साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

स्वतञ्त्रोत्तर दार्जीलिङका नेपाली उपन्यासमा नारीको बदलिँदो स्थिति

दार्जीलिङबाट प्रकाशित नेपाली उपन्यासहरूको सङ्ख्या आजसम्म लगभग तीन सय पुगिसकेका छन् । यी जम्मै उपन्यासको कालक्रमिक अध्ययन गर्न सके लगभग तीसको दशकदेखि हालसम्मको दार्जीलिङे नेपाली समाजमा नारीको विभिन्न अवस्थाको आकलन र क्रमिक विकासको पत्तो लाउन सकिने देखिन्छ ।

Chovar Blues Mobile Size

१.आमुख-

साहित्य समाजको दर्पण हो। समाजमा जे भइरहेको छ, त्यही नै साहित्यमा देखा पर्छ। साहित्य कहिले समाजभन्दा अघिअघि जान्छ त कहिले समाजको पछिपछि जान्छ। साहित्यले समाजभन्दा अघि गएर समाजलाई दिशा निर्देश गर्न सक्छ भने समाजको पछि लागेर त्यसको प्रतिविम्बन पनि गर्छ। साहित्यले समाजका हरेक पक्षलाई समेट्न सक्छ। उदाहरणका निम्ति सन् पचासको दशकमा दार्जिलिङको सामाजिक, राजनैतिक, शैक्षिक, आर्थिक स्थिति के कस्तो थियो भन्ने कुरा बुझ्न त्यस बेलाका उपन्यास अध्ययन गरे पनि थाहा पाइन्छ। त्यसरी नै समाजमा नारीको अवस्था के कस्तो छ भन्ने कुरा उपन्यासले नै प्रतिविम्बित गरिरहेको हुन्छ। दार्जिलिङे नेपाली समाजले नारीलाई कस्तो स्थान दिएको छ, यो कुरा यहाँबाट प्रकाशित उपन्यासहरूमा अध्ययन गरे थाहा लाग्छ।

२. लेखको उद्देश्य, अध्ययन पद्धति  र परिसीमा –

प्रस्तुत लेख तयार पार्दा सर्वेक्षणात्मक र पुस्तकालयीय पद्धति अपनाइएको छ। यसमा सन् १९४७ मा भारतले अँग्रेज शासनबाट स्वतञ्त्रता हासिल गरेदेखि यता दार्जिलिङबाट प्रकाशित उपन्यासहरूको क्रमिक रूपमा सर्वेक्षण गरी तिनमा नारीको स्थितिको अध्ययन गर्न खोजिएको छ। यसका साथै दार्जिलिङबाट प्रकाशित लगभग  दुई सय नब्बेदेखि तीन सयको संख्यामा रहेको तथ्याङ्क पाइन्छ। यसरी यति धेरै संख्याका उपन्यास जम्मैको अध्ययन गरी सम्भव नभएकाले केही सीमित उपन्यासलाई मात्र नमूना छनौटका रूपमा आधार लिइएको छ। यसका निम्ति उक्त समयदेखि यता प्रकाशित केही मुख्य र चर्चित उपन्यासलाई मात्र आधार बनाइएको छ। यस पत्रको अध्ययनका निम्ति नमूनास्वरूप लैनसिंह बाङ्देलका दुइवटा उपन्यास मुलुकबाहिरमाइतघर, अच्छा राई रसिकको लगन, शिवकुमार राईको डाकबंगला, इन्द्र सुन्दासको मंगली, कृष्णसिंह मोक्तानको चरणधूली, इन्द्रबहादुर राईको आज रमिता छ, मत्येन्द्र प्रधानको नीलकण्ठ, विन्द्या सुब्बाको निर्गमन, पुष्पा राईको भोलिको प्रतीक्षामा, मध्यान्तर जस्ता मुख्य मुख्य उपन्यासलाई आधार लिएर अध्ययन गरिएको छ। यसका साथै यस प्रपत्रमा नारीवादसम्बन्धी कुनै सैद्धान्तिक आधार नहेरी उपन्यासमा नारीको के कस्तो सामाजिक स्थिति, परिदृश्य पाइन्छ, त्यसबारे मात्र सीमित अध्ययन गरिएको छ।

नवीन पौड्याल (कालिम्पोङ)
sagarmani mobile size

३. नारीसम्बन्धी सामाजिक मानसिकता

हाम्रो देशमा नारीबारे विभिन्न अवधारणा र मानसिकता रहेका छन्। यसभित्र सकारात्मक र नकारात्मक दुवै किसिमका मत पाइन्छन्। हुन ता नारी र पुरूषको समानताको कुरा गर्दा भारतमा नारीहरूले राष्ट्रको सर्वोच्च ओहोदामा बस्ने अवसर पाएका छन् भने अमेरिका जस्तो नारी स्वतञ्त्रता र समानताको वकालत गर्ने देशमा भने राष्ट्रको सर्वोच्च पदमा आजसम्म मौका पाएका छैनन्। बरू दक्षिण एशियाका पुरूष प्रधानसमाज भएका भारत, नेपाल, श्रीलङ्का, बाङ्लादेश पाकिस्तान आदि देशतिर भने देशका सर्वोच्च पदमा नारी आसीन छन्। यता दार्जिलिङे-सिक्किमको नेपाली समाजमा भारतीयसरह नारीप्रति हेरिने धारणा यस प्रकारका छन्-

क) उखानमूलक मानसिकता-

छोरीको जन्म हारेको कर्म।

छोरीको जात अर्काको भित्ता टाल्ने।

बरू ढिलो होस छोरो होस

छोरी चेलीको इज्जत सेतो कपडाको जस्तो हुन्छ।

ख) आम धारणा- नारी वासनाको पुतलीको रूपमा।

ग) केटीहरू स्वार्थी हुन्छन्।

घ) बत्तीमा झुत्तिने पुतली हुन्।

ङ) केटीहरूले धोका दिन्छन्।

च) दार्जिलिङमा तीनवटा w  को विश्वास हुन्न- Wine, Weather  र  Women.

छ) छोरीको जात भनेको अवगालको गुँड हो।

ज) अर्काको कमाइ खानुपर्छ।

यस्ता धारणा सबै नै पुरूषप्रधान समाजले बनाएको हो। यस्तो धारणा लिएर प्रचार गर्ने गरेको पनि पाइन्छ। दार्जिलिङमा पचास, साठ्ठीको दशकतिर समाजमा पढ्ने चलन त्यति थिएन। झन घरका छोरीहरूलाई धेरै पढाउने चलनै थिएन। पुरूषप्रधान समाजमा नारीहरूको स्थिति दयनीय नै थियो। यद्यपि दार्जिलिङमा नारीहरूको सामाजिक स्थिति अन्य जातिका तुलनामा केही बलियो र उदार नै पाइऩ्छ। दार्जिलिङका नारीहरू पनि पुरूषको काँधमा काँध मिलाई कर्मक्षेत्रमा उत्रिएका देखिन्छन्। यहाँ दाइजो प्रथा, पर्दा प्रथा विलकुलै छैन भन्दा फरक पर्दैन। बुहारी प्रताडना पनि अन्यका तुलनामा कम्ती नै छ। नारीहरू पनि पुरूषसरह पसल चलाउने, घर बाहिरको घाँस दाउरा गर्ने, खेताला जाने, भारी बोक्ने, चियापत्ती टिप्ने, चियाकमानको कारखाना श्रमिक थिए, ढ्वाङ तानेर सडक पेल्ने गर्ने जस्ता काम गर्थे। उनीहरूलाई घरभित्र कँज्याएर राख्ने चलन चाँहि थिएन।

 

४. दार्जिलिङे नेपाली उपन्यासमा नारीको सामाजिक स्थितिमाथि संक्षिप्त सर्वेक्षण-

४.१. भ्रमर – भारत स्वाधीन हुनभन्दा पहिले सन् १९३६ मा प्रकाशित रूपनारायण सिंहको भ्रमर उपन्यासमा नारीलाई महत्वपूर्ण स्थान दिएको छ। त्यस उपन्यासका माया र वीणा जस्ता नारीपात्रहरूको विशिष्ट स्थान पाइन्छ। एकपट्टि पुरानो विचारधारालाई परिपोषित गर्ने सामान्य नारीहरू छन् भने माया, वीणा, गौरीहरू उनीहरू शिक्षित, सचेत छन् र उनीहरूले नयाँ युवा पुस्तामा आएको युग सचेतता, आधुनिकताप्रति आग्रह, परिवर्तनको निम्ति संज्ञान लिएका छन्। त्यस युगमा पनि नारी शिक्षामाथि जोड दिइएको छ। माया मेडिकलकी छात्रा हुन् भने वीणा पनि शिक्षित आदर्श नारीका रूपनमा प्रस्तुत गरिएको छ। मायाले शेखरको विहा नगरीसँगै बस्ने भन्ने प्रस्तावलाई ठाडै विद्रोह गरेर पुरूषको वासनात्मक प्रेमलाई लत्याएकी छ। भ्रमर उपन्यासमा नारीहरूको अवस्था सन्तोकजनक नै देखाइएको छ।

४.२. मुलुकबाहिर र माइतघर– लैनसिंह बाङदेलका दुई उपन्यास मुलुकबाहिरमाइतघरमा नारीको बडो मार्मिक स्थितिको चित्रण गरिएको पाइन्छ। सन् १९४८ मा प्रकाशित मुलुकबाहिरमा नारीहरूको बडो दयनीय अवस्थाको चित्रण छ। उनीहरू आ-आफ्ना लोग्नेबाट आँखा लाउने जस्ता कुरीतिबाट प्रताडित छन्। उपन्यासका म्याउँची र मसिनीहरू लोग्नेका कारण हतभागी बनेका छन्। उनीहरू आफ्ना लोग्नेबाट प्रताडित, लाञ्छित, पीडित, सुखबाट बञ्चित भएका छन्। मुलुकबाहिरकी म्याउँचीलाई लोग्ने रनेले अर्कासित आँखा लगाएर मारेर टिस्टामा फ्याँकिदिन्छ भने उसकी बहिनी मसिनी पनि लोग्ने माहिला भुजेलले आँखा लगाएर र कुटाइ खाएर आजीवन पीडा भोग्नुपरेको छन्। उनीहरू आफ्ना लोग्नेको गलतीको सिकार भएर जीवन फाल्नु परेको छ। सन १९४९ सालमा प्रकाशित माइतघर उपन्यासकी सानी भने झन दुःखी नारी हो। उसको बाबु नहुँदा उ आफ्नी आमासित अर्काको घरमा बस्नुपर्छ। उसले मन पराएकी हरिसित उसको बिहा हुनसक्दा एउटा विलकुल अपरिचित पुरूषसित उसको बिहा हुन्छ। उसको लोग्नेले पछिबाट अर्की स्वास्नी ल्याएपछि लोग्नेको घरमा बस्न सक्दिन। यद्यपि केही उपाय नलागेर अन्तमा त्यही लोग्नेकै घरमा घरमा गएर बस्नुपर्ने बाध्यता छ। उ पनि जीवनभरी सुख पाउन सक्दिन। उसको जीवन पनि छोरीको जन्म हारेको कर्मका रूपमा चरितार्थ भएको देखिन्छ।

४.३. लगन– सन् १९५५ सालमा प्रकासित भए पनि १९४८ सालमा लेखिएको लगन उपन्यास नेपाली पाठकका निम्ति एउटा उत्कृष्ट उपन्यास हो। नेपाली उपन्यास परम्परामा नारीहरूको सबैभन्दा गरिमाकृत गरिएको (Glorified) अच्छा राई रसिकको लगन उपन्यास हो। यसमा नारीहरूको अवस्थाको राम्रो चित्रण भएको पाइन्छ। त्यस उपन्यासका राधिका, विमला, शान्ति, विष्णुकुमारी जस्ता युवतीहरू कलेज पढ्न जान्छन्, समाजमा नारीशिक्षा, नारी हक र हित र समानाधिकारको कुरा गर्छन्। ब्राह्मणवाद, जात प्रथाको, जातीय विभेद, अन्धविश्वास आदिको खण्डन गर्छन्। यस्ता सामाजिक कुरीति हटाएर नयाँ वर्गहीन समाजको स्थापनाको कुरा गर्छन्, समाजसुधारको चर्चा गर्छन्। उनीहरू साहित्यिक चर्चा गर्छन्, नेपाली समाजमा उदीयमान लेखकहरू प्रकाशक नपाएर ओझेलमा परेको कुरामा चिन्ता व्यक्त गर्छन्, जातीय संस्कृति जोगाउनु पर्ने कुरामा जोड दिन्छन्। समाजमा प्रचलित जातगत भेदभावको विरोध गरेका छन्। नेपाली जातिमा जातको होइन तर मानिसको गुणको कदर हुनुपर्छ भन्ने कुराको समर्थन गरी अन्तर्जातीय विवाहको पक्ष लिएर एउटा सिङ्गो नेपाली जातिको परिकल्पना गरेका छन्। राईकी छोरी राधिका र छेत्रीको छोरो कृष्णचन्द्रबीचको नैसर्गिक प्रेमको पक्ष लिएका छन्। यद्यपि उनीहरू पनि समाजमा स्वतञ्त्र हुन सकेका छैनन्। कता कता पुरूषको स्वार्थको शिकार बनेकै छन्। राधिकाको बिहा बाबुले जबर्जस्ती धनमान भन्ने पल्टने मान्छेसित गरिदिन खोज्छ। यद्यपि पछिबाट भने उसको विवाह उसकै प्रेमी कृष्णचन्द्रसित हुन्छ। उपन्यासको मूल उद्देश्य भने नारी सुधार देखिन्छ। लगन उपन्यासमा तेस्रो लिङ्गको मानिस पनि देखाइएको छ जुन अन्य कुनै नेपाली उपन्यासमा पाइन्न। मीनकुमार भन्ने पात्र तेस्रो लिङ्गी हो। उ त्यस समयको समाजको निम्ति अभिशाप बनेको छ। उसलाई समाजमा बाँच्नु कठिन परेको छ। उ मान्छे भएर पनि मानवीय व्यवहार पाउँदैन। उ नाच्न सिपालु छ, सद्गुणी छ तर पनि उसको कला मूल्यहीनसरह बनेको छ। उसलाई नायिका राधाले मात्र कुनै भेदभाव नगरी भाइसुलभ स्नेह र समान मान्यता दिएकी छ।

४.४. चरणधूली – सन् १९५६ मा प्रकाशित कृष्णसिंह मोक्तानको उपन्यास चरणधूलि पनि नारीकेन्द्रीत रहेको छ। यसमा नारीको सबल र दुर्बल अवस्थाको चित्रण संकेत पाइए तापनि समग्रमा भने नारीको दुर्दशा नै बढी पाइन्छ। यसमा नारी सशक्तिकरणको जोडदार पक्ष राखिएको छ। बाबुको रूपमा, सौतेनी आमाको रूपमा नारीलाई प्रताडना गरिए तापनि जित भने नारीको नै भएको देखाइएको छ। यसमा खासगरी नीरा र सिनोरा दुई जना युवती एकार्कामा विपरीत धारणाका छन्। नीराले आफुलाई प्रेमीकी चरणकी धूलि ठान्छे भने सिनोरा चाहिँ पुरूषको बन्धनमा मुक्त रही आफु आजीवन स्वतञ्त्र जीवन बिताउने, नारीको पक्षमा जहिले पनि डटेर लड्ने, जुझारू स्वभावकी छ। नीराको जीवनमा कस्ता कस्ता पीडा, कष्ट र कठिनाइ आइपरे पनि अन्तमा उसको प्रेमी जीवन आएपछि उसको बिहे हुन्छ। नारीको अवस्थालाई लिएर यो उपन्यास अच्छा राई रसिकको लगनसित कता कता मेल खान्छ।

४.५. डाकबंगला– शिवकुमार राईको ’डाकबंगला’ (१९५७) उपन्यासमा नारीको स्थिति झन दयनीय र भयावह देखिन्छ। यस उपन्यासमा नायक चन्द्रप्रकाश नारी शोषणको नमूना बनेको छ। उसले कान्ता, रत्ना, रूपा जस्ता सच्चरित्र भएका युवतीहरूसित प्रेमको नाटक गरेर यौनशोषण गर्छ अनि आफ्नो स्वार्थ सिद्ध भएपछि परित्याग गरेको छ। उसकै कारणबाट यस्ता नारीहरूले आफुलाई अभागी ठान्दै कसैले आत्महत्या र कसैले दुरदेश गएर पलायन, भएको, दुःख पाएर मरेर जीवन बर्वाद पारेका छन्।

४.६. मंगली – सन् १९५८ सालमा प्रकाशित इन्द्र सुन्दासको मंगली उपन्यासमा नारीको मार्मिक स्थितिको चित्रण छ। उपन्यासकारले नारीको मनोदशामाथि राम्ररी प्रकाश पारेका छन्। उपन्यासकी नायिका मंगली आफ्नी सासू र लोग्नेद्वारा प्रताडित छे। सासूद्वारा उक्साइएर लोग्नेले उमाथि सौता हालेको छ। यद्यपि उसको ससुरा भने उसको गुण बुझेर समर्थन गर्छ। मंगलीले पाउनुसम्म दुःख पाएकी छ। उपन्यासको अन्तमा मंगलीको निधनले उसको नैतिक र आस्तित्विक विजय भएकोछ। लोग्नेले जीवनभरी प्रताडित गरेर अन्तमा उसको निधन हुँदा विलाप गरेकामा लोग्नेको आत्मिक पराजय भएको छ। जीवनलाई सुख कहिले नपाएकी मंगली आमाकी नाजायज सन्तानकी छोरी हो। खासमा उ छोरी भएर जन्मेकाले जन्मिदै अफालिएकी छ। उ सामाजिक भय र अपवादलाई थाम्न नसक्ने बुझेर उसकी आमाले उसलाई अफालिदिएकी शिशु हो जसलाई जयवीर र गोमतीले पालेका थिए। नारीको कर्म हारेको कर्म भन्ने उखान  नै उपन्यासको मूल उद्देश्य बनाइएको छ।

४.७. आज रमिता छ – सन १९६४ मा प्रकाशित इन्द्रबहादुर राईको आज रमिता छ उपन्यासको अध्ययन गरे पनि तत्कालीन दार्जिलिङे समाजमा नारीको सामाजिक स्थितिको अवगत गर्न सकिन्छ। यस उपन्यासमा नारीलाई केही गरिमामय स्थिति देखेको छ। यस उपन्यासका नारी पात्रहरू सीता, बाबुनी, यमुना, इशावेला आदिको भूमिका गरिमामय छ। सीतालाई कर्तव्यपरायण, शान्त, सुशील, सौम्य, शिष्ट उदार, सहिष्णु, एक आदर्श पत्नीका रूपमा प्रस्तुत गरिएको छ। लोग्ने एम. .केको माया र निहुँ खोजाइबाट बाबुनीको जीवन बितेको छ। घरको निम्ति उ लोग्नेभन्दा सक्रिय भई काम गर्नु परेको छ। लोग्नेले नोकरी छोडेपछि उसले हण्डर खानु परेको छ तर पनि उ आफ्नो सतमा रही घर परिवार धान्न सक्षम देखिन्छे। उता जमुना भने शृङ्गार, विनोदप्रियता, पुरूषलम्पट, सिनेमा-नाचगान आदितिर रमाउने र लोग्नेभन्दा परपुरूषसित बढी लहसिने खालकी छ। कतिपय नारीहरू पुरऊषको काँधमा काँध मिलाएर राजनैतिक क्रियाकलाप, जुलुस आदितिर पनि सक्रिय सहभागिता दिएका छन्। उपन्यासमा वर्णित गोलीकाण्डक सिकार भई ज्यानसमेत आहुती दिएका छन्।

४.८ कलिलो फूल गुलाफको – रबीन्द्रकुमार मोक्तानको सन् १९६८ मा प्रकाशित कलिलो फूल गुलाफको उपन्यासमा नारीको दयनीय अवस्थाको वर्णन छ। यसमा पनि नीरा नामकी युवती छ जो चरणधूलीकी नीराभन्दा अझ दु:खित, पीडित, लाञ्छित छ। उ त झन आफ्नो लोग्नेव्दारा प्रताडित र घोर अन्यायमा परेकी छे। लोग्नेको संकुचित मानसिकताले उनीहरूबीच छुटिने स्थिति आइपर्छ। एउटा रमेश भन्ने परपुरूषले उसलाई अनुचित शारीरिक सम्पर्क गर्न खोज्दा उ आफुलाई बचाएर निस्कन्छे। त्यसपछि भने मातेर लोग्नेले उसलाई दिनरात वेश्याको आरोप लाएर घरबाहिर निकाल्छ। अन्तमा नीराले अर्को पुरूषसित पुनर्विवाह गर्छे।

४.९. फेरि गुँडतिरै – रामलाल अधिकारीको फेरि गुँडतिरै उपन्यासमा नारीको भिन्नै अवस्थाको चित्रण छ। यसमा पनि नारीको अवस्था दुःखपूर्ण नै छ। रानू नामकी युवतीले आफुलाई जतिसुकै आधुनिक र स्वतञ्त्र ठाने पनि उ पुरूषकै काम वासनाको शिकार हुन्छे। परिस्थिति सँगसँगै आफुलाई परिवर्तन लगे पनि उसको स्थितिमा सुधार आउँदैन। झन झन यौनगत विकृतिको खाडलमा जाकिन्छे। अन्तमा आफ्नै गाउँ-घरमा आएर आफ्नो जीवन गुजार्छे। उपन्यासकारले बाहिरको तडकभडक जीवनको क्षणिक भाग मात्र हो अनि यसबाट कुन्नै उपलब्धी हुँदैन भन्ने सन्देश दिएका छन्।

४.९. गुलाफ र माटो – सन् १९७५ मा प्रकाशित ज्ञानेश्वर गिरीको उपन्यास  गुलाफ र माटो मा भने नारीलाई अन्य उपन्यासभन्दा भिन्दै रूपमा चित्रित गरिएको छ। यस उपन्यासमा निर्दोष पुरूषलाई नारीले सताएको देखाइएको छ। चित्रकारको रूपमा रहेको सागरमणिकी सुन्दरी स्वास्नी इन्दुमतिको विचार र मानसिकता भिन्नै छ। इन्दुमति सन्तान जन्माएर आफ्नो शरीर बिगार्नु र लोग्नेको सतमा रहनु मान्दिन र उ लोग्ने हुँदा हुँदै अन्य पुरूषसित सराबरी शारीरिक, मानसिक र खुल्ला सम्पर्क राख्छे। उसका साथीहरू एज्रा र सोबीले पनि उ झैं उन्मुक्त जीवन शैली अपनाएका छन्। उनीहरू पनि उजस्तै लोग्नेहरू फेर्दै गर्ने, चरित्रहीन, जवानीको चमकदमकमा रम्ने, रातदिन पार्टी र रमझम, रम रक्सीमा मस्त रहने खालका छन्। सोझो र भलाद्मी लोग्ने सागरले माया दिँदादिँदै पनि सरल दाम्पत्य जीवनको घेरामा नरही उन्मुक्त हुने इन्दुमति अन्त्यमा अर्कै पुरूषसित जान्छे। यता लोग्ने अत्यन्त मर्माहत भएर त्यो शहर छोडेर पलायन हुन्छ। अन्य उपन्यासमा नारी पुरूषबाट प्रताडित भएको देखाएको हुन्छ भने यस उपन्यासमा पुरूष नारीबाट प्रताडित भएको छ।

४.१०. नीलकण्ठ – मत्स्येन्द्र प्रधानको नीलकण्ठ (१९८४) उपन्यासमा नारीको अवस्था भने मर्मस्पर्शी पाइन्छ। नारीहरू पुरूषको वासना र स्वार्थको शिकार बनेका छन्। विशेषगरी रेणु र जेठी भन्ने दुइ नारी पात्रको स्थिति अत्यन्त मर्मस्पद देखिन्छ। उनीहरू पुरूषको वासनाको शिकार बनेर आफुलाई सम्हाल्न विभिन्न उपाय गरेका छन्। रेणु आफ्नै गुरूबाट बलात्कृत भएपछि अर्को झन नराम्रो चरित्र भएको पुरूषसित बिहा गर्न पुगेकी छ, जेठी पनि अभिभावक र बाबुतुल्य व्यक्तिको बासनाको शिकार बनेर मरेकी छ। सानी भन्ने पात्र पनि सानै उमेरदेखि घरको अभिभारा आफ्नो काँधमा लिएकी छ।

४.११. भोलिको प्रतीक्षामामध्यान्तर– पुष्प राईका दुईवटा उपन्यास ‘भोलिको प्रतीक्षामा’ (१९९०) र ‘मध्यान्तर’ (२००७) नारीवादी उपन्यासका रूपमा नै प्रस्तुत छन्। यी दुई उपन्यासहरू समग्रमा नारीले आफ्नो अस्तित्वको खोजी र त्यसका निम्ति संघर्ष, पुरूषप्रधान समाजप्रति विद्रोह, नारी सचेतताबाट सम्पन्न क्रियाकलाप र निर्णय देखाइएको छ। भोलिको प्रतीक्षामा उपन्यासमा शान्तिमा नारीवादी चिन्तन प्रस्तुत गरिएको छ। प्रेमी पुरूषबाट ललाई- फकाइमा शारीरिक सम्पर्क गरेपछि शान्तिका सामु विभिन्न सामाजिक समस्या आइपर्छन्। उसले आफ्नो गर्भको शिशुलाई जन्माएर पुरूषप्रधान समाजलाई चुनौती दिन्छे। लोग्नेमानिसबाट उब्जेको समस्यालाई आफुले स्वीकार गर्दछे। मध्यान्तर उपन्यासमा पनि नायिका पूर्णिशाले लोग्ने-स्वास्नीको सामान्य मनोमालिन्यबाट उब्जेको चिन्तनबाट पतिगृह त्याग गर्ने निर्णय लिन्छे। लोग्ने साविक रूपमा घरमा फर्कने आग्रह गर्दा समेत उ लोग्नेविहीन स्वतञ्त्र जीउनका निम्ति नफर्किने निर्णय लिन्छे।

४.१२. “अथाह” र ‘निर्गमन’ – सन 1९९९ र २००६ मा क्रमश: प्रकाशित विन्द्या सुब्बाका अथाह र निर्गमन दुई उपन्यासमा प्रखर रूपमा नारी चिन्तन पाइन्छ। अथाहमा एउटी युवतीको निराशा, हीनताबोध आदिवाट उब्जेको विक्षिप्त मानसिक दशाको चिरफार गरिएको छ। निर्गमन उपन्यासमा भने नारीको स्थिति सामान्य हुँदाहुँदै असामान्यको रूपमा पाठकले अध्ययन गर्न र घोत्लिन पर्ने देखिन्छ। तृष्णा भन्ने शिक्षित सचेत युवती छ, जो एक आदर्श गृहिणी, प्राध्यापक, आमा, पत्नीको रूपमा प्रस्तुत छे। उसलाई लोग्नेले समेत धेरै माया गर्छ। सबै ठिकै देखिन्छ तर पनि उ घर र लोग्ने सबै छाडेर पलायन हुन्छे। तृप्ति किन पलायन भई ?  उ सबै वन्धनबाट मुक्त भएर कतै उन्मुक्त जीवन जीउन पलायन भएको हुन सक्छ। नोकरी, लोग्ने, घर- परिवार, सन्तान, साथी भाइ, धन दौलत, घरमा दैनिकका घरेलु काम-धन्दा इत्यादि सबैबाट सांसारिक वन्धनबाट निवृत्त हुनलाई पलायन भएकी हुनसक्छ। उसको कुनै अभीष्ट प्राप्तिका निम्ति उसले गृह त्याग गरेकी हुनसक्छ। जे होस, उसले सबै त्याग गरेकी छ। घर-समाजकी लोग्नेमान्छेलाई नारीको अनुपस्थिति कतिको कष्टकर हुन्छ सो जनाउनका निम्ति पनि पलायन भएकी हुनसक्छ।

यीबाहेक असीत राई, प्रकाश कोविद, सुबास घिसिङ आदिका उपन्यासहरूमापनि नारीका विभिन्न अवस्थाको अवलोकन गर्न सकिन्छ। असीत राईको प्रगतिवादी स्वर भएको उपन्यास यञ्त्रणा उपन्यासमा श्रमिक आन्दोलनमा नारीको भूमिका पनि विशिष्ट देखिन्छ। अझ त्यसम्ध्ये नायिका उर्माले त्यस आन्दोलनमा ठुलै भूमिका निभाएर आफु मरेकी छ। प्रकाश कोविदका लगभग चालिसवटा उपन्यासमा नारीको गरिमामय स्थिति नै देखिन्छ। ती उपन्यासहरूमा नारीहरू नर-नारीगत प्रेमका पुजारी छन्।  सुबास घिसिङका केही उपन्यासमा नारीको अध्ययन गर्नु सकिन्छ।

५.  दार्जिलिङका उपन्यासहरूमा नारीको अवस्थासम्बन्धी तथ्य र विशेषता –

सन् १९४८ मा प्रकाशित लैनसिंह बाङ्देलको मुलुकबाहिरदेखि यताका मुख्य मुख्य उपन्यासहरूको एक सर्को अध्ययन गरे नारीको अवस्थासम्बन्धी हामी निम्न तथ्य र विशेषता थाहा पाउँछौं-

  • शुरूका उपन्यासका तुलनामा दार्जिलिङका उपन्यासमा नारीको सामाजिक अवस्थामा क्रमश सुधार आइरहेको देखिन्छ। चालिस र पचासको दशकका उपन्यासका नायिकाहरू पुरूषप्रति समर्पित, कि चाहिँ समानताको पक्षपाती विचारधारासम्म राख्थे भने पछिल्ला उपन्यासका नायिकाहरू पुरूष विद्रोह गरी गृहत्याग र खुल्ला चुनौतीसम्म दिने भएका छन्।
  • यताका कुनै पनि उपन्यासमा दाइजो प्रथा, पर्दा प्रथा, घरेलु हिंसा, बुहारीलाई प्रताडना गरिएको जस्ता सामाजिक समस्या भने पाइन्न। यौन शोषणगत समस्या भने धेरै छन्।
  • प्रकाश कोविदका लगभग चालिवटा लोकप्रचलित उपन्यासहरूमा नारीका विभिन्न महत्त्व, रूप, समस्या र बर्तावको अध्ययन गरिएको छ। बालविवाहको विरोध र बिधवा विवाहमाथि जोड दिइएको, नारीलाई बलात्कार गरिएको पनि वर्णित छ।
  • यताका उपन्यासमा नारीले आफैंले आफ्नो स्थितिको सुधार, परिवर्तन गर्दै लगेको पनि पाइन्छ। मंगली उपन्यासकी मंगली, डाकबंगलाकी रूपा आदि हुँदै पछिल्ला उपन्यासका नारीहरूले आफ्नो सुधार गर्दै लगेको पनि पाइन्छ।
  • यताका कुनै उपन्यासमा नारीलाई चरित्रहीन वेश्या पात्रका रूपमा पनि कुनै कुनैमा प्रस्तुत गरिएको छ। प्रकास कोविदको मेरो हजुर र रामलाल अधिकारीको फेरि गुँडतिरै उपन्यासमा देखिन्छन्। यद्यपि ती दुई उपन्यासका नायिकालाई पूर्ण रूपले वेश्या पात्र मान्न सकिन्न।
  • यताका उपन्यासमा नारीलाई चोर, हत्याकारिणी, अपराधी, राष्ट्रद्रोही इत्यादि खलतामूलक चरित्रको रूपमा प्रस्तुत गरिएको छैन।
  • यताका उपन्यासमा नारीको महिमामयी स्थिति पनि देखिन्छ। पुरूषका कुत्सित मनोभाव र बासनाका शिकार मात्र नभएर महिमामण्डित पनि छन्। चरणधूलिकी नीरा, मङ्गली उपन्यासकी मङ्गली आदि। उनीहरूका सदाचार नैतिकता, रूप सौन्दर्य आदिबाट पुरूषवर्ग हारेका छन्।
  • कुनै कुनै उपन्यासमा नारीलाई पनि पुरूष पीडकका रूपमा पनि प्रस्तुत गरिएको छ।
  • धेरैजसो उपन्यासमा पुरूषहरू नारीको शोषक नभई नारीको प्रशंसक, सौन्दर्यको उपासक रही नारीप्रति उदार, नारीको उद्धारक, शुभचिन्तक पनि बनेको देखाइको छ।

६. निष्कर्ष –

दार्जीलिङबाट प्रकाशित नेपाली उपन्यासहरूको सङ्ख्या आजसम्म लगभग तीन सय पुगिसकेका छन् । यी जम्मै उपन्यासको कालक्रमिक अध्ययन गर्न सके लगभग तीसको दशकदेखि हालसम्मको दार्जीलिङे नेपाली समाजमा नारीको विभिन्न अवस्थाको आकलन र क्रमिक विकासको पत्तो लाउन सकिने देखिन्छ । यद्यपि यसमा जे जति अध्ययन गर्न सकियो यसबाट पनि दार्जिलिङमा नारीको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, भौतिक र बौद्धिक स्थितिको जानकारी पाइन्छ।

प्रमुख सन्दर्भ ग्रन्थ-

  • विनेश प्रधान, कृति अधीति, दार्जिलिङ, मनमाया प्रकाशन, २०१६।
  • ममता लामा, नेपाली समालोचनाको आधार र पृष्ठभूमि, कालिम्पोङ, नेसाअस, २०१४।
  • मोहन पी दाहाल, दार्जिलिङका नेपाली उपन्यास परम्परा र प्रवृत्ति, दार्जिलिङ, श्याम ब्रदर्श, २००३।
  • सम्पा. दिलकुमार प्रधान, आधुनिक भारतेली नेपाली उपन्यास, वीरपाडा, वीरपाडा कलेज, २०१४।
लेखक परिचय
नवीन पौड्याल
प्रतिक्रिया
Loading...