प्रिय पाठक । समाालोचक र पाठक बिचको अन्तरसंवादले नै समालोचनालाई जन्म दिन्छ र त्यो अन्तरसंवाद वोधगम्यतामा आधारित हुन्छ भन्ने विश्वासकै आधारभूमिमा चक्रव्यूह सञ्चेतनाले काम गरिरहेको हो । यो लेखमा हामी नेपाली साहित्यको कथा विधाका एक सशक्त आधुनिक प्रतिभा मनु ब्राजाकीको बारेमा चर्चा गर्छौं। यसका निम्ति उनका दुई ओटा कथासङ्ग्रहहरू तिमी स्वास्नी र म (२०४६) तथा पारदर्शी मान्छे (२०६०) भित्रका कतिपय कथालाई समातेर एक समालोचकीय दृष्टिकोण प्रस्तुत गर्ने प्रयत्न गर्नेछौँ । हुन त यी दुई बाहेक नै उनका अरु पाँचओटा कथासङ्ग्रहहरू प्रकाशित छन् । ब्राजाकीको कथा लेखनको कालखण्डले हालसम्म लगभग चालिस वर्ष पार गरेको छ ।
यो कालखण्डभित्र नेपाल राज्यमा पञ्चायती व्यवस्थाको चकचकी, पहिलो जनआन्दोलनद्वारा प्रजातन्त्रको स्थापना, एक दशक लामो माओवादी युद्ध, दोस्रो जनआन्दोलनद्वारा लोकतन्त्रको स्थापना, गणतन्त्रको स्थापना र अभ्यास, समावेशीताको अभ्यास तथा संविधानसभाद्वारा संविधानको घोषणाजस्ता राजनैतिक घटनावलीहरू भएका छन् । यी घटनाहरूको प्रभाव र प्रतिच्छायाँले कसरी ब्राजाकीका कथाहरू निर्मित छन् भनेर हामी विश्लेषण गर्न चाहन्छौँ । तर ब्राजाकीका कथालाई यी नै घटनाको प्रभाव र प्रतिच्छायाँको दायराभित्र मात्रै बुझ्नु अन्याय हुन्छ । उनको ज्ञानशास्त्रीय दायरा धेरै पर, धेरै माथि र धेरै तलसम्म छ ।
हाम्रो ज्ञानकर्मको परम्परागत बुझाइले गुरु र समालोचकलाई ज्ञानको सम्पूर्ण श्रोत मान्दछ । यो भ्रामक बुझाइलाई बदर गर्दै, बोध, ज्ञान र अनुभव जहाँ पनि स्थानसापेक्ष र कालसापेक्ष हुन्छ भन्ने मान्यता चक्रव्यूह सञ्चेतनाले राख्छ । वस्तुगत ऐतिहासिकतासँग साहित्यलाई जोडेर विश्लेषण गर्ने पद्धति हाल आएर शक्तिशाली बनिसकेको यथार्थ जगजाहेर छ । यसै क्रममा हामी यो लेखमा पाश्चात्य साहित्यमा एक समालोचक हिप्पोलाइट टैन र हाम्रा नेपाली कथाकार मनु ब्राजाकीका बिचमा वैचारिक समागम गराउँछौँ । जम्मा सातओटा मध्ये ब्राजाकीका दुईओटा मात्र कथासङ्ग्रहमा हामी केन्द्रित हुँदाका सीमितताहरूमाथि क्षमा याचना गर्दछौँ ।
साहित्यिक समालोचनालाई सिद्धान्तको जगमा उभ्याउनु पर्ने चक्रव्यूह सञ्चेतनाको आधारभूत मान्यता अनुरूप ब्राजाकीकृत कथाहरू छिचोल्न हिप्पोलाइट टैनको सहयोग लिदैँछौँ । उन्नाइसौँ शताब्दीको उत्तरार्ध टैनले साहित्यलाई जाति, वातावरण र युगसँग जोडेर हेर्नुपर्ने मान्यता राखे । अर्को शब्दमा भन्दा यी कुराहरू साहित्यका त्रीआधार हुन् । अझै अर्को शब्दमा यी नै त्रीआधारको प्रतिच्छायाँ साहित्य हो भने साहित्यिक कृतिभित्र यी नै कुराहरूको छापा मार्नु समालोचनाको अभिभारा हो । प्रकारान्तरले टैनमाथि कार्ल मार्क्स र एङ्गेल्सको दर्शनशास्त्रको बलियो प्रभाव परेको कुराप्रति आम स्वीकृति छ । उनको विश्लेषणको नमूना मार्क्सवादी नभएर समाजशास्त्रीय रहेको छ ।
आदरणीय पाठक । टैनले भनेजस्तो जाति, वातावरण र युगको त्रीआधारले कसरी ब्राजाकीका कथाहरूको निर्मिति तयार भएको छ भनेर खोजी गर्नु नै यो लेखमा हाम्रो चासो हुनेछ । अर्थनिर्धारणका अनगिन्ति तौर तरिकाहरूमध्ये यो एक हो । मनु ब्राजाकीका कथाहरूले समयको एक निश्चित फक्लेटोलाई प्रतिनिधित्व गर्छन् । समाजका मनोदशा, भूगोल, परिस्थिति र स्वरहरूको प्रतिविम्बका कारण यी कथाहरूलाई ऐतिहासिकताको चस्माले नजर लगाउनु पर्छ ।
तिम्री स्वास्नी र म सङ्ग्रहभित्रका कथाहरूले २०४० को दशकको समाज, अर्थनीति, प्रेमसम्बन्ध, कर्मचारीतन्त्र आदिको तस्बिर प्रस्तुत गर्छन् । यस सङ्ग्रहभित्रको कथा ‘तिमी स्वास्नी र म’ (जसको नामबाट सङ्ग्रहको नामकरण गरिएको छ ।) ले चालिसको दशकको प्रेमको चरित्र र प्रेमीहरूको मनोदशालाई प्रकट गर्छ । क्यामेलिया फूलको वस्तुगत प्रतिरूपद्वारा कथावाचक ‘म’ पात्रले ‘तिमी’ पात्रकी स्वास्नीसँगको प्रेम अङ्कुरण, प्रेमको समृद्धि र प्रेमको अवनतिलाई प्रस्तुत गरेको छ । वस्तुगत प्रतिरूपले भावना अनुकुलको कुनै स्थल, वस्तु, घटना तथा परिवेशको निर्माण गर्छ । जसका माध्यमबाट भावना बिस्तारै स्थुल हुँदै जान्छ । क्यामेलिया फूलको फक्राइसँगै ‘तिमी’ स्वास्नीसँग भेट हुन्छ । सम्बन्धमा विकसित जटिलतासँगै फूलको वैलाइ सुरु हुन्छ ।
‘म’ पात्रले आफ्नी श्रीमती निर्मलाको परपुरुषसँग विवाह इतर सम्बन्ध पत्ता लागेपछि निर्मलालाई शारीरिक यातना दिएको हुन्छ । त्यसपछि निर्मला आफ्नो सानो छोरो गोपुलाई लिएर माइती गएकी हुन्छिन् । श्रीमतीबाट छुट्टै भएपछि ‘म’ पात्र ‘तिमी’ स्वास्नीसँग विवाह इतर सम्बन्ध गाँसिन्छन् । जो सुकै भए पनि अन्ततोगत्वा ‘तिमी’ पात्रकी स्वास्नी आफ्नै लोग्नेसँग र ‘म’ पात्र आफ्नै श्रीमतीसँग गाँसिन्छन् । उनीहरूका विवाह–इतर सम्बन्धहरूले पारिवारिक विखण्डन ल्याउँदैनन् । पारिवारिक विघटनको मनसाय रहित यी लुकीचोरी भएका प्रणाय सम्बन्धहरू यो कथा लेखनको समयका यथार्थ हुन् । यो समालोचकीय लेख लेखिरहँदा त्यो समय तीन दशक भन्दा बढीले बुढो भइसकेको छ । त्यसैले आजको यथार्थ पनि फरक छ ।
नेपालमा दोस्रो जनआन्दोलन २०६२-६३ को सफलतापश्चात् साहित्यको मूल प्रवाह नै विषयवस्तुका लागि सीमान्ततिर फर्किएको छ । यो क्रम अहिले पनि जारी छ । कथाकार ब्राजाकीको सन्दर्भमा भने उनले तराई मधेसको सन्दर्भलाई चालिसको दशकबाटै विभिन्न कथाहरूमा यथेष्ट उठान गरेका छन् । आर्थिक दयनीयता, दाइजो प्रथा, सामन्ती हैकम, नारीहरूको वस्तुकरण र समथर प्रदेशका सांस्कृतिक मूल्य मान्यताहरू माथिको विचरण ब्राजाकीका कथाहरूमा पाइन्छ ।
‘आखिर सजीवको कर्तव्य के हो त ?’ कथामा तराई मधेसको कुनै गाउँमा बस्ने एक मधेसी पुरुष पात्रको कथा छ । उसको मावली र ससुराली दुवै भारतमा हो । उसकी श्रीमती रामदुलारीको सोख भने बजार डुल्नु र सिनेमा हेर्नु थियो । घरायसी धोखाधडी, गरिबी, विमातृ व्यवहार, श्रीमतीको वेश्यागिरी र अन्तमा श्रीमतीसँगको विछोड जस्ता घटनाहरूले विक्षिप्त एक व्यक्तिको कथाले अन्य कैयौँ व्यक्ति र समुदायको परिवेशलाई बोकेको पाइन्छ । यसै कथामा भारतको सितामढी घर भएकी रामदुलारी आफ्नो माइतीघरमा ब्याप्त गरिबीको चित्र सम्झिन्छे । राष्ट्रियताको हिसाबले भारतको सितामढी र नेपालको तराई मधेस फरक भए पनि गरिबी र शोषणका स्वरूप भने समान प्रकृतिका छन् । उक्त कथाले यस्तो भन्छः
रामदुलारीले आफ्नो बाउको पान दोकान पछाडिको एउटा झुप्रो सम्झिई । जहाँ एउटै कोठामा उसका भाइबहिनीहरू र आमाबाउ सुत्ने र राति बाउ सलाइ कोरेर चारैतिर हेर्ने गर्थ्यो अनि सबैलाई सुतेको ठानेर आफ्नी बुढीलाई गिजोल्न थाल्थ्यो । यो सम्झेर ऊ अन्यमनस्क भई (३५, तिम्री स्वास्नी र म)
कथाकार ब्राजाकीले २०४१ साल भदौ महिनामा लेखेको ‘शुभलाभ’ शीर्षकको कथामा पनि मधेसी समुदायको एक रिक्सावाल व्यक्ति, जसको नाम परमेश्वर हो, को आर्थिक तथा स्वास्थ्य दुरावस्थाको चित्रण यसरी गरेका छन्ः
… नरकङ्गाल जस्तो रोगी झुप्राको कुनामा थाङ्नाहरूबिच बसेर प्राण नै खिचिएला झैँ गरी खोक्तै रहेछ । सिरानतिर पाँच छ वर्षको नाङ्गो भुतुङ्गो एउटा बालक झुत्रो पङ्खा हल्लाउँदै असहाय भावले रोगीतिर हेर्दैगरेको र छेउमै गाँजाको चिलिम पनि अँध्यारो कालो मुख लगाएर लडिराखेको रहेछ । रोगी खोक्ताखोक्ता मुर्छा पर्लाजस्तो गरी घोप्टो पर्यो । अनि तुरुन्त मुन्टो उचालेर आफू छेउको फुटेको घैलाको टुक्रामा खकार उकेल्यो । खकारसँग निस्केका रगतका फाल्साफाल्सीले माटाको घैलाको त्यो टुक्रा भरियो । (६२, तिम्री स्वास्नी र म)
वि.सं. २०५५ सालमा फुटकर रूपमा प्रकाशित कथा ‘भविष्यहीन भविष्यवक्ता’ मा कथाकारले तराई मधेसकै परिवेशलाई उजागर गरेका छन् । यो कथा पारदर्शी मान्छे सङ्ग्रहमा समेटिएको छ । ‘लुला मिसिर’ को फूलनाउँले चिनिने लुमनदत्त मिश्रको कथा कारुणिक छ । यो कथामा एक प्रकाण्ड पुरोहित, ज्योतिषी र वैद्य गौबुदत्त मिश्रका छोराको हात डुँडो छ, शरीर लुलो छ । उनी श्रीमतीद्वारा परित्यक्त छन् । उनको पुरेत्याइँ पेसा पनि टाढाका नातेदारहरूको हातमा पर्छ । आठ वर्षपछि विजयादशमीको उपलक्ष्यमा रामलीला प्रदर्शन हुँदा ती नै लुला मिसिर कलाकारको रूपमा बजरङ्गबलीको अभिनय गर्ने क्रममा बलिन्द्रधारा आँसु बगाउँछन् । हिक्का छोडेर रुन थाल्छन् । उनको काँधबाट रामनामी ओढ्ने झर्छ । डुँडो हात थर्थर काम्छ । नाटकको नाटकीयता पटाक्षेप हुन्छ । दर्शकले लुला मिसिरलाई चिन्छन् । रामलीला पार्टीका दुई जना गेरुवस्त्रधारी कार्यकर्ताले बजरङ्गबलीको अभिनय गर्ने लुला मिसिरलाई बलपूर्वक उठाएर नेपथ्यतिर लैजान्छन् । यो कथाले घटनालाई कुनै राजनैतिक गन्ध नदिई व्यक्तिको दुःखलाई कारुणिकताको उचाइमा पुर्याएर प्रस्तुत गरेको छ । यो कथामा पनि हाम्रो ऐतिहासिकता झल्किएको छ ।
यसैगरी, वि.सं. २०५५ तिर लेखिएको ‘मनोरञ्जन’ शीषकको अर्को कथामा कथाकारले पहिलो खण्ड सहरीया निम्न मध्यम वर्गको परिभाषा र सैद्धान्तिकरण गर्दै दोस्रो खण्डमा कथानक प्रस्तुत गर्छन् । मोटरसाइकल वा गाडीको चाबी साटासाटसँगै श्रीमान् श्रीमती साटासाटको परिपाटी सहरीया मध्यम वर्गमा रहेको देखाइएको छ । मनु ब्राजाकीका यी र यस्तै स्वभावका कथाहरूले सचेत अथवा असचेत रूपमा सामाजिक, आर्थिक र सांस्कृतिक अन्तरविरोधहरूको उद्वोधन गरेका छन् ।
‘करुणामय’ शीर्षकको कथाले एक अन्धी आमाकी बेश्या छोरी र एक गुण्डाहरू मार्ने अचम्मको व्यक्तिको कथा समेटेको छ । यसै गरी ‘जोरपैयुँ’ कथाले नेपाली समाजमा सदियौँदखि विद्यमान विभेदयुक्त जातिपाती व्यवस्थालाई प्रस्तुत गरेको छ । तर यस कथाका पात्रहरू जातीय छुवाछुतको दर्शनलाई दख्खल दिन नसक्ने निरिह व्यक्तिको रूपमा चित्रित छन् ।
पुनः एक पटक सिद्धान्तको कुरा जोड्नुपर्दा हिप्पोलाइट टैनले भनेका छन्, “संसारमा मानव एक्लो हुँदैन, उसलाई प्रकृतिले घेरेको हुन्छ अरु मानवहरूले पनि घेरेका हुन्छन्” । (६१४) । यही कथनलाई समातेर ब्राजाकीको ‘खुसीको पिरो आँसु’ कथाको विश्लेषण गर्ने हो भने भड्के माइलोकी कान्छी श्रीमतीबाट छोरी जन्मिँदा भड्के मात्र बिछट्ट खुसी हुँदैन । उसले मुङ्लाने साहुबाट रु. तीन हजार ऋण सहजै प्राप्त गर्छ । पुत्री प्राप्तिको खुसी भड्के माइलोको पारिवारिक दायरा काटेर बाहिर पुग्छ । सम्भवतः भड्केले आफ्नी छोरी १०-१२ वर्षकी भएपछि कसैलाई सुम्पनुपर्छ । छोरीको जन्मले ऊ सम्पन्नताको सपना देख्छ । नेपाली समाजको कुनै समुदायमा प्रथम रजस्वलाको छेउछाउ पुगेको अथवा पुग्नै नपाएकी छोरी बेचेर घरको छानो सेत्याउने प्रचलन हामी बाँचेकै युगमा छ ।
अर्को कथा ‘बाबू हरिहरनारायण सिंहज्यू देव’ मा भुँइमा टुक्रुक्क बसेर गाहकी कुर्ने हजामबाट बल्ल बल्ल स्यालुनवालमा परिणत भएको फुलगेन ठाकुरको कथा छ । यस कथाले तराई मधेसको मधेसी समुदायभित्र विद्यमान सामन्ती तथा जमिन्दारी प्रथाका बारेमा प्रकाश पारको छ । फुलगेन ठाकुर गरिब छ । उसका श्रीमती र छोरीमाथि जमिन्दारको कुदृष्टि छ । उसको स्यालुनमा पैसा नतिरी निःशुल्क कपालदारी कटाउन आउनेहरूको बाहुल्य छ ।
‘सामन्तको सम्पत्ति’ कथाले वर्गीय द्वन्द्वको विषयलाई छुँदै एक परिश्रमी निम्न मध्यम वर्गीय किसानले आफ्नो उद्यमशीलताका आधारमा आर्थिक प्रगति गरेको कथानक छ । आफूसँग भएको सीमित भूमिलाई व्यवसायिक चातुर्यद्वारा अधिकतम सदुपयोग गर्दै ती किसानले आफ्नो वर्गोत्थान गरे । मुङ्लिन–नौबिसे राजमार्ग खण्डको कुनै निम्न स्तरीय होटलमा तास खेल्दै दिन बिताइरहेका युवाहरू ती किसानले घरबाटै ल्याएर खाएका स्वादिष्ट र गहकिला परिकारहरूको बारेमा ती किसान र उनकै सहयात्री महेन्द्र जिपको ड्राइभरका बीचमा भएको कुराकानीबाट जानकारी भएपछि आपसमा वार्तालाप गर्दै व्यङ्ग्य गर्छन्, “खानु पर्ने त मिहिनित गर्नेले यसै स्वादिलो सामन्ती खाना हो, तर बाबु साहेब, नेपालमा मिहिनेत गर्नेले कोदाको ढिँडो र सिस्नोको दाउन जुराउन पनि सक्तैन, एक फाँको मकैका लागि पनि अरूको चाकडी गर्नुपर्छ” (३१, पारदर्शी मान्छे) । त्यसै गरी अर्को युवा आफ्नो समयको यथार्थ यसरी बोल्छ, “पढेलेखेर डुकुलन्ठ भइयो । साला दलालले घरखेत बन्दकी राखेको एकै लाख पनि खाइदियो, विदेश जान पनि पाइएन” (९२, पारदर्शी मान्छे) ।
नवऐतिहासिकतावादी दृष्टिकोणमा कुनै पनि कृति सङ्कथनहरूको परेडभूमि हो । यी कथाकारका कथामा पनि विभिन्न दर्शनशास्त्रद्वारा प्रभावित सङ्कथनहरू भेट्टाइन्छन् । माथि व्याख्या गरिएको कथाका उध्र्वगामी किसान बुर्जुवा चरित्रका छन् । ‘बुर्जुवा’ शब्दद्वारा हामीले उनको उत्पादनमुखी ‘कमर्सियल स्पिरिट’ लाई इङ्गित गर्न खोजेका हौँ । उनी युवाहरूलाई समेत प्रेरणा मिल्ने गरी आफ्नो सफलताको कथा यसरी भन्छन्ः
मेरो एउटा पोखरी छ । त्यसमा माछा पालेको छु । पोखरीको डिलमा बाहिरी भागपट्टि लहरै सिसौ र डाले घाँसका बोट लगाएको छु । डिलको पारिपट्टि पर्ने भित्री भागमा केरा लगाएको छु । डिलकै पूर्वी र दक्षिणी कुनामा बाँसका दुइओटा झ्याँङ रोपेको छु । डिलको पश्चिमी अलिकति भूभागमा बिसओटा बङ्गुर पालेको छु । जसको मल माछाहरूका लागि दाना हुन्छ । झण्डै साठीओटा जति डाले घाँसका बोट लगाएको हुँदा बिस पच्चिसओटा खसीबाख्रा पनि पालेको छु । पोखरीसँगै दुई सय जति हाँस पनि पालेको छु । एक सय जति कुखुराहरू पनि छन् । दुइटा भैँसी थिए, यस पटक एउटा जर्सी गाई पनि ल्याएँ । दिनको तीन पटक दुहुनुपर्छ । गाई, भैसी, बङ्गुरको मल, बाख्राका बड्क्यौला र हाँस कुखुराका सुलीको सदुपयोग गोबरग्याँस प्लान्ट राखेर गरेको छु । यसले गर्दा बेमौसमी विकासे तरकारी खेतीका लागि पर्याप्त मल प्राप्त हुन्छ भने खाना पकाउन दाउरा खोज्ने कामबाट पनि मुक्त भएको छु । साथै बत्ती बाल्न मट्टितेलको खर्चबाट पनि जोगिएको छु । (९३, पारदर्शी मान्छे) ।
जम्माजम्मी साँढे दुई बिगाहा जग्गामा ती किसानले यति धेरै आर्थिक उत्पादन गर्न सकेको कथाले पूँजीको विकासको सम्भावनालाई सङ्केत गरेको छ । आखिरी नेपालको वर्गीय स्वरूपको वर्तमान समाजमा शोषक छन्, शोषित छन् । यो यथार्थ हो तर जनसङ्ख्याको एउटा ठूलो हिस्सा पूँजीवादी ‘स्पिरिट’ नभएको एवं भाग्यलाई अथवा राज्यलाई गाली गरेर बस्ने स्वभावको पनि छ । यहाँ हामीले पूँजीवादी ‘स्पिरिट’ भन्नाले उत्पादनशील ‘स्पिरिट’ भन्न खोजेका हौँ ।
हामीले यो लेखमा प्रयोग गरिराखेका सिद्धान्तकार हिप्पोलाइट टैनका त्रीआधारहरू मध्ये जाति शब्दलाई उनले उदार अर्थमा मानव समुदायका नैसर्गिक वंशाणुगत अवधारणाहरूसँग समेत जोडेका छन् । वर्तमान नेपाली समाजमा विकसित हुँदै गइरहेका केही नवीन मान्यताहरू पनि ब्राजाकीको कथाका विषयवस्तु भएर आएका छन् । ‘अंश–वंशधारिणी’ शीर्षकको कथामा गङ्गा नामकी एक नारी पात्र सन्तान जन्माउने तर विवाह नगर्ने निर्णय गर्छिन् । यौन सम्बन्ध राख्ने तर कसैलाई पनि लोग्ने बनाउन चाहन्नन् । उनी बाल्यकालमै बलत्कारको शिकार भएको कारण परम्परागत समाजसत्ताप्रति विमति राख्छिन् । गर्भवती भइसकेकी गङ्गा माइतीसँग अंश लिने तर विवाह नगर्ने, वंश विस्तार गर्ने तर एक लोग्नेमान्छेकी श्रीमती भएर नबस्ने निर्णय गर्छिन् ।
समयका सुकिलाघुर्र्मैला धेरै गुञ्जनहरूलाई ब्राजाकीले आफ्ना कथामा समातेका छन् । सामाजिक अन्तरविरोधहरूको उपस्थितिले उनका कथाहरू समाज र समयको निश्चित पक्षसँग गाँसिएका छन् । नेपाली भाषाको कुमारी रूपलाई ‘ब्रोकन’ अङ्ग्रेजीसँग मिसाएर ‘मोङ्ग्रेल’ बनाउने एफ.एम. रेडियोको उद्यमप्रति उनको चेतनामा वितृष्णा पैदा भएको छ । यो यथार्थ पनि टैनले निर्धारण गरेको जाति, वातावरण र युगको त्रीआधारको प्रतिविम्ब हो । ‘सार्वभौम जनकङ्गाल’ शीर्षकको कथामा अहिलेको युवा पुस्ताको चित्र यसरी प्रस्तुत गरिएको छ, “मैले उसको छोरोतिर हेरेँ । आफ्नो छोरो पो रहेछ । काँधसम्म कपाल लर्केको, एउटा मात्र कानमा एकुमेव टप टल्केको, नयाँ प्यान्ट–सर्ट–ज्याकेटलाई एक ठाउँमा च्यातेर पुरानो पारेर भिरेको, उचाल्नै धौधौ पर्ला जस्तो ढ्याब्रे जुत्ता लगाएको” (६३, पारदर्शी मान्छे) ।
हामी सांस्कृतिक विचलन र अन्तर्घुलनको विश्वव्यापी प्रकृयामा छौँ । हाम्रो युगमा विशुद्धता भन्ने तत्त्व विचारधारादेखि संस्कृतिसम्ममा नै कायम छैन । ‘इखको बिख’ कथामा एउटा पात्र हाम्रो वर्तमान सांस्कृतिक ठिमाहापनलाई यसरी झल्काउँछ, “… यिनीहरूले के चिन्याछन् यो देशलाई ? फाएभ स्टार होटेलमा गाईको मासु खाए पनि गोवर्धन पूजा गर्नुपर्छ, स्कच र ठर्रामा डुबे पनि दुई हात थापेर पञ्चामृत घुट्क्याउनै पर्छ । अनि आफ्नो जीउ जति मासे बेचे पनि तीजको व्रत बस्नु र स्वस्थानी सुन्न छाड्नु हुन्न” (७६÷७७ पारदर्शी मान्छे) ।
ऐतिहासिकतासँग अनोन्याश्रित रूपले जोडिएका ब्राजाकीका कथाहरूलाई भाषिक दृष्टिकोणबाट चिहाउँदा त्यसभित्र एक विचित्र किसिमको त्रीआयामिक सन्धी भेट्टिन्छ । प्रथमतः उनी लोकप्रिय संस्कृतिले समेटेको शब्दविन्याससँग सन्निकट रहेर त्यसलाई आफ्ना सङ्कथनहरूमा समेट्छन् । द्वित्तीयतः उनी प्रादेशिक÷क्षेत्रगत प्रथा, भूगोल र परम्पराद्वारा निसृत शब्दावलीसँग क्रिडा गर्छन् । तृतीयतः कतिपय कथामा पठित पाठकको अपेक्षा सहित संस्कृत शब्दावली र शब्दविन्यासको दबदबा रहेको शास्त्रीय शैलीको प्रयोग गर्छन् ।
प्रिय पाठक ! माथिल्लो अनुच्छेदमा दावी गरिएको कथनलाई प्रमाणित गर्ने उद्देश्यका साथ हामी केही उदाहरणहरू प्रस्तुत गर्न चाहन्छौँ । पहिलो बुँदामा उल्लिखित शब्दविन्यास ‘मनोरञ्जन’, ‘चोलीके पिछे क्या है’ जस्ता कथाहरूमा पाइन्छ । दोस्रो प्रकारको शब्दावली विशेष गरी तराई मधेस केन्द्रित कथाहरूमा पाइन्छ । ‘खुसीको पीरो आँसु’ कथामा पिप्ले साहिँलो भड्केलाई हप्काउँदै भन्छ, “थुइक्क मोरा ! जन्मिँदै तैले छोरी बेचिस् । हेर माइला, म गरिब छु, कुअन्न खान्छु तर गू खान्नँ बुझिस्” (१०१, पारदर्शी मान्छे ) । ‘कान्छी तँ भित्र जा’ कथामा लोग्नेले स्वास्नीलाई भन्छ, “लु कान्छी ! भकारा सोरेर गाईबाख्रा सारिहाल त । म दारी फालिहालूँ । भान्सामा छिटो तयारे गर है” (३३, पारदर्शी मान्छे) । यसै गरी तराई मधेसको सामन्ती तथा जमिन्दारी प्रथाका बारेमा केन्द्रित कथा ‘बाबु हरिहर नारायण सिंहज्यू देव’ मा पनि स्थानीय लवजको प्रयोग छ । अर्को कथा ‘आखिर सजीवको कर्तव्य के हो त ?’ मा मधेसी शब्द र वाक्य गठनको सुमधुर सौन्दर्य झनै घनिभूत रूपमा आएको छ । केही उदाहरण अगाडि प्रस्तुत छन् – “सासूजीले आफ्नो कोसेलिया (पेवा) बाट किनिदिनुभएछ” (३९, तिम्री स्वास्नी र म ) । यसै कथामा एउटा पात्र बोल्छ, “लगा रे कनिया लगा । तँ सहरिया छौँडी (३९, तिम्री स्वास्नी र म) । ‘शुभलाभ’ शीर्षकको कथामा गजुदेवले भन्छ, “डाक्टरसाब, चाय पिउँदै छु एक मिनेट ठह्र्नुस्” (६७, तिम्री स्वास्नी र म) । ‘चौथो दाबेदार’ शीर्षकको कथामा एउटा वाक्य यस्तो छ, ”यसरी खडाखडी लग्घी (पिसाब) गर्नु गाउँघरतिर असभ्यता हो ।” (७६, तिम्री स्वास्नी र म) ।
जे होस्, चालिसको दशकको पूर्वार्धमा लेखिएका ब्राजाकीका केही कथाहरूले मधेसी लवज र परिवेशलाई केही हदसम्म समेटेका छन् । त्यो कालखण्डमा समावेशी सिद्धान्त र पहिचानको मुद्दाको प्रयोग त के चेतना पनि विरलै थियो होला ।
हामीले माथि तेस्रो बुँदामा भनेको शास्त्रीय शैली पनि कथाकार ब्राजाकीले आफ्ना विभिन्न कथाहरूमा प्रयोग गरेका छन् । ‘जोरपैयुँ’ शीर्षकको कथामा पण्डित उपाध्याय देवराम शास्त्री र निलमबिचको प्रेम सम्बन्धलाई कथाकारले संस्कृत शब्दहरूको मनग्य प्रयोग सहित शास्त्रीय शैलीमा देहाय बमोजिम प्रस्तुत गरेका छन्ः
निलमको शरीर–सौष्ठवको आन्तरिक भङ्गिमालाई पृष्ठभूमिमा बसेको बौद्धिकताले प्रभावित गरेर सुरूपा बनाइरहेको देवरामले अनुभव गरे । साथै यौवनको पूर्ण प्रखर तेज त थियो नै । निलमको निश्छल मुस्कान, स्पष्ट र निर्द्वन्द्व हेराइ, भावप्रवण तर्कशीलता, अनत स्वमान, सुदृढ विनयशीलता र आत्मिक व्यवहारको समवेत प्रभावले देवराम छिट्टै अभिभूत भए । (१७, पारदर्शी मान्छे)
यस्तै उच्च पदावलीको प्रचुर प्रयोग भएको अर्को कथा ‘प्रमद्वराको प्रणय र रूरूको आत्मीयता’ पनि हो । एक उदाहरण हेरौँ, जसमा रूरू प्रमद्वरालाई भन्छन्, “अर्थात म पनि क्षणप्रणयकै सन्तान हुँ । मेरी माताश्री हुन् रूपगुण सम्पन्न नारी श्रेष्ठ धृताची” (१३६ पारदर्शी मान्छे) ।
यसरी भाषिक अभ्यासका माथि उल्लिखित विभिन्न रूपहरूको प्रयोग पनि हाम्रै वर्तमान ऐतिहासिकताको परिणाम हो । यी रूपहरूको समावेशले उनका कथालाई रोचक र अर्थक्रिडाका निम्ति फराकिलो आधारभूमि तय गरिदिएका छन् ।
समग्रमा भन्नुपर्दा, चक्रव्यूह सञ्चेतनाको अभिमतमा कुनै पनि काव्यकृति अर्थैअर्थको उपलक्ष्य हो । यो लेखमा हामीले अर्थ निरुपणको एक सानो प्रयत्न मात्रै गरेका हौँ । हिप्पोलाइट टैनका त्रीआधारहरू (जाति, वातावरण र युग) को सहयोगमा ब्राजाकीका कथाहरूको विश्लेषण गरिएको हो । यी त्रीआधारहरूको उल्लेख गरेर टैनले समाजशास्त्र र ऐतिहासिकतासँग साहित्यलाई जोडेका छन् । यसको अर्थ साहित्य इतिहासका कथित तत्त्व र परिघटनाहरूको सुक्खा प्रस्तुति चाहिँ होइन । साहित्यमा हामीले मानी आएका तथ्यहरूको सृजनशील नवीकरण र पुनःसंयोजनको व्यापक अभ्यास भइरहेको हुन्छ ।
नेपाली समाजका पञ्चायतकालीन समाजको उत्तरार्ध, संसदीय व्यवस्था भित्रका अनगिन्ति विद्रुप स्वरूप, भूमिपतिहरूको ज्यादती, युवा बेरोजगारी र जनजीविकाको जटिल अवस्था ब्राजाकीका कथाका केन्द्रिय विषयवस्तु हुन् । ब्राजाकीले पचासको दशकमा थुप्रै कथाहरू लेखे पनि माओवादी युद्धको विषयलाई समेटेका कथाहरू पारदर्शी मान्छे सङ्ग्रहमा पाइँदैन । तिम्री स्वास्नी र म सङ्ग्रहका कथाहरू भने चालिसकै दशकमा लेखिएका हुन् । माओवादी युद्धको विषयलाई छोडेर उनले तराईका विषयमा भने धेरै कुरा लेखेका छन् । तर यी कथाहरू लेखिएका मितिमा तराई मधेसमा पहिचान अङ्कित गर्नुपर्ने माग भने सुरु नभएको अवस्था थियो । त्यसैले कतिपय ठाउँमा एक मधेसी पाठकले शब्द चयनमा कथाकारको ध्यान पर्याप्त हिसाबले सन्तुलित नभएको महसुस गर्न सक्छ । यद्यपी उनका कथाहरूमा द्वन्द्वरत सङ्कथनहरूको उपस्थिति भने धनीभूत भएको कुरा कसैले नकार्न मिल्दैन ।
आदरणीय पाठक ! अर्थहरूको द्वन्द्वात्मक खेलमा हामीले निर्धारण गर्ने प्रयत्न गरको अर्थ एक अंश मात्र हो । यो अंशले अन्य अंशहरूको उपस्थितिलाई कहिल्यै नकार्दैन । अन्य अर्थहरूको खोजी अन्य पाठक, समालोचक र भविष्यमा हाम्रो पनि जिम्मेवारी हो ।
अर्थ महोत्सव – जिन्दावाद
०००
सन्दर्भसूची
Taine, Hippolyte. “From History of English Literature.” Critical Theory since Plato. (Ed.) Adams Hazard. New York: Harcourt Bace Jovanovich College Publishers, 1992.
ब्राजाकी, मनु – तिम्री स्वास्नी र म, ललितपुर, साझा प्रकाशन, पाँचौँ संस्करण, २०६९ ।
… पारदर्शी मान्छे, ललितपुरः साझा प्रकाशन, २०६० ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।