पृष्ठभूमि

यात्रा मानिसको आदिम संस्कारसित सम्बद्ध रहेको चेतना, व्यवहार र इतिहास हो । यात्रा मानिसका निम्ति इतिहास मात्रै नभएर वर्तमान र भविष्य पनि हो, यात्राविनाको मानव सभ्यता र गतिशील आयाम नै सम्भव थिएन र छैन पनि । मानिसलाई निरन्तर परिवर्तन, नवीनता र सूचनात्मक ज्ञानको स्रोत प्रदान गर्ने माध्यम भ्रमण नै हो त्यसैले मानिस एक प्रकारले यायावरी प्राणी नै हो । करोडौँ करोड वर्षअघिदेखि मानव जीवले जीवनको रूप धारण गरेको र सामाजिक जीवनमा रूपान्तरण भएर अन्य प्राणीभन्दा अलग अनि विशेष जीवनयापनका आधारहरू विकास गरेको हो । घुमन्ते यायावर भएर मानिसहरू पृथ्वीका अनगिन्ती स्थानमा आफ्नो अनुकूलता सिर्जना गर्न पुगेका हुन् । त्यस क्रममा सुखद्, दुःखद् र आश्चर्यमय घटनाक्रमबाट मासिनले धेरै प्रकारका अनुभवहरू प््रााप्त गरे । सोही अनुभवले मानिसलाई मानवीय चेतनामा फड्को मार्न सहयोग गर्‍यो । उचित अनुचितको भेद थाहा पाउने पनि त्यही विशाल भ्रमणयुक्त जीवनका उहापोहले नै बनाइदियो । सङ्घर्र्षका कथा र व्यथालाई सँगालेर मानव जीवन निरन्तर स्थल र जलमार्गको यात्रामा लम्किरह्यो र आजको उन्नत वैज्ञानिक, प्रविधियुक्त युगमा हवाइ मार्गलाई पनि भरपुर मात्रामा उपयोग गरी मानिसले यात्राशील जीवनको शृङ्खलालाई जारी राखेका छन् ।

असचेत र असङ्गठित युगदेखि आरम्भ भएको मानव यात्रा आज योजनाबद्ध र व्यवस्थित तथा प्रयोजनवर्ती रूपमा अघि बढेको छ । हिजो मानव जातिले वन्य युग र प्रारम्भिक कृषि युगमा खुला अनि स्वतन्त्र तरिकाले भ्रमण गर्दथे भने आजको भ्रमण देश, देशान्तर राजनीतिक, भौगोलिक, प्रशासनिक, कानुनी, राष्ट्रिय र अन्तरराष्ट्रिय मान्यता एवं मानदण्डका आधारमा तय गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

मानिसले जीव विकासको समयदेखि जीवन वृत्तिको कालसम्म भ्रमणलाई मूल केन्द्रमा राखेका छन् तर यसका संरचना र उद्देश्यहरूमा व्यापक फेरबदल भएको छ । सायद भ्रमणको मानवशास्त्रीय र समाजशास्त्रीय अध्ययनकर्ताले यस बारेमा विस्तृत सूचना, ज्ञान र मान्यताहरू स्थापना गर्नु बढी सान्दर्भिक रहन्छ । भ्रमणका मूल्य र मान्यताका विषयमा विद्वान्हरूले आफ्नो ढङ्गले विभिन्न आयामहरू निर्धारण गरेका छन् । यसले भ्रमण मानव जीवनलाई अझ सङ्गठित, बलियो, आत्मीय, ज्ञानवद्र्धक, मानवीय सम्बन्ध विस्तार, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, शैक्षिक, दार्शनिक, प्रशासनिक, भौगोलिक, भाषिक, पर्यावरणीय दृष्टिले उपयुक्त रहेको निष्कर्ष प्रदान गरेको छ । भ्रमणप्रेमी मानव स्वभावले गर्दा यससम्बन्धी कानुनी प्रावधानहरू पनि दिन प्रतिदिन नयाँ नयाँ बनिरहेका छन् । नेपाली काव्य जगत्का एक विशिष्ट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मानिसको यही भावात्मक लक्ष्य र विकासको अनन्त सम्भावनालाई यात्राकै दर्शनका रूपमा उडेर चन्द्रमा छुने सपना देख्नुपर्ने अभिव्यक्ति गरेका छन् । मानव समाजलाई उन्नतिशील तथा प्रगतिगामी बनाउने सशक्त प्रक्रियाको रूपमा यात्रालाई लिइन्छ र निल आर्मस्ट्रङ, ग्यालिलियो, कोलम्बस, एडमन्ड हिलारी, तेन्जिङ नोर्गे शेर्पा जस्ता प्रसिद्ध विश्व यात्रीका जीवनीले पनि मानव यात्राको महिमा तथा गरिमालाई जीवन्त दृष्टान्त बनाएको छ । यात्रालाई जीवन पद्धतिको एक अभिन्न पक्ष मानेर यसको आधारभूत र विशेष ज्ञान परम्पराकै रूपमा पाठ्य सामग्री बनाई विद्यालय र विश्वविद्यालय पठनपाठन गर्नु उचित रहेको छ । यसतर्फ बौद्धिक, शैक्षिक, प्रशासनिक र राजनीतिक विज्ञ समूहले सान्दर्भिक रूपमा बहस उठाउन आवश्यक पनि देखिन्छ । यात्राका बारेमा समग्र चर्चा गर्नेभन्दा पनि यस आलेखमा यात्रा विधालाई निबन्धको एक खण्ड, संस्मरण निबन्ध या नियात्रा, जीवनको एक स्मरणात्मक अभिव्यक्ति, जीवनी लेखनको एक पक्षका रूपमा लिएर यससम्बद्ध कृतिमाथि समीक्षा गर्नु रहेको छ । यस आलेखमा उक्त पृष्ठभूमिका सन्दर्भमा हाल नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवंं साहित्यकार गङ्गाप्रसाद उप्रेतीद्वारा रचिएको घुम्दै फिर्दै अमेरिकामा नामक कृतिमा प्रकट भएका यात्रानुभूतिको समीक्षा गरिएको छ ।

डा. हरिप्रसाद सिलवाल

यात्रामूलक कृतिको विधागत स्वरूप

साहित्यिक विधाका दृष्टिले यात्रामा केन्द्रित कृतिलाई नियात्राको रूपमा हेरिएको छ । अर्थात् यात्रावणर्नमा आधारित निबन्ध भएकाले यसलाई नियात्रा नामकरण गरिएको हो । यसलाई अर्को शब्दमा भन्नुपर्दा निबन्धात्मक अभिव्यक्तिका निम्ति कुनै स्मरणीय यात्राका विषयवस्तुलाई चयन गर्नु हो । यसलाई स्मरणमा आधारित निबन्ध पनि मानिएको छ । नियात्रा शब्द निर्माणको सादृश्यमा संयोजन गरेर हेर्दा ‘निस्मरण’ अर्थात् स्मरणमा आधारित निबन्ध रचना भन्न सकिने पनि देखिन्छ । कुनै स्मरणीय यात्रालाई निबन्ध कलामा प्रस्तुत गरिएको सन्दर्भमा ‘नियात्रास्मरण’ नामकरण गर्नु पनि धेरै टाढाको शब्द बन्न जाँदैन । जेहोस् निबन्ध विधासित जोडिएर स्मरण, यात्रा वृत्तान्त, परिभ्रमण, अवलोकन, घुमफिर जस्ता शब्द र विषयवस्तुहरू यसले बोकेको हुन्छ । यस प्रकारको निबन्ध लेखनमा विशुद्ध निबन्धात्मक सौन्दर्य चिन्तनभन्दा केही पृथक् प्रस्तुति रहेको हुन्छ । यस्ता लेखनमा जीवन र जगत्का दृष्टिकोण तथा विश्वदृष्टि पनि व्यक्त भएको हुन्छ । तर यसमा विषय र सन्दर्भले केही निश्चित दायरालाई गहिरो गरी प्रकाश पार्ने र विवरणका मात्रालाई बोक्ने गरेको हुन्छ । यात्राको विषयलाई लिएर रचिएका निबन्ध तथा प्रबन्धहरूमा आख्यानको मात्रा पनि रहेको हुन्छ । झिनो रूपमा यस शैलीका लेखनमा समय चेतना, समय सन्दर्भ, घटनाको दायरा, सुरु, विकास र अन्तका आयामगत संरचना निर्माण भएको हुन्छ । यसमा व्यक्ति पात्र बन्ने र त्यससँगै चरित्र र चिन्तन पनि सँगसँगै व्यक्त भएको हुन्छ । चिन्तनको आदान प्रदान र वैचारिक अनुभूति पनि यस किसिमका लेखनमा देखिन्छ । साथै मनोवादले पनि यस्ता रचनालाई प्रभाव पार्दछ । मनोवादको भूमिका लेखकले आफ्नै चिन्तनमाथि गरेका तर्क विर्तकसँग आबद्ध रहेको हुन्छ ।

यात्राकार तथा लेखकले देखेको र अनुभूत गरेको सन्दर्भमाथि पुनः मनन गरी त्यसका विविध पाटाहरूलाई समीक्षा गर्ने क्रममा आफैसित संवाद गर्नपुग्छ र मनोवादको रूपमा पनि नियात्राले विस्तार हुने अवसर पाउँछ । यसमा विवरण अधिक भए विवरण प्रधान, घटनाहरूको संयोजन बढी भए घटना प्रधान, विचार बढी भए विचार प्रधान, भावनात्मक संवेग बढी भए भावना प्रधान, यात्राको तारतम्यको शृङ्खलामा मात्रै केन्द्रित भए यात्रा प्रधान, कुनै प्राकृतिक दृश्यावलीको केन्द्रीय अभिव्यक्ति भए पर्यावरण प्रधान, सामाजिक सांस्कृतिक सन्दर्भ बढी भए समाज प्रधान नियात्राको जन्म हुन्छ । यसै सन्दर्भमा यात्राको केन्द्रबिन्दुका रूपमा यात्रारत अवस्थालाई अनुभूतिको प्रकटीकरण गरिएको रूपमा लिँदा अनुभूतिको संरचना मानिन्छ ।

यात्राको मूल केन्द्रक यात्राकारको अनुभूति हो । यात्राको मूल उद्देश्य पत्रकारले जस्तो सूचनाको सङ्कलन र सम्प्रेषण गर्नु नभई प्राप्त सूचनाका आधारमा अनुभूति सङ्कलन, ग्रहण र यसलाई व्यक्त गरेर सम्प्रेषण गर्नु हो । अनुभूतिको ग्रहण मूलतः आनन्द प्राप्ति र ज्ञान हासिल गर्न गरिएको हुन्छ । तर यसका पनि व्यक्ति, समय, सन्दर्भ र यात्राको प्रकृतिअनुसार फरक फरक रहेको हुन्छ । अनुभूतिको नवीनताबाट यात्रालाई बल पुग्ने र रहस्य, जिज्ञासा, त्यसपछि के हुने भन्ने प्रश्नको जन्म र पुनः नयाँ स्थान, त्यसको प्रकृतिमाथि यात्राकारको खुलदुलीले यात्रालाई गतिशील बनाउँछ । यात्राको यो गतिशील आयामलाई आकर्षण गर्ने मुख्य साध्य अनुभूतिका तहहरू रहेका हुन्छन् । नियात्रामा व्यक्त भएका अनुभूतिको स्वरूप व्यक्तिगत, पारिवारिक, सामाजिक, प्राकृतिक, सांस्कृतिक, वर्गीय जस्ता विविध प्रकारका रहेका हुन्छन् । यात्रामा नयाँ अनुभूति बटुल्ने उद्देश्यका कारण नयाँ ठाउँ, मानिस, खानपिन, राजनीति, सामाजिक रीति, प्रथा, भाषा जस्ता पक्षहरूमा ध्यान आकृष्ट हुन्छ र यात्राको लम्बाइलाई बढाइदिन्छ । यसमा यात्राका सहयात्रीको अवस्था, आर्थिक पक्षको व्यवस्थापन, समूहको रुचि र समय अनुकूलताले पनि निकै प्रभाव पार्दछ । सबै बन्दोबस्तीको सहजताले यात्रालाई सहज बनाइदिन्छ भने त्यसबाट प्राप्त सुखद अनुभूतिले नियात्रा लेखनमा पनि गतिलो उर्जा प्रदान गर्दछ । यात्राकारको बौद्धिक स्तर, विषयवस्तुलाई ग्रहण गर्ने रुचि, शैली र क्षमता, स्मरणमा भण्डार गर्ने शक्ति र व्यक्त गर्ने कुशलता जस्ता पक्षहरूले पनि यात्रा साहित्य सिर्जनामा राम्रो प्रभाव पारेको हुन्छ ।

यस आधारमा नियात्राकार गङ्गाप्रसाद उप्रेतीको प्रस्तुत घुम्दै फिर्दै अमेरिका नामक नियात्रामा पारिवारिक घुमफिरलाई विविध आयाम दिएर यो कृति तयार गरिएको पाइन्छ । यस आलेखमा नियात्राकारले अमेरिकाका विविध स्थान र व्यक्तिसित यात्रारत रहँदा हासिल गरेका भावनात्मक, वैचारिक, सांस्कृतिक पक्षहरूलाई आफ्नो विशिष्ट बुझाइ, मानवीय संवेदना, व्यक्तिगत प्रतिक्रिया र बौद्धिकताका दृष्टिले प्रस्तुत गरिएका नियात्रात्मक अनुभूतिमाथि अध्ययन गरिएको छ ।

घुम्दै फिर्दै अमेरिकामा ः अनुभूतिको स्मरण एल्बम

गङ्गाप्रसाद उप्रेतीले यसअघि निबन्ध र साहित्यका अरू विधामा कलम चलाएका छन् । वस्तुपरक लेखनमा आकृष्ट भएका नियात्राकार उप्रेती घुम्दै फिर्दै अमेरिकामा कृतिमा भने वस्तुपरक र आत्मपरक दुवै तहको सन्तुलनमा रहेका छन् । २०६६ सालमा भएको आफ्नो अमेरिका भ्रमणका दैनिकीलाई नियात्राको स्वरूपमा विस्तार गरी त्यसलाई पुस्तकाकार रूपमा प्रकाशित गरिएको बताएका नियात्राकार उप्रेतीले यसमा आफ्नो अमेरिका यात्राको विशेष अनुभूतिलाई स्मरणका पाना जसरी पल्टाएका छन् । उनले फोटो एल्बममा प्रत्येक पानाका दायाँ बायाँ विभिन्न कोण र दृश्यमा खिचेका फोटाहरू सजिए जस्तै शीर्षकअनुसार अनुभूतिका फोटाहरूलाई स्मरण एल्बमका रूपमा सजाएका छन् । उनले यस नियात्रा कृतिमा हरेक शीर्षक र त्यसभित्रका अनुच्छेदहरूमा आफ्नो भ्रमणका वृत्तलाई फुकाएर त्यस बेला भए गरेका र त्यसले उनलाई मानसिक रूपमा पारेका नवीन चेतना, सूचना, ज्ञान, प्रतिक्रियाबाट समग्रमा जन्मेका अनुभूतिका लहरहरूलाई एकीकृत गर्ने, त्यसलाई स्वरूप प्रदान गर्ने, त्यसमाथि आफ्नो धारणालाई सुव्यवस्थित र सरल सरस तरिकाले व्यक्त गर्ने प्रयास गरेका छन् । जहाँ पुगिएको हो, त्यहाँको परिवेश, त्यसमाथि आफ्नो टिप्पणी, आफन्तहरूको त्यहाँको बसाइको सन्दर्भ, शैक्षिक, सामाजिक, आर्थिक, पारिवारिक, सांस्कृतिक गठन, मिलन र कतै विछोडका खण्डहरूसमेत समेटेर उनले नियात्रालाई विविधतायुक्त, वस्तुगत र भावनात्मक जस्ता आयाममा विस्तार गरेका छन् । ‘प्रशान्त महासागरको आकाशमा हराएको एक दिन’ देखि ‘संवेदनाको चापमा सम्पन्न ओसिया सिटीको यात्रा’ सम्मका बीस ओटा शीर्षकमा समेटिएका नियात्राहरूमा अनुभूतिका विविधताहरू व्यक्त भएका छन् । आफूलाई लागेका कुनै पनि भावना र विचारलाई तत् तत् स्थानमा स्पष्ट पारेर अमेरिकाको सामाजिक, पारिवारिक, सांस्कृतिक, आर्थिक, प्रशासनिक, प्राकृतिक जस्ता सम्बन्धहरूको समीक्षा पनि गरिएको छ ।

यस कृतिमा नियात्राकार परिवारको यात्रा र सम्बन्धका आधारबाट भित्र पस्दै अमेरिकी समाज र नेपाली समाजका साम्य वैषम्यमाथि चिन्तन गर्न पुग्छन् । उनी त्यस प्रकारका अनुभूतिलाई सङ्गठित गरेर शीर्षक र सन्दर्भमा खुलाउन सफल पनि भएका छन् । डायस्पोरिक चिन्तन, आर्थिक व्यवस्थापनका सङ्घर्ष, पैसामुखी अमेरिकी समाज र तीव्र दौडधुपको जीवनशैली, परिवार गठनका आरोह अवरोह र त्यसप्रतिको मनोदशा, नेपालले सिक्नुपर्ने पक्षहरू र नेपाली समाजको सबल आत्मस्वाभिमानी स्वरूप, संस्कारगत बहुलता र विकासको चरमचुली जस्ता आयामहरूबाट ग्रहण गरिएका विशिष्ट अनुभूतिलाई नियात्राकार उप्रेतीले यस कृतिमा संयोजन गरेका छन् ।

विमानस्थलका व्यवस्थापनमाथिको अनुभूति

यात्रा र व्यवस्थापन नङ र मासु जस्तै सम्बन्धमा रहेका हुन्छन् । लामो दूरीका यात्रामा पुरानो समयमा सामलतुमलका साथ पैदल यात्रीको रूपमा तयारी सम्पन्न गर्नुपथ्र्यो भने आधुनिक यात्रामा सवारी साधनले यात्राले जोड्ने सेतुबन्धको भूमिका निर्वाह गरेको हुन्छ । नेपालबाट युरोप, अमेरिका जस्ता टाढाका महादेशीय यात्रामा पानीजहाज र हवाई परिवहनलाई व्यवस्थापन गर्नैपर्ने हुन्छ । विशेषतः हवाई साधनको भरमा मात्रै अमेरिका, युरोप भ्रमण गर्ने संस्कृति आजको यात्रागत आयाम भएको छ । यस सन्दर्भमा विमानस्थलको कार्य कुशलताले यति लामो र केन्द्रीय यात्रालाई सहजीकरण गर्दछ । विमानस्थलको सानोभन्दा सानो कमजोरीका कारण मानव यात्रा मात्र नभई जीवनकै सुरक्षाको गम्भीर सवाल पनि अघि सरेको हुन्छ । लामो यात्राका क्रममा हवाई कर्मचारीको कुशल व्यवहार, प्रविधिमैत्री व्यवस्थापन र यात्रुमैत्री सम्बन्ध अपिरहार्य आवश्यकता हो । नियात्राकार उप्रेतीले आफ्नो विश्व भ्रमणका विभिन्न अनुभवका आधारमा अमेरिका भ्रमणको अनुभूतिलाई पनि मिश्रित गरेर विमानस्थलको व्यवस्थापकीय चर्चा गरेका छन् । उनले आफूले चीनको भ्रमण गरेर त्यहाँको विकासको मोडेलबारे चिन्तन गरेको विचार पनि यसमा व्यक्त गरेका छन् । नियात्राकारले अमेरिका यात्रामा भरेका उडान सन्दर्भका व्यवस्थापनलाई लिएर विमानस्थलका सकारात्मक र नकारात्मक व्यवहारले यात्रुमा पर्ने मनोदशाको समीक्षात्मक स्मरणहरू यस कृतिमा प्रस्तुत गरेका छन् । बैङ्कक विमानस्थलको तुलनामा नेपालको त्रिभुवन विमानस्थलको अव्यवस्थामाथि व्यङ्ग्य गर्न पनि भ्याएका छन् । बैङ्ककमा अत्याधुनिक विमान व्यवस्थापन प्रणालीले त्यस देशलाई साम्राज्यको मुठीमा राखेको बेलायत पनि चकित परेको विकासको नवीन अनुभूतिलाई यहाँ व्यक्त गरिएको छ ।

यस दृष्टान्तले नेपालको दयनीय विकासलाई माथि उठाउने चेतना र व्यवस्थापकीय कार्य कुशलता कति धेरै जरुरी रहेछ भन्ने जानकारी प्रदान गरिएको छ । यसैबाट थाइ सरकारले गरेको विकासको फड्कोलाई नियात्राकारले गहिरो अनुभूतिमा सङ्कलन गरेका छन् । कोरियाली विमानको अतिथि सत्कार संस्कार र त्यस देशको विकासको गतिलाई वायु यानको गतिसँगै अघि बढाउने चिन्तन भएमा देशको मुहार फेर्न बेर नलाग्ने अनुभूतिलाई उनले प्रकट गरेका छन् । विमानस्थलमा भएका हल्लाको प्रतिवाद गरिएको घटनालाई पनि उनले अर्थपूणर् अनुभूतिको रूपमा लिएका छन् । उनले वासिङटन डिसीको डलास विमानस्थलको परिवेशको चर्चा गरी अमेरिका, एसिया र यसभित्रको नेपालको कुचुक्क परेको विमानस्थल र विकासमा साँघुरिएको नेपाली बिकासे मनमाथि व्यङ्ग्य गरी यस क्षेत्रमा सुन्दर प्रयास गर्न सके पर्यटन विकासको माध्यमबाट देशको काँचुली फेर्न सकिने धारणा प्रकट गरेका छन् । अमेरिकाका कतिपय विमानस्थलमा त्यस देशका नागरिकलाई छुट्टै, एसियाका नागरिकलाई फरक र दर्तावाल कुल्ली तथा अन्य सेवकहरूको अलग अलग व्यवस्थापन भएको अनि त्यसबाट आफू प्रभावित रहेको अनुभूतिलाई नियात्राकार उप्रेतीले प्राथमिकता साथ राखेका छन् । विमानस्थलको लापरबाही र उडान डिले भएका घटनाका अनुभूतिलाई आलोचनात्मक रूपमा यस कृतिमा व्यक्त गरिएको छ ।

एटलान्टा विमानस्थलमा विनासूचना र विनाकारण जस्तो जहाज उडानमा ढिलाइ हुँदा अन्य उडानहरू के कसरी प्रभावित हुन्छन् भन्ने अलमल र चिन्तालाई यहाँ व्यक्त गरिएको छ । यस्ता विशेष घटनालाई बाइरोडको बाटोमा जाम भएको यात्रा खुलेको परिघटनासित तुलना गरेर व्यङ्ग्य पनि गरिएको छ । सर्वसम्पन्न अनि व्यवस्थित भनिएको अमेरिकामा विमानस्थल जस्तो संवेदनशील कार्यमा पनि यस्ता त्रुटिहरू हुनुलाई नेपालको धुलौटे बाटोमा गुड्ने थोत्रा बसको यात्रामा जोडेर नियात्राकारले अन्तरअनुभूतिको प्रस्तुति गरेका छन् । साथै ह्युस्टनमा रहेको अमेरिकी हवाइ उड्डयनमा यससम्बन्धी अध्ययन गर्ने सुरुचिलाई नियात्राकारले प्रकट गरेका छन् । अन्तरीक्ष उडानबारे विशेष चासो एवं उत्सुकता बोकेको नियात्राकारको मनले नासाको अन्तरीक्ष विज्ञानशालालाई राम्ररी नियालेर उच्च कोटिको प्रविधिमैत्री अनुभूतिलाई प्रस्तुत गरिएको छ । अमेरिका यात्रामा यस स्थानको अनिवार्य जम्काभेट हुनुपर्ने सन्दर्भलाई पनि लेखकले उल्लेख गरेका छन् ।

अवसरको खोजीमा अमेरिका पुगेका मानिसप्रतिको अनुभूति

अमेरिका भ्रमणलार्ई यसको रुचिक्षेत्र, औचित्य र बाध्यतासित दाँजेर नियात्राकार उल्लेख गर्न चाहन्छन् । उनका अनुसार मूलतः विश्वभरका मानिसले अमेरिका प्रवेश अवसरको खोजीमा गरेका हुन्छन् । अवसरको खोजीमा त्यहाँ गएका मानिसले पाएको प्रगति एउटा पक्ष हो । शिक्षा, रोजगारी, व्यवसाय, विज्ञान प्रविधि, अनुसन्धान त छँदै छ, साथमा तिनले कति धेरै मेहनत र हन्डर खाएर अमेरिका बसाइ गर्नुपर्छ भन्ने विवशताका अनुभूतिलाई यस कृतिमा प्रस्तुत गरिएको छ । समयको पल पलका पावन्धीमा खानेसम्मको फुर्सद निकाल्न मुस्किल हुनु जस्ता अनुभूतिमा बसेका प्रवासी नेपालीहरूको दिनचर्यालाई यहाँ स्पष्ट पारिएको छ । त्यहाँ पुगेपछि आर्जन गरेका धनराशी र नेपाल सम्झेर देखेका मनहरूको तुलनात्मक अनुभूतिलाई समेत नियात्राकारले व्यक्त गरेका छन् । यस सन्दर्भमा नियात्राकार लेख्छन्-

पछि दुवैलाई अमेरिका पसी जीवनलाई अझ सुविधायुक्त बनाउने मायावी सपनाले लठ्यायो र अमेरिका प्रवेश गरायो (पृ.३४) । …कहिले कहिले त आफ्नो व्यस्त कार्यसूचीका कारण उनी परिवारका अन्य सदस्यसँग बोलचालसमेत गर्न भ्याउँदैनथे । हामी त अमेरिकी सत्ताका स्थायी बँधुवा पो भएछौँ त नजानीकन, यसरी परिवन्दले बन्धक बनाइएका हामीहरू कसरी आफ्नो खुसीले आफ्ना कार्यक्रम बनाउन सक्छौँ र ? उनको यस्तो टिठलाग्दो जवाफ सुनेर म दिक्क भएको थिएँ (पृ.३५) । …नाबालक जस्तै अवस्थाकी कान्छी छोरी, कहिल्यै बाबुआमा छाडेर बाहिर नगएकी, ऊ उन्मुक्त आकाशमा अनिश्चयको यात्रा गर्दै थिई । अमेरिकाको उन्मुक्त संसारमा कावा खाँदै मिनिसोटा राज्यको सेन्ट क्लाउड सहर आइपुगेकी उसले सुरुमा भोगेको विषम परिस्थिति, आज पनि उसले बाँच्दै गरेको यायावरी स्थिति, आफ्नै आर्जनमा बाँच्नुपर्ने भनी उसले सिकेको जीवनको पहिलो पाठ आदि इत्यादि विषयमा उसका धारणा जान्ने कौतूहल मेरो मनमा उर्लेको थियो भने आमाको रूपमा मायाको मातृत्व त छोरी भेट्न झन् उर्लिएको थियो (पृ.३८) ।

मानिसले आफूलाई बुझ्न अरूलाई बुझ्नुपर्छ भनेझैँ आफ्नो देश चिन्न पनि अरूको देशमा देखेको र भोगेको दुःखले पाठ सिकाउँछ । यस अनुभूतिलाई नियात्राकारले उपर्युक्त कथनमा व्यक्त गरेका छन् । एक ठाउँमा बसेर थन्को लागेको मानिस बोधो र निरीह बन्छ । त्यसकारण यायावरी भएर देश परदेश पुगेपछि बाँच्ने उपक्रममा सिकाइका गतिला अनुभूतिहरू प््रााप्त हुन्छन् भन्ने धारणा यसमा प्रकट भएको छ । घर छाडेपछि घरको माया त हुन्छ तर जीवनका लागि नयाँ र बाध्यकारी परिवेशको निर्माण गर्न पनि यसले नै निर्देश गर्ने र सक्षमसमेत बनाउने अनुभूतिलाई नियात्राकारले उल्लेख गरेका छन् । अमेरिकी समाज गरीखानेका लागि सहज र सबल रहे तापनि अति व्यस्तता र आर्थिक उदारीकरण, निजीकरणका कारण सामाजिक सद्भाव भने फितलो बन्दै गएको त्यहाँ बस्नेहरूको अनुभवलाई नियात्रामा बाँडिएको छ । नियात्राकारले एक दुई सामान्य परिवारका दुःखका घटना मात्र हैन, हजारौँ आप्रवासीहरूको उत्पीडन र उन्नतिका विरोधाभाषी अवस्थाको विषम अनुभूतिलाई प्रस्तुत गरेका छन् । उनले भौतिक उन्नतिको चुलीमा पुगेको अमेरिका र त्यहाँको समाज व्यवस्था मानवीय करुणा, शान्ति र आनन्दका पक्षमा भने कति निरीह र मूल्यहीन बन्दै गएको रहेछ भन्ने मानवतावादी अनुभूतिलाई पनि आफ्ना निबन्धात्मक यात्रा स्मरणमा गराएका छन् ।

सपनाहरू बुन्न सजिलो भए पनि त्यसको विपना भएर बाँच्न अति नै कष्टकर भएको अनुभूतिलाई यस नियात्रामा अभिव्यक्त गरिएको छ । नियात्राकारले केही आप्रवासी अमेरिकी नेपालीको दिनचर्यालाई नमुना बनाई खुल्न नसकेका र खुलाउन आवश्यक रहेका भित्री अनुभूतिका चोटिला पाटाहरूलाई यस पुस्तकमा प्रकाश पारिएको छ । लेखकले नलुकाईकन त्यहाँको मनोवैज्ञानिक, सांस्कृतिक र आर्थिक पक्षभित्रका सत्यताहरू खेतल्ने प्रयास गरेका छन् । बाहिर हामी जे जस्तो देख्छौँ, वास्तविकतामा त्योभन्दा पृथक् जीवनको संसार रहेको अनुभूतिलाई उनले यहाँ पस्केका छन् । यस्ता आप्रवासी नागरिकका लागि खाने लाउने व्यवसाय गर्ने र धनार्जन गर्ने समस्या केही समयका लागि कायम रहे तापनि पछिल्लो चरणमा मनोवैज्ञानिक, पारिवारिक, सांस्कृतिक, सामाजिक, धार्मिक, संस्कारगत समस्याहरूले बढी स्थान लिने गरेको अनुभूतिलाई नियात्राकार गङ्गाप्रसाद उप्रेतीले घुम्दै फिर्दै अमेरिकामा कृतिमा व्यक्त गरेका छन् । भोगेका विवशताहरू छोपेर राख्नुभन्दा त्यसलाई बाहिर ल्याइदिनु बढी सामाजिक, मानवीय र भविष्यका निम्ति फलदायी रहेको धारणाका आधारमा नियात्राकारले यस प्रकार र प्रवृत्तिका अनुभूतिलाई प्राथमिक स्थान प्रदान गरेका छन् । उनी यस सन्दर्भमा अर्को स्थानमा यस प्रवृत्तिका जीवन बचाइलाई बोध गरेपछिको अनुभूतिलाई यसरी व्यक्त गर्दछन्-

आर्थिक जग बलियो बनाइसकेपछि आफ्नो सांस्कृतिक पृष्ठभूमि बिर्सेर अमेरिकी समाजमा विकसित हुँदै गएको निरपेक्ष स्वतन्त्रताको पछि दौडिए सुखद् दाम्पत्य जीवन नै पहिरोमा पर्ने रहेछ । यसरी आप्रवासनमा बिदेसिएर जहाँसुकै रहे पनि आप्रवासी नेपालीले आफ्नो पहिचानका रूपमा रहेका भाषा, संस्कृति र सदाचारको उचित शिक्षा आफ्ना सन्ततिलाई समयमै दिन सकेनन् भने माथि यस्तै दुर्घटना भोग्नुपर्ने स्थिति आउने परिकल्पना मैले गरेँ यति बेला । एउटा आफन्त परिवारको पाहुना भएर छिद्रान्वेषी भई माथिको विवरण र निष्कर्ष बताउँदा मलाई धेरै दुःख लागेको छ । तर यो भयावह यथार्थ लुकेर लुक्ने होइन भनेर नै मैले यो कुरा उदाङ्गो पारेको हुँ । आर्थिक रूपमा सम्पन्न भएर मात्र मन्छेलाई पुग्ने रहेनछ, उसलाई मानसिक शान्ति आवश्यक पर्दोरहेछ । आप्रवासनमा रहेका नपाली डायस्पोराले सम्भावित रूपमै भोग्नुपर्ने यस्ता दुःखद् स्थितिबाट होसियार रहन यो गथासोले सहयोग पुर्‍याउला भन्ने सोचले यो अत्यन्तै व्यक्तिगत घटनालाई सामाजिकीकरण गर्ने दुस्साहस मैले यहाँ गरेको हुँ .(पृ.४१-४२) ।

नियात्राकारले अनुभूति गरेका यी विषय नै आजको आप्रवासी नेपालीको जीवन यथार्थ र मनोभावको समस्या हो । यो कटु यथार्थता पन हो र यसले भविष्यलाई पनि गम्भीर सङ्केत गरेको छ । नेपाली सांस्कृतिक पृष्ठभूमि, धरातल, दार्शनिक आधार, सामाजिक मूल्यमा निहित समूह मनोविज्ञान, वैदिक ज्ञान परम्पराको आदर्शका सकारात्मक विचार, सहकार्य, सद्भाव, शान्ति र समाज बनोटका आयामहरू अमेरिकी समाजसित तत्काल संयोजन भइहाल्न गाह्रो छ । भूधरातल र सांस्कृतिक बनोटको फरक फरक आयाम भए तापनि मानवीय सम्बन्धका साझा नाता र विकासका लहरबाट प्रभावित भएर नेपालीहरू अमेरिका जाने रुचि प्रकट गर्दछन् ।

आर्थिक सबलीकरणका निम्ति त्यहाँ पुगेका मानिसहरू सामाजिक आत्माको अभावले जसरी भित्री जीवनको विघटनतिर लम्केको पाइन्छ, त्यसलाई नियात्राकारले यथार्थीकरणमा ल्याएर औँल्याएका छन् । त्यहाँ रहेका सबैका जीवन तथा परिवारमा यस्ता समस्याले असर नपारे पनि धेरैको परिवारमा यो समस्या बढेको देखिन्छ । यसको मूल कारण सांस्कृतिक सम्मिलनको अभाव हुनु हो । यसलाई बेलैमा विचार गर्नुपर्छ भन्ने धारणालाई नियात्राकारले यस ग्रन्थमा उल्लेख गरेका छन् ।

‘अमेरिकामा मलामी जाँदाको अनुभव’ शीर्षकमा नियात्राकारले संस्कार, संस्कृति र धर्मका रेखाहरूले मानिसलाई के कसरी छोएको हुन्छ भन्ने विशेष साझा अनुभूतिलाई प्रकट गरेका छन् । नियात्राकारले मानिस बाहिरबाट उस्तै जस्तो स्वरूपमा देखिए पनि मानिसभित्रका भिन्नताका विशिष्टीकृत आधारहरूको खोजी गरेका छन् । यसलाई मौलिकता र परम्पराको पहिचानका रूपमा पनि अथ्र्याउन सकिने सङ्केत गर्दै लेखकले मानव समुदाय र मानव जातिका निश्चित मूल्य र मानदण्डका विशेषताहरू रहेको उल्लेख गरेका छन् । जाति र समुदाय मानव अस्तित्व र इज्जत तथा अधिकारका दृष्टिले समान छन् । मूल्य र औचित्यका दृष्टिले पनि समानधर्मी नै हुन्छन् । यद्यपि जाति र समुदायका अलग शृङ्खलाका केही विशेषताले एकत्वभित्रका अनेकता र अनेकताभित्रको एकत्व जस्ता कुरालाई पनि स्थापित गरेका विशेष अनुभूतिलाई निबन्धकारले यस ग्रन्थमा प्रकट गरेका छन् । उनले जन्म र मृत्यु समस्त मानव जातिका साझा क्रिया भए तापनि यससम्बन्धी संस्कारहरू भने फरक फरक रहेको सापेक्षतालाई आफ्नो लेखनमा समावेश गरेका छन् ।

मानिसहरूको भौगोलिक र वंशज अवस्थाले तिनलाई अलग रीतहरू अघि बढाउने गरी हुर्काएको छ । यसैमा आफ्नोपन, मौलिक र स्वत्वको आधारहरू निर्माण भएका हुन्छन् । यस ग्रन्थमा नियात्राकारले मलामी जाने सन्दर्भलाई जोडेर अमेरिकामा नेपालीजनको मृत्यु हुँदा गरिने यता र त्यताका फरक फरक संस्कारगत अनुभूतिलाई अभिव्यक्त गरेका छन् । अमेरिकामा कसैको मृत्यु हुँदा स्वास्थ्य परिचारिकामार्फत त्यसको पुस्ट्याइँका लागि त्यस क्षेत्रका आधिकारिक चिकित्सकलाई प्रतिवेदन पेस गर्नुपर्ने, निजले मृत्यु भएको प्रमाणित व्यहोरा घोषणा गरेको कागज बनाएपछि मात्रै दाहसंस्कारका लागि शवदाह गृहतर्फको प्रक्रिया अघि बढाउनुपर्ने जस्ता अन्तिम संस्कारजन्य प्रक्रियाका अनुभूतिलाई यस नियात्रामा प्रस्तुत गरिएको छ ।

अमेरिका भ्रमणको दौरानमा नियात्राकारले प्रकृति विचरणको अनुभूति पनि संयोजन गरी यस ग्रन्थमा प्रस्तुत गरेका छन् । प्रकृति विचरणलाई यात्राको महत्त्वपूणर् सौन्दर्य मानिएको हुन्छ । यात्राले प्रकृतिका छटाहरूलाई मानिस सामु खडा गरिदिन्छ र मानिसको मन प्रफुल्ल भएर यात्राको सफलता अनुभूत गर्दछ । यस संसारमा भूगोल, हावापानी, बनोट, नदी, खोला, पहाड, समुद्र, ताल तलैया, वन, मरुभूमि, समथर, दुन, खोँच, भिर, भन्ज्याङ, घुम्ती, चिसो, तातो, हरियाली, वर्षा, आकाश, तारा, सौर्य, निकट र दूरका अनेक रहस्यमय छटाहरूले पृथ्वीलाई अति सुन्दरतम रूपमा सजाएको छ । वास्तवमा पृथ्वीमा भएका प्रकृतिको विविधता रहस्यको विशाल रौनक नै हो । पृथ्वीमा भएका सुन्दर वस्तुहरूको दृश्यावलोकन मानिसको एक जनम आयुभित्र सम्भव हुने कुरै छैन । यात्राप्रेमी र प्रकृतिप्रेमी मानिसहरू सकेसम्म प्रतिनिधित्व र सम्भव भएका प्राकृतिक सुन्दरतालाई चुम्न खोज्छन् । हेरेर, छोएर, हिँडेर, खेलेर अनेक तरहमा मानिसले प्रकृतिको सामीप्य बढाउन चाहन्छन् । यसै सन्दर्भमा अमेरिका यात्राका प्राकृतिक सौन्दर्यपान गर्न सफल नियात्राकार गङ्गाप्रसाद उप्रेतीले आफ्ना यात्रील समयलाई यस दृष्टिले पनि उपयोग गरेर त्यससम्बन्धी अनुभूतिलाई प्रस्तुत गरेका छन् ।

विश्वले यात्राको केन्द्रक मानेको अमेरिकामा भू विविधता रहेको उल्लेख यस ग्रन्थमा पाइन्छ । मिनिसोटा राज्यको भूसौन्दर्य र विकासको मझौलापनलाई नियात्राकारले प्रकाश पारेका छन् । यस राज्यको सिमाना, भौगोलिक बनावट, मूल विशेषता, अन्य राज्यहरूको तुलनामा यस राज्यको खास पहिचान, पर्यटकीय अवस्था र कृषितन्त्रको बारेमा नियात्राकारले रोचक शैलीमा वणर्न गरेका छन् । उनले मिनिसोटा राज्यको प्राकृतिक सौन्दर्यलाई यसरी प्रकट गरेका छन्-

उत्तरमा क्यानडा, पूर्वमा सुपेरियर ताल र विस्कन्सिन राज्य, दक्षिणमा इओआ राज्य र पश्चिममा उत्तर र दक्षिण डाकोटा राज्य रहेको मिनिसोटा राज्य भूप्रकृतिले अत्यन्तै सुन्दर रहेछ । लगभग आठ महिना जति हिउँकै लुगा ओढेर लुक्ने यहाँको भूआकृति चार महिना जति उन्मत्त तन्नेरी भएर आफ्नो भूप्राकृतिक सुन्दरता देखाउँदो रहेछ मान्छेहरूलाई । चारैतिर तालैताल, बिचमा मिसिसिपी नदीको मुहानको मझौला आकारको नदी र प्रायः पहाडका ससाना थुम्काथुम्कीबाहेक समतल नै देखिने मिनिसोटा कृषि व्यवसायबाट माथि उठ्न नसकी अमेरिकाका अरू औद्योगिक सहर जस्तो औद्योगिक आकारमा आउन सकेको रहेनछ (पृ.४८) ।

मिसिसिपीको रोज गार्डेन चर्चाका क्रममा नियात्राकारले त्यसलाई स्वप्नवागको रूपमा उल्लेख गरेका छन् । त्यस ठाउँको मौसम बदलिने पर्यावरणीय चर्चाले थप रौनकता प्रदान गरेको छ । नियात्राकारले आँखाको मिठो लोभमा नअटेका अमेरिकी प्रकृतिका दृश्यावलीलाई छाड्न नसकेर क्यामेरामा कैद गरेर सचित्र प्रकृति बनाएर राखेको समेत यस ग्रन्थमा उल्लेख गरेका छन् । सेन्ट क्लाउडको मौसम परिवर्तन विशेष प्रकृति छटाको अनुपम उदाहरण पनि हो । यस्ता प्रकृति विचरणका अनगिन्ती मनोरमतालाई सरस र सरलतापूर्वक रोचक बनाएर यस ग्रन्थमा प्रस्तुत गरिएको छ । कोलोराडोमा अवस्थित माउन्ट बाउनेल र भिस्ता तालको परिचर्चाले यस पुस्तकको प्रकृति रम्यतालाई थप गरिमामय बनाएको छ । यस्ता सुरम्य प्रकृति वणर्न र यससँग आफ्ना विशिष्ट अनुभूति निर्मण भएको अवस्थालार्ई उनले यस ग्रन्थमा अघि सारेका छन् ।

आलोचनात्मक चेतनाको अनुभूति

बौद्धिक व्यक्तिहरूले कुनै पनि भ्रमणलाई चर्म चक्षुभन्दा मर्म चक्षु वा ज्ञान चक्षुबाट बढी नियाल्ने गर्दछन् । ज्ञान चक्षुले अवलोकन गरेपछि कुनै पनि घटनाका कार्य कारण शृङ्खला, भूत, वर्तमान र भविष्यका बारेमा नयाँ धारणा निर्माण हुन्छ । त्यसले आम मानिसलाई पनि दृष्टिकोण निर्माण गर्न सहयोग गर्दछ । मूलतः कुनै पनि घटना, दृश्य, परिदृश्यहरूमा सकारात्मक र नकारात्मक दुवै प्रकारका पक्षहरू कायम रहेका हुन्छन् । मानव चेतनाले राम्रो पक्षको प्रशंसा र नराम्रो पक्षको विरोध वा आलोचना गरी नकारात्मकताबाट मानिसलाई टाढा राख्नु वा बचाउनु कर्तव्य नै हो । यस सन्दर्भमा नियात्राकार उप्रेतीले अमेरिका यात्राका केही समयमा आफूले अनुभव र अनुभूत गरेका अनेक विषयवस्तुलाई समीक्षा गरेका छन् ।

मूलतः उनको आलोचकीय पाटो त्यहाँका स्वतन्त्रता सापेक्ष परिघटना र आप्रवासी नागरिकहरूको सांस्कृतिक विघटन तथा त्यसको विकृतिमाथि केन्द्रित रहेको छ । अमेरिका जस्तो प्रजातन्त्रको नारा उद्घोष गर्ने राज्यमा बन्दीहरूले भोगेका नारकीय भयग्रस्त पीडालाई यस नियात्रामा वणर्न गरिएको छ । न्यूनतम मानवता पनि प्रदर्शन नभएको उक्त जेल-उत्पीडनको दृश्यमा द्रविभूत बनेका लेखकले आफ्नो मनलाई स्पष्ट हुनेगरी अमेरिका के क्रूरताको देश हो र ? अमेरिका के द्रव्य पिशाचको भूमि हो र ? जस्ता गम्भीर प्रश्नहरू खडा गरेका छन् । उनी आफ्नै शब्दमा त्यस देशको आलोच्य पक्षमाथि यसरी कटाक्ष गर्दछन् –
बाफ रे यो कस्तो आतिथ्य यिनको ! यात्रुहरू तुलनात्मक रूपमा भरिभराउ देखिन्थे । विमान कम्पनीले नाफा त कमाएकै हुनुपर्ने । तर किन हो अतिथि सत्कारमा यस्तो दरिद्रता यी अमेरिकीहरूको ! के यिनीहरू द्रव्यपिशाच नै हुन् त ? बेच्न ल्याएको सामानमा टाँसिएको मूल्यसूची हेरेर मैले गम खाएँ । बाहिर पसलमा तिर्नुपर्ने मूल्यभन्दा कम्तीमा पनि दोब्बर मूल्यको सूची टाँसिएको रहेछ ती सामानमा । फेरि भुक्तानी नगदमै गर्नुपर्ने, ट्राभल चेक अथवा क्रेडिट कार्डबाट तिर्न नपाइने । मैले सामान हेरेँ मात्र, मूल्य सूची हेरेरै छुन आँट गरिनँ पृ.४९) । …आफूलाई मानव अधिकार संरक्षणको विश्वभरिकै ठेकेदार ठान्ने अमेरिकाले ल्याटिन अमेरिकी मुलुकमा ग्वान्टेमाला जस्ता बन्दीलाई यातना दिने अमानवीय बन्दीघर सञ्चालन नगरेको पनि होइन ।

उनले आलोचनाको निसाना अमेरिकालाई मात्र गरेका छैनन्, त्यहाँ बस्ने मानिसहरूका छाडातन्त्र, बियर पिउन चन्दा उठाउने युवा जमात, धनका निम्ति माटो बिर्सने नागरिक, परिवारमा हुनुपर्ने आत्मीयपनको कमी, खान पनि नभ्याउने धन दौडको जीवन शैली, अन्धाधुन्ध सांस्कृतिक पहिचानको अन्त गरी संस्कृतिहीन भौतिक मानव मात्र बन्ने तीव्र होडबाजी जीवन, सामाजिक सद्भावमा आएको विचलन जस्ता पक्षहरूको आलोचनामा पनि नियात्राकार बढी गम्भीर बनेका छन् ।

अमेरिकी समाज र आप्रवासीप्रति विविध अनुभूति

नियात्राकार उप्रेतीले अमेरिकाको संस्कृति, समाज, संस्कार, प्रशासन, विज्ञान प्रविधि, प्रकृति आदिबारे आफ्ना समीक्षात्मक अनुभूतिलाई प्रस्तुत गरेका छन् । अमेरिका किन सर्वशक्तिमान् बन्यो त भन्ने सवालमा यहाँ काममा सम्झौता नहुने संस्कृति रहेको उनको धारणा पाइन्छ । धन आर्जनका दृष्टिले अमेरिका अब्बल बनेको र संसारका मानिसहरूको बहुसंस्कार, बहुसंस्कृतिका कारण अनि निजीकरणले पुँजीपतिको विकास भएकाले यस देशको भौतिक विकास उन्नतिमा पुगेको अनुभूति नियात्राकारले पनि लिएका छन् । यद्यपि अमेरिकामा मौलाएको अति उदार संस्कृति र छाडापनको निकट पुगेको सामाजिक दायित्वहीन परिवारतन्त्र जस्ता मानवीय अन्तरवस्तुका सवालमा अमेरिकी समाज आलोच्य बन्दै गएको अनुभूतिलाई उनले प्रस्तुत गरेका छन् । यसको पनि सापेक्ष रूपमा समीक्षा गर्दा अमेरिकामा बस्ने नेपाली आप्रवासीहरूको परिवार व्यवस्थापनमा त्यहाँको अति खुलापनको नकारात्मक असरबाट कसरी नेपालीहरू सुरक्षित र शान्त पारिवारिक सम्मिलनमा रहन सक्लान् भन्ने चिन्तन र चासोलाई नियात्राकारले उठाएका हुन् । उनले अमेरिकामा बसेर उच्च पदमा कार्य गरेका नेपालीहरू नेपालप्रति चिन्तन गर्न सक्रिय भएको अनुभूतिलाई पनि यस ग्रन्थमा व्यक्त गरेका छन् । त्यहाँ रहेका र स्थायी अस्थायी रूपमा बसेका नेपालीहरूले नेपालीपनको स्थापनामा लागेको सन्दर्भलाई लेखकले प्रकाश पारेका छन् । खानपिनका लागि नेपाली रेस्टुरेन्ट, लवाइ खवाइमा नेपाली पहिचानको रुचि, नेपाली संस्कार, धर्म, संस्कृतिका सवालमा चासो, नेपाली सङ्गठन, साहित्य, समाज, सङ्गति क्लब जस्ता संस्थागत साझा विकासमा लागेका सन्दर्भहरूलाई विश्व नेपाली एकता, समन्वय र सहकार्यको अभियानका रूपमा सकारात्मक प्रयास मानेर नियात्राकारले उल्लेख गरेका छन् ।

अमेरिकामा रहेका नेपालीहरू कसरी शिक्षा, अर्थतन्त्र, परिवार वयवस्थापन गर्न व्यस्त छन् ? अनि ती एकाइहरूमा विकसित नयाँ जीवनका आयामहरू के कस्ता छन् र त्यसले भविष्यलाई कतातिर मोड्ने छाँट देखाएको छ भन्ने जस्ता व्यावहारिक पक्षहरूमा नियात्राकारको विशिष्ट अनुभूति यस कृतिमा प्रकट भएको छ । उनले त्यहाँको पुस्तकालय प्रविधि, वातावरण, सुविधाजनक सेवा र नेपालको अवस्थालाई तुलना गरी त्यसबाट के कसरी सिकेर यहाँको विकासमा त्यो सीप लगाउन सकिन्छ भन्ने अनुभव र अनुभूतिलाई पनि प्रस्तुत गरेका छन् । त्यहाँका विश्वविद्यालयमा विद्यार्थीहरूले देखाएका शैक्षिक, मानवीय चासो र यहाँ नेपालका दलगत गुटबन्दीमा परेका विश्वविद्यालयको नाजुकपनलाई उनले तुलना गरेका छन् । नेपाली प्रतिभाहरू कसरी अमेरिकी समाज र विश्वविद्यालयहरूमा पलायन हुँदै गएका छन् भन्ने विषयलाई पनि उनले यस ग्रन्थमा प्राथमिकता दिएका छन् ।

आफ्ना पारिवारिक सदस्य अर्थात् छोरीको दीक्षान्त समारोहमा भाग लिएर त्यहाँको शैक्षिक गतिविधिलाई नियाल्ने अवसरलाई उपयोग गरी त्यसबाट प्राप्त प्राज्ञिक अनुभूतिलाई नियात्राकार उप्रेतीले यहाँको शैक्षिक उन्नयनमा जोड्ने आकाङ्क्षासहितका अनुभूतिलाई यस नियात्रा लेखनमा व्यक्त गरिएको छ । अलग र एकल मौलिक संस्कृति नभएको अमेरिकामा बहुलतामा आधारित समाजको उदार जीवन शैलीका साथै कर्तव्यप्रतिको लगाव र नियमनले लिएका गतिशील अवस्थालाई मसिनोसित पर्गेल्ने प्रयासमा यो निबन्धात्मक अभिव्यक्ति केन्द्रित भएको छ ।

युद्धको उत्पीडनमूलक स्मरणका अनुभूति

हिटलरको निरङ्कुश, युद्धजन्य घातक कदम र असङ्ख्य मानिसको कत्लेआम गरिएको दोस्रो विश्वयुद्धको घाउलाई सम्झाउने गरी निर्माण गरिएको वासिङटनस्थित होलोकस्ट सङ्ग्रहालयको अवलोकनपछि उत्पन्न अनुभूतिलाई नियात्राकारले अभिव्यक्त गरेका छन् । यस्तो इतिहासको भयलाग्दो दृश्यावलोकनले नियात्राकारलाई गम्भीर अनुभूतिमा परिणत गराएको यहाँ उल्लेख गरिएको छ । इतिहासको त्यो क्रूरताको स्मरणमा मानव सभ्यताको कलङ्क पोतिएको त्यस जघन्य अपराध विश्व शक्ति उतारचढावको गलत अभ्यास र निणर्यको परिणाम थियो । विश्वयुद्धको प्रमाण अवशेषलाई सङ्कलन गरी बनाइएको उक्त होलोकस्ट सङ्ग्रहालयले मानव चित्कार र क्रन्दनलाई ताजा बनाइदिएको अनुभूतिलाई यस ग्रन्थमा उतारिएको छ । ज्यान जोगाउन भाग्दै गरेका तत्कालीन कहालीलाग्दो अवस्थाका प्रमाणहरू, रोदन र छुटेका जुत्तालगायतका सामानको अवलोकनले मानवतामाथि कति भयङ्कर बज्रपात गरिएको रहेछ भन्ने स्मरणले स्तब्ध अनुभूति उत्पन्न भएको यस कृतिमा उल्लेख गरिएको छ ।

पोल्यान्डस्थित हिटलरको ग्याँस भट्टीको अवलोकनबाट नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति साहित्यकार स्व.मदनमणि दीक्षितले पनि एक समय अवलोकन गरेर त्यस अनुभूतिलाई ग्याँस च्याम्बरको मृत्यु नामक कथा कृति नै प्रकाशित गरेका थिए । हाल नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति रहेका नियात्राकार गङ्गाप्रसाद उप्रेतीको विश्वयुद्धको घाउ सम्झाउने स्थान अमेरिकाको होलोकस्ट रहेको छ र यी दुवै अभिव्यक्तिले विश्व मानव युगको कालो अन्यायको स्मरण गम्भीर रूपमा गराएको छ । हिटलरको मृत्युखानामा परेका विशेषतः यहुदीहरूको ज्यान लिएको त्यो चरम उत्पीडन अब कहिल्यै नदोहोरियोस् भन्ने मानवीय कामना यस नियात्रामा प्रकट भएको छ ।

निष्कर्ष

आफ्ना सन्तानको शैक्षिक प्रगतिमा साक्षी बस्ने गरिमामय कार्य तथा प्रिय आफन्तजनको निमन्त्रणका सिलसिलामा अमेरिका पुगेर विभिन्न प्रकारको भ्रमण गरी विविध उल्लखेनीय अनुभूति ग्रहण गरेका नियात्राकार गङ्गाप्रसाद उप्रेतीले घुम्दै फिर्दै अमेरिकामा नियात्रा सङ्ग्रहमा त्यसलाई स्पष्ट रूपमा अभिव्यक्त गरेका छन् । लुरे गुफा होस् वा रमणीय वनभोज स्थल, समुद्रको छाल होस् वा आकाश स्पर्शीय भवन संरचना, सहरको घन्चासान विकास, नासाको उच्च विज्ञानशाला, मानव हत्याको होलोकस्ट स्मरणशाला जस्ता अनगिन्ती स्थानको घुमघामलाई नियात्राकारले यस कृतिमा प्रस्तुत गरेका छन् । प्रकृतिको छटा मात्रै होइन, सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक जस्ता पक्षहरूलाई सूक्ष्म रूपमा नियालेर त्यसबाट प्राप्त गम्भीर प्रकारका अनुभूतिलाई स्पष्ट पार्ने कार्य यस ग्रन्थमा सम्पन्न भएको छ । यस निबन्धमा विधागत र अन्य कमजोरीका पाटाहरूलाई यहाँ केलाउन बाँकी नै छ । विश्व शक्तिमा उदाएको चर्चित राष्ट्र अमेरिका पुगेकालाई सम्झाउने काम र नपुगेकालाई केही रहस्यको उद्घाटन गर्ने काममा ज्ञानवद्र्धक हुने गरी नेपाली नियात्रा साहित्यमा यस कृतिको आस्वादन विभिन्न कोण र उद्देश्यका साथ हुनेछ ।