१. आमुख –

अचेल गीतको अभिव्यक्ति पक्षमा ह्रास आएको र हल्का फुल्का र सस्तो भएको छ भन्ने गुनासो जनसाधारण र संगीत-पारखीवर्गबिच रहेको देखिन्छ। जे पायो त्यही शब्दमा उरण्ठेउला र पश्चिमी अन्धानुकरण गरिएका गीतका अल्बम बजारमा यत्र-तत्र उपलब्ध छन्। यस्ता खाले गीत विशेषगरी किशोरावस्थाका श्रोताहरूले बढी रूचाउने गरेको देखिन्छ। यस्ता गीतहरू बर्खे च्याउजस्ता मात्र हुन्छन् जो समयको फेरामा ती विस्मृतिको गर्भमा विलुप्त भइहाल्छन्। यद्यपि गम्भीर शब्द-रचना, मिठो संगीत-योजना र सुमधुर स्वरजस्ता त्रिपक्षीय संयोजन भएका गीतहरू भने चिरस्थायी, शाश्वत, सर्वस्पर्शी र सदाबहार बन्छन्। नेपाली संगीतकै क्षेत्रमा कुरा गर्नु हो भने बच्चु कैलाश, अम्बर गुरूङ, गोपाल योञ्जन, नाराय़ण गोपाल, तारादेवी, अरूणा लामा, भक्तराज आचार्य आदिका गीतहरू नेपालीभाषी समाजको एउटा ठुलो श्रोता-समुदायलबिच उत्तिकै लोकप्रिय छन्। अहिलेका पप र रक गीत मन पराउने किशोरावस्थाका श्रोताहरू उमेर ढल्दै गएपछि तिनै गम्भीर गीत खोज्न थाल्छन्, शब्दको भाव-गाम्भीर्य पहिल्याउँछन्।

२. विषय प्रवेश-

गीतलाई छुट्टै विधा मान्नुभन्दा कविताकै एउटा उपविधा मान्नु उचित देखिन्छ। यसमा मानसिक अवस्थाको तीब्र अभिव्यक्ति हुन्छ। गीतमा संरचना, विषयवस्तु, लयविधान, बिम्बविधान, गेयात्मकता, संगीतात्मकता, भावुकता, दृष्टिविन्धु, भाषा, शैली, अलङ्कार जस्ता तत्वहरू हुन्छन्। त्यसैगरी गीतमा सरलता, आत्मनिष्ठता, असीमता, एकलता, गेयमाधुर्य, वैयक्तिकता, अभिव्यक्तिमय निश्छलता, सहजाभिव्यक्ति, सम्बोधन, संक्षिप्तता इत्यादि जस्ता विशेषता रहेका हुन्छन्।

नवीन पौड्याल (कालिम्पोङ)

यसै सन्दर्भमा भाव-गाम्भीर्य, सुमधुर, सुललित र सर्व-सम्प्रेष्य गीतहरू लिएर दार्जीलिङ (सिलगडी तराइसमेत) बाट तीनजना गीतकार चर्चित वा चर्चायोग्य छन्- पुरण गिरी, पुष्कर पराजुली र कमल रेग्मी। हरिभक्त कटुवाल, दिनेश अधिकारी, जस योञ्जन प्यासी, कालीप्रसाद रिजाल, यादव खरेल, क्षेत्रप्रताप अधिकारी, भैरवनाथ रिमाल कदम, बुद्धबीर लामा, गोपाल योञ्जन र नोरदेन रूम्बाका सुमधुर गीति रचनाबाट स्वाद पाएका नेपाली श्रोताले यी तीनजनाका गीतबाट धीत मार्न सक्छन्। यी तीनमध्ये पुरण गिरीका गीतहरू धेरै गायक-गायिकाहरूले गाएर लोकप्रिय भइकेका छन् भने पुष्कर पराजुली र कमल रेग्मीका गीतहरू पनि धेरै मात्रामा गायन-रेकर्डिङ भएका छन्। यी तीन गीतकारका गीतहरू प्रायः एकै एकै समय र परिस्थितिका उपज हुनाले धेरै मात्रामा तुलनीय छन्।

२.१  पुरण गिरी-

नेपाली गीति फाँटका एक सफल गीतकार हुन् पुरण गिरी। आजसम्म  उनको एउटै गीत-सङ्ग्रह जिन्दगीको लयान्तर सन् २००८ मा र विम्बहरू (२०१६) मा प्रकाशित भएका छन्। यसका साथै पुरण गिरीका गीतहरूलाई  मनप्रसाद सुब्बाले Lyrical Puran Giri का नाममा अँग्रेजी अनुवाद गरेका छन्। उक्त गीतसङ्ग्रहमा जम्मा एक सय आठवटा गीतहरू समावेश छन्। यस आलेखमा उनको अघिलल्लो गीतसङ्ग्रहबारेमा मात्र अध्ययन गरिएको छ। उनले रचेका गीतहरूबाट पचास प्रतिशत जति गीतहरू यसमा समाविष्ट छन् त्यही पनि संगीतकारहरूका घरतिर गई सङ्कलन गरिएको हो अनि सङ्ग्रह गर्न नसकेका गीतहरू यसमा समावेश नभएकोमा उनलाई साह्रै खल्लो लागेको छ भनी उनी स्वीकार्छन्। (पुरण गिरी, जिन्दगीको लयान्तर,आफ्ना अनुभूतिहरूबारे)। यसबाट हेर्दा पनि उनमा गीत रचनाको प्रतिभा स्वतःसिद्ध हुन्छ। यस संग्रहमा भएका समस्त गीतहरू गायन भइसकेका रहेछन्। उनका गीतहरू उदय-मनिला सोताङ, डेजी बराइली, पेमा लामा, अरूणा लामा, कुमार सुब्बा, शङ्कर गुरूङ, थुपदेन भोटिया, दुर्गा खरेल, रामकृष्ण ढकाल, अनुपमा प्रधान, बानिका प्रधान, हीरा रसाइली, महेश सेवा, लाक्पा सेर्पा, कुबेर राई आदिले गाएका छन्। यसै गरी उनका गीतहरूलाई दीप वाइबा, चन्दन लोम्जेल, मणिकमल छेत्री, बसन्त छेत्री, टासी वाङ्चुक आदिले संगीत दिएका छन्। यस हिसाबले हेर्दा उनका गीतहरूले संगीतको आलोक पाएर न्याय पाएका छन्। उनका गीतमा भावाभिव्यक्तिमा रूमानीत्व, प्रेमका कोमल भावको सहज प्रकाशन्, जातीय अस्तित्वको चिन्तन, जातीय गौरव-गान, राजनैतिक व्यङ्ग्य, जीवन-जगतप्रतिको दार्शनिक चिन्तन्, सन्तुलित र मितव्ययी शब्दप्रयोग, युगीन सन्दर्भको प्रस्तुति, अनेकार्थक भावभंगी, प्रकृतिका सुन्दर चित्रणसँग मानवीय भावको एकाम्यता, एकालापीय ढाँचा, भावअनुरूप कोमल शव्द प्रयोग जस्ता अनेक विशेषता रहेका छन्। गिरीका गीतमा आशाका किरणका भाव पाइए तापनि मूलतः उनी निराशावादी नै देखिन्छन्।

 २.२पुष्कर पराजुली

गीतकारका रूपमा श्री पराजुली पनि लगभग बाइस-पच्चीस वर्षदेखि नै सक्रिय छन्। सन् १९९३ मा निर्मित नेपाली चलचित्र भूलमा गीत लिएर देखा परेका पराजुलीका तीन-चारवटा गीत अल्बममा सजिएका छन्। उनका गीत फुल्ने ठाँउकहाँ पर्‌यो चौतारी (२०१४) गरी दुईवटा गीतसङ्ग्रह प्रकाशित देखिन्छन्। उनका परेलीको आकाश, रूमानी बतास आदि जस्ता गीतका अल्बम पनि निस्केका छन्। आजसम्म उनका गीतहरू रबिन शर्मा, उदितनारायण झा, रामकृष्ण ढकाल, साधना सरगम, विष्णु छेत्री, आनन्द कार्की, अञ्जु पन्त, आभास, पूर्णिमा,सत्यराज आचार्य, जगदीश शर्मा, सफल थापा, नीलामणि थापा(राई), विरेन खाती आदिले गाएका छन्। उनी आफैं गीत-संगीतका पारखी र वाद्यवादन ज्ञान भएका हुनाले शब्द-चुनाइ र संयोजनमा धेरै सचेत छन्। उनी सिलगडीको एउटा सांगीतिक संस्था आरोहीको एक सक्रिय सदस्य हुन्। पराजुलीका गीतका प्रत्येक पंक्तिमा आउने अक्षरको संयोजन तथा लयसञ्चार गरिएको पाइन्छ। उनका गीतमा हामी रूमानी भाव, प्रकृतिको प्रतीकीकरण र मानवीय भावसित तादात्म्यता, प्रगतिमुखी स्वर, आशावादी स्वर, लोकतत्वको आंशिक प्रयोग, ग्रामीण परिवेशको सिर्जना, वैयक्तिक अनुभूतिको साधारणीकरण, अनेकार्थकता, जीवन-जगत्‌सम्बन्धी दर्शन-चिन्तन, प्रेमको सस्तो भावुकताभन्दा सिर्जनात्मकता -तिरको झुकाव, युगीन सन्दर्भको प्रस्तुती, जातीय अस्तित्व चेतना, बालोपयोगी केही गीत इत्यादि पाइन्छन्। उनको निम्ति संसार उज्यालो छ, आशाले भरिपूर्ण छ, आस्थाले परिपूर्ण छ। उनी कालो कालो बादलको पछिल्तिर पनि पनि उज्यालो देख्छन्, तिर्खा लागे धारा पाउँछन् र थकाइ लागे चौतारो भेट्छन्। उनको प्रेममा पीडाभन्दा आनन्ध छ, प्रेमविरागभन्दा  प्रेमानुराग छ। उनका निम्ति चरा-चुरूङ्गी र तारागणले पनि प्रेमको गीत गाउँछन्, फूलहरू पनि प्रेमले हाँस्छन्। उनका गीतमा कतै नशालु पदार्थ सेवन गर्नेको पीडा छ, कतै दार्जीलिङ जाने राजमार्ग ५५ को अन्तर्व्यथा र आत्मकथा छ। उनका गीतमा पनि कतै निराशाका भाव भए तापनि मूलरूपमा आशावादी नै छन्।

२.३- कमल रेग्मी

अहिलेका एक चर्चित र सफल गीतकार हुन् कमल रेग्मी। अहिलेसम्म उनका  गीतसंग्रहहरू काँडाफूल सन् २००७, हिउँको आगो (२०१२), घामपानी (२०१८) गरी तीनवटा प्रकाशित छन्। यसै गरी उनको गीतअल्बम तप्कना (२००८) पनि बजारमा निसकेको छ। उनका पैंसट्ठीवटा गीतहरू श्रीमती श्रद्धामणि प्रधानले अँग्रेजीमा अनुवाद गरेको confluence (२०१८) का नाममा प्रकाशित छ। यस आलेखमा भने सबैभन्दा पहिलो गीतसङ्ग्रह काँड़ाफूल का आधारमा मात्र अध्ययन गरिएको छ। उनका पनि धेरैवटा गीतहरू गायनभित्र परेका छन्। उनका गातहरू अजनिश राई, प्रसाद रणपहेंली,कुमार रनपहेंली, थुपदेन भोटिया,रामकृष्ण ढकाल, लासिमित गाई, यम बराल, हिरा रसाइली, गौतम गजमेर, अनुपमा प्रधान आदिले गाइसकेका छन्। उनका गीतमा पनि जातीय चेतनाको प्रखर स्वर, प्रकृतिका सुन्दर विम्बद्वारा मानवीय संवेदनाको प्रतीकीकरण, प्रेमका यावत् पक्षको उद्घाटन्, देशप्रेम, माटाको माया, विकृत राजनितीबाट उब्जेका विसंगतिप्रति व्यङ्ग्य, दार्जीलिङ प्रेम,आफ्नो जन्मथलो प्रेम, एकोन्मुखी भावतरङ्ग जस्ता विशेषता र गुणहरू हामी पाउँछौं।

३. तीन गीतकारका गीतहरूको तुलनात्मक अध्ययन

गीतका केही मूलभूत तत्वमा आत्मपरक प्रस्तुति, एकान्विति, भाव, विषयवस्तु, कल्पना, आनुप्रासिक ध्वनिसंगीत, प्रतीक र बिम्ब, मानवीकरण, अर्थका तह, भाषा र भाषिक विचलन जस्ता कुराहरू पर्दछन्। यद्यपि यी तत्वहरूका समष्टीमा भाव-सम्प्रेषण र शब्द संयोजनाका आधारमा यी तीनजनाका गीतको तुलना गर्न सकिन्छ।

३.१ – भावभूमिका आधारमाः

यी तीनैजना समसामयिक युगका र एउटै-एउटै सामाजिक परिस्थितिका उपज हुनाले धेरै सामञ्जस्य पाइन्छ। यीनैजनाले यही युगका गतिविधि, मानिसका मनोभाव युगीन पीडा र विकृति-विसंगति देखेका,सुनेका र भोगेका छन्। यही युगीन चेतनाबाट सिर्जित गीतका भावभूमि र विषयवस्तुगत विविधता, व्यापकता र स्वतञ्त्रता नै यी तीन गीतकारले उपयोग गरेका छन्। तीनैजना आ-आफ्ना कथ्यवस्तु र भावभूमिमा लेखे पनि केही समानता पाइनु स्वाभाविक हो। विषयवस्तुगत विविधताका पक्षमा पराजुली केही अघि छन्। यी तीनैजनाका गीतमा एकान्वितिको निर्वाह भएको छ। गीतको स्थायीले उठान गरेको विषयलाई अन्तराले टेवा दिएको हुनुपर्छ। गीतको एउटै मूल विषयलाई चारैतिरबाट प्रतीक, विम्ब, भाव आदिका सहायताले पुष्टी गरेको हुनुपर्छ। तीनैजना यसतर्फ सचेत छन्। गीतमा कल्पनाशीलता पनि अर्को प्रमुख पक्ष हो। तीनै गीतकार कल्पनाका पखेटा चालेर संसारमा विचरण गर्नपुग्छन्, आ-आफ्ना प्रेमिकाको रूप सौन्दर्यको निम्ति विविध कल्पनामा विचरण गर्छन्। प्रेमका अनेक पक्ष हुन्छन् जस्तै प्रेमानुराग. प्रेमपीड़ा, प्रेमेच्छा, रतिराग, प्रेमानन्द इत्यादि। प्रेमानुरागतर्फ पुरण गिरी अघि छन् भने प्रेमपीडातर्फ भने कमल रेग्मी अघि छन्।

           मायाका ती मीठा कुरा

           सम्झुँ सम्झुँ लाग्छ

           सुस्त नरम बोलीहरूमा

           अल्झुँ अल्झुँ झैं लाग्छ। (गिरी, पूर्ववत्, गीतसंख्या ३९)

रेग्मीको गीतमा प्रेमानुराग भाव हुँदाहुँदै पनि धेरजसो चाँहि प्रेमपीड़ाका भावका छन्। प्रेम सँधैभरि सुकोमल र आनन्ददायक मात्र हुँदैन, विछोड भयो भने त्यही माया विषालु, पीडादायक, हृदयलाई जलाउने र जीवनभरिलाई ठुलो प्रभाव पार्ने हुन्छ-

            नगर्नु है पत्यार अब माया यहाँ छल भो

            विश्वास गरी ज्यान दिँदा आज यो फल भो। (रेग्मी, पूर्ववत्, पृष्ठ ३१)

यता पराजुलीका गीतमा प्रेमानुरागमा नयाँ सिर्जनाको चाहना गर्छन्-

            अँध्यारो रहुञ्जेल पर्खन्छु तिमीलाई

            उज्यालो खसेपछि शायद तिमी आउँछौ

            बिहानीको गीत गाउन म धून जुटाउँछु

            गीतै अन्त हुँदा शायद तिमी आउँछौ।(पराजुली, पूर्ववत्, पृष्ठ ४९)

यसैगरी तीनैजनाका गीतमा जातीय चेतना प्रखर छ। पुरण गिरीले हाम्रो जातीय गौरव गाथालाई दुई-तीनवटा गीतमा अभिव्यक्त गरेका छन् भने पराजुली पनि जातीय चेतना, अधिकार र अस्तित्वको चिन्तालाई लिएर एउटा गीत प्रस्तुत गरेका छऩ्। यता कमल रेग्मीका पाँच-छवटा गीतमा हाम्रो जातीयतालाई स्वर प्रदान गरेका छन्। हाम्रो अनेकता, अदूरदर्शिता र स्वार्थताले हामीले धेरै कुरा गुमाएको कुरालाई यसरी व्यक्त गरेका छन्-

   जितिसकेको युद्ध पनि हारयौं हामीले

   आफ्नै घरको आँगन पर सारयौं हामीले।

   संसारसितै मिल्ने जाति भन्छन् सबैले

   आफ्नै भाइलाई शत्रुसरि मारयौं हामीले। (काँडाफूल, पृष्ठ ५२)

तीनै जनाका एक-एकवटा गीतमा पर्यावरण चेतना व्यक्त गरेक छन् भने जीवन-दर्शनका अनेक भाव पोखेका छन्। गिरीको गीतसंख्या ३, १०, ११, ७७, ७८, १०० मा जीवनलाई विभिन्न कोणबाट हेरिएको छ। जीवनमा बाँच्नुपर्दा कहिले सम्झौता गर्नुपर्ने, कहिले आँसुको घुट्को पिएर र कहिले आनन्द हुने कुरालाई व्यक्त गरेको छन्। यसरी जीवन-जगत् को जटिलता बुझ्न नसकिने कुरा व्यक्त गरेका छन्। त्यसैगरि विश्व शान्ति कामना, मातृप्रेम, जातिप्रेम, व्यवहारिक ज्ञान, एकतासूत्र, देशको बढ्दो ब्रष्टाचार र चरित्रहीनता, राजनैतिक व्यङ्ग्य, एड्स रोगीको व्यथा जस्ता भाव पनि छचल्किएका छन्। यद्यपि अधिकाङ्श गीतहरूको केन्द्रीय स्वर प्रेम नै रहेको छ। कुनै गीतमा उनी आध्यात्मिक स्तरसम्म पुगेका छन्। मधुशाला र सब ठिक देख्नलाई म पिउँचु भन्ने दईवटा गीतहरूमा पिउँने प्रसङ्ग छ जुन जीवन-जगतको ज्ञानको चेतना, संसारलाई बुझ्दै गएको र त्यो सचेतताको मदहोश अवस्था आफुलाई पाउँछन्। हिन्दीका प्रख्यात कवि हरिवंश राय बच्चनको मधुशाला कै भावभंगी पाइन्छ।

३.२.  भावसम्प्रेष्यताका आधारमा

गीतमा हुनुपर्ने एउटा मुख्य लक्षण यसमा अन्तर्निहित सम्प्रेषण हो। यो विना गीत प्रभावकारी हुँदैन। गीतकारको हृदयभित्रको सम्वेदनाको तीब्रताले गीतको सिर्जना हुन्छ। यी तीनैजनाका गीतमा सम्प्रेणात्मक पक्ष तीब्र छ। पुरण गिरीका गीतमा सांसारिक जीवनका वैंशालु अवस्थाका विविध भावनाका छाल छ। उनको आफ्नै सिर्जनाको संसारमा हाँसो-रोदन, सुख-दुःखसित साक्षात्कार गरिएको पाइन्छ। एक्लै आनन्दानुभूति, वैराग्यानुभूति, बिलौना र प्रेमालाप गर्छन। उनका गीतमा गाइनका निम्ति चाहिने ध्वनि, शब्द र भावका लयको प्राधान्य, कोमल वर्ण प्रयोग र कठोर वर्णको त्याग, आनुप्रासिक आनुषाङ्गिकता जस्ता तत्वहरू उनका गीतमा पाइन्छन्। शब्दहरू सिपालु शिल्पीले इँटा जोडेजस्ता समाक्षरका छन्। जस्तै-

 कहाली लाग्ने जीवन यात्रा, हिँडेर सकिन्न (३+२+३+२+३+३=१६ मात्रा)

 तिर्सना लाग्दा नगिचै कुवा,कहिले भेटिन्न (३+२+३+२+३+३=१६ मात्रा)

उनका गीतका पंक्तिगत संरचना छोटा र मझौला गरी प्रायः दुई प्रकारका छन्।

छोटा पंक्तिमा दोस्रो पंक्तिसँग चौथो पंक्तिको अन्त्यानुप्रास मिलाइएको हुन्छ औ प्रायः पंक्तिमा संवर्गी वर्ण पाइन्छ।गीतको स्थायीगत भावलाई अन्तराले पछ्याउँदै गएको देखिन्छ। गीतका प्रत्येक पंकि्त र शब्दहरू एकार्काका पूरक बनेका छन्। गीतमा एकप्रकारले शब्दगत र भावगत टेन्सन कायम रहेको हुन्छ। एउटा शब्द हटाइदिए सिङ्गो गीत नै भताभुङ्ग हुन्छ। गहुँबाट अति मसिनो तुल्याइएको मैदा झैं भावको अति सूक्ष्म रूप हो गीत। अतः यस्तो मसिनो भावलाई हाम्रा यी तीनैजनाले कायम राखेका छन्।

यता गीतकार पुष्कर पराजुलीका गीतमा विषयगत विविधता पाइन्छ। भाव सम्प्रेष्यताका आधारमा उनी सफल नै छन्। सांसारिक भोगचलनमा भेटाइएका हरेक पक्षलाई नियाल्ने कोशिश गरिएको पाइन्छ। उनले आफ्ना मिहिन भावलाई अभिव्यक्ति दिन कोमल वर्ण र शब्द प्रयोग पाइन्छ। उनका गीतमा पनि आनुप्रासिक आनुषांगिकता, शब्दगत प्राञ्जलता र लयात्मक प्रस्तुति, अक्षरगत समानन्तरता, संश्लेषित भाव, सरल बिम्ब इत्यादिले उनका गीत सुमधुर बन्न पुगेका छन्।

यसैगरी गीतकार कमल रेग्मीका गीतहरूमा पनि विषयवस्तुगत विविधता पाइन्छ। उनका गीतमा पनि आफ्नै सिर्जित संसारका घात-प्रतिघात, उकाली-ओरालीका अनुभूति छन्। उनका गीतमा प्रेमपीडा पक्ष बढी छन्। प्रेममा हुने धोका र तद्जन्य मानसिक सन्ताप नै प्रायः जसो गीतमा छचल्किएका छन्। उनी केही मात्रमा पुरण गिरीकबाट प्रभावित देखिन्छन्। गिरीको झैं बोलीमा नै शत्रु- मित्र रस र रिस हुन्छ भन्ने भाव उनको एउटा गीतमा पाइन्छ।

        कोई बोलीमा रस हुन्छ

                 कोई बोलीमा रिस

                 यै बोलीले गर्दा

                 मानिसले विष (गीत 1, जिन्दगीको लयान्तर)

         ————————— ————-

         कोही बोली रसिलो अङ्गुर जस्तो हुन्छ

         कोही बोली कस्सिलो मुटुमै बिझ्ने हुन्छ। (काँडाफूल, पृष्ठ ५६)

उनका गीतमा पनि गिरीको झैं प्रेमपीडा, जीवनका विविध पाटा छन्, दर्शनको पौल छ। उनका गीतमा पनि भावगत कोमलता, शब्दशय्यागत सचेतता, शब्दचुनाइको कुशलता पाइन्छन्। हृदयका अन्तर-कुन्तरमा चहारी भेट्टाइएका वस्तुबाट रेग्मीले सुन्दर गीत रचेका छन्। कतै पर्यावरण चेतना र त्यसप्रति चिन्ता, सांसारिक रीति, छुवाछुतप्रति व्यङ्ग्य, राजनैतिक खेलप्रति व्यङ्ग्य, जातीय पीडा आदि उनका गीतका विषयवस्तु हुन्। उनका दुई-चार गीतमा गजल छन्।

   जितिसकेको युद्ध पनि हार्‍यौं हामीले

   आफ्नै घरको आँगन पर सार्‍यौं हामीले। (काँडाफूल, पृष्ठ ५२)

उनका गीत पनि गायनसापेक्षित छन्।यी तीनैजनाका गीतमा भावगत हार्दिकता, कोमलता र माधुर्य गुणले युक्त छन्। गिरीले मानव मुटुलाई विभिन्न उपमा र प्रतीक दिएका छन्। यसका साथै प्रत्येक गीतमा ध्वनिलयात्मक गेयता बढी पाइन्छ। विभिन्न सुमधुर शब्द- शब्दावलीले यी तीलैजनाका गीतमा रागात्मकता सिर्जना भएको पाइन्छ। गिरीले प्रयोग गरेका सम्झौता, मनको आशा, अमृतधारा, हृदयभरि, आमाको ममता, दुखियारी, माया, पराय, सपना झस्किएर, मनको शान्त छाल, मनै भिज्यो प्रायश्चित, दिल खोलेर, घुम्ती जिन्दगीको, सुस्त नरम बोली, वैँशभरि जस्ता शब्द-शब्दावलीले रागात्मकता प्रदान गरेका छन्। यसैगरी पराजुलीका गीतमा पनि दुःख रून, मन दुखाएर, माया, अपूर्व यो मात, घामको मुटि, पक्षीगाना, पानी बोल्छ, पीडाको आगो, घामछाँयासित मितेरी, नयाँ गीत, रिसाउँदा ईश्वर, माटोको गन्ध, रूपौला, घामपानी, परेलीमा आँसु, सुनको रङ्गइतादि जस्ता शब्द-शब्दावलीले रागात्मकता पुष्टी गरेका छन्। यता कमल रेगामीका गीतमा पनि यस्ता रागात्मक पक्ष प्रचुर पाइन्छन्। बाँच्न सिकायो, बाँच्ने जीवन, जीवन यात्रा, प्रीतिको धारो निष्ठुरी, वेदनाको चोट, रमाइदिने, लजाउँदै मुस्कुराउने, सम्झिदिने, पूर्णिमाको रात, मन जामिएछ जस्ता अनेक शब्द-शब्दावली प्रयुक्त छन्।  गिरी र पराजुलीले आफ्ना गीतलाई शीर्षक दिएका छन् भने ती शीर्षकले गीतको गूढार्थ सम्पादन गर्न निकै सहयोग गर्दछन्।

तीनैजनाका गीतमा अनियमित वा मुक्त लयव्यवस्था गरेका छन्। भावको प्रभावअनुसार अक्षरहरू घटीबढी किसिमले वितरित भएका छन्। संगीत-चेतनाका आधारमा हेर्दा यस्ता मुक्तलयात्मक गीतहरू पद्यलयका भन्दा केही कमजोर हुन्छन् तापनि भावगत आत्मपरकता, अनुप्रास प्रयोग तथा संक्षिप्तताका कारण सबल गीत बनेका छन्। भावसम्प्रेषमका लागि यी तीनैजना गीतकारले एक-दुईवटा गीतमा लोकलयलाई पनि अंगीकार गरेका छन्। हाम्रा चुड्के, झ्याउरे,सेलो भाकालाई गीतमा प्रयोग गरिएको पाइन्छ।

 ३.३ आनुप्रसिक आनुषांगिकता

गीतमा लयका साथै एउटै पंक्ति वा पंक्तिबिच दोहोरिएर आउने एउटै वा एकै प्रकारको वर्ण वा पद-पदावलीले पनि संगीतको सृष्टि गर्छन्। गीतका सन्दफ्भमा यस्ता अनुप्रासहरूमा अन्त्यानुप्रास, मध्यानुप्रास, आद्यानुप्रास र आन्तरिक अनुप्रास हुन्छन्। यस्तो आनुप्रासिक सांगीतिक ध्वनि सृष्टि गर्न यी तीनैजनाले ध्यान दिएका छन्।

       बाबरीको फूल फूल्यो मनभरि छात्तीमा

      बतासले उडाइदिँदा चोट पर्‍यो छात्तीमा। (गिरी, पूर्ववत्, गीत संख्या २३)

पराजुलीले पनि अन्त्यानुप्रासलाई बढी ध्यान दिएका छन् यद्यपि कतै कतै आद्यानुप्रास र आन्तरिक आनुप्रास पनि प्रयोग गरेका छन्। पंक्तिगत समानन्तरता का हिसाबले पराजुली निकै सचेत छन्।

       आज घाम लाग्या होइन तिमी बाहिर निस्केकी हौ।

       खोला नाला हावासँग मातिएर जिस्केकी हौ। (पराजुली, पूर्ववत्, ३७)

       ++++++++++++++++

       इशारा नी भा’कै हो, कुराकानी भा’कै हो

       उसले माया लाई कि लाइन, आफुले त ला’कै हो। (पराजुली, पूर्ववत्, पृष्ठ ६४)

      ++++++++++++++++++++++++++

      पूर्णिमाको रातमा मैले चन्द्रमालाई देखिनँ

      कति खोजें भीडहरूमा तर तिमीलाई भेटिनँ। (रेग्मी,पूर्ववत्, पृष्ठ-४५ )

     ++++++++++++++++

     जीवनसित छोडे मैले आज ठुलो निश्वास

     जल्ने छाती चल्ने मुटु रहेनछ विश्वास। (रेग्मी,पूर्ववत्, पृष्ठ २५)

गीतमा विम्बहरूको संयोजन पनि राम्रो गरिएको हुनुपर्छ। मनका चरम आवेग-संवेग र अनुभूतिलाई विभिन्न बिम्ब सिर्जना गरी अभिव्यक्ति दिइन्छ। विशेषगरी इन्द्रिय संवेद्य बिम्बहरूमा ग्राण, स्पर्श,श्रब्य, स्वाद बिम्बहरू पर्दछन्। यी तीन गीतकारले आफ्ना गीतहरूमा अतिशयोक्ति, उपमा, रूपक आदि अलङ्कारहरूसित यिनै ऐन्द्रिक बिम्बहरूको संयोजन गरेका छन्।

     छम्‌छम् तिम्रो पायलमा

     झन्‌झन झङ्कार छ ।

     निर्मल कोमल मुहारमा मुहारमा

     वसन्त बहार छ (गिरी, पूर्ववत्, गीत संख्या ५६)

 यस गीतांशमा छम्‌छम्, झन्‌झन् शब्दमा श्रब्यबिम्ब, निर्मल,बहार शब्दमा द़श्यबिम्ब परेका छन्।

     छछल्कियो धर्तीभरि घामको मुटुछिरिबिरी

     हूलबाट पोखिएको पक्षी गाना चिरिबिरी

     अँध्यारोको घुम्टो खोल मेरी माया

     नछेक उज्यालो मुहारमा दोछाँया। (पराजुली, पूर्ववत्, पृष्ठ २४)

यसमा छछल्कियो, छिरिबिरी, अँध्यारो उज्यालो, दोछाँया दृश्यबिम्ब हुन् भने चिरिबिरी श्रब्य बिम्ब हुन्।

     कोही बोली रसिलो अङ्गुर जस्तो हुन्छ

     कोही वोली कस्सिलो मुटुमै बिझ्ने हुन्छ। (रेग्मी,पूर्ववत्, पृष्ठ ५६)

यहाँ रसिलो श्वादबिम्ब भने कस्सिलो, बिझ्नु स्पर्शबिम्ब हुन्। यसका साथै तीनैजनाले नै दुई-चार गीतमा केही लोकभाका पनि प्रयोग गरेका छन्। विशेषगरी हाम्रा चुड्के, झ्याउरे,सेलो, जस्ता भाकालाई गीतमा ढालेका छन्. पुरण गिरीका गीतमा कतै कतै सेलो लय पाइन्छ भने पराजुलीले भने असारे(रसिया), चुड्के, झ्याउरे इत्यादि प्रयोग गरिएका छन्।

     कुटुमा कुटु हजुर सुपारी खानु सालबारी हाटैमा

       न फोन आयो न चिठी आयो परदेशी दाजैको

       छुकुमा छुकु रेलगाडी आउँछ सिलगडी छोडेर

       पानीको भेलले त्यही पापी रेलले लगेथ्यो चुँडेर। (पराजुली, पूर्ववत्, पृष्ठ ६५)

यसमा हाम्रो चुड्के लोकभाका छ भने अर्को एउटा गीतमा असारे लयमा ढालेका छन्-

       दुईतिरबाट बगेको पानी

       भुमरी पर्‍यो भेटमा झमझम रसिया

       छुपुमा छुपु धान है रोपूँ

       असारे मासे खेतमा झमझम रसिया

       आज यो बेठीको मेलैमा

       हाँस खेल गरिराखौं बेलैमा। (पराजुली, पूर्ववत्, पृष्ठ ६७)

पराजुलीका सत्रवटा बालगीतमा रहेका छन्। यस्ता केही बालगीतमा हाम्रा केही बाललोकभाकालाई प्रयोग गरिएको छ। हरबर हरबर तोरीको फूल, दार्जीलिङको सानो रेल, ढुकुमुकु ढुकुमुकु कसको हात, यति यति पानी घेग्घे रानी जस्ता लोकलय र लोकभाकालाई आधार बनाएर दुई–चार बालगीत सिर्जना गरेका छन्।

४. मूल्याङ्कन

नेपाली गीतको सन्दरभमा दार्जीलिङको विशेष योगदान रहेको छन्। यहाँबाट गायन र संगीतकाबाहेक गीत रचनाको फाँटमा पनि अग्णी भुमिका । अम्बर गुरूङ, सन्तवीर लकान्द्री, पासाङ बाङबल, गोपाल योञ्जन, जस योञ्जन प्यासी इत्यादिका पछि पुरण गिरी, पुष्कर पराजुली र कमल रेग्मीका नाम सँगसँगै आइहाल्छ। यीमध्ये परण गिरी सबैभन्दा अगाडि छन्। उनको सङ्ग्रहका जम्मै गीत गाइएका छन्। गाइएका मध्ये पनि दीप वाइबाले अधिकांश गीतलाई संगीत भरिदिएर लोकप्रिय तुल्याइदिएका छन्। उनका जम्मै गीतहरु गाउनका निम्ति सजिला छन्। गीत लेखेर मात्र नभई गायनमा आउनुपर्दछ। यस गायन सन्दर्भमा गिरी सबैभन्दा सफल छन्। यता पुष्कर पराजुलीका जम्मै गीत गायनका निम्ति उपयुक्त छन्। कमल रिग्मी पनि गायनका निम्ति उपयुक्त छन्। भावगत विविधता र सम्प्रेषण  क्षेत्रमा पराजुली सचेत छन् भने कमल रेग्मी पनि भाव सम्प्रेषणका क्षेत्रमा सफल छन्। गीतमा हुनुपर्ने मिठास, प्रभावकारिता, आह्लादकारिता. रमणीयता, गेयातमकतामा परण गिरी सबैभन्दा सउन छन् भने यस्ता पक्षमा पुष्कर पराजुली र कमल रेग्मी  पनि सफल छन।

५. उपसंहार

जे होस्, नेपाली गीतलेखनका फाँटमा यी तीनजना अब्बल गीतकार हुन्। गीत भनेको गायक र संगीत संयोजकको मात्र होइन, गीतकार वा शब्दकारको पनि उत्तिकै सीप र परिश्रम पर्ने रागात्मक कला हो। गीतकारले रचेको गीतमा हुने अर्थगत बहुलता, एकान्विति, लयान्विति, शब्द चुनाइगत कौशल, वर्ण प्रयोगगत वैशिष्ट्य पनि सप्तक तारको संयोजन झैं संयोजित हुनुपर्छ। यी तीनैजनाले यस्ता कुरा ध्यान पु्र्‍याएको देखिन्छ। नेपाली साङ्गीतिक क्षेत्रमा यी तीनजनाको समुचित मूल्याङ्कन हुनुपर्ने देखिन्छ। यी तीनैजना आफैमा पूर्ण छन्, कोही अघि-पछि नभई आ-आफ्ना सिर्जना मार्गका यात्री हुन्। यी तीनजनाको गीतकार व्यक्तित्वको उचित मूल्याङ्कन भएको छैन।

 सन्दर्भ ग्रन्थसूची-

  1. पुरण गिरी, जिन्दगीको लयान्तर, नाम्ची, निर्माण प्रकाशन,२००८।
  2. पुष्कर पराजुली, गीत फुल्ने ठाउँ, सिलगड़ी, सुम्निमा प्रकाशन,२००४।
  3. कमल रेग्मी, काँड़ाफूल, दार्जीलिङ श्याम ब्रदर्श प्रकाशन,२००७।
  4. मोहनराज शर्मा, समकालीन समालोचना सिद्धान्त र प्रयोग, काठ, ने. रा. प्रज्ञा प्रतिष्ठान, सं २०५५।
  5. कृष्णहरि बराल, गीत: सिद्धान्त र इतिहास, काठमाडौं, विद्यार्थी पुस्तक भण्डार,२०६०।