पारिजातका औपन्यासिक पात्रहरुको निर्माण विधि नेपाली साहित्य स्वरुपमा नितान्त मौलिक देखिन्छ । उपन्यासले मानिसको जैवनिक अनुभूति अभिव्यक्त गर्ने भएकाले उनी यथार्थको सीमालाई नाघ्न भुलेर पनि पुग्दिनन् तर स्थापित अन्य प्रयोगभन्दा उनको प्रयोग मूल्य, संरचना र जीवनवोधको अभिव्यक्ति परिवेश भने बेगल किसिमको छ ।
विशेषतः ‘शीरिषको फूल,’ ‘वैंसको मान्छे’ तथा ‘महत्ताहीन’ मा विकसित भएको उनको औपन्यासिक विधानलाई यिनै कृतिमा केन्द्रित भएर हेर्नु समग्र पारिजातलाई हेर्नु भनिदिए हुन्छ । यस समीक्षामा यी पारिजातका यी तिन उपन्यासका चरित्रहरुलाई आधार मानिएको छ ।
अन्य उपन्यनसभन्दा ‘शीरिषको फूल’ कलाप्रखरताको द्योतन गर्दछ, महत्ताहीन गाढा निषिद्धतामा आवर्तित छ, वैंसको मान्छेको ‘स्व’ वृत्ति फिका उत्साहमा प्रवेश गर्दछ– नत्र सबै एक अभिव्यक्तिका सारमा छन् । पारिजातको महत्तम निधिलाई नङ्ग्याउन खोजिएको होइन्, केवल उनका पात्रीय मनोदशा र उनीहरुमा निहित मानसिक उवागर्मीलाई मात्र केलाउने प्रयास गरिएको हो । त्यसैले आधुनिक जीवनबोध र जटीलता त्यहाँका विषयवस्तु बन्न पुगेका छन् ।
आधुनिक मान्छे भत्कोस र निरुक्ततामा मनमनै मडारिएको, विखण्डित र अस्रल्ल छ । उसका लागि धेरै बाटाहरु खुल्ला छैनन्, जीवन जिउने विकल्पहरु पनि एकदमै सीमित छन् । तैपनि जिउनुको विवशता छ । वरी, शिवराज स्यामो, पिएन केटो, लाटी र सुयोगवीरसिंहमा यो भत्कोस र निरुक्तता एकसाथ बोध छ । यी चरित्रका भावभूमि र जीवन वृत्ति नै उपन्यासकार पारिजातको उपन्यास समयको जीवन दर्शन पनि हो ।
मानिसको अस्तित्व कति हो ? जीवनको सार के हो ? बाँच्नुको अरु प्रतिको निरुक्त आवृतिलाई अतः सबै पात्रहरुले अन्तर मनोद्वेगित स्वरुपमा कुन्नि किन हो वरण गरेका छन् । ‘वैंसको मान्छे’ मा स्थतिग्रस्त र निरुक्त बाँचेको मानिसको कथा छ, तैपनि राल्फासँग सम्झौता भैसकेपछिको यस सिर्जनाको आधारभूमि पनि पूर्वपृष्ठ हो –जहाँ ‘शीरिष’ फूलेको र ‘मंहत्ताहीन’ मौलाएको थियो । पात्रमा महत्ताबोध र स्ववृत्तिको उराल–आवृति छ, तैपनि अन्ततः परित्यक्त बन्नुपर्ने मनोदशाको आवृत्ति कथाले गहिरो अर्थ लिएको छ । एक अर्थमा भन्दा ‘महत्ताबोध’ र ‘महत्ताहीन’ का कोणिक आवृतिमा कथात्मक परिवहको पुष्टि छ – तर वैंसहीन मानिसको छटपटी उपन्यासको अन्तसार हो । पात्रहरु सम्मान र समृद्धिले होइनन्; दुख र अभावले सिर्जिएका छन; उत्साह र गर्वले अघि बढ्दैनन् केवल जीवनलाई जस्तो हुन्छ त्यस्तै हिसाबमा छोडिदिन चाहन्छन् । त्यसैले पिएन केटो, म पात्र, स्यामो, लाटी सबैमा स्थितिप्रति समान भावना उद्वेगित छ । चरित्रहरु आफैँप्रतिको प्रतिक्रियाहीनतामा स्वच्छन्द बगेका छन्, बग्नुको अर्थ गतिउद्वेगमा छैन । जसरी तसरी बगिरहेको छ ।
जीवन त उत्साव हुनुपर्ने, यात्रा र उत्साहमा बग्नुपर्ने । उत्सवको अर्थमा नरमाएको फस्को जीवन अभियानका स्वक्रममा अघि बढ्दैनन् न कि बाँच्नुप्रति सम्मोहन भाव हुर्किन्छ । अज्ञानतावश वा अञ्जानवृतिकै कारण भनिएका आधारमा पुगेका होइनन्, भनिनुसँग खुला प्रतिक्रिया पनि छैन तर मानसिक उच्चाटले गर्दा नै स्थिति चाप र स्ववृति चाप क्रमशः बढ्दै जाँदा सबै चरित्रहरुमा निषिद्धता हुर्किन्छ ।
सर्वत्र स्थितिहीनता र निषिद्धावृतिले ग्रस्त भएपछि स्वभाविक रुपमा व्यक्ति सत्ता (भनौं सञ्चालक मानसिक सत्ता) परिधानहीन परिवेशमा थिग्रिन पुग्छ । पिएन केटाको मृत्युसँग सकिने ‘वैंसको मान्छे’ मूल्यहीन जीवनवोध र महत्त्वबोधको द्वैंधावर्त सचेतनाक्रमले प्रवाहशील भए तापनि सार तथ्य विगठित र भत्किएको मान्छेको कथा हो । जन्मेर नमरुन्जेल खेफ पर्ने यो बोटो, सँधै बाच्न पर्ने यो बाटो, भाग्ने ठाउँ नभएको यो बाटो ; ‘जीवनको विकल्प स्वतन्त्रता हो’ भनेर पनि निषिद्ध बाटोमा उभिएको छ । त्यसैले ‘वैंस भन्दा पहिले उ छिपिन्छ, वैंसमा बुढो हुन्छ र समयभन्दा पहिला उसको मृत्यु हुन्छ ।’ स्थितिले पिरोलेका मानिसका निदाईसकेका छालाहरु अतः यस परिवृत्तिमा ब्यूँझिन सक्तैनन्; त्यसैले उनीहरु स्वनिर्मित नियतिका मानिस भनिन सक्छन् !
उग्र विसङ्गतिवोध प्रधान विषयमा कथात्मक प्रष्टताको अभाव रहन्छ । सुगठित र सहज कथासूत्रको स्वरुप रहन्न । जीवनमा पनि परिवर्तनीय गतिशीलता ठप्प रहन्छ । स्थिति ग्रस्तताले रगमगाएको अन्तदृष्टिलाई यसले महत्ता मान्छ । पारिजातका पात्रहरु अतः स्वकेन्द्रित मनोविश्लेषणमा रहन्छन् । ‘महत्ताहीन’ तथा ‘शीरीषको फूल’ उनका अन्तमुर्खी पात्रहरुमा आफैं मनोलापमा अघि बढ्दछन् । केही हुनु वा नहुनु उनीहरुको अर्थमा सामान्य छ । हुनुको अर्थलाई नहुनुको विस्मयले छोप्न सक्तैन; नहुनुको विस्मयलाई प्रतिफलको प्राप्तिले पनि उकास्न सक्तैन । सबै क्षण र सबै वृत्तिमा उपन्यासको कथावस्तु उराठ मनोद्वेग यही स्थितिको आवृत्तिमा घुमिरहन्छ । त्यसैले निषिद्धता उनीहरुको आफ्नो विषयवृति र जीवनक्रम हो भन्न हामीलाई करै लाग्छ ।
कलात्मक आवरणले चरित्रका व्यथालाई शीरिषको फूलमा केही छोपिएको छ तर पनि उपन्यासको आधा–आधीपछि सबै चरित्रमा जीवनको अर्थले शुन्यलाई अङ्गालेको छ । प्रेम हुनु र नहुनुमा सुयोगवीर निश्चित सामान्यतामा रहन्छ । प्रेम नभैदिँदा दुखान्तमा टुङ्गिएको कथा प्रेम भैदिएको भए अझै खुला समाप्ति तिर अग्रगामी हुने थियो भन्ने पुष्टि सुयोगको चारित्रिक विशेषताबाट देखिन्छ ।
वरी स्व–नियतिकी रुग्ण शिकार हो । प्रतिक्रियाहीनता यसको पुष्टि गर्छ । आफ्नै निम्ति फुल्नु र मुर्झाउनुमा जीवन अर्थको वकालत गर्ने बौद्धिक युवती नभन्दै आफ्नै तर्कसँग समाप्तितिर अघि बढिरहेकीछे । उल्टा–सुल्टा परिवेशसँग भूलिएर कुनैलाई पनि स्वीकार्न नसक्नु जीवनप्रतिकै निषिद्धता हो, तृष्णाहीनता र उग्र निराशा नभएर अरु को हो र ? वरी निर्वेद बाँच्नुलाई पनि स्वीकार्न सक्तिनन् अर्थवत्ताप्रति आशा र चिन्तनलाई पनि कताकती लिन पुग्छिन् ।
ईश्वर, धर्म, जगत्–दृष्टिका विषयमा बौद्धिक तर्क सहभागिता जाहेर गर्नसक्ने वरी किन आफैँप्रति चाहिँ निष्क्रिय, प्रतिक्रियाहीन रहन्छे त ? उनको सन्दिग्धताले भोलि आउने दिनलाई शुभकामना वा आजलाई स्वागत क्यै पनि गर्दैन – न यसतिरको कुनै चेष्ठा नै देखिन्छ । सबैमा विकसित अन्तर्मुखी प्रवृतिले कसैप्रति अर्कोको सुझाव–प्रतिक्रिया, रोष–द्वेष, ईर्ष्या–वैराग क्यै पनि रहन्न । उसो भए चरित्रहरु बाँच्छन् किन ?
त्यसो त पारिजातले उपन्यास कथालाई निमानवीकृत गरिन भन्न खोजिएको होइन । वस्तुगत परिवेशको मौन संदिग्धताले विसङ्गतिबोधको जीवनलाई चरित्रहरु बेस्सरी व्यवहार गर्दछन् भन्न खोजिएको मात्र हो । किनकी सबै चरित्र जीवन अस्मिताप्रति न आस्थाशील छन्, न कर्मशील नै । कथानकका उपक्रमहरु सही वा असही दिशामा मोडिन्छन् तर जीवनको अस्मिबोध प्रायः हीन देखिन्छ । वरीको मनोसान्धानिक परिहल मात्र होइन, सुयोगको आत्मकथा, वैंसका स्यामो, म पात्र र पिएन केटोको दैनन्दिनी, आदिम देशका लघुकथाको मनोगत परिवह सबैमा गाढा स्थितिग्रस्तताको विकास भएकाले सबै सामान झै लाग्छन् । अर्कोप्रति मात्र होइन, आफैंप्रति पनि नितान्त असंलग्न रहनु; यदाकदा झुल्किने अपवादका स्थितिलाई पनि यही परिवेशमा समागमित पार्नु जस्ता क्रियाकलापले उपन्यासभित्र अनौठो उत्साहहीन स्थिरता उद्भाषित छ ।
आफैंप्रति विद्रोह र आलोचनात्मक प्रतिक्रिया बौद्धिक स्तरमा समेत गर्न सक्ने क्षमता भएका पात्रको किन मनोअसंलग्नता रहन्छन् ? किन सबैतिर आस्था र उत्साह हराउन पुग्छन् ? विसंगतिबोधको जडतत्त्व के हो ? र त्यो किन उम्रियो ? थाहा हुन्न । त्यसैले निमानवीकृत मानव अन्तरकथालाई बीसौं सताब्दीको साहित्यले जाँ पल सार्त्र, अल्वेयर कामु, सेमुएल वेकेट तथा पारिजातको सिद्धहस्तबाट जटिलताग्रस्त जीवनको मूल्य र यसका अवयवलाई टिप्ने काम गरेको छ । आजको जटिल दुनियामा शीरिष, महत्ताहीन वा वैंसको मान्छे लेखिएको भए कस्तो हुन्थ्यो होला ? किनकी स्थितिको विग्रहले आजको मान्छे सबैतिर अँध्यारो देख्न थालेको छ, उत्साह र उमङ्गमा आगो हुनुपर्ने युवाहरु आफैमा निख्रिएर व्यग्र निराशामा छन् ।
स्वाधिन मूल्य गुमेको मानिसको अन्तरकथा हो प्रयोगको पारिजातीय फेंट । निमानवीकृत विकासको उपज हो यो साहित्य । त्यसैले प्रयोगमा रहेको निमानवीकृत चरित्र भोगिँदो यथार्थ भन्दा अरु केही भन्न हामी सक्दैनौं । किनकि साहित्य जीवनको सापेक्षतामा अनुभूति र उहापोह पोख्ने–पजुल्याउने, तह–वहलाई व्यक्त गर्ने कला सिवाय क्यै होइन । व्यासको महाभारत, सफक्लीजको राजा इडिपस, समको प्रेमपिण्ड, शेक्सपियरको ह्यामलेट देवकोटा तथा होमरका कविता काव्य तत्परिवेशको जीवन नियात्राका टिपाइ हुन् भने पारिजात–कामु यसबाट कसरी अपवाद बन्न सक्छन् ?
सबै पात्रहरुमा समान कारणहीन स्थिति नैरास्यता पलाएको छ । कुनै न कुनै बिन्दुमा उनीहरुको वैचारिक साम्यता रहन्छ– ‘बाँचेर के गर्ने’ ? जीवन केही पनि होइन वा सब महाशून्य ! आवश्यकीय परिवर्तन चेत वर्ज्य भएको कथा परिवेश भएकाले सबैमा स्थिति शून्यबोध र त्यसैको निरन्तरता कथाभरि, चरित्रभरि र अभिव्यक्तिभरि छ । स्थितिग्रस्त जीवनका घटनाहीन पाटाहरु उपन्यासका जीवन दर्शन हुन् ।
उपन्यासयत्रीको विसङ्गति वरण सूत्रवद्ध छ । तर विरेचित स्थितिबाट संवेदना आग्रह भने पारिजातीय जीवन दर्शनले गर्दैन । किनकि कथा चरित्रहरुमा कसैको दुःख संप्रेषणवाट अन्यथा कुनै संवेदना पनि जाग्दैन र सो जगाउने आग्रह पनि निरर्थक ठानिएको छ । त्यसैले पाश्चात्य जगत्मा विरेचनको कारण ठानिने स्थिति विपर्यय र पारिजातको स्थिति ग्रस्ततामा समानता पाइँदैन, प्रगोगमा वेमेल पाईन्छ । प्रथममा संवेदना– संप्रेषणको अर्थमा स्थिति विगठनलाई सोचिन्छ, दोश्रो विगठित स्थितिको यथार्थतामा जीवनको जटीलता चित्रित गरिन्छ । यसै जटीलताको कारण त्यहाँ उपस्थित पात्रहरुमा अस्तिहीन यात्रावृति छ । त्यही क्रमले निरिश्वरता र विसङ्गतिलाई निर्माण गरेको हो । पात्रहरु कारणहीन खुला समाप्ति तिर अगि बढ्छन् । सुखबोध भ्रम संझिइन्छ । त्यसैले पारिजातीय कथासूत्रको अवश्यम्भाविताको एउटा तथ्य केवल निराशाजन्य उद्गमित मनोद्वेग हो । आपतमा रंगिनु परिभ्रमित होइन, वस्तु सत्य हो यस कोटीका विसंगतयात्रीका लागि आयतन टुटेको आधुनिकमा । तर शीरिषको फूलभन्दा वैंसको मान्छेमा त्यस दृष्टान्तलाई प्रष्टता प्राप्त छ । वरीको स्थितिक्रम र सुयोगको घटनाक्रम भन्दा स्यामोको निश्वार्थ–निसन्देह पुरुष–पुलिसप्रतिको वरण, तथा पिएन केटाको दैनदिनीले खुला समाप्तितिरको विसङ्गति यात्रालाई निसङ्कोच समाएको छ, शीरिषमा वरीमात्र प्रगाढ हो । अन्तस्थिति विश्लेषण होइन, विश्लेषित छ स्वयम् । जीवनका सबै अनुभवहरु पचाइसकेको मानिसले मनोदशाको प्रलयकारी व्यवधानमा स्वयम्लाई विश्लेषित पाउनुमा थाहा नै नपाई सबै शून्यको यात्रा गरिरहेका छन् भन्न सकिन्छ । त्यस शून्यको नकारात्मक्ताले विसङ्गति डोर्याएको छ र उपन्यासले शून्यवादको वरण गर्दछ । उनको वृतात्मक विसंगतिलाई हामी एउटा वृतक्रममा हेर्न सक्छौँ –
–विसङ्गति आवृति–
मृत्युवृति र सम्बन्ध परिवृतिलाई यसले वास्ता गर्दैन हैन, जीवनका धीमा स्वाद र मृत्युबोधको प्रगाढतामा अस्मेलिनु, आवृतिनु र अभिसप्तिनु सब स्थितिगत बेमेलका कुरा हुन् भन्न कर लाग्छ । विस्मयकारी वा संवेदित युनानी आदि त्रासदीय विपर्यले आरोप गर्ने कुरा यसले वर्ज्य ठान्छ । अतः यसलाई मानसतात्विक शृङ्खलाहीनताको उपक्रममा हेरिनु उपयुक्त हुन्छ । यो यथार्थ त्यसैले परिवर्तित जीवन बोधको प्रतिनिधित्व गर्ने क्रममा उपस्थित छ । भाषाको गौण भूमिका र लुप्त कार्यलाई यसले आफैं निधि ठानेको छ । तर संप्रेषणीयता र भावप्रवलता व्याकरणहीन भाषामा छ । अर्थहीन वाक्यको प्रयोग यदाकदा बाहेक हुन्न तर व्याकरणहीन वाक्यको भने विशिष्ट अस्तित्व रहन्छ । त्यसैले पारिजातीय पात्रहरु कार्यव्यापारमा रुग्ण मानसिकतालाई संप्रेषित गर्दछन् । अन्य पूर्वाग्रह र पीडावाट यी स्वतः विमुक्त नै रहन्छन् भने नैतिकता र निष्ठाप्रति सन्देह रहला र ? यथार्थ अनुराग यस कोटीका जटिल चित्रहरुले वरण गर्ने सार तत्त्व भने अवश्य हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।