१. आमुख :-

साहित्यमा सिर्जनाको विशेष महत्व हुन्छ। सिर्जना नै साहित्यको मूल आधार हो। नवनवोन्मेष कल्पनाद्वारा साहित्य सिर्जना हुन्छ। यही सिर्जनालाई प्रकाश पार्ने, जलप दिने समालोचना हो। साहित्यमा सिर्जना अघि अघि हुन्छ अनि समालोचना चाँहि त्यसको अनुगामी हुन्छ। यद्यपि दुवै एकार्काका पूरक हुन्। एउटाको अनुपस्थितिमा अर्कोको पनि अस्तित्व रहँदैन। समालोचनालाई सिर्जना चाहिन्छ औ सिर्जनालाई पनि समालोचना चाहिन्छ। कविता, कथा, उपन्यास, नाटक, निबन्ध जस्ता मूलभूत सिर्जनात्मक विधाहरूको नीरक्षीर पारख गर्ने विधा हो समालोचना। यो सिर्जनात्मक साहित्यको अनुवर्ती भए पनि यसले कृतिलाई बोधगम्य एवम् रसास्वादन गराउन सहयोग गर्नका साथै कृति र कृतिकारको मूल्याङ्कन र विश्लेषण गर्दछ। पद्धतिगत आधारमा समालोचनाको वर्गीकरण नीतिवादी, समाजशास्त्रीय, जीवनीपरक, प्रभाववादी, तुलनात्मक, प्रगतिवादी, मनोविश्लेषणवादी, शैलीवैज्ञानिक, भाषाशास्त्रीय, संरचनावादी, रूपवादी, मीथकीय, संकेतपरक आदिका रूपमा गरिएको छ। समालोचना कुनै आधार, रीति, ढाँचा, प्रणाली, विधि, प्रक्रिया, तरिका आदिका परिप्रेक्ष्यमा गरिने पद्धति हुन्छ।

२. भारतबाट नेपली समालोचनामा कलम चलाउने वर्तमानका नारीहरू

नवीन पौड्याल (कालिम्पोङ)

नेपाली साहित्यको समालोचना क्षेत्रमा नारीहरूको महत्त्वपूर्ण स्थान देखिन्छ। दिनानुदिन नारीहरूको साहित्य क्षेत्रमा आगमन भइरहेको छ। सिर्जनाका साथै उनीहरूको समालोचनातिर पनि कलम अघि बढिरहेको छ, नारी समालोचकको दिनानुदिन वृद्धि भइरहेको पाइन्छ। यता भारतबाट पनि यस क्षेत्रमा नारी समालोचकहरूको अग्रणी भूमिका देखिन्छ। यताका केही नारी समालोचकहरूको बारेमा संक्षिप्त रूपमा चर्चा गरिन्छ। यसमा धेरैजनाको नाम छोडिएको हुनसक्छ। फाट्टफुट्ट समालोचना लेख्नमे अझै धेरै छन्, यद्यपि यस लेखको मूल आधार भने कमसेकम एउटासम्म भए पनि समालोचनाको पुस्तक प्रकाशनलाई लिइएको छ।

२.१. डा. लक्खीदेवी सुन्दास – नेपाली समालोचना क्षेत्रमा डा लक्खीदेवी सुन्दास एउटा आदरनीय नाम हो। उनका अनेकौं लेखहरू पत्र-पत्रिकामा छरिएर बसेका छन् भने सन् २००८ सालमा प्रकाशित डा सुन्दासको ‘समय र समीक्षणा’ एक समीक्षात्मक ग्रन्थ हो। यो उनलको समय समयमा विभिन्न पत्र-पत्रिकामा प्रकाशित समीक्षात्मक लेखहरूका संकलन हो। यो ग्रन्थ नेपाली साहित्यका निम्ति एउटा महत् उपलब्धी हो। यसमा विविध विषयक जम्मा छत्तीसवटा समालोचना छन्। डा सुन्दास महाविद्यालयकी नेपाली विद्यालयका प्राध्यापक, एउटी विदुषी र गहन अध्येता हुनाले उनलाई कसैले किताबको भूमिका लेखाइमाग्न, सेमिनार- गोष्ठीतिर वार्ता गर्न आग्रह, प्राध्यापकीय आवश्यकता जस्ता थुप्रै कारणबा़ट यो समय र समीक्षणा जन्मिएको देखिन्छ। यसमा कविता विषयक पन्ध्रवटा समीक्षा संकलित छन्। यसका अधिकांश लेखहरू विभिन्न साहित्य सर्जकहरूका कृतित्वमाथि केन्द्रित छन्। यसमा समीक्षित सर्जकहरूमा आदिकवि भानुभक्त आचार्य, धरणीधर कोइराला, पारसमणि प्रधान, रूपनारायण सिंह, इन्द्र सुन्दास, हरिप्रसाद गोर्खा राई, गम्भीर राई, ध्रुव दवाडी, तुलसी अपतन, शिवकुमार राई, रामकृष्ण शर्मा, अगमसिंह गिरी, इन्द्रबहादुर राई, गुमानसिंह चामलिङ, वीरविक्रम गुरूङ, डा जगत छेत्री हुन्। तीमध्ये पनि भानुभक्त आचार्यसम्बन्धी तीनवटा, शिवकुमार राईसम्बन्धी तीनवटा, रूपनारायण सिंहसम्बऩ्धी तीनवटा, इन्द्रबहादुर राईसम्बन्धी छवटा, अगमसिंह गिरीसम्बन्धी तीनवटा, गुमानसिंह चामलिङमाथि दुईवटा लेखहरू संकलित छन्। यी सर्जक व्यक्तित्वबाहेक यसमा विषय विशेषमा आधारित लेखहरू चारवटा जति छन्। यसका अतिरिक्त उनले पुस्तक सम्पादन र भूमिका लेखनको क्रममा कृति र कृतिकारका विषयमा अन्वेषणात्मक ढङ्गमा परिचय र मूल्याङ्कन प्रस्तुत गरेकी छन्।

२.२. डा. ललिता राई अहमद – नेपाली समालोचना क्षेत्रमा ललिता राई अहमदको नाम पनि बेला बेलामा विभिन्न पत्र-पत्रिकामा देखा पर्दछ। पुस्तकाकार रूपमा नभए पनि उनका केही शोधमूलक र प्राज्ञिक समालोचनात्मक लेखहरू पत्र-पत्रिकामा छरिएका छन्। उनले तुलसी अपतन, शरद छेत्री आदिका अतिरिक्त विविध विषयमा समालोचनात्मक लेख प्रकाशित गरेकी छन्। उनी पनि कृतिभित्र डुबेर त्यसभित्रको मूल स्वरको सन्धान गर्न उद्यत देखिन्छिन्। उनले कुनै एउटा विषयलाई लिएर त्यसको नालीबेलीसम्मको गहिराइसम्म कलम चलाएको पाइन्छ।

२.३ डा. वीणा हांगखिम – वीणा हाङ्गखिम पनि समालोचना लेखनको क्षेत्रमा आइरहने नाम हो। उनको एउटा समालोचनात्मक पुस्तक ‘कृति विमर्श’ (२०१४) प्रकाशित देखिन्छ। प्रस्तुत ग्रन्थले सन् २०१७ को साहित्य अकादमी पुरस्कार हासिल गरेकी हुन्। यस ग्रन्थमा कविता विधा विशेष रूपमा आलोकित भएको छ भने कथा विधालाई पनि समावेश गरिएको छ। उनको लेखन पनि प्राज्ञिक समालोचना किसिमको पाइन्छ। कुनै पनि कृतिको भाव पक्षका अतिरिक्त त्यसको शैली पक्षको पनि केलाइ-कुलाई गरी मूल्याङ्कन गरिनु उनको समालोचनागत प्रवृत्ति हो।

२.४. डा. राजकुमारी दाहाल– डा. राजकुमारी दाहाल एकजना उल्लेखनीय समालोचक हुन्। उनको ‘अनुवाद विमर्श’, ‘नेपाली आञ्चलिक उपन्यास’ जस्ता समालोचना ग्रन्थ प्रकाशित छन्। उनले अनुवाद साहित्यको बारेमा प्रकाश पार्दै नेपाली अनुवाद साहित्यको पनि संक्षिप्त रूपमा सर्वेक्षण गरेकी छन्। विषय केन्द्रियता, वस्तुको सूक्ष्म निरीक्षण, प्राज्ञिकता, अनुसन्धानपरकता, तथ्यपरकता, सर्वेक्षणात्मकता, भाषा-शैलीगत सरलता आदिलाई डा दाहालको विशेषताको रूपमा लिनसकिन्छ। उनले हालमा सिलगडी महाविद्यालयमा नेपाली विषयको प्राध्यापन गर्दैछिन्।

२.५ डा. राधा शर्मा – जन्म दार्जिलिङ। सन्त जोसेफ्स महाविद्यालयकी एक वरिष्ठ प्राध्यापक डा. राधा शर्मा पनि एक कुशल समालोचक हुन्। यस क्षेत्रमा उनका ‘नेपाली कथा समीक्षा’, ‘रूपनारायण सिंहका कथा र उपन्यासहरूको समाजशास्त्रीय अध्ययन’, ‘नेपाली उखानको सामाजिक पक्ष  ‘अध्ययन र मनन’ जस्ता ग्रन्थ प्रकाशित छन्। यसबाहेक अन्य पत्र-पत्रिकामा पनि समालोचनात्मक लेखहरू प्रकाशित देखिन्छन्। उनी विशेषगरी आख्यानगत साहित्यिक कृतिहरूमा समाजशास्त्रीय अध्ययन, विषयवस्तुको गहनता, सैद्धान्तिक र प्राज्ञिक समालोचनामा चासो देखाउने समालोचक हुन्। वस्तुतथ्यात्मक प्रस्तुति, विश्लेषणात्मकता, अनुसन्धानपरकता, कृतिकेन्द्रितता, सरल र सुबोध भाषाको प्रयोग आदि डा शर्माका समालोचनागत वैशिष्ट्य हुन्। उनलाई प्राज्ञिक समालोचक कै रूपमा अधिक मान्न सकिन्छ। उनले रूपनाराय़ण सिंहका विभिन्न पक्ष आफ्नो लेखनीमा प्रकाश पारेकी छन् भने विभिन्न कथाकारका रथाको समयसापेक्ष विवेचना गरेकी छन्। यसैगरी उनले नेपाली उखानको सामाजिक महत्त्वका पक्षबाट पनि अध्ययन प्रस्तुत गरेकी छन्।

२.६. डा. कविता लामा- जन्म २२ नोभेम्बर, १९६५, खरसाङ। भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन विषयमा विद्यावारिधि गरेकी डा लामा एक कुशल समालोचक हुन्। उनका हालसम्मका प्रकाशित कृति ‘भानुभक्तका काव्यकृतिको भाषिक अध्ययन’ (२००३), ‘दिदृक्षा’ (समालोचना, २००५), ‘अनुशीलन’ (समालोचना, २०१०) र ‘भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा’ (२०१३), कविता डिस्कोर्स’ (२०१७) गरी पाँचवटा समालोचनात्मक ग्रन्थ देखिन्छन् भने अझै अनेक समालोचना लेखादि पत्र-पत्रिकातिर छरिएका छन्। सङ्क्रमण, हाम्रो नव पल्लव, चन्द्रिका जस्ता पत्रिकाको सम्पादन पनि गरेकी छन्। Call of The Hills, सह-सम्पादन, नेपाली कथाहरूको अँग्रेजी अनुवादमा संलग्न। उनले भानुभक्तको भाषालाई भाषाशास्त्रीय सिद्धान्तका आधारमा विवेचना गरेकी छन् भने बालसाहित्य, नारीवादी चिन्तन, नाट्य, आख्यान समालोचना पनि लेखेकी छन्। भारतीय नेपाली बालसाहित्यमा नारी स्रष्टा बारतीय सन्दर्भमा बालसाहित्यको समालोचनाको क्षेत्रमा एउटा महत्वपूर्ण ग्रन्थ हो। यसमा बालसाहित्यको सिद्धान्तको अध्ययन गर्दै भारतबाट प्रकाशित बालसाहित्यको सर्वेक्षण गरी नौजना नारी स्रष्टाका बाइसवटा बालसाहित्यिक कृतिहरूको समालोचना गरेकी छन्। अनुशीलन विभिन्न विषयमा दसवटा समालोचनात्मक लेखहरू समावेश छन्। नेपाली बालसाहित्यको स्थिति, नारीवादी स्वर, उत्तरआनिकता, उत्तरऔपनिवेशिकता, सङ्कथन अध्ययन, मिथकीय चेतना, दलित चेतना, हरित चेतना, सबाल्टर्न चेतना, भाषिक अध्ययन आदिबारे उनका समालोचकीय दृष्टि पुगेको पाइन्छ। विषयनिष्ठता, स्पष्टता, भाषापरकता, विधापरकता, विषयगत विविधता, अनुसन्धानात्मकता, तथ्यपरकता, कृतिको वस्तुगत र रूपगत निरीक्षण, सर्वेक्षणात्मकता आदि डा. लामाको समालोचनागत विशेषता हुन्। हालमा उनी सिक्किम विश्वविद्यालयकी वरिष्ठ प्राध्यापक कार्यमा आवद्ध छिऩ्।

६.७. डा पुष्प शर्मा – सिक्किमकी डा पुष्प शर्मा पनि नेपाली समालोचनामा एक प्रखर समालोचकका रूपमा परिचित छन्। उनको सिक्किमका नेपाली कविता मूल्यांकन र विश्लेषण नामक शोधग्रन्थ प्रकाशित गरेकी छन्। यसबाहेक भाषा साहित्य विचरण, सिक्किमको नेपाली कविता साहित्यको विश्लेषणात्मक अध्ययन नाम समालोचनात्मक ग्रन्थ प्रकाशित देखिन्छन्। उनी विशेष गरी अन्वेषणात्मक लेखनमा सक्रिय देखिन्छिन्। उनका लेखनमा स्पष्टवादिता, निर्भीकता, मूल्य निर्णयपरकता, विचारोत्तेजक, इतिहासपरकता आदि गुण पाइन्छन्। सिक्किमेली नेपाली कविताको इतिहास र वर्तमानकालीन कवि र कविताहरूको विश्लेषणात्मक मूल्याङ्कन गरेकी छन्।

२.८. डा. शान्ति थापा – असम गौहाटीकी डा. शान्ति थापा पनि नेपाली समालोचनामा सक्रिय देखिन्छिन्। उनीद्वारा सम्पादित असमेली नेपाली कथा-यात्रा अत्यन्त गहकिलो सन्दर्भ-ग्रन्थ प्रकाशित छ। उनले उक्त ग्रन्थको सम्पादन गर्दा असमेली नेपाली कथाको सर्वेक्षण र प्रवृत्तिहरू खुट्याइ प्रायः प्रमुख कथाकारको मूल्याङ्कन गरिएको छ। सर्वेक्षणात्मकता, विषयवस्तुगत सूक्ष्म निरीक्षण, तथ्यात्मकता, इतिहासपरकता आदि उनका समालोचकीय गुण हुन्। उनी मूलतः हिन्दीमा आफ्नो उच्च अध्ययन गरेकी हुनाले हिन्दीमा पनि समालोचना लेखेकी छन्।

२.९. डा. गीता छेत्री – जन्म राङभाङ बस्ती, दार्जिलिङ। डा गीता छेत्री पनि समालोचनामा अघि बढेकी छन्। उनका ‘विविध विवेचन’ ‘कृष्णसिंह मोक्तानको उपन्यासकारिता’ नामक समालोचनात्मक पुस्तक पनि प्रकाशित देखिन्छन्। अघिल्लामा जम्मा पच्चीसवटा छोटाछोटा समीक्षात्मक लेखहरू समावेश छन्। यसमा कविता, कथा, नाटक, निबन्ध, गीत र समालोचना विधाबारे प्रकाश पारिएको छ। यसमा नारीवादी चेतनाको पनि सामान्य रूपमा टिप्पणी गरिएको छ। संक्षिप्तता, प्रभाववादिता, मूल्याङ्कनपरकता, जीवनीपरकता, भाषिक सरलता डा छेत्रीको समालोचनागत विशेषताको रूपमा रहेको देखिन्छ। उनले कृष्णसिंह मोकतानको उपन्यासकारितामाथि पनि गहन अध्ययन गरी व्यक्तित्व र कृतित्व तथा विषयगत अनुसन्धानात्मक प्रवृत्तिमा रूचि पनि देखाएकी छन्।

२.१०. डा. ममता लामा – जन्म जलढक्का, कालिम्पोङ। नेपाली र हिन्दीका यथार्थवादी उपन्यासहरूको तुलनात्मक अध्ययन विषयमा विद्यावारिधि गर्ने डा ममता लामा पनि नयाँ पुस्ताकी एक होनहार समालोचक हुन्। उनको एउटा समालोचनाको पुस्तक ‘नेपाली समालोचना : दृष्टि र आधार’ (२०१५) प्रकाशित देखिन्छ भने विभिन्न साहित्यिक पत्र—पत्रिकामा अझै धेरै लेखहरू छरिएका छन्। उनले विशेष गरी शोधात्मक, विश्लेषणात्मक, प्राज्ञिक र तुलनात्मक समालोचनामा कलम चलाएकी छन्। तथ्यलाई खोजतलास र छानबीन गरी त्यसबारे पुर्पक्षे गर्न उनी सिपालु देखिन्छिन। डा. लामाले भारतीय नेपाली समालोचना विषयमा पनि गहन अनुसन्धान गरी त्यसबारे केही लेख प्रस्तुत गरेकी छन्। वस्तुतथ्यात्मकता, सम्यक् विश्लेषण, चिन्तनशील सूक्ष्म दृष्टिकोणको प्रस्तुति, तुलनात्मकता, सैद्धान्तिक तवरमा कृतिविश्लेषण, अनुसन्धानात्मकता, विषयनिष्ठता, भाषागत सरलता आदि डा. लामाको समालोचनागत चिनारी हुन्। हालमा उनी कालिम्पोङ महाविद्यालयमा प्राध्यापन पेशामा संलग्न छिन्।

२.११. डा. रेमिका थापा – जन्म मङ्पु, दार्जिलिङ। कवियत्रीको रूपमा चिनिएकी रेमिका थापा एक कुशल समालोचक पनि हुन्। उनको ‘पठन विपठन’ (२०१३) नामक समालोचनाको पुस्तकले उनलाई एक अब्बल दर्जाकी समालोचकका रूपमा परिचय दिएको छ। प्रस्तुत ग्रन्थमा थापाका नौवटा समालोचनात्मक लेखहरू समावेश छन्। यसमा समकालीन भारतीय कविताको प्रवृत्तिदेखि लिएऱ पुष्प राईका ‘मध्यान्तर’ र ‘भोलिको प्रतीक्षा’ उपन्यासमा पाइने नारीवादी चेतना, कथा र लघुकथा, अनुवाद साहित्य आदिबारे प्रकाश पारिएको छ। नारीवादी चिन्तन, किनारीकृत सिद्धान्त आदि विषयमा उनको विशेष रूचि देखिन्छ। उनी उनको प्रस्तुत ग्रन्थलाई पाठकाभिमुख, विश्लेषणात्मक, अनुसन्धानात्मक पद्धतिमा लेख्ने समालोचक हुन्।

२.१२. सुजाता रानी राई – जन्म १९६१, खरसाङ। दार्जीलिङ सरकारी महाविद्यालयमा वरिष्ठ प्राध्यापकको रूपमा रहेकी सुजाता रानी राई एक कुशल समालोचक हुन्। उनका ‘विहङ्गम विवेचना’ (२०१६) समालोचनाको पुस्तक प्रकाशित पाइन्छ भने विभिन्न पत्र- पत्रिकामा लेखादि प्रकाशित देखिन्छन्। उनी कृतिको सम्पादन, भूमिका लेखनदेखि लिएर विभिन्न कोण-उपकोणबाट निरीक्षण गरी समालोचना लेख्छिन्। मुख्यगरी उनको समालोचनाको क्षेत्र आख्यान देखिन्छ। यसका साथै उनका अधिकाङ्श लेखमा उनले कुनै विषयलाई गहिराईसम्म खोतलेर आफ्नो सूक्ष्मदृष्टि पनि दिएकी हुन्छिन्। ‘अगमसिंह गिरी रचनावली’, ‘डा त्रिलोक राईका कथाहरू’, ‘मोहन पुकारका नाटकहरू’ इत्यादि जस्ता पुस्तकमा उनको सम्पादकीय लेखनमा नै उनको समालोचनात्मक गम्भीरता, विषयगत एकनिष्ठता मूल्याङ्कनपरकता देखा पर्दछ।

२.१२. डा. दैवकी देवी तिम्सिना- असम तेजपुरकी दैवकी देवी तिम्सिना पनि एक प्रखर समालोचक हुन्। उनका लेखहरू विभिन्न पत्र-पत्रिकामा छरिएर रहेका छन्। विशेष गरी असमेली नेपाली कवि र कविताबारे समालोचना लेख्ने गरेको पाइन्छ। कृतिभित्र पसेर त्यसका विभिन्न पक्ष केलाउने गर्छिन्। उनका लेखहरू शोधपरक देखिन्छन्।

२.१४. सबिता थापा सङ्कल्प – दार्जिलिङकी सबिता सङ्कल्प पनि यस फाँटमा पनि सक्रिय देखिन्छिन्। उनी दैनिक समाचार पत्रमा पुस्तक निरूपण, समीक्षा आदि लेख्दै आएकी हुन्। हिमालय दर्पणमा एउटा स्थायी स्तम्भका रूपमा केही वर्ष अघिदेखि प्रकाशित हुने सृजना सम्वादमा छोटा छोटा भए पनि हरेक हप्तामा एक वा दुइवटा पुस्तकबारे चर्चा गरेको देखिन्छ। प्रभाववादी भए तापनि पनि उनको कलम निरन्तर चलेको देखिन्छ। उनले कृतिभित्रको मूल कथ्यलाई समातेर तिनको बारेमा प्रकाश हाल्ने काम गर्छिन्।

२.१५. श्रीमती मुन्नु गौतम- जन्म मतिगाड़ा, सिलगड़ी। एक जाँगरिली लेखिका, समालोचनक र निबन्धकार। विभिन्न पत्र- पत्रिकामा विविध विषयमा विचारोत्तेजक लेख र समालोचना अनवरत रूपमा प्रकाशित देखिन्छन्। उनका बीस-पच्चिसवटा समालोचनात्मक लेखहरू प्रकाशित भएको पाइन्छ। अँग्रेजी विषयमा उच्च अध्ययन गरेकी गौतमले पनि समालोचनामा अँग्रेजी साहित्यका वाद र सिद्धान्तको प्रयोगमा ल्याएको देखिन्छ। कृतिको अध्ययन गरेर त्यसबाट उब्जेका प्रतिक्रियालाई उनले समालोचनामा प्रयोग गरेको देखिनाले उनी मूलतः प्रभाववादी समालोचक हुन्। हालमा कालेबुङको जुबिली हाई स्कूलकी शिक्षिकाका रूपमा सेवारत छिन्। नारीप्रधान पत्रिका ‘माया’-को सम्पादन कार्यमा संलग्न छिन्।

२.१६. डा. गोमा अधिकारी – मणिपुरकी डा. गोमा अधिकारी पनि नेपाली समालोचनामा उदाएकी छन्। उनका ‘भारतीय नेपाली साहित्यको विश्लेषणात्मक अध्ययन’ (२०१७) र ‘नेपाली भाषा र संस्कृति’ (२०१२) नाम पुस्तक प्रकाशित भएको देखिन्छ। यसमा नेपाली लोकसाहित्यबारे निकै गहन अध्ययन गरेकी छन्। यसबाहेक उनका आठ दसवटा जति नेपालीमा समालोचनात्मक लेखहरू प्रकाशित छन्। नेपालीबाहेक हिन्दी भाषामा पनि केही समालोचनात्मक लेख लेखेकी छन्। कथा, कविता, उपन्यास कृतिमाथि मूल्याङ्कनात्मक लेखहरू लेखेको पाइन्छ। उनको यसै वर्ष प्रकाशित मणिपुरको नेपाली साहित्य परम्परा नामक ग्रन्थ नेपाली साहित्येतिहासकारका निम्ति निकै उपयोगी र सन्दर्भित छ। यसमा मणिपुरमा नेपाली साहित्यको इतिहास, कृति र कृतिकारको मूल्याङ्कन आदि पक्ष प्रकाश पारेकी छन्। मणिपुरबाट प्रकाशित नेपाली कविता, कथा, नाटक निबन्ध उपन्यास लेखनको परम्परा केलाउँदै विशेष गरी तीन कालमा वर्गीकरण गरी पर्त्येक चरणको प्रवृत्ति, विशेषता र सर्वेक्षण प्रस्तुत गरेकी छन्।

२.१७. डा. रागिनी थापा – नेपाली समालोचना क्षेत्रमा डा रागिनी थापालाई पनि एउटी कुशल समालोचकका रूपमा मान्न सकिन्छ। उनले विशेष गरी भाषापरक, शैलीवैज्ञानिक, संरचनात्मक पद्धतिमा समालोचना लेख्ने गरेको पाइन्छ। उनको लेखनमा शोधात्मक, सर्वेक्षणात्मक र विश्लेषणात्मकता जस्ता विशेषता पाइन्छ। हालसम्म उनका समालोचनाका पुस्तकाकार रूपमा नभए पनि फूटकर रूपमा उनका यस्ता लेखहरू विभिन्न साहित्यिक पत्रिकातिर प्रकाशित भएको देखिन्छ।

२.१८. श्रीमती कौशल्या मुखिया – कौशल्या मुखियाका केही फुटकर लेखबाहेक राङभाङ – हिजो र आज नामक पुस्तक प्रकाशित छ। यसमा पोखरेबुङ भेकका विभिन्न साहित्यिक संस्था, पत्र- पत्रिका र साहित्यिक व्यक्तित्वका बारेमा सर्वेक्षणात्मक अध्ययन प्रस्तुत गरेकी छन्। सूचनात्मकता, सर्वेक्षणात्मकता उनको लेखनमा देखा पर्छन्।

२.१९. शैलीका छेत्री – शैलीका छेत्रीका केही समालोचनात्मक लेखहरू पनि प्रखर रूपमा देखा पर्न थालेका छन्। उनको ‘एक हरफ बाटो’ नामक पुस्तकमा आफ्ना समालोचकीय कलम पाइन्छ। यसबाहेक उनका विभिन्न पत्रिकामा उनका समालोचनात्मकक लेखहरू छरिएका छन्। उनले कुनै पनि कृतिमा दर्शनशास्त्र, नारी चिन्तन, वैचारिक चिन्तन, सैद्धान्तिक अडान आदि उनको समालोचकीय प्रवृत्ति पाइन्छ।

२.२०. डा इन्दुप्रभा देवी – जन्म गमिरी, शोणितपुर। गौहाटीकी इन्दुप्रभा देवी असमीयभाषा साहित्यमा प्राध्यपन गरे तापनि उनको कलम नेपाली समालोचनामा पनि प्रशस्त चलेको पाइन्छ। असमीय साहित्यमा आफ्नो अध्ययनलाई नेपाली समालोचनामा पनि प्रयोग गरेकी छन्। असमीय र नेपाली साहित्यका विविध पक्षमा तुलनात्मक अध्ययनमा उनको रूचि देखिन्छ।

३. फूटकर रूपमा लेख्ने समालोचकहरू –

पुस्तकाकार रूपमा नभए पनि तथा धेरै संख्यामा नलेखे पनि अझै अरू केही नारी समालोचकहरू विभिन्न पत्र-पत्रिकामा देखा पर्दछन्। डा अनिता लामा, झर्ना देवी (तेजपुर आसाम), गायत्री नेवार, डा. सबिता तामाङ, सरस्वती मोहरा, डा. नीना राई, डा. साङ्मु लेप्चा, डा. गीता निरौला, अनुपा राई, रेणुका तामाङ, सुधा गुरूङ, सारथी तामाङ, कृष्ण पुलामी, अञ्जली मोक्तान, पुष्पा राई,  आदि। डा. सबिता तामाङका विभिन्न समालोचना पत्र-पत्रिकामा छरिएर रहेका छन्। सरस्वती मोहरा भने प्रगतिवादी समालोचना क्षेत्रमा एक प्रखर नाम हो।

४. भारतीय नेपाली समालोचकहरूको समग्रमा मुख्य प्रवृतिहरू-

४.१. भारतीय नेपाली साहित्य समालोचनामा डा लक्खीदेवी सुन्दासको नाम अति आदरका साथ लिने गरिन्छ। उनी साहित्यकी एक गहन अध्येता हुनाले समालोचनाको विषयवस्तु र प्रस्तुतिकरण सबै क्षेत्रमा उनी सर्वमान्य छिन्।

४.२. डा लक्खीदेवी सुन्दासपछि डा कविता लामा पनि प्रखर रूपमा समालोचना क्षेत्रमा देखिन्छिन्। डा पुष्प शर्मा, डा ममता लामा, डा राधा शर्मा, डा शान्ति थापा, दैवकी देवी तिम्सिना, रेमिका थापा आदि पनि गम्भीर अध्येता र समालोचक हुन्। उनीहरूको प्राज्ञिक किसिमका समालोचना पाइन्छ। कुनै पनि कृतिको विषयवस्तु, भाषा, शैली, तुलना-प्रतितुलना, ऐतिहासिकता आदि प्रवृत्ति देखिन्छन्।

४.३. अधिकांश मात्रामा प्रभाववादी समालोचनाले स्थान ओगटेको पाइन्छ। कृतिको समुचित अध्ययन, कमी कमजोरी आदि केलाउनु भन्दा कृति र कृतिकारको प्रशंसापरक लेखहरू पनि बढी पाइन्छन्। यद्यपि निर्णयात्मक, सैद्धान्तिक समालोचना पनि नपाइने होइन। यसका साथै प्राज्ञिक, अनुसन्धानात्मक समालोचना निकै फस्टिएको देखिन्छ। भाषापरक, समाजशास्त्रीयपरक समालोचना लेख्नेहरू पनि देखा परेका छन्।

४.४. अधिकांश नारी समालोचकहरू विद्यावारिधि र स्नातकोत्तर तहसम्म अध्ययन गरेका छन् तथा विश्वविद्यालय-महाविद्यालयमा प्राध्यापन गर्दछन्। एकाध समालोचकहरू दैनिक समाचार पत्रमा काम गर्ने गरेको पनि पाइन्छ।

५. उपसंहार

भारतीय नेपाली समालोचना क्षेत्रमा नारी समालोचकहरू पनि सक्रिय देखिन्छन्। सङ्ख्यामा केही कमी देखिए पनि समालोचकीय गुणवत्ता, स्तरीयता र गहनतामा कुनै कमी छैन । सामान्य प्रभाववादी, सैद्धान्तिक, व्यावहारिक, निर्णयवादी, भाषापरक, शैलीपरक, तुलनात्मक आदि सबै क्षेत्रमा नारी समालोचकहरूको कलम चलेको देखिन्छ । प्रस्तुत लेख यसतर्फको शुरूआती सर्वेक्षणको प्रयास मात्र हो। यसबारे अझै गहन अध्ययन गर्नुपर्ने देखिन्छन्।

निवेदन- यो लेख २०१४ तिर नै तयारी पारेको हुनाले यसमा अत्यन्त थोरै मात्र कृतिनाम थपिएको छ। यहाँ धेरैजनाका छुटेका छन्।