
व्यङ्ग्य विकृति र विसङ्गतिमाथिको छेडखान हो । कुनै व्यक्ति वा घटनालाई लक्षित गरी नराम्रा पक्षप्रति धज्जी उडाउँदै लेखिने लेखन प्रवृत्ति नै व्यङ्ग्य हो। सामाजिक बेथिति, जीवनमूल्यको ह्रास, विकृत मानवीय मनोवृत्ति, राजनैतिक प्रशासनिक भ्रष्ट आचरण, आर्थिक असमानताले ल्याएको विकृत पक्ष, सांस्कृतिक मूल्यमाथिको आक्रमण, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएका गलत क्रियाकलाप, युद्धका भयावहता, अन्धविश्वासी प्रवृत्ति धमान्धता आदि व्यङ्ग्य उत्पादनका कारक हुन्
साहित्यमा व्यङ्ग्यको प्रयोग व्यङ्ग्यका लागि मात्र नभई गलत क्रियाकलापप्रतिको सचेतनाका लागि हो । यो मानव समाजमा अनावश्यक रूपमा पलाएको विकृतिको गाँठो खुर्किने धारिलो औजार हो, सुसंस्कारबाट भकिएको समाजलाई तह लगाउने एक उपयुक्त विधि हो । यसको उद्देश्य बिग्रिएको वा बिग्रिने दिशातिर उन्मुख सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, प्रशासनिक, वैयक्तिक स्थितिलाई सही दिशा दिनु हो । भारतीय साहित्यकार हजारीप्रसाद द्विवेदीका अनुसार व्यङ्ग्य कथनको एक यस्तो शैली हो जहाँ बोल्नेमा मुदुमुस्कान अनि सुन्नेमा तिलमिलाहट आओस् ।” यहाँ सुन्ने भनेर विकृति उत्पादनकर्तातर्फ सङ्केत गरिएको हुनुपर्छ। सफल भारतीय व्यङ्ग्य लेखक हरिशङ्कर परसाई भन्छन् – “साँचो व्यङ्ग्यमा जीवनको समीक्षा हुन्छ । त्यसले मान्छेलाई सोच्नका लागि बाध्य गर्छ। चेतनामा हलचल पैदा गर्छ र जीवनमा व्याप्त मिथ्याचार, पाखण्ड, असामान्जस्य अन्यायसँग लड्नका लागि उसलाई मान्छेलाई तयार गर्छ।”

लक्ष्मण अर्याल
साहित्यका सबै विधा प्रविधाहरूमा व्यङ्ग्य प्रयोग भएका छन्। व्यङ्ग्य प्रयोगले सबै विधालाई धारिलो बनाउने कुरामा कसैको पनि विमति छैन तर अन्य विधा प्रविधाभन्दा लघुकथाले व्यङ्ग्य शैलीलाई बढी खोज्छ । छोटो र छिटोको प्रकृति लघुकथाको प्रवृति भएकाले यसले विस्तारको संरचनालाई स्विकार गर्दैन विचारमा घनत्व, भाषामा घनत्व शैलीमा घनत्व उद्देश्य स्थापनामा घनत्व लघुकथाले खोजेको हुन्छ। लघुकथामा घनत्व स्थापना गर्ने काममा व्यङ्ग्य शैलीको भूमिका महत्त्वपूर्ण हुने गरेको छ।
व्यङ्ग्य बिग्रिए गाली बन्छ। व्यङ्ग्य स्थापनामा प्रभावकारिताको सिर्जना गर्न नसक्दा गाली बन्ने खतरा हुन्छ। लघुकथामा मात्र नभई समग्र साहित्यमा नै गालीगलौजको कुनै स्थान हुन्न । सफल व्यङ्ग्य वैयक्तिक आक्षेपभन्दा निकै पर रहन्छ यसले सामुहिक विकृति माथि प्रहार गर्छ। देखेका, सुनेका, अनुभव गरेका विकृति, विसङ्गति, सामाजिक अवस्था आदि लघुकथाका आउँछन् । चिनेजाने मान्छेका खराब प्रवृत्ति पनि लेखनमा प्रकट हुन सक्छ तर लघुकथाकारले त्यसलाई वैयक्तिक रङबाट छुट्याएर सामुहिकता प्रदान गर्न सक्नु पर्छ ता कि सम्बन्धित व्यक्तिले रचना पढेर मैमाथि प्रहार गरेछ भन्ने मजासँग बुझोस् तर झगडा गर्न आउन नसकोस्। व्यङ्ग्य स्थापन कलाले लेखक र उसको लेखनलाई समृद्धिको यात्रातिर डोन्याउँछ।
पूर्णप्रसाद ब्राह्मण नारायण तिवारी, श्रीओम श्रेष्ठ रोदन, ध्रुव मधिकर्मी, विनयकुमार कसजू, गोरखबहादुर सिंह, रवीन्द्र समीर, पुष्करराज भट्ट, हरिप्रसाद भण्डारी, कपिल लामिछाने, किशोर पहाडी, खेमराज पोखरेल, लक्ष्मण अर्याल, कृष्ण शाह यात्री, सुमन सौरभ, घनश्याम डल्लाकोटी, राजु क्षत्री अपुरो, दीपक सोहनी, महेश प्रसाई आदि लघुकथाकारहरूले नेपाली लघुकथामा व्यङ्ग्यको सफल प्रयोग गरेका छन् ।
यहाँ सन्दर्भपुष्टिका लागि लघुकथाकार श्रीओम श्रेष्ठ रोदनको भ्रममार्ग लघुकथा सङ्ग्रहमा सङ्ग्रहित कुमारी” कथालाई नमुनाका रूपमा लिई लघुकथामा रहेको व्यङ्ग्य सन्दर्भको चर्चा गरिएको छ।
कुमारी लधुकथाको पाठ्य रूप
निलिमा जन्मेदेखि ने प्रशंशित थिइन्। ज्योतिषीले पनि पत्याउनै नसकिने उज्वल भविष्य हुने बताएका थिए। नभन्दै पाँच वर्षमा टेक्दा नटेकी उनी कुमारी बनिन् सबैतिरबाट उनलाई पूजाआराधना गरियो। उनी आस्थाकी मूर्ति बढी र मान्छे कम बनिन् । कुमारी बनेर संस्कृति र संस्कारले ओढाइएपछि उनले आफ्नो बालापन र आफ्ना सखाहरू गुमाइन् र साथीहरू जस्तै हाँस्न, बोल्न र खेल्नबाट बञ्चित भइन्। मान्छे भएर जन्मेकी निलिमा जीवित देवी बनेपछि उनी मान्छेको स्वभाव र समाजबाट क्रमशः टाढा हुँदै भीडमा एक्ली बनिन् ।
मान्छे भएर मान्छे बन्न नपाएकी निलिमाको बालअधिकार र मानवाधिकार पूर्णतः हनन भयो । यसको बिरुद्धमा मानवअधिकारवादीहरूले संस्कृतिको नाममा कुनै आवाज उठाउन खोजेनन् र उठाएनन् ।
देवी बनेकी निलिमा केही वर्षपछि कुमारीबाट मुक्त भइन् मान्छे भएर पुनः घर फर्किएर घरपरिवारसँगै बसे पनि समाजमा एक्लै बनिन् । उमेरले फक्रेका वैसका रहरहरूलाई आफै पिउन बाध्य भइन्। उमङ्ग र उत्साहलाई किला ठोक्दै शान्त पार्न विवश भइन् मान्छे भएर भगवान् बन्नु परेकामा दुःखी भइन्।
ढुङ्गाहरू मूर्ति बनेर देवता बन्न सक्छन् तर मूर्तिहरू किन ढुड्गा बन्न सक्दैनन् ? मान्छेहरू कुमारी भएर भगवान् बन्न सक्छन् तर किन भगवानहरू एकपटक पनि मान्छे बन्न सक्दैनन् ? ढुङ्गा र मान्छेमा जत्तिको शक्ति मूर्ति र भगवान्मा हुन सक्दैन रै’छ, त्यसैले प्रार्थना गर्न थालेकी छिन् “मान्छेलाई मान्छे भएर बाँच्न मान्छे नै चाहिन्छ, मान्छेलाई भगवान् बनाएर दुःख नदेऊ, मान्छेलाई मान्छेमै रहन देऊ ।”
(श्रीओम श्रेष्ठ रोदन भ्रममार्ग लघुकथा सङ्ग्रह पेज नं. ५० बाट)
कुमारी लघुकथा सांस्कृतिक सन्दर्भको विषयमा आधारित छ लघुकथामा रहेको व्यङ्ग्य स्थिति बुझ्न कुमारी प्रथाको सन्दर्भ बुझ्नु जरुरी छ । कुमारी प्रथा नेवारी समुदायको प्रथा हो । यो प्रथा करीव दुई अढाइ सय वर्ष पुरानो मानिन्छ । नेवार समुदायका मानिसहरूले कुमारीलाई जीवित देवीका रूपमा मान्छन् । नेवार समुदायमा कुमारी छान्ने तरीका पनि आफ्नै किसिमको छ । ३ वर्षदेखि ९ वर्षसम्मका शरीरमा कुनै घाउचोट नभएका बालिकाहरूमध्येबाट छानिएकी कुमारीलाई कुमारी घरमा राखिन्छ । कुमारी बनुन्जेलसम्म तिनलाई कसैसँग भेट्ने छुट हुँदैन। कुमारीलाई एक वर्षमा १३ पटक विशेष दिनमा मात्र कुमारी घरबाट बाहिर निकाली भक्तजनहरूको दर्शनका लागि प्रस्तुत गरिन्छ । कुमारीले खुट्टाले भुई छनु हुँदैन भन्ने मान्यता छ ।
कुमारी लघुकथामा मान्छेलाई जबर्जस्ती भगवान् बनाइएकामा लेखकको विमति रहेको छ । लघुकथाकारले आफ्नो विमति व्यङ्ग्यमार्फत प्रस्तुत गरेका छन्। एउटी बालिकाको अधिकारको पक्षमा लघुकथाकार रोदनको संलग्नता अनुकरणीय छ । यहाँ निलिमा पात्र जसलाई समाजले कुमारी देवी बनाएको छ ऊ खुसी छैन। कुमारीका अभिभावक त सायद खुसी होलान् किनकि तिनीहरूमा संस्कृतिलाई जिउँदो बनाइराख्न सहयोग गरेकामा गर्व छ। सानी चन्चले बालिका कुमारीलाई मान्छेकै रूपमा बाँच्ने चाहना छ मान्छे बनेर भगवान् बन्नु परेकामा दुःखी बनेकी निलिमा भन्छे “ढुड्गाहरू मूर्ति बनेर देवता बन्न सक्छन् तर मूर्तिहरू किन ढुङ्गा बन्न सक्दैनन् ? मान्छेहरू कुमारी भएर भगवान् बन्न सक्छन् तर किन भगवानहरू एक पटक पनि मान्छे बन्न सक्दैनन्।” कत्रो व्यङ्ग्य छ यो अभिव्यक्तिमा विकृति रन्थनिने व्यङ्ग्य छ यहाँ, विसङ्गति धारण गर्ने धारकहरू तर्सिने प्रहार छ यहाँ निलिमाको प्रश्नले उत्तर पाउन गाह्रो छ । समाजको चेतनधार बदल्न यत्ति लघुकथाले मात्र सम्भव होलाजस्तो लाग्दैन तर चेतमा भुइँचालो ल्याउन भने लघुकथा सफल छ, काफी छ ।
चिसो ढुङ्गामा ईश्वर कहाँ हुन्छ र ईश्वरको अस्तित्व छ भने त्यो मान्छेभित्रको मानवीयता हो । मान्छेले ईश्वर बन्न खोज्नु हुँदैन । मान्छेले असल मान्छे बनेर बाँच्न सक्यो भने त्यो नै उसको जीवनको ठुलो उपलब्धि हो । मान्छेलाई भगवान् बनाएर दुःख दिनु धर्मका नामको अधर्म हो, पाप हो। जबर्जस्ती भगवान् बनाएर समाजले निलिमाको बालापन खोस्यो, हाँस्ने, खेल्ने अधिकार लुट्यो मान्छेबाट अनि समाजबाट टाढा बनायो । यस्तो मान्छेलाई नै घाटा पुर्याउने संस्कृति पछ्याइरहनुको के अर्थ छ र ? लेखकले यसलाई सुसभ्य संस्कृति ठानेनन्, विकृति ठाने। संस्कृति समय सापेक्ष हुनुपर्छ । संस्कृतिमा गलत कुराहरू छन् भने त्यसलाई शुद्धीकरण गर्न सक्नुपर्छ । कुमारी लघुकथाले सङ्केत गर्न खोजेको व्यङ्ग्यसन्दर्भ र सन्देश यही हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

