संयोग

मैले महेशजीलाई कथाकारका रूपमा फेसबुकमा निकै अगाडि चिनेको हो । कथासङ्ग्रह ‘मरीचिका’को विमोचन प्रधानमन्त्री केपी ओलीबाट हुँदा म आमन्त्रित पनि थिइनँ । उपस्थित हुने मेसो पनि थिएन । तर एकदिन वरिष्ट कथाकार नारायण तिवारीसँग ‘मरीचिका’का बारेमा कुरा हुँदा भन्नुभएथ्यो — ‘बौद्धिक छन् महेशका कथा ।’

त्यसपछि सो पुस्तक पढ्ने मनसुवा भएथ्यो मेरो । तर म अमेरिकामा, पुस्तक नेपालमा । कसरी पो पढ्नु र ! यसै बिच ‘मरीचिका’ मदन पुरस्कारका लागि टप सेभेनमा छानियो भनेपछि मैले पढ्नै पर्ने भएको थियो । अमेरिका निवासी विमल अधिकारीले म नेपाल गएका बखत महेशलाई भेट्ने चाँजो मिलाइदिनु भएथ्यो । अनि म महेशजीको घर खोज्दै पुगेथेँ सानोठिमी । पुस्तक उपहार पाएँथेँ र बोकेर अमेरिका फिरेँथेँ ।

‘मरीचिका’

बाधा र प्रयोजन

महेशजीको कथासङ्ग्रह ‘मरीचिका’माथि पाठकीय दृष्टिकोण राख्न पनि ‘रिस्क’ छ । किनभने पाठक महेशजीको शारीरिक अवस्थाबाट द्रवीभूत हुने खतरा छ । मानवीय सम्वेदनाले पाठकीय सोचलाई तलवितल पार्न सक्छ । अर्को कुरा ‘मरीचिका’माथि अनेकौँ समीक्षा भएका छन् । ‘कविडाँडा राष्ट्रिय पुरस्कार २०७६’ पाइसकेको कृति हो यो । कर्णाली साहित्य समाज कृति पुरस्कार पनि ‘मरीचिका’कै नाममा घोषणा भइसकेको परिवेश हो यो । यस्तो गजधम्मे कृतिमाथि केही बोल्नु लेख्नु जोखिम मोल्नु हो । अर्को कुरा नेपालमा मात्र होइन होला सायद संसारभरि लेखकको शारीरिक अवस्थालाई मध्यनजर गरेर द्रवीभूत भएर सिम्प्याथी स्वरूप पुरस्कार, अभिनन्दन वा प्रशंसापत्र प्रदान गरिने चलन छ । र मान्छेले ‘मरीचिका’लाई महेशको शारीरिक समस्यासँग जोडेर हेर्ने पनि गरिहाल्छन् । ठिक कस्तो भने खुला प्रतियोगिताबाट छानिएको एउटा अब्बल जनजाति सेक्सन अफिसरलाई मान्छेले सोचिदिहाल्छन् कि ऊ आरक्षण कोटाबाट आएको हो । यदि यस्तो भनियो भने महेशलाई झन् कति दुःख लाग्ला । यसकारण म विशुद्ध एउटा पाठक भएको धर्म निर्वाह गर्न प्रयत्नरत हुन्छु यो बेला । त्यसैले यो आलेख समीक्षा होइन, पाठकीय नजरिया मात्र हो ।

व्यक्तिकृति 

वर्तमान नेपाली साहित्य जगतमा कथाकार महेश थापालाई नचिन्ने वा नाम नसुन्ने साहित्यिक मान्छे कमै होलान् । विसं २०३४ सालको पुस ९ गते हरिवन सर्लाहीमा पिता स्व भरत बहादुर थापा तथा माता शान्तिदेवी थापाको पुत्रका रूपमा जन्मेका कथाकार थापा हाल आमा, श्रीमती निशा शर्मा र छोरा शाश्वतसँगै सानो ठिमीमा बस्छन् ।

खेमराज पोखरेल (अमेरिका)

अर्थशास्त्रमा स्तातकोत्तर पढ्दा पढ्दै विसं २०६० देखि ‘मोटर न्युरोन डिजिज’ नामक गम्भीर रोगका कारणले सो तह पूरा गर्न नपाएका कथाकार थापा हाल अशक्त, अपाङ्गताको अवस्थामा छन् । हिँड्न, बोल्न, समाउन समस्या छ । आशिक रूपमा चल्ने दाहिने हातको दुई औँलाद्वारा अनस्क्रिन कीबोर्डको सहयोगमा लेखनलाई निरन्तरता दिइरहेका कथाकार थापाको पहिलो प्रकाशित रचना ‘मृत्युअधिकार आवश्यक’ निबन्ध थियो र यो निबन्ध २० मे, २०११ नगरिक दैनिकमा छापिएको थियो । प्रदीप नेपालको प्रेरणाले साहित्यमा लागेको भन्न रुचाउने कथाकार थापाका प्रकाशित कृतिमा ‘मरीचिका’ कथासङ्ग्रह २०७५ साङ्ग्रिला पुस्तक प्राली, ‘नमोनम’ व्यङ्ग्य २०७४ मञ्जरी प्रकाशन, ‘अल्पविराम (आत्मकथा) २०७० शमी सम, काठमाडौँ आदि रहेका छन् ।

उनले ’मरीचिका‘का लागि अनेसास सर्वोत्कृष्ट पुरस्कार २०२१, कर्णाली साहित्य समाज कृति पुरस्कार २०७६, कवि डाँडा राष्ट्रिय आख्यान पुरस्कार २०७५, २०७५ को मदन पुरस्कार सूचीमा परेको, बाह्रखरी कथा प्रतियोगिता २०७६ मा उत्कृष्ठ कथामा परेको, अल्पविरामको लागि तरेली मसी सृजना पुरस्कार २०७४, साहित्यिक योगदानका निम्ती नइ देरुनीख गौरव पुरस्कार २०७६, जस्ता पुरस्कारहरू पाइसकेका छन् ।

सम्पादन लेखनमा पनि त्यत्तिकै कलम चलाउने कथाकार थापाले हिमाल खबरपत्रिका (२०७०—७३) मा व्यङ्ग्य स्तम्भकार, सूचना सौगात साप्ताहिक सम्पादक, सर्लाही २०६०।६३, वातावरण बुलेटिन सेज नेपाल सर्लाहीमा सम्पादक २०५८ भएर काम गरेको अनुभव छ ।

पेसाले बुद्धिचाल खेलाडी रहिसकेका कथाकार थापाको साहित्यबारेको धारणा ‘हृदयको आँखा र कल्पनाशक्तिको बलले जीवन र जगतलाई पर्गेल्ने कोसिस गर्नु हो’ भन्ने रहेको छ ।

कथानक सार 

मरीचिका : कथासङ्ग्रहको शीर्षक बोकेकोे कथा हो मरीचिका । मरीचिकाको अर्थ सायद तीब्र प्यास होला । मृगले मरुभूमिमा भौँतारिएर पानी खोजिरहेझैँ प्यास होला । यो कथामा मान्छेको तिब्र प्यासलाई कथानक बनाइएको छ । यो कथा विज्ञानका उपलब्धिमाथि गहन र मानवीय समस्यामाथि लेखिएको हो । यसलाई ‘साइन्स्टिफिक फिक्सन’ भन्नु पर्ला । पुरु, उर्वसी र मेनका जम्मा तीन पात्र छन् । पुरु लोग्नेमान्छे हो । उर्वसी र मेनका महिलारोबोट हुन् । यिनीहरू बिचका शारीरिक र मानसिक सम्बन्धका वृतमा आएका मनोवैज्ञानिक र प्राविधिक उतारचढावमा कथा घुमेको छ ।

होड–२ : सीमा र क्षितिज जोईपोइ मुख्य पात्र हुन् । विश्वेश्वर प्रसाद कोइरालाको ‘होड’ कथालाई समयले दिएको जवाफको रूपमा आएको छ महेशको ‘होड–२’ प्रतिकथा । बिपीले ‘सब स्वास्नीमानिस त्यस्तै हुन्, शक्तिहीन, हृदयको अस्थायी उमङ्गमा बगीबगी हिँड्ने’ भन्ने मान्यतालाई पद्मा र पदम दुई जोईपोइका बिचमा मानसिक द्वन्द्व गराएर स्थापित गराएका थिए । यसको ठिक उल्टो महेशको ‘होड–२’मा ‘महिलाहरू पुरुषभन्दा आन्तरिक रूपमा बलिया र बफादार हुन्छन्’ भन्ने मान्यताको स्थापना सीमा र क्षितिज जोईपोइका बिचमा द्वन्द्व गराएर गरिएको छ । यो कथामा सीमा आन्तरिक रूपमा बलियी र बफादार छिन् । पुरुषपात्र क्षितिज आफ्नी स्वास्नी अरूसँग लाग्ने कल्पनासम्मले आतङ्कित भएको छ । ऊ त्रसित भएर होड हार्छ । यो कथाले समाज परिवर्तनको फड्कोलाई बोध गरेको छ ।

निम्तोपत्र : यो कथामा मूल पात्र हरिशरण शर्मा छन् । उनैको वृतमा कथा घुमेको छ । उनको छोराको बिहे छ । कथाको विषयवस्तु निम्तो कार्ड छाप्ने बारेको तर्कनामा छ । पैसा छ तर निम्तो कार्डमा कसकसको नाम राख्ने भन्ने दुबिधा छ । किनभने एउटी छोरीको छेत्रीसँग भागी बिहे भएको छ । यद्दपि टीकोटालो फुकिसकेको छ । तर बाहुनको बिहेको कार्डमा परिवार क्षेत्री ? आखिर सुपाडी बाँडिन्छ निम्तोमा । यो कथाले अन्तरजातीय बिहेको सामाजिक समस्या देखाएको छ ।

यात्रा : ‘म’ पात्र छ प्रमुख । ऊ अपाङ्ग, अशक्त र गम्भीर रोगी । गैर सरकारी संस्थाको माध्यमबाट आफ्नो रोग निदानका लागि युरोप जान्छ । युरोप जाने परिपञ्चका लागि गरिनु पर्ने लिगल, इलिगल काम गर्नु परेको छ । फ्रान्सबाट स्वीटजरल्याण्डको भ्रमण गर्दैछ र यही यात्राका पूर्वसन्ध्यामा उसले आमालाई चिट्ठी लेखेको छ । त्यो चिट्ठी नै कथाको मूल सार हो । त्यो चिट्ठीमा जीवनलाई एउटा यात्रा र परमयात्रामा देखाइएको छ । मृत्युबोध छ । मर्दै गर्दाका अवसरमा मृत्यु थाहा पाइसकेको पात्रले कस्तो मार्मिक पत्र लेख्ला, त्यो यो कथामा छ । यो पढ्दा जीवन के हो ? मृत्यु के हो ? इच्छामरण किन ? भन्ने जस्ता जटील विषयका छालभित्र पसिन्छ ।

अभयदान : एसएलसीमा हुने खुलेआम चोरीको वर्णनबाट कथा सुरुभएको छ । प्रमुख पात्र ‘म’ छ । त्यो दिन चोरी गराउन नसकेर म पात्र घर फर्किन्छ । ट्रकमा चढ्छ । पुलिसको फन्दामा पर्छ । ठिक यही बेला माओबादी द्वन्द्वको पीडा छ । जब मपात्रलाई लोकल भनेर पुलिसले चिन्छ, तव पुलिस आफैँ स्वात्त सकिन्छ र माफसमेत माग्छ । मपात्रलाई अभयदान पाएको महसुस हुन्छ । कथा सकिन्छ । यो कथाले तीन कुरा बताउन खोजेको छ । माओबादी आतङ्कको वातावरण, पुलिसको मनोदशा र नागरिकले भोग्नु परेको सास्तीको मिहिन मनोदशाको प्रस्तुति छ ।

अभीप्सा : मूल पात्र महिला हो । अझ केटी हो, र ऊ अर्को मूल पात्र एउटा प्रौढोन्मुख पुरुषसँग क्षेत्रपाटीको होटेलमा लपेटिएको अवस्थामा पुलिसबाट रङ्गेहात पक्राउ खान्छे । अब जगजाहेर छ, पुलिसको पुछताछ सुरुभएको छ । कथा यहीँबाट सुरुभएको छ । महिला पात्र वेश्या होइन । पुरुष पनि खली होइन । महिला पात्र हाकिम पुरुषको आइफोनबाट लोभिन्छे । यो लोभिने भनेको आधुनिक सुबिधा भोगको उत्कट अभीप्सा हो । ऊ पुरुषलाई फसाउन खोज्छे आइफोनका लागि । पुरुष उसको बैँसमा लोभिन्छ । उसलाई आधुनिक सुबिधा उपभोगको जालोमा बाँध्दै जान्छ । र एकदिन उनीहरू बिल्कुल स्वेच्छाले होटल पुग्छन् । यो सब थाहा पाएर पुलिसले उनीहरूलाई छोडिदिन्छन् । उनीहरू बाहिर निस्कन्छन् । महिला पात्र सावर्जनिक गाडी चढ्न खोज्छे – पछारिन्छे । यसको मतलब ऊ अब सुबिधा नभै बाँच्न सक्तिन भन्ने हो । याने सार्वजनिक गाडी विपन्नताको प्रतीक हो । सुबिधा बोकेको प्रौढ पुरुष ट्याक्सीमा आउँछ । रोक्छ । चढ्छे । यसको मतलब उसलाई त्यो सभ्रान्तताको प्रतीक प्रौढ नभै हुन्न । यो अभीप्साको पासोले समाज जकडिएको छ । पुलिस के गरोस् बिचरा ।

पुच्छर : ‘म’ र किचकन्ने प्रमुख पात्र छन् । उसका आमाबाबु र भूतपूर्व प्रेमिका राधिका गौण पात्र छन् कथामा । कथाकारको भनाइमा किचकन्या बजारतन्त्रको विम्ब हो । बजारले हामीलाई विकासको नाममा विनाश र प्रगतिको नाममा दुर्गतितिर डोर्याएको कथानक भएको बताउँछन् । हामी उल्टो हिँड्छौँ । यसकारण बजारमुखी कारणले उत्तर हिँड्दा दक्षिण हुँदै मानवीयता मरेर रकेट र प्लेनमा हिँड्न थालेका छौँ । रकेटमा हिँड्ने आधुनिक मान्छेको पुच्छर पलाएको देखाइएको हो । उनले बजारवाद र उपभोक्तावादी मानसिकताको चित्रण नै ‘पुच्छर’ कथा भएको बताएका छन् । यो कथाकारको बुझाइ हो ।

तर म एउटा पाठक भएर हेर्दा यो पुच्छर कथामा प्रयुक्त ‘म’ पात्र यो बजारमुखी जमानाको लोभी, कामी, आशक्त र वशीभूत मान्छेको बिम्ब हो । किचकन्ने यो संसारको विम्ब हो जसले सारा मान्छेको बल, वैँस, तुजुग, धनदौलत, जिम्मेवारी आदिआदिलाई चुसेर निकम्मा, लडिका र पत्रु बनाइदिन्छ । आमाबाबु विचरा याचक हुन् । यसरी त्रिकोणात्मक परिवेशभित्र कथा बुनिएको छ । यो युगका मान्छेहरू कथित उज्यालोका लागि किचकन्नेमा होमिन्छन् । आखिर किचकन्नेको स्वभाव नै नजानिँदो गरी मान्छेको रगत चुस्नु न हो । मान्छेहरूले एउटा नामको पुच्छर बोकेर हिँडेका छन् । आखिर उसको पुच्छर किचकन्नेको शोषणपछि झरेको छ । झरिनै हाल्छ । यो पाठकीय बुझाइ हो ।

द द द : ‘म’ पात्र छ प्रमुख । त्यसपछि थान ४ पराक्रमी एलियनहरू छन् । एक बाबु र तीन छोरा । उनीहरूको ग्यालेक्सीमा प्रविधिको प्रचुर विकास थियो । जगेडा संस्कृति थिएन । समानता थियो । आनन्द थियो । बाबु सुटुक्क पृथ्वी घुम्न आइपुगेको कथा छ । पृथ्वीमा सुर, नर र असुर थिए । पृथ्वीमा यी सुर, नर र असुरहरू ब्रह्माजीसँग ज्ञान सिक्दै थिए । ब्रह्माजीले ‘द द द’को थ्योरी बताइदिए । सुरलाई आफ्ना इन्द्रियहरू दमन गर, नरलाई दान गर र असुरलाई दया गर भन्ने ज्ञान दिए । एलियनले आफ्ना तीन छोरामध्ये एकलाई सुरको, अर्कोलाई नरको र तेस्रोलाई असुरको ज्ञान सिकाइदिए । सुरहरूले स्रोत साधनमाथि अधिकार जमाएर कब्जा गरे । फलस्वरूप त्यो ग्यालेक्सीमा पृथ्वीमाझैँ वर्ग विभेद सुरुभयो । वर्गविभेदका तीनवटा पर्खालहरू खडा भए । सुरले दमन नीति अपनायो । नरले असुरपट्टि फर्केर दान गराउन थाल्यो । सुरबाट केही पाइएला कि भन्ने आसमा रह्यो । यो वर्ग पेण्डुलम हुन पुग्यो । रोग र भोकले पिल्सिएर, अन्याय अत्याचार र दमनले कुल्चिएर गाँसको धपेडीमा थिचिएर मर्दै थिए असुरहरू । अनि असुरहरूले यो असमानताका लागि पहिले सुर र नर खलकलाई विनय गरे । याचना गरे । तर त्यो काम नलागेपछि विद्रोह बोले । विद्रोहले क्रान्ति ल्यायो । यसले शान्त र सुख बोकेको ग्यालेक्सी तहस नहस भयो । र ‘म’पात्रले एलियनहरूलाई सल्लाह दिन्छ कि त्यो विभेदको पर्खाल हटाइदेऊ । तिम्रो ग्यालेक्सीमा सब ठिक हुनेछ । कथा सकिन्छ ।

प्रेमको लाली ः मुख्य पात्रहरू मनसा, नीलिमा, सहायक पात्र आमा र वरुण । खासमा कथा मनसा र नीलिमाको मनोवैज्ञानिक सम्वादहरूकै वरिपरि घुमेको छ । सम्वादको मुख्य दुइटा धार छन् । दुवै आधुनिक युवती हुन् । तर जीवन बुझाइ फरक छ । नीलिमा आधुनिकताभित्र ‘अल्ट्रामोडर्न’ धारको प्रतिनिधित्व गर्छे भने मनसा आधुनिकताभित्र परम्परागत धारको प्रतिनिधित्व गर्छे । यो दुइटै धारमा प्रेम अपरिहार्य छ । नीलिमा आफ्नो जीवनमा ‘इन्जोय’वाला फर्मुला अपनाउँछे र ऊ जीवन जगतलाई चिन्छे । मनसा ‘आत्मीय’वाला फर्मुला अपनाउँछे र जीवनजगतलाई चिन्छे । मनसा एउटा अद्वितीय पुरुषको पर्खाइमा छे तर सनैसनै ऊ वरुणको सम्मुख पुग्छे । पग्लन्छे । वरुण अपाङ्ग भएको थाहा पाएपछि मनसामा आएको प्रेमको लाली ओह्रालो लागेको छ ।

पलायन ः मुख्य पात्र छन् ‘म’ र विनोद । सहायक पात्र सिताराम बाजे, विनोदकी श्रीमती र छोरो । विनोद दलित पात्र हो । उसले आर्थिक तरक्की गरेको छ । समाजमा कानुनत जातिप्रथा हटिसकेको छ । तर सामाजिक विडम्वना, विनोद परिवेशजन्य सामाजिक दलित विभेदको मनोविज्ञानबाट गुज्रेको छ । यो सामाजिक मनोविज्ञानले गर्दा ऊ जतिसुकै सम्पन्न भए पनि पलायन हुन्छ । अष्ट्रेलिया पस्छ, जहाँ जातिवाद छैन । यो कथाले नेपालमा कायम रहेको मनोवैज्ञानिक जातिगत विभेदलाई मजाले प्रष्ट्याएको छ ।

क्रान्तिको पोको ः प्रमुख पात्र छिन् सुनाखरी । अर्को छ माओवादी कमाण्डर । सरकारी र माओवादी आतङ्कले मान्छेको बिउ जोगाउनै पनि गाउँका लोग्नेमान्छे भारततिर भागेका छन् । यो कथाले माओवादी द्वन्द्वकालको विद्रुप दृश्य देखाएको छ । माओवादी कमाण्डर सुनाखरीको घरमा जान्छ । उसको ससुरोसँग बसेर भात खान्छ । र एउटा पुरानो हँसिया हथौडा अङ्कित कपडाले मोरेको पोको सुनाखरीलाई राख्न दिन्छ । त्यो पोको एकाएक हराउँछ र पोको हराएको बहानामा कमाण्डरले बन्दुक देखाएर सुनाखरीको वलात्कार गर्छ । सुनाखरीले पेट बोक्छे र कमाण्डरले वीरगञ्ज पुर्याएर गर्भपतन गराउँछ । र कथाको अन्त्यमा एउटा भेद खुल्छ कि त्यो क्रान्तिको पोको कमाण्डरकै झोलाबाट फ्यात्त खस्छ । र अर्को भेद खुल्छ कि त्यो क्रान्तिको पोको देखाउँदै गाउँभरिका महिलालाई बन्दुक देखाएरै वलात्कार गरिआएको रहेछ । विद्रुप रूप ।

धर्मो रक्षति रक्षित ः पात्र छ ‘ऊ’ । ऊ भर्खरको केटो हो । घुसबिरोधी । उसले आफ्नो घरमा बिजुलीको मिटर जडान गर्नु छ । यो क्रममा उसले खाएका सास्तीहरू मजाले व्यक्त भएका छन् । उसले अफिसमा दिइने घुसका विरुद्ध विद्रोह गरेको छ । तर अन्त्यमा विचरो ऊ एउटा धार्मिक कहलिने ठगबाट ठगिन्छ । ऊ यसको पनि बिरोध गर्छ तर जनमानस उसलाई नास्तिक भनी कुट्छन् र अन्त्यमा ऊ ‘बचाऊ भगवान’ भनेर भाग्छ । कथा सकिन्छ । यो कथाले नेपालमा मौलाएको घुसप्रथाको त निदान हुनसक्छ तर धार्मिक अन्धविश्वासका आधारमा चलेको अवैद्य धन्दाको के उपाय छ भनी प्रश्न उठाएको छ ।

दाउ ः दाउमा तीन मुख्य पात्र छन् । रामध्यान, कुसा र मास्टर । यो कथा कथाशिल्पीको बेजोड नमूना हो । कथानकअनुसार मास्टरले जुवा मार्छन् । रामध्यान लोभिन्छ । फेरि रामध्यान र मास्टर जुवा खेल्न थाल्छन् । जुवामा रामध्यानले उसकी श्रीमती कुसालाई थाप्छ । मास्टरले त्यो पनि मार्छन् । कुसाले रामध्यानलाई मार्छिन्, र मास्टरसँग जान्छिन् र मास्टरलाई पनि मार्छिन् । कथाको केन्द्रीय सन्देश जम्मा एक हरफ छ ः ‘किन पिर गर्छौ ? न त तेल्ले जित्यो, न त तिम्ले हार्यौ । कैलेसम्म तिमी लोग्नेमान्छेले मात्रै हाम्लाई दाउमा राख्ने ? भगवानले मलाई एउटा मौका दिए, मैले नि एक दाउ खेलिहेरेँ ।’ यो कथामा पुरुषवादी समाजले महिलालाई निजी सम्पत्तिसरह ठान्ने प्रवृतिमाथि अचम्मको विद्रोह गरिएको छ ।

कल्पभिर ः राधिका र उनको छोरो वैभव मुख्य पात्र । कल्पभिरमा गएका वैभवका पिता फर्केनन् । गरिबी र संघर्षको कथा हो यो । कल्पभिर जीवन सङ्घर्षमा आउने बाधाको प्रतीकको रूपमा आएको छ । कल्पभिरको कठोर चढाइपछि वैभवले जीवन बुझेको छ । जीवनका उकालाहरूका कहरहरूको भेउ पाएको छ । ऊ उरन्ठ्यौलो परिवेशबाट निस्किएर जीवन सङ्घर्षको बाटोमा लागेको छ । यो नै कथाको सार हो ।

मोबाइल ः मुख्य पात्र समर र उत्पला । पहाडको एउटा गाउँबाट परिवारसँग सम्बन्ध तोडी समर र उत्पला काठमाडौँ जान्छन् । विस्तारै सङ्घर्ष गर्दै पढ्छन् । जागिर खान्छन् । अब उनीहरू दुवैसँग अलग अलग मोबाइल छन् । मोबाइलले दुवै जोईपोइलाई शंकालु बनाइदिएको छ । यो शंकाले जीवन नर्क बनाइदिएको छ । यो नर्कले उनीहरूलाई अर्कै बाटो खोज्न अनुभूत गराएको छ । कथा सकिएको छ ।

अपहृत हाँसो ः प्रमुख पात्र ‘म’, नारायण बाबु र लाटो । यो कथा लाटोको मनोविज्ञानका वरिपरि घुमेको छ । नारायण बाबुले लाटोलाई बिहे गरिदिन्छु भन्दै काममा जोताएका छन् । उसको सम्वेदनालाई पनि शोषण गरेका छन् । ‘म’ पात्र लाटोको पीडा बुझ्छ तर बुझ्दाबुझ्दै लाटो आफ्नो जीवनबाट हाँसो हराएको अवस्थामा पुग्छ । किनभने उसको बिहे हुने कुनै सम्भावना थिएन । यो कथा लाटोको भावनामाथि खेलवाड गर्ने सद्दे ठानिएका मानिसहरूको अमानवीय दृष्टिकोणमा व्यङ्ग्य गर्न सफल छ ।

भाषिक पक्ष 
‘मरीचिका’ कथासङ्ग्रहमा कथाकारको भाषिक दक्षता टडकारो भएर आएको छ । भाषामा दुरुहपन छैन । सरल छन् तर गहन छन् । बोधगम्य छन् तर दर्शन बोक्न सक्छन् । कथाकारको मधेस र पहाड बसाइका अनुभवबाट सिर्जित भाषा यहाँ प्रयुक्त भएको छ । विशेषत कथामा ठेट शब्दको चयन भएको छ । मधेसी स्थानीयताका लवजहरू भरपुर आएका छन् । सम्वादमा कथ्य भाषाको प्रयोगले सुनमा सुगन्ध थपेको छ । जुन उमेरको मान्छेले बोल्ने भाषा हो, त्यो मिठोसँग उजागर भएको छ । र समग्रमा भाषाले कथालाई उम्दा बनाएका छन् ।

कथ्यविधान 
खासमा हरेक लेखकले आफूले भोगेको, देखेको, सुनेको, बुझेको, पढ्को र दिमागले सोचेको र अनुभूत गरेका विषयवस्तुहरूलाई नै साहित्यिक जलप लगाएर कृति जन्माउने हो । यो सत्यलाई मध्यनजर गरेर हेर्दा कथाकार महेशका ‘मरीचिका’भित्र समेटिएका कथाहरू पनि उनकै जीवनका अनुभूत पक्ष हुन् भन्न सकिन्छ । उनी मध्यमवर्गीय परिवारमा जन्मे, कथामा मध्यमवर्गीय समस्या ओइरो लागेको छ । उनी समाज परिवर्तनका लागि राजनीतिमा होमिए, कथामा अग्रगामी चेत आएको छ । अन्तरजातीय विवाह गरे, कथामा त्यो सामाजिक पीडा आएको छ । प्रेम विवाह गरे, कथामा प्रेम छचल्किएको छ । चेस खेलाडी भएर देश परदेश घुमे । देखे । अनुभूत गरे । कथामा विदेश वर्णन सशक्त बनेको छ । दुर्भाग्य उनी मोटर–न्यूरोन–डिजिजको शिकार भए, कथामा त्यो तहको जीवन बुझाइ र मृत्युबोध, दिग्दारीभाव र इच्छामरणका कुराहरू आएका छन् । कथामा आमाको माया र त्याग आएको छ, त्यो उनको जीवन हो ।
यसकारण उनी विज्ञानका सूत्रहरूले जन्माएका मानवीय सम्वेदनात्मक परिस्थितिजन्य समस्याहरूमा कथाभित्र रुमलिन्छन् । महिलाको पराक्रम नियाल्छन् । अघोषित सामाजिक बहिस्करणको चुरो खोज्छन् । माओवादी द्वन्द्वलाई नजिकबाट नियालेर त्यसको विद्रुप रूप पाठकमाझ पस्किन्छन् ।

समयको प्रताडनले दिएको तोडमा नियमकानुनमा भन्दा जब्बर ईप्सा खोज्छन् । यो संसारका समग्र वस्तुहरू प्राप्ति गर्ने लहड र परिवेशलाई कथामा रगत चुस्ने किचकन्नेको प्रतीक बनाउँछन् । आर्थिक, सामाजिक विभेदका विरुद्धमा जाइलाग्छन् । विषयवस्तुमा प्रेम छन्, माया छ, दया छ, चेतना छ । अघोषित सामाजिक वहिस्करणको कारणले विदेश पलायन भएको कथा छ । धर्मभिरु समाजको समस्या भएको चेत उनमा छ । महिलालाई व्यक्तिगत सम्पत्ति ठान्ने पुरुषवादी सोचमाथि प्रहार छ । जिन्दगीका उकाली ओह्रालीहरूमा आइपर्ने सङ्कट र सङ्घर्षका तोडहरू व्यक्तिएका छन् । भौतिक वस्तुको लालसाले परिवार छिन्नभिन्न भएको यथार्थ पस्किएका छन् । लाटो र अपाङ्गको सम्वेदनामाथि प्रहार गर्ने सामाजिक भावशुन्यतामाथि दुःख मानेका छन् ।

यसरी ‘मरीचिका’ भित्र सङ्गृहीत १६ थान कथाहरूले मानवीय, सामाजिक, राजनीतिक, आर्थिक, वैज्ञानिक तथा जीवनजगतका विविध विषयवस्तु समावेश भएको पाइन्छ । एउटै कथासङ्ग्रहमा धेरै स्वाद पाइन्छन् । यसरी हेर्दा कथ्यविधान तार्किक छ ।

पात्रविधान ः

पात्रविधान संगठित छ । अनावश्यक पात्रको प्रयोग भएको छैन । सकभर एउटै पात्रको घेरालाई परिक्रमा गरिरहन्छ कथानकले । यसलाई कथामा पात्र प्रस्तुतिको चातुर्य पनि भन्न सकिन्छ । अधिकांश कथाहरू ‘म’ पात्रका वरिपरि घुम्छ ।

रूपविधान ः

कथाकार महेश थापाको ‘मरीचिका’मा बुनौटको शिल्पमा निखार आएको छ । कथानकलाई लघुकथामा जस्तो कुतूहल र हठात अन्त्य गर्न खप्पीस देखिन्छन् कथाकार । साइन्स्टिफिक फिक्सन भन्न पर्छ एकआध कथालाई । खासगरी शीर्षक बोकेको कथा ‘मरीचिका’ पूर्ण साइन्स्टिफिक फिक्सन हो । यसको बुनौट निकै सुन्दर छ । चमत्कारिक र सुगठित छ । कथासङ्ग्रहभित्र रहेका अन्य कथाहरू रचना गर्दा कथाकारले बुनौटको सुन्दरता र विशेष शिल्प देखाएका छन् ।

प्रयोजनविधान ः

यद्यपि साहित्य लेखनको प्रयोजन अग्रगामी दृष्टिकोण पस्किनु नै हो । यसका पनि अनेकौँ काइदा र शैली हुन्छन् । ‘मरीचिका’को प्रयोजन सुन्दर संसारको निर्माण नै हो । यसकालागि कथाकार महेशले दर्शनका सूत्रलाई पनि आधार मानेको देखिन्छ । कथा लेखनको प्रयोजन समाजमा भएका अनेकन विसङ्गतिहरूलाई केलाउनु, सुधार गर्नु, सुध्रिनु हो । जीवनलाई बुझ्नु बुझाउनु हो । यो कार्यमा ‘मरीचिका’ निकै सफल छ ।

पाठकको नजरियामा ‘मरीचिका’

यो ‘मरीचिका’ सुन्दर कृति हो । यसो भनिरहँदा यो कृति अवगुणबिहीन हुन सक्दैन । अझ के भनूँ भने संसारमा कुनै पनि वस्तु प्रश्न रहीत हुन सक्दैनन् । पाठकका नजरिया र चेतअनुसार कथामा पाइने स्वाद पनि फरक फरक हुनजान्छ । बोध पनि फरक हुनजान्छ । त्यसो भएकाले यो कथामा पाठकले धेरै आशा पनि गरेका हुन्छन् । मूलत पाठकलाई ‘मरीचिका’मा पनि केही कमी महसुुस भएको छ । ती केलाउनु समालोचनाको नवीनतम धारा मोडर्न एप्रोचले लेखक तथा पाठकको सम्बन्धलाई स्थापना गर्दछ । नत्र त समीक्षा स्तुति बन्ने खतरा हुन्छ । तिनलाई बुँदामा उल्लेख गरिएको छ ।

विद्रोहको अभाव ः कथासङ्ग्रहभित्र समेटिएका १६ थान कथामा प्रशस्तमात्रामा सामाजिक, आर्थिक, राजनीतिक, मानविक तथा जीवनका अनेक पाटामा विसङ्गति, अभाव, अन्याय, अत्याचार, बेथितिहरू देखाइएको छ । ती बेथितिहरूको निकास के भन्ने बारेमा कथा प्राय मौन छन् । एकआध विरोधजस्तो देखिने घटना देखिए पनि विद्रोह र क्रान्ति कथाहरूमा छैनन् । त्यो भएको भए सुनमा सुगन्ध हुने थियो भन्ने पाठकहरूलाई लागेको छ ।

निबन्धात्मक शैली ः कथा बुनौटको शैली निबन्धात्मक देखिएको छ । याने कि निजात्मक शैलीमा लेखिएको छ । कुनै कथाहरू त कथाभन्दा निबन्धका छेउमा पुगेका छन् । जसले गर्दा कथा घटनाको सपाट वर्णन जस्तो लाग्दछ । ‘म’ पात्र जताततै हाबी भएको छ । तर म पात्रले अग्रगामी भूमिका खेल्न सकेको छैन । निरीह र याचक देखिन्छ म पात्र ।

कथानक बुनौटमा अस्वाभाविकता ः भाषाका चातुर्यले निम्छरो कथावस्तुलाई पनि मिठो बनाउने प्रयास छ । त्यो खालको भाषिक शिल्पमा गतिलो कथानक पनि हुन पाएको भए गजब हुन्थ्यो । सबै कथाका कथावस्तु एकैनासका जोदाहा छैनन् । कथानक बुनौटमा दुरुहता देखिन्छ ।

प्रतीक र विम्ब जटील ः कथामा प्रयुक्त प्रतीक र विम्ब जटील देखिन्छन् । जसले गर्दा कथालाई दुरुह बनाएको छ । पाठकदीर्घाबाट लगातार आइरहेको प्रतिकृया के हो भने मरीचिकाका अधिकांश कथाहरू अबोधीय छन् । खासगरी दाउ, ददद, मरीचिका आदि कथा दुरुह मानिएका छन् ।

समाजिक चिन्तनको कमी ः समाजमा नवचेतन र अवचेतनका बग्रेल्ती समस्याहरू छन् । समाजलाई गहिरिएर चिन्तन नगरी तिनलाई पर्गेल्न दुरुह हुन्छ । ‘मरीचिका’ कथामा पनि पर्याप्त चिन्तन देखिन्न । यसको कारण उनको शारीरिक अक्षमता हुन सक्छ । समाजका दर्पदर्पमा प्रवेश गरी आँखाले देखेर बनाएको धारणा बढी ओजपूर्ण हुन्छ । त्यसो भएकाले आफ्नो जीवनमा पहिले नै प्रभाव पारेका घटनालाई प्रक्षेपण गर्नु पर्ने बाध्यता कथाकारलाई छ । तथापि उनका निजी सामाजिक जीवनका अनुभव भने मजाले मुखरित भएका छन् ।

बिट मरौनी 

एक हरफमा भन्दा कथाकार महेश थापाको यो ‘मरीचिका’ कथासङ्ग्रह अब्बल छ । यो अब्बल छ भन्ने कुरा समाजका अनेकन अडबाङ्गे कसीमा खरो उत्रिसकेको छ । यसमा तलमाथिको कुरा नै छैन । बरु म के भन्छु भने यो कथासङ्ग्रहलाई कथाकार महेश थापाको व्यक्तिगत अवस्थासँग दाँजेर मरीचिकाको गुणवत्तालाई ‘सिम्प्याथी’ देखाउनु पर्ने कुनै अवस्था छैन । बडेबडे जब्बर नाम चलेका कथाकारका कथाका हारमा यो मरीचिकालाई उभ्याउँदा खरो उत्रेकै छ । उत्रिने छ । बरु मैले भन्न खोजेको कुरा के हो भने कथाकार महेश थापाको शारीरिक कुरा र कथाभित्रको गुदीको प्रखर स्वादलाई नमिसाइयोस् भन्ने हो । यदि मिसाइयो भने अनर्थ हुन्छ ।

र अब हे मरीचिका ! हे महेशजी !! के भनूँ ? म फ्यान भएको छु । आफूलाई पनि लोभ लागेको छ कि त्यस्ता कथा लेखूँ । तर उफ, प्रज्ञा त्यति सजिलो कहाँ छ र ? प्रज्ञादीप्ति सबैलाई कहाँ प्राप्त हुन्छ र ? र कथाकार महेश थापामा यो प्रज्ञा उज्वल भएर सदा बलिरहोस्, शुभकामना छ ।