आमुख

नेपाली लोकसाहित्य र लोकपरम्परामाथि नेपाल र भारततिरबाट विभिन्न पुस्तक प्रकाशित भइरहेका छन्।  अझ लोकसाहित्य विषयमा धेरै अध्ययन भएका छन् । यद्यपि लोकपरम्परासँग सम्बद्ध पुस्तक पनि केही मात्रामा देखा पर्छन्। यससम्बन्धमा नेपाल र दार्जिलिङमा केही काम भएका छन्। यसै क्रममा सिक्किमका केही लेखहरूका कतिपय पुस्तक हाम्रो सामु देखा परेका छन्- प्रकाश भट्टराईको “नेपाली सभ्यताको परिचय” (२००८), के एन शर्माको “खस लोकसंस्कृति” देखा परेका छन्। यसै वर्ष २०२० मा श्री प्रकाश भट्टराईको अर्को एउटा गहकिलो पुस्तक प्रकाशित भएको छ- “नेपाली लोक परम्परा”। यसमा हाम्रो जातीय परम्पराको खोजमेल गरिएको छ। यस आलेखमा सांस्कृतिक अध्ययनको सैद्धान्तिक नभएर संस्कृतिको चर्चा गरिन्छ।

प्रकाश भट्टराई- लोकवार्ताका अध्येताका रूपमा-

प्रकाश भट्टराई

सिक्किमको टिम्बुरबुङ बस्तीमा जन्मेका र त्यहीँ घर भएका श्री प्रकाश भट्टराई नेपालीसाहित्यको एक वरिष्ठ कवि र लेखक हुन्। हालसम्म उनका दुईवटा महाकाव्य प्रकाशित छन् – सावित्री (१९९२) र हरिश्चन्द्र (२००४)। यसका साथै बटुल-बाटुल भन्ने साधारण ज्ञानको पुस्तक पनि प्रकाशित छ। नेपाली सभ्यताको परिचयनेपाली लोक परम्परा गरी दुईवटा लोक-संस्कृतिका पुस्तक देखा पर्छन्। उनका छन्दोबद्ध दुईवटा महाकाव्यले नेपाली महाकाव्य परम्परालाई अघि बढाएको छ। सिक्किंमेली फाँटमा महाकाव्य लेख्ने तुलसीराम कश्यप र प्रकाश भट्टराई मात्र देखा पर्छन्। यस हिसाबले हेर्दा उनी एक सफल कवि र लोकसंस्कृतिका गहन अध्येता र अनुसन्धाता हुन्। उनले हालसम्म ‘शोभाकान्ति थेगिम पुरस्कार’ (२००९),‘स्रष्टा परस्कार’(२००९) र ‘निर्माण पुरस्कार’ आदिले सम्मानित भएका छन्। यद्यपि उनको महाकाव्यकारितामाथि यथोचित मूल्याङ्कन हुन बाँकी नै छ। उनको कवि व्यक्तित्व र लोकसाहित्य अध्येता गरी दुई अलग व्यक्तित्व ज्वाजल्यमान हुन्छ। उनले बाल्यकालदेखि नै लोकसामाग्री र अन्य लोकतत्त्वहरूको नजिकैबाट अवलोकन गरेका हुन्। भविष्यमा उनको लोकबालगीतहरूको बारेमा अध्ययन पुस्तक प्रकाशित गर्ने जमर्को रहेको बुझिन्छ। प्रस्तुत लेखमा महाकाव्यको चर्चा नगरी सोझै अध्येतव्य पुस्तक नेपाली लोक परम्परामाथि मात्र केन्द्रित रहेर आफ्नो संक्षिप्त अध्ययन अघि सार्दछु।

नवीन पौड्याल (कालिम्पोङ)

पुस्तकको आधार-स्रोत

यस पुस्तकमा लेखकले आफ्नो गहिरो अध्ययन प्रस्तुत गरेका छन्। हाम्रो पुर्ख्यौली कुराहरूको खोजी गरी जरासम्म पुग्ने काम गरेका छन। उनी आफैं नै ठेट गाउँले जीवनमा बिताएको, आफ्नै बाबु र बाजेले चलाएको देखेका हुनाले यसमा त्यही आधार-स्रोत लिएका हुन्। यसबाहेक गाउँका बुढापाका, अनुभवी, जानकारहरूका घर-घरमा गई सोधी-खोजी गरी वर्णन विवरण गरिएको भन्ने कुरा भनी फोनवार्तामार्फत् लेखक स्वयम्‌ले यस पंक्तिकारलाई जनाएका हुन्। अतः यसमा क्षेत्रीय सर्वेक्षण र गुणात्मक विधि अपनाएका छन्। प्रस्तुत पुस्तकको बीचबीचमा सम्बन्धित विषयका जानकारहरूलाई भेटेर सोधपुछ गरी तथा कतिपय पुस्तकका आधार लिएको भन्ने कुरा पनि संकेत गरेका छन्। कतिपय वस्तुका शाब्दिक अर्थ खोज्न शब्दकोशको पनि प्रयोग गरिएको छ। कतिपय विषयमा सैद्धान्तिक पक्ष थोरै मात्रामा भए पनि प्रस्तुत गरिएको छ।

भारतमा जातीय परम्परासम्बन्धित केही अन्य ग्रन्थहरू –

भारतका केही लेखकहरूले हाम्रा परम्परागत संस्कृति र लोकवस्तुहरूको अध्ययन गरिएका केही पुस्तकहरू पनि प्रकाशित भएको देखिन्छन्। प्रकाश भट्टराईको नेपाली सभ्यताको परम्परा पनि यसै कोटीको पुस्तक हो। शान्तिराज शर्माले खस किरात संस्कृति (१९९६) पुस्तक प्रकाशित गरेका छन्। यसमा खसका रीतिथिती परम्परा, विशेषताबारे गहन अध्ययन प्रस्तुत गरेका छन्। यसमा खसहरूको खानपीन, स्वभाव, प्रवृत्तिबारे सम्यक चर्चा गरिएको छ। खस अध्ययनका क्रममा यो पुस्तक अत्यन्त उपयोगी र महत्त्वपूर्ण छ। यसैगरी २०१५ मा राजु भेटवालले पनि खसहरूको बारेमा अत्यन्त गम्भीर अध्ययन गरिएको अँग्रेजी पुस्तक The Shamanistic Khas प्रकाशित छन्। यसमा खसका सामाजिक, सांस्कृतिक अध्ययन गरिएको पाइन्छ। यसमा भारतमा जनजातिमा हुनुपर्ने आदिम प्रवृत्ति (Primitive Traits), विशिष्ट संस्कृति (Distinct Culture), भौगोलिक एकलता (Geographical Isolation), अन्यसित सम्पर्क गर्न धकाउने (Shyness to contact) र आर्थिक पछौटे (Economic Backwardness) जस्ता आवश्यकीय तत्व (Essential Criteria) आदिका आधारमा पुष्टि गरी अध्ययन प्रस्तुत गरेका छन्। यो अँग्रेजीको पुस्तकले अन्य आदिवासी समुदायझैं हामी पनि भारतका आदिवासी हौं, आदिवादी हुनुपर्ने लक्षण हामीमा पनि छ भन्न कुरालाई आधार लिएर पुस्तक तयार पारिएको छ। हाम्रो लोकसंस्कृतिलाई नै मूल आधार लिएर आसामबाट ओमप्रकाश बस्नेतको सम्पादनमा रहेको खस दर्पण भन्ने पत्रिकाका दुई चार अङ्क प्रकाशित भएको पाइन्छ।

यसैगरी २०१७ मा सिक्किमका श्री के एन शर्माले गहन अध्ययन गरी लेखेको पुस्तक खस जातिको परिचय र लोकसंस्कृति नाम पुस्तक प्रकाशित गरेका छन्। यसमा खस जातिको परिचय, खसहरूका थरहरू, भाषा, पहिरण, जीवन यापनका पेशाहरू, धाम-झाँक्री र शमन विधि, पारम्परिक पूजाआजा, घरेलु सामाग्री, साइनो सम्बन्ध, लोक आस्था र देवी देवताहरू, खसका चाडपर्व र उत्सवहरू तथा खसका खेलहरू आदि विषयमा सम्यक अध्ययन प्रस्तुत गरिएका छन्। खस अध्ययनका निम्ति श्री के एन शर्माको उक्त पुस्तक अत्यन्त उपयोगी छ। यसमा  खसेली परम्पराका बिहा, रीतिथिती आदि कुरामा निकै अध्ययन गरिएको पाइन्छ। नेपाली सांस्कृतिक अध्ययनमा के एन शर्माको यो पुस्तक पनि महत्त्वपूर्ण रहेको छ।

नेपाली लोकवार्ताको अध्ययनका क्रममा प्रा. गङ्गाप्रसाद भट्टराईका पनि दुईवटा पुस्तक प्रकाशित छन्। उनको लोकायन (२०१७) र लोकवार्ता तुलनीय केही पक्षहरू (२०१७) गरी दुईवटा ग्रन्थमा नेपाली लोकवार्ता विषयका केही लेख रहेका छन्। उनले नेपाली उखानका बाहेक जातीय संस्कारका विविध पक्षमाथि उल्लेखनीय अध्ययन गरेका छन्। विरहिनी, मगर र तामाङ जातिको अन्तिम संस्कार, लोकनाटक, दशैं, हराउन लागेका ठेट शब्द, लोकोक्ति, शिशुगीत, लोकविश्वास आदिबारे विस्तृति अध्ययन प्रस्तुत गरेका छन्। उनले नेपाली र हिन्दीका उखान –तुक्कामाथि तुलनात्मक अध्ययन गरेका छन्। प्राज्ञिक र व्यावहारिक हिसाबले उनका यी दुई पुस्तक अत्यन्तै पठनीय र सङ्ग्रहनीय छ। उनै गङ्गाप्रसाद भट्टराईको सम्पादकत्वमा १९९२-९४ सालतिर रेलिवारि-रेलिपारि नामक लोकसांस्कृतिक पत्रिका पनि चार अङ्कमा प्रकाशित गरेका हुन्। आर. पी. लामाको पुस्तक इन्द्रधनुष (१९९०) मा पनि नेपाली लोकगीत र लोकपरम्परामाथि अध्ययन प्रस्तुत गरिएको छ। काजीसिँह विद्यार्थी र नरेन्द्र गजमेरको मादल (१९७४) भन्ने पुस्तकमा मादलको बारेमा नालीबली केलाइएको छ। एम एम गुरूङको बिर्सिएका संस्कृति (१९८०) पुस्तकमा पनि नेपाली लोकपरम्परामाथि केही अध्ययन भएको पाइन्छ। डि.बी सिंहका दुई पुस्तक लोकलवज (२०११) र लौ खेलौं जुवारी (२०११) मा नेपाली लोकसंस्कृतिको अध्ययनका क्षेत्रमा उल्लेखनीय छन्। २०१६ मा सिक्किमका सुचन प्रधानद्वारा लिखित नेपाली चाड़पर्वहरूक सांस्कृतिक अध्ययन पुस्तकमा पनि प्राज्ञिक रूपले संस्कृतिको परिभाषा र अध्ययन प्रस्तुत गर्दै भारतमा नाइने केही प्रमुख नेपाली चाडपर्वहरूको अध्ययन गरिएको पाइन्छ। त्यसै गरी २०२० मा प्रकाशित हाम्रो चिनारी पुस्तकमा पनिनेपाली लोकसांस्कृतिक पक्षहरूको अध्ययन गरिएको छ। यसमा नेपाली घर, साइनु सम्बन्ध आहार भाँडा कुँड़ा, वस्त्र बिछ्यौना, हात हतियार, गर गहना, नृत्यगीत, वाद्यवादन, चाड़पर्व, संस्कार, हाम्रा केही लोकविश्वास,हरू, कतिपय लोकप्रिय र लोप हुन लागेका शब्दहरू भन्ने शीर्षक दिएर संक्षिप्त रूपमा भए पनि गहन अध्ययन प्रस्तुत गरेका छन्। यसैगरी डा. दिलकुमार प्रधानको प्रकाशोन्मुख पुस्तक नेपाली लोकविश्वास-माथि पनि बजार आउन तयारीको अवस्थामा छ। यसै गरी २०१५ मा प्रकाशित भएको अन्तरार्ष्ट्रिय नेपाली सांस्कृतिक सङ्गोष्टीमा गोर्खा उन्नयन परिषद्, असमबाट प्रकाशित तथा हिरण्य घिमिरेको सम्पादनमा रहेको विभिन्न सङ्गोष्ठी पत्रहरूको सङ्कलन नेपाली संस्कृति सुधा खण्ड १ र खण्ड २ पनि प्रकाशित देखिन्छ। यसमा संस्कृतिको सैधान्तिक खण्ड, नेपाली संस्कृतिको ऐतिहासिक धारा, विभिन्न समुदायका सांस्कृतिक पहिचान, आध्यात्म र दर्शन खण्ड, मान्य खण्ड, संस्कार खण्ड, नेपाली खानपान, वस्त्र र घरसम्बन्धी, उत्सव र उपासना खण्ड, मनोरञ्जन खण्ड, उपकरण खण्ड, विविध खण्ड, विभिन्न ठाउँमा नेपाली संस्कृतिको झलक, नेपाली समाजमा प्रचलितसिपहरू, नेपाली समाजका केही चाड़ र पूजा आदि रहेका छन्।

नेपाली लोकसाहित्यसम्बन्धी पुस्तकाकार रूपमा अध्ययन गर्ने अध्येताहरूबाहेक विभिन्न पत्र-पत्रिकातिर फूटकर रूपमा लोकसाहित्यसम्बन्धी लेखादि लेख्नेहरूको संख्या पनि ठुलै छ। त्यस्ता केही लेखकहरूमा टीकाप्रसाद राई, कुमार घिसिङ, महानन्द पौड्याल, डा गोकूल सिन्हा, मनबहादुर गुरूङ, काजी सिंह, मोतीप्रसाद शर्मा, काजी प्रधान, डी. बी. घिसिङ, विरही काइँला, मदन ओझा, डा. घनश्याम नेपाल, प्रा. शान्तिराज शर्मा, प्रा. कृष्णराज घतानी, प्रा. गङ्गाप्रसाद भट्टराई, डा.जस योञ्जन, शिवकुमार राई, काजीमान गोले, ललित न्यासुर, किताबसिंह राई, मगन पथिक, जितेन्द्र बरदेवा, बलु बराइली, हीरा वाइबा, मननारायण प्रधान, जगत छेत्री, शङ्कर सुब्बा फागो, गीता शर्मा, बेञ्जामिन राई, बी. बी सुब्बा, देवकुमार दुमी, नवीन पौड्याल, बासुदेव पुलामी, ज्ञानेन्द्र सुब्बा इत्यादि हुन्। बेला बेलामा विभिन्न साहित्यिक, सामाजिक संस्था, महाविद्यालय, विश्वविद्यालय आदितिर नेपाली लोकसाहित्य र लोकसंस्कृति विषयमा सङ्गोष्ठि आदि पनि भइरहेका छन्।

यी प्रत्येक पुस्तकहरूको आआफ्नै विशिष्टता, उपयोगिता र महत्त्व छन्।

नेपाली लोक परम्परा पुस्तकको सामान्य अध्ययन-

प्रकाश भट्टराईको नेपाली लोक परम्परा ग्रन्थले हाम्रो लोकपरम्परा, लोकरीति, लोकवस्तु, लोकव्यवहार, लोकचिकित्सा, लोकबाजा, लोकसामाग्री, लोकमनोरञ्जन, लोकखाद्य आदि विषयमा विस्तृत अध्ययन-विवरण गरेका छन्। हाम्रो पुर्खा नै वैज्ञानिक थिए, उनीहरूले आफ्नो दैनिक जीवनमा चाहिने सामाग्रीहरू वैज्ञानिक तवरले तयारी पार्दथे भन्ने यस ग्रन्थको टेक रहेको बुझिन्छ। पुर्खाहरू आफ्नै सीप कला, कौशल, तकनिकी प्रविधिले युक्त थिए। ठुला ठुला मशिन नभए पनि आफ्नै किसिमका औजारले आफ्नो आवश्यक सर-सामाग्री तयार पार्थे। प्रस्तुत ग्रन्थ २३७ पृष्ठहरूमा आवद्ध छ भने यसमा ‘वल्लोपट्टि’ र ‘पल्लोपट्टि’ गरी दुई खण्डमा जम्मा छब्बिसवटा मूल अध्ययनहरू रहेका छन्। यसमा ‘वल्लोपट्टि’ खण्डमा सोह्रवटा र ‘पल्लो पट्टि’मा एघारवटा लेखहरू रहेका छन्। वल्लोपट्टि खण्डका लेखहरूमा “नेपाली जनविश्वास र धामी-झाँक्रीहरू”, “नेपाली सभ्यतामा आरन र यसको महत्त्व”, “चुँदारा र औजारहरू”, “ध्वनि कौशल”, “हाम्रा लोकप्रिय खेलहरू”, “शिला कौशल”, “काष्ठ कौशल,” “धातु कौशल”, “स्वच्छकर कौशल र् प्रयोग”, “पासो”, “हरियो सागपात”, “केही जङ्गली फलविशेष”, “ओखती मूलो”, “केही अचार-विचार”, “खेती-पाती, पेय/तरल पदार्थ”। यसैगरी ‘पल्लोपट्टि’ खण्डअन्तर्गत लेखहरू “हाम्रो जाति र संस्कृति”, “नेपाली लोकसाहित्यमा लोकगीत”, “नेपाली जीवनमा सिलोक : एउटा रमाइलो पक्ष”, “कवित्”, “घर”, “दाईँ”, “मृत्यु संस्कार”, “देउराली”, “मीत”, “पौराणिक वस्तु र आधुनिक रूप” रहेका छन्। यहाँ केही घरेलु वस्तुका निर्माण प्रक्रियालाई कौशलका रूपमा प्रस्तुत गरिएका छन्- ध्वनि कौशल, शिला कौशल, काष्ठ कौशल, धातु कौशल गरी चारवटा देखिन्छन्। यद्यपि चुँदार र औजारहरू, नेपाली सभ्यतामा आरन र यसको महत्त्व आदि लेखहरू पनि कौशलसित सम्बन्धित नै हुन्।

प्रस्तुत पुस्तकका केही लेखहरूमा हाम्रा पुराना मौलिक वस्तुहरूको नक्सासहित विवरणात्मक परिचय दिइएको छ। कतिपय लेखमा त त्यस वस्तुसम्बन्धी लोककविता वा लोकगीत पनि सन्दर्भका रूपमा राखिएको पाइन्छ। यसमा रहेका केही लेखहरूमा वर्णित केही वस्तुहरूको नाम र विवरण तालिका यस्तो  बनाउन सकिन्छ

लेखसम्बन्धित वस्तुको औजारहरू  र तिनका  नक्सासहित विवरण
 

 

धामी झाँक्री

यसमा भूतको प्रकार, धामी झाँक्रीले प्रयोग गर्ने औजारहरूको उल्लेख गरिएको पाइन्छ। धामी ढाँक्रीले चलाउने सामग्री र तिनका प्रयोगको विवरण पाइन्छ- ओखर, पाङ्ग्रो बल्ड्याङ्ग्रो, अम्लिसो, कटुस, काउलो, लिसो, घुङरिङ, जोर चिण्डो, थुर्पी, घुर्रो, ढ्याङरो. ढोल, झ्याम्टा, माला, काङ्लिङ, घङ्घला माला, घण्टी माला, खार साङ्लो, डेली, जामा पगरी, साँपको हड्डी, गौरी शङ्ख, समुद्र शङ्ख, सालकको खपेटो, नौग्रह, दीयो, पासा, गोपे बाँस, चमर, दुदे बज्र, चरा नङ्ग्रा, गरूड़ नङ्ग्रा, सिङ, बाघको हड्डी, दुम्सीको काँडा आदि ।
 

चुँदार

चुँदारसम्बन्धित काठका वस्तु-औजारहरूको नक्सासहित विवरण पाइन्छ- उधिन ढुङ्गा, खुकुरी, ठेलो, थाक्सी, पङ्खा, पानीछाल, फलियो, फुरू, बसिला, बाँक, बेनी, मानी,रेती, साँचो, सिरानी काठ आदि।
 

आरन

आरनसित सम्बन्धित औजारहरू- अगेनो, अडेनी, आलो, कतर्नो, कुरिनढुङ्गा, सुइरो, घन, चिम्टा,जाँतेकिलो, जुकी, टुँडो, पङ्खा, परिनो,फालिरेत, भाटी, भाँडी, लिही, सनासो, साङ्ली, जुकी काठ, हतकन, मुर्चल, काठेमुङ्गरो, लोहा, सान, ठुलो डेनी, भेट्नो, खरियो, रेती, कौडी, काठेरेती, चेप्टे, तोरफन, गोल पोल्नु, छिनो आदिबारे नक्सासहित विवरण।
 

ध्वनि कौशल

घण्ट, पिपिरी, मुरली, बाँसुरी, सारङ्गी, मादल, काँइयो बाजा, नर्कट बाजा, सुसेली, पात बजाउने, प्याटप्याटे, यलम्बर, एकतारे, डमरू, प्याँप्याँ आदि जस्ता बाजा र तिनका पनि प्रकारहरूका बारे प्रकाश।
 

लोकखेल

पिङ, छेलो, पौंठे जोरी, गोठगोठलौरी, डण्डिबियो, बाघचाल, गोरू जुधाइ, फिरपिरे, बाँसखुट्टे, लुकामारी, गोरूसिंङ्गे, भाले जुधाइ, लक्कू लडाउने, टाँगो नाघ्ने, फालहान्ने, चकाचुली, खोपी, लट्ठा तान्ने, गोबर पड्काउने, उनिउँ पड्काउने, भैसी सिँङ्गे, तिलसिङ्गे, अमराइट, गट्टी, पञ्जा लडाउने, हाइगुरू-गुट्टु आदि जस्ता खेलहरूका बारेमा प्रकाश पारिएको छ ।
शिला कौशललोहोरो, सिलौटो, चनौटो, पलेंटी, जाँतो, कोल, ओखल, सिलेट आदि ।
काष्ठ कौशलहर्पे, नागकाठ, निस्ति, हातो, मोठ, लुसाकुटी, खुइ, सूरो आदि ।
धातु कौशलतसला, खरकुँडो, कमण्डलु, पञ्चपात्र, जलधारी, चन्दनखोरी, कोथी मुहुड़ा, कनकर्नो,  पारो, मुर्कुचा, कर्मपात्र, इनामपाट आदि ।
सफाइ गर्नेकुचो, खरेटो, पोतारी, गोबरले लोटाउनु आदि ।
पासोपासोका प्रकार -झराप, चिम्टे पासो, खुट्टे पासो, पिञ्जडे, कप्टेरो, शोला पास, डोके पासो, मुड्के पासो, खोर पासो, लिसे पासो, बल्छी, दुवाली थाप्नु आदि।
सागपाततोरीको साग, रायो, फापरको साग, बेथु, जरिङ्गो, चिण्डे,दुङ्दुङेको साग,रायो, सिस्नु, फर्सीको मुन्टा, इस्कुसको मुन्टा, भाङग्रे, निगुरो (पाँच किसिमका), च्याउ (छ किसिमका) आदि।
ओखतीमूलोअबिजालो, बिलाउनी, तितेपाती, पिनासे लहरा, फच्याङ, हलेदो, बोजो, गहत आदि।
अचारकेराको बुङ्गो, कोरालाको फूल, काब्राको अचार, साँधको गुन्द्रुक, नून- खोर्सानी, मकरकाँचे, चुक ।
खेतीपातीमकैबाट धानबाट, कोदो, फापर, ती, भटमास, कालो दाल, मस्याम, बोडाबोडी, सिमी, जुनेलो, कागुनो आदिबाट उत्पन्न खानेकुरा आदि ।
पेय/तरल पदार्थतोरी, खराने, बान्टे, चिया, दुध दही, मही, प़ञ्चामृत, पञ्चगव्य, सोल्लर, सर्वत, रायो, चिउरी, फिलुङ्गे, गान्टे आदि ।
 

घर

परम्परागत घरका प्रकार र घरसँग जोडिएका वस्तुहरूका नाम- आट, आग्लो, करूवा, खोपो, खाँबा, गौंथली भाटो, चिर्पट, चौका,जस्केलो, ठेलो, डाँड़ा, ढुङ्गा, थाम, ध्वाँसी, धरम भाटो, दलिन, निदाल, पेटी, बाँहा, भाटा,माटो, लिस्नो, सरा,साङ्ली, हल्लुँडे, छानो, मेठ, सेप्डी, बीरेआग्लो आदि
दाइँकुनिउँ, दाइँ, जुबिटा, जुरीबिटो, मेहे, अंगाले भारी, खोस्ल्याँगे भारी, मुठे पराल आदि ।

 

माथिका प्रायः सबै वस्तु-औजारहरूको फोटोसहित विवरण गरिएको छ। यी माथिका वस्तुबाहेक मृत्यु संस्कार, मीत, देउराली, कवित्, सिलोक, लोकगीत, लोकसंस्कृति आदिबारे पनि प्रकाश पारिएको छ। स्थानीय तहमा प्रचलित नेपाली लोकगीतलाई चारवटा वर्गीकरण गरेका छन्- माया-प्रितीका गीत, बालगीत, लोरी गीत र जुवारी गीत। मया-प्रीतिका लोकगीतलाई पनि पारिवारिक माया-प्रीति, वियोगमिश्रित माया-प्रीतिका गीत, प्रेम-प्रीतिका गीत गरी तीनवटा उपवरगीकरण गरेका छन्। प्रत्येक वर्गीकरणहरूको नमूनासमेत प्रस्तुत गरेका छन्। नेपाली समाजमा हराउन लागेको कवित्‌का पनि नौवटा अलगअलग उदाहरण प्रस्तु गरेका छन्। सिलोकको पनि चार पाँच किसिमका उदारण पेश गरेका छन्। जतिसक्दो आफ्न अध्येतव्य विषयलाई सम्बन्धित गीतहरूले पुष्टि गरेका छन्।

माथिका औजारबाहेक अझै केही वस्तु र विषयका भेदहरूको पनि उल्लेख गरिएको छ-

विषयप्रकार
धामी- झाँक्रीवन झाँक्री, सुना झाँक्री, रिट्ठे झाँक्री, भूइँफुट्टा, फेदाङमा, बिजुवा, माङवा, माता आदि।
भूतआठाने, सिंये, जागित्र, वनको, खोलाको दोष, छौंडा, बोक्सी, डुवुवाभूत, राँकेभूत, टङरंगे भूत, छाँगेभूत, इन्द्रेणी भूत आदि।
घण्टघँडो, खच्चड घण्ट, गौघण्ट, घोडी घण्ट, चौंरी घण्ट, बोके घण्ट, गोरू घण्ट ।
मुरलीगोजे मुरली, ढुङ्रे मुरली, मैना मुरली, सिपी भरूवा मुरली आदि ।
बाँसुरीसिपी भरूवा बाँसुरी, घोर मुरली, टिप बाँसुरी, माझवाला बाँसुरी ।
सारङ्गीतीनतारे सारङ्गी, धनुसारङ्गी, पोके सारङ्गी, सलयानी सारङ्गी सोरङ्ग ।
मादलझुमडी मादल, रानी मादल, सखिया मादल, सोरठी मादल ।

 

पुस्तकको महत्त्व

नेपाली लोक परम्परा पुस्तक नेपाली लोकसंस्कृतिको अध्ययनका निम्ति धेरै महत्त्वपूर्ण छ। यसले हाम्रोपरम्परा, हाम्रो आदिम कौशल, हाम्रो कारीगरी आदिबारे धेरै प्रकाश पारेको छ। यहाँ धेरै औजार र वस्तुहरू नयाँ पुस्ताका निम्ति अनसुना लाग्छन्। धेरै औजारहरू देख्न पाएकै हुँदैनन्। माथि वर्णित हरेक लेखमा वर्णित वस्तुका आकार प्रकार, निर्माण पद्धति आदिबारे वर्णन गरिएको छ। यसमा माथिका औजार र वस्तुसम्बन्धि उखान-तुक्का र लोकगीत भए त्यसलाई पनि राखिएको छ। जस्तो धामी-झाँक्रीले के भनेर फलाक्छन्, पिङको गीत, बालगीत कुचो, तसला, पासो आदि वस्तुसम्बन्धित लोकगीत पनि प्रस्तुत गरिएको छ। यसबाहेक कवित्, सिलोक, लोकगीत आदिबारे छुट्टाछुट्टै वर्णन र गीत आदि प्रस्तुत छ। यस पुस्तकको अध्ययन गरेमा हाम्रा पुर्खाहरू आफैमा वैज्ञानिकसरह र सम्पन्न थिए। हरेक वस्तुको युक्तिसङ्गत र बुद्धिमानीसँगले उपयोग गर्न जान्दथे। घरभित्र चाहिने हरेक कुरा आफै बनाउँथे। काष्ठ कला, धातु कला, ध्वनि कला, शिला कला, गृह निर्माण कला सबैमा निपुण थिए। घरबाहिरका कुरा पनि सबै आफै उपार्जन गर्थे। कृषि कार्यमा पनि निपुण थिए। उनीहरू हरेक कुरामा स्वयम् सम्पन्न थिए। कुनै कम्पनीको सामग्रीको आवश्यता पर्दैन थियो। सबै कुरा घरैबाट निर्मित हुन्थ्यो।

मूल्याङ्कन र उपसंहार-

नेपाली लोकवार्ताको अध्ययनका क्रममा सिक्किमका प्रकाश भट्टराईको पनि महत्त्वपूर्ण योगदान पाइन्छ । उनले ‘नेपाली लोक परम्परा’ पुस्तकमा निकै मेहनत गरी आफ्नो अध्ययन प्रस्तुत गरेका छन् । यस पुस्तकमा नेपाली लोकगीत, लोकबाजा, लोकखेल, लोकसांस्कृतिक, लोकगीत, लोकखाद्य, लोककृषि प्रविधि, लोक कला कौशल, लोकचिकित्सा आदिबारे विस्तृत विवरण दिएका छन् । उनी आफैं गाउँ वासिन्दा भएर आफैंले देखेका भोगेका हाम्रा जातीय कुराहरूलाई लिपिबद्ध गरी नयाँ पुस्तालाई सजग गराउने काम गरेका छन् । आफ्नो जरो, पुर्ख्यौली परम्परा र वस्तु आदिबारे जान्नपरे यो वर्तमान र नयाँ पुस्ताका निम्ति यो पुस्तक उपयोगी सिद्ध हुन्छ। यसका साथै प्राज्ञिक र व्यवहारिक सबै क्षेत्रमा काम गर्ने अध्येता, जिज्ञासु, अनुसन्धाता र सांस्कृतिककर्मी र आमपाठकका निम्ति यो पुस्तक पठनीय र सङ्ग्रहनीय छ।