विषयप्रवेश :

रमेश विकल मूलतः आख्यानकार हुन् । आख्यानका अतिरिक्त नियात्रा, नाटक, बालसाहित्य आदिमा पनि उनको कलम चलेको छ । आख्यानका कथा र उपन्यास दुवै प्रविधामा कृतिहरू प्रकाशित भए पनि तेस्रो प्रविधा लघुकथामा भने उनी फुटकर रूपमा मात्र सीमित छन् तर विकलले जति लघुकथा लेखेका छन् ती सबै निकै वजनदार र मानक लेखेका छन् ।

कुशल साहित्य साधक विकलको जन्म वि.सं. १९८५ साल कार्तिक २९ गते आरुबारी, काठमाडौँमा भएको थियो । उनका नयाँ सडकको गीत (२०१८), बिरानो देशमा, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा (२०२५), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), शव, सालिक र सहस्र बुद्ध, उर्मिला भाउजू (२०३५) जस्ता कथासङ्ग्रहहरू प्रकाशित छन् । सुनौली (२०३१) अविरल बग्दछ इन्द्रावती (२०३९) र सागर उर्लन्छ सगरमाथा छुन (२०५२) जस्ता सशक्त उपन्यासका स्रष्टा विकलका सात सूर्य एक फन्को र निलगिरीको छायामा गरी दुईवटा नियात्रासङ्ग्रह पनि प्रकाशित भएका छन् । सरदार भक्ति थापा (२०३९) र मिल्किएको मणि उनका प्रकाशित नाट्यकृति हुन् । अगेनाको डिलमा, विक्रम र नौलो ग्रह, सात थुँगा जस्ता बालसाहित्यका कृति प्रकाशित गरेका विकलले अङ्ग्रेजी लेखक ज्याक लन्डनको कृति द सी वुल्फको नेपाली भाषामा अनुवादसमेत गरेका छन् । यस्तै उनले अङ्ग्रेजी लेखक म्यारी शेलीद्वारा लेखिएको फ्रेनकेस्टेन उपन्यासको पनि नेपालीमा अनुवाद गरेको बुझिएको छ तर यो अनुदित उपन्यास प्रकाशित भने भएको छैन । यसका अतिरिक्त विभिन्न पत्रिकाहरूमा विकलका अनेकौँ फुटकर रचनाहरू पनि प्रकाशित भएका छन् ।

लेखकीय प्रवृत्ति :

रमेश विकल

रमेश विकल प्रगतिवादी धाराका शक्तिशाली लेखक हुन् । सीमान्त वर्गका व्यथाहरूलाई अत्यन्त गहिरो किसिमबाट बुझेर लेख्ने विकलले आफ्ना कृतिहरूमा समाजमा देखिएका हुने खाने र हुँदा खाने वर्गको वर्गीय सङ्घर्षको गाथालाई केस्रा केस्रा छुट्याएर बिनाएका हुन्छन् । उनले गरीब, दुःखी, बेसहारा र राज्यको न्यायिक आँखा नपरेका पात्रहरूलाई आफ्ना कृतिहरूमा स्थान दिए पनि तिनीहरूले अन्ततः हारेका हुन्छन् । यस सम्बन्धमा उनको आफ्नै किसिमको तर्क छ । उनी भन्छन् – “त्यस्ता पात्रले हाम्रो समाजमा जितेकै छैनन् । कृतिमा तिनीहरूलाई जिताउनु अन्याय हुन्छ । जितेको देखाइयो भने आदर्श हुन्छ । मेरो उद्देश्य आदर्श व्यक्त गर्नु नभई जे छ त्यही बताउनु हो ।”

सालाखाला देखेसुनेकै घटनाहरू भए पनि त्यसलाई खिप्ने कलाले रचनाको महत्ता बढ्छ । घटना खिप्ने कला लेखकको लेखकीय पहिचान हो । लेखकीय पहिचान भनेको अरूभन्दा भिन्न वैशिष्ट्य स्थापना हो । यो लेखकीय पहिचान बनाउन लेखकले आफ्नो जीवन नै लगाएको हुन्छ । रमेश विकलले पनि आफ्नो लेखकीय विशिष्टताको स्थापना गरेका छन् । उनमा कथा कथ्ने एउटा सुन्दर कला छ । एउटा सीपको राजमार्ग बनाएका छन् विकलले आख्यानमा अनि नियात्रा तथा बालसाहित्यमा । उनी जटिलभन्दा जटिल विषयलाई पनि सरल भाषा र लालित्यपूर्ण शैलीमा व्यक्त गर्छन् । उनका रचनाहरू सामाजिक शाब्दिक चित्र हुन् ।

अपाङ्ग वर्ष लघुकथाको पाठ्य रूप :

“यस वर्षलाई अपाङ्ग वर्षका रूपमा मनाइनेछ”, भोँपू हालेको जिप चिच्याउँदै दौड्यो । नजिक सडकछेउमा माग्न बसेको एउटा कुँजो केटाले आफ्नी आमासँग सोध्यो – “अपाङ्ग वर्ष भनेको के हो ?”

आमाले सडकपारिको ठूलो महललाई हेरेर भनी – “मलाई थाहा छैन । पख्, त्यो दरबारका मालिकसँग सोधेर बताउँला ।”

महलका मालिक भव्य मर्सिडिज कारमा चढेर ढोकाबाट निस्यो । बुढिया उठेर मोटरअगाडि गएर उभिई – “मालिक अपाङ्ग वर्ष भनेको के हो ?”

“के ?” – माग्ने बूढीको आँट देखेर मालिकका आँखी भौँ टेढिए तर उनलाई अपाङ्ग वर्ष समितिको समारोहमा जाने हतार थियो । उनले संयम गरेर सोधे – “के ? अपाङ्ग वर्ष ? किन चाहियो तँलाई ? तेरो माग्ने काम मागेर बस् ।”

“मेरो कुँजो छोरो जान्न खोज्छ ।” – बुढीले भनी – “ऊ बालखै छ, त्यसैले ।”

“पख्, म समारोहमा भाग लिएर आऊँ, अनि बताइदिउँला ।” – मालिकले आश्वासन दिए । वास्तवमा कुँजो वालक निरीह जिज्ञासा देखेर मालिकको मन पग्लेको थियो ।

मोटर बुढियाको मुखमा धुलो बर्साउँदै हिँड्यो । बेलुकी समारोहबाट फर्कँदा मालिकले बुढियाको प्रश्न सम्झे । घरअगाडि सडकमा मोटर रोकेर उनले बुढियालाई नजिक बोलाए ।

“ए, सुन् ! तेरो छोराले अपाङ्ग वर्षका बारेमा जान्न खोजेको होइन ?” – उनले आफ्नो कोटको देब्रेपट्टि माथिल्लो बगलीमा झुन्डिएको सुनको तक्मा देखाउँदै भने – “अपाङ्ग वर्ष भनेको यही हो ।”

बुढियाले छोरो भए ठाउँ फर्केर छोरालाई भनी – “हेर अपाङ्ग वर्ष भनेको ऊ त्यो मालिकको कोटमा झुन्डिएको चक्को हो ।”

कुँजो केटो सन्तुष्ट भयो ।

(साभार : मोहनराज शर्मा, समकालीन समालोचना सिद्धान्त र प्रयोग, पृ. १९० बाट)

शब्द दायरा :

लक्ष्मण अर्याल

रमेश विकलद्वारा लिखित अपाङ्ग वर्ष लघुकथामा जम्माजम्मी १९२ वटा शब्दहरू छन् । उनको थोरैमा धेरै भन्ने कला अन्य कृतिमा झैँ यसमा पनि प्रकटित भएको छ । लघुकथामा अनावश्यक वा फाल्तु कुराहरूले कत्ति पनि प्रवेश पाएका छैनन् । यसमा शब्दको मितव्ययी प्रयोग गरिएको छ ।

विषयवस्तु र पात्र :

प्रस्तुत लघुकथामा अपाङ्ग वर्ष घोषणा भएको सन्दर्भ छ । यो घोषणाको सही उद्देश्य अपाङ्ग लक्षित विशेष कार्यक्रम ल्याउनु र तिनको जीवनशैली सुगम बनाउनु नै रहेको हुनुपर्छ तर उद्देश्य एकातिर छ र कर्मले अर्कै बाटो पक्डेको छ । अपाङ्ग वर्ष समितिको संयोजक र सदस्यहरूमा ठूलाठालु सम्पन्नहरूकै बोलबाला हुनेगर्छ । राम्रो काम गरेको भनी पदक तिनैले पाउँछन् । अपाङ्गका नाममा कार्यक्रमहरू बन्छन् र सम्पन्न पनि हुन्छन् । वर्ष घोषणाले लक्षित समूह लाभान्वित हुनुपर्ने हो तर तिनलाई त वर्ष घोषणाको शाब्दिक अर्थ पनि थाहा हुँदैन । अर्थ जान्ने उत्सुकता पनि पूरा गर्न पाउँदैनन् तिनीहरू । विषयको यही सेरोफेरोमा कुँदिएको छ यो लघुकथा ।

यो धनी र गरीब पात्रको उपयोग गरी लेखिएको लघुकथा हो । लघुकथामा एक जना धनी र दुई जना गरीब पात्र छन् । गरीब पात्रमा एक जना वृद्धा र अर्को बाल पात्र आएको छ । वृद्धा र बालपात्रका बीचको सम्बन्ध आमाछोराको सम्बन्ध हो । धनी पात्र सवलाङ्ग छ भने गरीबमध्ये वृद्धा पात्र सवलाङ्ग र छोरो पात्र विकलाङ्ग छ । धनी पात्र अचाक्ली धनी र गरीब पात्र अचाक्ली गरीब छन् । अर्थात् धनी पात्र हुने खाने वर्ग हो भने गरीब पात्र हुँदा खाने वर्ग हो । पात्रहरूमा वर्गीय विषमताको ठूलो गहिरो खाडल छ । लेखकको सहानुभूति मालिक पात्रप्रति छैन वृद्धा र उसको विकलाङ्ग छोराप्रति छ तर लेखकीय सहानुभूति मात्रले वृद्धा र उसका छोरालाई प्रत्यक्ष कुनै फाइदा पुगेको छैन ।

प्रयोजन :

प्रस्तुत लघुकथा लेख्नुको लेखकीय प्रयोजन गरीब र मागेर गुजारा चलाउने वृद्धा र उसको कुँजो छोरोलाई एकाएक चामत्कारिक रूपमा सम्पन्नता प्रदान गर्नु होइन । न त मालिकहरूको मालिक्याइँ बलात् खोस्नु हो । यसको लेखकीय उद्देश्य समाजमा विद्यमान धनी र गरीबबीचको ठूलो अन्तरलाई बाहिर ल्याउनु नै हो । समस्या बाहिर आएपछि त्यो व्यक्तिगत दायरामा मात्र रहँदैन सामाजिक मुद्दा बन्छ । प्रस्तुत अपाङ्ग वर्ष लघुकथाको उद्देश्य पनि समस्यालाई सामाजिकीकरण गरी निदान गर्ने तहसम्म आवाज पुर्‍याउनु रहेको छ ।

लघुकथाको परिवेश 

प्रस्तुत लघुकथाको कालिक परिवेश यही भन्ने निश्चित छैन तर पनि समाजमा यस्तो घटना हिजो पनि घट्थ्यो र आज पनि घट्ने गरेको छ । भोलिका दिनमा यस्ता घटना घट्छन् कि घट्दैनन् कुनै निश्चित त छैन तर आजसम्मको मानवीय प्रवृत्ति केलाउने हो भने भोलिका दिनमा पनि यस्ता घटनाहरू निर्मूल हुन्छन् भन्ने कुनै आधार भेटिँदैन । यसैले यो लघुकथामा सार्वकालिक परिवेशको प्रवृत्ति छ भन्न सकिन्छ । लघुकथाको स्थानिक परिवेशबारे विचार गर्दा घटना घटेको ठाउँबारे यो लघुकथा प्रत्यक्ष बोल्दैन तर यसबारे अड्कल गर्ने लुप होलहरू भने छन् लघुकथामा । लघुकथामा ‘भोँपू हालेको जिप’ कुदेको छ, सडक छ, सडकपारि ठूलो दरबार छ, दरबारमा कारवाला मालिक बस्छन् । सडकमा कार गुड्दा मनग्गे धुलो उड्छ । यो शब्दचित्रका आधारमा घटना घटेको स्थान सहर हो, सहर पनि युरोपेली सहर होइन, गाडी गुड्दा धुलो उड्ने सहर हो । यस्तो सहर हामीकहाँ प्रशस्त छन् । यो काठमाडौँ या यस्तै कुनै अस्तव्यस्त सहरमा घटेको घटना हो ।

लघुकथाको भाषाशैली :

प्रस्तुत लघुकथाको भाषा सरल अनि शैली स्वतःस्फूर्त वा प्राकृतिक छ । लघुकथा ससाना दशवटा हरफमा विभक्त छ । पहिलो हरफदेखि दसौँ हरफसम्म क्रमशः २, २, २, ६, १, २, ३, २, १, १ वाक्यहरू प्रयोग गरिएको छ । लघुकथामा प्रयोग गरिएका वाक्यहरू छोटा छन् । आजकल अपाङ्ग शब्दको सट्टा विकलाङ्ग शब्दको प्रयोग गर्नुपर्ने सामाजिक प्रस्ताव छ तर लघुकथाकारले यसमा अपाङ्ग शब्द नै प्रयोग गरेका छन् । माइक हालिएको जिप भन्नुको सट्टा ‘भोँपू हालेको जिप’ भनिएको छ भने लघुकथामा वर्णित शारीरिक विकारले हातगोडा आदि नचल्ने केटालाई ‘कुँजो’ भनिएको छ । ‘कुँजो’ शब्दको व्याख्या गर्ने हो भने लघुकथाको शाब्दिक आकार बढ्थ्यो तर लघुकथाकारले लामो प्रस्तुति घटाउन ‘कुँजो’ शब्दको प्रयोग गरेका छन् जसले लघुकथालाई प्रभावकारी बनाएको छ । यसमा ‘कोटमा झुन्डिएको सुनको तक्मा’लाई लघुकथाकी बुढिया पात्रले ‘कोटमा झुन्डिएको चक्को’ भनेकी छ । ‘चक्को’ शब्दले लघुकथालाई स्वादिष्ट पनि बनाएको छ । यस्तै फारसी स्रोतको ‘बगली’ शब्दको प्रयोगले कथामा मिठास थपेको छ ।

अर्थगत व्याप्ति :

प्रस्तुत लघुकथा जति सरलताका साथ प्रवाहित छ अर्थगत तह त्यति सरल छैन । यसले अर्थका तहमा बौद्धिक पाठकलाई खोजेको छ । कुँजो केटाको “अपाङ्ग वर्ष भनेको के हो ?” भन्ने जिज्ञासा बुढिया पात्रमार्फत मालिकसम्म पुग्दा मालिकले त्यसको प्रत्युत्तरमा आफ्नो कोटको देब्रेपट्टि माथिल्लो बगलीमा झुन्डिएको सुनको तक्मालाई देखाएर “अपाङ्ग वर्ष भनेको यही हो” भनेको छ । मालिक पात्रको यो प्रत्युत्तरबाट अपाङ्ग वर्ष भन्नाले अपाङ्गका नाममा दुईचार झारा टार्ने किसिमका कार्यक्रम, कार्यक्रमका नाममा ठूलो धनराशिको खर्च, कार्यक्रम गरिटोपल्नेहरूको सामाजिक स्तरोन्नति र कार्यक्रम ल्याउनेहरूले लक्षित समूहप्रति देखाएको उपेक्षा भन्ने अर्थ ध्वनित भएको छ ।

लघुकथाको सूत्रवाक्य :

प्रस्तुत लघुकथाको उपान्तिम वाक्यमा बुढिया पात्रले छोरो पात्रलाई भनेकी छ – “हेर अपाङ्ग वर्ष भनेको ऊ त्यो मालिकको कोटमा झुन्डिएको चक्को हो ।” यही वाक्य नै यो लघुकथाको सूत्रवाक्य हो । यसमा लघुकथाको सार खिचिएको छ । यो सूत्रवाक्य शक्तिशाली छ र यही शक्तिशाली सूत्रवाक्यको प्रयोगले प्रस्तुत लघुकथालाई उच्चस्तरीय र मानक बनाएको छ । लघुकथाको सूत्रवाक्य पछि लघुकथाकारले “कुँजो केटो सन्तुष्ट भयो” भन्ने एक वाक्यीय अनुच्छेद थपेका छन् । कतिपयले सूत्रवाक्यपछि यसरी थप्नु लघुकथाको स्तरीयता घटाउनु हो भनेका छन् तर कुँजो केटाको “अपाङ्ग वर्ष भनेको के हो ?” भन्ने प्रश्नको जवाफमा सूत्रवाक्य आएको र उसको प्रतिक्रियाबिना लघुकथा अपूर्ण हुने भएकाले यस लघुकथाको थपोटका रूपमा आएको अन्तिम एक वाक्यीय हरफ स्वभाविक बनेको छ ।