उपन्यासकार घनश्याम पथिकको उपन्यास “छुई“ (२०७७) दोस्रो उपन्यासको रूपमा प्रकाशित भएको छ । प्रस्तुत उपन्यासमाथि यो अनुसन्धानात्मक लेख हो । यसर्थ यो लेख अनुसन्धानात्मक ढाँचामा निर्माण गरिएको हुनाले यसका लागि प्राथमिक तथा द्वैतीयिक स्रोत सामग्रीहरू पुस्तकालय तथा इन्टर्नेटको सहायताबाट अध्ययन तथा स्रोत सहयोगका रूपमा ग्रहण गरी तिनका तथ्य र प्रमाणका आधारमा विश्लेषण र मूल्याङ्कन गर्दै अनुसन्धानका दाबीहरूलाई पुष्टि गर्ने प्रयास गरिएको छ । आवश्यकताअनुसार पूर्व अध्येताहरूका अनुसन्धानात्मक आलेखहरूको उपयोग गर्दै लम्बीय र क्षितिजीय आधारमा तर्क र साक्षहरू प्रस्तुत गरिएको छ । सन्दर्भ अनुकूल लेखकीय तथा पाठकीय दृष्टिकोणसमेत प्रस्तुत गरी अनुसन्धेय कार्य पूरा गरिएको छ । यस आलेखमार्फत प्रस्तुत “छुई“ उपन्यासको “मनोवैज्ञानिक नारीवाद” को विवेचना र यसभित्रका आयामहरूको निरूपण गरिएको छ ।
“छुई“ उपन्याको माध्यमबाट उपन्यासकार घनश्याम पथिक एउटी विद्यार्थीको डायरीमार्फत समकालीन नेपाली समाजले गोडमेल गरेर हुर्काएका लैङ्गिक असमानताका आयामहरूलाई उजागर गर्न पुगेका छन् । छोरी मान्छेले बाल्यकालदेखि नै भिन्न अनुभूति र भोगाइमा बाँच्नुपरेको पटकथालाई समेटेर “मनोवैज्ञानिक नारीवाद” का आयामहरूबाट विश्लेषण गर्ने उद्देश्य रहेको छ यो आलेखको ।
विशेष पदावलीहरू
त्रास, मनोवैज्ञानिक नारीवाद, उत्पीडन, सपना, सत्यको पीडा, पुरुषत्व, “छुई“, विपर्याय, शरीररचना, पुरुषवाद
१. विषय प्रवेश
घनश्याम पथिक नेपाली कविता, गजल हुँदै आख्यानमा कलम चलाउने सुपरिचित नाम हो नेपाली साहित्यकासमा । कविता र गजलमा राम्रो छवि बनाएका पथिक आख्यानमा आउँदा सिर्जना र लेखनको गहिराइ झनै बढेर गएको छ ।
रसायनशास्त्री बन्ने आफ्नो मात्रै नभएर परिवारको समेत सपना कोकेर काठमाडौँको खाडलमा होमिएका पथिक आफ्नो पढाइ सकेर फर्किदा सर्टिफिकेटमात्रै हातमा ल्याएनन्, साथमा आफैँले सिर्जना गरेका कविता र गजलका पुस्तकका ठेलीहरू पनि ल्याएर आए । यो एउटा अनुपन उदाहरण थियो “अन्तर्विषय” प्राज्ञिकताको, रसायनशास्त्रको योग्यता भएको मान्छे आख्यानकार ।
यसअघि पथिकका दुईवटा कविता सङ्ग्रह “सहर तिम्रो भए” (२०६५) र “पहेलो फूल र स्वप्न” (२०६६) गजलसङ्ग्रह “भूल जिन्दगीको” (२०६९), तथा उपन्यासहरू “युनिका” (२०७२) तथा ““छुई“” (२०७७) प्रकाशित छन् । यो आलेखले यस “छुई“का नारीवादी मनोवैज्ञानिक आधारहरू केलाउने प्रयत्न गर्नेछ ।
“छुई“ सत्ताइस वटा खण्डमा विभाजन गरेर संरचनागत प्रस्तुती रहेको यस उपन्यासको अध्ययन र विश्लेषणबाट उपन्यासले बोकेको गहनभारी “मनोवैज्ञानिक नारीवाद” लाई पाठकसमक्ष बिसाएर त्यसको प्रक्षेपण गर्न खोजिएको छ यहाँ ।
पथिकले “छुई“मार्फत प्रक्षेपण गरेको नेपालको समकालीन समाज कस्तो छ भने तिनका अभिशप्त मान्यताहरू र उत्पीडनहरू छोरी मान्छेले चाहेर नचाहेर अङ्गिकार गर्नैपरिहेछ । घिसारेर आफू जता गए पनि लानै परिरहेछ । “वास्तवमा हामीसँग भएका पुलिङ्गीय तथा स्त्रीलिङ्गीय तमाम सोच र व्यवहारहरू सिकाइएका हुन्, जन्मजात होइनन्” (टाइसन, २००६- पृ. ९२) । सधैँ छाया बनेर आउने ती भोगाइहरू जीवन्त पारेर टपक्क टिपी यस उपन्यासमा उनेका छन् सुन्दर माला बनाएर । किनकि यो माला हो ती सामाजिक आयामहरूको, ती रङ्गहरूको । तिनै आयाहरूको लेखाजोखा तथा विश्लेषण गरेर प्रस्तुत गरिएको छ यहाँ ।
२. उद्देश्य
प्रस्तुत उपन्यासको कथावस्तुको अधययन र विश्लेषण गरी उपन्यासले बोकेको कथानकमा कसरी नारीहरूको संवेगात्मकता उद्घाटन भएको छ र त्यो स्वकीयता किन तिरस्कृत भयो भन्ने कुरलाई उद्घाटन गर्न यस अनुसन्धानको निम्म उद्देश्य किटान गरिएको छ-
(क) पूर्व अध्येताहरूको अभिमत, स्रोत सामग्री र उपन्यासका भाषिक तत्त्वका आधारमा नारी मनोविज्ञानको खोजी गर्नु ।
(ख) नारी मनोवज्ञिानलाई बुँदागत रूपमा प्रस्तुत गर्नु ।
३. विधि र सामग्री सङ्कलन
““छुई“ को औपन्यासिकतामा मनोवैज्ञानिक नारीवाद” शिर्षकमा केन्द्रित रहेर प्रस्तुत अनुसन्धानलाई गुणात्मक, उत्तरवर्ती, मनोवैज्ञापनक, नारीवादी रङ्कहरूलाई प्रक्षेपण गर्न समाजिक सम्बन्धहरूलाई तिनको “शक्ति सम्बन्ध” का आधार बनाएर व्याख्या गरिएको छ । यसका लागि प्राथमिक, द्वैतीयिक सामग्रीहरू (पुस्तक, पत्रिका, जर्नल, समाजिक सञ्जाल, पूर्व कार्य, वेव क्षेत्रहरू आदि) को माध्यमबाट स्रोत सामग्रीहरूको सङ्कलन गरिएको छ । अनुसन्धान दाबीहरूलाई पुष्टि गर्न विभिन्न तर्क, प्रमाणहरूको पनि प्रयोग गरिएको छ । एपिए आधारमा यस आलेखको संरचना गरिएको छ ।
४. उपन्यासको तेरिज
“छुई“ उपन्यासको प्रस्थानबिन्दु युइई हुँदै नेपाल आएर मूलकथा दमकस्थित ढुकुरपानी माध्यमिक विद्यालयको सेरोफेरोमा बढी कुदेको छ । त्यसबाहेक दमकका विभिन्न स्थानहरू, धरान, पोखरा, काठमाडौँ हुँदै फेरि दमक अनि त्यसपछि काठमाडौँ आएर कथाले बिट मार्छ । विभिन्न मौसम र विद्यालय, पारिवारिक साक्षात्कारहरूको समष्टिगत उपरिस्थति यस उपन्यासमा छ ।
उपन्यासमा ढुकुरपानी माध्यमिक विद्यालयमा सँगै पढेका साथीहरू संयोग, सबु, अशोक संयोगलाई उसबेला असाध्यै मायाँ गर्ने र संयोगले पनि असाध्यै मायाँ गरेकी जानु (जानुका) ले सबुलाई दिएको डायरीलाई उपन्यासको रूप दिने गफ गर्छन् र त्यही भएर संयोगले आफ्नो नाम “सम्राट् स्मिृति” को उपनाम राखेर “छुई“ उपन्यास लेख्छ । पात्रहरूको नाम फेरेर जानुको डायरी उपन्यासमा अवतरण गर्छ संयोगले ।
के थियो त डायरीमा ? जानुले खासगरी कक्षा नौ र दश कक्षा ढुकुरपानी माविमा पढ्दा, बिहे हुँदा र छोरी लाठे हुन्जेलको समयसीमामा आफ्ना अनुभूतिहरू, भोगाइहरू र खासगरी छोरी मान्छेका जीवनका अकल्पनीय मोडहरूको उजागर गरेकी छ ।
नौ कक्षा पढ्न पहिलो दिन ढुकुरपानी माध्यमिक विद्यालय गएपछि कथा सुरु हुन्छ । जानुले त्यहाँको वातावरण सुन्दर तर संशयपूर्ण पाई । फुर्सदमा प्राय चुङ्गीमा अभ्यस्त रहने केटाहरूको स्वभाव र शैलीले गर्दा जानुले ती केटाहरूमध्ये फरक किसिमको, पढाइमा उत्कृष्ट केटो संयोगप्रति अवचेतनको आयामबाट आकर्षित हुन थाल्छे । पहिलो दिनका कक्षाहरूको मूल्याङ्क गर्दै जानुले कविता वाचन जस्ता क्रियाकलापमा संयोग उत्कृष्ट भएको कुरालाई संगोगप्रतिको आकर्षण भएको बुझ्छे ।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप तथा अन्य गतिविधिहरूमा संयोग प्रथम हुने, जानु दोस्रो हुने, एकपटक जानु प्रथम भएर संयोग प्रथम नहुँदा, अर्थात् दोस्रो हुँदा जानुलाई “किन प्रथम भएछु” भनेर औडाहा हुनेसम्म पनि हुन्छ । अझ ऐच्छिक गणित पढनेहरूमा संयोग त थियो नै, जानु एउटी मात्रै केटी हुन्छे । अनि सांस्कृतिक कार्यक्रममा जानु र संयोग दुवै जनालाई प्रथम घोषित गरेर तिनको सामीप्य प्रकट हुने सुन्दर वातावरण बन्न पुग्छ उक्त विद्यालय । अझ गज्जब के भने राजनले जानुलाई मन पराउँथ्यो, तिनका नाम जोडेर लेख्न पनि लगायो राजनले जसले गर्दा जानुलाई पीडा भएको हुन्छ, यसबेला संयोगले त्यो मेट्न लगाएर जानुको मनलाई प्रदीप्त पारिदिन्छ । टङ्केले कुटाइ पनि खान्छ सरको ।
छुट्टीका बेला तरहरा मावल गएकी जानु स्मिृतिको “छुई“ भएर समस्यामा पर्छे । त्यसो त कक्षामा शशीको “छुई“ हुँदा पनि समस्या परेको थियो जानुलाई । राजनको प्रेम प्रस्तावलाई अस्वीकार गरेर जानुले संयोगको सामीप्य रोज्छे । यसैबीच सबु र अशोकको बिहे हुन्छ ।
कक्षा दशको पढाइमा पनि भावनाहरू उही हुन्छन् तर दर्बिला भएर आउँछन् जानुमा । घरमा बिरामी हजुरआमा “नातिनीको गोडा नधोई मर्दिनँ” भन्ने, उता दश कक्षाको पढाइको बोझ थपिन्छ जानुलाई । हाजिरीजबाफमा जानेको उत्तर पनि गलत भनेर अर्को सदनको संयोगलाई जिताउने जानु संयोगको प्रेममा द्रुतगतिमा लालायित हुँदै जान्छे । यतिसम्म कि सपनामा संयोगलाई लिएर चियाबगान घुम्न गएको देख्न पुग्छे ।
यत्तिकैमा जानुबाट प्रेम प्रस्तावमा अस्वीकृत राजनले आत्महत्या गर्छ जुन कुराले जानुलाई मर्माहत पार्छ । व्रत बस्ने, घरमा भित्रको कर्म सबै गर्नुपर्ने, परीक्षा पनि उत्तीर्ण गर्नुपर्ने, संयोयसँगका संयोगका पलहरू पनि बचाउनुपर्ने जानुले सेन्टअप परीक्षापछि हजुरआमाको इच्छा पूरा गरिदिनुपर्ने हुन्छ । त्यो भनेको मामाले ल्याएको केटोसँग बिहे गर्नुपर्ने ।
फूलमालासमेत भइसकेपछि जानुलाई “छुई“ आएको हुनाले संयोगलाई बिहेको कुरा भन्न सकिनँ । संयोग काठमाडौँ जान्छ, उसैबेला जानुको बिहे हुन्छ । बिहे गएर गएपछि जानुले त्यो नयाँ घरबाट मायाँ त पाउँछे । धनी परिवार, काठमाडौँमा पनि घर र पोलिक्लिनिकको व्यावसाय पनि तर जानुका श्रीमान् “क्रिप्टोक्रिटिज्म” को रोगी भएकाले बाबु बन्न नसक्ने थाहा पाउँछे जानुले ।
उता एसएलसीको नतिजा आएपछि जानु माइत आउँछे, पास भएको खबर आउँछ तर संयोगलाई भेट्न सक्दिन । ऊ जानुको बिहे भएको सुनेपछि पागलजस्तो भएर विज्ञान विषय पढ्न काठमाडौँ गएको थाहा पाउँछे जानुले । निराश भएर घर फर्किन्छे ।
तर सम्झौता नै जीवन बन्छ उसको, टेस्टट्युव बेबीका लागि तयार भएर एउटी छोरी जन्माउँछे जानुले । त्यही छोरी आज “छुई“ को विमोचनमा गएर लेखक सम्राट् स्मिृतिको अर्थात् संयोगको हातबाट लेखककपी ल्याउँछे र जानुलाई देखाउँछे । जानु र छोरी सजा विमोचनस्थलमा जान्छन् तर सम्राट् त्यहाँ हुँदैन तर विद्यालय छोड्ने बेलामा संयोगको सर्टमा जानुले नै लेखेको “मिस यु सो मच संयोग” लेखेको त्यो सर्ट ममिलालाई दिनु भनेर सजालाई अह्राएर संयोग अदृष्य भइसकेको हुन्छ ।
५. विश्लेषणको आधार
५.१ मनोवैज्ञापनक नारीवाद
मनोवैज्ञानिक नारीवाद फ्रान्सेली नारीवादी आन्दोलनबाट सुरु भएका हो । हेलेन सिक्सस, लुइस इरिगारी, जुलिया क्रिस्टेभा जस्ता नारीवादी अगुवाहरूले महिलाहरूको वैयक्तिक मनोवृतिमा जोड दिए, जुन सामाजिक आर्थिक शक्तिभन्दा माथि हुन्छन् । उनीहरूले निम्न कुरामा जोड दिए-
क. नारीहरूले आफैँलाई उन्मुक्त गर्न सिक्नुपर्छ ।
ख. माथि रहेको शक्तिशाली र तल रहेको कमाजोर देखाउने विपर्यहरू पुरुष / महिला, नर / नारी, छोरा / छोरी, मालिक / नोकर इत्यादिको खारेजी हुनुपर्छ । किन कि यो पुरुषवादले निर्माण र नियन्त्रण गरेको जबरजस्त नियम हो ।
ग. पुरुषहरूलाई तालिम दिइन्छ, महिलालाई जन्मजात हो भनिन्छ ।
घ. महिलाले के चाहन्छन् त्यो होइन, पुरुषले चाहेको महिलाले चाहिदिनुपर्ने; शान्त, सुन्दर, अवलोकनकर्ता, धेरै नबोल्ने वा कुरा नकाट्ने होइदिनुपर्ने । आफ्ना चाहनाको कुनै स्थान नहुने कुराको विरोध गर्ने ।
ङ. पुरुषहरूले दिएको भूमिकामात्रै पूरा गर्नुपर्ने कुराको खण्डन गर्ने । (टाइसन, २००६- पृ. ९६)
यसरी मनोवैज्ञानिक महिलावादीहरूले लैङ्गिक समानताको कुरा उठाए । विभेद भएको कुरा उठाए । आजसम्म पनि उठिरहेका छन् । खासगरी मनोवैज्ञानिक विभेदलाई चार खण्डमा हेर्न सकिन्छ बराल/एटम, २०५६- पृ.१२०)-
५.१.१. शरीररचना
यो समाजले नारीलाई बच्चा जन्माउने साधन मात्रै ठानिरहेका छ । ““छुई“” जस्ता अन्य शारीरक विशेषताहरूलाई समेत महत्त्व नदिई उनको शरीरलाई आनन्द र सुन्दरताको मानक मान्ने काम गरेका हुन्छ । महिलाको शरीर बनावटका ती विशेषताहरूलाई आधार बनाएर भाषा प्रयोग गरिन्छ, जुन खेदपूर्ण छ र नारीवादी विश्लेषणले त्यसको विपक्षमा मत राख्छ ।
५.१.२. अनुभव
नारीले गर्ने अनुभवहरू जस्तै “छुई“, बच्चा जन्माउने, स्तनपान गराउने जस्ता कुराहरूको अनुभूति पुरुषले गर्न सक्दैनन् तर ती कुराहरूको नजरअन्दाज गर्ने, आफैँले भोगेको जस्तो गरेर तिनको व्याख्या र विवेचना गर्ने मूर्ख प्रवृत्ति समाजमा छ ।
५.१.३. सङ्कथन
पुरुषवादी समाजले बनाएको दायराभित्र रहेर भाषिक व्यवहार गर्नुपर्ने बाध्यता एकतिर छ भने अर्कोतिर त्यही परिवेशमा तिनले प्रयोग गरेको भाषालाई कमजोर, अतार्किक, मूर्ख, नजान्ने भनेर होच्याइन्छ । सीमित बोल्नुपर्ने, तर्क गर्न नहुने, नत्र “पोथी बासेको” भन्ने र होच्याउने भाषिक संस्कार छ ।
५.१.४. अचेतन
आफ्ना इच्छाहरूलाई दबाएर राख्ने बाध्यता पालेर हुर्किएका नारीहरू आफूलाई सुन्दर, कमजोर, नजान्ने, शान्त, अरूको भावना बुझ्ने, तर्क नगर्ने, जे भने नि मान्ने अवस्थाको सिकार हुन्छन् । अर्थात् तिनले त्यही भाषिक र अन्य सांस्कृतिक व्यवहार गर्नुपर्छ जुन तिनलाई त्यो संस्कृतिले अनुमति दिएको छ ।
मनोवैज्ञानिक नारीवादले नारीको भावनालाई सम्मानमात्रै गर्दैन, बल्कि त्यसको खातिर सङ्घर्षको मैदानमा पनि उत्रिन्छ । पुरुषकेन्द्रित यो सभ्यतालाई समानताको आधारमा एकअर्काप्रति आदर र सम्मान जनाउने परिवेशको निर्माण गर्ने यसको उद्देय हो । लिङ्गभेदलाई प्रश्रय दिने कुनै पनि प्रकारका भाषाहरू प्रयोग गर्ने कुराको यसले भत्सर्ना गर्छ ।
नेपाली साहित्यमा पनि रूपनारायण सिंहको भ्रमर (१९९३) बाट नारी मनोविज्ञानमाथि पाइला टेकेर उपन्यासहरू लेखिन थालेका हुन् । आजसम्म आइपुग्दा हजारौँ उपन्यासकारहरूले यस विचारलाई केन्द्रमा राखेर लेखिरहेका छन् । अझ भनौँ साठी र सत्तरीका यी दुई दशक त नारी विषयलाई मनोविज्ञान र भौतिक रूपले अनवरत “डिस्कोर्सहरू” चले, चलिरहेका छन् ।
५.२ “छुई“ मा मनोवैज्ञानिक नारीवादको प्रयोग
क. मनोवैज्ञानिक पीडा र उत्पीडन
प्रस्तुत उपन्यास एउटी युवा नारीपत्र जानुको प्रथम पुरुष दृष्टिबिन्दुमा निर्माण गरिएको छ । उपन्यासको मुख्य पात्र “न्यारेटर” (आख्यानवक्ता) समेत भएको हुनाले उसको पटकथामा “आवद्धता” अनिवार्य रहन पुग्यो । यही कारण हो, जानुको प्रथम पुरुष कथा प्रस्तुतीमा निजको स्वकीयता अनिवार्य पर्ने त भयो नै । निजले देखेको, भोगेको, अनुभूत गरको र अन्त्यमा ती सबै फेहरिस्तलाई आफ्नो डायरीमा लेखेको हुनाले उसले भनेको कथा एउटी युवतीको नजरमा जीवन, समाज र समग्र समयको अभिलेखीकरण हुन पुग्यो ।
जानु यही सिलशिलामा अनेकौँ मनोवैज्ञानिक पीडा, यौन उत्पीडन र मानसिक अन्यौलता र चिन्ताको सिकार हुन पुगेकी छे । विभिन्न परिस्थितिहरूमा जनुका मुखबाट निस्किएका तलका अभिव्ञ्जनाहरूले यस उठानको पुष्टि गरेकै छन्-
यसो पुलुक्क हेरेँ, आँखी भौँ उठाएर जिस्क्याउँछ पो ! यसकै छेउमा पर्नुपर्ने म ! (पृ. २४)
टङ्केले रीताको बाटो छेकेछ, हाम्रो गफ किन सुनाइस् भनेर । (पृ. ८८)
अत्यास लाग्यो । डर र पीरले एकैचोटि गाँज्यो तर आफ्नो हातमा छैन आफ्नै जिन्दगीको निर्णय गर्ने साँचो । (पृ. १७४)
जब सिन्दूर लगाउने बेला आयो, त्यसबेला भने निकै डर लाग्यो । मुटुको ढुकढुकी बढ्यो । आँसु टिलपिलाएर खसे । (पृ. १९१)
ख. नारी संवेगात्मकता
नारी संवेगात्मकतालाई कमजोर सम्झिने वा बुझ्न नसक्नेहरूको त्यो समकालीन समाजमा यस उपन्यासले ती संवेगात्मकताहरूलाई उजागर गरिदिएको छ । ती सशक्त हुन्छन्, कालजयी हुन्छन्, अकलपनीय हुन्छन् । ती कुनै सुत्रमा बाँधिएका हुँदैनन्, न त कसैको अभिष्टता पूरा गर्न नै आएका हुन्छन् । ती नारीको पहिचान दिलाउन आएका हुन्छन्, तिनका मनका भावनाहरूको स्वस्फूर्त प्रस्फुटन भएर आएका हुन्छन् । अथार्त् ती कालजयी हुन्छन्, अभेद्य हुन्छन्, अपराजित हुनछन् । अर्थात् ती यो सृष्टिका खम्बाहरू हुन् जसले यो प्रकृतिको नियमलाई सधैँ काँध हालिराखेका हुन्छन् । यी संवेगात्मकताहरू जनुको मुखबाट भिन्न भिन्न परिवेशमा यसरी अभिव्यक्त हुन्छन्-
बिस्तारै मन कपालमा अड्केको चुङ्गीमा पुग्यो । कपालका जरासम्म कुतिकुति दगुऱ्यो । फेरि अड्के पनि हुनेझैँ लाग्यो । मन थोरै मात्तियो । (पृ. ३६)
उनीहरू प्रथम भए । जितको खुसी मनाए । संयोगको अनुहार थोरै भए पनि खुसी देखेँ । मलाई आफैँले जितेजस्तो महसुस भयो । (पृ. १०४)
हुँदा — हुँदा हिजो नुहाउँदा पनि उसैलाई सम्झेछु । (पृ. १५६)
ग. संयोगहरूको ताँदो
प्रस्तुत उपन्यास वास्तवमै संयोगहरूको फेहरिस्त बनेको छ । सधैँ संयोग परिरहनु, अनि जानुको प्रेम पनि संयोग नामको केटासँग पर्नु र त्यो प्रेम सम्बन्धलाई आजीवन स्मरणदायी बनाउन विभिन्न समयमा संयोगहरू निर्माण भएका छन् । जानु त्यही विद्यालयमा पढन् जानु, चुङ्गे केटाको चुङ्गी जानुको कपालमा अड्किनु, कक्षमा उनीहरू नै प्रथम र दोस्रो बन्नु, अतिरिक्त क्रियाकलापमा पनि उनीहरू नै हाबी हुनु, सपनामा पनि उनीहरूनै घुम्न जानु, हजुरआमा पनि उहीबेला बिरामी हुनु, जानुको बिहे हुने बेलामा उसलाई “छुई“ हुनु र संयोगलाई बिहेको कुरा भन्न नसक्नु, संयोग जानुको बिहेमा काठमाडौँमा हुनु र अन्त्यमा एउटा होनाहार केटाको प्रेमलाई साकार रूप दिन नसक्ने वाइयात केटीलाई प्रजनन क्षमतै नभएको मान्छेमा जिम्मा लगाएर सजाय दिनु संयोगहरू नै हुन् । उपन्यासको कथाले जानुको विद्रोह मागेको देखिन्छ तर ऊ एउटी कमजोर पात्र बनिएकी हुनाले सजाय पाएको देखिन्छ । पाठक भने उसको सजायलाई न्यायोचित मान्न तयार नहुने पनि सम्भावना छ । किनभने उसको विद्रोहअभावको सर्जक त उसको समाजिक परिवेश हो, ऊ होइन नि ! जस्तै-
टाउकोमा के आएर फ्यात्त लाग्यो । के हुनु उही चुङ्गी । चिम्टीमै अड्किएछ । (पृ. ३७)
संयोगसँगको संयोग फेरि मिल्यो, आ-आफ्ना सदनको उपनेता भएर । (पृ. ४६)
घ. दमित मन र सपनाहरू
न्यारेटर अर्थात् आख्यानकर्ता जानु एउटी अब्बल दर्जाकी विद्यार्थी हो तर उसले कक्षा नौ र दश पढ्दा, आफैँले मन पाराएको केटोसँग पलहरू बिताउन रुझ्नुपर्दा, घरको “सपना” पूरा गर्दा अनि “आफूले रोज्न नपाएको केटासँग” बिहे गरेर जाँदा, आफ्नै श्रीमान् “अशक्त” पाउँदा, अनि त्यही उसबेलामा मन भासिएको केटाले आफ्नै डायरीलाई उपन्यास बनाउँदा तर सदाका लागि उसको पर्दा पछाडि जिउनुपर्दा जानुका मनहरू कति दबिए, कति रोए, कति ओइलिएर झरे । आफ्ना दमित आकाङ्क्षाहरूलाई सपनामा निम्तो गरेर मुस्कुराउन खोज्ने जानुको त्यो सपना पनि पूरा भएन । अनि आफ्नो मनोभावना पूरा गर्न बिपनामा केही गर्न नसक्ने, परिवेशसँग जुध्न नसक्ने भएरै होला, जानु सपनामा संयोगसँग चिया बगानतिर घुम्न हिँडेको, हात समाएको सपना देखेर तृप्त हुन्छे । छोरी मान्छे भएकैले गर्दा उसले सपनामै मात्र आफ्नो मनोकमना पूरा गर्नुपरिरहेको छ । जस्तै-
“आउच् !” ड्याम्मै कुम ठोक्यिो । छेउमा हेर्छु, संयोग छ । ओहो ! जुरुक्क उठेँ । म त ओछ्यानमै पो छु । उफ् सपना पो । (पृ. ३८)
यति मीठो यात्रा, प्रेमिल साथ र डरलाग्दो दुर्घटना । सपनामा पो रहेछु । (पृ. १२१)
ङ. सत्यको खोजी र पीडा
आधुनिक मनोवैज्ञानिक ज्याक लकानले भने जस्तो “हामी पर्दा पछाडि देख्न सक्दैनौँ……किनभने सत्य त समाजले यसरी सिर्जना गरिदिएको छ कि त्यो हाम्रो बुझ्ने क्षमताभन्दा निकै टाढा छ (टाइसन, २००६- पृ ३३) ।”२ जानुको जीवन पनि यस्तै सत्यको खोजीमा निकै समय रुमल्लियो । अनि सत्य नभेट्दा हुने “ट्रउमा” अर्थात् मानसिक पीडाको जन्म हुन्छ । जानुका केटी साथीहरू सबु, शशी पनि यस्तै पीडामा हुन्छन् तर व्यक्त गर्न सक्दैनन् र कैयौँपटक ती उत्तरवर्ती पात्र हुन्छन् जो अनिश्चितताको, विनिर्माणको र जिन्दगीको अति घुमाउरो र किरिङ्गमिरिङ्ग मोडहरूमा पुगेर निकै रनभुल्लमा पर्छन् । तिनका अगाडि कुनै निर्दिष्ट बाटो हुन्नन् किनभने ती पुरुषवादी समाजले सिर्ज्याएका जटिलताभित्र फसेका ती केटीहरू हुन्, खासमा जानु जो ग्रिक पुराणको इकारस भइन्, जो थुनिएको मुक्ति पाएर पनि जीवन पाउन सक्दैनन् । प्रेमको बारेमा, लैङ्गिकताका बारेमा खुल्ला बहस हुन नदिइएको, प्रेमको अर्थ बुझ्न नसकेको र त्यो अज्ञानताको जड भनेको पनि यही पुरुषवादी समाज हो । असम्भव कुराको खोजी गर्ने, प्रेमको अर्थ नबुझ्ने र कसैले नबुझाइदिने भएकै कारणले जानुलाई प्रेम प्रस्ताव उग्र तरिकाले राखेर जानुबाट तिरस्कृत भएपछि आत्महत्या गर्ने राजनहरू पनि यही समाजको पद्धतिले जन्माइरहेको छ । यस उपन्यासले यस प्रकारको खुलापन र बच्चाहरूलाई दिइनुपर्ने ज्ञान र स्वतन्त्रको वकालत गरिरहेको छ । अनि सत्य त प्याजको बोक्रा ताछेजस्तै हो जति ताछे पनि दिउल फेला नपर्ने । त्यही प्याजको दिउल रहेछ सत्य । त्यसको खोजीले निम्त्याइरहन्छ वीभत्स घटनाहरू । उत्तरवर्ती चेतनाले अन्तिम सत्य खोजेर पनि नभेटिने भने जस्तै त्यो असम्भव सत्यको खोजी यहाँ पनि भइरहेको छ । जस्तै-
न रुनु न चिच्याउनु न कसैसँग झगडा गर्नु । अब के गर्नु ? मनभरि संयोग छ, यथार्थमा अर्कै ।(पृ.१७६)
बाढीले बगाइरहेको बेला अन्तिम सहाराको रूपमा देखिएको त्यान्द्रो पनि चुँडिदा जुन मानसिक अवस्था हुँदो हो त्यसबेला के नै पो गर्न सकन्छि र ? (१८८)
च. विपर्यायहरूको निर्माण
जब मानव सभ्यताको विकास हुन थाल्यो तब पुरुषहरू केन्द्रमा आइपुगे र महिलाहरूलाई “अन्य” बनाइदिए तर फ्रान्सबाट उठेको भेलले महिलालाई अन्य बनाउने कुरालाई बगाउन मात्रै खोजेन, विपरीत सम्बन्धको निर्माण, अर्थात् “विपर्याय” लाई पनि ध्वस्त पार्न अर्थात् “विपर्यस्त” गर्न खोज्यो, जुन आजका मितिसम्म निरन्तर जारी छ । पुरुष / नारी, केटा / केटी, धनी / गरिव, बा / आमा, मालिक / नोकर आदि । प्रस्तुत उपन्यासमा विपर्यायहरूको बिगबिगी छ, जुन कुराले नारीभावनामा समेत चोट पुऱ्यारहेको हुन्छ र त्यसलाई विपर्यास्त गर्न, अर्थात् उल्ट्याउन चाहन्छ मनोवैज्ञानिक नारीवादले तर यहाँ त्या सम्भव भइरहेको छैन । जस्तै-
कञ्चनजङ्घा सदनबाट म…..शशीले सगरमाथा सदनबाट संयोग नाच्ने खबर सुनाई । (हिमालको उचाई पनि पहिलो र दोस्रो ! पृ. ५३)
मलाई आफू फस्ट भएर संयोग सेकेन्ड भएको चित्त बुझेन । मेरो नजरमा ऊ सधैँ फस्ट हुनुपर्छ । मेरा लागि ऊ सधैँ फस्ट हो ।(पृ. ९७)
छ. हाबी भएको पुरुषवाद
मनोवैज्ञानिक नारीवादले सबैभन्दा महान् र भयङ्कर विषयको उठान गरेको भनेकै “पुरुषवादी माखेसाङ्लोबाट माहिर फुत्किने” हो । यसले नारीहरूलाई यसरी बाँधेर राख्छ कि उनीहरू त्यसको न त प्रतिवाद गर्न सक्छन् न त त्यसलाई चुँटाएर बाहिर निस्किन नै । उनीहरू त्यसैमा आजीवन जकडिएर बस्नुपर्ने हुन्छ । प्रस्तुत उपन्यासमा केटी पात्रहरू, खासमा जानु यस्तै “प्याट्रियाकी” अर्थात् पुरुषवादी अधिनाकत्वको चङ्गुलमा फसेकी छिन् र ती निस्कन पनि सकिरहेका हुँदैनन् । जस्तै-
जानुलाई सम्झाउन र हिम्मत दिन पनि संयोग आउनुपर्छ र ऊ यसरी सम्झाउँछ-
“मैले भर्खर मेटेर आएँ । टेन्सन नलेऊ ।” (पृ. ६०)
तर म त संयोगसँग पहिलेदेखि नै हारेकी थिएँ । जित्न नसक्नेमा प्रस्ट छु । (पृ. ६३)
फेरि मेरो चाहना चाहिँ केही होइन ? उसले प्रपोज गर्नेबित्तिकै बिन्तीभाउ र दबाबमा मैले ल भनिदिनुपर्ने ? (रञ्जनले प्रपोज गर्दा जानु रिसाएर, पृ.८२)
“छोरीले त्यसमा नाइँ नभन्नू ।” ( जानुका बुबाको आदेश)
“नरो जानु । हामी छोरी मान्छे यस्तै हो ….” (जानुकी फुपूको उपदेश, पृ. १७२)
केटाकेटीको देखादेख नै नभई एकैचोटि टिकोटालो पो ? (पृ.१७४)
लागेको कुरा लुकाएर अरूकै इच्छा, रुचि र खुसीअनुसार बनावटी कुरा देखाउन र गर्न माहिर हुँदै जान्छौँ । (पृ. १८९)
ज. शरीररचना र संस्कृति
लिङ्ग जीवशास्त्रको विषय हो भने लैङ्गीकता सांस्कृतिक विषय हो । “महिलाहरूले लामो समयदेखि समाजमा लिएको स्थान जीवविज्ञानको आधारमा नभएर सांस्कृतिक आधारमा निर्माण गरिएको हो” (टाइसन, २००६- पृ. ८६) । प्रस्तुत उपन्यासमा पनि जीवविज्ञानको भन्दा पनि सांस्कृतिक आधारमा, नारीहरूको शरीरलाई संस्कृतिसँग जोडेर हेरिएको छ । जसले ती नारी पात्रहरू उत्पीडनको सिकार हुन्छन् । “छुई“ हुनु अभिशाप होइन तर त्यसलाई तगाराका रूपमा, कुनै अपशकुनका रूपमा, कुनै वीभत्स परिणतिका रूपमा अगाडि उभ्याएर केटी पात्रहरूलाई आफ्नो स्वत्वको अधिकारबाट वञ्चित गरिएको छ । शरीरका अङ्गहरू बढ्नु, आमा बन्ने उमेरमा पुग्नुलाई सकारात्मक रूपले लिइएको देखिँदैन । उपन्यासमा यस्ता परिवेशहरू निकै छन् । जस्तै-
स्तुतिले छोएको पानी के अब ती मान्छेले मन्दिरमा चढाउँछन् ? कि चढाइसके ? डरले पूरै शरीर चिसो भयो । ( पृ. ७५)
बिहेको जग्गेमा बसेको बेला उसलाई पनि “छुई“ भएको थियो …. ……..त्यसको चार दिनमै छोरी र ज्वाइँको बस दुर्घटनामा मृत्यु भयो । (जानुलाई बुबाले भनेको कहानी, पृ. ७७)
“अनि आफूलाई क्यान्सर भयो भन्दै रुन्छे”, फुच्चीले सानीको कथा सुनाई……..”अनि मेरो पनि यहाँ मासु पलाउँदै छ, ठूलो पनि हुँदै छ”, सानीले आफ्नो छातीतिर देखाई र फेरि पिलपिल रुन थाली । (पृ.१४४)
हामी यसपालि व्रत बस्यौँ । दन्तकाली र पिण्डेश्वर मन्दिर गएर पूजा पनि गऱ्यौँ । वर्ष दिन बोकेको भारी बिसाएँ । (पृ.१४८)
पूजाकोठा, घिउ राखेको दराज भएको ठाउँ, भान्साको चुल्हाछेउ जस्ता ठाउँमा जान पाउँदिनँ । (पृ.१७८)
झ. त्रास
नारी पात्रहरू विभिन्न खाले त्रासको भुमरीमा रुमल्लिइरहेका हुन्छन् । त्यो त्रास भनेको नजिक होइने त्रास, टाढा होइने त्रास, अनिश्चय भविष्यको त्रास, आफ्नै शरीरको त्रास, समाज र परिवारको त्रास, यौन उत्पीडनको त्रास किनभने उनीहरूले ती त्रासलाई मुकाबला गरेर अघि बढ्ने कुरा न त परिवारबाट सिक्न पाए, न त समाजबाट । उनीहरूले सधैँ उप—भूमिका, अर्थात् “सबअर्डिनेटिङ्ग रोल” मा रहेर रमाउनुपर्ने हुन्छ । “दर्शनशास्त्रमा, महिला जहिल्यै पनि दोस्रो भूमिकामा छ ।” (लज, २०००- पृ. २६४)३ जस्तै-
आफूले प्रिय ठानेको मान्छेलाई मनको कुरा पोख्न पनि हिम्मत नहुने, यो कस्तो डर ? (पृ.१६७)
झ. प्रतीक
प्रस्तुत उपन्यासमा केही उठानहरू प्रतीकका रूपमा देखा परेका छन्, जुन अन्ततः तिनै नारी पात्रहरूलाई घोत्र्याउन आइपुग्छन् । संयोग एउटा केटाको नाम मात्रै होइन, त्यो त यस उपन्यासको आख्याता जानुको जीवनको हर मोडमा प्राप्त भएका संयोगहरूको पुलिन्दा हो । संयोग जसरी बिना योजना र जानकारी प्राप्त हुन्छ, त्यो त्यसरी नै अदृष्य हुन्छ । त्यो थुप्रै आशाका पुलिन्दाहरू बोकेर देखा परेको हुन्छ तर त्यो कहिल्यै हातमा पर्दैन । संयोग जीवनका मोडहरूमा अनुभूत गरिने संयोग मात्रै हो, निराश मनलाई मलमपट्टी लगाउन आएर आशाको दियो बालेर अनि यस लोकमा कहिल्यै नभेटिने गरी गायब हुन्छ ।
त्यस्तै जानुकी हजुरी पनि नारी उत्पीडनको एउटा प्रतीक बनेर आएकी छन् । नातिनीको मनमा के छ भन्ने कुराको कुनै मतलब छैन, हजुरआमाको मनमा के छ मात्रै ले महत्त्व पाउँछ । नारी उत्पीडनको स्रोत पनि नारी नै हो भन्ने पनि देखिन्छ । यसले के देखाउँछ भने यो सिलसिला पुस्तान्तरण भएर गइरहेको छ । त्यस्तै चुङ्गी पनि एउटा प्रतीक बनेको छ यहाँ । हावामा माथि जाउन्जेल, वा खुट्टामा उफ्रिउन्जेल त्यसको मोल हुन्छ , गणना हुन्छ । त्यो क्षणिक छ; त्यसले जुटाएको सम्बन्ध पनि ऊ जस्तै दुई वर्षका लागि मात्रै हुन पुग्यो ।
ञ. “प्याट्रियाकी” को जुँघा खौरिएर !
सामाजिक विसङ्गति, कुरीति र अन्धविश्वासको भूमरीमा फस्दै जाने र फसेको अनुभूत गर्ने जानुहरू उपन्यासको उत्तरार्द्धतिर आइपुग्दा ती “प्याट्रिआकि” अर्थात् पुरुषवादी सोचको जुँघा कमजोर हुन पुग्छन् । नारी पात्रहरूले विगतमा जे जति तिनीहरूले छोरी मान्छे भएकै कारणले झेल्नुपऱ्यो, जे जति भोग्नुपऱ्यो, ती कुराहरूको उपन्यासको अन्त्यतिर आइपुग्दा अवसान हुन पुग्छ । ती मक्न्छिन् , भत्किन्छन् र तिनका जराहरू त्यान्द्रा भएर जान्छन् ।
जानुले अन्तर्बोध गरेर महसुस गर्छे कि नारीका लागि शरीररचना स्वभाविक कुरा हो । यसको कुनै सामाजिक र सांस्कृतिक सम्बन्ध हुँदैन । यो त जबरजस्ती लादिएको एउटा पुरुषवादी दर्शन मात्रै हो ।
किनभने आजको विकसित र सभ्य समाज त्यति ढिला हुँदै हुँदैन, यदि जान्नेबुझ्नेहरू बाधक नबन्ने हो भने । त्यसैले उपन्यासकी मुख्य पात्र जानुले सोचेको नर्सिङ वा स्कुले शिक्षाले समेत सुल्झाउन नसकिरहेको यो सामाजिक समस्या हल गर्न उपन्यास एउटा माध्यम बनोस् भन्ने आशा गरेको छु । (गुरागाईं, २०७८)
जानुले अन्त्यमा महसुस यसरी गर्छे यो अन्तर्बोध र यो आजको दुनियाँलाई कान फुट्ने गरी भनिरहेकी छे । यो महासुस नै पुरुषवादको विनिर्माणको बिन्दु बनेको छ । जानु आफैँले त्यो पुरुषवादले जकडेको समयका रङ्गहरूका जुँघा यसरी खौरिन पुग्छे अन्तर्मनमार्फत ।
“छुई“ भएको त्यो दिन संयोगलाई सबै कुरा भनेको भए पनि हुने रहेछ । जे हुन्थ्यो —हुन्थ्यो । “छुई“ हुनु भनेको एउटा प्राकृतिक प्रक्रिया न रहेछ । एउटी महिला आमा बन्न योग्य छे भनेर जनाउ दिने शारीरिक परिवर्तन त रहेछ । (पृ.२५१)
६. निष्कर्ष
उपन्यासकार घनश्याम पथिकको उपन्यास “छुई“ नेपाली समाजको एउटा विप्रतिपन्न समयको आलेख हो । प्रस्तुत उपन्यासले सरल भाषामा नेपाली समाजका युवाअवस्थामा हुर्किँदै गरेका खासगरी किशोरीहरूको मनका कुण्ठालाई प्रक्षेपण गरेको छ । तिनका अवचेतना, त्रास, अनिर्णयता, अनिश्चयतालाई समेत सुन्दर र सरल शैलीमा चित्रण गरिएको छ । कतिपयले सरलताको उपहास गरेको पनि पाइन्छ तर म यसबेला बेलायती कवि जोहन किट्सलाई सम्झिरहेको छु, जसले आफ्नो कविता “ओड टु द ग्रिसीयन अर्न” मा भनेका छन्, “सरलता मा सुन्दरता हुन्छ, सुन्दरतामा सरलता” । पथिकको यो उपन्यासमा मैले यही पाएँ । त्यो सरलताभित्र लुकेका जिजीविषाहरू सामाजिक न्यायको अभावमा रङ्गिएका छन् । लैङ्गीक असमानताको चुचुरोमा मुस्कुराइरहेका छन् । छोरीले आफ्नो मनका कुरा भन्न नसकेर, भन्न नपाएर आफ्ना सबै सपना र खुसीहरूको मलामी आफैँ गएर बाँचिरहँदा पनि चेत खुल्दैन यो पुरुषवादी समाजको । समाजले पढाएको दीक्षित बनाएको परिवार पनि छोरीका मनहरूलाई कथित स्वाभिमानको अनि अहङ्कारको घेरमा रमाएर आफैँ मात्रै सही ठान्ने संस्कार जीवन्त छ । छोरीले आफ्नै शरीरमाथिको अपनत्व प्राप्त गर्न नसक्ने एउटा खाडल खनेर त्यहीँ पुरिदिन्छन् यस्ता संस्कारहरूले ।
यस उपन्यासका नारी पात्रहरू खसगरी मनोवैज्ञानिक रूपले त्रसित, पीडित, कुण्ठित र मानसिक रूपले कमजोर भएर बाँचिरहेका हुन्छन् तर तिनको कसैले लेखाजोखा राख्दैनन् । त्यसैले यस उपन्यासमा ती नारी पात्रहरूले बाँचेको समय, स्थान र तिनले भोगेका अकल्पनीय र किरिङ्गमिरिङ्ग परेका जिन्दगीका बाटाहरू आज विद्यालय र क्याम्पसमा पढ्न जाने हर युवतीहरूले पार लगाइरहेका छन्, पैतालाले टेकिरहेका गोरेटाहरू बनेका छन् । चाहेर होस् वा नचाहेर होस्, सबैले हिँडिरहका छन् । एक सय वर्षदेखि पश्चिमा महिलाहरूले यो विभेदको अन्त्य गर्न चलाएका आन्दोलनका आँधिबेहरीहरू अझै बिरो भएको छैनन् । ती चलिरहेका छन् तर हामीमा बदलाव सोचे जसरी आएको छैन तर आउँदै छ । पथिकको यो उपन्यासले यही कुरा भनिरहेको छ । यो एउटा युग परिवर्तन गर्ने चेतना हो, नारीहरूप्रतिको दायित्वबोध हो, साँघुरो मनबाट गुडेको यो समयको राजमार्गलाई अलिक ठूलो र फराकिलो बनाऊँ भन्ने हो ।
सन्दर्भ सामग्री
गुरागाईँ, रमेश (२०७८) एकपटक छुनैपर्ने “छुई“, अनलाईन विचार- २०७८ जृष्ठ ९ गते ।
पथिक, घनश्याम (२०७७) “छुई“, काठमाडौँ- शिखा बुक्स
बराल, कृष्णहरि तथा एटम, नेत्र (२०५६) उपन्यास — सिद्धान्त र नेपाली उपन्यास, काठमाडौँ साझा प्रकाशन
Lodge, David. (2000). Modern Criticism and Theory, London: Longman
Tyson, Lois. (2006) Critical Theory Today: A User-Friendly Guide, 2nd ed.
Special Nepal Reprint. Noida: Routledge.
फुटनाेट
- in fact, all the traits we associate with masculine and feminine behavior are learned, not inborn.
- society has created is a reality beyond our capacity to know and explain and therefore certainly beyond our capacity.
- In philosophy, woman is always on the side of passivity.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।