नेपाली भाषा र साहित्यको संवर्द्धन र विकासमा सिक्किमको ठुलो योगदान रहेको छ । यहाँबाट विभिन्न साहित्यकारका विभिन्न कृतिहरू प्रकाशित भइरहन्छन् । सिक्किम सरकार पनि नेपाली भाषा र साहित्यको संवर्द्धन र प्रवर्द्धनमा अघि आएको देखिन्छ । यहाँबाट साहित्यिक कृतिका अतिरिक्त साहित्यिक पत्रिका प्रकाशन, साहित्यिक गोष्ठी, मासिक भेला इत्यादि सम्पन्न भइरहन्छन् । यसो हुँदा सिक्किममा साहित्य सिर्जना गर्ने परिवेश छ । निर्माण प्रकाशनले भारतीय नेपाली साहित्यिक पुस्तक प्रकाशनमा ठुलो दायित्व लिएको छ । आजसम्म यसले धरै नेपाली पुस्तकहरू प्रकाशित गरेको छ । सिक्किममा नेपाली साहित्य परिषद्,गान्तोक, पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ, सिक्किम अकादमी आदि साहित्यिक-भाषिक सङ्गठनहरूले त्यहाँका साहित्यिक प्रतिभाहरूलाई टेवा दिने काम गरिरहेछन् ।
सन् १९४६-४७ तिर गान्तोकका विशेष चार जना शिक्षकलगायत अन्य केही व्यक्तिहरू मिली साहित्यिक चर्चा गर्थे । उनीहरू प्रत्येक शनिबारका दिन विशेष गरी चार जना मिली साहित्यबारे कुरा गर्थे । त्यहाँ तुलसीबहादुर छेत्री चाहिँ साहित्यमा निकै रुचि लिन्थे । उनले नै आफ्ना साथीहरूलाई छुट्टीका दिन पारेर आफ्ना आफ्ना रचना तयार पार्न लगाउँथे । कसैले कविता कसैले कथा, इत्यादि रचना सनाउने क्रम चल्न थाल्यो । त्यहाँ अरू साहित्यमा रुचि राख्ने व्यक्तिहरू पनि भेला हुन थाले । त्यस मासिक भेलामा अगमसिंह तामाङ, पदमसिंह सुब्बा, तुलसीबहादुर छेत्र, निमावाङ्दी तार्गेन, रामदत्तलाल ठाकुर, शिवप्रसाद मिश्र, सन्तवीर लिम्बू, काशीराज प्रधान इत्यादि जुट्ने गर्थे । त्यसैको फलस्वरूप अपतन साहित्य परिषद् गठन भएको भन्ने भनाइ छ ।
प्रस्तुत लेखमा सिक्किममा मासिक रूपमा सञ्चालित साहित्यिक भेलाहरूको सर्वेक्षण मात्र गरिएको छ । यस्ता मासिक भेलाहरू औपचारिक साहित्यिक संस्था नभई अनौपचरिक, असङ्गठित साहित्यिक कार्यक्रमहरूबारे खोजी गरिएको छ । यस्ता खाले मासिक साहित्यिक भेला कार्यक्रमहरूले नै सिर्जनाको परिवेश निर्माण गर्नमा मोबिलको काम गर्दछ । यसले उत्साहको ऊर्जा र मञ्च प्रदान गर्दछ । यस्ता खाले साहित्यिक भेला कार्यक्रमहरूमा बसिबियाँलो, गान्तोक, बसिबियाँलो सिङताम, प्रतिभा मिलन, गान्तोक, गोरेटो बिसौनी, पाकिम, प्रतिभा मञ्च, रिनाक, चौतारी नाम्ची, साहित्य सन्ध्या, जोरथाङ, विचार कला सङ्गम, गान्तोक आदि प्रमुख रूपमा देखिएका छन् । यीबाहेक नाम्ची, पाकिम र अन्य केही स्थानतिर पनि हुन सक्छन् जसको जानकारी पाइएको छैन ।
१. बसिबियाँलो, गान्तोक- यस किसिमको मासिक साहित्यिक जमघट सन् १९९१ देखि सुरु भएको गान्तोकको बसिबियाँलो हो । सुवास घिसिङको नेतृत्वमा रहेको पहिलो गोर्खाल्यान्ड आन्दोलनले पहाडको सामाजिक जीवनमा अराजकता, असमञ्जस स्थिति ल्याई सांस्कृतिकलगायत साहित्यिक क्षेत्रमा नैराश्य ल्यायो । हाम्रा कवि-लेखकहरूलाई अर्कै नजरले हेरिन्थ्यो । यसो हुँदा उनीहरू कि त लेख्न छाड्नुपर्थ्यो, कि त यहाँबाट पलायन हुनुपर्थ्यो । कालिम्पोङ-दार्जीलिङका कतिपय कवि-लेखकहरू गान्तोकमा भेला भई हिमाली बेला पत्रिका कार्यलयमा साहित्यिक चर्चा गर्थे । तिनै लेखकहरू मिली एउटा साहित्यिक जमात सुरु गरेका थिए । मूल रूपमा बुद्धिमान् प्रधान बमप, सी.के. श्रेष्ठको नेतृत्वमा सञ्चालित बसिबियाँलो कार्यक्रमले धेरै लोकप्रियता हासिल गरेको थियो । सी.के. श्रेष्ठको प्रमुख नेतृत्वमा १४ प्रकरणसम्म चलेपछि बाँकी प्रकरण चाहिँ बद्धिमान् प्रधान बमपले सञ्चालन गरेका हुन् भन्ने जानकारी पान्छ । यसले नियमित ३४ औँ प्रकरण पूरा गरिसकेको थियो । त्यस अनौपचारिक र अघोषित साहित्यिक संस्थाले सिक्किममा साहित्यिक परिवेश निर्माण गर्न ठुलो भूमिका खेलेको छ । नयाँ र पुराना सबैका लागि खुल्ला रूपमा साहित्यकारहरूले आआफ्ना पाठपठन गर्थे । पछिबाट गान्तोकमा ‘भारतीय नेपाली राष्ट्रिय परिषद्’ गठन भएपछि चाहिँ यसका मूल योजनाकार सी.के. श्रेष्ठ त्यसमा व्यस्त हुँदा बसिबियाँलो कार्यक्रम १९९९ सालमा सधैँभरिलाई स्थगित हुनपुग्यो । त्यसको केहीपछि त्यही आचारसंहिता र परिपाटिमा तिनै सदस्यहरूले कालिम्पोङमा बसिबियाँलो सुरु गरेका हुन् ।
२. बसिबियाँलो सिङताम- सन् १९९१ देखि सुरु भई बिचमा बन्द भई पुनःसञ्चालन भएको सिङताम,सिक्किमको बसिबियाँलो पनि महत्त्वपूर्ण साहित्यिक भेला कार्यक्रम हो । यसका मूल संस्थापक, परिकल्पनाकार र मूल स्तम्भ मोहन प्रधान नीरज हुन् । हालमा यसका नियमित ५०–६० जनाको टोली रहेको छ । यसको सदस्यताका निम्ति कुनै शुल्कराशि राखिएको छैन औ औपचारिकता पालन गर्नु पर्दैन । यस कार्यक्रममा आफ्नो इच्छाअनुसारले पालैपालो एक-एक जना गरी घरबेटी बनेर उक्त कार्यक्रमका निम्ति चिया-चमेना प्रदान गर्नुपर्दछ । यस बसिबियाँलो कार्यक्रमको मूलोद्देश्य साहित्यलगायत विभिन्न कलाका प्रतिभाहरूलाई सम्मान-अभिनन्दन,संवर्द्धन र समाजमा लुकेर बसेका प्रतिभाहरूलाई खोजी-निकाल्नु रहेको छ । बिचमा स्थगित भएता पनि २० औँ प्रकरणदेखि भने अटुट रूपमा सञ्चालित रही हालसम्म ७३ औँ प्रकरण पार गर्दै छ । यसमा हुने अभिनन्दनको खर्च भने अधिकांश मोहन प्रधान नीरज आफैँले बेहोर्ने गरेको थाहा पाइन्छ । यसका केही प्रमुख सल्लाहकारमा टी.बी. प्रधान, सी.पी. प्रधान, जयश्री छेत्री, चक्रपाणि भट्टराई, शीतल प्रधान आदि हुन् भने अन्य लेखक र उपस्थित साहित्यानुरागी व्यक्तिहरूमा बिन्देश्वरी प्रसाद, विजयकुमार सुब्बा, वीणाश्री खरेल, दीपा राई, चुनीलाल घिमिरे, सी.पी. गिरी आदि हुन् । यसले दोस्रो विश्वयुद्धका एक योद्धा ९८ वर्षीय पदमबहादुर गुरुङ, भाइचुङ भाटिया, शीतल प्रधान आदिलाई अभिनन्दन गरेको छ । जुलाई भानु जयन्ती प्रकरण, अगस्टमा स्वतन्त्रता दिवस प्रकरणका रूपमा मनायो । सितम्बरमा शिक्षक दिवस प्रकऱणको रूपमा मनाउने यसले गत वर्षको डिसेम्बरको अन्तिम आइतबार स्वर्ण प्रकरण अर्थात् ५० औँ प्रकरण धुमधामले मनाएको छ ।
३. गोरेटो- बिसौनी, पाकिम– १९९२ सालदेखि नै पाकिममा गोरेटो बिसौनी नामक मासिक साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आइरहेछ । यद्यपि यसलाई संस्थागत रूप दिने क्रममा सन् १९९४ सालमा सिक्किम प्रतिभा प्रतिष्ठान नामक साहित्यिक संस्था गठन गरिएको हो । यद्यपि यो कार्यक्रम नियमित रूपमा नभई बिसाउँदै बिसाउँदै सञ्चालन हँदै अहिलेसम्म ४९ औँ प्रकरणसम्म पुगेको छ । यसले आँच- छ अङ्कसम्म गोरेटो बिसौँनी नामक आफ्नो मुखपत्र समेत प्रकाशित गरेको छ । यसका केही प्रमुख कार्यकर्ताहरू र सहभागीहरूमा ध्रुव लोहागन, चन्द्रप्रकाश रिजाल यात्री, टी.पी. सिंह पौड्याल, भक्ति शर्मा, टीकाराम शर्मा, राजेनचन्द्र शिवाकोटी, देवीप्रसाद अधिकारी, जीवन पौड्याल, महानन्द पौड्याल, डी.आर. गुरुङ आदि हुन् । वार्षिक रूपमा १३ जुलाईको दिन भानु-जयन्ती समारोहपूर्वक मनाउनु, विद्यार्थीहरूलाई साहित्यप्रति रुचि जगाउनु, जनमानसमा भाषा- साहित्यको लोकप्रियता बढाउनु यसको मुख्य उद्देश्य देखिन्छ ।
४. प्रतिभा मिलन, गान्तोक- अर्को महत्त्वपूर्ण र सबैभन्दा ठुलो साहित्यिक जमघट हुने ठाँउ हो गान्तोकमा सञ्चालन हुने प्रतिभा मिलन कार्यक्रम हो औ यसले विशिष्ट साहित्यिक योगदान दिएको छ । वरिष्ठ र कनिष्ठ दुवै खाले साहित्यिक प्रतिभाहरूलाई मिलन गराउने मूलोद्देश्य लिएको यस साहित्यिक भेला कार्यक्रम २८ अगस्ट, २००५ देखि अटुट रूपमा सञ्चालन भइ ७६ औँ प्रकरण पूरा गरिसकेको छ । यसका मूल परिकल्पनाकार मुख्य संयोजक अमर बानियाँ लोहोरो र अर्का संयोजक चन्द्र दुलाल हुन् । यस कार्यक्रममा औसत १५०-२०० जना अथवा थोरैमा पनि २५–३० जना कवि-लेखक र अन्य साहित्यानुरागी भेला हुने गर्छन् । यसले ओझेलमा परेका विभिन्न क्षेत्रका प्रतिभावान् कलाकारलाई अभिनन्दन-अभ्यर्थना गर्ने गरेको छ । यसले प्रथममा क्रिबु संयमीलाई सम्मान गरेको हो भने अहिले प्रत्येक महिना तीन-तीन जनालाई अभ्यर्थना गरिरहेछ । यसरी सम्मानित हुनेहरूमा होमनाथ मिश्र, भुवनेश्वर बरुवा, अर्जुन पीयूष, डिल्लीप्रसाद अधिकारी आदि हुन् । यसका नियमित कवि-लेखकहरूमा प्रा. तेजमान बराइली, भीम ठटाल, शेरबहादुर कार्की, बी खेवा, रूपेश शर्मा, अर्जुन यावा इत्यादि हुन् । यसले असम, मेघालय, दार्जीलिङ, सिक्किमका केही साहित्यिक प्रतिभाहरूलाई डाकेर पनि कार्यक्रम सञ्चालन गरेको छ । यसले अहिलेसम्म प्रतिभा मिलन नामक वार्षिक-पत्र प्रकाशित गरिसकेको छ । यस कार्यक्रममा कविता, कथा, निबन्ध, संस्मरण आदि वाचनलगायत वर्तमान साहित्यका गतिधारा-स्थिति विषयमा समय-समयमा वार्ता, पुस्तक-पत्रिका र अडियो क्यासेट-सिडी विमोचन, गायन, पनि प्रस्तुत गर्दछ । हालमा कतिपय कारणवश यो कार्यक्रम स्थगित भएको छ । हालैमा गत २८ तारिख अप्रेलदेखि यही कार्क्रमको पुनःसञ्चालन भएको सुखद खबर पाइयो । यद्यपि अबदेखि यस कार्यक्रमको शिरोभार भने नेपाली साहित्य परिषद्ले लिएको छ भन्ने सुनियो जो स्वागतयोग्य छ । अब चाहिँ यो अटुट रूपमा सञ्चालन भइरहोस्, गतिरोध नआओस्, प्रतिभाहरू अझै जन्मून्, सिक्किम नेपाली साहित्यको एउटा केन्द्रभूमि बनोस् भन्ने कामना छ ।
५. चौतारी, नाम्ची– दक्षिण सिक्किम साहित्य सम्मेलन, नाम्चीको तत्परतामा २०१० को सितम्बर-अक्टोबरदेखि नाम्चीमा पनि चौतारी नामले मासिक साहित्यिक भेला कार्यक्रम सञ्चालन हुँदै आएको थाहा पाइन्छ । प्रत्येक महिनाको पहिलो आइतबार दिउँसो प्रायः एक बजेदेखि सञ्चालन हुने यस चौतारीले आजसम्म २५ प्रकरण पनि पूरा गरिसकेको छ । दक्षिण सिक्किम साहित्य प्रतिष्ठानको साहित्य विभागको सचिवले आयोजना गर्दछ । यस चौतारी कार्यक्रमको उद्देश्य युवा प्रतिभालाई साहित्य सिर्जनामा प्रोत्साहन दिनु, लेखकहरूले आफ्ना मनका भाव र विचारको बिसाउने मञ्च तयार गर्नु, साहित्यिक परिवेश सिर्जना गर्नु आदि देखिन्छ । हालमा दक्षिण सिक्किम साहित्य सम्मेलनकी साहित्य सचिव श्रीमती भारती शर्माको मूल आयोजना रहेको हुन्छ बने अन्य नियमित र सक्रिय रूपमा यसमा सहभागी हुने कवि-लेखकहरूमा मुख्य रूपले थीरूप्रसाद नेपाल, चूडामणि दाहाल, गणेश छेत्री, दलमान डी गुरुङ, सरमान सुब्बा, एन. बी. दुङमाली, वाङ्दी छिरिङ लामा, वयोवृद्ध कवि दावा वासिम भोटिया, एल बी बस्नेत, बी.के. शर्मा, लक्ष्मी शर्मा, डा. दशरथ खरेल, डा. नयन राई, धन निर्दोष आदि हुन् । कहिले ८-१० जना मात्र र कहिले २०-२५ जना भए पनि हरदरमा १५-२० जना भने भेला हुने गरेको पाइन्छ । यसमा विशेष गरी विद्यार्थीवर्गको पनि नियमित सहभागिता पाइन्छ । यसमा सबै सदस्य बराबरी ठानिने हुँदा औपचारिक रूपमा नभई जो कोहीले पनि आआफ्ना रचना पालैपालो गरी सुनाउँछ । कार्यक्रम भेला हुने दिन चियाचमेना पनि व्यक्तिगत वा संस्थागत तर्फबाट बाँडिन्छ । यसमा बेसीजस्तो कविता नै वाचन गरिन्छ भने कहिले कसैले कथा, निबन्ध पनि सुनाउँछ । पहिलेका ५-६ ओटा प्रकरण कोही सदस्यको घरमा भए तापनि मूलमा भने सम्मेलनकै कार्यलयमा सञ्चालन हुने गर्छ जे होस्, नाम्चीजस्तो सुन्दर र बढ्दो विकासशील बजारमा मासिक साहित्यिक कार्यक्रम चौतारीले साहित्यिक परिवेश सिर्जना गर्न ठुलो भूमिका खेलेको देखिन्छ ।
६. सृजनशील साहित्य लेखन मञ्च, जोरथाङ- यसै गरी दक्षिण सिक्किमको जोरथाङमा पनि सृजनशील साहित्य लेखन मञ्चले मासिक साहित्यिक जमघट कार्यक्रम आयोजना गर्दै आएको छ । हालसम्म यसले १८ ओटा प्रकरण पूरा गरयो । जोरथाङजस्तो व्यापारिक बजारमा त्यहाँका स्थानिय मानिस र विद्यार्थीबिचमा साहित्यिक परिवेश प्रदान गर्नु, पारस्परिक भेटघाट गर्नु, नराम्रा कुराहरूलाई धकेलेर साहित्यिक सिर्जनातिर जनमानसमा सचेत गर्नु, सिर्जनशील विद्यार्थीहरूलाई तयारी बनाई भावी पिँढीको साहित्यिक सिर्जनात्मक भार सुम्पिनु यसका प्रमुख उद्देश्य रहेको देखिन्छ । यसको प्रायः प्रत्येक प्रकरणमा विद्यार्थीवर्गलाई विशेष आह्वान गरिन्छ । यस संस्थाको तत्परतामा लेखन पत्रिकाले चौथो अङ्क पूरा गरी पाँचौँ अङ्क पनि प्रकाशोन्मुख भएको जानकारी पाइन्छ । यसले भानु जयन्ती, नेपाली भाषा मान्यता दिवस पालन गर्नाका साथै समसामयिक रूपमा गोष्ठी सञ्चालन गर्दछ । यसको प्रमुख संरक्षक श्री टीका गुरुङ, अध्यक्ष शङ्करदेव ढकाल, सचिव रजनी पेगा, लेखन मञ्च पत्रिकाका सम्पादक सुवास सोताङ तथा अन्य प्रमुख कार्यकर्त्ताहरूमा सेसिल मुखिया, हरिकुमार निरौला, केवल शर्मा, प्रेम मुखिया बैरागी, कमल अधिकारी, सन्तोष शर्मा, पी.के. शर्मा र केही विद्यार्थी रहेका छन् । हालैमा यसले आफ्नो मासिक गोष्ठीको नाम साहित्य सन्ध्या राखेको छ ।
७. प्रतिभा मञ्च, रिनाक– पूर्व सिक्किमको रिनाकमा पनि सन् ३ अक्टोबर, २०१० देखि प्रतिभा मञ्च नामक साहित्यिक भेला कार्यक्रम सुरु भएको छ । यसको पनि मूलोद्देश्य स्थानीय साहित्यिक एवं कलाका सबै क्षेत्रका प्रतिभाहरूलाई एउटा स्वस्थ मञ्च प्रदान गर्नु, साहित्यिक परिवेश प्रदान गर्नु, युवावर्गलाई लेखनतर्फ आकर्षण गर्नुरहेको छ । यो कार्यक्रम महिनाको प्रत्येक आइतबार रिनाकको खण्ड प्राशासनिक कार्यलयको सम्मेलन कक्षमा आयोजना गरिन्छ । यसका प्रमुख कार्यकर्ता र लेखकहरूमा भुवनेश्वर बरुवा अंशु, आर.के. प्रधान, दुर्गा दाहाल, गणेशकुमार प्रधान, थमन नौवाग, अजय गुरुङ, भानुराज थापा निरोगी, अभिनारायण मिश्र, चन्द्रप्रसाद रिजाल यात्री, टी.के. प्रधान, डिल्लीप्रसाद अधिकारी, रोहित वशिष्ठ, अजय चामलिङ, रमेश जैसवाल, राजेन कार्की इत्यादि प्रमुख हुन् । यस संस्थाले आफ्नो पच्चिसौँ प्रकरण भव्य रूपमा मनाएर आफूलाई निरन्तरता र जीवन्तता दिइरहेको देखिन्छ ।
८. विचार कला सङ्गम, गान्तोक – प्रेस क्लब अफ सिक्किमले विचार कला सङ्गम नामक मासिक कार्यक्रम वर्ष २०११ को डिसेम्बर महिनादेखि सुरु गरेको छ । हुन त यो विशुद्ध साहित्यक कार्यक्रम नभए पनि यसमा साहित्यिक कलाकृति पनि प्रशस्त प्रस्तुत गरिन्छन् । यसमा विशेष गरी सिक्किमका उदीयमान पत्रकारहरूबिच पत्रकारितासन्बन्धी चर्चापरिचर्चा गर्ने, उनीहरूमा भएका विचार र कला प्रस्तुत गर्ने, उनीहरूमा भएका विचार र कला प्रस्तुत गर्ने र सबै पत्रकारबिच मैत्रीपूर्ण सद्भावनाको वातावरण बनाइराख्ने उद्देश्यले यो मासिक कार्यक्रम सुरु गरिएको हो । यस कार्यक्रममा साहित्यक पत्रपत्रिकाको विमोचन र त्यसमाथि चर्चा-परिचर्चा एवं पत्रकारिताको भाषिक एकरूपता बारे कार्यशाला आयोजना गरिँदै आएको छ । पत्रकारहरूभित्र लुकेर बसेका विभिन्न कलालाई प्रस्तुत गर्न यो एउटा विशेष मञ्च बनेको छ । यसले पत्रकारबाहेक समाजका विभिन्न तप्का र तहका प्रतिभालाई समेत सरोकार राखी अघि बढाउँदै लगेको छ । प्रत्येक महिनाको दोस्रो शनिबार पत्रकारहरू पेर्स क्लबमा भेला हुन्छन् र आफ्ना कला र साहित्यक सिर्जना प्रस्तुत गर्दछन् । सुरुमा श्री भीम रावत, श्री जोसेफ लेप्चा यसका मूल आयोजक थिए भने पछिबाट श्री रूपेश शर्माको संयोजन र सुश्री तमन्ना तामाङको सह-संयोजनमा यो कार्यक्रम अझ सक्रिय र सुसङ्गठित रूपमा सञ्चालन हुन थाल्यो । यसले एकपटक पत्रकारिताको भाषाबारे कार्यशाला आयोजना गरेको थियो जसमा सिक्किम विश्वविद्यालयका प्रा. बलराम पाण्डे र विद्वान्, साहित्यकार श्री रूद्र पौड्यालले वार्ता प्रस्तुत गरेका थिए । यसका साथै नेपालका वरिष्ठ कवि वसन्त चौधरीलाई स्वागत-सम्मान, प्रा. दीपक तिवारीलाई सिक्किमको साहित्येतिहास ग्रन्थ प्रकाशित गरेकामा स्वागत-सम्मान, अर्जुन यावाको पुस्तक ‘अवलोकन’ तथा प्रेस क्लबको आफ्नो दस्तावेज ग्रन्थ ‘संवाहक’ को विमोचन इत्यादि अनेक गतिविधि सम्पन्न गरिसकेको छ ।
यसै गरी अरूतिर पनि भर्खरै-भर्खरै यस्ता मासिक कार्यक्रम सञ्चालन सुरु भएको सुनिँदै छ तर खोजी गर्नुपर्ने देखिन्छ । यो आनन्दको विषय हो । यस हिसाबले हेर्दा सिक्किमको यस्तो किसिमको साहित्यिक भेलाहरूमा गान्तोकबाट सञ्चालित बसिबियाँलो पहिलो हो भने त्यसपछि सिङतामको बसिबियाँलो र प्रतिभा मिलन पनि महत्त्वपूर्ण मानिन्छन् । गान्तोक उक्त बसिबियाँलो कतै कतै पुनःसञ्चालन भएको छ कि, बुझ्नुपर्ने देखिन्छ । त्यहाँको ठाउँमा प्रतिभामिलनले निकै नै लोकप्रियता पाएको हो । यसमा साहित्यकारहरूको निकै जमघट हुने गर्छ । साथै यसको प्रमुख उपलब्धिहरूमा गान्तोकमा साहित्यिक वातावरण सिर्जना गर्नु, प्रतिभाको सम्मान र अभिनन्दन र पत्रिका प्रकाशन निकै गहकिलो देखिन्छ ।
यसरी सिक्किममा मासिक रूपमा साहित्यिक भेलाहरूमध्ये जम्मा सातओटा रहेका छन् । यस्ता कार्यक्रमहरूले नै सिक्किमेली लगायत समग्र नेपाली साहित्य र भाषाकै जगेर्ना गरेका छन् । बसिबियाँलो सिङतामले सबैभन्दा अघि बढेर आफूलाई एउटा गतिलो साहित्यिक मञ्च तयार पारेको देखिन्छ भने प्रतिभा मिलन पनि राजधानी गान्तोकमा साहित्यिक परिवेश सिर्जना गर्न अग्रसर छ । रिनाकको प्रतिभा मञ्चले पनि निकै उन्नति गरेको देखिन्छ । विचार कला सङ्गम चाहिँ विशुद्ध साहित्यिक भेला नभए तापनि यसले साहित्यक सेवामा ठुलो टेवा अवश्य दिने गरेको छ ।
(निवेदन- प्रस्तुत लेख सर्वक्षणात्मक अध्ययन मात्र हो । यसमा यस्ता खाले मासिक साहित्यिक कार्यक्रमलगायत धेरै जना साहित्यिक महानुभावहरूका नाम अवश्यै छुटेको छ । अतः यस लेखलाई कोही महानुभावले आवश्यक थपघट, संशोधन आदि गर्न सक्नुहुनेछ । यदि कसैले यसो गरिदिएमा इतिहासका कतिपय लुकेका पाना प्रकाश हुने थिए भन्ने मेरो निवेदन छ – नवीन पौड्याल) ।
फोनमार्फत जानकारी दिनुहुने निम्न महानुभावहरूप्रति आभारी छु-
- श्री मोहन प्रधान नीरज, सिङताम ।
- श्री अमर बानियाँ लोहोरो, गान्तोक ।
- श्री भीम ठटाल, गान्तोक ।
- श्री सुवास सोताङ, जोरथाङ ।
- श्री बुद्धिमान् प्रधान, खरसाङ ।
- श्री हीरा छेत्री, कालिम्पोङ ।
- श्री चूडामणि दाहाल, नाम्ची ।
- श्री दीपक तिवारी, नाम्ची ।
- श्री ध्रुव लोहागन, पाकिम ।
- श्री रूपेश शर्मा, गान्तोक ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।