस्कारका विकृति र भेदभावपूर्ण व्यवहारमा जकडिएको छ । यसर्थ सामाजिक यथार्थताको जगमा रहेका साहित्य कुनै न कुनै रुपमा प्रगतिशीलता पछ्याउन पुग्छन् । समालोचक इन्द्रबहादुर राईले भनेजस्तै समाजपरकता नै प्रगतिशीलतावको तल हो ।

‘नयाँ सडकको गीत’, ‘विरानो देशमा’, ‘आज फेरि अर्को तन्न फेरिन्छ’, ‘उर्मिला भाउजु’, ‘हिमालको छहरा समुद्रको ताल’, ‘एउटा बूढो भ्वाइलेनः आशावरीको धुनमा’ र ‘कथादेखि कथासम्म’ मा सङ्ग्रहित कथाहरु सामाजिक धरातलमा भिजेका छन् । त्यस्तै ‘सुनौली’, ‘अविरल बग्दछ इन्द्रावती’ र ‘सागर उर्लन्छ सगरमाथा छुन’ उपन्यास सामाजिक धरातलमा भिजेका छन् । यसर्थ रमेश विकालका आख्यान प्रवृत्ति मूलतः प्रगतिवाद हो । त्यो प्रगतिवाद समाजपरकतामा उभिएर नयाँ सामाजिक मूल्यचेतको सन्देश दिन्छ, खोजी गर्छ, प्रतिक्रिया दिन्छ र सङ्घर्ष पनि गर्छ ।

साहित्य र स्रष्टाको समस्या जीवनको समस्याबाट पृथक् रहन सक्तैन । त्यसैले साहित्यको मूल्याङ्कन त्यही जीवन र ऊ रहेको समाज सापेक्ष्यमा गर्नुपर्छ भन्ने माथ्यु आर्नोल्डको भनाइले प्रगतिशीलता सामाजिक स्थितिबोधबाटै सुरु हुन्छ, किनकि समस्याको निकास र दुखबाट मुक्तिको चेतना व्यक्तिमा रहन्छ । यही चेतभावबाट प्रगतिशील प्रवृत्तिको जन्म भएको पाइन्छ । ‘नयाँ सडकको गीत’ को दृष्टिविहीन पात्रमा ऊ र उसकी सानीमाथि गरिएको व्यवहारको विश्लेषणचेतले प्रगतिशीलता जन्माएको छ । ‘उर्मिला भाउजु’ की उर्मिलामा मनोवैज्ञानिक रुपमा नारीअस्मिताको चेत छ, कतै त्यो सौन्दर्यमा देखिन्छ, कतै विद्रोहमा । ‘अविरल बग्दछ इन्द्रवती’ का माझी परिवारका युवा सदस्यहरुमा विकासको काजीखलकप्रतिको प्रतिक्रियाको भावना मुक्तिमार्गको खोजी र मानवताको प्राप्ति हो ।

प्रगतिवाद र प्रगतिशीलता राजनैतिक चेतनाको विस्तारसँगै भित्रिने विषय बस्तु हो । नेपालमा पनि राजनैतिक चेतनाको विकाससँगै लेखनी (साहित्य) ले प्रगतिवादी धार पक्डदै आएको देखिन्छ । १९७५ मा चन्द्रिका मासिक पत्रिकाको अङ्क १० मा प्रकाशित कवि धरणीधर कोइरालाको यी श्लोकहरुले पहिलो पटक यथास्थितिको विरुद्धमा नागरिक जागरणका लागि आह्वान गरेको थियो–

‘जाग जाग अब जाग न जाग

लाग उन्नति विषे अब लाग

घोर निद अब ता परित्याग

भो भयो, अति सुत्यौ अब जाग ।’ (उद्धरणः ऋषिराज बराल, प्रगतिवाद र नेपाली उपन्यास, पृ २७) ।

त्यस्तै १९७७ को सुव्वा कृष्णलालको ‘मकैको खेती’ पुस्तकले पनि नेपाली समाजमा एक प्रकारले हलचल नै ल्याएको थियो । यी दुवै घटना समाजमा बिस्तारै हुर्किँदै आएको चेतनाका परिणाम थिए, जसले सर्वसाधारणको सोचवृत्तिमा थप चेतनाको तरङ्ग फैलायो । तर प्रगतिवादका व्याख्यामा यी दुई घटनालाई त्यति उद्धरण गरेको पाइँदैन ।

नेपाली साहित्यमा प्रगतिवादी धारको प्रादुर्भाव २००८ मा कृष्णचन्द्रसिंह प्रधानको ‘भञ्जाङ निरै’ प्रकाशित भएपछि भएको भन्नेहरु पनि छन् । तर सामाजिक यथास्थितिको सोचबाट माथि उठी प्रगतिवादी चेत राख्ने सबै सर्जकहरु प्रगतिवादी भन्दा त्यो लहरो भानुभक्त आचार्यसम्म पुग्न सक्छ । आख्यानको सम्बन्धमा कुरा गर्ने हो भने गुरुप्रसाद मैनालीले वि. सं. १९८४ मा लेखेको र १९९२ मा शारदामा प्रकाशित गर्नु भएको ‘नासो’ नै प्रगतिवाद सुरु गरेका थिए भन्न सकिन्छ । त्यस्तै उपन्यासको कुरा गर्दा वि. सं. १९९१ मा प्रकाशित रुद्रराज पाण्डेको ‘रुपमती’ उपन्यास (नेपाली साहित्यको पहिलो मौलिक उपन्यास) ले नै प्रगतिको सन्देश दिएको छ । आदर्शोन्मुख यथार्थवादी उपन्यास भएकाले अपेक्षित औपन्यासिक कार्यव्यापारले विद्यमान सामाजिक अवस्थाको परिस्कार खोज्छ ।

वि. सं. २०११ मा आइपुग्दा हृदयचन्द्रसिंह प्रधानको ‘स्वास्नीमान्छे’ ले प्रगतिशीलतालाई पूर्ण वरण गरिसकेको छ । आख्यानकार रमेश विकल गुरुप्रसाद मैनालीका सामाजिक यथार्थका कथाभूमि र हृदयचन्द्र सिंह प्रधानको सुधारवादी उपन्यासभूमिलाई उर्वर बनाउने प्रगतिवादी सर्जक हुन् । उनका कथा उपन्यासमा पाइने सामाजिक उत्थनशीलता, गतिशील यथार्थ र चाहचेतले उनलाई प्रगतिवादी बनाएको छ । प्रगतिशील साहित्यकारहरु समाजको गतिशील यथार्थ र चाहनालाई कलात्मक रुपमा प्रस्तुत गर्दछन् । प्रगतिवादले जीवन जगतको गतिशीलतामा आस्था राख्छ, आस्था मात्र राख्दैन आग्रह गर्छ र प्रतिक्रिया पनि दिन्छ । सामाजिक विकृतिको विरोध गर्छ, सामाजिक मूल्यप्रणालीको परिस्कार खोज्छ, असल रीतिथितिको संरक्षण गर्दछ र विसङ्गतिको विनिर्माण खोज्छ । रमेश विकलका कथा भूमि र पात्रकार्यले यिनै विशेषता राखेका छन् ।

प्रगतिवादका व्याख्याताहरु मार्क्सेली दर्शन र चिन्तनबाट प्रभावित साहित्यलाई प्रगतिवादी (प्रगतिशील) भन्ने गर्दछन् । मार्क्सले द्वन्द्वात्मक भौतिकवादलाई समाज विकासको आधार मानेका छन् । प्रत्येक सामाजिक घटनालाई उत्पादनको प्रक्रियाको सापेक्ष्यमा हेर्छ । यसर्थ प्रगतिवाद मार्क्सवादबाट प्रभावित साहित्यिक प्रवृत्ति भए पनि यी दुई एकै भने होइनन् । प्रगतिशीलता जीवनको गति, चेत र चाहनामा उभिएको हुन्छ । प्रगतिवादी साहित्य त्यो चेत, चाहना र गतिलाई सामाजिक सम्बन्ध, न्याय र शासकीय प्रक्रियाको सापेक्ष्यतामा हेर्दछ । कतिपय अवस्थामा सौन्दर्य चेत र आवश्यकताको कलात्मक प्रतिक्रियामा प्रगतिवादी साहित्यको प्रयोग, व्याख्या–विश्लेषण गरिएको पनि देखिन्छ । यथार्थ त्यसो होइन र हुनु पनि हुँदैन ।

साहित्यले सामाजिक वास्तविकतालाई प्रतिबिम्वन गर्दछ, तर त्यो कोरा यान्त्रिक रुपमा गर्दैन । कलाशिल्पले भाव–प्रभाव, उत्पादन–विस्तारका साथ सामाजिक यथार्थको विश्लेषण गर्दछ । र, परिवर्तन, शक्ति र सामाजिक प्रजननशीलतालाई सतत बनाउँछ । रमेश विकलका आख्यानहरु यान्त्रिक मार्क्सवाद होइन, सामाजिक यथार्थलाई कलात्मक शिल्पमा प्रस्तुत गरिएका छन् । जसले घटना, पात्रकार्य र परिवेशले पाठकलाई छुट्टै प्रभाव पार्दछ । ‘अविरल बग्दछ इन्द्रावती’ को सोभिते, ‘सुनौली’ को सुनौली, ‘उर्मिला भाउजु’ को उर्मिला, नयाँ सडकको गीतको दृष्टिविहीन पात्र यान्त्रिकतामा मात्र बोल्दैनन्, बाह्य परिवेशप्रति भावनात्मक–कलायुक्त प्रतिक्रिया गर्दछन् । चरित्र सम्वाद र कार्यलाई शिल्पसाधन र प्रस्तुति सौन्दर्यले कलामूल्य प्रदान गरेको छ ।

हुन त प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यबीच पनि भेद छुट्याउने गरिन्छ । वरिष्ठ समालोचक इन्द्रबहादुर राईका भनाइमा ‘प्रगतिशील साहित्य बर्हिमुखी र जीवन संवेदनामात्र भन्दा बाहिरका सामाजिक यथार्थमा प्रगति खोज्ने हुन्छ र प्रगतिवादी साहित्य मार्क्सवादमा आधारित समाजवादी यथार्थवादको लेखन पद्धति लिएको आमूल क्रान्ति चाहिने हुन्छ ।’ तर अधिकांश सर्जक तथा समालोचहकरु प्रगतिशील र प्रगतिवादलाई अलग्याएर हेर्दैनन् । दुवैको एकै दार्शनिक आधार हुन्छ द्वन्द्वात्मक भौतिकवाद । तर यत्तिमा मात्र सीमित हुँदा पनि प्रगतिवादको अर्थ साघुरिन्छ । हामी यसलाई सामाजिक उत्थानशीलता वा प्रजननशीलताको बृहत् कोणबाट हेर्न सक्छौँ । सिर्जनामा सामाजिक छलाङ्पूर्ण परिवर्तन मात्र आग्रह गरिएको हुँदैन, सामाजिक न्यायको भावना हुन्छ, प्रधान पात्र परिवर्तनकामी हुन्छ र सिर्जनादृष्टि परिवर्तनको हुन्छ । यस दृष्टिकोणबाट रमेश विकलका कथा, उपन्यास, नाटक, निबन्ध, व्यङ्ग्य तथा संस्मरण आलेखहरु सबै नै प्रगतिवादी छन् ।

मार्क्सवादी र प्रगतिवादलाई छुट्याउने हो भने विकल प्रगतिवादी छन् भन्न सकिन्छ । राजनीतिज्ञ डा.बाबुराम भट्टराईको भनाइ सहमत हुँदा परिस्थिति फेर्ने र आफूलाई फेर्ने काम गर्नु प्रगतिवाद हो । प्रगतिवाद आफैँमा स्थिर विषय होइन । कुनै विषय वा विचारलाई आफैँमा पूर्ण र अपरिवर्तनीय छ भन्नु पनि त्यस विचारप्रतिकै अन्याय हो । रमेश विकलका सिर्जनाले यी सर्वजनीन सत्यलाई आत्मसात् गरेका छन् । उनको सिर्जनायात्रा आफैँमा प्रगतिवादी धारमा गतिशील छ, स्थिर छैन । किनकि समय, सामाजिक चेतना र परिस्थितिले विकासवादको क्रमिकतालाई पछ्याएको हुन्छ । २०१६ मा प्रकाशित ‘विरानो देशमा’, २०४० मा प्रकाशित ‘अविरल बग्दछ इन्द्रावती’ र २०४३ मा प्रकाशित ‘शव शालिक सहस्रबुद्ध’ को प्रागतिक क्रमिकता र आयामहरु प्रगतिशील गतिमा छन् । यस अर्थमा रमेश विकलमा विकसित प्रगतिवाद एकलरेखीय नभएर बहुरेखीय, सीमित नभएर विस्तृत, स्थिर नभएर गतिशील छ ।

साहित्यिक चिन्तक जर्ज लुकासका अनुसार समाजको होस् वा प्रकृतिको, बाह्य संसारको बस्तुगत गुण नै यथार्थको कुनै पनि उचित अनुभूतिको आधार हो । अर्को शब्दमा भन्ने हो भने मानव चेतना बाह्य संसारको स्वतन्त्र अस्तित्व यसको आधार हो । अस्तित्व बस्तुपरकतामा देखिन्छ, अस्तित्वको खोजी पनि बाह्य समाज वा बस्तुपरकताबाट निर्धारित हुने विषय हो । विकलका सिर्जना लुकासको भनाइअनुरुप देखिन्छन् । दृष्टान्त ‘लाहुरी भैँसी’ लाई लिन सकिन्छ । समाजको स्वरुपले लुखुरे, घैंटी, द्वारेवा, पोडे आदिमा रहेको चिन्तन, प्रतिक्रिया र विश्वास निर्धारण गरेको छ । लाहुरी भैँसी ल्याएकोमा लुखुरे आफूमै रड्ड छ, घैँटी मनैदेखि खुसी छ, खुसीले काम गर्छे, द्वारेबाभित्र आक्रोस र ईर्ष्या गढेको छ । द्वारेबा गरिबको प्रगति खुसी देख्न नसक्ने सम्भ्रान्तीय सोचवृत्तिमा छ । यी सबै बस्तुगत परिस्थितिले जन्माएको चेतनामा आआफ्नो अस्त्विको खोजी हो । ‘अविरल बग्दछ इन्द्रावती’ त विकलको प्रगतिवादको उत्कृष्ट प्रयोग नै हो । अन्य रचनामा पनि लुकासको अस्तित्ववादी खोज देखिन्छ ।

उसो भए हामी भन्न सक्छौँ, प्रगतिवादले अन्ततः मानव ‘स्व’ वा नैसर्गिक स्वायत्तताको खोज गर्छ । यस अर्थमा विकलका सबै कृतिहरु अस्तित्वको खोजीमा छन्, कोही सामाजिक परिस्कार, कोही सांस्कृतिक मूल्य परिवर्तन र कोही मनोवैज्ञानिक सङ्घर्षमार्फत । बाटो मात्र फरक छ, गन्तव्य चाहिँ एकै हो । जसरी अनरे द बाल्जाक, लियो टाल्सटाय र म्याक्सिम गोर्कीका आख्यानमा त्यो पाइन्छ ।

जर्ज लुकासका अनुसार मार्क्स, एङ्ग्ल्स र लेनिनहरुका कृतिहरुको द्वन्द्वात्मक भौतिकवादका रुपमा ‘प्रतिबिम्वन सिद्धान्त’ को विकास भयो । यस सिद्धान्तले मानव चेतना उसको अवस्थाको उत्पादन हो, जस्तो कि बुर्जुवाहरु द्वन्द्वात्मक भौतिकवाद बुझ्न सक्तैनन् । विषय र बस्तुबीचमा पृथकता पाइँदैन तर बुर्जुवाहरु भौतिक द्व्रन्द्वको व्याख्या गर्दा यान्त्रिक रुपमा वा अर्काको भारी बोकाइ दिन्छन् । बुर्जुवा साहित्यले ज्ञानको एक पक्ष, एक छेउ, एक सीमाको अविश्वसनीय रुपमा विस्तार गर्दछ । एक आभ्यासिकता, एकोहोरोपन, अस्वाभाविक कोमलता, व्यक्तिवाद तथा व्यक्तिगत अन्धोपन आदर्शवादका मूल यिनै हुन् । तर प्रगतिवादको यो साँघुरो प्रयोग रमेश विकल गर्दैनन् । सामाजिक विकृति, शोषण र अत्याचारको विरोध गर्छन, तर मार्क्सवादी यान्त्रिकता उनका सिर्जनामा पाँइदैन ।

साहित्य बुर्जुवा वा गैरबुर्जुवा हुँदैन, समाजका पात्र चाहिँ त्यस प्रकारका हुन्छन् । त्यसैले सिर्जनामा आग्रह र पूर्वाग्रह हुनुहुँदैन । साहित्य सामाजसापेक्ष्य हुने भएकोले समाजका विकृति र विसङ्गति उन्मूलनमा भने विकलको साहित्य सिर्जना अभियानमा देखिन्छ । लेनिन मार्क्सवादी साहित्यको व्याख्यामा सधैँ एकै स्वरमा छैनन् । एक प्रसङ्गमा लेनिनले भनेका थिए–‘द्वन्द्वात्मक दृष्टिकोणको सार अन्विति र सादृश्य हो’ । यस अर्थमा भने रमेश विकल मार्क्सवादी हुन्, किनकि उनका सबै कृतिमा सामाजिकताको अन्विति र सादृश्य पाइन्छ । सत्यमात्र गतिशील छ, त्यो भौतिक होस् कि पराभौतिक, सत्यले मात्र मानिसलाई खुसी तुल्याउन सक्छ । जीवन र जगत बोक्ने रमेश विकलका सिर्जना त्यसैले सामाजिक सत्यमात्र उद्घाटन गर्दछन्, सामाजिक खोजी उनको साहित्य कर्म हो । अस्तित्व, यथार्थ, प्रगति जे भने पनि यही नै हो ।

प्रगतिवाद र सौन्दर्यशास्त्रीय दृष्टिकोण अन्वतिमा रमेश विकललाई हेरौँ । प्रत्यक्ष अनुभूतिको सिद्धान्तमा प्रगतिवाद आधारित हुन्छ । यस सिद्धान्तले चेतनादेखि पृथक् यथार्थको कुनै पनि अनुकरण अस्वीकार गर्दछ । यसलाई लिप्सनको भनाइमा बुझ्दा ‘बस्तुको रुप जहिले पनि मद्वारा मेरो आन्तरिक कार्यहरुद्वारा निर्धारित हुन्छन्’ । लिप्सनको भनाइमा बस्तुकरण गरिएको आत्मसन्तुष्टि नै सौन्दर्यशास्त्रीय आनन्द हो । प्रगतिवाद साहित्य व्यक्तिको मद्वारा उसको आन्तरिक कार्यहरुको बस्तुकरण हो । यस दृष्टिकोणमा प्रगतिवादको संरचनागत व्याख्या हुन पुगेको छ । सोभिते, उर्मिला, लुखुरे, पार्वती, शारदा, पिण्डतनी बज्यै, शोभा, सावित्री आफ्नै भावनाको बस्तुकरणमा छन् । त्यसैले प्रागतिक सौन्दर्यवाद पनि विकलको काव्यकारिता हो । मार्क्सवादीहरु सौन्दर्य–कलालाई पनि सामाजिक वास्तविकताका रुपमा लिने गर्दछन् ।

जे जस्ता सिद्धान्त र अवधारणाका आधारमा प्रगतिवादको व्याख्या गरेपनि मूलतः त्यो साहित्यमाथि मार्क्सवादी प्रभाव हो । मार्क्सवादले साहित्यलाई सामाजिक संरचना अनुरुप हेर्छ र सामाजिक आर्थिक र राजनैतिक तत्त्वहरुको विश्लेषण गर्दछ । जसको उद्देश्य उत्पादनका सम्बन्ध (उपयोगिता सिर्जना र वितरण प्रक्रिया) परिर्वतनमार्फत समाजलाई सुधार्नु हो । तर एक्काइसौँ शताब्दीमा त्यो सुधारको शैली र संरचना परिवर्तनको गतिमा भएकाले प्रगतिवाद वा मार्क्सेली विचारलाई पनि यान्त्रिक रुपमा हेर्नु हुँदैन । सुधारका लागि उन्नाइसौं शताब्दीमा सङ्घर्ष आवश्यक थियो, अहिले समावेशिता र सामाजिक सुरक्षा सुधारको रणनीति हो । हिजो आर्थिक आयामबाट शोषण र थिचोमिचोलाई हेर्ने दृष्टिकोण गहन थियो, अहिले सांस्कृतिक पहिचानका मुद्दा वजनदार भएको छ, सशक्तीकरणको सवाल वजनदार छ ।

विकलले संघर्ष, प्रतिस्पर्धा, न्याय, समावेशिता र सशक्तीकरणका आयामहरुबाट समाजको चित्र उतारेका छन्, चेतनाको मार्ग खोलेका छन् । मार्क्सवादको व्याख्यामा वैज्ञानिक दृष्टिकोण चाहिन्छ भन्ने देखाएको छ । समग्रताको नियमबाट न भौतिकवाद न मानिसको आन्तरिक आयाम नै अपवाद हो । राजनीतिज्ञ डा. बाबुराम भट्टराईले भनेझैँ पदार्थ र चेतना वा वस्तुगत र आत्मगत प्रक्रियाको अन्तरसम्बन्धको प्रश्नलाई पनि पछिल्लो ज्ञान, विज्ञान र अनुभवको आधारमा थप विकसित र परिमार्जित गर्नुपर्ने आवश्यकता छ । मार्क्सको पालासम्म पदार्थ र चेतना वा शरीर र चेतनाबीचको सम्बन्धको कुरा विशुद्ध दार्शनिकहरुको क्षेत्रभित्र थियो र सुविचारित अनुमानका आधारमा ती दुई प्रवर्गबीचको सम्बन्धबारे चर्चा हुन्थ्यो । चैतन्यवादीहरुले चेतनाको प्राथमिकताको कुरा गर्दथे भने कोरा भौतिकवादीहरुले चेतनालाई पदार्थ वा बाहिरी जगतको विशुद्ध ऐनामा जस्तो प्रतिबिम्वको कुरा गर्दथे ।

खासगरी दोस्रो अन्तराष्ट्रियका मार्क्सका अनुयायीहरुले प्रतिबिम्वकै सिद्धान्तमा जोड दिएपछि मार्क्सको समग्र विचार नियतिवादीको रुपमा स्थापित हुन पुग्यो । परन्तु पछिल्लो चरणमा न्यूरोसाइन्स (मस्तिष्कविज्ञान) र संज्ञानात्मक मनोविज्ञान (मनोविज्ञान) को क्षेत्रमा भएका वैज्ञानिक अनुसन्धान र निष्कर्षहरुले मस्तिष्क र चेतनाको जटिल अन्तरक्रियात्मक अन्तरसम्बन्ध रहेको पुष्टि गरेका छन् । यसर्थ प्रगतिवादलाई पनि एक्काइसौँ शताब्दीको लेन्सबाट हेर्ने, बुझ्ने, व्याख्या विश्लेषण गर्ने फराकिलो अग्रसरता आवश्यक छ । विकलका रचनाकारितालाई बुर्जुवा सौन्दर्य वा प्रगतिवादी यान्त्रिकताबाट हेरिनु हुँदैन ।

प्रगतिवादीहरु समाजका मुद्दालाई सिर्जनाको विषय बनाउँछन् । त्यसैले त्यस्तो साहित्य जनताको साहित्य कोटिमा दरिन पुग्छ । समाजका जल्दाबल्दा मुद्दा उठाएकै कारण राल्फ फाक्स, अनरे द बाल्जाक, लियो टाल्सटाय र म्याक्सिम गोर्की जसरी जनप्रिय बनेका छन्, त्यसरी नै नेपाली साहित्यमा पारिजात, रमेश विकल, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधानहरु जनताका प्रिय बनेका छन् । सामाजिक मुद्दा उठाउनेहरु समाजमा दीर्घकालीन प्रभाव छाड्न पुग्छन् । विकल, पारिजात, शेरचन, रिमालहरु त्यसैले सर्वजनीन छन् ।

केही माक्सवादीहरु मार्क्सको कलावादी धारणाभन्दा पर रहेको राल्फ फाक्सको आरोप छ । मार्क्सवादअनुसार कलाकृति आर्थिक प्रक्रिया तथा आवश्यकताको प्रतिबिम्व मात्र हो भन्ने विषयमा फाक्स असहमति जनाउछन् । यो मार्क्सवादी दृष्टिकोण होइन, तर उन्नाइसौँ शताब्दीमा केही भौतिकवादीहरु यस प्रकारको सोच राख्दथे । राल्फ फक्सका अनुसार कला साहित्य समाज निरपेक्ष रहदैन, यसको विकास सामाजिक विकासक्रमअनुसार नै हुने गर्दछ । तर सामाजिक विकाससँग पूर्णतः नियमित नहुन सक्छ । उन्नाइसौँ शताब्दीको पूँजीवादमा उपन्यासकार बाल्जाकले जसरी क्रान्तिकारिता समाए, रमेश विकल पनि अविरल बग्दछ इन्द्रावतीलगायत अन्य आख्यानहरुमा यही धारमा छन् । तर बाल्जाकमा जसरी पूँजीवादीहरुप्रति उग्र घृणा थियो, रमेश विकलमा त्यो छैन । विकल पात्र र परिवेशलाई सामाजिक उपयोगिता र न्यायको आधारमा लिने गर्दछन् । धनी हुँदैमा नराम्रो हुँदैन, धनी भएकाहरु नराम्रो हुनुभएन, विकालका रचनाहरुमा यो दृष्टि पाइन्छ ।

प्रगतिशील चिन्तक राल्फ फाक्स मानिसको बाह्य जीवनको परिस्थितिले उसको आन्तरिक जीवन, उसको भाव जगतको चित्रणमा जोड दिन्छन् । रमेश विकलका कथा, उपन्यास, नियात्रा, नाटकहरुमा फाक्सले भनेझैँ बाह्य परिस्थिति र आन्तरिक मानिसको चित्र पाइन्छ । बास्तवमा जीवनलाई दुवै पाटोबाट नहेरे पूर्णता पाइँदैन । यस अर्थमा विकल प्रगतिशील प्रगातिवादी साहित्यकार हुन् । उनका सिर्जनाका प्रमुख चरित्रहरु दुवै आयामको मानिसको चित्रणमार्फत सामाजिक चेत–चाह राख्दछन् । भारतीय साहित्यकार प्रेमचन्दले बाह्य जीवनलाई महत्त्व दिए, शरत बाबूले आन्तरिक जीवनलाई भन्ने गरिन्छ । तर प्रेमचन्दका उपन्यासमा पनि आन्तरिक मानिस भेटिन्छ, शरत बाबू पनि बाह्य परिस्थिति निरपेक्ष रहन सकेका छैनन् । हृदयचन्द्रको स्वास्नीमान्छे उच्चकोटिको प्रगतिवादी उपन्यास हो, तर मोतिमाया आन्तरिक छट्पटीमा गुम्सिएकी छ । दौलत विक्रम विष्ट, पारिजातका आख्यानहरु पनि यही प्रवृत्तिमा दखिन्छन् । फरक यत्ति हो कि विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, तारिणी कोइरालाहरु आन्तरिक मानिसको छटपटी उठाउछन्, विकल, विष्ट, पारिजात, प्रधानहरु सामाजिकता र मनोविज्ञानको सम्मिश्रण गर्दछन् ।

प्रगतिवादी साहित्यकारकारहरु गरिबका मात्र व्यथा उठाउँछन् वा उनीहरुका विषय, पात्र र परिवेश गरिबीको वरिपरि हुन्छ भन्ने भाष्य पनि बनेको छ । तर यथार्थ त्यस्तो होइन, सामाजिक विषयवस्तुको बिम्ब उठाउँदा गरिब र गैरगरिब भन्ने विषय रहँदैन, प्रधान विषय सामाजिक यथार्थ हो । विकलका सबै प्रधान पात्रहरु विपन्न छैनन्, तर सामाजिक विकृति र पिल्साइमा परेका छन् । कतै त्यो श्रमिक छ, कतै ग्रामीण किसानका रुपमा देखिएको छ, कतै सरकारी कर्मचारी छ, कतै सम्भ्रान्त छ तर जहाँ जता रहे पनि विकृत व्यवहारबाट प्रताडित छ । सत्य के हो भने सामान्यतः साहित्य दुखको परिवेशमा लेखिएको हुन्छ, जुन आन्तरिक मानिस वा बाह्य जगतकाे किन नहोस्, भौतिक वा अभौतिक किन नहोस् । दुखबाट मुक्ति सामाजिकताको सार हो । त्यसैले विकलका सबै रचना, विशेषतः कथा र उपन्यास यसका दृष्टान्त हुन् । उर्मिला भाउजुको आन्तरिक मान्छेले उन्मुक्ति खोजिरहेको छ । उसले नजन्माएको छोरोमा साबित्री विद्रोह गरिरहेकी छे, अविरल बग्दछ इन्द्रावतीमा माझी परिवारका सदस्यहरु बाह्य र आन्तरिक दुवै छटपटाइमा छन् । तर सबै पात्रहरु मुक्तिको मार्ग खोजिरहेका छन् ।

प्रगतिवादी साहित्य विशुद्ध साहित्यिक आन्दोलनमात्र नभएर आर्थिक सामाजिक आन्दोलन पनि हो । यो लेखन र अभियान दुवै हो । समाजमा घटेका आर्थिक सामाजिक विपत्तिका घटनाबाट पनि यो प्रभावित हुँदै आएको छ । अठारौँ शताब्दीमा भोल्टेयर, दिदेरो, शेली, भिक्टर ह्युगोले धार्मिक अधिनायकवादका विरुद्ध साहित्यिक आन्दोलन गरे । युरोपमा औद्योगिक क्रान्तिका समयमा श्रमिक तथा निम्न आयवर्गमा पर्न गएको आर्थिक भार, यसले सिर्जना गरेको सामाजिक तनावले साहित्यलाई प्रभाव पार्यो, भनौं मुक्तिको खोजी र यसतर्फको आवाज साहित्यमा मुखरित भयो । सन् १९३० को महान् मन्दीमा सामाजिक–आर्थिक समस्याको समाधानका लागि साहित्य जुर्मुरायो । यस अर्थमा सन् तीसको दशक प्रगतिशील साहित्यको उर्वर अवस्था थियो । किनकी आर्थिक मन्दीले क्षतविक्षत अर्थतन्त्र र त्यति नै बला गढेको तानाशाही राज्यप्रणाली र सामाजिक विकृतिविरुद्ध साहित्य–कला जुर्मुरायो ।

१९३४ मा पेरिसमा भएको साहित्य सम्मेलनले सामाजिक–आर्थिक समस्या समाधानका लागि नवीन साहित्यिक आन्दोलनको जन्म दियो । त्यति बेलाका विख्यात सर्जकहरु हेनरी वार्वुस, लुइस आर्गोन, रोमाइ रोल्याण्डबाट सुरु भएको यस आन्दोलनले १९३७ मा आइपुग्दा भारतसम्म प्रभाव पारी प्रेमचन्द्रजस्ता व्यक्तिको नेतृत्व पाइसेको थियो । भारतमा जीवनमुखी साहित्य लेखन सङ्घ (जीभल साहित्य प्रस्तनाम) का नाममा प्रगतिशील आन्दोलन सुरु भयो । भारतमा सुरु भएको स्वाधिनता आन्दोलनमा साहित्यस्वर मिसियो । नेपालमा विक्रमको सत्तरीको दशकबाट राजनैतिक जागरण सुरु भयो, नब्बेको दशकमा सहिद काण्डहरुपछि आन्दोलनले विस्तृत रुप लियो । तदनुरुप नै साहित्यमा पनि प्रगतिवादी चेतनाको स्वर गाढा हुँदै आयो । निर्देशित पञ्चायती व्यवस्थामा प्रगतिशील साहित्यले स्वतन्त्र र संस्थागत अभियानको रुप पायो । हृदयचन्द्र, पारिजात, रमेश विकल र राल्फा आन्दोलन यसैका रुप हुन् । प्रजातन्त्र प्राप्तिपछि सामाजिक–शासकीय–आर्थिक बेथितिमा प्रगतिवादी लेखन अघि बढेको छ । रमेश विकलका सिर्जनकारिता त्यही बेथितिविरुद्धका सामाजिक चेत–चाह हुन् ।

०००

केही प्रतिनिधि रचनाको प्रागतिकता हेरौँ–

‘आज फेरि अर्को तन्न फेरिन्छ’ प्रत्यक्ष प्रागतिकताको आमन्त्रण गर्दैन तर अस्पतालका अस्तव्यस्त बिछ्यौनामा डस्ना नफेरिइकनै तन्ना फेरिन्छ, रगातका टाटाहरु भएका डस्नाहरु सापेक्षित सुकिला तन्ना फेरिएर छोपिन्छन् । यसले समाज व्यवस्था, शासन पद्धति, सार्वजनिक प्रशासन र सेवा व्यवस्थापनका कुन क्षेत्रमा व्यङ्ग्य–विरोध गरेको छैन र ? यो प्रतीकात्मक प्रगतिवाद हो ।

‘उसले नजन्माएको छोरो’ मा पुरुषत्व गुमाएको (भावनात्मक रुपमा त्यस्तो देखिएको ?) मधुसुदनबाट विद्रोह गरेर सावित्री छोरो पाउँछे, भलैकि त्यो विद्रोह सावित्री र मधुसुदनलाई मात्र थाहा छ । मधुसुदन सामाजिक मर्यादा र परम्परागत विश्वास छ, सावित्रीमा पनि सामाजिक मूल्यसंस्कृतिले, गलत परम्पराले थिचेको छ । तर अन्ततः सावित्रीमा संयमको बाँध फुट्छ र मधुसुदनकै आँखा अगि (परपुरुषको सहयोगमा) काखभरिको छोरो खेलाउँछे । यो सामाजिक मूल्यसंस्कृतिप्रतिको ठूलो विद्रोह हो, जसले महिलाहरु भोग्या मात्र होइनन्, सामाजिक कुसंस्कारका पिल्सिने बस्तुमात्र होइनन्, उनीहरु जैविक आवश्यकता र सामाजिक कार्यका लागि विद्रोह मार्फत लैङ्गिक मानक बदल्न चाहन्छन् भन्ने देखाएको छ । उर्मिला भाउजु कि उर्मिला र माधवमा त्यो साहस देखिएको छैन ।

‘गरिब’ सामाजिक अन्याय र शोषणको प्रखर चित्र छ । तर मुखियाको अत्याचार, निर्मम अत्याचार र सम्पत्तिमाथिको कव्जामा मानबहादुर विद्रोह गर्ने शक्तिमा छैन । मानबहादुर पलायन भयो । या स्वाभविक सम्भ्रान्तता र शोषण संस्कृतिको यथार्थ हो । तर प्रगतिवादी कथाको पात्र मानबहादुरले दाह्रा किट्नुपर्थ्याे, मुड्की बजार्नु पर्थ्याे लात्ती उठाउनुपर्थ्याे । गरिब शक्ति र सङ्घर्षमा पनि गरिब छ । लामो समयसम्मको सामाजिक पेलाइमा परेका सीमान्तकृत विपन्नहरु निश्चित समयसम्म मानबहादुरको स्थितिमा रहन्छन् ।

‘यतिखेर ऊ दुर्गा बनेर निस्किएकी थिई’ कि सुन्दरी विद्रोह गर्छे । दुर्गा विद्रोहको शक्ति हो, शक्तिको प्रतीक हो । गरिबको मानबहादुर जस्तो दुर्गा पलायनकी पात्र होइन । सुन्दरी पनि एकपल्ट चेतनहीन, प्रतिक्रियाहीन हुन खोजेकि थिई तर आफ्नो वीभत्स बलात्कार र बाबु र लोग्नेको निर्मम हत्याको विरुद्ध ऊ आगोको लप्का बनी, सुन्दरेले ल्याएको दामोदर पाण्डेको भिर्ने जस्तो खुकुरी लिएर निस्की, अगि बढी । उसको अगि बढाइ सङ्घर्षको लागि हो, परिवर्तनका लागि हो । उसले खोजेको परिवर्तन क्रान्तिकारी हो, क्रान्तिकारी रुपान्तरणको हो, सामान्य होइन । तर कथाकार यसलाई सङ्केत मात्र गर्दछन् । कथामा दुर्गाको कार्य बाँकी छ ।

‘नयाँ सडकको गीत’ मा सङ्ग्रहित कथाहरु सामाजिक यथार्थ उतार्न सक्षम छन् । तर सबै कथाहरु प्रगतिको श्वर घन्काउन सक्दैनन्, आलोचनात्मक चेत राखेर क्रान्तिको विगुल फुक्न सक्दैनन् । ‘लाहुरी भैँसी’ मा लिखुरे द्वारेबाट शोषित छ, ‘गरिब’ को प्रधान पात्र सङ्घर्षमा पनि गरिब छ, प्रगतिको आक्रोस राख्न सकेको छैन । ‘प्रतिहिंसा’ मा हर्के र ढकाल्नी बज्यैमा प्रगति र परिवर्तनको साहस छैन, मनभित्रको मानिसले चाहेको कुरा बाह्य व्यवहरमा गर्न सकेका छैनन्, त्यसैले सामाजिक पीडा र भोगाइको स्वीकार्यता छ । ‘भञ्ज्याङको चौतारो’ मा देखिएको माया–घृणा–सहानुभूतिको वृत्तात्मकताले सामाजिक विकृति भत्काएर चाहचेतमा पुगेको छैन ।

दया र मायामा पातली र चाउरे छन् । तर ‘नयाँ सडकको गीत’ को दष्टिविहीन पात्रमा माग्नु परेकोमा समाज र प्रकृतिमाथि विद्रोह चेत छ, उसकी सानीलाई सडकमा हिँड्नेहरुले, ठिट्यौलाहरुले गरेको बोलीव्यवहारप्रति आक्रोस छ । शासन फेरिए पनि सडक नफेरिएकोमा र अरु धेरै कुराप्रति आक्रोसचेत छ तर अव्यक्त छ । उसको शारीरिक अवस्थाले पनि उसलाई भौतिक रुपमा उत्रिन दिएको छैन । ‘मोड’ की शोभा मनभित्र मडारिएकी छ । ‘विचारा भद्र मानिस’ भद्रताका कारण उद्वेलित छ तर फलाप्ति पलायनमा छ । भद्र मानिस पत्नीबाट प्रदर्शित व्यवहारका कारण भद्र पलायनको प्रतिक्रियामा छ । ‘अस्वीकृत पराजय’ मा देखिएको पराजय अस्वीकृत हुनुमा असन्तुष्टि र विद्रोह छ, तर त्यसले मूर्तता पाएको छैन, विकृतिले नै जितेको छ । ‘अनुहार मेटिएको मान्छे’, ‘मेरी सानी भतिजी प्रतिमा’ आदिमा विद्रोह चेत छ तर पराजित छ ।

विकलका उपन्यासहरुमा ‘अविरल बग्छ इन्द्रावती’ प्रगतिवादी धारको उत्कृष्ठ रचना हो । यो सामाजिक यथार्थमा आधारित उपन्यास हो । प्रगतिवादको धारबाट हेर्दा उपन्यासको कथाभूमि सामाजिक शोषण, उत्पीडन र अत्याचारमा आधारित छ । काजीखलकहरु माझी परिवारमाथि पुस्तौदेखि शोषण अत्याचार गर्दै आएका छन् । आर्थिक शोषण मात्र होइन, माझी पुत्री लालगेडीको जवानीमाथि पनि सानोकाजी (त्रिलोचनसिंह) को आँखा गड्छ । सोभिते र लालगेडी लगायत माझी परिवार र शिक्षक काजी परिवारको शोषणविरुद्ध जुर्मुराएर । कथाले उत्कर्ष पाउँदा परिवर्तनकारी शक्ति विजेता बनेको छ र शोषण शक्ति पराजित छ । ‘अविरल बग्दछ इन्द्रावती’ गोर्कीको आमाजस्तै कथाकार्यमा छ, सोभिते पावेलजस्तै चरित्रकार्यमा छ । लालगेडी र शिक्षक र अन्य माझी युवाहरु पावेल भ्लासोभका साथीका स्थानमा छन् । सन् १९०६ मा लेखिएको रुसी लेखकको आमा उपन्यास र त्यसको करिव ७० वर्षपछि वि. सं. २०४० मा नेपाली सामाजिक परिवेशमा लेखिएको ‘अविरल बग्दछ इन्द्रावती’ ले नेपाली समाज विकासक्रम र सामाजिक वृत्तिको उस्तै चित्र उतारेको छ । वर्ग सङ्घर्षमार्फत सामाजिक न्याय र समावेशिताको खोजी दुवैको अभिष्ट हो । यसले नेपाली समाज चेतना र जागरुकतामा रुसी समाजभन्दा करिब सातदशकपछि रहेछ भन्ने सङ्केत गर्दछ ।

‘सुनौली’ र ‘सागर उर्लन्छ सगरमाथा छुन’ मा प्रागतिकताको घनत्व ‘अविरल बग्दछ इन्द्रावती’ मा जस्तो छैन, पात्रकार्यको प्रागतिक प्रगाढता पनि कम छ । कथा विषय र परिवेशको कारण त्यो स्वाभाविक छ । सुनौली पहिला किशोर परिवेशको अपरिपक्व इच्छा–आवेगमा अगि बढ्छे, शहरमा उसमाथि भएको यौन व्यवहारमा अस्तित्वको खोजी त गर्छे तर शहरी परिवेश र उसको आन्तरिक–यौनिक अवस्थाले सफलता भने पाएको छैन । उपन्यासभित्रका उपकथाहरुको गतिशीलता भने प्रगतिको धारमा अग्रगामी छन् । ‘सागर उर्लन्छ सगरमाथा छुन’ मा सामन्ती चरित्रको नेपाली समाज उद्घाटित छ । सामाजिक संरचना यति विकृत छ कि चम्कशमसेर राज खान्दानसँग नाता जोडर सामाजिक हैसियत आर्जन गर्न खोज्छ । त्यो हैसियत सम्भ्रान्तता र शोषणका लागि लक्षित छ । लक्ष्मी, इलेन, चम्पक शमसेर सबै सांस्कृतिक विचलनमा छन् । नेपाली समाज गोरो छाला, विदेशी भाषा, कृतज्ञता दिवस जस्ता कुराको नक्कली प्रदर्शन प्रभावमा छ तर आफ्नोपन र पहिचान भने विस्थापित छ । अभिजातीय चरित्रको उत्खननमार्फत प्रगतिधार उपन्यासले पक्डेको छ ।

रमेश विकालको अन्तिम सिर्जना ‘विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी शासक’ लामो कथा हो । यसलाई ‘कथान्यास’ भनिएको छ । यो कथा र उपन्यासको दोसाँधमा छ । पौराणिक मिथक दक्ष प्रजापति र सतीको कथामा आधारित यो पौराणिक कथान्यासमा पनि दक्ष प्रजापतिलाई अभिजातीय चरित्र र सतीलाई आदर्श पात्रका रुपमा बिम्वन गरिएको छ, मार्क्सवादी प्रतिविबम्वनको सिद्धान्तसँग मेल खानेगरी । वीरभद्रको वीरता र कथाको पछिल्लो घटनामा दक्षको श्रीमतीमा देखाइएको उदारताले प्रगतिशीलतालाई अँगालेको छ । यसले शासकहरु अहङ्कारका कारण समाजलाई, संसारलाई कसरी तहसनहस पारिरहेका छन् भन्ने दृष्टान्त दिएको छ ।

रसियाली लेखक लियो टाल्सटाय रसियाली क्रान्तिका दर्पण हुन्, म्याक्सिम गोर्की क्रान्ति र रुपान्तरणका कारकका रुपमा छन्, जसको लेखाइको केन्द्रस्थमा कलालाई सामाजिक वास्तविकताको उपजका रुपमा लिएका छन् । आन्तोन चेखव पनि गोर्कीको सामाजिक रुपान्तरणको यात्रामा प्रखर छन् । विकल पनि समाजिक रुपान्तरणका लागि गोर्की, टाल्सटाय र चेखव जसरी नै प्रस्तुत छन्, उपन्यास, कथा, निबन्ध, नाटक सबैले सामाजिक रुपान्तरणको प्रखर स्वर उतारेका छन् ।

निष्कर्षमा भन्दा प्रगतिवादी साहित्य सर्जक विद्यमान सामाजिक परिस्थितिमा आलोचनात्मक चेत राख्दछन् । ऋषिराज बरालका निष्कर्षमा प्रगतिवादीहरु सामन्ती संस्कतिको विरोध गर्छन्, नारी बन्धनको मुक्ति खोज्छन्, किसानको समस्यामा जागरण खोज्छन्, ग्रामीण शोषणको प्रतिरोध गर्छन, सामान्तवाद र साम्राज्यवादविरोधी आन्दोलन गर्छन्, लाहुरे समस्याको समाधान खोज्छन्, सुकुम्बासी समस्याको वर्गचेतना दिन्छन्, बेरोजगारी समस्या र विद्रोह उठाउँछन्, कर्मचारी समस्या र संगठनात्मक प्रक्रिया बदल्न खोज्छन् । सारमा भन्दा प्रगतिवादी सिर्जनाका पात्रहरुमा रहने आलोचनात्मक चेत, वृत्ति, प्रवृत्ति र प्रतिक्रियाका कारण नै कलासर्जक प्रगतिवादी (प्रगतिशील) कहलिन्छ । कहिलेकाहीँ त त्यो चेत क्रान्तिकारी पनि बन्दछ । रमेश विकलका सिर्जना पनि यसैकारण प्रगतिवादी हुन् । उनका सिर्जना र चरित्रकार्यमा त्यही प्रवृत्ति पाइन्छ । रमेश विकलका सिर्जनाका आधारमा उनका सिर्जनावृत्तिमा पाइने यी वृत्ति प्रगतिवादका दृष्टिआयाम हुन् । अर्को शब्दमा भन्दा प्रगतिवादमा यी प्रमुख विशेषता हुन्ः

– प्रगतिवादी साहित्यमा बस्तु तथा जगत्लाई हेर्ने वैज्ञानिक (बस्तुगत) दृष्टिकोण हुन्छ ।

– प्रगतिवादी साहित्यकारसामाजिक वास्तविकता उतार्ने निर्भय उतार्ने गर्दछन् । सामाजिक वास्तविकताप्रति आलोचनात्मक चेत, प्रतिक्रिया र सङ्घर्षको दृष्टिकोण राखिन्छ ।

– प्रगतिशील साहित्य मानव अधिकार, सामाजिक न्याय र समावेशिताका सवालहरु उठाउने गर्दछन् ।

– प्रगतिशील साहित्य खराब मानसिक सोच र प्रवृत्ति बदल्न केन्द्रित हुन्छ ।

– सामाजिक–आर्थिक–सांस्कृतिक तहसोपान न्यूनीकरण र समतामूलक समाजको स्थापनाका लागि मूल्य–मानक परिवर्तन÷परिस्कार गर्दछ ।

– प्रगतिशील साहित्यको अभिष्ट शान्ति, समृद्धि, स्थायीत्व र आत्मिकता हो ।

यसर्थ प्रगतिवादी साहित्यकार आफूलाई कलासर्जक, आत्मरतिमा रमाउने, स्वअभिव्यञ्जनामा हराउने गर्दैन, समाजसँग अभिन्न भएर अभियन्ता र आन्दोलकका रुपमा उपस्थित हुन्छ भन्ने सिद्ध रमेश विकालका रचनाकारिताबाट हुन्छ । विकलका कृतिहरु समाजमा गढेर रहेको वर्गीय वैषम्य, जातीय विभेद, सांस्कृतिक तहसोपान, कुरीति र थिचोमिचोबाट मुक्तिको मार्ग पहिल्याउन गतिशील छन् । २००६ मा प्रकाशित ‘गरिब’ कथादेखि २०६५ मा प्रकाशित उनको अन्तिम कथा ‘विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी शासक’ यही प्रगतिवादको यात्रामा छन् ।