१. आमुख-
नेपाली साहित्य क्षेत्रमा शिलाङका विक्रमवीर थापाको नाम उल्लेखनीय र महत्त्वपूर्ण छ । उनी विशेष गरी आख्यान लेखन क्षेत्रमा सक्रिय छन् । उनको नयाँ औपन्यासिक कृति पाएका छौँ- माटो बोल्दो हो । प्रस्तुत कृतिलाई नेपाली साहित्यमा अध्याख्यानको रूपमा राख्न सकिन्छ । यसभन्दा अघिका उनका प्रकाशित कृतिहरूमा ‘विगतको परिवेशभित्र’ (उपन्यास, १९८३), ‘टिस्टादेखि सतलजसम्म’ (उपन्यास, १९८६), ‘बीसौँ शताब्दीकी मोनालिसा’ (कथासङ्ग्रह, १९९७), ‘हत्या-रातो डायरीको’ (संस्मरण,१९९७), ‘मणिसिंह गुरुङ’ (जीवनी,२०१०) । पुरस्कारका हकमा उनले नेपालबाट ‘रत्नश्री स्वर्णपदक’, सिक्किमबाट ‘स्रष्टा पुरस्कार’ (१९९२), ‘सिक्किम सम्मान सम्मिलन’ (२००४), हरिभक्त स्मृति पुरस्कार, असम र मुख्य गरी ‘बीसौँ शताब्दीकी मोनालिसा’का लागि ‘साहित्य अकादमी पुरस्कार, नयाँ दिल्ली’ बाट सन् १९९९ सालमा पाएका छन् ।
२. विक्रमवीर थापाको औपन्यासिक प्रवृत्तिको सामान्य चर्चा-
विक्रमवीर थापालाई एक जना कवि, कथाकार, जीवनीकारका रूपमा देखिए तापनि उनको मूल व्यक्तित्व भने उपन्यासकार रहेको छ । उनका ‘विगतको परिवेशभित्र’, ‘टिस्टादेखि सतलजसम्म’ र ‘माटो बोल्दो हो’ गरी तीनओटा औपन्यासिक कृतिहरूले उनलाई एक सफल उपन्यासकार बनाएका छन् । उनका उपन्यासहरूका मुख्य विषयवस्तु भारतका नेपाली (गोर्खाली) जातिको अवस्था हो । गरिबी, अशिक्षा, पल्टने जीवन आदिले जन्माएका विकृति र विवशता नै उनका जातीय चिन्तनको औपन्यासिक विषयवस्तु बनेका छन् । ‘उनी मूलतः स्वच्छन्दतावादी उपन्यासकार भएको हुँदा उनका उपन्यासमा भावुकता, संवेदनशीलता, आवेग, प्रकृति चित्रण, प्रकृति र मानवको तादात्म्य, परम्परा र जातीयताप्रति गौरवबोध र त्यसको महत्ता गान जस्ता प्रवृत्ति पाइन्छन् । यसै गरी उनी ऐतिहासिक सन्दर्भको प्रयोग गर्ने, स्थानीयताको दिग्दर्शनतर्फ विशेष रुचि राख्ने तथा त्रासदीय र दुःखान्तीय’[1] औपन्यासिक ढाँचा बुन्ने उपन्यासकार हुन् ।
३. अध्याख्यानको सैद्धान्तिक चिह्नारी-
साहित्यको सृजनालाई नै अन्तर्वस्तु बनाएर सिर्जिएको कविता, आख्यान, नाटक, निबन्ध आदि विधा रचनाहरू अधिसाहित्यिक रचना हुन् । साहित्यिक रचनाभित्रै साहित्यका बारेमा अथवा त्यही लेखिँदै गरेको कृतिबारे बोल्नु वा प्रकाश हाल्नु यस्तो रचनाको विशेषता हो । कविताभित्र कविताका बारेमा, कथाभित्र कथाका बारेमा, उपन्यासभित्र उपन्यासकै बारेमा र निबन्धभित्र निबन्धकै बारेमा र नाटकभित्र नाटककै चर्चा हुनु अधिसाहित्यिक रचना हो । यस्तो रचनामा अधिकाव्यिकता, अध्याख्यानात्मकता, अधिनाटकीयता र अधिनैबन्धिकता आदि स्वरूप देखा पर्छन् । यस्तो कृतिको सम्बन्ध विषय र प्रविधि दुवैसँग हुन्छ । सूक्ष्म रूपमा हेर्नु हो भने कुनै सर्जकका सृजनामा उसका साहित्यिक मान्यता प्रस्तुत हुनु नै अधिसाहित्यिकता हो । यसबाट लेखकको लेखन प्रक्रिया पनि अभिव्यक्त हुन्छ । कतिपय रचनामा सम्बन्धित कृतिको रचना प्रक्रियालाई नै मूल विषयवस्तु बनाइएको हुन्छ । रचना-गर्भ यस्तै सृजना हो । [2] आख्यान भनेको घटनाशृङ्खला, पात्रलगायत पर्यावरण र केही तत्त्वहरूलाई संयोजन गरेर बनाइएको कथा हो । आख्यानमा यथार्थता, रागभाव, इतिहास, मिथक र स्वैरकल्पनाजस्ता स्रोतबाट ल्याइएका सामग्रीलाई आख्यानकारले कल्पित कथायिता सृजना गरी कलात्मक सौन्दर्य प्रदान गरेको हुन्छ । केही आधुनिक र मूलतः उत्तरआधुनिक साहित्यमा यथार्थ र कल्पनालाई अभेद्य रूपले मिश्रण गरेर पाठकलाई भ्रमित पार्ने सौन्दर्य मूल्यको खोजी पनि भएको हुन्छ । जीवनको अर्थहीनता प्रकट गर्न, यथार्थ भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ भन्ने देखाउन वा समाजका व्यथाहरू काल्पनिक कथा मात्र हुन् भन्ने भ्रम पाठकमा सृजना गर्नका लागि विशेष गरी दोस्रो विश्वयुद्धपछि अध्याख्यानको रचना हुन थालेको पाइन्छ ।
अतः उपन्यासको सृजनालाई नै विषयवस्तु बनाएर उपन्यास रचिनु अध्याख्यान हो । विषयभन्दा बढी यो एक किसिमको लेखन प्रविधि पनि हो । यसले पाठकलाई यथार्थ र रचनाबारे भ्रम सृजना गरिदिन्छ र सम्पूर्ण चित्रणलाई खाली किताबका कुरामा सीमित पार्दछ । [3] क्रिस बाल्डिकका अनुसार अध्याख्यान आख्यानकै अस्तित्वमाथि खुल्ला टिप्पणी गर्ने रचना हो । हुन पनि यसमा लेखक आत्म सचेत भई आफूले लेखिरहेको कुराका बारेमा पाठकलाई सम्बोधन गरेर क्षमा मागिएको हुन सक्दछ वा लेखनलाई ठट्टा बनाउन सक्दछ । यसले गर्दा पाठक कथाभित्र सम्मोहित भएर हराउन पाउँदैन किनभने त्यसमा पाठकलाई दिएको सामग्री वास्तविक नभई लेखकद्वारा बुनिएको कल्पना मात्र हो भन्ने तथ्य सम्झना गराउने काम बारम्बार भइरहन्छ । [4] यस्तोमा लेखकले आफ्नो आख्यानका बारेमा कृतिको कतै भित्र, कतै बाहिरबाट पाठकलाई सूचना प्रवाह गर्दछ । यो साँच्चिकै होइन है पाठक हो भनेर पाठकलाई अवगत गराउँदै गर्दछ । कल्पित भए तापनि यथार्थ र कल्पनाको दोसाँधमा कृति लेखिएको जस्तो देखिन्छ ।
४. ‘माटो बोल्दो हो’ मा प्रयुक्त अध्याख्यान-
माटो बोल्दो हो उपन्यासको भूमिकामा नै जे जति कुरा उल्लिखित छन्, तीबाट यसको भूमिकालाई अध्याख्यानको रूपमा बुझ्न सकिन्छ । भूमिकामा उल्लिखित तथ्य र उपन्यासको कथाप्रसङ्ग एकै खालको छ । यहाँ उपन्यासकार पात्र औ पात्र नै उपन्यासकार बनेका छन् । उपन्यासकारले उपन्यासमा आफ्नो भूमिका मूल पात्र गगनबहादुर गुरुङको रूपमा उतारेका छन् । यद्यपि गगनबहादुर नै चाहिँ उपन्यासकार थापा भन्ने पक्कै होइनन् । ती दुईमा केही मिल्दाजुल्दा प्रसङ्गलाई यसरी केलाउन सकिन्छ-
स्वयम् उपन्यासकार थापा | मूल पात्र गगनबहादुर गुरुङ | |
१. | उपन्यासकारकी दिदी उरियामघाटमा रहेकी | पात्र गगनबहादुरकी दिदी पनि उरियामघाटमै बिहे भएर गएकी । |
२. | उपन्यासकारलाई विगतको परिवेशमा उपन्यास छाप्न दिदीबाट सहयोग लिएको कुरा भूमिकामा स्वीकारोक्ति । | गगनबहादुरले पनि यो कुरा उल्लेख गरेको उपन्यासमा उल्लेख छ । |
३. | उपन्यासकारले बसाइँ एक परिणति अनेक नामक उपन्यास लेखेको प्रसङ्ग भूमिकामा उल्लेख पाइन्छ । | गगनबहादुर पनि एक साहित्यिक रुचि भएको, उसले बसाइँ एक परिणति अनेक लेखेको प्रसङ्ग उपन्यासमा उल्लेख पाइन्छ । |
४. | उपन्यासकारले मसिना भान्जा-भान्जाहरू मिली गुराँस साहित्य प्रकाशन सुरु गरी माटो बोल्दो हो उपन्यास छापेको भूमिकामा उल्लेख छ । | गगनबहादुरले पनि भान्जा-भान्जीहरूसित मिली देउसी-भैली खेलेर जुटेको पैसाले मुना साहित्य प्रकाशनको प्रकाशकत्वमा कुशलसिंह थापाको गोडधुवा उपन्यास छापेको उल्लेख छ । |
५. | उपन्यासकारले आफ्नो जीवनमा दीया र तुलसी छेत्रीले ठुलो गुण लगाएको कुरा भूमिकामा उल्लेख गरेका छन् । | गगनबहादुरले गोडधुवा उपन्यासमा वर्णित दीयाको जीवनी पढेर दीयालाई भेट्न भाक्सू जान्छ । |
६. | उपन्यासकारले साहित्य अकादमीको भ्रमण अनुदान पाएको उल्लेख छ । | गगनबहादुरले पनि उही संस्थानबाट भ्रमण अनुदान पाएर भाक्सू जानु । |
यद्यपि यी दुई व्यक्तिमा समानताभन्दा भिन्नता बढी पाइन्छन् । यी भिन्नताहरूलाई पनि यो तालिकाबाट हेर्न सकिन्छ-
स्वयम् उपन्यासकार थापा | मूल पात्र गगनबहादुर गुरुङ | |
१ | सानैमा बाबुआमा खसेको दाजुभाउजूको संरक्षणमा हुर्केको | बाबुआमाको पछिसम्म उपस्थित |
२. | पल्टनमा भर्ना भई ढाडको रोगका कारणले स्वैच्छिक सेवानिवृत्त | पल्टन जान मन नगरी व्यापारतिर लाग्नु |
३. | उपन्यासकार अविवाहित | सरू नामकी नारीसित विवाह भएको र दुई सन्तानको बाबु बनेको छ । |
४. | दाजुको दुर्घटनाको कारण निधन भएको | गोडधुवाका काल्पनिक उपन्यासकार थापाको दुर्घटनामा परी निधन । |
५. | उपन्यासकार ढाडको रोगी | गगनबहादुर निरोगी |
६. | उपन्यासकार नवौँ श्रेणी पनि पूरा नभई घरेलु आर्थिक कारणले पल्टन जानु । | गगनबहादुर बी ए. पास गरेको, तर कुनै सरकारी नोकरी पाउँदैन, पसल चलाउँछ । |
प्रस्तुत ‘माटो बोल्दो हो’ मा वास्तविकता र कल्पनाको मिश्रित अवस्था छ । कल्पना नै यथार्थ बनेको औ यथार्थ नै कल्पना बनेको छ । यसमा वास्तविकता र काल्पनिकताको दूरी छोटो देखिन्छ । कल्पनाभित्र नै यथार्थको भ्रम सिर्जिएको छ । कतै कल्पना नै यथार्थ र यथार्थ नै कल्पना भएको छ । यही यथार्थ र कल्पनाको सुन्दर र कलात्मक सङ्गमबाट एउटा सुन्दर कलाकृति निर्माण भएको छ-‘माटो बोल्दो हो’ । यसको भूमिकादेखि नै औपन्यासिक कथा सुरु भएको छ । उपन्यासकारले तुलसी छेत्री र दीया छेत्री नामका वास्तविक दुई चेलीहरूलाई एउटै बनाई औपन्यासिक चरित्र निर्माण गरेका छन् । उपन्यासमा वास्तविक तुलसी छेत्री नै दीया छेत्रीको रूपमा प्रस्तुत गरिएको छ । यस उपन्यासमा वास्तविक संसार र काल्पनिक संसारको सुन्दर समायोजन गरी एउटा मिश्रित रूप दिइएको छ । काल्पनिक लेखकको सृजना गर्ने क्रममा ‘माटो बोल्दो हो’ शीर्षक उपन्यासका लेखकमा कुशलसिंह थापा मगरको नामोल्लेख गरी कुशलसिंह थापा मगरद्वारा लिखित उपन्यास गोडधुवा हो भनेर नौल्याइ प्रदान गर्न खोजिएको छ । [5] यसरी उपन्यासभित्र काल्पनिक उपन्यासको सृजना गरी प्रचलित र परम्परित ढाँचाभन्दा भिन्न ढङ्गले प्रयोगशील संरचनाका उपन्यास सृजना गर्नु उपन्यासकार विक्रमवीर थापाको संरचनागत वैशिष्ट्य हो । यसमा लेखकको व्यक्तित्व कतै गगनबहादुर गुरुङ, कतै कुशलसिंह थापा र कतै सुदीपबहादुर थापाको रूपमा प्रकट भएको देखिन्छ । उपन्यासकारले भूमिकामा उल्लेख गरेअनुसार तुलसी छेत्रीसित उनको दाजुबहिनीको न्यानो साइनो थियो र उपन्यासमा वर्णित ‘गोडधुवा’ को प्रसङ्ग उनीसित जोडिएको थियो । यस हिसाबले उनी सुदीपका रूपमा देखा परेका छन् । यता गोडधुवा उपन्यासको सन्दर्भमा कुशलसिंह थापा मगरले लेखेको, उनीसित दीयाको दाजुबहिनीको न्यानो साइनो थियो भन्ने कुरा मूल उपन्यासमा वर्णित छ । बहिनी दीयालाई भेट्न भाक्सू जाँदा कुशलसिंह थापा दुर्घटनामा परी मरेको भन्ने तथ्य चाँहि काल्पनिक बनाइएको देखिन्छ ।
अतः ‘माटो बोल्दो हो’ एउटा प्रयोगशील औपन्यासिक कृति हो । यस उपन्यासमा विभिन्न पाठअन्तःपाठ रहेका छन् । यसभित्र ऐतिहासिक, भौगोलिक, सांस्कृतिक पक्षहरूका वर्णन पाइन्छ । यसमा विशेष गरी आसाममा नेपालीभाषी सन्तानको अस्तित्व, इतिहास, आजीविका, सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, व्यावहारिक अवस्थाको सर्वेक्षण गरिएको पाइन्छ ।
प्रस्तुत उपन्यासमा उपन्यासभित्र उपन्यास छ । पात्र गगनबहादुर थापाले कुशलसिंह थापा मगरको गोडधुवा उपन्यासको पाण्डुलिपि पाउँछ । त्यो उपन्यास पढेर उसकी श्रीमती पनि द्रवीभूत हुन्छे । यसलाई कसरी छपाइदिनु भन्ने कुरामा उनीहरू चिन्तित रहन्छन् । तिहारमा दिदीकहाँ जाँदा भान्जा-भान्जीलगायत अरू गाउँले युवायुवतीहरूसँग देउसीभैली खेलेर पैसाको जोगाड गरेको र त्यसबाट उपन्यास छापेको कुरा उल्लेख छ ।
५. उपन्यासको संरचना-
प्रस्तुत उपन्यास जम्मा ३६३ पृष्ठको मोटो आयामको छ । यद्यपि यसमा प्रयुक्त अक्षर फन्ट सामान्यभन्दा सानो आकारको छ । यदि यो अन्य पुस्तकसरह सामान्य आकारको फन्टमा भए ४४0 देखि ४५० पृष्ठको हुन सक्ने अनुमान गर्न सकिन्छ । उपन्यासको मूल दुईओटा संरचनात्मक ढाँचा छन्- एउटा हो मूल उपन्यास र अर्को भित्री गर्भे उपन्यास गोडधुवा । उपन्यासको मूल खण्डको अघिल्ल्लो भागमा जम्मा तेह्र अध्याय, भित्री गर्भे उपन्यासमा बाइस अध्याय र मूल खण्डकै पछिल्लो भागमा दुईओटा अध्याय छन् । अतः मूल उपन्यासमा पन्ध्र र गर्भे उपन्यासमा बाइस तथा भूमिकादेखि नै उपन्यास सुरु भएकाले यसमा जम्मा अठतिस अध्याय छन् । अध्याय विभाजन प्रायः गरी प्रसङ्गगत कालक्रमिक आधारमा गरिएको छ । प्रायःजसो अध्यायहरू हरदरमा सातदेखि दस पृष्ठमा आबद्ध छन् । उपन्यासको सुरुवात आफू नै कथायिकाका रूपमा देखिन्छन् भने अन्त्य चाँहि उपसंहारका रूपमा देखिन्छ । यसको पृष्ठ २६ सम्म त भूमिका खण्ड नै छ जसमा उपन्यासका बारेमा धेरै प्रकाश पारिएको छ । यसमा जम्मा नौओटा चिठी, एउटा कविता पनि समावेश गरिएको छ । यी चिठीहरू पृष्ट सङ्ख्या क्रमैले ५५, ७५, ९४, ९६, २०६, २०९, २६२, २६३ र २९६ मा समावेश छन् । पृष्ठ सङ्ख्या २५५ मा ‘भानु, तिम्रो किरण मलाई देऊ’ शीर्षक भएको एउटा कविता गाभिएको छ ।
६. उपन्यासको कथावस्तु-
प्रस्तुत ‘माटो बोल्दो हो’ उपन्यास घटनाप्रधान रहेको छ । यसमा सानाठुला गरी धेरै घटनाहरू बुनिएका छन् । यसमा कथानकका दुईओटा धार छन्- म पात्रको आफ्नो जीवनकथा र अर्को गर्भे उपन्यास ‘गोडधुवा’को कथा । म पात्रले मेट्रिक उत्तीर्ण गरे यताको कथावस्तु छ । मूल उपन्यासको कथावस्तुलाई आदि, मध्य र अन्त्य गरी तीन भागमा बाँड्न सकिन्छ । म पात्रले मेट्रिकको तयारी गर्नु, परीक्षामा पास हुनु, बाबुचाँहिले पल्टन पठाउन खोज्नु, पहिले म पात्र आफैँ जानीजानी भर्ती हुनबाट पन्छिनु तर पछिबाट बाबुको मन राख्नलाई साँच्चै पल्टनमा भर्ती हुन खोज्दा नपाउनु, बाबु निराश हुनु आदि यसका आदिभागका घटनावली हुन् । बाबुले घर धान्नका लागि पसल खोल्नु, बाबुको निधन हुनु, सरूसित म पात्रको प्रेम हुनु र बिहे हुनु, म पात्रले शिलाङको एउटा साहित्यिक पत्रिकाको सम्पादन गर्नु, आमाको पनि निधन हुनु, छोरी र छोराको जन्म हुनु, उसको पत्रिका ‘हाम्रो उद्देश्य’ का लागि कुशलसिंह थापा मगरको एउटा कथा प्रकाशनार्थ आउनु, पत्रिका सञ्चालनसम्बन्धी सम्पादक र व्यवस्थापकबिच खटपट हुनु र उसले राजिनामा दिनु, कुशलसिंह थापाको कथा नछापिनु, म पात्रलाई मनमा चोट पर्नु, कुशलसिंहले उपन्यास छाप्नेबारे उसलाई चिठी लेख्नु तर पछिबाट कुशलसिंहको मृत्यु भएको चिठी आउनु, पछिबाट म पात्र कुशलसिंहको घर उरियामघाट जानु र त्यहाँबाट उपन्यास ‘गोडधुवा’ को पाण्डुलिपि ल्याउनु, तिहारमा दिदीको घर जाँदा त्यहाँको किशोरकिशोरीहरूसँग लागी देउसीभैली खेलेर पैसा जुटाउनु र उपन्यास गोडधुवा छापिनु इत्यादि यसको मध्यभागको घटनावली हुन् । म पात्र गगनबहादुरलाई साहित्य एकाडेमीको भ्रमण अनुदान पाउने खबर आउनु, ‘गोडधुवा’ उपन्यासकी मूल पात्र दीया भएको ठाउँ भाक्सू जाने सङ्कल्प गर्नु र त्यहाँ जानु, भाक्सूमा दीयालाई भेटी कुशलसिंहको कुरा हुनु र उसले बिहेमा गोडधुवाका रूपमा दिएको माटाको ढिका हेर्नु, म पात्र फर्किनु यस उपन्यासको अन्त्यभागका घटनावली हुन् ।
अर्कापट्टि गर्भे उपन्यास ‘गोडधुवा’ को पनि आफ्नै कथानक छ । यसलाई पनि आदि, मध्य र अन्त्य भागमा विभाजन गर्न सकिन्छ । असमेली नेपाली विद्यार्थी सङ्गठनको वार्षिक सम्मेलनमा असमका विभिन्न स्थान र प्रान्तका युवायुवती भेला हुनु, त्यहाँ परिचय हुनु, खाना खाँदा टङ्कबहादुरको घाँटीमा टपरीको सिन्का अड्किनु र सुदीपबहादुर थापाले हातले निकालिदिनु, त्यसपछि टङ्क र सुदीपको गहन मित्रता कायम हुनु इत्यादिसम्मलाई आदिभाग मान्न सकिन्छ । उक्त समारोहपछि सुदीप टङ्कको घर जानु, टङ्कका आमाबाबु भेट्नु, बुनुलाई फेरि एकपल्ट भेट्नु, टङ्कसित एकदिन बिसागाउँतिर घुम्न जाँदा अरिङ्गालले भेटेर उसको शरीरको आठ ठाउँमा चिल्नु र उ एउटा घरअगाडि बेहोस भई लड्नु, बुनुले उसलाई चिनेर आफ्नो घर लगी स्याहार्नु, आठ-दस दिन स्याहारेपछि सुदीप जाती हुनु, दुई जनाबिच दाजुबहिनीको साइनो गाँसिनु, फेरि आउने वाचा गर्दै बहिनीसित बिदा माग्नु, बुनुका दाजुभाउजूले दाजुबहिनीको सम्बन्धलाई अनैतिक ठान्नु, एकदिन दाजु आएर बुनुलाई थप्पड लगाउनु, एउटा सांस्कृतिक कार्यक्रममा बुनुको नाच देखेर एउटा इन्जिनियर मक्ख पर्नु र बुनुका बारेमा चासो लिनु, एकदिन बुनुका लागि इन्जिनियर भैरवबहादुर माग्न आउनु, उनीहरूको बिहे तय हुनु, बुनुले दाजु सुदीपलाई आफ्नो बिहेमा आउने निम्तो गर्नु इत्यादि घटनावलीसम्म मध्यभाग हो । बुनुको बिहेको निम्तो पाएर सुदीप आउनु तर घरका दाजु- भाउजूले शङ्का गर्नु, बिहेको दिन बुनुको मूल घरमा गई माटाको ढिको ल्याई बहिनी मानेकी बुनुलाई गोडा धोएर ‘गोडधुवा’ दिनु इत्यादि यसको अन्त्य भागको कथावली हुन् ।
दाजुबहिनीको सम्बन्ध रगतमा मात्र सीमित हुँदैन, यो एक प्रकारको भावनात्मक सम्बन्ध पनि हो । सुदीपसित बुनु भन्ने दीयाको पहिले एउटा सामान्य विद्यार्थी समारोहमा भेट हुन्छ तर दोस्रोचोटिको भेट एउटा अनौठो परिदृश्यमा हुन्छ । साथी टङ्कसित घुम्न आएको सुदीपलाई जङ्गलको छेउमा अरिङ्गालोले चिलेर मरणासन्न पार्छ । यस्तो बेलामा बुनुले उसलाई चिनेर आफ्नो दाजुकी बहिनी भई हप्ता दस दिन स्याहार्छे । उनीहरू रगतले पराई भए पनि भावनाले दाजुबहिनी हुन् । उनीहरूको त्यो दाजुबहिनीको साइनो पवित्र छ । मनमा एउटा पनि खोट, पाप, आशक्ति, पराईपन हुँदैन । पछिबाट बुनुका दाजुभाउज्यूले यसलाई अर्कै शङ्काको दृष्टिले हेर्छन् । बुनुको विवाहमा बुनुले बोलाउँदा ऊ माइती भएरै आउँछ र बुनु जन्मिएको घर छेउको माटाको ढिकालाई गोडधुवाका रूपमा दिन्छ ।
७. उपन्यासको पात्र प्रयोग परिपाटि–
प्रस्तुत उपन्यासमा पात्रहरूको समुचित प्रयोग गरिएको छ । यसमा पात्रपात्राको सङ्ख्या निकै छ । मूल उपन्यासको कथानकसँग थोरै पात्रको प्रयोग छ भने ‘गोडधुवा’ मा चाँहि निकै पात्रपात्रको समावेश गरिएको छ । यसमा कतै काल्पनिक पात्र, कतै साँच्चिकै पात्रपात्राको प्रयोग पाइन्छ । गगनबहादुर गुरुङ यस उपन्यासको मूल पात्र हो । ऊ बाबुले पल्टनमा भर्ती पठाउन खोज्दा जानीजानी जाँदैन तर पछिबाट भने चाहेर पनि मौका पाउँदैन । ऊ स्वतन्त्र र स्वाभिमानी विचार भएको मानिस हो । पसल खोलेर भए पनि आफ्नो गुजारा गरेको छ । उसको पसलले जहान-परिवारलाई दुःखसुख धानेकै छ भने ऊ शिलाङको साहित्यिक पत्रिका ‘हाम्रो उद्देश्य’को स्वतन्त्र रूपमा सम्पादन गर्दछ । कसैले उसको काममा हस्तक्षेप गरे उसले सहँदैन । संस्थाका सभापतिले धनको लोभले अर्काको नाममा आफैँले कथा छापिदिँदा उसको मन कुँडिन्छ र ऊ सम्पादकत्वबाट राजिनामा दिन्छ । ऊ संवेदनशील व्यक्ति हो । उसले कुशलसिंह थापाको कथा आफ्नो पत्रिकामा हाल्न नसक्दा अपराधबोध गर्दछ । बरु आफैँ कुशलसिंहको घरमा गएर उसको उपन्यासको पाण्डुलिपि लिएर आउँछ । उक्त उपन्यास छाप्नका निम्ति शिलाङका कतिपय धनीमानीकहाँ गुहार्न जाँदा उपलब्धि हासिल गर्न सक्दैन । गगनले आफ्ना भान्जाभान्जीसित मिलेर देउसी खेली केही रकमको जगेडा गरी छापिदिन्छ । ऊ जातिप्रेमी छ । आफ्नो जातिको कमीकमजोरीमा कुण्ठित हुन्छ । ऊ घर परिवारप्रति दायित्वशील छ । आफ्नी पत्नीलाई अत्यन्त मायाँ गर्छ । आफ्ना सन्तानलाई राम्रो शिक्षा दिने व्यवस्था गरेको छ । कुशलसिंहको उपन्यास गोडधुवा पढेर ऊ पनि अति द्रवीभूत हुन्छ । सुरुदेखि उसको चरित्रमा खासै परिवर्तन भएको देखिन्न, त्यसैले ऊ च्याप्टो पात्र हो ।
सरू भन्ने म पात्र गगनबहादुरकी प्यारी पत्नी, एउटी असल गृहिणी, दायित्वशील आमा हो । उसको परिवार कतैबाट शिलाङको एउटा घरमा डेरा लिएर बसेको, बाबु चाँहि रक्स्याहा हुनाले बाल्यकाल कष्टसँग बिताएकी युवती हो । पसले युवक गगनसित आकर्षित भई प्रेमको प्रादुर्भाव भएर बिहे गरेकी छ । उसले घरपरिवारलाई राम्ररी सम्हालेकी छ । पसलबाट हुने सीमित आयले पनि उसले कुशलतासँग घर व्यवहार चलाएकी छ । ऊ संवेदनशील नारी हो । ऊ पनि कुशलसिंह थापाको उपन्यासको पाण्डुलिपि पढेर द्रवीभूत भएकी छ र लोग्नेलाई उक्त उपन्यास छाप्न उत्साह दिन्छे । ऊ आफ्नी आमाजूलाई तिहारको चिनो पठाउन भुल्दिन । ऊ अनुकूल चरित्रकी, सुन्दरी, सुशील पात्र हो । सरूझैँ पत्नीले गर्दा नै गगनको जीवन सुखी, सन्तोषी र सफल बनेको छ ।
दुई जना मुख्य पात्रबाहेक गगनका आमा, बाबा, दिदी, भान्जा, भान्जी, डम्बर, पूर्णबहादुर राई आदि यस उपन्यासका केही सहायक पात्रपात्रा हुन् । कुशलसिंह थापा यसको नेपथ्य पात्र हो । नेपथ्यमा रहे तापनि उपन्यासभरि कुशलसिंहको घरिघरि उल्लेख हुनाले उसको निकै प्रभावशाली भूमिका देखिन्छ । कुशलसिंहको बाबु-आमा-बहिनी, सरूका बाबु, आमा, भाइ, बहिनी, नीरज राई र उसकी श्रीमती सुप्रभा, पसलमा बस्ने अमृत दाइ, सरूमायाका आमा-बाबु, बहिनी, भाइ, हाम्रो उद्देश्य पत्रिकाका समूह सदस्यहरू (भीमबहादुर छेत्री, शिवानन्द शर्मा, नित्यानन्द ढकाल, प्रतिमान छेत्री), पूर्णबहादुर राईका आमाबाबु, बहिनी सिता, तारा प्रधान, शिलाङका गोर्खा बटालियनका दुई जना सिपाही सर्वजित थापा र सुदेश राणा, मालती आदि गौण पात्रपात्रा हुन् । गोपीनारायण प्रधान एक वास्तविक पात्र हुन् भने मित्रसेन थापा र मगन पथिकजस्ता केही वास्तविक पात्रहरूको पनि नामोल्लेख पाइन्छ ।
‘गोडधुवा’ उपन्यासमा चाँहि पात्रहरू निकै मात्रामा प्रयोग गरिएको छ । यसको मुख्य पात्रपात्रा सुदीपबहादुर थापा र दीया छेत्री (बुनु) हुन् । सुदीप एक भावुक, जातिप्रेमी, माटोप्रेमी, साहित्यिक रुचि भएको विद्यार्थी युवक हो । उसको नैतिक र चरित्र उदात्त र उच्चकोटिको छ । उसलाई अरिङ्गालले चिल्दा कति दिन बुनुले स्याहारेपछि ऊ अत्यन्त, कृतज्ञ, दायित्वशील, संवेदनशील बन्छ । नयाँ साथी टङ्ककी दिदीको बिहेमा कति टाढादेखि आउँछ । बुनुको बिहामा पनि आएर बुनुको गाउँको मूल घर गई माटो लिएर बेहुली बहिनी बुनुलाई गोडा धोएर गोडधुवाको रूपमा दिन्छ । बुनु (दीया छेत्री) पनि एउटी सुन्दरी, सुशील, कर्तव्यपरायण, आमाबाबुकी प्यारी र भक्त, प्रतिभाशाली विद्यार्थी युवती हो । ऊ नाच्न, कविता लेख्न, घरेलु कामकाजमा पनि निपुण छे । ऊ भर्खरै चिनेको सुदीपलाई आफ्नो घरअघाडि घाइते अवस्थामा देख्दा, दयाले पग्लिन्छे, खिल निकालिदिन्छे, आठ-दश दिन आफ्नै हात खाना ख्वाउँछे । सुदीपकी प्यारी बहिनी बनेकीमा खुसी हुन्छे, दाजुलाई मायाँ गर्छे । आफ्नो बिहेमा पहिले दाजुलाई निम्तो पठाउँछे । ऊ एक अनुकूल, गतिशील र केन्द्रीय पात्रा हो । टङ्क लिम्बू, मनबहादुर छेत्री, बुनुकी आमा, सुवास छेत्री सहायक पात्रपात्रा हुन् । दीयासित बनभोज खान जाने साथीसङ्गी, नोकर विदुर, नोकर बिर्खे, लीलाबहादुर थापा, उसकी पत्नी, माझी सियाराम, प्रेमलता, भैरवबहादुर थापा, उसको बाबु ज्ञानसिंह, हृदयमान, बलबहादुर लिम्बू, विष्णुप्रसाद उपाध्याय, माधव, धनमाया, मनकुमारी आदि यसका गौण पात्रपात्रा हुन् ।
८. उपन्यासको परिवेश–
यस उपन्यासको मूल पटभूमि शिलाङ सहरको छ भने उपन्यासलाई उरियामघाट, लिखापानी, सोनाइनेपाली आदि गाउँतिरको परिदृश्य छ । आसामको गाउँ घर, त्यहाँको सामाजिक, सांस्कृतिक, जातीय परिवेशलाई नजिकबाट केलाइएको छ । शिलाङ सहरको बाह्रपत्थरको सामाजिक, साहित्यिक, सांस्कृतिक स्थितिलाई झल्काइएको छ । आसामको भित्री गाउँतिर कसरी नेपालीहरू खेतीपाती गर्छन् । खेती गर्दा के कस्तो दुःख आइलाग्छ, गाउँमा यातायातदेखि लिएर अन्य सरकारी सुविधादेखि वञ्चित हुँदाको स्थिति, जातीय अस्तित्व रक्षाका लागि गरिने सामूहिक प्रयत्न, त्यहाँको भौगोलिक वर्णनमा उपन्यास निकै डुबेको छ । कतै कतै त उपन्यासको कथावस्तु बिटुलिएर भौगोलिक र अन्य कुराको वर्णन मात्र गरिएको छ । गोडधुवा उपन्यासमा पनि त्यस्तै आसामको भित्री गाउँहरूको अनेक पक्षबाट चित्रण-वर्णन छ । २ नम्बर टोकलोङ, डिग्बोइ, मार्घेरिटा, लिडु, टिरापकोलरी, उदयपुर, बिसागाउँ, लिखापानी, सोनाइनेपाली आदि ठाउँको वर्णन पाइन्छ ।
उपन्यासमा मूल रूपमा सन् १९८० को मध्यभागदेखि लगभग २००४ सम्मको कालखण्डको चित्रण छ । असमको पनि विशेषगरी पूर्वीय प्रान्तलगायत शिलाङभूमिको भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक परिवेशको उल्लेख पाइन्छ । तिहारमा देउसी-भैलेनी खेलेको, पटेका पड्किएको, धेरै दीयो लस्करै राखेर सजाइएको, भाइटीकामा दिदीले भाइलाई टीका लगाइदिएको इत्यादि सांस्कृतिक परिवेशको चित्रण पाइन्छ । यस उपन्यासमा मानसिक परिवेश पनि सचेत रूपमा सिर्जित छ । मूल उपन्यासको मूल पात्र गगनबहादुरले जानी जानी पल्टन जान कोसिस नगरेपछि बाबुले घरमा कठोर नियमले ढिँडो खाने नियम बनाइदिँदा उसमा परेको मानसिक क्षोभ र विरक्ति, ‘हाम्रो उद्देश्य’ पत्रिका सम्पादन गर्ने क्रममा कुशलसिंह थापा मगरको कथा प्रकाशित गर्न नपाउँदाको आत्मग्लानि, उक्त संस्थाको सम्पादक पदबाट नै राजिनामा दिनुपर्दाको विक्षोभ, उसको घर परिवारको सुखद स्थितिबाट मानसिक सन्तुष्टि, ‘गोडधुवा’ उपन्यास प्रकाशित गर्न पाउँदाको खुसी र सन्तुष्टि, पछिबाट उसले साहित्य एकादमीको भ्रमण अनुदान पाएर भाक्सू गई दीया भेट्दाको आनन्दी र प्रेममय परिवेशको सृजना गरिएको छ ।
यता ‘गोडधुवा’ उपन्यासमा पनि मानसिक परिवेश सिर्जित छ । अरिङ्गालले चिलेर घाइते सुदीपलाई दीयाले कति दिन स्याहारेपछि उनीहरूमा दाजु र बहिनी न्यानो साइनोबाट उब्जेको आत्मीयता, आनन्दको भावलाई निकै महत्त्व दिएर उतारेका छन् । पराई स्त्री र पुरूष हुँदैमा प्रेम बसेर प्रेमीप्रेमिका हुन्छन् भन्ने केही हुँदैन । यी दुई जनामा मानसिक रूपले चोखो दाजुबहिनी नै छन् । उनीहरूको मनले अन्य ठानेको छैन । बरु दीयाको दाजुले पो अन्य मान्छेको अनावश्यक शङ्काबाट उब्जेको परिवेशले अर्कै पाप चिताउँछ । त्यसबाट भने दुई जनालाई सामाजिक असहजको परिवेश सिर्जित हुन्छ । दीयाको बिहेमा सुदीपले दीयाकै मूलघर गएर माटाको महत्त्व दर्साउन बहिनीलाई दिने गोडधुवाका रूपमा माटाको एक सानो डल्लो दिन्छ र त्यसबाट उसले परम सन्तोष पाउँछ ।
९. उपन्यासको दृष्टिबिन्दु प्रयोग–
माटो बोल्दो हो उपन्यासमा दुई किसिमका कथावस्तुअनुसार दुवै किसिमको दृष्टिबिन्दुको प्रयोग गरिएको छ । मूल उपन्यासमा गगनबहादुर गुरुङ भन्ने म पात्रको प्रयोग भई प्रथमपुरूष दृष्टिबिन्दु छ भने गर्भे उपन्यास गोडधुवामा ऊ पात्रको प्रयोग भई तृतीयपुरूष दृष्टिबिन्दु पाइन्छ । उपन्यासको केन्द्रबिन्दु नै गगन हो औ दोस्रोमा सुदीप हो । यद्यपि कतै बुनुमाथि पनि उपन्यास केन्द्रित हुनाले मिश्रित दृष्टिकोण पात्र पाइन्छ । यसमा गगनले सोचेको, कल्पना गरेको देखि लिएर उसको हरेक गतिविधिको लेखाजोखा गरेको हुनाले प्रथमपुरुष आन्तरिक दृष्टिबिन्दु पाइन्छ । दोस्रोमा पनि सुदीप, बुनु (दीया), मनबहादुर छेत्री, सुवास छेत्री आदिको सोचाइ, कल्पना, डर इत्यादि सबैको मनभित्रको कुरालाई समेत देखाएको हुनाले तृतीयपुरुष सर्वदर्शी दृष्टिबिन्दु पाइन्छ । यसमा दीया र सुदीपबहादुरको हरेक गतिविधि, सोचाइ, कल्पना, त्रास, नैराश्य इत्यादिमाथि फोकस दिइएको पाइन्छ ।
१०. उपन्यासभित्र उपन्यासको ढाँचा–
प्रस्तुत माटो बोल्दो होमा उपन्यासभित्र गोडधुवा उपन्यास समावेश गरिएको छ । यद्यपि मूल उपन्यास र गोडधुवा एकार्कामा परस्परमा सम्बद्ध र आबद्ध छन् । मूल उपन्यासको पृष्ठ ५६, १२९ लगायत धेरै ठाउँमा गोडधुवाको उल्लेख गिएको छ । मूल उपन्यासभित्र पृष्ठ सङ्ख्या १६५ देखि पृष्ठ ३३८ सम्म गर्भे उपन्यास गोडधुवा संरचित छ । मूलमा गोडधुवाका उपन्यासकार कुशलसिंह थापा मगरको पुर्ख्यौली इतिवृत्त र उसकै जीवनीबारे वर्णन गरिएको छ । यसैभित्र कुशलसिंह थापाको दुर्घटनामा परी निधन भइसकेको कुरा उल्लेख छ । कुनै एउटा घटनाका कारणले कुशलसिंह र दीया छेत्रीबिच दाजुबहिनीको न्यानो साइनो गाँसिएको कुरा र गोडधुवा उपन्यासमा सुदीपबहादुर थापा नामको युवकलाई अरिङ्गालले चिलेर मर्माहत भएपछि दीया छेत्रीले नै स्याहारसुसार गरेपछि उनीहरू आफ्नै दाजुबहिनी बनेका छन् । उक्त गोडधुवा उपन्यासको समाप्तिपछि कथावस्तु फेरि मूल उपन्यासपट्टि नै ढल्केको छ । यसको उपसंहारमा म पात्र गगनबहादुर साहित्य अकादमीको साहित्यिक भ्रमण अनुदान पाएर दीया छेत्रीले बिहा गरी पुगेकी सल्लाघारी, भाक्सू नै गएर भेटेको वर्णन छ । दुवै उपन्यासका पात्र- पात्राको अन्तःसम्बन्धलाई हामी यसरी तालिका बनाएर हेर्न सक्छौं-
मूल उपन्यासभित्र रहेको गोडधुवाभित्र पनि सामान्य उपन्यास हुने आवरण, छपाइ सूचना, समर्पण, सम्पादकीय, प्रकाशकीय, लेखकीय भूमिका इत्यादि सबै औपचारिकता प्रस्तुत छ ।
११. उपन्यासमा तथ्य र इतिहास प्रयोग-
यो उपन्यास इतिहास चेतनाका दृष्टिले पनि निकै महत्त्वपूर्ण छ । । यसमा इतिहासका विभिन्न प्रसङ्ग, आसाममा नेपालीहरूले भित्र गाउँतिर कसरी आवादी गरे, खेती लगाए इत्यादि कुराको निकै लेखाजोखा गरिएको छ । प्रथम र दोस्रो विश्वयुद्धमा असमभूमिको केकस्तो प्रयोग भएको थियो, कहाँ-कहाँ बम राखेको र बम पड्केको थियो त्यसको नालीबेली निकै केलाइएको छ । सन् १८२८ तिर मार्घेरिटा र लिडुका कोइलाखानीबाट कोइला निकाल्न सुरु भएको, डिगबोइ-डिब्रुगडतिरको रेलखानीका लागि रेल ल्याइएको, इटालियन कम्पनी मार्घेरिटामा कोइला निकाल्न सुरु गरेको र इटालीकी तत्कालीन महारानी मार्गेरिटाको नाममा मार्घेरिटा पुल र मार्घेरिटा बजारको नामकरण भएको इतिहास केलाइएको छ । बिसागाउँमा कसरी नेपालीहरू गाउँ मण्डलका रूपमा चुनिन्छन्, बर्माबाट को-को कसरी आसाम पसे सबै वर्णित छ । इन्द्रबहादुर राईको ‘जयमाया आफूमात्र लेखापानी आइपुगी’ कथाको प्रसङ्गवश उल्लेख गर्दै बर्मेली सुबेदारको कुरा ल्याइएको छ । सन् १९४२ मा जयमाया आजको स्टील वेल रोड भएर आएकी हुनुपर्छ भन्ने लेखकीय ठहर छ । यसै प्रसङ्गमा जयमायाजस्तै बर्माबाट धपिएर आउने जीवित पात्रा रेणुदेवी राईले आफ्नो विगतको दिनमा आफूहरू बर्माबाट भागेर आउँदाको इतिहास, उसको बाबु सुवेदारले बर्माबाट आएर उक्त स्टील वेल रोड बनाउँदा सुपरभाइजरको काम गरेको र दार्जीलिङ-खरसाङतिरबाट पनि केही मजदुर लानेगरेको अलिखित र मौखिक इतिहास पाइन्छ । ती बर्मेली सुवेदार रणवीर राईको समाधि लिडुमा अद्यापि छँदै छ भन्ने कुरा पनि सूचित गरिएको छ । अझ बर्मेली राजा चाउलुङ-सु-का- फाले ससाना राज्य र रजौटाहरूलाई लडाइँमा परास्त र एकीकरण गरी अहिलेको असमको जग बसालेका थिए भन्ने कुरा दर्साएका छन् । यसो भनौँ, आसामेली नेपाली जनजीवनको इतिहास हेर्न र बुझ्न खोजेमा यो उपन्यासबाट पनि निकै लाभ पाइन्छ । यसमा लेखकले निकै गहिरोसँग, क्षेत्रीय प्रतिवेदन तयार पारी इतिहास अध्ययन गरेका छन् ।
यसमा शिलाङको १/८ गोर्खा राइफल्सको उत्पत्ति र इतिवृत्त छ । कालु थापाले शिलाङ सहरको स्थापना गरेको, दोस्रो विश्वयुद्धमा गोर्खा सेनाले लडेको, असममा सन् १९७९ सालमा चलेको विदेशी बहिष्कार आन्दोलनले नेपाली समाजमा परेको दुष्प्रभाव, असम-बङ्गाल सीमा श्रीरामपुर पुलिस चेकपोस्टमा नेपालीहरूलाई खोजी-खोजी अलपत्र पारेको प्रसङ्ग, मेघालयमा पनि १९८७ मा विदेशी हटाउ अभियानले गर्दा नेपालीहरूलाई परेको प्रभाव, शिलाङमा शरणार्थी शिविर बसेको, २० अगस्ट १९९२ मा भारतीय संसद्मा नेपाली भाषाले संवैधानिक मान्यता पाएको, उरियामघाटको विगतको इतिहास, लेखापानीमा सन् १९५१ मा बौद्ध धर्मको महागुरु नर्बु लामाले गुम्बाको स्थापना गरेको आदि अनेक तथ्य र ऐतिहासिक प्रसङ्गहरू वर्णित छन् ।
१२. उपन्यासमा स्थानीय प्रसङ्ग र चित्रण-
यस उपन्यासलाई असम पूर्वाञ्चलको नेपालीहरूको लिखित दस्तावेज मान्दा पनि हुन्छ । खेतीपाती लाउने, बारीमा रोपेको बाली बिरुवादेखि लिएर हाम्रो आनीबानी, आचार, चालचलन, प्रवृत्ति सबैबारे केलाइएको छ । उदयपुर हाई स्कुल, तिराप हाइ स्कुलको स्थापना र यसमा एक समयमा हरिभक्त कटुवालले पनि शिक्षण कार्य गरेको उल्लेख पाइन्छ । हाम्रा मानिस अलिक धनीमानी भए कसरी धाक जमाउँछ, आफ्नो गाउँघरलाई सहजै त्याज्य ठान्छ इत्यादि कुरा तथ्यात्मक रूपमा देखाइएको छ । यसमा सांस्कृतिक अध्ययन गरिएको छ । बिहेको प्रसङ्गमा किरातवर्गमा चोरी विवाह हुनु, त्यसमा के-के विधिविधान हुन्छन्, यता खसहरूमा कस्तो किसिमको बिहे हुन्छ राम्ररी देखाइएको छ । बिहेको जग्गेमा बेहुलाबेहुली ल्याउनु, माइती पक्षकाले बेहुलाबेहुलीको गोडा धोएर त्यसको पानी पिउनु, गोडधुवा दिनु, वरणी गर्नु इत्यादि सबै वर्णित छ । यसमा उरियाम घाटमा नेपालीहरू कसरी बसोबास गर्छन्, बिसागाउँको सामाजिक स्थिति कस्तो छ? सबै केलाइएको छ ।
१३. उपन्यासमा प्रयुक्त भाषा शैली-
यस उपन्यासमा लेखकीय र पात्रगत संवादिक भाषाको सीमारेखा त्यति भिन्न देखिन्न । भाषा शैलीको परिप्रेक्ष्यबाट प्रस्तुत उपन्यासलाई सरल, सहज, सुबोध्य मान्न सकिन्छ । प्रायः जसो ठेट नेपाली शब्दका अतिरिक्त कतै तत्सम, अङ्ग्रेजी असमेली शब्द-शब्दावलीको प्रयोग पाइन्छ । उपन्यासभित्र उपन्यासको अवधारणागत शैली देखिए तापनि अरू शैलीगत उपलब्धि देखिन्न । सामान्य नेपाली बोलचालको भाषा र शब्द पाइन्छ । वाक्यहरू प्रायः लामा-लामा छन् । एक जना देहरादुने गोर्खा सिपाहीले हिन्दीमिश्रित नेपाली भाषा बोलेको, कतै-कतै असमीय नेपाली भाषिका बोलेको देखाइएको छ ।
१४. उपन्यासमा काल चेतना-
प्रस्तुत उपन्यास पूर्वद्वीप्ति शैलीमा लेखिएको छ । प्रारम्भमा नै बिस वर्षअघि भनेर समयाङ्कन गरिएको छ । बिस वर्षअघि मूलपात्र गगनबहादुर गुरुङले मेट्रिक परीक्षा दिन तयारी गर्दै गरेको प्रसङ्गबाट उपन्यास सुरु भएको छ । उपन्यासको पृष्ट ६७ मा ६ वर्षपछि भनेर एउटा छुट्टै अध्यायको अन्तराल देखाइएको छ । त्यस अन्तरालमा म पात्रले कलेज पढिसक्नु, दिदीको बिहे भएर उरियामघाट गइसक्नु, म पात्रका आमाबाबु दुवै बितिसक्नु, एउटा युवतीसित उसको प्रेम भई उनीहरूको बिहे भइसक्नु र दुई सन्तानसमेत भइसकेको कथानक रहेको छ । उपन्यासका अध्यायहरूमा कहिले छिटो र कहिले ढिलो अन्तराल बनाई अघि बढाइएको छ । बिच-बिचमा समयसूचकका रूपमा तिथिमितिको उल्लेख गरिएको छ । सन् १९७९ मा असममा विदेशी बहिष्कार आन्दोलन, मेघालयमा पनि सन् १९८७ मा त्यस्तै आन्दोलन, १९९२ मा संसद्मा नेपाली भाषाले मान्यता पाएको उल्लेख, सन् २००३- ०४ तिर चाडबाड, दसैँतिहार आदिको उल्लेख गरिएको छ । यता गोडधुवा उपन्यास प्रकाशित भएको जनवरी, २००४ देखाइएको छ । यसमा २९-३१ अगस्ट, १९९० मा अखिल असम नेपाली छात्र सङ्घको तीन दिवसीय द्विवर्षीय अधिवेशनको समय सूचना दिइएको छ । यसका औपन्यासिक घटनाक्रम छिटो-छिटो घट्छन् । दीयाको बिहेको साइत ७ जनवरी १९९२ को उल्लेख गरेबापत यस गर्भे उपन्यासको समयावधि डेढ वर्ष जतिको देखिन्छ ।
१५. उपन्यासका केही कमजोरी र दुर्बल पक्षहरू-
प्रस्तुत उपन्यासमा सबल र दुर्बल दुवै पक्षहरू देखिन्छन् । उपन्यास समग्रमा सबल, सफल, रोचक, सुस्वादु भए तापनि कतै कतै आंशिक रूपमा केही कसरमसर नपाइने होइन । उपन्यासको कथावस्तु सघन, सुनियोजित भए तापनि बुनोट भने कसिलो छैन । कतै कथावस्तुभन्दा घटनाइतर वर्णन विस्तार बढी भएको छ । इतिहास र अन्य ताथ्यिक प्रसङ्गबारे केही बढी मात्रामा वर्णन गरिएको हुनाले कोही-कोही पाठकलाई पढ्दा पट्यार लाग्न सक्छ । लेखकीय कमजोरी नै भनौँ, शैलीगत चमत्कार चाहिँ देखिन्न । कतै अतिशयोक्तिमूलक प्रसङ्ग, तत्सम शब्द प्रयोग, लामा-लामा वाक्य गठित हुँदा अभिव्यक्ति पक्षमा शिथिलता, कतै शिथिल कथाविन्यासजस्ता केही कमी कमजोरी देखिन्छन् ।
१६. माटो बोल्दो हो उपन्यासको मूल्याङ्कन र निष्कर्ष – नेपाली औपन्यासिक क्षेत्रमा विक्रमवीर थापाको माटो बोल्दो हो एउटा प्रयोगशील, सफल र रोचक उपन्यास हो । अन्य उपन्यासभन्दा भिन्दै संरचना, बनोट, बुनोट, प्रयोग आदिको कारणले यसको आफ्नै वैशिष्ट्य छ । यसभित्र अर्को भिन्दै उपन्यासको प्रयोग गरिएको छ । दुई उपन्यासको कथावस्तुको अन्तःशृङ्खला र केही अंशमा उपन्यासकार स्वयं घुसेका, उपन्यासबारेमा लेखकीय सूचना प्रदान आदि कारणले यो एउटा अध्याख्यान बन्नपुगेको छ । यसमा उपन्यासकारले आफ्नै जीवनमा घटेका केही घटना, प्रसङ्गको उल्लेख गरिएको छ । भूमिका खण्डदेखि नै उपन्यासको कथावस्तुको सङ्केत पाइन्छ । यसमा कथावस्तु बुनोट र बनोटमा केही अतीव सामान्य कमजोरी देखा परे पनि यो एउटा सुन्दर उपन्यास हो । नेपाली उपन्यास साहित्यमा यसले पनि एउटा विशिष्ट ठाउँ ओगटेको छ ।
प्रमुख सन्दर्भ-ग्रन्थ सूची
१. नेत्र एटम, नेपाली डायस्पोरा र अन्य समालोचना, काठ. एकता प्र.२०६७,
२. विक्रमवीर थापा, माटो बोल्दो हो, गोलाघाट, गुराँस साहित्य प्रकाशन, २००७ ।
३. लीला लुइँटेल, विक्रमवीर थापाको औपन्यासिक शिल्प, www.samakalinsahitya.com
४. डा. खगेन्द्रप्रसाद लुइँटेल, नेपाली उपन्यासको इतिहास, काठमाडौँ, नेप्रप्र, २०६९ ।
५. लिखत पाण्डे (सम्पा.) भृकुटी-१०, २०६८ ।
[1] डा खगेन्द्रप्रसाद लुइँटेल, नेपाली उपन्यासको इतिहास, (काठमाडौं, नेराप्र.२०६७), पृष्ठ २४६-२४७।
[2] डा लक्ष्मणप्रसाद गौतम, उत्तरआधुनिक समालोचनामा कृतिविश्लेषणका पद्धति र प्रारूप, भृकुटी- (अङ्क १०, माघ-चैत, २०६७, काठमाडौं, भृकुटी एकाडेमिक पब्लि,प्र.सं. मोदनाथ प्रश्रित) पृ.३९४।
[3] नेत्र एटम, नेपाली डायस्पोरा र अन्य समालोचना, काठ. एकता प्र.२०६७, पृष्ठ २५।
[4] क्रिस बल्डिक, डिक्सनेरी अव् लिटरेरी टर्म्स,
[5] . लीला लुइँटेल पूर्ववतू,
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।