
पछिल्लो समय पब्लिकेसनहरू टन्नै छन्, किताबहरू पनि ह्वार्ह्वार्ती आइरहेका हुन्छन् तर किताबहरूको भीडमा कुन किताब पढौँ नपढौँ सशय हुन्छ किनकि फगत कोरा संवेदनाविहीन शब्दले भरिएका किताबले दिग्भ्रमित बाहेक केही गराउँदैनन् । शब्दजाल घनघोर जङ्गल हो जहाँ यो चित्त भड्किरहन्छ घुमिरहन्छ जहाँबाट निकास पाउन गाह्रो छ । तर डाक्टर नवराज लम्सालद्वारा लिखित महाकाव्य “अग्नि” चेतनालाई एक स्तरबाट अर्को स्तरमा निकास दिन सफल कृति मध्येको एक पठनीय कृति हो भन्दा अतिशयोक्ति हुँदैन ।
भगवान् विश्वकर्माको मन्दिर भन्नुस् वा आरन बल्दो अग्नि साक्षी राखेर तपाईंको समीपमा छु दाजै !
अब मलाई हृदयको अङ्गालोमा बेर्नुस ।
कहीँ कतै कुनै भ्रम नहोस् म कथित बाहुन हुँ, यो जन्मजात आएको जातीय कोट हो, मलाई मान्छे हुन रोकेको दिन यो कोट फुकाल्न सक्छु, फुकाल्छु ।
निष्ठापूर्वक भन्छु – म पुरेतको रगत हुँ, यो संस्कारगत पेशा हो । मलाई मान्छे हुन रोकेको दिन यो पेशा बदल्न सक्छु । बदल्छु । म हिन्दु हुँ, यो विश्वास हो । आस्था हो । मलाई मान्छे हुन रोकेको दिन म मेरो विश्वासलाई बदल्न सक्छु । बदल्छु । तर फेरिन नसक्ने सनातनी सत्य, म मान्छे हुँ मलाई मान्छे भएर उभिन मान्छेको अघिल्तिर जोडिने कुनै पनि विशेषणले कहिल्यै रोक्दैन, रोक्न सक्दैन दाजै !
इतिहास खोज्नेलाई इतिहास, समाज खोज्नेलाई समाजशास्त्र, धर्म खोज्नेलाई धर्मशास्त्र, जातीय विभेद विरुद्ध अभियान सञ्चालन गर्नेहरूलाई विभेद कुप्रथा हो भन्ने ऐतिहासिक दस्तावेज, संस्कृति र सभ्यताको खोजी गर्नेहरूलाई संस्कृति ,राज्य सञ्चालन गर्नेहरूलाई राजनैतिक चेतनालगायतका विविध विषयवस्तु यसमा समाविष्ट छन् ।
मानवीय शरीरमा वर्णन गरिएका मूलाधारदेखि सहस्रारसम्मका चक्रहरू दृश्यमान नभए पनि चेतनाको स्तरले कुन मान्छेको चेतना कुन स्तरको छ वा उसको सोच यो चक्रसम्म पुगेको छ भनेर छुट्टाउन सकिन्छ, हामी प्रायःको सोच मूलाधार चक्रको वरिपरि घुमिरहेको अवस्थामा यो सहस्रार चक्रको छेउछाउलाई छोएर आएको कृतिलाई आत्मसात गर्न सहज छैन । चक्रकै नाममा महाकाव्यलाई खण्डीकरण गरिएको छ ।
मृगा: मृगै: संगमनुव्रजन्ति
गावश्च गोभिस्तुरगास्तुरंगै:।
मूर्खाश्च मूर्खै: सुधिया: सुधीभि:
समानशीलव्यसनेषु सौख्यम्।।
मृगलाई मृगको, गाइलाई गाइको, घोडालाई घोडाको, बुद्धिहीनलाई बुद्धिहीनको, बुद्धिजीवीलाई बुद्धिजीवीको साथ मन पर्छ । समान सोच विचार भएकाको सङ्गत सुखदायी हुन्छ । सँगै कुममा कुम मिलाएर हिँडे पनि यदि विचारमा एकता छैन भने “COMPANY WITHOUT HORMONY ” व्यर्थ हो ।
थिचिएको समाजलाई मिलेर बसेको भनेर प्रचार गरिए तापनि त्यसमा सत्यता छैन भन्ने कुरा यो कृति पढेपछि प्रष्ट हुन्छ । समस्या के त ? भन्दा पनि समाधानको मार्ग देखाइएको छ दलित समुदायले भोग्दै आएको चरम अमानवीय यातना, आर्थिक सामाजिक भौतिक र मानसिक हिंसालाई किताबमा इङ्गित गरिएको छ । वर्तमान समयमा आर्थिक प्रशासनिक राजनैतिक क्षेत्रमा सफलता पाएर पनि दलित समुदायलाई अछूत क्याटेगोरिबाट बाहिर निकाल्न धार्मिक क्षेत्रले सहयोग गर्नुपर्ने त्यसमा कथित पण्डित धर्मगुरुहरूको विशेष कर्तव्य हुनुपर्छ भन्ने बिम्ब महाकाव्यकारले देखाएका छन् ।

चन्द्रकान्त पौडेल
मझिनी मत्स्यगन्धाका पुत्र वेदव्यास नै चार वेद अठार पुराणका आधिकारिक प्रणेता हुन् वैदिक मान्यता अनुसार, उनी स्वयं ब्रह्मा विष्णु महेश्वरका प्रतिनिधि पात्र हुन्, के आज देवघाटका गुरुकुलहरूमा कुनै माझीको छोरालाई राखेर वेद पढाइएको छ ? जुन समुदायले सयौँ वर्षसम्म सामान्य शिक्षा पढ्न पाएन झन् वेद पुराण पढ्न त सपनामा पनि सोचेन किनकि दलितले वेद पढ्न हुँदैन भनेर समाजले सिकाउँदा चुपचाप पढ्दिन भनेर स्वीकार गर्यो, उनलाई पढ्न आएनन् भनेर कुतर्क गर्दै आफ्नो विभेदकारी सोचलाई पृष्ठपोषण गर्नेहरूले आजसम्म कति जना दलित वा जनजातीलाई शंकराचार्य वा रामानुजाचार्यको मार्गमा ल्याए त ? रामानुजाचार्यले तत्कालीन समयमा सबैलाई मन्त्र सुनाएर क्रान्ति गरेका थिए । उनी छुवाछूत विरोधी थिए समत्ववादी थिए शंकराचार्यले-
“न मे जातिभेद:” भनेर जातीय विभेद म गर्दिनँ भन्छन् । श्रील प्रभुपादले विश्वभर रहेका काला गोराहरूलाई वेद पुराण गीता पढाए इस्कोनको स्थापना गरेर आज यूरोप, अफ्रिका, अमेरिकालगायतका देशका सडकहरूमा हरेराम हरेकृष्णको गूँज गुञ्जायमान छ । अहिलेका नेपालका धर्मगुरुहरूले आजसम्म कति जना दलितलाई गायत्री मन्त्र सुनाए ? व्रतबन्ध गराए ? आज नासामा रिसर्च भैरहेको वैदिक संस्कृति संस्कृत भाषा कति दलितलाई पढाइयो ? यो सबै थिचोमिचो गरेको मान्छेलाई पशु सरह जीवन बाँच्न बाध्य बनाउने काम तत्कालीन राज्यबाट नै भयो र राज्य अप्रत्यक्ष रूपमा धोती टीका चन्दन र भगवान्को व्यापार गर्न तल्लीन छ, भित्रबाट पापी तर बाहिरी आवरण धार्मिक बनाएर समाजको शोषण गर्नेहरूको परामर्शमा चल्यो ।
कसलाई भनूँ सज्ज नै हो दिलले कसलाई चोरै भनूँ ?
लुट्ने हुन् सब नै फरक तर अहो धेरै र थोरै भनूँ ।
चर्चा हुन्छ चरित्रको जगत्मा सीता छ को राम छ ?
योगी निर्जनमा गई तप बस्यो ढोंगीको नै धाम छ ।
तर त्यही धोती टीका चन्दन लगाउने ज्ञानीहरूलाई पन्छाइयो ज्ञानीहरू कतै कुनामा थन्किएर बसेका छन् तर ढोंगी आडम्बरीहरूलाई धर्मको बागडोर सम्हाल्ने काम दिएकाले पनि होला समाजमा धर्म ह्रास हुँदै गयो । भगवान्सँग सम्पर्क भएकाले जातीय विभेद गर्न सक्दैनन् । भगवान्को डर देखाएर व्यापार गर्नेहरूलाई के मतलब ? कसैमाथि विभेद होस् वा हिंसा होस् उनीहरूलाई त आफ्नो दोकान चलाउनु छ।
लेख्न त गरुड महापुराणमा श्रीमान् मरेर जाँदा श्रीमतीले सती जानुपर्छ भनेर लेखिएको छ, धन्न चन्द्र समशेरले सतीप्रथाको अन्त्य गरे, आशा गरौँ यो समाजले बोकेको छुवाछूतजस्तो कुप्रथा पनि केही समयमा नै निर्मूल भएर जाला । पछिल्ला केही सय वर्षमा विविध छापाखानामा छापिएर आएका धर्मग्रन्थहरूमा नियोजित रूपमा धेरै अनावश्यक विचारको घुसपैठ भएको छ, जुन विचारहरू व्यास चेतनासँग मेल खाँदैनन् केही संशोधन जरुरी छ, शास्त्रको उच्च चेतनालाई छायाँमा राखेर केही विवादित विषयहरूको मात्र उठान गर्नु शास्त्रप्रतिको अपमान पनि हो । वेद पुराण कथित बाहुन बाहेक अरूले पढ्नु हुँदैन भनेर भ्रम फिँजाइयो कथित क्षेत्री केसी थापालगायतका समुदायलाई आजका दिनसम्म पनि व्रतबन्ध गर्दा जुन कान फुक्ने चलन छ त्यतिबेला घुम्टो ओडेर वरपर शङ्ख घण्टा बजाएर “ॐ भूर्भुव: स्व: तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमही धियो यो न: प्रचोदयात्” यो मन्त्र सुनाइँदैन गायत्री मन्त्र भनेर अरू नै मन्त्र सुनाइन्छ । क्षेत्रीले पनि वेद मन्त्र सुन्न पढ्न हुन्न भन्ने सोच आज पनि गाउँ गाउँमा छ, शहर शहरमा छ । बरु पछि कतै भित्तामा गायत्री मन्त्र भनेर पढ्लान् कतै सामाजिक सञ्जालमा सुन्लान् तर कर्मकाण्ड गर्ने पुजारीहरू मठ मन्दिरमा बस्ने कथित स्वामी बाबाहरू आजका दिनमा पनि हाम्रो यस्तै चलन हो कसैले फेरेर फेरिनेवाला छैन भन्छन्, व्रतबन्ध संस्कारमा नै विभेद गर्छन् । कुनै क्षेत्री ठकुरी नेवार वा कसैले व्रतबन्ध गर्दा कानमा वैदिक गायत्री मन्त्र सुन्न पाएका छन् भने त्यो अपवाद हो । आजको दिनमा मन्त्र सुनून या नसुनून त्यो हाम्रो चिन्ताको विषय पनि होइन तर विभेदको जरो खोज्दै जाँदा यहाँ यस्तो विभेद रहेछ भनेर देखाइदिएको मात्र हो, किनकि आज विदेशी गोराहरू वेद पढ्छन् हाम्रै पण्डितहरूले ती गोरालाई भने शुद्ध मान्छन् धोती टीका लगाएर गोराहरूले नेपालमा गीता प्रवचन गरेको सुनेको छु तर आजसम्म कुनै विश्वकर्मा या बोहराले गीतापाठ गरेको ससम्मान चौकामा बसेर भागवत् भन्ने मौका पाएको देखेको छैन । गोराहरूले सञ्चालन गरेको महर्षि फाउन्डेसनमा हजारौँ कथित ब्राह्मणहरू आजको दिनमा नेपालमा नै विभिन्न व्यावसायिक धार्मिक क्रियाकलाप गरिरहेका छन् तर कसैले छुवाछूतको विरोधमा बोलेको देखिँदैन अपितु विभेद विरुद्ध नबोल्नु भनेको अप्रत्यक्ष रूपमा विभेदको पृष्ठपोषण गर्नु हो ।
बिसे नगर्चीसँग पैसा लिएको दिन जसवीर कामीको आरनमा आएथे पृथ्वीनारायण । आज म जान्न चाहन्छु कसरी लेखिएको छ जसवीरको इतिहास र कहाँ छन् तिनका सन्तान् ?
समाजले काले राइलाई स्वामी प्रपन्नाचार्य बनाएर गुरुका रूपमा स्वीकार गर्यो । थापा थरका योगी नरहरिनाथलाई राष्ट्रगुरुको उपाधि दियो, जगमान गुरुङ आज ससम्मान प्रवचन गर्दै हिँड्छन् तर आजभन्दा लगभग सय वर्ष पहिला बनारसमा बसेर संस्कृतमा आचार्य गरेका बागलुङका पण्डित भगत सर्वजीत विश्वकर्मालाई आफ्नो छोराको न्वारन गर्यो, विश्वकर्मा भएर पनि शङ्ख घण्टा बजायो भनेर सामाजिक यातना दिने काम भयो, उनको ज्ञानलाई स्वीकार गरिएन त्यो गलत भयो । त्यतिबेला भगत सर्वजीतलाई वेद पुराणको अधिकार दिएको भए, आज दलित समुदायप्रतिको विभेदकारी सोच यतिविधि फल्न फुल्न पाउने थिएन । विभेद त कथित बाहुन बाहुनमा पनि उपाध्याय, जैसी, कुमाईं पूर्वे भनेर हुन्छ । त्यस्तै नेवार समुदाय होस् वा जुनसुकै समुदायमा पनि विभेद छ । दलित समुदायभित्र पनि आन्तरिक कामी दमै सार्कीबीच विभेद छ तर अरू समुदायले सामुदायिक विभेद सहनु परेन तर दलित समुदायलाई भने सामाजिक बहिष्कार गरियो, यो समुदायलाई सबै समुदायले हेपे तिरस्कार गरे, सानो ठकुरीको वा क्षेत्री वा दलित इतर समुदायको बालकले पनि दलित समुदायको वयस्क व्यक्तिलाई जातीय किसिमबाट हेपेर तँ भनेर सम्बोधन गरेको गाउँ गाउँमा ठाउँ ठाउँमा सुनिन्छ । कहिलेकाहीँ लाग्छ नाङ्गै खुट्टा हिँड्नेलाई जुता बनाइदिनेहरू ,घर मन्दिर पाटी पौवा चौतारो बनाइदिनेहरू, नाङ्गो हरमा लुगा सिलाएर लगाइदिनेहर, शस्त्र हात हतियार भाँडाकुँडा बनाउने प्रतिभाशाली त्यो समुदायलाई अछूत भनेर तिनको प्रतिभालाई फुल्न दिइएन, त्यसले राष्ट्रविकासमा अवरोध भयो, प्रतिभाशाली भएकै कारण उनीहरू अलग्याइए, पन्छाइए । उनको वंश लुकाइयो थर लुकाइयो गोत्र लुकाइयो र जसले समाजको विकासको आधार खडा गरे, उनैलाई कुजात भनेर अपमान गरियो पछि कुजात नामलाई सच्याएर दलित भन्न थालियो । दलित शब्द भएन यसलाई चेन्ज गर्नुपर्छ भन्नेहरूलाई सानो उत्तर के छ भने जुन दिन समाजमा दलित समुदायले पनि ससम्मान बाँच्न पाउने छन् त्यो दिन स्वत: यो शब्द हराउने छ तर आजका दिनमा दलित शब्द अन्यायका विरुद्ध बोल्ने, अधिकार माग्ने, दलित समुदायका समस्याको समाधान गर्ने साधन हो ।
दलित शब्दको विरोध गर्नु भनेको दलित आन्दोलनलाई नबुझ्नु पनि हो जस्तो लाग्छ । हिजोका प्रतिभाशाली व्यक्तित्वहरूलाई शोषण गर्न पल्केकाहरूले अछूत घोषणा गरिदिए आजका दिनमा पनि प्रतिभाशाली जो सुकैका विरुद्धमा मूर्खहरू एकजूट हुन्छन् । अरू त परै जाओस प्रतिभाशाली मान्छे परिवारबाट नै विभेदको शिकार हुन्छन्, आफन्तबाट नै पीडित हुन्छन्, नजिक सोचेका साथीबाट नै घातको सामना गर्छन् । प्रह्लाद प्रतिभाशाली थिए ज्ञानी थिए तर आफ्नै पिता हिरण्यकशिपुबाट पीडित भए, उग्रसेन ज्ञानी राजा थिए तर आफ्नै पुत्र कंशबाट पीडित भए । शास्त्रमै यस्ता अनेकन उदाहरण छन् भने समाजको त के कुरा ? शास्त्र पनि आखिर समाज र विश्व ब्रह्माण्डकै बिम्ब त हुन् ।
कता कता प्रतिभाशाली हुनु, क्षमतावान हुनु पनि अभिशाप हुन्छ, मूर्खहरूको भीडमा । महाकाव्यमा अयोग्यहरूको राज्यमा योग्य मान्छे कसरी अयोग्य र उपेक्षित हुन्छ भन्ने कुरा चित्रण गरिएको छ, जुन ज्यादै गम्भीर छ । जसले महायुद्ध जिताउने जेठी तरबार बनाए, उनलाई राज्यले नै तिरस्कार गर्यो । राज्य पनि विचित्र छ, प्रतिभावान्हरूलाई उपेक्षा गर्छ, चाटुकारहरूलाई पुरस्कृत गर्छ, फरक विचार राख्नेलाई तिरस्कार गर्छ, चाकडी गर्नेहरूलाई राज्यको उपल्लो निकायमा सेवा सुविधा सहित पुरस्कार दिएर राख्छ । सत्ता पनि मूर्ख छ उसले प्रश्न पनि आफैँ गर्छ उत्तर पनि आफैँ दिन्छ र बहस पनि आफैँ गर्छ फलस्वरूप परिणाम भद्रगोल हुन्छ । विभेदपूर्ण मानसिकता बोकेको मान्छे निर्मम स्वार्थी हुन्छ र त्यो मान्छेले आफ्नो बाहेक अरूको हितको कल्पना गर्न सक्दैन । विभेदको अन्तिम गन्तव्य एक्लोपन हो, स्वार्थको चरम सिमा हो, जहाँ सबथोक भएर पनि मान्छे केही नभएजस्तो हुन्छ ।
विभेद जातीय मात्र छैन, लैङ्गिक, वर्गीय, भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक, धार्मिकलगायतका अनेक विभेदहरू आज पनि समाजमा जरा गाडेर बसेका छन् । ती विभेदमध्ये जातीय विभेद सबै विभेदको मूल हो र विभेद हटाउन धार्मिक क्षेत्रमा व्यापक सुधार ल्याउनुपर्छ, धर्मगुरुहरूले पण्डितहरूले एकपटक मानवताको कक्षा पढ्नै पर्छ कि पर्दैन ? श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने ? बनमाराले बन खाएझैँ गीताको दर्शनलाई कर्मकाण्डले ओझेलमा पारिदिएको छ । कर्मकाण्ड पूजा नराम्रो होइन यसको सम्बन्ध ईश्वरीय चेतनासँग छ । तर गराउनेहरूको विचार मलिन देखियो । भावना संवेदनाविहीन देखियो, मुखमा राम बगलीमा छुरा देखियो। समाजमा भएका सबै नागरिकलाई सँगसँगै राखेर पढाउन नसक्नेलाई पनि गुरुको पदवी दिन मिल्छ ? कुन शास्त्रले परियारलाई अछूत र पौडेललाई जन्मजात शुद्ध घोषणा गरेको छ ? बरालले व्रतबन्ध गर्दै गर्दा विश्वकर्मा थर भएकालाई किन हामी गायत्री मन्त्र सुनाउँदैनौ ? यदि सापकोटाका पितृ हुन्छन् भने सार्कीका पनि पितृ होलान् नि ? दलितका पितृ नै हुँदैनन् ? के उनका पितृलाई तर्पण श्राद्ध दिनुपर्दैन ? आफ्नो समाजमा भएका दलित समुदायका व्यक्तिलाई धर्मसंस्कृतिमा सहभागी गराउन ७७ ओटै जिल्लामा रहेका मठ मन्दिरका पूजारीहरू, घर घरमा गएर पूजापाठ गराउनेहरू, विभिन्न सम्प्रदाय खोलेर बसेका मठाधीशहरूले कुनै भूमिका खेलेको देखिँदैन । जातीय विभेदजस्तो कुप्रथालाई विचारमा बोकेर हिँड्नेका खुट्टा ढोगेर हामीले कस्तो ज्ञान प्राप्त गर्छौं ? संस्कृतिमा नै विभेद मच्चाउने ? के मनु र शतरूपाका हामी सन्तान होइनौ ? हौँ भने कहिलेबाट कसको पालामा किन कसैलाई अछूत घोषणा गरियो ? आफ्नै समाजमा अमानवीय व्यवहार किन ?
कविसँग महाकाव्यका प्रमुख पात्र छेलाङी विश्वकर्माले गरेका प्रश्न गहकिला छन् उनका पुर्खा जेठी तरबार बनाउने ठुले कामी पृथ्वीनारायणका समकालीन थिए । उनले आफ्ना पितृलाई तर्पण गर्न नपाएको गुनासो गरेका छन्, भगवान्को मूर्ति बनाउनेले नै मन्दिरमा पस्न नपाउनु के न्याय हो ? भनेर सोधेका छन् ।
तपाईंले वत्सगोत्रोत्पन्नो$हं नवराज शर्मा$हं भन्दा मैले सानग गोत्रोत्पन्नो$हं भन्न किन नपाउने ? किन लुकाइयो मेरो गोत्र ? उनका हरेक प्रश्नले भावुक बनाउँछन् ।
शास्त्र भन्छ “आत्मवत् सर्वभूतेषु य: पश्यति स पण्डित: “सबैलाई आफूजस्तै सोच्ने मान्छे पण्डित हो ।
“उदारचरितानां तु बसुधैव कुटुम्बकम्” उदार चरित्र भएकाले संसारलाई नै कुटुम्ब देख्छ के दलित समुदायका लागि गाउँ यौटा कुटुम्ब जस्तो छ त ?
गीतामा श्रीकृष्ण भन्छन् “चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागश:”
वर्णको व्यवस्था गुण र कर्मको आधारमा गरिएको छ तर समाजमा केका आधारमा कसैलाई जन्मजात शुद्ध र उपल्लो त कसैलाई जन्मजात अशुद्ध र तल्लो घोषणा गरेको ? कुन शास्त्र वा वेदले पराजुली जन्मजात शुद्ध हो र पाँचकोटी अशुद्ध हो भनेर घोषणा गरेको छ ?
यी प्रश्नहरूको उत्तर यौटै छ । कान समाएर हामीले गरेको अभ्यास गलत हो भनेर क्षमा माग्नु र सामाजिक सुधारको कार्यमा अब लाग्छु भनेर प्रण गर्नु नै यी प्रश्नको उत्तरको प्रारम्भिक सीमा हो ।
धान काट्ने करौँती , रूख ढाल्ने बन्चरो, काठ चिर्ने आरा, ढुङ्गा फोर्ने घन, गरा खन्ने कोदाली, देउतालाई धूप हाल्न आगो टिप्ने चिम्टा , घाँस काट्ने हँसिया, माला झुन्डाउने किला, देउतालाई खुशी पार्न बजाउने घण्टी, पाञ्चायन देवता राख्ने तामाको थाली, धुप चढाउने धुपौरो, ताप्के, कसौँडी, डाडुपन्यु, सूर्यलाई अर्घ्य दिने चम्चा र अर्घौतो, शिवजीको त्रिशूल, विवाहमा बेहुलीको शिरमा सिन्दुर भरेपछि राखिने चन्द्रमा, गर गहना, तिलहरी, औँठी, देवीलाई चढाउने खड्ग, सिलाएका लुगा कपडा, बनाएका जुत्ता चप्पल- अहो ! नेपाली जीवनसँग यो महान् शिल्पी समुदाय कहाँ जोडिएको छैन ? संस्कृति होस् या संस्कार कहाँ छैन दलित समुदायको योगदान ? यसको उत्तर कसले दिन्छ ? समाज बनाउने समाज निर्माता समुदायलाई नै अछूत भनेर आजका दिनमा पनि उस्तै व्यवहार छ । प्रेम गरेको निहुँमा नवराजहरू मारिन्छन् । कोहि पानी छोएको निहुँमा धारामा कुटिन्छन्, कोही घरभित्र छिरे भनेर खाँबोमा बाँधिन्छन्, गुरुकुलमा दलित जनजातिले वेद पुराण पढ्न पाउनुपर्छ भन्नेहरू थुनिन्छन्, सामाजिक प्रशासनिक दमनमा पर्छन् । यी त देखिएका घटना हुन् । नदेखिएका समाचार नबनेका असङ्ख्य घटनाहरू दबाइएका छन् । विभेद विरुद्ध बोल्नेले पनि सामाजिक अन्याय खेप्नुपरेको उदाहरण प्रशस्तै छन् ।
आज दलितका मुद्दाहरूको व्यापार गरिरहेकाहरूलाई छेलाङीले भनेका छन्-
“हामीलाई बदल्न आउनुभएको हो भने हामीसँगै मिसिन जरुरी छ, हामीलाई लेख्न आउनुभएको हो भने हामीलाई पढ्न जरुरी छ, तर हाम्रो नाममा तपाईं बदलिने खेल हो भने भो पुग्यो परै बस्नोस अब थप बेचिन्न महोदय ।”
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्।
परोपकार पुण्याय पापाय परपीडनम् ।।
श्रीमद्भागवतमहापुराणमा व्यास लेख्छन् – परोपकार पुण्य हो अरूलाई दुख दिनु पाप हो ।
अब कसैलाई जन्मजात अछूत भनेर अलग्ग्याएर, तर्काएर, पन्छाएर उसलाई सामाजिक सम्मानबाट पर राखेर, आर्थिक मानसिक सामाजिक शारीरिक शोषण गर्नु के पाप होइन ? खोइ त धर्मगुरुहरूले एकादशीका सत्सङ्गमा जातीय विभेद गर्नुहुन्न भनेर सिकाएको ?
किन रामायणको कथा गर्दा शवरी चरित्रको विस्तृत व्याख्या गरेर समाजलाई परिवर्तन गराउन प्रेरणा न दिएको ?
धृति: क्षमा दमो$स्तेयं शौचमीन्द्रियनिग्रह:।
धीर्विद्यासत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।
धर्मका दस ओटा लक्षणमा जातीय छुवाछूत गर्नु धर्म हो भनेर भनिएको छैन अर्थात् छुवाछूत गर्नु पाप हो भन्ने स्पष्टीकरण दिनुपर्छजस्तो लाग्दैन ।
मानवता नै धर्म हो र धर्मो रक्षति रक्षित: यानी कि धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा अवश्य गर्छ भन्ने सन्देश पनि शास्त्रमा नै छ ।
समानता धर्म हो भेदभाव पाप हो ।
एक्काइसौँ शताब्दीबाट बाईस औँ शताब्दीमा प्रवेश गर्दै गरेको समाजमा पनि जातीय छुवाछूतजस्तो अन्धविश्वास र कुप्रथालाई संस्थागत गर्ने कानुनन अपराध हो । मानवताका हिसाबले अमानवीय कर्म हो र कसैलाई जन्मजात अछूत घोषणा गरेर उसमाथि मानसिक सामाजिक हिंसा गरिनु शास्त्रविरुद्ध हो ।
मनकामना र गोरखकालिका पुजारी त्यहीँ आरनमा आएथे खुकुरी अर्जाप्न ,साँध लाउन र आज मन्दिरमा बलि काट्ने हतियार तिनै छन् कि फेरिए ?
पण्डिता: समदर्शिन: यौटा पण्डित धर्मगुरु जहिले पनि सबैलाई समान व्यवहार गर्ने खालको हुनुपर्छ । गुरुकुलमा ब्राह्मण इतर जातिलाई पढ्न नदिनु संस्कार सिक्न नदिनु धर्म संस्कारमा सहभागी हुन नदिनु समाजलाई धर्म संस्कार सिकाउने शैक्षिक क्षेत्र गुरुकुलमा जातीय विभेद हुनु भनेको यो आफैँमा गम्भीर प्रश्न हो । कुनै मस्जिदमा मुसलमानलाई कुरान पढ्न नमाज पढ्न रोकिन्छ ? कुनै चर्चमा क्रिश्चियनलाई बाइबल नपढ भनिन्छ ? के कुनै गुम्बामा बौद्ध धर्मावलम्बीलाई कसैले बौद्ध ग्रन्थ पढ्न रोकेको छ ? भने किन गुरुकुलमा नेपाली मौलिक संस्कृतिको संरक्षणमा अमूल्य योगदान दिएका दलित समाजलाई गुरुकुलमा पढ्नबाट किन रोकेको ? यो कहाँको धर्म हो ?
गाउँ गाउँमा हुने पण्डितहरूलाई सोध्नुहोस् ,धर्मगुरुहरूलाई, कथित श्री श्री १००८ हरूलाई सोध्नुहोस ।
वेद र पुराणले कहाँनेर पौडेललाई जन्मजात शुद्ध र परियारलाई जन्मजात अछूत हुन्छ भनेको छ ? बरालले वेद पुराण पढ्दा किन विश्वकर्मालाई गुरुकुलमा भर्ना नलिने ? वशिष्ठको गुरुकुलमा जातीय विभेद थियो ?? राम क्षेत्रीय परिवारमा जन्मेका थिए तर चारै भाइले वशिष्ठको गुरुकुलमा पढे ? दासीपुत्र विदुरको थर के हो ? उनलाई कसरी पुराणमा विशिष्ट पात्रको स्थान दिइयो ? सुत को थिए ? के वेदव्यास मझिनिका पुत्र होइनन् ? के सान्दीपनिको आश्रममा पनि जातीय भेदभाव थियो ? कृष्णको जात के हो ? दलित बस्तीहरूमा गएर तपाईंहरू वेद पढ्नुहोस्, हाम्रो धर्ममा छुवाछूत छैन समाजले लादेको छुवाछूतको अन्त्य गरौँ भन्न धर्मगुरुहरू किन सक्नुहुन्न ? किन गुरुकुलमा दलित जनजातिलाई भर्ना गराउन खोज्दा अवरोध ? के दलितले न्वारन व्रतवन्ध विवाह मृत्यु संस्कार आदि गर्न नहुने हो ? के दलितलाई श्राद्ध गर्न नपर्ने हो ? के उनका पितृलाई तर्पण चाहिँदैन ? भने किन ब्राह्मण गुरुहरू दलित बस्तीमा गएर जनचेतना जगाउनुहुन्न ? किन दलितलाई जन्मजात अछूतको छाप लगाउने ? ती साना साना बालकको के दोष ? जुन बालकहरूलाई तपाईं पण्डितहरूले आचरण सिकाएर गुरुकुलमा अध्ययन गराउनुपर्ने, उनलाई नै किन गुरुकुलमा पढ्नबाट बन्देज ? सरकारको स्वामित्व, सरकारी शिक्षक, राहत शिक्षक र समाजको चन्दा सहयोगले चल्ने ठाउँमा जातीय भेदभाव गर्नु जायज हो ? के दलित जनजाति बिना मन्दिर बनेको छ ? दलित जनजातिको श्रम पसिना र सामाजिक सहयोग विना यस्ता सामाजिक संस्था चलेका छन् भने किन संस्कृत गुरुकुल र मन्दिरको समितिमा दलित समुदायलाई उपेक्षा गर्नुहुन्छ ?
गुरुकुलमा हुने जातीय विभेदले नेपालको संविधान शिक्षा ऐन र मानव अधिकारलाई चुनौती दिएको छ भने मित्रस्य चक्षुषा समीक्षामहे , सह नाववतुजस्ता वैदिक मान्यतालाई ठाडो चुनौती दिएको छ ।
रामायणका लेखक आदिकवी वाल्मीकि रत्नाकर डाँकु थिए शूद्रकुलका थिए । उनैले लेखेको रामायणको पाठ गरेर जीविकोपार्जन गर्दै जातीय विभेद गर्न मिल्छ ?
विश्वामित्र को जात के हो ?
स्वामी रामानुजाचार्यले सबै जातजातिलाई मन्त्र सुनाएको इतिहास के यहाँले बिर्सनुभयो ? भगवान श्रीरामले शबरीको घर गएर जुठो बएर खाएर दिएको समानताको सन्देशलाई किन धूमिल पार्नुभयो ?
भर्खरै दक्षिण भारतमा स्वामी रामानुजाचार्यको Statue of equality समानताको मूर्ति स्थापना गरिएको छ । के कुनै मान्छेलाई जन्मजात तल्लो होस् अछूत होस् तँ गुरुकुल पढ्न योग्य छैनस भनेर बहिष्कार गर्न मिल्छ ?
गुरुकुलमा हुने जातीय छुवाछूतको अनुसरण समाजले गरेको देखियो तसर्थ बारम्बारको निवेदनलाई लत्याएर यदि अझै पनि गुरुकुलमा जातीय छुवाछूत कायम राखेर दलित जनजाति वा अन्य कुनै हिन्दु धर्मावलम्बी नेपालीलाई गुरुकुलमा पढ्नबाट वञ्चित गरिएको खण्डमा सो कृत्यलाई धर्मविरोधी कर्म भनेर भन्ने कि नभन्ने ? २००७ सालको जयतु संस्कृतम् आन्दोलनको नेतृत्व गरेको तीनधारा छात्रावासमा बस्ने कथित ब्राह्मण समुदायका विद्यार्थीले साठीको दशकमा दलित जनजातिले पनि तीनधारा संस्कृत पाठशालामा बस्न पाउनुपर्छ भनेर संयुक्त विद्यार्थी आन्दोलन गरेका थिए । नेविसंघ,अखिल, अखिल क्रान्तिकारीका रूपमा विभक्त भैसकेको तीनधारा संस्कृत छात्रावास परिवारले विभेद विरुद्ध सहकार्य गरे, तालाबन्दी पनि गरे । पहिला कथित ब्राह्मणहरूलाई मात्र निशुल्क छात्रावासको व्यवस्था थियो त्यो आन्दोलनपछि यो संस्कृत छात्रावास सबै जातजातिका लागि खुल्यो र आज यहाँ सबै थरका विद्यार्थी बस्छन्, पढ्छन् । निशुल्क भोजनको व्यवस्था छ सबै जनासँगै बसेर खान्छन् खेल्छन् । तर यो आन्दोलनलाई दस्तावेजमा ढालिएन । विभेद विरुद्धको आन्दोलन सफल भए पनि राष्ट्रिय मिडियामा जति हुनुपर्थ्यो त्यति बहस भएन ।
महाकाव्यकार र स्तम्भकार दुवैको सम्बन्ध तीनधारा संस्कृत पाकशालासँग पनि जोडिएको छ । स्मरण रहोस् नेपाल संस्कृत विश्वविद्यालयमा दलित जनजाती र महिलालाई संस्कृत पढे बापत विशेष मासिक छात्रवृत्तिको व्यवस्था छ तर संस्कृत सिक्ने आधारस्थल गुरुकुलमा नै जातीय विभेद हुने हुनाले संस्कृत विश्वविद्यालयमा दलित जनजातीको उपस्थिति शून्यप्राय: छ । प्रतिवर्ष दलित जनजातिका नाममा आउने छात्रवृत्ति कता जान्छ ?
पूर्वीय दर्शन विभेदमुक्त दर्शन हो ।
कतै विभेदका कथा समेटिए पनि समग्रमा विभेद गर्नुहुन्न भनेर स्पष्ट पारिएको छ । विभेद गर्नेहरू कालान्तरमा पीडित भएका प्रमाण छन् ।
‘संस्कृतं संस्कृतेर्मूलम्’ संस्कृत नै मौलिक संस्कृतिको आधार यानी कि मूल हो। ‘वेदो$खिलो धर्ममूलम्’ वेद नै सबै धर्मको मूल आधार हो । उपरी लिखित दुई संस्कृत पद्यांश मिथक होइनन् सत्य हुन् । नमस्कार गर्नु, गुरु सम्मान, अतिथि पूजा, धर्तीप्रतिका कर्तव्यहरू, परिवारप्रतिको जिम्मेवारी समाजप्रतिको जिम्मेवारी, प्रकृतिप्रतिको जवाफदेहिता, आत्मानुशासन र यज्ञ यागादि कर्मकाण्डहरू अनेक जुन हाम्रा मौलिक संस्कृति छन् नि ती सबै संस्कृतमा लुकेका छन् । सबै धर्मको भावना वेदमा छ नपत्याए गीता, कुराण, बाइबल, बुद्धग्रन्थ, गुरुग्रन्थको समानता केलाउनोस् धेरै समानता पाइन्छन् ।
अग्नि महाकाव्य पनि वेद पुराणको सार बोकेको उच्च चेतना बोकेको ग्रन्थ हो । ग्रन्थको अध्ययनपछि पङ्क्तिकार पनि यो मान्यतामा अडिग छ कि संसारका धर्मग्रन्थहरूमा वेदको प्रत्यक्ष प्रभाव छ त्यति मात्र होइन मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बाको स्वच्छन्द भ्रमणबाट के थाहा भयो भने सबैको उच्च भागमा चुच्चो गजुर विविध रूपमा सजिएको छ, तस्मात् कारणात् सबै प्रकारका धार्मिकस्थलहरू आध्यात्मिक उर्जाका श्रोत हुन् । धार्मिक क्षेत्रमा बस्नेहरूले धर्मको गलत प्रयोग गरे अझ भनौँ अधर्म गरे । मन्दिर मस्जिद चर्च या गुम्बा दर्शनार्थीका लागि पुण्य कमाउने आधार होला तर पुजारीका मौलवी पादरीका लागि पापकुण्ड हुन सक्छ। जातीय, वर्गीय, भौगोलिक, साम्प्रदायिक, धार्मिक बन्धनबाट परे कतै चेतनाको शान्तलोकमा रमण गर्नु त्यो लोक जिउँदै जाने लोक हो । जुन प्रत्येक मानवभित्र अन्तर्निहित रहन्छ । संस्कृत त भाषा हो यसलाई उल्था गरेर पढे पुग्छ ज्ञान हुन्छ भन्नू र पलास्टिकका लुगा लगाएर धारामा थापिएर नुहाएर शीतल हुन्छ सफा हुन्छ भन्नू उस्तै उस्तै हो । करोडौँ शब्द, असङ्ख्य ग्रन्थ, हजारौँ मन्त्र, लाखौँ श्लोक यी सबै उल्था गरेर पढ्नुभन्दा संस्कृत भाषा पढेर सिकेर यस सागरमा हाम फालेर पौडिनुको मज्जा बेग्लै हुने छ । यो पुरातन कालको सभ्यता हो जसको कुनै एक्स्पायर डेट नै छैन । यो कहिले नरोकिने गाडी हो । कुरीतिको चिरफार गर्न पनि यसको पूर्ण अध्ययन गर्न जरुरी छ ।
काले सार्कीको कथा र कहाँ छन् तिनका सन्तान ? गोर्खाली फौजलाई आधा रातमा डुङ्गा तार्ने जलेवा माझी इतिहासको कुन कुनामा छन् ? र कहाँ छन् तिनका सन्तान ?
प्रश्नहरूले उत्तर नपाएको पनि सत्य हो, सशक्त प्रश्नै न उठेको पनि सत्य हो । उठेको मसिनो स्वर बलात् दबाइएको पनि सत्य हो र धेरै पटक प्रश्न पनि शासकको र उत्तर पनि शासककै भएको पनि सत्य हो ।
वेद भनेको नै ज्ञान हो त्यो सबैका लागि अपरिहार्य छ । विभेदको जरो हल्लाउन पनि वेद उपनिषद् पढ्नैपर्छ । महाकाव्यमा शुरुदेखि अन्त्यसम्म पूर्वीय दर्शन र वेदादी शास्त्रको प्रभाव देखिन्छ । सशस्त्र द्वन्द्वकालका समयमा संस्कृत शिक्षा नैतिक शिक्षा हट्यो । संस्कृत शिक्षालाई जलाउने । इतिहास मेटाउने कार्य भयो । जुन आन्दोलनको दाग हो त्यसलाई सत्ताधारीहरूले सच्याउनुपर्छ । विदेशीका कुरा सिक्नै नहुने त होइन तर हाम्रो पाठ्यक्रममा अनावश्यक अधिक विदेशी हस्तक्षेप भयो र केही समय नेपालबाट संस्कृत कता कता हराएजस्तो भयो । अहिले आएर संस्कृत शिक्षा फाट्टफुट्ट संस्कृत मा वि बाहेक गुरुकुलहरूमा सुरक्षित छ । अहिलेका चल्तिका गुरुकुलमा दिइने शिक्षामा पनि विभेद छ ।
वैदिककालका गुरुकुलहरूमा संस्कृत वेद पुराणका साथ शास्त्र र शस्त्र कला सीप ज्ञान विज्ञान धर्तीदेखि अन्तरिक्षसम्म लोक परलोकका कुरा सबै सिकाइन्थ्यो तर अहिले आएर गुरुकुलहरू सिमित किताबहरू मात्र पढाउने थलोला रूपमा विकसित छन् । यस्तो गर्नु पनि विभेद हो ज्ञान त विस्तारित सिकाउनुपर्छ । गुरुकुलको पाठ्यक्रममा साइन्स यानी कि विज्ञान नहुनाले संस्कृत क्षेत्रमा अध्ययन गर्नेहरू साइन्स, कमर्स, प्राविधिक एवं अन्य नवीन सङ्कायमा जानबाट वञ्चित हुन्छन् । वेद पुराण, संस्कृत भाषा,आयुर्वेद, योगलगायत सकल पूर्वीय दर्शन गुरुकुलमा पढाइन्छन् भने अन्य विषय तर्फ अङ्ग्रेजी, म्याथमेटिक्स, सामाजिकजस्ता विषयहरू छन् तर महतत्त्वपूर्ण विषय साइन्स यानी कि विज्ञान जुन अहिलेको युगमा अपरिहार्य छ त्यो विषय संस्कृत गुरुकुलको पाठ्यक्रममा छैन । यदि विज्ञान विषय पनि समावेश भयो भने आजको युगमा सबैलाई आफ्ना बालबालिकालाई दोहोरो शिक्षा पढाउन मन छ र सबै जातजाति पढ्न आउँछन् भनेर नै विज्ञान विषय नराखिएको पो हो कि ? विभेद त्यहाँ पनि छ कि ?
नेपाल संस्कृत विश्वविद्यालयमा पढाइ हुने आयुर्वेद विषय पढ्नसमेत सर्टिफिकेटमा विज्ञान हुन जरुरी छ केही समय यता केही गुरुकुलहरूले संस्कृत माविको पाट्यक्रम लागू गरेर विज्ञान सहित वेद पुराण पढाउन थालेका छन्, उदाहरणका रूपमा चैतन्य कृष्णद्वारा स्याङ्जाको मालुङ्गामा सञ्चालन गरेको कालीगण्डकी ज्ञान विज्ञान संस्कृत गुरुकुललाई लिन सकिन्छ । यस किसिमको अर्को गुरुकुल पङ्क्तिकारले भेटेको छैन कतै हुन पनि सक्छन् । विभिन्न सम्प्रदायले साम्प्रदायिक प्रतिस्पर्धायुक्त गुरुकुल चलाए जहाँ ज्ञानभन्दा पनि परम्परा वस्त्र टीकाको भूमिकालाई महत्त्वपूर्ण मानिँदै आइयो । मान्छेहरू विशेषज्ञ भए तर विद्वान् हुन सकेनन्, विद्यावारिधिको प्रमाणपत्र लिनु र विद्वान् हुनुमा धेरै भिन्नता छ । भगत सर्वजीत विश्वकर्माले संस्कृतमा आचार्य गरेर तत्कालीन समयमा धार्मिक विद्रोह नगरेको भए ? पूर्वका काले राईले वेदान्त अध्ययन नगरेको भए ? उनले वेदसहित सनातन धर्ममा विषयमा गहिरो सोध नगरिदिएको भए ? थापा थरका योगी नरहरिनाथ, जगमान गुरुङलगायतका अन्य उदाहरण नभएको भए नेपालमा प्रचलित वैदिक संस्कृतिको एउटा पाटो अधुरै रहन्थ्यो ।
छेलाङी भन्छन्, “मन्दिरमा जाँदा आशिर्वाद पाउनुपर्ने तर अपमान प्राप्त हुन्छ त्यो पनि लेखिदिनु, आरनबाट फर्केपछि सुनपानीले चोखिने चेतनाले कसरी बुझ्छ आरनको इतिहास र मान्छेको मर्यादा ? कसरी गर्छ सीप र सामर्थ्यलाई सम्मान ? तपाईंको दृष्टिकोणमै खोट छ महोदय ।”
हो, हाम्रो दृष्टिकोणमै खोट छ तर यसलाई सुधार्न सकिन्छ मात्र अहङ्कार त्यागे पुग्छ ।
समाज बदल्छु भन्ने धेरैको बास उठेको छ बस्तीबाट ! परिवार छुटेको छ परिवारबाट ! र आफैँ छुटेको छ र आफैँबाट एक्लैएक्लै ! सक्नुहुन्छ विचारको लडाइँमा अविचलित उभिन ??
कता कता दर्शनको गहिरो ज्ञान नहुनु पनि विभेदको कारण हो कि जस्तो लाग्छ ।
जुत्ता सिएको कपडा सिएको
थिची खलाँती पसिना पिएको।
गल्ती भयो के भन भद्र मान्छे
सगर्व आफ्नै श्रमले जिएको ।।
बागलुङका श्रीधराचार्य पौडेल, डा. रामानन्द गिरी, परमानन्द सरस्वतीलगायत केही अपवाद बाहेक प्रायः १००८ स्वामी, महाराज, जगद्गुरु, मण्डलेश्वर आदि विशेषण धारण गर्नेहरूमा नै संस्कृत भाषा, वेद पुराण, व्याकरण, ज्योतिष आदिको गहन ज्ञानको अभाव देखिन्छ। अहिले त धर्मगुरुहरू निर्माण व्यवसायी धेरै, ज्ञानदाता कम भएका छन् । धर्मगुरुहरूमा नै गहन ज्ञानको अभावमा समाजले जुन उच्च दिशा पाउन पर्ने हो त्यो पाउन असफल भयो तैपनि धेर थोर जे जति काम भएका छन् त्यसका लागि धन्यवाद नै भन्नुपर्छ । वर्तमानमा देशमा शासन गर्ने विभिन्न पोलिटिकल पार्टीका नाराहरूजस्तै जय नेपाल लालसलाम आदि । चिह्नमा रुख हँसिया हथौडा भएजस्तै समाजमा एकप्रकारले शासन गरिरहेका सम्प्रदायहरूको पनि आफ्नै नारा छ कसैसँग शिवको नाम छ त कसैसँग नारायणको नाम छ तर शिव र नारायणको चेतनासँग उनीहरूको कुनै साइनो छैन । कोही वैष्णव पार्टी त कतै शैव पार्टी यो पुरानो समाज सञ्चालनको पद्धति हो, आन्तरिक विमतिका कारण फरक फरक सम्प्रदायमा बसेर आध्यात्मिक सामाजिक साधना गरे यसमा धेरै अन्यथा मान्नुपर्ने पनि केही छैन, मात्र वेद गीताको सन्देशलाई साम्प्रदायिक व्याख्या गरेर समाजलाई ज्ञानको मार्गबाट भट्काउन भने हुँदैन । जातीय छुवाछूतलाई प्रश्रय दिने किसिमका कुतर्क गर्नुहुँदैन।
शिल्पीहरू हौँ श्रमले अभिन्न
थरीथरी छौँ थर गोत्र भिन्न ।
क्षमा रहोस् धैर्य गरेर सुन्नुस्
दुर्वाच्य बोली अब बोल्न दिन्न ।।
महाकाव्यका पान जति जति पल्टायो उति उति कुराहरू खेल्न थाल्छन्, इतिहास आएर पौँठाजोरी खेल्न थालिहाल्छ । विभेदको कुरा गर्दा गुरुकुलमा स्वयं ब्राह्मणहरूले भोग्दै आएको शैक्षिक विभेदको पनि चर्चा गर्नैपर्छ । गुरुकुलमा अध्ययनरत विद्यार्थीको फराकिलो भविष्यको चिन्तन पाइएन । फलस्वरूप संस्कृतमा शास्त्री आचार्य विद्यावारिधि पश्चात् पनि कथा प्रवचन, श्राद्ध, एकाह, षोडश संस्कार गर्दै मात्र हिँड्नुपर्ने व्यापक बाध्यता आइलाग्यो । त्यसमाथिको राजनैतिक खिचातानीले संस्कृत भाषामा साधारणतया शुद्ध बोल्न लेख्नसमेत नसक्नेहरू नेपाल संस्कृत विश्वविद्यालयका आंशिक, करार, उपप्राध्यापक, प्राध्यापक अझ डाक्टर पनि नामको अगाडि लेखे । ‘एकां लज्जां परित्यज्य सर्वत्र विजयी भवेत्’ कहिलेकाहीँ प्रश्न उठ्छ त्यस किसिमका प्राध्यापकले के पढाउँदा हुन् ? र तिनका विद्यार्थी कस्ता होलान् ? यस मानेमा नेपाल संस्कृत विश्वविद्यालय विद्वान् रहित छ भन्न खोजेको पनि होइन, गुरुकुलीय क्षेत्रबाट गएकाहरूले यसको साखा जोगाइरहेका छन् । श्रीधराचार्य पौडेलले बाग्लुङमा २०४१/४२ मा स्थापना गरेको श्रीमुक्तिनाथ संस्कृत वेद विद्याश्रम, डा. स्वामी रामानन्द गिरीले देवघाटमा स्थापना गरेको महेश संस्कृत गुरुकुल, त्यस्तै स्वामी परमानन्द सरस्वतीले स्थापना गरेको हरिहर संस्कृत विद्यापीठका उत्पादनले संस्कृत विश्वविद्यालयको संस्कृत क्षेत्र धानेको छ भन्दा फरक पर्दैन । यी तीन जना महापुरुषको शिष्य परम्पराले नै संस्कृत विश्वविद्यालयको र समग्र नेपाली संस्कृत जगत्को लाज राखेको छ ।
अहिले धेरै गुरुकुलहरू संस्कृत विश्वविद्यालयसँग अनुबन्धित छन्, कोही हुने क्रममा छन्, अन्यथा नेपाल संस्कृत विश्वविद्यालयका रैथाने आङ्गिक क्याम्पसहरू वाल्मीकि क्याम्पस, विन्दुवासिनी क्याम्पस, वि पि संस्कृत विद्यापीठ, रुरुको संस्कृत क्याम्पस , मटिहानी आदिमा रहेका पुराना संस्थाहरूको संस्कृत शैक्षिक स्तर अत्यन्त दयनीय छ । किताबी ज्ञान सबथोक होइन रहेछ। संस्कृतका विद्वान् मानिएकाहरू, स्वयंलाई स्वामीजी श्री श्री १००८ भन्न रुचाउनेहरूले समाजमा व्याप्त छुवाछूत भेदभाव अज्ञानताको पाटोलाई सुधार्लान् भन्नुको साटो यस्ता कुरालाई प्रश्रय दिने किसिमका भए ।
यात्रा यताको कहिले उताको
हुँ वीर सन्तान उनै पिताको।
म प्वाक्क बोलूँ शुभ शब्द आओस्
विभेद सप्पै यो गलेर जाओस् ।।
साइन्स विषयको गुरुत्व बुझ्ने गुरुहरू भएनन् संस्कृत शिक्षालाई टीका र धोतीमा मात्र सिमित बनाए यसलाई भेषको शिक्षा बनाउन तत्पर देखिए ज्ञानको पाटो कता हरायो हरायो । सर्टिफिकेटमा साइन्स भएन भने विविध क्षेत्रमा जानबाट संस्कृतका विद्यार्थी वञ्चित हुनेछन् । त्यसैले साइन्स अनिवार्य गर्नुपर्छ भन्ने आवाजलाई वर्षौंदेखि दबाउँदै आइएको छ । किताबी शिक्षा सबथोक होइन रहेछ । पढेपछि फेरि आत्मशिक्षाको विश्वविद्यालयमा भर्ना हुनुपर्छ । चेतनामा एम फिल र ज्ञानमा पी एच डी गर्नुपर्छ अनि मुक्त भएर डिलिट हुनुपर्छ । पङ्क्तिकारले त गुरुकुलमा साइन्स पढ्न पाएन अब आउने पुस्ताले भने गुरुकुलमा ढुक्कले वेद र विज्ञानसँगै पढ्न पाओस् । यौटै गुरुकुलमा पढेका भगवान् श्रीकृष्ण नेता तथा सुदामा विद्वान गुरु भए । क्षात्र कुलमा जन्मिएर भगवान् श्रीरामले वशिष्ठको गुरुकुलमा पढेर राजा भए ।
प्राचीन गुरुकुलमा विभेद गरेको पाइँदैन विभेद गर्नेहरू कालान्तरमा दण्डित भएका छन्, जस्तै एकलव्यलाई औँठा काटेर गुरुदक्षिणा माग्ने गुरु द्रोणाचार्य आफ्नै शिष्य अर्जुनका हातबाट मारिए तर रुमानी उमेरमा जति हाने पनि बाणको निशाना निर्णायक युद्धअघि आफ्नै औँला चढाएर अज्ञात गुरुभक्तिमा निरीह बाँच्ने एकलव्यहरूको प्रशस्तिमा के अर्थ छ रूपान्तरणको ?
सधैँ सधैँ शासक उच्च बन्ने
बाँकी सबै शासित तुच्छ भन्ने।
त्यस्मै बगेको भ्रमको समाज
किमार्थ स्वीकार हुँदैन आज ।।
प्राचीन गुरुकुलमा भेदभाव गरेको पाइँदैन त्यहाँ सबै वर्णका हुन्थे भन्ने प्रमाण पुराणहरूमा छन् । हामीले कहिले होला सबै जात जातिलाई राखेर वेद संस्कृत र संस्कार सिकाउने ? कथित शास्त्र पढेका हौँ भन्नेहरूलाइ म्लेच्छ देशका मान्छे भन्ने खैरेहरूले उनीहरूलाई नै प्रशिक्षण दिन थालिसके। उनै खैरेहरूलाई गुरु बनाउने मात्र होइन उनकैमा पूजापाठ गर्ने रिसर्च गर्ने आदि क्षमतानुसार जागिर खान थालिसके। फेरि किन हाम्रै नेपाली समाजका मगर गुरुङ परियार विक क्षेत्री आदि कथित ब्राह्मणेतर समुदायलाई हामीले संस्कृत अन्तर्गत वेदादि नपढाउने ? खोइ यसमा पहल गरेको ? रोक्नुको कारण के ? गुरुकुलमा खेलकूद अस्त्र शस्त्र सबै पढाइन्थ्यो । खोइ त हामी ? खोइ सीप सिकाएको ? के पुजारी मात्र उत्पादन गर्ने भनेर पुर्खाले गुरुकुल चलाएका हुन् ? तर त्यसो भनेर पुर्खाको कमजोरी केलाइरहँदा आज यो स्थितिमा हाम्रो पुस्तालाई ज्ञानको संरक्षणमा उभिने बनाएको तिनै धोती टीका चन्दन लगाएकाहरूले हो । प्रतिकूल अवस्थामा विविध कर्मकाण्डका माध्यमबाट नै वेद व्याकरण दर्शन आदि सकलशास्त्रलाई जोगाउने काम पनि उनै पुर्खाहरूले गरेका हुन् । उनले जे जति गरे त्यो वन्दनीय छ, उनका कमी कमजोरीलाई अहिलेको पुस्ताले सच्याउने काम भने अवश्य गर्नुपर्ने हुन्छ ।
हामीसँग आज सबै पूर्वाधार तयार छन्, अवस्था अनुकूल बनेर आएको छ । अब देवघाटमा धोती लगाएर अइउण् आदि संस्कृतका सूत्र रट्दै गरेको बच्चालाई मन्त्री, प्रधानमन्त्री ,राष्ट्रपति, राजदूत डाक्टर इन्जिनियर क्रिकेटर, कलाकार, पत्रकार वा अन्य विविध क्षेत्रमा पुर्याउने सपना देख्नुपर्छ। हामीले कस्तो जनमानस उत्पादन गर्ने सपना देखेका छौँ ? गुरुकुल पाठ्यक्रममा यदि विज्ञान छैन भने त्यो पाठ्यक्रम पढेर विद्यार्थीलाई अधुरो शिक्षा पढाएर समय खेर फालेर काम छैन ‘ज्ञानंविज्ञानसहितम्’ अब वेद र विज्ञान एकै ठाउँमा ल्याउनुपर्छ यो उत्कृष्ट हुनेछ वेदको मन्त्र रट्नमा तल्लीन बटुकहरूका लागि विज्ञानका सूत्रहरू सामान्य लाग्नेछन् राम्रो अङ्क ल्याएर देश टप्नेछन् । यसले समुदाय र जनमानसमा पनि गुरुकुल शिक्षाप्रति आकर्षण बढ्नेछ र भोलि सबैले यसको महत्त्व बुझ्नेछन् कि संस्कृत चाहिने रहेछ भनेर । यसरी सबै नेपालीका छोराछोरीले संस्कृत बुझ्न पाए भने कसैले विदेशमा श्रमिक भएर जानुपर्ने छैन कोही योगगुरु, ज्योतिष, प्रवक्ता, ट्रेनर, वास्तुविद्, आयुर्वेदिक वैद्य, कोही भाषाविद्, संस्कृत भाषा प्रशिक्षक आदि विविध हुनेछन् विज्ञान मिसियो भने त कुन क्षेत्र बाँकी रहला र ? समय आएको छ,मुट्ठी फुकाउनु पर्ने बेला आएको छ अब ढिला गर्नुहुँदैन। गार्गी, मैत्रेयी, अरुन्धतीको परम्परालाई जोगाउन अब गुरुकुलीय शिक्षामा महिला सहभागिता पनि अनिवार्य भैसकेको छ त्यसका लागि कन्या गुरुकुलहरू पनि अगाडि आएका छन् ।अहिले पाश्चात्य देशका आधुनिक युवतीहरू वेदका मन्त्र, श्लोक, संस्कृत भाषा सिकिरहेको बेलामा हामीले हाम्रो स्त्रीशक्तिलाई पनि यस क्षेत्रमा सुविधा दिन आवश्यक छ । या त गुरुकुलको पाठ्यक्रममा विज्ञानलाई अनिवार्य गरौँ नत्र संस्कृत मा वि को पाठ्यक्रममा पढाउन थालौँ ।
परम्पराका सब जीर्ण जामा
परम्परा सर्छ परम्परामा ।
परम्परा तोड परम्पराको
बालेर आगो युगचेतनाको ।
संस्कृतमा पी एच डी गरेका पनि उही कथा सुनाउने एकाहमा पाठ गर्ने श्राद्ध गराउने काममै मात्र रमाइरहने हो भने, किन गर्नु पर्यो शास्त्री आचार्य ? यसको अर्थ कर्मकाण्ड नै नगर्ने भनेको पनि होइन । गुरुकुल पढेका विद्यार्थीहरू पनि क्रिकेटर, डक्टर, इन्जिनियर, पाइलट, फार्मेसिस्ट आदि विविध बन्न पाउनुपर्छ। उनीहरूले पार्ट टाइम चिना हेरून्, विवाह, व्रतबन्धादि षोडश संस्कार गराउन् यस्तो हेर्दा छुट्टै आनन्द हुनेछ । शिक्षा मन्त्रालयले गुरुकुल शिक्षाका लागि छुट्टै समिति बनाएको छ । त्यहाँ समितिमा भएका विद्वान् गुरुहरूलाई ध्यानाकर्षण गराउने काम सबै पक्षबाट हुन जरुरी छ। नीति निर्माण तहमा, संसदमा, कूटनैतिक नियोगहरूमा, देशको राजकीय क्षेत्रमा पनि मान्छे पठाएर अर्थ छैन।
ब्युँझेर मान्छे जब तथ्य चिन्छ
सारा समस्या छिन मै सकिन्छ
विनम्रताको विधिशास्त्र हेर
परम्पराको थुतुनो नहेर ।।
चेतनाको दियोले धपक्क बलेको व्यक्तित्व जो सबै किसिमका भेदभावजस्तै धार्मिक जातीय, राजनैतिक, भौगोलिक, साम्प्रदायिक विभेदबाट परै होस् । सबैलाई समान माया गरोस् त्यस्तो व्यक्तित्वको निर्माण गरेर नीति निर्माण तहमा पुर्याउन पनि जरुरी छ । किताबको पढाइ र विश्वविद्यालयको पढाइ पूरा गरेपछि मान्छे केवल पेट पाल्न सक्षम हुन्छ त्यसैले तदनन्तर चेतनाको विश्वविद्यालयमा भर्ना हुनुपर्छ, जहाँ न बिल्डिङ हुन्छन् , न पढाउने हुन्छन् ,न त्यसको कुनै समय हुन्छ त्यो छुट्टै कोर्स हो, त्यसलाई चिन्तनको माध्यमबाट अङ्गाल्न सकिन्छ । संस्कृत पढेकाहरूले आफ्ना छोराछोरीलाई संस्कृत पढाएको कम देखिन्छ त्यो पनि गुरुकुलमा शिक्षामा विज्ञान नभएर हो । गुरुकुलीय शिक्षा पद्धतिमा केही सुधार भए मात्रै पनि हाम्रो शैक्षिक गुणस्तर उकासिने छ।
अग्नि महाकाव्य पढ्दै गर्दा यसमा आर्टिकल मात्र लेखेर यसले न्याय पाउँदैन भविष्यमा यो ग्रन्थ स्नातकोत्तर र विद्यावारिधि गर्नेहरूका लागि शोधार्थ महत्त्वपूर्ण विषय हुन सक्छ ।
दलित समुदायबाट डाक्टर, इञ्जिनियर, प्रशासक, नेता, व्यवसायी सबै हुँदा पनि समुदायप्रतिको सोचमा छुवाछूत यद्यपि जारी छ । दलित समुदायबाट कोही वेद पुराणको व्याख्या गर्ने धर्मगुरु भएन, किनकि यो विषय हामीजस्ता कथित ब्राह्मणले भन्दा पनि अझै दलित समुदायको कसैले टुँडिखेलमा भागवत भनेर क्रान्ति गरिदिए हुन्थ्यो।संस्कृतमा फरर बोलेर कथित धर्मगुरुहरू संग शास्त्रार्थ गरिदिए हुन्थ्यो।
चेतनाको ज्वाला फ्याँकिरहेको अग्निको अन्त:स्करणको आवाज त्यो पनि हो कि जस्तो लाग्छ ।
छोऊ नछोऊ छुनु अर्थ हैन
पापिष्ट त्यो हात पवित्र छैन।
भेटी लुटी मन्दिरकै अगाडी
पुजारीको चन्दन चाहिँदैन।
महाकाव्य पढ्दै जाँदा उफ्री उफ्री आउने गाउँकै कथा हुन् । शहर दोस्रो रोजाइ हो । पौने बाईस औँ शताब्दीमा आइपुग्दा पनि टोल टोलमा जातीय छुवाछूत अद्यापि जीवित छ । गाउँ गाउँमा आज पनि दलित समुदाय अमानवीय जीवन यापन गर्न बाध्य छन् । हाम्रो पार्टीले जिते छुवाछूत मुक्त समाज निर्माणार्थ हामी यो यो काम गर्ने छौँ भनेर कुनै पार्टीको अवधारणा सुन्न पाइएन कुनै योजना बनाएको देखिएन ।
छुवाछूतको अन्त्य गर्न धार्मिक समाजलाई सरकारले आदेश दिने । देशभर रहेका विभिन्न मठ मन्दिरमा गुरुकुलहरूको समितिमा दलित उपस्थिति अनिवार्य गर्ने । गुरुकुलहरूमा दलित जनजातिलगायतका उपेक्षित समुदायलाई पनि संस्कृत वेद पुराण पढ्न दिने ।
विभिन्न पण्डित धर्मगुरु कथित बाबा स्वामीहरूलाई आफ्नो प्रवचनमा छुवाछूत विरुद्ध बोल्न निर्देशन गर्नेलगायतका अवधारणा बनाउन के कुनै दल तयार छन् ?
व्यास चौकामा बसेर जातीय छुवाछूतको विरोध गरेकै कारण पण्डित नारायण पोखरेलले गोली खाएर मर्नुपर्यो । छुवाछूतको विरोध गर्ने केही पण्डितहरू सामाजिक बहिष्कारको शिकार बनेका छन् र पेशा परिवर्तन गर्न बाध्य भएका छन् ।अझै कतिले मर्नुपर्ने हो ?
जसले बनायो हतियार धार
त्यै धार कुल्ची उसमै प्रहार।
दागा धरे झैँ किन तुच्छ बोली
बसूँ म आफू कसरी नबोली।।
धर्मगुरुहरूलाई सोध्नु कि पृथ्वीनारायणको तरवार, खुकुरी, शिवको डमरु र त्रिशूल, कृष्णको सुदर्शन चक्र, बन्दुक भिन्दिपाल, परशु ,असी,कट्टार छुरिका, सर्पास्त्र, गरुडास्त्र, कसले बनायो ? कसले बनायो वैकुण्ठ ? कसले बनायो देउताको स्वर्ग ? कसले बनायो रावणको लङ्का ? कसले बनायो कृष्णको द्वारिका ? कसले बनायो काठमाडौँमा कलाको बेजोड सभ्यता ? भीमकाय बुढानिलकण्ठ, स्वयम्भूको चैत्य, दक्षिणकालीको मुहार, हनुमान ढोका, चाँगु इचङ्गु विशङ्खु र शेष नारायण कसले बनाएको हो ?
चन्द्र ,जल, अशोक र सूर्य विनायकको मूर्ति कसले बनाइदियो ?
पण्डितहरूले नै पुराणमा भनेको सुनेको छु भगवान् विश्वकर्माका पाँच सन्तान मनु, मय, त्वष्टा, शिल्पी र दैवज्ञ ।
मनुले ऋषि अंगिराकी छोरी संग बिहे गरे र फलामको शिल्पकला अंगाले ।मयले ऋषि पराशरकी छोरी सौम्यासँग बिहे गरे काष्ठकलालाई अङ्गाले । त्वष्टाले कौशिक ऋषिकी पुत्री जयन्तीसँग बिहे गरे र तामाको शिल्पलाई अङ्गाले ।
शिल्पीले भृगु ऋषिकी छोरी करुणासँग बिहे गरे र मूर्तिकला अङ्गाले । दैवज्ञले ऋषि जैमिनीकी छोरी चन्दृकासँग बिहे गरे स्वर्णकलालाई अङ्गाले । बूढा विश्वकर्माका पाँच पुत्र ,पाँच कर्म, त्यो ऋषि परम्परा त्यो शिल्प परम्परा त्यो कला परम्परा । यो ऋषि परम्पराको महान समुदायलाई कहाँ, किन र के का लागि अछूत घोषणा गरियो ?
उत्तर छ कुनै धर्मगुरु सँग ?
उक्लेर आफ्नो दिलको उकालो
खुर्केर आफ्नै दिलभित्र कालो।
जो गर्छ आफ्नै दिलभित्र क्रान्ति
त्य क्रान्ति हो शाश्वत पूर्णक्रान्ति ।।
म प्रायः मन्दिरमा रहने पुजारीलाई कर्मकाण्ड कथा गर्दै हिँड्ने पण्डितलाई भेट्दा संस्कृत भाषामा वार्तालाप गर्न खोज्छु पुजारीहरू पण्डितहरू ,श्री श्री १००८ हरू अक्कबक्क पर्छन् संस्कृत नै जान्दैनन् । जातीय छुवाछूतको अन्त्य गर्ने हो भने पनि शास्त्रको अध्ययन जरुरी छ किनकि वेद पुराणको मर्म बुझ्न संस्कृत बुझ्न जरुरी छ, जसले पण्डित धर्मगुरुहरूलाई छुवाछूत विरुद्ध बोल्न प्रेरणा मिल्नेछ । यथार्थ ज्ञानको अभावमा उनीहरूको चेतनास्तर विकसित नहुँदा उनीहरू विभेद गरिरहेका छन्, कतै जातीय अहङ्कार पनि छुवाछूतको कारण बनेको छ ।
दलितले संस्कृत पढेर काम छैन बाहुन बाहेक कोही पुजारी छैन, भनेर भ्रम फिँजाइएको छ । हुन त संस्कृत पढेर केवल पुजारी भैन्छ भन्ने भ्रम चिर्न पनि जरुरी छ । संस्कृत पढेर जुन सुकै क्षेत्रमा जान सकिन्छ पुजारी बाबा कथावाचक धामी झाँक्री पण्डितहरूको पनि पेशा व्यवसाय व्यापक छ । म पुजारी मात्र बन्छु, बाबा स्वामी मात्र बन्छु, कुनै मन्दिरमा महन्त भएर बस्छु भन्न पनि पाइन्छ, कम स्कोप छैन । हुन त पूजा पाठ गर्नु नराम्रो पनि होइन तर यसलाई आवरण बनाएर भित्रभित्रै असंवैधानिक, असांस्कृतिक, अधार्मिक, अमानवीय, गैरकानुनी जातीय छुवाछूतजस्तो आपराधिक क्रियाकलाप गर्नु ठिक होइन । मन्दिर गुरुकुलमा विभेद रहेसम्म समाजमा छुवाछूत र विभेद भैरहने छ । अग्नि महाकाव्यले छुवाछूत विरुद्ध सन्देश दिएको छ विभिन्न धार्मिक संस्थामा गएर सत्यको पक्षमा बोल्न प्रेरणा प्रदान गरेको छ । विभिन्न धर्मगुरुहरूसँग प्रश्न गर्ने प्रश्नहरूको चाङ दिएको छ । हामी साधारण नागरिक कानुन होइनौ, राज्य होइनौ न त नीतिनिर्माता नै हौँ, हामी कम से कम विशुद्ध सन्देश फैलाउन सक्छौँ भन्ने मार्ग पनि देखाएको छ । जातीय विभेद विरुद्ध विस्तृत रूपमा लेखिएको यो सायद पहिलो नेपाली महाकाव्य हो । हुन त यो महाकाव्यलाई दर्जनभन्दा बढी एङ्गलबाट व्याख्या गर्न सकिन्छ तर यो स्तम्भमा विशेष गरेर धार्मिक सांस्कृतिक सामाजिक शैक्षिक क्षेत्रमा कसरी विभेद गरिन्छ भन्ने तथ्यलाई उजागर गरिएको छ ।
दलित आयोग, दलितसँग सम्बन्धित विभिन्न संघ संस्थाहरू र दलित अधिकारकर्मीहरूलाई दलित आन्दोलनको महत्त्वपूर्ण पथप्रदर्शकको काम यो महाकाव्यले गरेको छ । विश्वकर्माको इतिहास र गोत्रसम्म छर्लङ्ग पारेर छुवाछूतको अन्त्य गर्ने आन्दोलनमा महत्त्वपूर्ण योगदान दिएको छ । वैदिक धर्म संस्कृति अङ्गालेर नै छुवाछूतको विरुद्धमा लड्न, धर्म संस्कृतिको क्षेत्रमा ससम्मान दलित सहभागिता हो, दलित समुदायलाई आर्थिक राजनैतिकसँगै धार्मिक अधिकार पनि दिनुपर्छ भन्ने सन्देश दिएको छ । महाकाव्यकार लम्साल तीनधारा संस्कृत पाकशालामा बसेर रानीपोखरी संस्कृत मा वि र वाल्मीकि संस्कृत विद्यापीठका पूर्व विद्यार्थी हुन् । उनी वेद पुराणको यथार्थ व्याख्या गर्नसक्ने पण्डित पनि हुन् । उनी भागवत् महापुराण सप्ताह भन्न सक्ने वाचक हुन् । संसारकै पुरातन शास्त्र वेदले कर्मको आधारमा मान्छेको वर्ण विभाजन गर्छ । मध्यकालीन भेदभावकारी सोचलाई स्विकार्दैन अनि वैज्ञानिकतालाई अङ्गिकार गर्छ । त्यसलै वेद सबैभन्दा उँचो स्थानमा छ । वैदिक कालकै दृष्टान्त हेर्ने हो भने, वेदका रचयिता व्यास स्वयं ब्राह्मण परिवारका थिएनन् । उनी कर्मले व्राह्मण बनेका थिए । नारदलाई वेश्याका पुत्र मानिन्छ । अहिलेको समय हुन्थ्यो भने, नारद के सबैका पूज्य बन्न सम्भव थिए ? कल्पना गर्दा पनि आङ जिरिङ्ग हुन्छ । यी यावत् प्रसङ्गबाट पुष्टि हुन्छ, ‘वेदले कसैलाई उचनिच देख्दैन । कर्मको आधारमा उसको स्थान निर्धारण हुन्छ ।’ वेदलाई आधार मान्ने हिन्दु समाजमा यही व्यवस्था कायम रहनुपर्ने हो । तर, दुर्भाग्य भेदभावकारी सोचका कारण त्यो सम्भव भएन ।
कामको आधारमा भन्दा पनि जन्मको आधारमा जात निर्धारण गर्न थालियो । अमूक पुस्ताको अमूक व्यक्ति आफ्नो कर्मको कारण तल परेपछि उसका सन्तान, दरसन्तान सबै त्यही वर्गमा बस्नुपर्ने नियम बनाइयो । कतिसम्म भने, वेदलगायतका सबैका साझा ग्रन्थहरू अध्ययन गर्न, आफ्नो वृत्ति विकास गर्नबाटै वञ्चित गर्न थालियो । यसले समाजमा वर्ण विभेद खडा गर्यो । मानिस–मानिसबीच भेदभाव गर्ने प्रवृत्तिको विकास भयो । आधुनिक समाजको कलङ्कको रूपमा रहेको छुवाछुतलाई प्रश्रय दिँदै हिन्दु धर्मकै बदनाम गराइयो । यो उपक्रम अहिले पनि केही धर्मका अगुवाबाट हुँदै आएको छ । यसको पछिल्लो कडी देशका विभिन्न भागमा रहेका गुरुकुलमा संस्कृत र वेद पढ्न चाहने दलितहरूलाई निषेध गर्न खोजिएको घटनासँग जोडिएको छ । निश्चय पनि, वेद विद्याश्रममा संस्कृतको पढाइ हुन्छ । संस्कृतलाई खुम्चाएर यसको दायरालाई सङ्कुचित बनाएर होला संस्कृतप्रति आममानिसमा रुचि घट्दै गएको अवस्थामा त्यो विषयतर्फ जो कोही आकर्षित हुनु आफैँमा स्वागतयोग्य विषय हो । विदेशमा संस्कृत पढ्न हजारौँ डलर खर्च गर्नुपर्ने व्यवस्था छ । संसारभर संस्कृतको पठन पाठन हुन्छ । जो कोहीले सानो मेहनतले संस्कृतको पढाइ पार लगाउन पनि सक्दैन । तर, पढ्ने इच्छा भएका व्यक्तिहरूलाई जातकै आधारमा विभेद गर्न न संविधानले दिन्छ, न त वेद नै उनीहरूको बाटो छेक्छ । मध्ययुगीन जातीय संरचनाको धङ्धङ्गी बोकेकाहरूबाट दलित बालबालिकाको वेद पढ्ने चाहनामा अङ्कुश लगाइएको घटना निन्दनीय हो । वेद र संस्कृत कसैको पेवा हैन । वेद र संस्कृतलाई एउटा वर्गले पेवा ठानेकै कारण यसको समुचित विकास हुन नसकेको तथ्य ती मठाधीशहरूले पनि बुझ्नुपर्छ । संस्कृत सबैको लागि खुल्ला गरिनुपर्छ ।
अर्कोतर्फ, शिक्षा नैसर्गिक अधिकार हो । संविधानप्रदत्त अधिकार उपभोग गर्न सबै नागरिक स्वतन्त्र छन् । आफूले चाहेको, रोजेको र सामर्थ्यले भ्याउने विषय छनौट पनि व्यक्तिको अधिकार क्षेत्रभित्र पर्छ । माध्यमिक शिक्षासम्मको दायित्व संविधानतः राज्यकै हो अपितु सामुदायिक विद्यालयहरूले प्रवाह गर्ने शिक्षाको गुणस्तरका कारण आमनागरिक निजी स्कूलमा महँगो शुल्क तिर्न अभिषप्त छन् । सामुदायिक विद्यालयहरू गुणस्तरीय शिक्षा दिन असमर्थ हुँदा राज्यकै अगुवाइमा दुईखाले नागरिक उत्पादन हुँदै आएको अवस्था छ । यो दुर्भाग्यपूर्ण अवस्थाको अन्त्य हुनुपर्छ र सबैलाई समान र गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्वबाट राज्य विमुख बन्न मिल्दैन ।छुवाछूत गर्नुहुन्न भन्दै बोलेर मात्र हुन्न अब गुरुकुलमा पढाएर सन्देश दिनुपर्छ। विशेष गरेर धर्म संस्कारबाट तर्काइएका दलित समुदायलाई देशभरका गुरुकुलमा संस्कृत वेद पुराण पढाउने अभियान चलाउनुपर्छ । दलित समुदायबाट नेता सांसद मन्त्री कलाकारलगायतका उच्च पदमा पुगे पनि दलित समुदायले अछूतको ट्याग हटाउन सकेको छैन किनकि दलित समुदायबाट विद्वान् धर्मगुरुहरू उत्पादन भएका छैनन् । धर्म संस्कृति संस्कृत शिक्षा सिकाउने थलोमा कथित ब्राह्मण र दलितलाईसँगै राखेर वेद पुराण पढाउने हो भने समाजको सोचमा परिवर्तन आउने छ जब गुरुकुलमा दलितले वेद घन्काउन थाल्नेछन् त्यतिबेला समाजमा दलित प्रतिको दृष्टिकोणमा परिवर्तन आउने छ । गुरुकुलमा हुने जातीय विभेदले समाजमा दलित अछूत हुन् भन्ने सन्देश गएको छ त्यसैले संविधान शिक्षा ऐन मानवाधिकार र वेदले दिएको समानताको सन्देशलाई टेकेर गुरुकुलमा जातीय विभेद अन्त्य गर्नुपर्छ । जसले धातुहरूको उत्खनन गरेर विभिन्न किसिमक औजारहरू बनाए । जसले खेतीबालीको माध्यमबाट अन्न उत्पादन गर्न सिकाए । जसले मानिसको शरीर ढाक्नको लागि कपडा र लुगा बनाए । जसले थकित शरीरलाई आनन्द दिने सङ्गीत बनाए, पञ्चेबाजाका अविष्कारक को हुन् ?
जसले हावाहुरीलगायत घामपानीबाट बच्न घर बनाइदिए जसले धातुहरूको प्रयोग गरेर भाँडाकुडा बनाएर पकाएर खान सिकाए । जसले खुट्टा जोगाउने जुत्ता चप्पल बनाए जसले काठ र फलामको प्रयोगले पानीमा तैरने जहाज बनाए । जसले आकासमा उड्ने र जमिनमा गुड्ने सवारी साधनको आधार तयार गरे,जसले शत्रुबाट बच्न विभिन्न किसिमका हातहतियार बनाए । मानव सभ्यताको विकासक्रमलाई हेर्ने हो भने यी सबै कुराको अविष्कार गर्ने र विकास गर्नेहरू भनेकै धातु, कपडा र छालाको काम गर्ने, गाना गाउने र नाच्नेहरू हुन् यस्तो वर्गलाई अछुत बनाइदिएपछि कसरी देशको विकास हुन्छ ? के उनलाई अरू सरह आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक र धार्मिक अधिकारले सुसम्पन्न गराउनु पर्दैन ?
महाकाव्य गहन प्रश्नहरूको सागर हो र उत्तर पनि ।
व्रतबन्ध गर्न कुनै दलितलाई शास्त्रले निषेध गरेको छैन भन्ने स्पष्ट हुन्छ यो महाकाव्य पढेपछि । सचेत नागरिकले आफ्ना आफ्ना स्थानीय गुरुकुलमा यस्ता प्रश्न तेर्साउन चाहेमा समानताका पक्षमा बोल्न चाहेमा यो ग्रन्थ बहुपयोगी छ । दलित समुदायबाट संस्कृत वेद पुराणका विद्वान् उत्पादन नगरेसम्म छुवाछूतको अन्त्य हुँदैन। दलितहरू अछूत होइनन् भन्ने सत्य कुरा बोल्ने काम पण्डित वा धर्मगुरुले गर्नुपर्ने हुन्छ।
महाकाव्यका खण्ड खण्ड चहार्दै गर्दा प्रश्नै प्रश्न भेटिन्छन् ।
धर्मगुरुहरूलाई सोध्न मन छ – ब्राह्मण को हो ? शूद्र को हो ? परियार जन्मजात नै शूद्र हुन् ? पौडेल जन्मजात नै ब्राह्मण हुन् ? सुवेदी जन्मजात शुद्ध हुन् ? सुनार जन्मजात अछूत हुन् ?
चातुर्वर्ण्यं मया सृष्टं गुणकर्मविभागश: । ब्राह्मणक्षेत्रीयविशां शूद्राणां च परन्तप । कर्माणि प्रविभक्तानि स्वभावप्रभवैर्गुणै: । वर्ण व्यवस्था जन्मका आधारमा होइन कर्मका आधारमा पनि हुन्छ ? होइन र हजुर ?दलितले जनै लगाउनु हुन्न भनेर कुन पुराणले भन्यो ? कुन वेदले दलितलाई धर्मसंस्कारमा सहभागी हुन छेक्यो ?ती ससाना दलित वा अन्य जनजातिको के दोष ? के बालकको आचरण खराब हुन्छ र ? यस्य यल्लक्षणं प्रोक्तं पुंसो वर्णाभिव्यञ्जकम् । यदन्यत्रापि दृश्येत तत्तेनैव विनिर्दिशेत् ?
वेदको आज्ञा स्वीकार्य छ तर दलित नै शूद्र हुन् भनेर वेदले प्रमाणित गर्छ ?
खानपान शुद्ध हुनुपर्छ यसमा दुई मत छैन अनि आचरण खानपानमा मात्र सिमित हुन्छ कि अभिव्यक्ति, विचार र कर्मलाई पनि आचरणमा जोड्ने कि नजोड्ने ? जातीय छुवाछूत गर्नु ठिक आचरण हो ? कि छुवाछूत गर्नु असल आचरण होइन ?
कसैलाई जन्मजात रूपमा अछूत घोषणा गरेर वैदिक संस्कृति धर्म संस्कार मान्न नदिनु भनेर कतै भनिएको छ ? गम्भीरतापूर्वक प्रश्नहरूको उत्तर दिनुहोला।
यस्य रागादिना नो मनो दूषितं
तेन काशी अयोध्या गता वा न वा।
येन जाते: विभेदो मनस्स्थापित:
मन्दिरे तेन पूजा कृता वा न वा ।।
जसको मन दूषित छैन र विचार शुद्ध छ अरूको कुभलो सोच्दैन भने उनले पुण्य कमाउन अलग्गै तीर्थ व्रत नगरे पनि हुन्छ । काशी अयोध्या जान पर्दैन । जसले मनदेखि नै जातीय विभेद गरे जसले छुवाछूत गरे तिनले मन्दिरमा पूजा पाठ गरे पनि पुण्य कमाउन सक्दैनन्।
यद्यपि स्वास्थका दृष्टिले रक्सी मासु हाम्रो शरीरका लागि हानिकारक छ त्यसैले शास्त्रमा मासु रक्सी खानु पाप हो भनेर भनियो ।आफैँलाई कमजोर बनाउने काम गर्नु पनि आत्महत्या गर्नु सरह हो त्यसैले आत्महत्यालाई पनि पापको श्रेणीमा राखियो । युवावस्थामा लह लहैमा जाँड रक्सी मासु खाए पनि बिस्तारै परिपक्व उमेरमा यस्ता बानी त्याग्दै गएको राम्रो किन कि मासुका माध्यमबाट स्वादसँगै पशुका रोगहरू पनि हाम्रो शरीरमा आउँदा रहेछन् ।अधिक मदिराले उत्तेजित बनाउँछ, रिस बढाउँछ झैझगडामा फसाउँछ, पैसाको र समयको नाश गराउँछ त्यसैले रक्सी पनि न पिएकै राम्रो । यद्यपि कसैले पिउँछ भने पिएकै आधारमा ऊ गलत हो भन्नु पनि अधूरो विचार हो। अरूको आँसु पिउनुभएको छ भने मासु खाइन त्यसैले म शुद्ध छु भन्नु व्यर्थ छ ।
बक्सिसमा विभेद उपहार दिनेहरूले मैले रक्सी खाइनँ त्यसैले शुद्ध छु भन्नु कुतर्क हो ।
मासु र रक्सी खानेहरूले गरेको श्रम र दिएको पैसाले मन्दिरको खर्च चलेको छ ।आज समाजलाई अज्ञानी बनाइराखेर अन्धविश्वासको व्यापार गर्न पल्केकाहरूलाई के थाहा आचरणको परिभाषा ?आचरण खानपान मात्र हो कि विचार पनि हो ? शुद्ध खाना भनेको मेहनतको कमाइ खानु हो गङ्गाजल र तुलसी चढाउँदैमा खाना शुद्ध हुँदैन।
शिल्प कला भएका मान्छेलाई अछूत भनेर हेलाँ गर्ने पण्डित के वैचारिक रूपमा शुद्ध होला र ?
त्यो त के सि हो, थापा हो, राई हो, लिम्बू हो ,थारू हो, गुरुङ हो, शेर्पा हो, दलित हो भनेर गुरुकुलहरूमा वेद पुराण पढ्न नदिने कथित बाहुन बाहेक अरूले पढ्न हुँदैन भन्ने मानसिकता बोकेका श्री श्री १००८ हरू, बाबाहरू कथित स्वामीहरूको ज्ञान शुद्ध छ होला र ?
आजका दिनमा कुन चाहिँ खानपान शुद्ध छ र ?
के कमाइ शुद्ध छ ?
अन्न शुद्ध छ ?
तेल शुद्ध छ ?
चिनी शुद्ध छ?
नून शुद्ध छ?
प्रायः औषधिमा अल्कोहल अनिवार्य छ विविध खाद्यसामग्रीमा पनि अल्कोहल मिसाएका छैनन् र ?
आचरण भनेको सोच, विचार,व्यवहार र क्रियाकलापमा पनि निहित छ।
समाजलाई सही दिशा देखाउनु असल आचरण हो।
समाजलाई गलत दिशा देखाउनु गलत आचरण हो।
के खाए ? के लाए ? त्यो गौण हो ।
बाहिर कस्ता देखिन्छन् भन्दा पनि भित्र कस्ता छन् त्यो महत्त्वपूर्ण कुरा हो ।
विचार शुद्ध छ कि छैन त्यो महत्त्वपूर्ण कुरा हो ।
गुरुकुलले दलित जनजातिलाई पनि पढ्न आऊ भनेर भर्नामा सहभागी हुन नोटिस निकालेको हेर्न मन छ ।
मैले श्रीमुक्तिनाथ संस्कृत माध्यमिक विद्यालय बा न पा ४ कूँडुलेमा दलित जनजातिलगायतका ब्राह्मणेतर जातिलाई पनि पढ्न दिनुपर्छ भनेर आवाज उठाउन थालेको जान्ने बुझ्ने भएदेखि हो । १६ वर्षको उमेरमा मैले सप्ताह भन्न थालिसकेको थिएँ मैले सप्ताह भन्ने चौकाबाट दलित समुदायप्रति गरिने भेदभावको विरोध गर्थें । छुवाछूतको विरोध पनि गर्छु पण्डित पनि बन्छु यो सम्भव रहेनछ । मलाई मान्छे हुन रोकेको दिनदेखि नै मैले मेरो पेशा बदलेँ । चौकामा बसेर दलितलाई टीका प्रसाद दिन पाइनँ आत्मा नै मरेजस्तो भयो यजमानले नै दमाई कामीलाई पूजा गर्ने ठाउँमा बोलाउन्न भनेपछि मलाई दुख लाग्यो गाउँका केही पण्डितले यजमानको भनाइमा समर्थन गरे । पेट पाल्न कथा भन्न गएको मैले पनि त्यतिबेला धेरै प्रतिकार गर्न सकिनँ । बाहुन भएर छुवाछूतको विरोध गर्नु भनेको सामाजिक बहिष्कारको शिकार हुनु रैछ, तैपनी मैले पढेको यजमानको दास बन्नका लागि होइन सोचेँ । बाउ बाजेको पालादेखि गर्दै आएको पेशामा पाप लुकेको छ जबसम्म मैले गर्ने पूजा पाठ धर्म संस्कृतिमा सबै जातजातिको सम्मान हुँदैन तबसम्म मैले पण्डित काम नगर्ने सोच बनाएँ। त्यसपछि काठमाडौँ आएँ विकल्पमा कलाकारिता, पत्रकारिता, लेखन, विद्यार्थी राजनीति, सामाजिक काम, सानो तिनो व्यापार अनेक थरी काम गरेँ ।अन्तर्जातीय विवाह गर्नेहरू आजीवन पीडित भएको देखेँ
अग्नि महाकाव्य र मेरो विचारमा समानता भेटेँ र दुई चार अक्षर जानी नजानी कोरेँ ।
यता उकासूँ श्रमको उज्यालो
उता निखारूँ दिलको अँध्यारो ।
फैलेर चारैतिर एकनास
जीवन्त होस मानिसको सुवास ।।
किमधिकम् ??



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
