कुनै पनि सिर्जनधर्मी कुनै पार्टीको सिरानी हुनुपर्छ, सुत्दा पार्टीको झन्डा ओढ्नुपर्छ अनि पिउने पानीमा पार्टीको झन्डाको रङ्ग देखिनुपर्छ भन्ने कुरा संसारको कुनै संविधानमा लेखिएको छैन। दक्षिणपन्थीहरूले पनि समाजवादी दृष्टिकोण राख्न सक्छन् तर त्यो दृष्टिकोण कुनै पुँजीपतिबाट सापटी लिएको हुनुहुँदैन । सापटी लिएको न त कुनै साम्यवादी दृष्टिकोण टिक्छ न त पुँजीपरस्त मानसिकता नै । झमक घिमिरेलाई पनि धेरैले कैयौँ झन्डाका रङ्ग दिए, भन्नेहरूले त ‘झमकलाई एमालेले १२ सयमा किन्यो’ सम्म भन्न भ्याए । जनसमुदायको पक्षमा लेख्नु, मजदुरहरूको कित्तामा उभिनु अनि श्रमको मूल्यको माग गर्दै नारा लगाएर सडकमा उभिनु संसारभरिकै संविधानको कुन खण्डको कुन उपधाराको कुन अनुच्छेदमा अपराध हो भनेर लेखिएको छ? झमक घिमिरेले जनताको मतलाई यथासम्भव राखिदिनु कुनै अपराध थिएन तर पार्टीलाई भाँडो अनि झन्डालाई माग्ने झोला बनाएर ‘भिक्षाम् देहि’ भन्नेहरूका निम्ति झमकले ठूलै अपराध गरेकी थिइन् कि? यद्यपि, उनले लेखेका कुराहरू, उनका दृष्टिकोणप्रति ठूला-ठूला मान्यता राख्ने सामाजिक संस्था वा ठूला घरानियाँका सञ्चार माध्यमहरूसमेतले मान्यता नदिइरहेको समयमा उनले केवल आफ्ना जीवनका कुराहरूलाई घाम देखाउने काम गरेकी थिइन् तर सामन्ती सोच र विचार राख्नेहरूका निम्ति झमकका कुराहरू विस्फोट हुनेखाले बम थिए, समाजका काइतेहरूका निम्ति असहनीय वेदना थियो। त्यसकारण झमक उनीहरूका निम्ति शत्रु थिइन्।

मलाई यहाँ हिन्दी साहित्यका वरिष्ठ समालोचक म्यानेजर पाण्डेयको ‘म्यानेजर पाण्डेय सङ्कलित निबन्ध’-को ‘आलोचना कि सामाजिकता’ शीर्षकमा महत्त्वपूर्ण रचनाहरू नैतिक प्रश्नहरूसित जुझ्छन्, पुराना नैतिक मान्यताहरूलाई चुनौती दिन्छन् अनि नयाँ नैतिक प्रश्नहरू पैदा गर्दछन् । यस्तो स्थितिमा आलोचना ती नैतिक प्रश्नहरूका सन्दर्भमा विचार गर्न तथा उनीहरूका पक्षमा वा विपक्षमा उभिनबाट बचेर कसरी सार्थक हुन सक्छन् भन्ने प्रसङ्ग झिक्न मन लाग्छ। झमक उल्लेख्य वाक्यहरूमा जचेकी मैले पाएको छु। उनका प्रत्येक रचनाहरू नैतिक प्रश्नहरूसँग जुझिरहेका पाइन्छन्। पुराना, पङ्गु अनि पुरातनवादी सोचहरू भत्काएर नवीन नैतिक प्रश्नहरू उजागार गर्छन् उनका सिर्जनाहरूले। सामाजिक अन्तर्द्वन्द्वहरूसँग जुझ्दै उनले जसरी आफ्नो स्पेस निर्माण गरिन्, त्यो उनले असहनीय पीडाबोध गर्दै अनुभव बटुलेकी हुन् । जो अध्ययनको क्रमलाई पानी बाराबार गर्छन् उनीहरू उदासीनताका पिछलग्गू हुन्। यस्ता तथाकथित सिर्जनाकारहरू वर्तमानमा देखा परेका अन्तर्द्वन्द्वहरूबाट टाढा भागेर बेबुनियाद एवं कपोलकल्पित वाक्यहरूलाई सिर्जनाको नाम दिन्छन्। त्यस्ताहरूका निम्ति आफ्नो इमान्दार मेहनत पिँधेर समाजअघि दृष्टान्त बनेकी छिन् झमक घिमिरे। उनले दिएका, उनले बोलेका कुराहरू समाजका निम्ति औषधि बनेका छन् भने धेरैका निम्ति अबिजालो । यसरी उठेकी हुन् सामाजिक समस्याहरूलाई नजिकबाट हेर्ने झमक। आफ्ना कतिपय उद्गारहरूमा झमकले देश निर्माणका निम्ति आमाहरूसँग अघि आउन निवेदन गरेकी छिन् । कतिपय स्थितिमा उनले बुद्धले शान्तिका निम्ति गृहसुखलाई त्यागेको बताउँदै गृह अशान्तिका निम्ति होइन भन्ने बताएकी छिन् । उनका अग्रगामी सोचहरूलाई यसरी पनि उद्धृत गर्न सकिन्छ- “साहित्य भनेको जीवनसँग बग्ने कुरा रहेछ, जगत् कल्पनाहरूको थुप्रो मात्र साहित्य हुन सक्दैन, यो त जीवन भोगेर पनि त्यसको अनुभूतिबाट जन्मने कुरा रहेछ।”  यी वाक्यहरूलाई केलाउने हो भने उनी प्रखर समाजवादी विचारकी अनुयायी हुन् भन्न सकिन्छ।

अर्जुन पीयूष (सिक्किम)

यो लेख म यस्तो समयमा लेख्न गइरहेको छु कि जुन समय (वि.सं. २०७६)-मा नेपाली सङ्गीत जगत्‌की पहिली महिला सङ्गीतकार तथा गायिका शान्ति ठटाललाई जगदम्बा-श्री पुरस्कार प्रदान गर्ने घोषणा नेपाल राष्ट्रबाट भइरहेको छ भने आजभन्दा ठीक ९ वर्षअघि  त्यही नेपाल राष्ट्रबाट आफ्नै बलबुतामा उभिएकी झमक घिमिरेलाई मदन पुरस्कारद्वारा सम्मानित गरिएको थियो । यसबाट के अर्थ लगाउन सकिन्छ भने नारीहरू पनि शक्तिपुञ्ज हुन्, केवल पुरुषवर्गबाट मात्र सिर्जना हुन सक्छ भन्ने पुराना मान्यताहरूलाई झमकहरूले ध्वस्त पार्दै ल्याएका छन् । भारतमा पनि नेपाली साहित्यमा महिला शक्तिहरूमा जस्तै-लक्खीदेवी सुन्दास, गीता उपाध्याय, सानुमती राई, चन्द्रकला नेवार, वीणा हाङ्खिम, इन्द्रमणि दर्नाल, विन्ध्या सुब्बा, अनिता निरौला, उषा शर्मा आदि धेरैको नाम लिन सकिन्छ।

झमक आफ्ना सिर्जनाहरूमा यसरी खुलेकी छिन् कि उनका हेराइहरू समाजवादी दृष्टिकोणबाट पर छैनन् । उनी आफ्नो उद्गारमा यसो भन्छिन्-“हामी विचारमा नयाँपन खोज्छौँ, शब्दमा कलाको रङ्ग खोज्छौँ, साहित्यमा नयाँ जीवनको प्रयोग खोज्छौँ, संस्कृतिमा पनि नयाँ ढङ्ग खोज्छौँ। त्यसैले हामीले आफू बाँचेको युगलाई नयाँ गर्नैपर्छ।”  झमकलाई यस कोणबाट पनि नियाल्न सकिन्छ। उनी जीवनमा विचार र कलालाई बराबरको सम्मान दिन्छिन्। उनका विचारअनुसार दुवैको संयोजनबिना आजको साहित्य, कला, संस्कृतिको विकास हुन सक्दैन। देशको प्रगतिका निम्ति प्रत्येक मानिसले इमान्दार विचार अघि सारेर आफूलाई उभ्याउनुपर्ने उनको धारणा पाइन्छ। उदाहरण हेरौँ-“यी पीडाहरू तपाईं हाम्रा हुन् आम जन र मनको पीडा हो अर्थात् यो सिङ्गो देशको पीडा हो। हाम्रा कलमहरूले किन नयाँ निर्माणका कुरा लेख्न पाइरहेका छैनन्? किन नयाँ समयका गौरवका गाथाहरू लेख्न सकिरहेका छैनन्? यसरी आफ्ना अर्थहरू पस्केर झमक घिमिरेले उदाहरण पेश गरेकी छिन्। यसकारण म खुल्ला मनले दाबी गर्नसक्छु कि झमकको हेराइ, सोचाइ सबै कुरामा समाजवादी दृष्टिकोण पाउन सकिन्छ। समाजवादी दृष्टिकोण राख्नु भनेको केवल राजनीतिक पार्टीको रङ्गबाट हेर्नु हो भन्ने मलाई लाग्दैन। उचित समझ राख्नु वा आफूले जस्तै अरूले पनि खान पाऊन् भन्ने अवधारणा राख्नु गलत कुरा होइन। कम्युनिस्ट बन्नु भनेको कम्युन हो, कम्युन भनेको बराबराको साझेदारी बनाउनु वा बन्नु हो। मान्छेले जति नै फुर्ति लगाए पनि वास्तवमा ऊ जन्मजातै कम्युनिष्ट हो। पहिले उसले बराबरको सोच राख्छ तर कालान्तरमा सत्ताको लालसा एवं चमकदमक देखेर वा देखाएर उसमा कम्युनिस्ट विरोधीको तक्मा भिराइन्छ। यसरी मान्छेलाई क्रमागत रूपमा एक्लो बनाइन्छ, पुँजीपरस्त मानसिकताको बीजारोपण गराइन्छ। मान्छेलाई मान्छेको बस्तीबाट उठाएर पुँजीको अमानवीय बस्तीमा पुऱ्याउने काम गरिन्छ। सबै मान्छेका दुई हात हुन्छन् अनि दुई हातले गरेको श्रमबाट उसको दैनिकी चल्छ अनि दुवै हात हुनेहरू विवेकी हुन्छन् र श्रम गर्ने हातहरू कहिल्यै कम्युन विरोधी हुँदैनन् भन्ने कुराको परिभाषा कहिल्यै पढाइँदैन। उनीहरू आम मानिस विवेकी बनून्, सोच्ने, सम्झिने बनून्, युगको नयाँ परिभाषा लेख्ने बनून्, अमानवीय युद्धको विरोधमा मान्छेलाई मान्छेको अस्तित्व थाहा होस्, मान्छेले आन्दोलन गरोस्, मान्छेले श्रम शोषणको विरोधमा बोलोस् आदि कुराहरू सामन्ती एवं नवधनाढ्यहरू संसारमा युगौँदेखि शासन चलाइराख्नेहरू चाहँदैनन् । यस्तै कुराहरूको परिणाम भोग्दै आफैँलाई आफ्नो श्रमद्वारा धार लगाउँदै उभ्याउन सक्षम बनेकी झमक संसारमै मसाल बनेको हामीले पाएका छौँ । उनको ‘ जीवन काँडा कि फूल ‘ अङ्गेजीमा पनि अनुवाद भइसकेको पुस्तक हो । यसरी विश्व साहित्यमा दह्रिन सफल सिर्जनाले पहिले गाउँलाई सुधार्छ अनि पछि देश र अझ पछि विश्वलाई सुधार्छ भन्ने कथन सही भएको देखाउँछ झमकको कामले ।

हामी विश्व साहित्यमा यस्तै धेरै साहित्यकारहरू पाउँछौँ, जसले आफ्नो अपाङ्गतामाथि विजय प्राप्त गरी मानव मनमा वास गरेका छन् । हामी धेरैको नाम लिन सक्छौँ जस्तै क्रिस्टोफर नोलान, मेरी कक्स वेल्ज स्टिफन हकिन्स, हेलेन केलर आदि आदि। अर्को थप नाम हो झमक घिमिरे। यस्तै धेरै नामहरू होलान् जुन हामीलाई थाहा छैन। यस्ताहरूका कृतिहरूलाई अघि ल्याइदिनेहरू सग्ला मान्छेहरूभन्दा माथिल्लो तहका हुन्। धर्मको हिसाबमा भन्ने हो भने उनीहरूलाई भगवान्‌को प्रतिमूर्तिका रूपमा उभ्याउन सकिन्छ। यद्यपि म कुनै पनि मान्छेलाई भगवान्‌को स्थान दिन राजी छैन। भगवान् भनेको धूर्तहरूले आफ्नो आलस्यतालाई छोप्न अनि अरूको श्रममाथि ढलीमली गर्न सिर्जाएको एउटा शब्द मात्र हो। प्रकृतिको वरदान सबैलाई प्राप्त छ, त्यसलाई कसैले सही रूपमा प्रयोग गर्छ भने कसैले गलत रूपमा। प्रकृतिले कसैलाई मानसिक रूपमा विकलाङ्ग तर सग्लो संरचना दिन्छ भने कसैलाई संरचनामा विकलाङ्ग बनाइदिए पनि मानसिक रूपमा सग्लो बनाइदिन्छ। सग्ला हुनेहरूले आफूलाई महान् भाग्यमानी ठान्दा होलान् तर पृथ्वीमा उनीहरूले गरेका राम्रा कामहरूको एउटै सूची पाइँदैन । जसलाई ती सग्लाहरूले हेप्छन् र उनीहरूको भाग खोस्छन् उनीहरूले पृथ्वीलाई एउटा दृष्टिकोण दिएका हुन्छन् अनि युगान्तकारी स्तरमा उनीहरू बाँचिरहन्छन्। आजको समयमा झमक घिमिरे एसियाली देशहरूमा देखा परेकी एक उज्जवल तारा हुन्। जो हेर्दा टाढामा देखिन्छ तर प्रकाश मधुरो पनि होला तर जब त्यो देदीप्यमान बन्छ तब एउटा चमत्कारजस्तै देखिन्छ । देख्नेले त्यसलाई चमत्कार देख्छन् तर वास्तवमा त्यो चमत्कार नभएर लामो समयको सङ्घर्षको परिणाम हुन्छ । त्यही सङ्घर्षकी परिणाम हुन् झमक घिमिरे।

आफ्नो सिर्जनात्मक कृतिको विमोचन कुनै ठूलै मान्छे अर्थात् राजनेताबाट भइदिए हुन्थ्यो भन्ने कामनाको होडबाजी चलिरहेको समयमा झमकको आफ्नै पुस्तक विमोचनको समयमा तिनताकका राजनेता डा. केशरजङ्ग रायमाझीमाथि उल्टो प्रश्न तेर्साइन्-“को ठूलो मान्छे? को हो मान्छे? यस्ता आँटिला व्यक्ति निकै कम हुन्छन् ।” मलाई लाग्छ विचारलाई बन्धक राख्न नचाहने व्यक्ति नै प्रजातन्त्रीप्रेमी हुन्छ। उनी स्वाभिमानी थिइन् त्यसैकारण उनी सक्षम मान्छे बनिन्। श्रम गरेर पसिना बगाउनेहरूको कुनै देश हुँदैन, कुनै जात, धर्म, वर्ग अनि सिमाना हुँदैन। पसिना बगाउनेहरूले देशको मुहार सुन्दर बनाउँछन्। उनीहरूका निम्ति सिमानाको कुनै अर्थ छैन केवल सुन्दर बनाउने रहर हुन्छ । झमकले निर्धक्क भनिन्-“श्रमिक जुनै देशको होस् यस्तो तरतर पसिना बगाएर काम गरिरहेछ। झमक कतिसम्म स्वाभिमानी थिइन् भने नेपालको राजाकालीन शासनमा राजारानी भेट्नु भनेको निकै ठूलो उपलब्धि ठानिन्थ्यो तर उनले स्पष्ट रूपमा राजारानीलाई नभेट्ने तर कवयित्री चाँदनी शाहले उनलाई भेट्न चाहेको खण्डमा भेट्ने अडान राखिन् । यस्तो सम्मान थियो सर्जकहरूप्रति झमकको ।

झमकमा देखा परेको प्रगतिशील विचार कसैले दिएको उपहार नभएर उनको आफ्नो विचार थियो । सिर्जनालाई माया गर्ने झमक आफ्ना कृतिहरू सम्भोगका परिणाम रहेको बताउँछिन् । धेरैले उनलाई एक राजनीतिक चस्माबाट हेर्ने गरे तापनि उनका रचनाहरू प्रगतिशील फाँटमा विस्तारित भएका हामीले पाएका छौँ । यसरी झमकले आफ्नो बाटो आफैँ निर्माण गरेकी छन् ।

झमकको आफ्नो जीवन काँडै काँडाले भरिएको पाएका छौँ तर त्यो जीवनलाई पनि उनी फूलै फूलको बिछ्यौना देख्थिन् । त्यसैकारण उनीबाट सङ्कल्पका यस्ता हरफहरू सिर्जित भए-

के खोज्छौ

जिन्दगीको परिभाषा मसँग

जिन्दगी आफैँमा सुसज्जित छ

विचार गरी हेर न।

 

….आहा,

यो जिन्दगीको पथमा

मलाई हिँडिरहूँ जस्तो लाग्छ।

मलाई जिन्दगीमा एक सङ्कल्प बोकी

बाँचिरहूँ जस्तो लाग्छ

सधैँ सधैँ (सङ्कल्प)

जिन्दगीसँग कहिल्यै निराश नहुनेहरूले नै शिखर चुम्छन् र लक्ष्यमा पुग्छन्। झमक पनि आफ्नो शारीरिक अवस्था जस्तोसुकै होस् तर जिन्दगीका उतारचढावहरूसँग जुझ्दै र भिज्दै  जिन्दगी बाँच्ने र बचाउने सङ्कल्पका साथ उनी अघि बढ्छिन्। उनको जीवन परिधिलाई लिएर धेरैले धेरै कुरा कोरे होलान् तर उनले आफूले सोचेको र राखेको दृष्टिकोण सम्बन्धमा पनि केही कोर्न आवश्यक लागेर यो लेख लेखियो । उनको समाजवादी दृष्टिकोणले समाजमा रहेका विकृतिहरूको सर्वनाश गर्न खोजेको, हिँड्दै गरेको बटुवालाई मार्ग दर्शन गर्न लागेको उनका रचनाहरू पढ्दा अनुभव गरेको छु । यहाँ उल्लेख्य कतिपय कुराहरू झमकका निम्ति अस्वीकार्य पनि हुन सक्छन् तर सर्जक जहीँको होस् उसको हेर्ने दृष्टिकोणमाथि अध्ययन गर्न जरुरी छ जस्तो लाग्छ । उनको अपाङ्गताप्रतिको स्थितिलाई ध्यानमा राख्नभन्दा उनका सोचहरूलाई सार्वजनिकीकरण गर्न जरुरी छ । हिजो र आजको दुवै पिँढीका निम्ति झमक एक सफल योद्धा हुन् अनि उनको हेराइ, लेखाइ र भनाइ कति व्यावहारिक छन् भन्ने कुरा समाजका सर्वस्तरमा आउन आवश्यक छ । यसका निम्ति सबै पक्षबाट पहल हुन सकोस् भन्ने कामनाका साथ झमकको आगामी दिन अझ फाँटिलो बनोस्।