साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

भारतीय नेपाली उपन्यासमा जातीय चेतना

भारतमा नेपाली उपन्यास लेखनको परम्परा एक सय वर्ष पुग्न लागेको छ । प्रतिमानसिंह लामाद्वारा रचित 'महाकाल जासुस' उपन्यासलाई भारतबाट प्रकाशित पहिलो नेपाली उपन्यास मानिन्छ । यद्यपि हाल यो उपन्यास अनुपलब्ध रहेको छ । त्यसपछि भने रूपनारायण सिंहको 'भ्रमर' उपन्यास सन् १९३६ मा प्रकाशित भएकाे छ ।

Chovar Blues Mobile Size

शोधपत्रको सार

भारतीय नेपाली उपन्यास विकसित देखिन्छ । भारतमा नेपाली उपन्यासमा गोर्खाली जातीय चेतना प्रखर रूपमा देखिन्छ। भ्रमर उपन्यासदेखि नै जातीय चेतना देखिन्छ भने पछिका धेरै उपन्यासमा यस स्वर प्रखर रूपमा देखिन्छ। मङ्गली, डाकबङ्गला, आज रमिता छ, लगन, दोभान, नयाँ क्षितिजको खोज, आदि उपन्यासको मूल स्वर नै जातीय चेतना पाइन्छ। भारतमा बस्नुपर्दाका सामाजिक, राजनैतिक आर्थिक अवस्थालाई यी उपन्यासहरूले अङ्कन गरेका छन्। भारतीय नेपाली उपन्यासमा जातीय चेतनालाई सांस्कृतिक चेतना, भाषिक चेतना, राजनैतिक चेतना, आर्थिक चेतना आदिका अध्ययन गर्न सकिन्छ। भारतमा नेपालीहरूको सामाजिक, आर्थिक, राजनैतिक आदि स्थिति के कस्तो छ, यी कुरामा उपन्यासमा प्रतिबिम्बन भएको छन्। केही उपन्यासहरूमा भारतमा नेपालीहरू असुरक्षित छन्, यहाँ शासक वर्गले प्रायः शङ्काको आँखाले हेरिने, शासन सत्तादेखि बञ्चित राखिने, कहिलेकाँही विदेशीको लाञ्छना लाउने, नेपाली भाषा संस्कृति आदिमा उदासीनता, राजनैतिक क्षेत्रमा भेदभाव, बञ्चना, किनारीकृत पारिएको अवस्था आदि समस्या देखा पर्दछन्। केही उपन्यासमा जातीय रक्षाको सङ्घर्ष आदिको पनि उठान गरिएको पाइन्छ।  प्रस्तुत शोधपत्रमा भारतीय नेपाली उपन्यासहरूमा प्रतिविम्बित जातीय चेतनालाई आपन्यासिक शृङ्खलाबद्ध रूपरेखा केलाउने प्रयास गरिएको छ।

कुञ्जीशब्द : जाति, जातीयता, राष्ट्र, प्रवास, बसाइसराइ, किनारीकृत,

१. विषयप्रवेश–  

नेपाली साहित्यमा उपन्यासलाई निकै लोकप्रिय विधाका रूपमा लिने गरिन्छ। उपन्यास पढ्ने चलन साहित्यिक असाहित्यिक सबै तहमा नै विद्यमान छ। भारतमा नेपाली लेखनको परम्परा लामो रहेको छ। भारतमा नेपाली उपन्यासको आरम्भ र विकास आफ्नै ढाँचा, परिवेश र स्थितिबाट भएको छ। यहाँको राजनैतिक सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक परिवेश र व्यवस्था नेपालको भन्दा प़थक रहेको छ। यसका साथै नेपाली उपन्यास लेखनको स्थिति, प्रव़त्ति र विकास नेपालको भन्दा भिन्नै देखा पर्दछ। भारतमा पनि अन्य स्थानका भन्दा दार्जीलिङले अझ अग्रणी भूमिका खेलेको पाइन्छ।

sagarmani mobile size

२. जाति र जातीयता, राष्ट्र- राष्ट्रियताको अवधारणा : संक्षिप्त अध्ययन

नेपाल र भारतजस्ता बहुसांस्कृतिक, बहुभाषिक, बहुजाति, भएका देशमा जात, जाति, जातीयता, राष्ट्र, राष्ट्रियता आदि जस्ता शब्द घरिघरि देखा पर्दछन्। यी शब्दहरू राजनैतिक सामाजिक क्षेत्रमा प्रयोग हुन्छन्। जाति शब्द अङ्ग्रेजीको कास्ट (Caste) को हिन्दी र नेपाली रूपान्तर शब्द हो। अङ्ग्रेजीको कास्ट शब्दको व्युत्पत्ति पुर्तगाली शब्द कास्टा (Casta) बाट भएको हो जसको तात्पर्य प्रजाति, नस्ल वा भेद हो। यो शब्द पनि ल्याटिन शब्द कास्टस्  को अत्यन्त नजिक छ जसको अर्थ विशुद्ध हो। कास्टा शब्दको सर्वप्रथ प्रयोग सन् 1665 मा समाजशास्त्री ग्रेसियाडिओट ले प्रजातीय समूहका विभेदका रूमा उल्लेख गरेका छन्।

नवीन पौड्याल (कालिम्पोङ)

भारत र नेपालमा जातीय व्यवस्थाको व्यापक प्रभाव परेको छ। भारतकै प्रसङ्गमा कुरा गर्दा तीन हजारभन्दा अधिक जातिहरू र तिनका पनि अनेक उपजातीहरू पाइन्छन्। यी जातिहरू हिन्दू, मुस्लिम शिख, इसाई, बौद्ध आदि धर्मावलम्बीहरूबिच पनि जातित्व प्रबल देखिन्छ। यी धार्मिक सम्प्रदायका शास्त्रमा वर्णित सैद्धान्तिक आधारका अतिरिक्त जातिहरूको आफ्ना आफ्ना सामाजिक संरचना, प्रथा, परम्परा, रूढि विश्वास, व्यावसाय, रीतिहरूमा आधारित हुन्छन्। जातिप्रथामा केही विशेषता रहेका हुन्छन्-

  • जातिप्रथा मूलतः जन्मजात भेदमा आधारित हुन्छ।
  • अधिकतर जातिहरूको व्यवसाय पनि निश्चित हुन्छ।
  • विभिन्न जातिहरूमा खानपीन सम्बन्धि चलन र प्रतिबन्ध पाइन्छ।
  • जातिहरूमा उँच-नीचको भावना पाइन्छ।
  • आफ्नै जातिबिच विवाह हुन्छ। अन्य जातिको विवाहलाई मान्य हुँदैन।

जात शब्द पनि प्रयुक्त छ। सामान्य रूपमा जातीभित्रका उपजातिहरू नै जात हुन्। यद्यपि जात र जाति आफ्नो आफ्नो मुलुकमा भिन्नाभिन्नै बुझिन सक्छ भने नेपालमा जाति बुझिने भारतमा भने जात हुन्छ। उदाहरणका निम्ति नेपालमा तामाङ एउटा जाति बुझिन्छ भने भारतमा जात बुझिन्छ। यसैगरी भारतमा बाहुन-छेत्री, नेवार, राई, लिम्बू, तामाङ, मगर, गुरूङ, भुजेल, शेर्पा, थामी आदिलाई जातको रूपमा बुझिन्छ भने नेपालमा यी प्रत्येक एकेक जाति हुन्। भारतमा त भोटे लाप्चे र नेपालीलाई अलग जाति माने पनि सबै नेपालीकै सराबरी जातित्वभित्र मानिन्छ। यसै गरी हाम्रा समाजले बङ्गाली आदिलाई जाति बुझ्दछ। यद्यपि बङ्गालीमा जाति भन्नाले राष्ट्र बुझिन्छ। बङ्गला समाजमा जाति, महाजाति भन्नाले राष्ट्रिय र अन्तर्राष्ट्रिय बुझिन्छ।

राष्ट्र र राष्ट्रियता – राष्ट्र शब्द पनि जाति कै हाराहारीमा देखा पर्ने शब्द हो। विभिन्न विद्वानहरूले राष्ट्र को परिभाषा दिएका छन्। ‘राष्ट्र’ शब्द अंग्रेजीको ‘नेशन’ (Nation) को नेपाली र अन्य भारतीय भाषाहरूको अनुवाद हो। ‘नेशन’ शब्द लैटिन भाषा के ‘नेशीऊ’ (Nation) शब्दबाट लिएको हो। लैटिनमा ‘नेशीऊ’ शब्दको अर्थ जन्म वा जाति हो। राष्ट्रको परिभाषाको बारेमा राजनीतिक वैज्ञानिकहरू एक मत पाइन्न। केही राजनीतिक विद्वानहरूले ‘नेशन’ (Nation) शब्दको राजनीतिक दृष्टिकोणले वा कुनै अन्य विचारकहरूले सांस्कृतिक र मनोवैज्ञानिक दृष्टिकोणबाट पनि यसको परिभाषाहरू दिएका छन्।

राष्ट्रका केही लक्षण र विशेषताहरूमा  यी विभिन्न पक्षहरूमा समानता पाइन्छन्- समान जातित्व (Common Race), भाषागत समानता (Common Language), भौगोलिक समानता (Geographical equality), समान धर्म (Common Religious), समान इतिहास (Common History), समान राजनैतिक आकांक्षा (Common Political Aspirations), सामान्य हित (Common interest), सामान्य संस्कृति (Common Culture)

माथिका समानका आधारमा हामी भन्न सक्छौं कि राष्ट्र यस्ता मानिसहरूको समूह हो जो जाति, धर्म, भाषा, रीति-रिवाज, इतिहास आदिका समानताका आधारमा आपसमा गाँसिएका हुन्छन्।  समान सभ्याचार हुन्छ जसको कारणले मनोवैज्ञानिक सद्भावको भावना विकसित भएको हुन्छ। राष्ट्रको आफ्नो निश्चित मातृभूमि हुन्छ, जो राजनीतिक रूपले स्वतन्त्र हुन्छन् अथवा जो स्वतन्त्र हुनका लागि उत्सुक हुन्छन्।२

राष्ट्रको भावना राष्ट्रियता हो। माथिका विशेषता र लक्षणका आधारमा भन्नुपर्दा भारत जातिहरूको समूहबाट निर्मित भएको पाइन्छ।

३. भारतमा जातीय चेतनामूलक नेपाली उपन्यासहरूको सर्वेक्षण

भारतमा नेपाली उपन्यास लेखनको परम्परा एक सय वर्ष पुग्न लागेको छ । प्रतिमानसिंह लामाद्वारा रचित ‘महाकाल जासुस’ उपन्यासलाई भारतबाट प्रकाशित पहिलो नेपाली उपन्यास मानिन्छ । यद्यपि हाल यो उपन्यास अनुपलब्ध रहेको छ । त्यसपछि भने रूपनारायण सिंहको ‘भ्रमर’ उपन्यास सन् १९३६ मा प्रकाशित भएकाे छ । भारतबाट नेपाली उपन्यासहरूमा जातीय चेतनाको लामै परम्परा रहेको छ। भ्रमर उपन्यासमा पनि केही मात्रामा यो चेतना पाइन्छ। उपन्यासका मुख्य चरित्रहरूमा यो चेतना पाइन्छ। इन्द्रशेखर, मोहनविक्रम र तुलसी बाजेमा यो चेतना प्रखर देखिन्छ। मुलुकबाहिर, लगन, दोभान, डाकबङ्गला, आज रमिता छ, नयाँ क्षितिजको खोज, ब्रह्मपुत्रका छेउछाउ, टिस्टादेखि सतलजस्म आदि उपन्यासहरूका अध्ययन गरे यस्ता चेतना धेरै मात्रामा पाइन्छ। प्रस्तुत लेखको उद्देश्य प्रखर जातीय चेतना भएका भारतका केही उपन्यासहरूको संक्षिप्त चर्चा गर्नु रहेको छ।

३.१. राजनीति र केही नेपाली उपन्यासमा राजनैतिक स्पर्श :

भारतको राजनीतिको पिरो धुँवाले भारतका रैथाने गोर्खालीहरूलाई पिरोलेको इतिहास पाइन्छ। दार्जीलिङ, सिक्किम र असमका गोर्खालीहरू केही न केही राजनीतिको शिकार बनेका छन्। भारतमा गोर्खालीहरूले आफुलाई राजनैतिक रूपमा असुरक्षित अनुभव गरेर समय समयमा आफ्नो छुट्टै प्रशासनिक इकाइको माग गर्दै आएको इतिहास छ। सन् १९०७ देखि नै दार्जीलिङका विभिन्न गैरराजनैतिक र राजनैतिक सङ्गठनहरूले ब्रिटिस शासक र भारतीय शासकहरूसमक्ष आफ्नै छुट्टै प्रशासनिक इकाईको माग गरी ज्ञापन पत्र र आन्दोलन गरेका हुन्। पछिबाट भने गोर्खालीग, प्रान्त परिषद, गोर्खा राष्ट्रीय मुक्ति मोर्चा र गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्यको आन्दोलन गरेका हुन्। दार्जीलिङबाट प्रकाशित केही उपन्यासहरूमा युगानुकूल राजनैतिक अवस्थाको चित्रण पाइन्छ। अर्को उल्लेखनीय राजनैतिक विषयकेन्द्रित उपन्यासमध्ये १९८६ सालको गोर्खाल्याण्ड आन्दोलनमा आधारित बद्रीनारायण प्रधानको ‘भुमरी’ मा पनि प्रखर राजनैतिक चेतना पाइन्छ।

४. जातीय चेतनामूलक भारतका केही प्रमुख उपन्यासहरू –

प्रायः उपन्यासमा प्रत्यक्ष र परोक्ष रूपमा दार्जीलिङको तत्कालीन समयको राजनैतिक चेतनाको उल्लेख पाइन्छ। तीमध्ये केही प्रमुख उपन्यासहरूको बारेमा सङ्क्षिप्त चर्चा गरिन्छ।

४.१. भ्रमर

भारतबाट सबैभन्दा पहिलो प्राप्य उपन्यास भ्रमर उपन्यास जातीय चेतना पाइन्छ। यसमा दार्जीलिङ, असम, बर्मा, बनारस, कलकत्ता आदिको नेपालीहरूको सामाजिक, शैक्षिक, राजनैतिक, आर्थिक आदि कुराको सर्वेक्षण गरिएको छ। इन्द्रशेखरको भ्रमरको चरित्र भए तापनि उभित्र भएको जातीय प्रेमले ओतप्रोत भएको एक सचेत युवकका रूपमा प्रस्तुत गरिएको छ। शेखर दिनरात नेपालीहरूको उत्थानको निम्ति काम गर्दछ। हाम्रो समाजमा स्कुलको अभाव देखेर गुजरातको धनाढ्य अम्बाभाइ देसाइको सहयोगले दार्जीलिङ स्कुल खोल्छ, बर्मको प्रोममा ती अशिक्षित गोठछला खेतालाहरूलाई रात्री पाठशाला सञ्चालन गरेर साक्षर बनाउँछ, कलकत्ताको छेउको लिलुवामा नेपाली परिवारमा जान्छ, त्यहाँको नेपाली समाजको परिभ्रमण गर्छ, गिरी परिवारकी विजयालाई गुण्डाहरूको हातदेखि जोगाउन आफैं सङ्घर्ष गर्छ र बचाउँछ। मोहनविक्रम र अन्य साथीहरू मिलेर बनारसमा तीर्थ यात्रा गर्न आउने नेपालीहरूका निम्ति सहयोग समिति गठन गरेर निस्वार्थ सेवा गर्दछन्। यसै गरी उपन्यासमा ठाउँ ठाउँमा जातीय चेतना प्रखर रूपमा देखा पर्छन्। त्यसबेलाको दार्जीलिङको नेपाली  समाजको स्थिति के कस्तो थियो त्यसको एउटा नमूना तुलसीबाजेको मुखबाट निस्कन्छ- “दार्जीलिङका नेपालीहरूको दुर्दशा के बताउँ? हामी कि ता भारीबोकुवा कि आपिसमा तल्लो दर्जामा कलम कोर्ने ता छौं”। नेपाल छोडेर प्रतिवर्ष अनेक सोझा नेपालीहरू मुग्लान लाग्छन्। आर्थिक अवस्था सपार्ने अभिलाषा नै धेरै जसोको मुख्य प्रोत्साहन हुन्छ। मुग्लानमा ती ‘चियाका बोटमा पैसा फल्छन् रे’ भन्ने भनाइ सुनेर अर्काका लहै-लहैमा लागेर पहाड़खण्ड़का हली कोदाले नेपालीहरू हजारौंको सङख्य्मा मुग्लान् पस्छन्। यस उपन्यासमा जातीय जागरण, समाज सुधार र शैक्षिक, सांस्कृतिक जागरणको चेतना पाइन्छ।

४.२. मुलुकबाहिर

बाङ्देलका तीन उपन्यास- मुलुकबाहिर, माइतघर र लङ्गड़ाको साथीमध्ये पहिलो मुलुकबाहिर मा जातीय चेतना केही मात्रामा पाइन्छ। नेपालबाट काम माम र दामको खोजीमा दार्जीलिङ बसाइँ आएको रने, माइली भुजेल, म्याउँची, मसिनी, दलबहादुर, जेठा खालिङ आदिले जातीय चेतना बोकेका छन्। यसमा नेपालीका विभिन्न चाढ़-पर्व, सांस्कृतिक अनुष्ठान संस्कार आदि कुरा झल्काइएको पाइन्छ। खान-पान, लुवाइ-खुवाइदेखि लिएर टिस्टा रङ्गीतको दोभानमा लाग्ने माघे-सङ्ग्रातीको उल्लेख पनि पाइन्छ। पहाड़बाट आएर नेपालीहरू के काम् गर्छन्, कहाँ बस्छन्, कस्तो जीवन शैली अपवाउँछन् आदिबारे विस्तृत सूचना पाइन्छ। बर्मामा नेपालीहरू रहेका नेपालीहरू मूलभूमिदेखि टाडिएर अशिक्षित, रक्स्याहा, दीन-हीन अवस्थामा छन् भन्ने उल्लेख पाइन्छ। यसमा नेपालीहरू कि भारी बोकुवा, कि सेनामा सिपाही, कि सानो व्यापारी, कि सानो कारिन्दा आदि देखाइको छ। यसका पात्रहरू विभिन्न तहबाट श्रम शोषणमा परेका छन्।

४.३. लगन-

अच्छा राई रसिकको लगन उपन्यासको मूल विषयवस्तु नै जातीयता हो। नायक कृष्णचन्द्रमा गोर्खाली प्रेम प्रखर रूपमा पाइन्छ। दार्जीलिङका युवाहरूमा राजनैतिक चेतनाको चर्चा गरिएको पाइन्छ। म पात्र, विक्रम, रम्भा, प्रमिला आदि नेपाल र दार्जीलिङका प्रवासी नेपालीहरूको बारेमा चर्चा गर्छन् अनि उनीहरू अनुसार अब नेपालले हामीलाई आफ्नो नागरिक ठान्दैन तर भारतले पनि आफ्नो ठानेको छैन भनी गुनासो ब्यक्त गर्छन्। त्यति बेला दार्जीलिङमा असन्तुष्टिको भाव उब्जिदै गरेको उल्लेख पाइन्छ। एकापट्टि सत्ताले गोर्खालीलाई आफ्नो नागरिक नठानेर सौतेला व्यवहार गरेको र अर्कापट्टि चियाकमानमा मेनेजरहरूले शोषण दोहन गरेको पाइन्छ। कृष्णचन्द्र अत्यन्तै जातीय सचेत, जातिप्रेमी देखिन्छ। उ नेपाली समाजमा चलेका सामाजिक रूढ़ि- अन्धविश्वास आदिलाई पन्छाएर एक ढिको बनाउन चाहन्छ। उसले आफु छेत्रीको छोरा भएर पनि राईकी छोरी राधिकालाई बिहे गर्छ, सर्किनी कहलिएकी नारीको हातबाट पानी पिउँदछ। उ कलकत्ता जाँदा नेपालीहरू भेट्दा नेपाली भाषामा सोद्धासमेत हिन्दीमा उत्तर पाउँदा निराश हुन्छ। उपन्यासमा कसरी हाम्रो गोर्खालीहरूमा सचेतता र उन्नति हुन्छ त्यसबारे चिन्तन गरिएको छ। शिक्षाको अभावले हाम्रो समाज पछौटे भएको बुझेर उपन्यासमा कृष्णचन्द्र, राधिका, विमला आदि जस्ता कलेज पढ्दै गरेका सचेत युवामण्डली देखाइएको छ। यस उपन्यासको नायक कृष्णचन्द्र कलकत्ता गएका बेला नेपाली पुरूषसित नेपाली बोल्दा त्यस पुरूषले नेपाली नबोलेर हिन्दीमा जबाब दिन्छ र कृष्णचन्द्रलाई उपहास गरेर जान्छ। यसले कृष्णचन्द्र जस्तोको जातीय प्रेम देखिन्छ भने कलकत्ता जस्ता बहुभाषिक शहरमा जतीयता कमजोर हुनपुगेको तथ्य देखाइएको छ।

४.४. डाकबङ्गला उपन्यासमा जातीय चेतना

शिवकुमार राईको डाकबङ्गला उपन्यास (1956) मा पनि जातीय चेतना प्रखर देखिन्छ। यसमा तत्कालीन दार्जीलिङका मानिसका चेतनास्तर, बोलीचाली, विश्वास, आर्थिक अवस्था, राजनैतिक अवस्था आदिमा जातीयता झल्किन्छ। उसबेला पनि दार्जीलिङ शहरको व्यापार र आर्थिक कारोबार र सञ्चालन गोर्खालीको भन्दा मारवाडी समुदायको थियो। गोर्खालीहरू भने ससाना सब्जी बेच्ने, गाडी चलाउने र अन्य फुटकर काम गर्ने गर्दथे। अझ चौरस्ताको अस्तबलअघिल्तिर रिक्सावाला (रिक्साको चलन थियो), डंडीवाला, भारी बोक्ने श्रमजीवी र कामबिनाका मानिसहरू दिनभरि तास खेलेर बिताउँथे। त्यतिबेला दार्जीलिङका गोर्खालीहरू ठुलो ओहोदामा हुँदैन थिए। एक पात्र रत्नमान कार्की वनविभागको रेन्जरसम्म पुगेको उल्लेख पाइन्छ। यीबाहेक चौकीदार, ब्रिटिस सेनाका सिपाही, ड्राइभर, चियाकमानका श्रमिक, कोही कम मात्रामा प्राथमिक तहका शिक्षक-शिक्षिका भएका देखिन्छन्।

सन् १९३९ देखि १९४५ सम्म चलेको विश्वयुद्धले संसारमा हाहाकार चलेको थियो। सन् १९३९ सालको विश्वयुद्धको थालनीको प्रसङ्ग पाइन्छ। दार्जीलिङमा पनि यसको प्रत्यक्ष र परोक्ष प्रभाव परेको थियो। दार्जीलिङमा यसको प्रभाव मूलतः दुई प्रकारले परेको थियो- दार्जीलिङका अधिक युवक युवती सेनामा भर्ना लिएर युद्धमा सामेल भएका र दार्जीलिङमा उक्त युद्धकालमा दैनिक घरेलु र आवश्यक सर-सामानको अभाव वा महङ्गी। उस बेलाका दार्जीलिङ र नेपालबाट धेरै मात्रामा गोर्खाली युवकहरू बेलायती सेनामा भर्ना भएर दोस्रो विश्वयुद्धमा सामेल भएका थिए। उनीहरूका घरमा लडाइँमा जाने छोराको चिन्ता हुन्थ्यो। हजारौं गोर्खा युवकहरू ब्रिटिस सेनामा भर्ती भएर लडाइँमा सामेल भएका छन्। दार्जीलिङको घूममा गोर्खा भ्रती डिपोमा हजारौं गोर्खाली केटाहरूले नाम लेखाएर ब्रिटिस सेनामा भर्ती लिएका थिए। अलिकति पढेको र चलाक हुने युवकहरू भाइसरोय कमिसनबाट भर्ती भएर जमदार हुन्थे। उपन्यासमा गोर्खाली पल्टनले जापानविरूद्ध बर्मामा घनघोर युद्ध गरेको प्रसङ्ग उल्लेख गरिएको पाइन्छ। थामसिंहको नेतृत्वमा गोर्खा रेजिमेन्टको एक टुक्रीले बर्माको जङ्गलमा मोर्चा सम्हालेर बर्माको एक प्रान्तमा लडेका थिए। त्यसमा चन्द्रप्रकाश पनि बर्मामा गएर लडेर घाइते भएको छ। ह्यान्ड ग्रेनेड, डायनामाइट आदि मुख्य हतिहार प्रयोग भएको उल्लेख पाइन्छ। बर्मामा युद्धको समयमा साइरन लाग्दा नागरिकहरू ट्रेन्चमा लुक्नुपर्ने अनि अर्को अल क्लियरको साइरेन बजेपछि यथास्थानमा जान सकिने नियम थियो। दोस्रो विश्वयुद्ध कालमा अमेरिकी सेनाका हब्सी प्रजातिका र गोरा मानिसहरू दार्जीलिङमा देखिएका थिए। दार्जीलिङमा पनि युद्धकालमा अन्न पानीको अभाव र महङ्गाई बढेको इत्यादि देखिन्छ। दार्जीलिङका पहाडेहरूको बुद्धि हुँदैन, अर्काको चाकरी र गुलामी गर्न मात्र तम्सिने र पापी पेटका लागि विश्वयुद्ध गर्न सिपाहीँ भएर जान तम्सिने, पैसाको निम्ति जे गर्न पनि तयारी भएको भनेर त्यस बेलाका मानिसहरूको टिप्पणी पाइन्छ। जो अहिले पनि यस्तै गुनासो यथावत् छँदैछ।

बर्माको नेपाली समाज र दोस्रो विश्वयुद्ध – आजको म्यानमार पहिले बर्मा थियो। त्यहाँ भारतीय सँगसँगै गोर्खालीहरू पनि शताब्दीदेखि रहिआएका थिए। त्यहाँको मेम्यो, टाउँजी, मचिना, भामु आदि ठाउँहरूमा गोर्खालीहरू बस्ने गर्थे। मेम्यो भन्ने ठाउँमा सरदार मनबहादुर गुरूङले त्यहाँको बरबटियामा एउटा निशुल्क नेपाली भर्नाकुलर स्कुल खोलेका थिए र उक्त स्कुलको चौबिसजनाको सञ्चालन समितिले आर्थिक सहयोगको निम्ति समाजमा गुहार्दा बर्मामा रहेका गोर्खाली सैनिकहरूले चन्दा दिएको उल्लेख पाइन्छ। (नेपाल (सम्पा): गोर्खा सेवक, वर्ष १ अङ्क १५)। बर्मा पनि ब्रिटिस शासनको अधीनस्थ भारतकै एउटा प्रान्तको थियो र यसलाई भारतबाट छुट्याएर अलग प्रशासनिक प्रान्त बनाउने कुरा चलिरहेको थियो। त्यतिबेला लगभग छ लाख भारतीय र दुई लाख जति गोर्खालीहरूलाई बर्माको स्थानीय सरकारले हटाउने भएको थियो। ब्रिटिसहरूले समेत गोर्खालीहरूलाई आफ्नो प्रजा मानेका छैनन् भनेर उल्लेख पाइन्छ।2.

डाकबङ्ला उपन्यासमा दोस्रो विश्वयुद्धको पृष्ठभूमि, कारण र वर्णन सबै पक्ष सङ्क्षिप्त भए पनि वर्णित छन्। सय वर्षभन्दा अघिदेखि बर्मामा रहिआएका गोर्खालीहरू विस्तारै स्थानीय सरकार र मानिसहरूको कोपभाजनको शिकार भए र बिदेशीका रूपमा ठानेर त्यहाँबाट हटाउने काम शुरू गरेको थियो। अझ दोस्रो विश्वयुद्धमा जापानले बर्मामा छापा मार्दा ती गोर्खालीहरू बिचल्नी परेका थिए। त्यहाँ लाखको सङ्ख्यामा गोर्खालीहरू एकाएक भागेर हिँड्नुपरेको थियो। बाटामा पनि स्थानीय बर्मेली मानिसहरूले शरणार्थी गोर्खालीहरूले रूपियाँ-पैसा, सुन-चाँदी र अन्य मूल्यवान वस्तु लान नपाउन् भनेर लुट्ने गरेको समेत प्रसङ्गको उल्लेख छ। तिनीहरू महिनौं पैदल हिँडेर आफन्त र आश्रमको खोजीमा कोही नेपाल र दार्जीलिङतिर आएका थिए। उपन्यासकार स्वयं खरसाङमा बर्मेली शरणार्थी त्राण शिविरको सचिव रही काम गरेका थिए। यद्यपि खरसाङका मानिसहरूले रेलस्टेसनमा बसेका शरणार्थीहरूलाई आ- आफ्ना जातभाइलाई लैजाँदा शरणार्थी समस्या समाधान भएको थियो र तिनीहरू विशेषगरि खरसाङको डुमाराम र तलतिरका चियाकमानतिर गई बसोबासो गर्न थालेको उल्लेख पाइन्छ।3 अतः डाकबङ्गला उपन्यासमा बर्माबाट भागेका गोर्खालीहरूको खेदिएकामा लेखकले जातीय चेतनालाई प्रमुखता दिएका छन्।

 जाँड-रक्सी खाने चलन र यसबाट भएको नोक्सानीको अङ्कन –गोर्खाली समाजमा जाँड-रक्सी खाने चलन अधिक मात्रामा भएको पाइन्छ। बीसौं शताब्दीको चालिस-पचासको दशकमा दार्जीलिङको गोर्खाली समाजमा पनि जाँड रक्सी खाएको, यसले परिवार समाज र स्वस्थ्य बिगारेको तथ्य प्रकाश गरिएको छ। नवम श्रेणीमा पढ्ने चन्द्रप्रकाश यसकै कुलतमा परेको छ। यतिसम्म कि कान्ताको रक्सी पसलमा पिउनुसम्म पिएर अचेत अवस्थामा बान्ता गरेको र त्यो फोहोर-मैला कान्ताले सोहोरिदिएको देखाइएको छ। पञ्चेको बाबु, हर्कसिंह मास्टर रक्सी खाएर आफ्नो घर बर्बाद पार्छन्। हर्कसिंह मास्टर रक्सी खाएर जुवा तासमा पनि अघि सर्छ, अन्य जुवाडेहरूसित झगडा गरेर पुलिसले समातेर थाना लान्छन्। कान्ताको बाबु ब्रिटिस सेनाको सुबेदार भएर पनि पछिबाट दार्जीलिङमा आएर बसेपछि रक्सीको लत लागेको, लेबोङको घोड रेसमा बाजी लगाएर हार्दै गएपछि सम्पत्ति स्वाहा भएको, रक्सी अधिक खाएर घरलाई ऋणमा डुबाएर आफु बेला रोग लागेर मरेको, स्वास्नी र छोरीले घर बेचेर ऋण तिरी रक्सी पसल थाप्नु परेको विवशता देखाइएको छ। उक्त समयमा बिदेशी लेबलवाला ह्विस्की ब्रान्डीभन्दा स्थानीय घरेलु जाँड रक्सीको चलन देखाएको छ। चन्द्रप्रकाश जस्तो धनाढ्यलेसमेत घरबनुवा तीनपाने रक्सी खाएको छ। लडाइँको समयमा भने बर्माको अफिसर मेसमा भने ह्विस्की-ब्रान्डी खाएको उल्लेख छ। अतः शिवकुमार राईको डाकबङ्गला उपन्यासमा पनि जातीय चेतना प्रखर रूपमा पाइन्छ।

४.५. आज रमिता छ उपन्यासमा राजनैतिक चेतना :

इन्द्रबहादुर राई पनि जातीय सचेत भएर एकताका सक्रिय राजनीतिमा ओर्लिएका हुन्। उनी एक भाषा सङ्ग्रामी, राजनैतिक चिन्तक, गोर्खा अस्मिताको निम्ति सोंच राख्ने राजनीतिज्ञ थिए। उनी विशेषगरी भारतको राष्ट्रिय कँग्रेससित जोडिएका थिए। उनी एकपटक दार्जीलिङका नगरपाल रही नगरपालिकाका उपाध्याक्षसमेत बनेका थिए। यद्यपि उनको राजनैतिक अडान भने भारतमा गोर्खाहरूको आफ्नो राज्य बनाउनु पर्ने आवश्यकतामाथि आधारित देखिन्छ। सन् १९७७-७८ सालतिर उनले राजनैतिक सिद्धान्त समभाव राख्ने साथीहरू मिली सन् १९८० मा प्रान्त परिषद् नामक एउटा राजनैतिक दल गठन गरेका थिए। उनी त्यसका अध्यक्ष भएर राजनीति पनि गरेका हुन्। उनले दार्जीलिङको चोकबजारमा भाषण पनि गरेका हुन्। मूल रूपमा भने उनी नेपाली भाषा सङ्ग्रामी हुन्। भारतमा नेपाली भाषालाई सम्वैधानिक मान्यताको निम्ति गरिएको सङ्घर्षको मुख्य नायके हुन्।

इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ (१९६४) मा दार्जिलिङे राजनैतिक परिदृश्य स्पष्ट देखा पर्छ। यस उपन्यासभित्र बीसौं शताब्दीको चालिस र पचासको दशकभित्रका दार्जीलिङको प्रतिविम्बित राजनैतिक परिदृश्य झल्काइएको छ। तत्कालीन राजनीतिको केन्द्र र लक्ष्य चियाकमानमा आधारित छ। चियाकमानमा ब्याप्त अन्याय, अत्याचार, अभाव, असुरक्षा, अल्प आय आर्जन जस्ता समस्या विद्यमान थियो। यस्ता समस्याबाट चिया श्रमिकहरूमा भित्रभित्रै असन्तुष्टि, आक्रोश र विद्रोहको आगो सल्केको थियो। सन् १८१६ मा नेपाल भारतबीच सुगौली सन्धी, महात्मा गाँधीको पक्राउ र काँग्रेस पार्टी अवैद्ध भएको घोषणा, दलबहादुर गिरीले दार्जीलिङ गान्धीको हल्ला चलाएको, चियाकमानमा विद्रोह गर्न खोजे हट्टाबाहिर प्रथा रहेको, घरमूली हट्टाबाहिर भए उसको परिवारका अन्य सदस्य पनि खमान छोड्नुपर्ने नियम, १६ अगस्ट १९४६ का दिन कलकत्तामा हिन्दू मुस्लिम दङ्गा परेको, भारतले मध्यरातमा ब्रिटिसको शासनबाट मुक्ति पाएको, हैदरवाद भारतको अङ्गको रूपमा समावेश भएको, नेपालमा राणा शासन विरूद्ध आन्दोलन र वि.सं. २००७ सालमा मुक्ति हासिल गरेको आदि जस्ता राजनैतिक घटना र प्रसङ्गको उल्लेख र संकेत पाइन्छ।

यस उपन्यासमा राजनीतिका केही पक्ष यसरी परिलक्षित भएको पाइन्छ 4 –

  • भारतमा रहने गोर्खालीहरूले सामाजिक, आर्थिक राजनैतिक रूपमा आफुलाई असुरक्षित, असन्तुष्टि र अपहेलित ठान्छन् र त्यस्तो मानसिकता उपन्यासमा एकाध प्रसङ्गमा झल्किएको पाइन्छ।
  • दार्जीलिङको राजनीतिको केन्द्रविन्दु, माध्यमविन्दु, लक्ष्यविन्दु र स्वार्थविन्दु चिया कमान हो। यहाँबाट नै राजनीतिको जड़ छ, राजनैतिक दलहरू खेल्ने गर्छन्, कमानलाई जति राजनैतिक उकेरा लायो उति राजनीतिको फसल फल्ने माध्यम बनाएको तथ्य प्रतिविम्बित हुन्छ। यहाँका श्रमिकहरूमा मालिकवर्गको अन्याय, अत्याचार, अल्पवेतन, अदेखा जस्ता समस्याको प्रभावस्वरूप विद्रोह चेतनाको विकास।
  • दार्जीलिङ शहर र कमानका युवावर्गमा बेरोजगारी समस्याका आएको राजनीतिप्रतिको आकर्षण र विकर्षण, यसतर्फ अभिरूचि र चासो, राजनैतिक दलप्रति आस्था र समर्पण पनि देखा परेको छ। यद्यपि उपन्यासमा दार्जीलिङका युवाहरूमा राजनैतिक सुझबुझ र सैद्धान्तिक आधारभन्दा आवेग, आवेश र आक्रोसको भाव अधिक देखिन्छ। विचार नपुर्‍याइ आन्दोलनको नाममा लेबुङको सेनवाहिनीमाथि ढुङ्गामुडा गर्नु, ल्यान्डरोभरमा चडेको बङ्गालीको चश्मा फुटाइदिनु, दरोगाबजारको कैंयाँको पसलमा तोड़फोड़ गर्नु आदि हुनु जस्ता कुरा देखा पर्छन्।
  • दार्जीलिङमा भीड़को राजनीति प्रभावशाली रहेको तथ्य स्पष्ट छ। भीड़प्रति आकर्षण र समर्पण मान्छेभित्रको सामूहिक अचेतनको प्रभाव हुनसक्छ। नारा जुलुसमा अभिरूचि, सक्रियता र सहभागिता, भीडभित्र उट्पट्याङ क्रियाकलाप आदि देख्न पाइन्छ।
  • उपन्यासको विकास अवस्थादेखि नै राजनीतिको प्रवाह मन्द गतिमा चलेको पाइन्छ भने अन्तमा भने चरम अवस्था देखिन्छ। गोलीकाण्ड र १४४ धारा लागेर उपन्यासको समाप्ति गरिएको छ। गोलीकाण्डको पृष्ठभूमि र त्यसको परिणति नै उपन्यासको केन्द्रीय कथ्य हो।
  • तत्कालीन दार्जीलिङको राजनीतिको मूल विषय चियाकमानमा रासन-पानीको सुविधा, कमानको मेनेजर कुट्ने श्रमिकका विरूद्ध स्थानीय अदालमा मुद्दा र त्यसको सजायको तारिख, श्रमिक सङ्गठन आफ्नै भूमिका आदि उपन्यासमा देखा पर्दछन्।
  • उपन्यासमा पनि राजनेता र राजनीतिप्रति आममानिसको नकारात्मक विचार राखिएको पाइन्छ।

उपन्यासको मूल पात्र जनक, भूदेव राजनैतिक कर्मी हुन् भने रवि, हरि, पार्थिव आदि राजनैतिक रूचि लिएको नवयुवक हुन्। चियाकमानहरूमा व्याप्त अत्याचारका विरूद्ध श्रमिकहरू संगठित हुन थालेका छन्। दार्जीलिङ शहरमा विभिन्न कमानहरूबाट श्रमिकहरू दिनदिनै जुलुस गर्दै हिँडेको देखाइएको छ। चिया श्रमिकवर्ग र मालिकवर्गबीच संघर्षस्वरूप दार्जीलिङ शहरमा विकराल रूप लिएको थियो जसको फलस्वरूप सन् १९५५ सालमा मार्गरेट्स होप गोलीकाण्डमा परी आठजना श्रमिकहरू मृत्यु भएको कुरा उपन्यासमा प्रतिविम्वित भएको देखाइएको छ। चियाकमानमा मजदूरहरूलाई थोरै ज्याला दिएर मालिकवर्गको मुनाफाखोरी प्रथा कायम रहेको देखाइएको छ। यद्यपि मालिकवर्ग शोषणलाई लिएर राजनैतिक दल र नेताको प्रादुर्भाव भएको तथ्य पाइन्छ। त्यसलाई राजनैतिक मुद्दा बनाएर केही अवसरवादी व्यक्तिहरू नेता बनेर राजनैतिक फाइदा लिएको तथ्य प्रकाश पारिएको छ। नेताहरूले श्रमिकहरूलाई आन्दोलनको जुलुसमा हिँडाउनु, प्रशासनिक सुरक्षा शक्तिसँग मुडभेड गराउनु केही आन्दोलनकारी मर्नु, विद्रोहीहरूका क्रियाकलाप ठप्प पार्नु निषेधाज्ञा जारी हुनु र त्यही सरकारी निषेधाज्ञाको उल्लङ्घन गराएर श्रमिकहरूको ठुलो समावेश एवम् सभा गराउन उपन्यासकारको राजनैतिक र जातीय चेतना स्पष्ट देखिन्छ।

आज रमिता छ उपन्यासको विशृङ्खलित कथावस्तुभित्र  जातीय राजनीतिका विविध पक्षहरू पनि बिचबिचमा देखा पर्छन्। दार्जीलिङको चियाकमानमा मालिक पक्षले उपद्रवी श्रमिक नेताका विरूद्ध मुद्दा दर्ता गर्छ र अन्य नेताहरू त्यसबारे चासो लिन्छन्। एकपटक एम के बसेको जनसभामा भूदेवले मात्र भाषा गर्छ तर चर्चा अरू पनि सामेल हुन्छ। उक्त चर्चामा नोकरीको अभाव, जमिनको सरकारी सुबिधा, नेपालबाट गएका मानिसहरू दार्जीलिङ र असममा दुःख पाएको त्यस्ता समस्याको समाधान गर्नेबारे प्रस्ताव ग्रहण गर्ने जस्ता मुख्य विषयहरू हुन्छन्। भारत-चीनको पञ्चशील सन्धि र शुद्ध नगर्ने सम्झौताले गोर्खालीहरूले युद्धमा बहादुरी देखाउन सक्दैन पाउदैन र भारतमा मूल्यहीन होइन्छ भन्ने त्रास पनि तत्कालीन गोर्खालीहरूमा थियो भन्ने सङ्केत पनि पाइन्छ।

उपन्यासमा शोषित श्रमिकवर्ग र शासकको बीच एकप्रकारको सङ्घर्ष अनि शासकको आडमा रहेको पुलिसी द्वन्द्वलाई लिएर समालोचक जस योञ्जन प्यासीले यस उपन्यासलाई प्रगतिवादी उपन्यासको रूपमा प्रस्तुत गरेका छन्।५ यद्यपि यसलाई प्रगतिवादी उपन्यासभन्दा राजनैतिक चेतनामूलक उपन्यास मान्न सकिन्छ। आज रमिता छ उपन्यासमा भूदेव यस्तै अवसरवादी नेताको रूपमा प्रस्तुत छ। उपन्यासमा दुई प्रकारका राजनैतिक कर्मी देखाइएको छ – सचेत राजनैतिक र असचेत राजनैतिक कर्मी। भूदेव, जनक, रवि, हरि, पार्थिव, प्रेमकृष्ण आदि सचेत कर्मी हुन् भने चियाकमानका मानिसहरू असचेत तर राजनीतिमा सङ्लग्न भएका छन्। उनीहरू नेताको स्वार्थको साधन भएका छन्। ती चियाकमानका श्रमिकहरू राजनीति नै नबुझी अरूको कुरामा लागी बहकिएर, लहैलहैमा लागेर कराउँदै, ठट्टा र जोसमा जुलुसमा सामेल हुन्छन्। पुलिसले जुलुसलाई निषेधाज्ञा लाएर चेतावनी दिँदा पनि त्यसलाई गम्भीरतासँग नलिई अघि भिड्ने हुँदा अनाहकमा आठजनाको मृत्यु हुन्छ। दार्जीलिङको चियाकमान र शहरमा अहिले पनि त्यही असचेत राजनीति खेल सम्पन्न भइरहेछन्। अहिले पनि राजनैतिक सिद्धान्त र कटिबद्धताभन्दा होहोरीमा लागेर धरना, जुलुस गर्ने चलन देखिन्छ।

४.६. नयाँ क्षितिजको खोज

असित राईको ‘नयाँ क्षितिजको खोज’ उपन्यासको प्रमुख स्वर नै जातीय चेतना हो। यस उपन्यासमा भारतमा नेपालीहरूले बिताएको छवटा पुस्ताको ऐतिहासिक सर्वेक्षण गरिएको छ। भारतमा गोर्खालीहरूको उपस्थिति, सामाजिक आर्थिक राजनैतिक आदि स्थितिको लेखाजोखा गरिएको छ। भारतमा नेपालीहरू कहिले पनि सञ्चोले बस्न पाएका छैनन्। पहिले अङ्ग्रेजहरूको शोषण र शास्तीपूर्ण जीवन बिताउन पर्दथ्यो। अहिले पनि शासकका आँखामा विदेशीमा गणना गरिन्छ। दार्जीलिङमा गुरूङ, तामाङ, राई, लिम्बू, बाहुन, छेत्री, शेर्पा आदि सबैको साझा फूलबारी हो भन्ने तथ्यलाई उपन्यासमा प्रकाश पारिएको छ। यस उपन्यासको अर्को मूल कथ्य बसाइसराइ पनि हो। नेपालका विभिन्न पहाड़बाट आएर दार्जीलिङ कालिम्पोङतिर नेपालीहरू कसरी बसाइँ सर्दै आएका हुन्, त्यसबारे केही उल्लेख गरिएको छ। यस उपन्यास भारत स्वतन्त्रतापूर्व र स्वातन्त्र्योत्तर गरी दुई अवधिमा नेपालीहरूको स्थितिको अध्ययन र आख्यानीकरण गरिएको छ। हाम्रा पुर्खाले आफु बसेको जग्गा-जमिनको कुनै रेकर्ड, दस्तावेज राख्ने गरेका थिएनन्। त्यसो हुँदा हाम्रो इतिहास लेखिएको पाइन्न।

४.७. ब्रह्मपुत्रका छेउछाउ

लीलबहादुर छेत्रीको ब्रह्मपुत्रका छेउछाउ पनि जातीय चेतनामा ओतप्रोत भएको उपन्यास हो। यसमा नेपालबाट बसाइँ सरेर असम गएको, त्यहाँ जीवनमा कठोर सङ्घर्ष गर्नुपरेको छ। शोषण दोहनको मारमा परेर नेपालबाट बसाई सरे पनि असममा पनि फेरि त्यही समस्या भोग्नुपरेको वास्तविकता पाइन्छ। असममा पनि आर्थिक शोषण गर्ने डायरी महाजन तैनाथ छन्। नेपालका साहुका जस्तै उनका मतियारहरू असममा पनि उनी शोषणको पक्षमा बोल्दछन्। जति श्रम गरे पनि त्यसको दाम पाउँदैनन्। सधैंभरि आर्थिक अभावमा जीवन बिताउनु परेको यथार्थलाई उदाङ्गो पारिएको छ। महखुटी आदिमा नेपालीहरू गाई पालेJ बसेका छन्। त्यहाँ विभिन्न समस्याग्रस्त छन्। सरकारले पनि नेपालीहरूलाई खेदो गरेको उल्लेख पाइन्छ। गुमाने र टोपे मास्टरहरू मिलेर नेपाली जातीयताका आधारमा राजनीति गर्छन्, टोपे मास्टर त भोट पनि उठ्छ। यद्यपि उसलाई नेपालीहरूले नै विभिन्न कारणले भोट दिँदैनन् र उ हार्छ।

४.८. टिस्टादेखि सतलजसम्म

विक्रमवीर थापाको टिस्टादेखि सतलजसम्म उपन्यासमा भारतको गोर्खा पल्टनको इतिहास, वीरता, पराक्रम आदिको वर्णन पाइन्छ। ‘यस उपन्यासमा उपन्यासकारले आफू २५ जी आर-मा सन् १९६८-१९९३ भित्र कार्यरत हुँदा बटुलेका अनुभवमा केन्द्रित छ। असम राइफल्सका भूतपूर्व गोर्खा सैनिकको जग्गाजमीनको पट्टा नहुँदा देखा परेका समस्या, मोरारजी देसाइले नेपाली भाषालाई विदेशी भाषा भनेर अपमान गरेपछि सन् १९७८ तिर आसामले पनि विदशी हटाउनेको हुँकार गर्दै असमेली नेपीललाई उच्छेद गर्न खोजेको स्थिति, त्यही समय मेघालयलाई पनि यही रोगले चाप्दा सन् १९८० को दशकमा शुरू भएको गोर्खाल्याण्डको आन्दोलन, सन् १९८६ को फरवरी महिनाको अन्तिम सातातिर मेघालयतो जयन्तीया जिल्लामा भएको तिलरियाट काण्ड, नेली र गहपुरमा मारिएको हजारौं निरपराध नागरिकहरूको चित्कार, मेघालय सरकारद्वारा लागु गरिएको मेघालय ल्याण्ड ट्रान्स्फर एक्टजस्ता काण्डपछि भारतीय नेपाली अस्मिताको अन्वेषण प्रस्तुत उपन्यासको लक्ष्य रहेको बुझिन्छ। असम क्षेत्रमा गोर्खाको जग्गाजमीनको पट्टा नहुँदा देखा परेको समस्यालाई उपन्यासको विषयवस्तु विषय बनाएर गोर्खाले जातीयताका आधारमा सीमान्ततीकृत हुन परेको वर्तमान स्थितिलाई संवेदनशील ढङ्गमा दर्साइएको छ’5

यस उपन्यासको उद्देश्य नै भारतमा गोर्खालीहरू विभिन्न समस्यासित जुध्नका निम्ति सङ्ग्राममा उठनुपर्छ भन्ने रहेको छ। यसमा सन् १९७०-१९८० को दशकतिर पूर्वाञ्चल क्षेत्रमा गोर्खालाई जातीय सीमान्तीयताको आधारमा गरिएको अन्याय, अत्याचार, शोषणले भरिपूर्ण परिवेशको गहन रूपमा प्रभाव पारेको बुझिन्छ। उपन्यासको लेखकीयमा उपन्यासकार स्वयम भन्छन्-  भारतमा भारतीय नेपालीहरूको प्रमुख समस्या जातीय अस्मिताको रक्षा, नेपाल  जातीय चिह्नारी कायम राख्नु तथा भविष्यका सन्ततिका लागि सुरक्षित जीविका र जीवनयापन व्यवस्थाको निम्ति जमर्को गर्नु हो।… आफ्नो अस्तित्व र परिचयलाई जोगाएर भावी पीँढ़ीको भविष्य सुरक्षित राख्ने राख्ने हो भने भने अहिलेदेखि हामी सङ्ग्राममा कुद्नुपर्छ, तर अरूको निम्ति होइन, आफ्नो लागि। नत्र अबदेखि हाम्रो भविष्य के कस्तो हुनेछ यस विषयमा युगौंदेखि पूर्वाञ्चलमा छरिएर बसेका नेपालीलाई मात्र नभएर सिक्किम दार्जीलिङका नेपालीलाई पनि राम्ररी थाहा भइसकेको छ। ….. यस उपन्यासले पनि मूल रूपमा यिनै समस्यालाई कथानकका माध्यमबाट उद्घाटित गर्दै एको छ।

४.८. अन्य केही उपन्यासमा जातीय चेतना

भारतबाट करीब चार सयभन्दा बढी उपन्यास प्रकाशित भएका छन्। यी उपन्यासहरू अध्ययन गरे धेरै उपन्यासमा जातीय चेतना पाइन्छ। जातीय समस्या समस्यालाई उठान गरेर आफ्नो हक र अस्तित्वका निम्ति सङ्घर्ष गरनुपर्ने सन्देश धेरै उपन्यासमा दिइएको पाइन्छ। उदाहरणका निम्ति विक्रमवीर थापाको ‘टिस्टादेखि सतलजसम्म’, के बी नेपालीको ‘समर्पण’, सन्तकुमार देवानको ‘पहाड-पर्वत’ (२०००), हेम राईको ‘कारगील साँधमा’ (२०१५), गीता उपाध्यायतको ‘जन्मभूमि मेरो स्वदेश’ (२०१३), शान्ति थापाको ‘मोहनी डटकम’ (२००८), लोकनाथ उपाध्याय चापागाईँको ‘आँधी’, सुवास घिसिङको ‘लुङखुम क्याम्प’, (१९६9) र मने (१९७०), नन्द हाङ्खिमको ‘लाश’ (१९७०), समीरण प्रियदर्शीको ‘बलिवेदी’ (१९७०), इन्द्र सुन्दासको जुनेली रेखा (१९७१), सहारा (१९९५) आदि हुन्।

सन्तकुमार देवानको ‘पहाड़-पर्वत’ उपन्यासमा अरूणाचलमा बस्ने नेपालीहरूको जीवन सङ्गर्ष देखाइएको छ। के. बी. नेपालीको ‘समर्पण’ उपन्यासमा भारतका गोर्खाले सेनाले गरेको देश रक्षा, सीमा रक्षा र सामरिक योगदान गौरवपूर्ण वलिदानलाई महत्त्व दिएर वर्णन गरेका छन्।6 लोकनाथ उपान्याय चापागाइँको ‘आँधी’ उपन्यासमा पनि जातीय चेतना प्रखर पाइन्छ। यस उपन्यासकी नायिका नम्रताले असमका जुन जुन ठाउँमा घुम्छे, त्यहाँको नेपाली समाजको दिगदर्शन र प्रतिविम्बन गरिएको छ। यसमा असम र शिलाङमा बस्ने नेपालीहरूको सामाजिक, साहित्यिक, धार्मिक, आर्थिक गतिविधि आदिका माध्यमबाट त्यहाँ विद्यमान रहेको विश्वास, अन्धविश्वास, रूढि, सचेत-असचेत सबै देखाइएको छ। यसको मूल आधार नै जातित्व  हो। शान्ति छापाको ‘मोहनी डट कम’ उपन्यासमा पनि असमका विभिन्न प्रान्तमा बस्ने नेपालीहरूको सामाजिक, आर्थिक, राजनैतिक आदि विभिन्न पक्षहरूको अध्ययन गरिएको छ। सुवास घिसिङको ‘लुङखुम क्याम्प’ उपन्यासमा पनि भारतमा गोर्खालीहरूको युद्ध र त्यसले उत्पन्न गरेको सामाजिक समस्यालाई देखेको छ। मने उपन्यासमा पनि जातीय चेतना प्रखर रूपमा पाइन्छ। यसमा मुरली बजाइहिँड्ने मने नेपालीहरूको थाँत थलोतिर जान्छ। दार्जीलिङ, खरसाङ, सिलगढी, जलपाइगढ़ी, मैनागढ़ी, धुपगढी आदि जस्ता नेपालीहरूको स्थानमा मुरली बजाएर मागिहिँड्छ। यसमा नेपाली सांस्कृतिक चेतना पनि प्रशस्त पाइन्छ।

भारतीय नेपाली उपन्यासमा गोर्खा पल्टनसित सम्बद्ध, चियाबारी, कोइला खानी र त्यससम्बन्धी समस्या, दार्जीलिङ पहाडमा सडक बनाउँदाका समस्या, श्रमजीवी आदि कुरा जातीय चेतनासित सम्बन्धित देखिन्छन्। माथि उल्लेखित उपन्यासहरूमा दार्जीलिङका चियाबारीहरूका किनारीकृत नेपालीहरूको जीवनको यथार्थ चित्रण गरेका छन्। भारतमा चिह्नारीको सङ्कटमा परेका नेपालीहरूले जातीय अस्मिताका लागि युद्धरत नेपीलीहरूको जीवनगाथा चियाको बोटसँगै गाँसिएएर आएको हुनाले यससँग सम्बद्ध नेपालीहरूको सङ्घर्षशील जीवन भोगाइका कथा-व्यथालाई यी उपन्यासमा उतारेका छन्।7

५. जातीय चेतनाका केही तत्व –

जातीय चेतनाभित्र अध्ययनका अन्य केही फाँटहरूमा सांस्कृतिक चेतना, भाषिक चेतना, आर्थिक चेतना आदिबारे पनि यहाँ अध्ययन गर्नु समीचीन छ।

५.१. सांस्कृतिक चेतना– भारतीय नेपाली उपन्यास लेखन परम्परामा सांस्कृतिक चेतना पनि एउटा प्रखर तत्त्व हो। भारतमा बसेका नेपालीहरू जातगत समूहमा रहेर मिश्रित रूपमा रहेका छन्। यहाँ बाहुन, छेत्री, तामाङ, मगर, गुरूङ, राई, लिम्बू, भुजेल, याक्खा, कामी, दमाई, सार्की आदि मिश्रित रूपमा बसेका छन्। अझ भोटे लाप्चे नेपाली भनी मिलेर चुल्हाको तीन चौको जस्ता भई बसेका छन्। यसैगरी हिन्दू, इसाई, बौद्ध धर्मावलम्बीहरू एकार्कामा मिलेर बसेका छन्। यहाँको समाजमा कुनै पनि जातको कट्टरता, धार्मिक कट्टरता र अहिष्णुता जस्तो परिवेश छैन। यहाँ दाइजो प्रथा, घुम्टो प्रथा आदि छैन। यहाँका नेपाली उपन्यासमा पनि यिनै कुराहरू प्रतिबिम्बित छन्। कुनै उपन्यासमा पनि धार्मिक अन्धता, जातगत असहिष्णुता, साम्प्रदायिकता जस्ता कुरा झल्केका छैनन्। यहाँका उपन्यासका नारीहरू पनि पुरूषको काँधमा काँध मिलाई चियाकमान, गाउँ-बस्तीमा काम गर्छन्। मुलुकबाहिर, आज रमिता छ, डाकबङ्गला, लगन, प्रकाश कोविद्का सङ्गम, अर्को जन्म, नोयो, टिस्टा रङ्गीत आदि उपन्यासहरूमा नारीहरू पनि पुरूषसरह काम गरेका छन्।

लैनसिंह बाङदेलको माइतघर आदि उपन्यासमा देवसी- भैलो खेलेको, माघे मेला घुमेको, रोटेपिङ चढेको आदि पक्ष देखाइएको छ। यताका उपन्यासमा बहुबिवाह पाइन्न बरू अन्तर्जातीय र मगनीभन्दा भागी बिहा बढी पाइन्छ। बिहा गर्ने पद्धति पनि यहाँको आफ्नै मौलिक परम्परा आदि देखा पर्दछ।

. भाषिक चेतना – भारतका नेपाली उपन्यासहरूमा आफ्नै किसिमको भाषिक संरचना बनिएको देखिन्छ। यहाँका उपन्यास अध्ययन गर्दा भाषामा एउटा मिश्रित किसिमको स्वाद पाइन्छ। यहाँ औपन्यासिक भाषामा ठेट नेपाली शब्दका साथै हिन्दी, बङ्गला शब्द र हाम्रै जातगोष्ठी तामाङ, राई, लिम्बू, लेप्चा आदिका शब्दहरू पनि प्रयोग भएको पाइन्छ।

ग. आर्थिक चेतना– भारतको दार्जीलिङ, सिक्किम असम आदि ठाउँहरूमा नेपालीहरूको आर्थिक अवस्था सामान्य रहेको पाइन्छ। दार्जीलिङमा त झन चियाका पत्ती टिपेर जीवन धान्नेहरूको अधिक सङ्ख्या देखिन्छ। भ्रमर उपन्यासमा नै तुलसीबाजेको मन्तव्य- “दार्जीलिङमा नेपालीहरूको दुर्दशा के बताउँ। हामी कि ता भारीबोकुवा कि आपिसमा तल्लो दर्जाका कलम कोर्ने ता छौं नि”। यसबाट ईश्वीको तीसको दशकको दार्जीलिङको जनजीवनको अवस्था हो। लैनसिंह  बाङ्देलका उपन्यासमा पनि दार्जीलिङका नेपालीहरू भारीबोक्ने, सिपाही, किरानी, सानोतिनो व्यापार गर्ने आदि किसिमको देखाइएको छ। प्रकाश कोविदका अधिकांश उपन्यासमा चिया श्रमिक देखाइको छ। केही उपन्यासमा दार्जीलिङका शिक्षित युवावर्गको रोजगारको व्यवस्था नहुँदा अन्यत्र गएर काम गर्नुपरेको यथार्थ देखाइएको छ।

६.भारतका उपन्यासमा जातीय चेतनाका केही मुख्य मुख्य पक्षहरू बुँदागत रूपमा यसरी हेर्न सक्छौं-

  • भारतीय नेपाली उपन्यासमा नारीको स्थिति मिश्रित पाइन्छ। मुलुकबाहिर, माइतघर, मङ्गली, डाकबङ्गला, चरणधूली, नीलकण्ठ आदि उपन्यासमा नारीको मार्मिक, दुःखदायी स्थिति देखा पर्दछ। अर्कातिर भ्रमर, लगन, आज रमिता छ, कलिलो फुल गुलाफको आदि उपन्यासमा भने नारीको स्थिति दह्रो, सशक्त, सबल देखा पर्दछ।
  • भारतीय नेपाली केही उपन्यासमा नारीको मार्मिक स्थितिको यदाकदा चित्राङ्कन गरिए तापनि दाइजो प्रथा, नारी प्रताड्ना, नारीद्वारा आत्महत्या आदि पाइन्न।
  • यहाँ अन्तर्जातीय विवाहलाई सामाजिक मान्यता दिएको कुरा प्रायः उपन्यास पढ्दा थाहा लाग्छ। यहाँको बिहा गर्ने पद्धति पनि आफ्नै मौलिक किसिमको विकसित भएको देख्न पाइन्छ। केटा-केटी मन परापर भएपछि धेरै जसो भागेर बिहा गरको उल्लेख पाइन्छ। प्रकाश कोविद, सुवास घिसिङ, प्रकाश सुब्बा, असीत राई आदिका उपन्यासमा पाइन्छन्।

जातीय चेतनामूलक भारतीय नेपाली उपन्यासको मूल्याङ्कन र उपसंहार –

भारतीय नेपाली उपन्यासको मूल चेतना नै भारतमा नेपालीहरूको सामाजित सांस्कृतिक, राजनैतिक, आर्थिक स्थिति देखिन्छ। परापूर्वदेखि भारतमा रैथाने भएर बस्ताका पीर- मर्का, समस्या आदिलाई उपन्यासहरूमा स्वर दिएका छन्। भ्रमरदेखि लिएर अहिलसम्मका उपन्यासमा कतै कतै जातीय चेतना पाइन्छन्। यीमध्ये पनि भ्रमर, लगन, दोभान, डाकबङ्गला, आज रमिता छ, नयाँ क्षितिजको खोज, बास सल्किरहेछ, ब्रह्मपुत्रका छेउछाउ आदि उपन्यासहरूमा प्रखर रूपमा पाइन्छ। भारतमा बस्नुपर्दा नेपालीहरूका विभिन्न समस्यालाई यी उपन्यासहरूले सम्बोधन गर्न सकेका छन्। यी जम्मै उपन्यास पढ्दा भारतमा नेपालीहरूलाई सुख छैन। कतै विदेशीको शङ्काले हेर्ने, कतै पक्षपातको र कतै वञ्चनाको शिकार बन्नुपरेको वास्तविकता दर्साइएको पाइन्छ। भारतमा बस्ताका आफु किनारीकृत हुनुपर्दाका पीडालाई धेरै उपन्यासले उतारेका छन्। उपन्यासका पात्रका माध्यमबाट नेपालीहरूमा जातीय सचेतता नभएर राजनैतिक सामाजिक आदि समस्या भोग्नुपरेको यथार्थलाई देखाइको पाइन्छ।

[i] [i]www.mpboardonline.com

२. https://politicalinhindi.blogspot.com/

३. गोर्खा सेवक, वर्ष १, सङ्ख्या १६, १५ अप्रेल, १९३६, सम्पादक डा खेमराज नेपालद्वारा सम्पादित गोर्खा सेवकको संङ्कलन,( पृष्ठ १००)

४. कुलबहादुर राई, प्रवासी नेपालीमा साहित्यको विकास, काठमाडौं, सं २०७०, (पृष्ठ १३६)

५.जस योञ्जन,

५. नवीन पौड्याल, कृति सन्धान, 2020, सिलगडी, नई (इन्डिया) प्रकाशन, पृष्ठ 114-115।

६. डा टेकनारायण उपाध्याय, पूर्वोत्तर भारतका नेपाली उपन्यासको प्रवृत्ति, समकालीन नेपाली उपन्यास गति र प्रवृत्ति, (पृष्ठ १२१)।

७.रागिनी थापा, टिस्टादेखि सतलजसम्म समाजशास्त्रीय एवम् भाषिक अध्ययन, आधुनिक भारतेली नेपाली उपन्यास, सम्पा. दिलकुमार प्रधान, वीरपाडा, वीरपाड़ा कलेज, २०१४, पृष्ठ २८)

८.प्रतापचन्द्र प्रधान, भारतीय नेपाली उपन्यास परम्परा संक्षिप्त, आधुनिक भारतेली नेपाली उपन्यास, सम्पा. दिलकुमार प्रधान, वीरपाडा, वीरपाड़ा कलेज, २०१४, पृष्ठ १६)

……………..

सहयोग लिएका प्रमुख सन्दर्भ ग्रन्थ:-

  1. नवीन पौड्याल, कृति सन्धान, 2020, सिलगडी, नई (इन्डिया) प्रकाशन, पृष्ठ 114-115।
  2. नवीन पौड्याल, साहित्य सन्धान, 2018, सिलगडी, नई (इन्डिया) प्रकाशन, पृष्ठ 114-115।
  3. सम्पा. रूद्र बराल, समकालीन नेपाली उपन्यास गति र प्रवृत्ति, गोहाटी, असम नेपाली साहित्य सभा (2018)।
  4. टिस्टादेखि सतलजसम्म समाजशास्त्रीय एवम् भाषिक अध्ययन, आधुनिक भारतेली नेपाली उपन्यास, सम्पा. दिलकुमार प्रधान, वीरपाडा, वीरपाड़ा कलेज, २०१४,
  5. कृष्णचन्द्रसिंह प्रधान, नेपाली उपन्यास र उपन्यासकार, काठमाडौं, साझा प्रकाशन, चौ.. 2060।
  6. डा. मोहन पी दाहाल, दार्जीलिङ नेपाली उपन्यास परम्परा र प्रवृत्ति, दार्जिलिङ, श्याम ब्रदर्स, 2001।

 

प्रतिक्रिया
Loading...