सारकथन

कथाकार बाँस्कोटा धनञ्जयको चित्रगुप्तको ल्यापटप (२०७७) कथासङ्ग्रह प्रकाशित छ । जसमा पन्ध्रओटा कथा रहेका छन् । यस सङ्ग्रहमा प्रकाशित कथाहरूको अध्ययनबाट कथाकार बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिको निरूपण गर्नु प्रस्तुत अनुसन्धानमूलक लेखको उद्देश्य हो । प्रस्तुत आलेख गुणात्मक अनुसन्धान ढाँचामा आधारित भएकाले यसका लागि पुस्तकालयीय कार्यबाट प्राथमिक र माध्यमिक स्रोतका सामग्री सङ्कलन गरी तिनको वणर्नात्मक र तुलनात्मक अध्ययन विधिका सहयोगबाट तथ्यको विश्लेषण र मूल्याङ्कनका साथै अनुसन्धानमा प्रस्तुत दाबीलाई पुष्टि गरिएको छ । आवश्यकतानुसार पूर्व अध्येताहरूका अनुसन्धानात्मक आलेखको उपयोग गर्दै लम्बीय र क्षितिजीय आधारमा तर्क र साक्ष्यहरू प्रस्तुत गरिएको छ । सन्दर्भ अनुकूल लेखकीय दृष्टिकोणसमेत प्रस्तुत गरी अनुसन्धेय कार्य पूरा गरिएको छ । कथाकार बाँस्कोटा धनञ्जयको समग्र कथाकाररिताको समेत सामान्य विवेचना समेत गरिएको छ ।

चित्रगुप्तको ल्यापटप यसै कथासङ्ग्रहका कथाका माध्यमबाट नै कथाकारले यस समयको वस्तुस्थिति, समयले सिकाएको नैतिक चेतना, समाजप्रतिको मानवको अखण्ड दायित्वबोध र कथाकारको आफ्नो मौलिक कथा लेखन कलाकौशलको सशक्त प्रस्तुतीकरण गरेको निष्कर्ष निकालिएको छ । यसरी कथाकार बाँस्कोटा धनञ्जयका कथाकारिताका प्रवृत्ति बुझ्न प्रस्तुत अनुसन्धानले सहयोग पुग्ने देखिन्छ ।

विशेष शब्द 

भर्सेस, रिक्वेस्ट, सीमान्त, ल्यापटप, अवयव, चित्रगुप्त,  जनयुद्ध, जडसूत्रवाद, आल्कोहलिक सिन्ड्रम, ब्लेस यु फर वेवि सन्, बसिला, जोतारा, याक्सा, दार्शनिक

१. विषय प्रवेश

वि.सं. २०२६ साल वैशाख २४ गते फिदिम-७ रानीटार (पाँचथर) मा पिता धनपति बाँस्कोटा र माता झुमाकुमारीका पुत्ररत्नका रूपमा जन्मिएका हुन् बाँस्कोटा धनञ्जय । ०४८ सालमा ‘रहर’ पत्रिका ‘मान्छे’ शीर्षकको कथा प्रकाशन गरेर औपचारिक कथायात्रा थालनी गरेका बाँस्कोटाले मूलतः आख्यान र समालोचनाको क्षेत्रमा गुणात्मक किसिमले छवि बनाएका छन् । नयाँ पुस्ताका लागि एउटा नयाँ प्रेरक बाँस्कोटाको चित्रगुप्तको ल्यापटप (२०७७) कथासङ्ग्रह प्रकाशित छ । जसमा कागजको मण्डप, शिवजीलाई पानी, सिउँडी, रोल नं. सिक्स, फोटाकी स्वास्नी, पहिली श्रीमतीलाई चिठी, मेरी छोरीको बाबु, फ्रेण्ड रिक्वेस्ट, भावना भर्सेस भावना, चित्रगुप्तको ल्यापटप, छोरो, धुलोको गलैँचा, पानीको दियो, कालीगण्डकी र म, सीमान्त जेनीहरू गरी पन्ध्रओटा कथा रहेका छन् । बाँस्कोटाले आफ्ना कथामा समाजका विषमता, विसङ्गति र अन्यौलग्रस्त परिस्थितिको चित्रण गरेका छन् । आफ्ना कथामा समाजमा हेपिएका र पीडित बनेका सोझा सिधा जनताले राहत पाऊन् भन्ने मनसाय पनि बाँस्कोटाले राखेका छन् । यसै पृष्ठभूमिमा यिनै कथाका आधारमा कथाकार बाँस्कोटाका कथागत प्रवृत्तिको खाजी गरी विश्लेषण गरेर निष्कर्ष निकाल्दै मुख्यमुख्य प्रवृत्तिलाई बुँदागत रूपमा प्रस्तुत गरिएको छ ।

२. प्राज्ञिक जिज्ञासा र उद्देश्य

बाँस्कोटा धनञ्जयका पन्ध्रओटा कथाको अध्ययन विश्लेषण गरी कथाकार बाँस्कोटाका कथागत प्रवृत्तिलाई बुँदागत रूपमा लेखिएको छ । बाँस्कोटाका केकस्ता प्रवृत्ति छन् भन्ने प्राज्ञिक जिज्ञासामा आधारित प्रस्तुत अनुसन्धानको उद्देश्यलाई निम्नानुसार उल्लेख गरिन्छ ।

(क) पूर्व अध्येताहरूको अभिमतअनुसार बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिको खोजी गर्नु ।

(ख) उनका कथागत प्रवृत्तिको निरूपण गरी बुँदागत रूपमा प्रस्तुत गर्नु ।

३. विधि र सामग्री सङ्कलन

‘कथाकार बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिको निरूपण’ शीर्षकमा आधारित प्रस्तुत अनुसन्धान गुणात्मक प्रकृतिको, उत्तर आधुनिक दर्शनमा आधारित र व्याख्यावादी पद्घतिमा केन्द्रित छ । यसका लागि प्राथमिक र माध्यमिक स्रोतमा आधारित सामग्री (पुस्तक, पत्रिपत्रिका, अनलाइन, जर्नल, पूर्वकार्य आदि) बाट तथ्याङ्क सङ्कलन गरिएको छ । सङ्कलित तथ्याङ्कलाई वणर्नात्मक र तुलनात्मक विधि तथा आगमनात्मक अनुसन्धान पद्घतिका माध्यमबाट विश्लेषण गरिएको छ । अनुसन्धानमा प्रस्तुत दाबीलाई पुष्टि गर्न विभिन्न तर्क, साक्ष्य, प्रमाणहरूको उपयोग गरिएको छ । बहुसत्यमा आधारित प्रस्तुत अध्ययनमा माध्यमिक स्रोतबाट प्राप्त सूचना वा तथ्यलाई ज्ञानको स्रोतका रूपमा लिइएको छ । अध्ययनबाट प्राप्त विषयगत निष्कर्षलाई मूल्यका रूपमा ग्रहण गरिएको छ । यसरी विभिन्न अनुसन्धान विधि र दर्शनको व्यवस्थित अध्ययन प्रक्रियाबाट अनुसन्धानका निर्दिष्ट उद्देश्य पूरा गरिएको छ । आलेख लेखनमा मूलतः एपिए ढाँचाको प्रयोग गरिएको छ ।

४. कथाहरूको विश्लेषण

दीपक सुवेदी

चित्रगुप्तको ल्यापटपभित्र कागजको मण्डप, शिवजीलाई पानी, सिउँडी, रोल नं. सिक्स, फोटाकी स्वास्नी, पहिली श्रीमतीलाई चिठी, मेरी छोरीको बाबु, फ्रेण्ड रिक्वेस्ट, भावना भर्सेस भावना, चित्रगुप्तको ल्यापटप, छोरो, धुलोको गलैँचा, पानीको दियो, कालीगण्डकी र म, सीमान्त जेनीहरू गरी पन्ध्रओटा कथा रहेका छन् । बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिको निरूपणका लागि यिनै कथालाई विश्लेषणको आधार बनाइएको छ ।

कागजको मण्डप पहिलो कथा हो । सोह्र वर्षअघिको घटना म पात्रका माध्यमबाट प्रस्तुत गरिएको छ । कथामा फिदिम, मोरङ, धनकुटा, हिले, वसन्तपुर, विराट्नगर आदि स्थानगत परिवेशका रूपमा आएका छन् । राजनीतिक अवस्था निकै तातो छ । क्याम्पसमा विद्यार्थीमात्र होइन शिक्षकहरू पनि दलअनुसारका छन् । उनीहरू पार्टीका नेतासरह सपनाका कुरा गर्छन् । परिवर्तनका कुरा गर्छन् । विद्यार्थी सङ्गठनले जसजसको नाम क्याम्पस प्रशासनलाई दिन्थे उनीहरूको नाम क्याम्पस प्रशासनले फ्रिसिपमा आउँछ । दामोदर होटलमा पसेर कमैमात्र पैसा तिरेर खान्छ । बसमा पनि उसको नाम लिएपछि कन्डक्टरले भाडा माग्दैनन् । कथाकी प्रमुख म पात्र (एलिजा घिमिरे) जसले दामोदरलाई सिउँदोमा सिउरी नाच्तै हिँड्न थालेकी हुन्छे तर पछि सपना भत्किएको कागजको मण्डपजस्तै हुन्छ । उसैका माध्यमबाट यसमा ०४२ सालतिरको राजनीति शक्तिको महिमाका साथै धनकुटा क्याम्पसको विद्यार्थी राजनीतिको अवस्थालाई प्रस्तुत गरेको छ ।

दोस्रो कथा ‘शिवजीलाई पानी’ छ । समयले हर कुरामा पहिलो बनाएको पारिवारिक विरासत माओवादीको जनयुद्धका कारण एकाएक हल्लिएर गाउँबाट विस्थापित भई सहरमा डेरा बस्नुपर्दाको समस्या कथामा प्रस्तुत गरिएको छ । कथामा काठमाडौँ, इलाम, ओलाङ्चुङगोला आदि स्थानगत परिवेशका रूपमा आएका छन् । सोमबार बिहान शिवजीलाई पानी खन्याउन खोज्दा घरधनी रमाकी दश बर्से छोरी मनिकाको टाउकाभरि पानी खनिएपछि रमा र डेरावाल मको द्वन्द्व, सातदल र माओबादीबिच दिल्लीमा बाह्रबुँदे सम्झौता भएर पनि पीडितले न्याय पाउन नसकेको कथा रहेको छ । काठमाडौँका घरधनीलाई सबैभन्दा धेरै खुसी पार्नुपर्छ डेरावालले घरमा टिक्नलाई भन्दै काठमाडौँका घरवाला र डेरावाला दुवैका समस्यालाई कथामा प्रस्तुत गरेको छ ।

सङ्ग्रहमा ‘सिउँडी’ तेस्रो कथाका रूपमा रहेको छ । यो कथा, घर छोडेर घर खोज्दै बस्ने बिसङ्गत अनि उत्तराधुनिक मान्छेहरूको कथा हो । यसमा नीलकण्ठको मनोविज्ञान र परिवारको कथा प्रस्तुत गरिएको छ । कथामा पाँचथर, झापाको जलथल, धरान, इटहरी र भारत आदि स्थानगत परिवेशका रूपमा आएका छन् । जीवनमा भोगाइहरू नयाँनयाँ जन्मिएर आउँदा रहेछन् । महिला अधिकारका ठूलाठूला स्वरमा कुरा सुन्दा ताली बजाउने र भोटै हाल्ने नीलकण्ठको परिवारिक घटना रहेको छ । जीवनका अँध्यारा पाटाहरूलाई केवल उज्यालाले मात्र हटाउन सक्छ भन्ने नीलकण्ठ जीवन खाएर जीवन बाँच्नेहरूको माझमा कसरी उभिन्छन् ? इब्सनको नाटकका नोराजस्तै जो उनन्तीस सालमा आफ्ना पसिनाले उभ्याएको घरबाट निस्कन्छन् तर जाने गन्तव्य थाहा नभएको नीलकण्ठको पारिवारिक समस्या कथामा प्रस्तुत गरिएको छ ।

‘रोल नं. सिक्स’ चौथो कथा हो । यो मनोविश्लेषणमा आधारित कथा पनि हो । कथामा शिक्षा मन्त्रालय, विश्वविद्यालय, आदर्श शिक्षा सदन, विराट्नगर आदि स्थानगत परिवेशका रूपमा आएको छ । गणित विषयका शिक्षक लय सरले ६ कक्षालाई विशेष ढङ्गले लिन्छन् । घण्टी लाग्नासाथ कोठामा छिर्छन् । समयभरि कक्षामा बिताउँछन् । मुहारमा चमक देखिन्छ । उमङ्ग देखिन्छ । आनन्दको चरमोत्कर्ष देखिन्छ । मुस्कुराउँदै कक्षामा छिर्छन् र मुस्कुराउँदै कक्षाबाट बाहिरिन्छन् तर उनी अरू कक्षाबाट बाहिर निस्कँदा नीरस देखिन्छन् । उदास हुन्छन् । शान्त हुन्छन् । लय सरले कक्षामा गर्ने गरेको फरकफरक मनोगत प्रस्तुतिमाथि अन्य सरहरूको उत्तरवर्ती व्याख्या कथामा प्रस्तुत गरिएको छ । बाँसको तामाजस्तै हलक्क बढेकी कक्षा १२ की रक्षा शारीरिक रूपले जति अब्बल थिई, त्यति नै मानसिक रूपले अब्बल थिई । उसका मानसिक र शारीरिक अवयवहरू परिपक्व भएर होला, उसको सुन्दरतामा निखार आइरहेको थियो । उसका तिनै कलेबरलाई नजिकबाट नियालिरहन्छन् लय सर । आफूलाई जर्ज बर्नाड साँको ‘पिग्मालियन’ नाटकको प्रोफेसर हिगिन्स र रक्षालाई एलिजा अझ गड गिफ्ट सम्झन पुग्छन् । कथामा लय सरको चेतनाका माध्यमबाट ‘क्रिएसन डाजन्ट बिलङ्ग टु द क्रिएटर’ अर्थात् ‘सिर्जना सर्जकको अधीनस्थ चिज होइन’ भन्ने कुरा प्रस्तुत गरिएको छ ।

‘फोटाकी स्वास्नी’ पाँचौँ कथा हो । वैदेशिक रोगगारीले निर्माण गरेको र समयले सिर्जना गरेको अकल्पनीय कथा हो । कथामा झापाको दमक र धरमपुर, इलामको मङ्गलबारे, विराट्नगर, चितवन, दुबई आदि स्थानगत परिवेशका रूपमा आएका छन् । महेश दुबई गएको सात वर्ष भयो । घरमा बुबाआमा र एउटी बहिनी मात्र बस्छन् । कोभिड-१९ को विश्वव्यापी माहामारीले गर्दा संसार लकडाउन भयो । महेश घर आउन पाएन । इलाम मङ्गलबारेकी कल्पना रिजालसँग बिहे भयो तर फोटाको बिहे मान्छेसँग । अर्थात् मान्छेको बिहे फोटासँग । फोटाकी स्वास्नी हुनुको अनुभूति गरिरही कल्पनाले । अरूबेला पनि फेसबुकमा महेशका फोटा र म्यासेज हेरेर दिन र रात बित्थ्यो कल्पनाको । एकाबिहानै मातृकाले कोरोना भाइरसको कारण दुबईमा थप तीन नेपालीको मृत्यु भएको कान्तिपुर डायरी सुने । त्यसपछि विदेशबाट सबै थोक आयो तर महेशको शरीर र सास कहिल्यै आएन । कथामा एउटा उदाहरण दिएर अरूको मूल्याङ्कन गर्नु बेठिक हो, निराकार सम्बन्ध पनि बलियो हुन्छ र हर महिलाको जिन्दगी तरबारको धारमा रहेको अवस्थालाई प्रस्तुत गरिएको छ ।

सङ्ग्रहमा ‘पहिली श्रीमतीलाई चिठी’ छैटौँ कथाको क्रममा रहेको छ । यो कथा स्वैरकल्पनामा आधारित रहेको छ । शर्मिष्ठा बितेको सातवर्षपछि उनका श्रीमान् जयस्तुले शर्मिष्ठालाई पश्चात्ताप पोखेर लेखिएको पत्रात्मक शैलीको कथा हो । कथामा बागबजार, युनिक क्याफे र वीर अस्पताल आदि स्थानगत परिवेशका रूपमा आएका छन् । क. शितलालाई देखेका मात्र थिए जयस्तुले । ‘चिन्दै नचिनेको मान्छेसँग कसरी बिहेजस्तो महत्त्वपूर्ण कुरा सम्भव छ ? मेरो बिहे भई छोरी पनि छ । यो अपराध हो ।’ जयस्तुले भन्दा पनि श्रीमतीलाई नस्विकारेको, दुर्व्यवहार गरेको र पार्टीको हितविपरीत गतिविधि गरेको भन्ने आरोप लगाएर जनकारबाही गर्नु भन्ने कमान्डरको क. उराठमाथिको आदेशात्मक गर्जनले क.शितलालाई श्रीमती स्वीकार्न बाध्य भएका छन् । शितलाको राजनीतिक विद्याले घरको गरिमा र परिवाजनको इज्जत पनि हिँडेको, रित्तो र एक्लो भएर जिजीविषा सङ्गालेर बाँच्न जयस्तु बाध्य भएको देखाइएको छ । माओवादी आन्दोलन उत्कर्षमा थियो । २०६२ साल मङ्सिरमा दिल्लीमा माओवादी र सात दलका बिच बाह्रबुँदे सहमति हुने हल्ला थियो तर माओवादी नामको भ्रूणसँग मानिसको त्रास थियो । कसैले उनीहरूसँग तर्क गर्दैनथे । यस्तो परिस्थितिको कथामा क्रान्तिमा होमिएकी भए पनि, प्रेम गरेर हिँड्नु पार्टीको आचारसंहिता विपरीत भएपनि क.शितलाले राजनीतिक शक्तिको आडमा विधुर जयस्तुको भावनामा खेलवाड गरेकी छ । शरीरलाई प्रेम बुझ्ने प्रेमका शितलाजस्ता दुस्मनहरूले प्रेम शब्दको धज्जी उडाइरहेको कथामा प्रस्तुत गरिएको छ ।

सातौँ कथा ‘मेरी छोरीको’ बाबु छ । यो वैदेशिक रोजगारले जन्माएको अकल्पनीय चित्रहरू प्रस्तुत गरिएको कथा हो । यस कथामा बिर्तामोड, भद्रपुर, हँडिया बुधबारे, काबेली खोला, हेवाँ खोला, माईखोला, गङ्गानदी, सिलिगुढी, इजरायल आदि स्थानगत परिवेशका रूपमा आएका छन् । रुस्नाको इजरायलको तेस्रो पटकको यात्रा पूरा भएपछि बाँच्ने इरादा र शैली फरक भएको छ । हिजो मरेका अवयवहरू झट्ट उठेर आएका छन् । जिजीविषाहरू जगमगाएका छन् । हिजो बाँच्न नपाएको झोकले होला, आज मज्जाले बाँच्न मन लगेको छ । रुस्ना बाह्र कक्षामा पढ्दै गर्दा धनी मान्छेसँग विवाह भएको थियो । रक्सी र व्यापारको आवरणमा सजिएका रक्स्याहा श्रीमान् व्यापारका लागि चेन्नाइँ जान्छु भनेर हिँडेका एकाएक सिलिगुढीमा सामानसहित पक्राउ परेपछि जीवनका रङ्गहरू उडेका थिए । छोरीलाई बुबाममीका घरमा राखेर बाँच्नका लागि इजरायल होमिएकी थिई । चार वर्ष इजरायल बस्दा बिर्तामोडमा भविष्यका लागि आर्थिक सुरक्षा र सामाजिक हैसियत बनाएकी छ । उसले पनि प्लस टु पढ्दै गर्दा आफैँले मन पराएकी केटीसँग भागेर विवाह गरेको थियो । विवाह गरेको आठौँ महिनापछि उसकी रानी पैसा कमाएर उनीहरूका सपना पूरा गर्ने लक्ष्य लिएर इजरायल गएकी थिई । पाँच वर्ष बिते न त उसकी रानी आई न त उनीहरूको सपना नै आयो । त्यसपछि उसले जीवन र सपनालाई घृणा गर्न थाल्यो । अधुरा सपनाहरूसँगै मर्न हिँडेको पुरुषसँग बाँच्न हिँडेकी स्वास्नी मानिसले आफ्नी छोरीको बाबु बन्न गरिएको आग्रह र जोडिएको अनौठो नाता कथामा प्रस्तुत गरिएको छ । विदेश गएका व्यक्तिको सामाजिक एवम् पारिवारिक जीवनलाई कथाले प्रस्तुत गरेको छ । ‘रूप हेरेर मान्छे पढ्नु गोता खानु हो’ भन्दै श्रमको सम्मान र नारीलाई मर्यादा गर्नुपर्छ भन्ने कुरा कथामा प्रस्तुत गरिएको छ ।

‘फ्रेन्ड रिक्वेस्ट’ आठौँ कथा हो । कथामा मनोविज्ञान अथवा खण्डित मनलाई इलेक्ट्रोनिक माध्यमबाट प्रस्तुत गरिएको छ । यस कथामा सिलिगढी, इराक आदि स्थानगत परिवेशका रूपमा आएका छन् । हुस्सेले निलेको तराईमा मान्छे सेतो सर्ट मात्र लगाएर बाँच्न सक्तैनन् तर ऊ बिनास्विटर, बिनाजुत्ता दिनहरू काटिरहेको थियो । त्यसैले मजाकमा उसको साथीहरूले ‘सेतो सर्ट’ नाम राखेका थिए तर पनि कुनै प्रतिक्रिया दिँदैन थियो । कमर्स विषय पढेर आत्मनिर्भर हुन पनि सकिएन भने त्यो डेबिट र क्रेडिटका फर्मुला रटेर जिन्दगी कहिल्यै पनि बन्नेवाला छैन । अभयलाई पैसाको आवश्यकता थियो । उसमा पैसा नहुनुको पीडा थियो । त्यसैले एउटा सुन्दर मान्छे अभय आफ्नो सुन्दर भविष्य बनाउन भन्दै हिंसात्मक घटनाले सजिने मुलुक इराकमा बन्दुकको काखमा पुग्न बाध्य भएको छ । अकल्पनीय मानवता र मानवीय रूप कहीँ पनि कतै नदेख्ने अभय इराक गयो भन्ने सुनेपछि- “बन्दुकको काखमा बास बस्न गएछ तर माया गरोस् त्यो बन्दुकले उसलाई । चोट नदेओस् उसलाई । ऊ सुन्दर भविष्य बनाउन गएको छ । बनाओस् त्यो भन्दा सुन्दर भविष्य । उसको जिन्दगीको बगैँचामा लटरम्म फूलहरू फुलून् ।” भन्ने मनोवाञ्छा राख्तै फेसबुकमा फ्रेन्डको रिक्वेस्टलाई रेस्पोन्स गर्ने आशा व्यक्त गरिएको छ । कथामा केहीले जीवनलाई भनेको कमाउने र कमाएको खाने भाँडोको रूपमा लिएका छन् । जीवनलाई यन्त्र सम्झेका छन् । जीवनलाई पैसाको कमाइसँग जोडेर हेर्ने पूरापूरी भौतिकवादी हुँदै गइरहेको समाजलाई प्रस्तुत गरिएको छ ।

त्यसैगरी सङ्ग्रहमा ‘भावना भर्सेस भावना’ नवौँ कथाको क्रममा रहेको छ । वैदेशिक रोजगारीले व्यक्ति र समाजमा ल्याएको परिवर्तन कथामा प्रस्तुत गरिएको छ । काठमाडौँ, इजरायल, फ्रान्स आदि स्थानगत परिवेशका रूपमा आएका छन् । काठमाडौँको चाबहिलमा भावनाको पाँचतले घर छ । घरको वरिपरि एक रोपनी जग्गा बगैँचासहितको छ । त्यही बगैँचामा उनका पति सौगात माली भएका छन् । बाटाका ग्राभलले उफारेको साइकलको टायर र सौगातको जीवनको भाग्य उस्तै भएको छ । भावनाको फेन्सी फाइलमा ‘जेरुसेलम नेश्नल हस्पिटल’ ले दिएको कागज र एउटा फोटो थियो । त्यस फोटामुनि लेखिएको थियो-‘ब्लेस यु फर बेबी सन् ।’ अर्थात् ‘छोरो जन्माइदिएकोमा तिमीलाई कोटिकोटि आशीर्वाद छ ।’ जीवनमा खुसी ल्याउनु छ भने कैँयन् कुराहरूमा बिनासर्त सम्झौता गर्नुपर्छ । त्यही गरेका छन् सौगातले । सौगतका फूलले उनको घरको वरिपरिचाहिँ रङ्गीन बनेको छ तर उनको सुन्दर जीवन सुन्दर भएको उनले महसुस गर्न पाएका छन् कि छैनन्, कसैलाई थाहा छैन तर खादिर बेन्जामिनको घर इजरायल गएर काम गर्न थालेपछि भावनाले भने आफ्नो जीवनका रङ्गहरू मापन गर्न थालिन् ।  इया र बेन्जामिनको सल्लाह अनुसार सुन्दर शरीर र सुन्दर चाल अनि व्यवहारले मालिक र नोकरको सिमाना साँघुरो पार्दै लगेर भावनालाई सरोगेट मदरको रूपमा कथामा प्रस्तुत गरिएको छ । पैसा पानी हो, साबुन हो । यसले सबैथोक पखाल्छ । पाप पखाल्छ । मान्छेका काला दागहरूलाई पनि सुकिलो बनाएर टल्काइदिन्छ तर जीवनमा सम्पत्तिले खुसी दिन्छ भन्ने सत्य नभएको र आदर्शले जीवनको रथ नचल्ने कथामा देखाइएको छ ।

दसौँ कथा ‘चित्रगुप्तको ल्यापटप’ छ । कथासङ्ग्रहको नाम नै यसै कथाबाट राखिएको छ । यस कथामा स्वैरकल्पनाका साथै मनोविश्लेषण प्रयोग गरिएको छ । कथामा इटहरी, काठमाडौँ, तामाकोशी, मलेसिया, दुबई, थाइल्याण्ड, इजिप्ट, स्वर्ग, नर्क आदि स्थानगत परिवेशका रूपमा आएका छन् । प्रस्तुत कथामा यमराजको कक्षा छ । चित्रगुप्तको एसिस्टेन्ट ‘कस्मिक’ सर्वरले काम गरिरहेको छ । हरेक मान्छे एक पटक जानैपर्ने ठाउँ । अनुष्ठाका श्रीमान्ले आफूलाई अपाङ्ग बनाएको, दुर्व्यवहार गर्दै धर्म, संस्कृति, परम्परा र नैतिकतालाई लात मार्ने गम्भीर अपराध गरेको आधारमा चित्रगुप्तसमक्ष अनुष्ठाका विरुद्घ उजुरी दर्ता गरेका छन् तर ती आरोपहरू आरोप नभएर प्रेमका आयामहरू थिए । जुन कुरा श्रीमान्ले बुझेकै हुँदैन । कथामा अनुष्ठाका श्रीमान्ले सन् २०१७ मा सम्पन्न भएको क्रिकेट फाइनलको हाइलाइट हेर्दै नाकाबन्दी लगाएर हैरानी दिएको इन्डियाविरुद्ध लागेर पाकिस्तानी टिमलाई समर्थन गरेको देखाएर खेलकुदमा पनि राजनीति हुने गरेको सन्दर्भ उल्लेख गरिएको छ । जीवन स्वतन्त्र भएर चल्न नसक्ने भइसकेको छ । जीवन अकल्पनीय र प्रपञ्चपूर्ण हुन्छ । यसका बारेमा बहस गर्नुपर्ने कुनै औचित्य छैन भन्दै नारीका मन र शरीरहरू विभाजित भएर उत्पन्न हुने अन्योल कथामा प्रस्तुत गरिएको छ ।

‘छोरो’ एघारौँ कथा हो । यो कथा अनिश्चिततामा भरोसा राखेर बाँच्ने मान्छेहरूको कथा हो । कथामा भरतपुर, काठमाडौँ, मलेसिया आदि स्थानगत परिवेशका रूपमा आएका छन् । माओवादी सशस्त्र युद्ध सुरू भएको दुईवर्ष बितेको थियो । भूमिगत भएर भाग्दाभाग्दै परिवारसँग गोपीको लामो समय सम्पर्क भएन । कहाँ भूमिगत जीवन बिताइरहेका छन् भन्ने उनकी श्रीमती रूपालाई पनि थाहा थिएन । कार्ल मार्क्स र माओको नाम सुन्नासाथ गोपीको शरीरका सारा अवयवहरू एकैसाथ उम्लेर आउँथे । गोपी सत्तारूढ दलको जिल्ला स्तरीय नेता थिए । सरल स्वभावका भएकै कारणले भिन्न राजनैतिक पृष्ठभूमि हुनेहरू पनि उनलाई समर्थन गर्थे । गोपीको आगमनको पर्खाइमा आफ्नो जीवनको सबै रङ्गहरू उडाइसकेकी थिइन् रूपाले । तैपनि उनीमाथि अनिश्चित जीवनको भरोसा र सुरक्षित जीवनको भविष्य थियो । एउटा छोरो थियो । रूपाले दुईपटक त आफैँ अग्रसर भएर छोरो निकालेकी थिइन् प्रहरी कार्यालयबाट । तेस्रोपटक केस अलिक गम्भीर पर्‍यो बलात्कारको । छोरामा सुन्दर भविष्य देखेकी थिइन् । सुन्दर भविष्यको सपना देख्नु पनि कति भयावह हुँदो रहेछ । रूपाले वैदेशिक रोजगारीलाई बुझेकी छन्- ‘जीवनलाई बुझेर दुःख गर्नेहरूका लागि मात्र वैदेशिक रोजगार राम्रो हुन्छ नत्र अभिशाप हुन्छ ।’ पानीमा राजनीति । स्कुलमा राजनीति , धर्ममा राजनीति , सुकुम्वासीमा राजनीति , समाजका सबै अवयवहरूलाई राजनीतिकरण गरेर मरणासन्न बनाइयो । कम्युनिस्टहरूको सरकार भएपनि भ्रष्टाचार, निरङ्कुशता र अनियमितता धेरै हुन्छ । आर्थिक अवस्थाले साथ नदिए आफ्नै पार्टीले पनि पत्याउँदैन । शक्ति र पैसा नहुने कसैले पनि टिकट पाउँदैन । अझ समानुपातिकमा समेत पर्दैनन् । भोटरहरू पनि विभिन्न प्रलोभन र क्षणिक सुविधाको पछि कुद्न थालेको यथार्थ कथामा प्रस्तुत गरिएको छ ।

बाह्रौँ कथा ‘धुलोको गलैँचा’ छ । कथामा असम, मङ्गलबारे आदि स्थानगत परिवेशका रूपमा आएका छन् । यस कथामा पुरुष पात्र एउटी अत्यन्तै सरल सामान्य र निर्दोष चिया पसले युवतीप्रति आकर्षित हुँदै गएको देखाइएको छ । आसमबाट भागेर आएको परिवारकी युवतीको चिया पसलमा जाँदाजाँदा प्राविधिक शिक्षालयको शिक्षक पुरुष पात्र अनायास त्यो शान्त स्थिर मुद्रा र सौम्य चालाप्रति आकर्षित भएको छ । ऊ बिस्तारै त्यही झुप्रोको विरासतमा आफ्नो सपना साट्ने गर्छ । त्यही छाप्रामा उत्पन्न शून्यताको मधुर सङ्गीतले उसको बाँकी जीवनका अवयवहरू रङ्गीन हुन थाल्छन् । राम्रो लाग्न कुनै कारण चाहिँदैन रहेछ । उसका पिताले छोराको परिवर्तित व्यवहार देखेर आश्चार्य मान्छन् र श्रीमतीलाई सुनाउँछन् यो कुरा ‘डल्ली’ भनेर सम्बोधन गर्दै । डल्लीको छोरो फिजिक्स पढेको छ । ऊ देउतालाई होच्याउने गर्थ्यो । एकदिन उसले एकाएक मन्दिर जाँदा पैसा चाहिन्छ भनेर साट्न बजारतिर गएको प्रसङ्ग उल्लेख गरेर कुनै कुरा राम्रो त्यसै पनि राम्रो लाग्ने अनि नराम्रो कुरा त्यसै पनि नराम्रो लाग्ने र जीवनका गतिहरू अकारण अघि बढ्ने गरेको कथामा प्रस्तुत गरिएको छ ।

त्यसैगरी सङ्ग्रहमा ‘पानीको दियो’ तेह्रौँ कथाको क्रममा रहेको छ ।  कथामा लामीडाँडा, विराट्नगर, दमक, धनकुटा, खाँदबारी आदि स्थानगत परिवेशका रूपमा आएका छन् । कथामा हजुरबा पुस्ताको राजतन्त्र र काकाबाबु पुस्ताको गणतन्त्रप्रतिको पनि अनुराग प्रस्तुत गरिएको छ । कथामा विष्णुप्रसाद घिमिरे मुद्घा र मामिलामा कहिल्यै सरिक भएनन्, कसैलाई अदालत धाउने दुर्भाग्य नआओस् भन्थे । कसैलाई पनि यसो गर, उसो गर भनेर उकास्ने काम गरेनन् । उनले कुनै नेताको नाम जान्नु परेन । उनले हलो जान्दथे , बसिला जान्दथे, जान्दथे भैँसीको थलो, कोदालोको बिँड, धानको ढुकुटी आदि । उनै विष्णुप्रसाद घिमिरे उनान्सय वर्षको उमेरमा परलोक भए । उनी परलोक भएपछि कम्युनिस्ट पार्टीका गाउँ सचिवले लाशमाथि गरेको राजनीति कथमा प्रस्तुत गरिएको छ । जलिरहेको पवित्र शुद्घ घिउको दियोमा ढलपानी हालेझैँ मरेका मान्छेलाई अनेकथरि बिल्ला लगाइदिने वर्तमान समाजमा मानवीय संवेदना राजनैतिक कुरूपतामा स्खलित हुँदै गएकोप्रति कथा लक्षित छ ।

‘कालीगण्डकी र म’ चौधौँ कथा हो । यो कथा सूक्ष्म मनोविश्लेषणमा आधारित रहेको छ । रापाकोट, कालिगण्डकी, राम्दी, पोखरा, काठमाडौँ, भरतपुर, लखनौ आदि स्थानगत परिवेशका रूपमा आएका छन् । प्रशान्तका बाबु कालिकोट गाविसका अध्यक्ष थिए । शिलाका बाबु यज्ञप्रसाद पुरोहित थिए । शिलाले गर्दा अरू केटीहरू पनि बिग्रन्छन् र विद्यालयको वातावरण खल्बल्याएको भन्ने सङ्गीन आरोप लगाइयो तर गाविस अध्यक्षको छोरो भएकाले प्रशान्तलाई कुनै कारबाही भएन । शीलाको अनुपस्थितिमा प्रशान्त निकै मर्माहत बन्यो । शीलाको विवाह रापाकोटका पुरेतका छोरा गोकुलसँग भयो । साथी फडिन्द्रसँग लखनौ गएको गोकुल आज तीन वर्ष बित्यो फर्किएको छैन । प्रशान्तले प्रियासँग प्रेम विवाह गऱ्यो । प्रशान्तबाट प्रियालाई छोडाउन धेरै प्रयास भयो । रडाको भयो घरमा । प्रशान्तको जागिर थिएन । एक्लिए परिवारबाट । प्रियाको अबको बाटो अँध्यारामा पोतियो । राति मुसा मार्ने विष खाएर आत्महत्या गरिन् । प्रशान्त आज ६७ नम्बरको ट्रक कुदाउँछ । कालिगण्डकीसँग मित्रता जोड्दै ग. ४ प. ६७ नम्बरको ट्रकलाई पर्खिरहेकी हुन्छे शीला । शीलाको  जीवनको रङ्गलाई बाहिरबाट ढाकिदिएको अनि चेतनालाई त्यही ट्रकले तानिरहेको छ । यसरी कुनै दिन आफूलाई रम्भा ठानेर सुन्दर जीवनमा अप्सरा भएर बाँचुँला भन्ने शीलाका सपनाको विनिर्माण गरिएको छ कथामा ।

सङ्ग्रहको अन्तिम कथा ‘सीमान्त जेनीहरू’ रहेको छ । यस कथामा यशोधरा र भोन वेस्टफालेन, पर्सियन कुलीन परवारमा जन्मिएकी धनी बाबुकी छोरी एवम् कार्ल मार्क्ससँगै हुर्केकी जेनीका माध्यमबाट नारीका मन र शरीरमा उत्पन्न अन्योल र निराशा प्रस्तुत गरिएको छ । नेपालका क्रान्तिहरू रापमा भए । सात सालको विराट्नगर मजदुर आन्दोलनको ताप जेनीका श्रीमान्को मन्त्रबाट भएको थियो । अठ्ठाइस सालमा टाउका काट्ने होस् वा जनयुद्धमा मान्छे मार्ने होस् वा गणतन्त्र ल्याउनेमा होस् जेनीका श्रीमान्को मन्त्रको योगदान छ । सिद्धार्थलाई छिमेकीसँग पानीको निहुँमा झगडा नगर्नू, हिंसाको बाटो नअपनाउनु, कसैलाई मार्नु वा दुःख दिनु हुँदैन पनि भनिन् यशोधराले । यशोधरा र जेनीले आफ्ना श्रीमान्हरूलाई जे भनेका थिए, जसरी सम्झाएका थिए, ती बिचारहरू आज केही पार्टीका आदर्श बनेका छन् । श्रीमान्का फोटाहरू कम्युनिस्ट पार्टीका कार्यालयका भित्ताहरूमा झुन्डिएका छन् । उनीहरूचाहिँ अहिंसावादी भए । शान्तिवादी भए । अन्ततः उनीहरूका श्रीमान्लाई भगवान् माने तर श्रीमान्को सफलतामा श्रीमतीको पनि भूमिका हुन्छ भन्ने बिर्सिएर आफूहरूलाई कसैले पनि नचिनेको कथामा प्रस्तुत गरिएको छ । वर्गीय समानताको कुरा गरेर परिर्वतन र क्रान्तिका नाममा मान्छेले मान्छे मारेर दुनियाँ बदल्न खोजे । बाहुनका चुल्होमा रक्सी तताए । संस्कृत पढाउने र वाचन गर्नेहरूलाई झुन्ड्याएर मारे । मन्दिरमा थुक्न र मुत्न लगाए । आखिर शान्तिको बाटामा नआई धरै भएन । शान्तिको बाटोमा आउनु नै थियो भने यो सब किन ? भन्दै सभ्यता, जीवन र जगत्को अन्तिम पाटो र अन्तिम अभिनय भनेको शान्ति भएको कथामा प्रस्तुत गरिएको छ । यशोधराको भावनालाई आत्मसात् गर्न खोजिएको छ ।

५. विश्लेषणको आधार

५.१ कथागत प्रवृत्तिको निरूपण

कथाकार बाँस्कोटाका “कथा पढ्दा कथाकारमा सुन्दर निबन्ध लेख्ने शक्ति देखिन्छ । वञ्चित भएका, स्वार्थी पुरुषको हात परेका, सामाजिक संस्कारले बिच्किएका, मुक्तिको उज्यालोदेखि हजारौँ माइल टाढा रहेका नारीहरूको स्थितिचित्र नै टड्कारो भई आएको छ । उनको भाषा बडो विम्बात्मक र मोहक लाग्दछ” (भट्टराई, २०७७ -भूमिका) । यसरी शोषितपीडितप्रतिको गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्वबोध जस्ता कुराहरू कथाकार बाँस्कोटा धनञ्जयका प्रमुख विशेषता बनेका छन् । ‘फरक शैली, फरक कथ्यवस्तु भएको चित्रगुप्तको ल्यापटप नेपाली साहित्यको कथा विधामा एउटा महत्त्वपूर्ण कथासङ्ग्रह हो । यसका कथाहरूले भएका समसामयिक सन्देश, प्रस्तुतिको नवीनता, सरलता र सरसताले पाठकलाई आकर्षण गर्ने क्षमता राख्दछन् । जीवनजगत् बाह्य दृश्यमा भन्दा भोगाइमा हुने फरकपनाको प्रतिच्छाया यसमा प्रतिविम्बित छ । आद्य विम्बहरूको प्रयोग गरेर आधुनिक अवास्तविक सत्यको खोजी गर्नु कथाकार बाँस्कोटामा कथाकारिताको मूल विशेषता पाइन्छ’ (अधिकारी, २०७७ – बाहिरी पृष्ठ) । कथाकार बाँस्कोटाले समकालीन समाजको जग बलियो बनाएर भविष्य सुधार्न खोजेका पनि छन् । उनी झापाको दमकबाट समकालीन समाजको पछिल्लो सजीव चित्र उतार्ने कथाका कथाकार पनि बनेका छन् । समाजमा व्याप्त निराशा, असुरक्षाबोध, असहायपन, अन्तर्विरोध, वैदेशिक रोजगारले जन्माएका अकल्पनीय चित्र उचार्ने अभीष्ट बनाएका छन् । “बाँस्कोटा धनञ्जय बुद्धिवादी, सामाजिक जनजीवन र मानिसका भोगाइलाई मूर्त विम्ब विधानमा लेख्ने एक उत्तराधुनिक विनिर्माणवादी चिन्तक र लेखक पनि हुन् । चित्रगुप्तको ल्यापटप उनको प्रथम कृति र कथाहरूको सङ्ग्रह हो । यसमा आएका पात्र, परिवेश, घटना र चरित्रहरू हाम्रो समाजका प्रतिनिधि तत्त्वहरू हुन् । यिनलाई लेखकले आफ्नो भाषा र शैलीले बोल्न लगाएका छन् । यिनका कथाहरूले बोकेको बुद्धिवादी चेतना मनको गहिराइसम्म छताछुल्ल पोखिन्छन् र सबैको मनमा बस्छन्” (कान्छा, २०७७ – बाहिरी पृष्ठ) । चित्रगुप्तको ल्यपटप कथा सङ्ग्रहमा १५ विभिन्न कथाहरू पढ्न पाइन्छन् । कुनै कथा पढ्दै जाँदा रोचकता थपिँदै जान्छ भने कुनै कथाले त्यति आर्कषण दिँदैन । कथाले रोचकता नदिने कारणमा विषय वस्तु गम्भीर भएकाले पनि देखिन्छ । पीडा भरिएका र राजनीतिका नाममा भएका ज्यादतीले रोमाञ्चकताभन्दा पनि रगत उम्लिन्छ । हेपिएका, दमन गरिएका, धनसम्पत्ति लुटिएका, पुरुषबाट दमन गरिएका महिला पात्रहरूलाई न्याय कसले दिने भन्नेजस्ता गहन प्रश्न पनि तेर्सिएका छन् । हरेक कथाले केही सन्देश बोकेको देखिन्छ अनि ज्ञान पनि दिएको पाइन्छ । पात्र र विषय पनि आफ्नै कालखण्ड, परिवेश र माटो सुहाउँदो, राजनीति सुहाउँदो देखिन्छ (न्यौपाने, २०७७ – पृष्ठ २) । कथामा बाँस्कोटाले देशको सामाजिक, आर्थिक एवम् राजनैतिक दुरावस्थाको चित्रण र वर्गीय दृष्टिकोणका साथै निम्न वर्गप्रतिको भोक, रोग, गरिबी र अभावजस्ता कुराहरू उतारेका छन् । यसरी निरीह वर्गका मानिसहरूको दयनीय स्थितिको चित्रण पूर्वदीप्ती शैली र प्रायः आत्मपरकताको प्रयोग कथाकार बाँस्कोटा धनञ्जयको परिचय र पहिचान बनेको छ ।

५.२ कथागत विशेषताको विश्लेषण

कथाकार बाँस्कोटा धनञ्जयको ‘चित्रगुप्तको ल्यापटप’ कथासङ्ग्रहमा १५ ओटा कथा रहेका छन् । बाँस्कोटाले आफ्नो लेखनलाई सङ्ख्यात्मकताभन्दा पनि गुणात्मकतातिर झुकाएको उनका कथा नियाल्दा र अध्ययन गर्दा स्पष्ट हुन्छ । माथि विवेच्य ‘चित्रगुप्तको ल्यापटप’ कथासङ्ग्रहका कथाका आधारमा कथाकार बाँस्कोटा धनञ्जयका कथागत प्रवृत्तिलाई निम्नानुसार हेर्न सकिन्छ ।

५.२.१ सामाजिक यथार्थको प्रतिबिम्वन

कथाकार बाँस्कोटा धनञ्जयले यस कथासङ्ग्रहमा यथार्थको प्रतिविम्बन प्रस्तुत गरेको पाइन्छ । नेपाली समाजको विशिष्ट सामाजिक सांस्कृतिक परिवेशमा घटित हुने मनोधरातललाई सूक्ष्मतासाथ प्रकट गरेको पाइन्छ ।

एक दिन क्याम्पसमा कार्यक्रम स्थल कसले पहिले कब्जा गर्नेभन्ने बारेमा नेविसङ्घ र अखिलका विद्यार्थीबिच झगडा भयो । काका र म पुग्दै मात्रै थियौँ, दामोदरको समूहले अर्कोलाई लखेट्यो तर तिनले काकामाथि पनि हमला गरे । दामोदर हेरिरहेको थियो । काकाको हात भाँचियो । म रोइकराई गर्न लागेँ (कागजको मण्डप, पृ. ८) ।

राजश्व ठग्न महिलाको नाममा जग्गा र घर राख्न भन्दै उसको नाममा पास गरेर राखेँ । बिहे गरेको एक वर्षमा कोरिया गएर तीसलाख रुपैयाँ उसको नाममा पठाएँ । दुई वर्षपछि नेपाल आउँदा त्यो पैसा पनि थिएन । ऊ पनि थिइन । मैले पैसा माया मारेर भएपनि उसलाई पाउने आँट गरेँ, तर त्यो पनि भएन (सीमान्त जेनीहरू, पृ. १६१) ।

विशेषतः नेपाली समाजका सामाजिक, सांस्कृतिक, आर्थिक, परिवेश, वैदेशिक र जागिरे जीवनबाट प्राप्त अनुभूति अनि भोगाइहरू प्रस्तुत गरिएको छ ।

५.२.२ तीतो यथार्थको उद्घाटन

उनको आर्थिक अवस्थाले उनलाई साथ नदिएको हुनाले संविधानसभाका दुईवटा चुनावमा पनि कुनै उम्मेद्वार हुन पाएनन् उनी । आफ्नो पार्टीले समेत पत्याएन । शक्ति र पैसा नहुने कसैले पनि टिकट पाएनन् र समानुपातिकमा पनि परेनन् । पछिल्ला महाधिवेशनहरूमा खान्तेपिन्ते र पैसाको खोलो बग्न थाल्यो । भेटरहरू विभिन्न प्रलोभन र सुविधाका पछि कुद्न थाले (छोरो, पृ. १३१) ।’

तिमी पैसाका लागि यहाँ आएकी हौ । तिम्रो आदर्शले हुने भए लोग्ने छाडेर यतिका वर्ष एक्लै यहाँ बस्ने थिइनौ । तिमीहरूको कल्चरमा खोक्रो नैतिकता र धर्म छ, यथार्थपरकता छैन ।………मेरो सम्पत्तिको एउटा हिस्सा लैजाऊ तिम्रा लागि । …..ऊ सोच्न थाली- हो नि ! आदर्शले मेरो जीवन पनि चल्दैन ।…….के म फर्केर जाँदा बच्चा जन्माएको लोगो टाँसिन्छ र मेरो शरीरमा ? मैले सौगातलाई पाप गरेको भन्ने सम्झे पनि यो उनैको सुख र समृद्धिका लागि हो ।….सबैले भन्ने थिए- इजरायल गएर राम्रो कमाइ गरिछे । (भावना भर्सेस भावना, पृ. ९५) ।

हाम्रा जस्ता गरीब देशका नागरिकहरू विश्वबजारको अंश भएपछि अज्ञात आकर्षणले, सुरक्षाको कल्पनाले, सुखको कल्पनाले सधैँसधैँ छचल्किएकै हुन्छन् । बाँस्कोटाका हरेक कथाहरूले जीवनको तीतो यथार्थलाई उद्घाटन गर्ने काम गरेका छन् । समाजमा व्याप्त विकृति विसङ्गतिको चिरफार गर्ने काम गरेका छन् । अन्याय अत्याचार, भोकमरी, श्रमको मूल्य विचलनप्रति आपत्ति जनाइएको छ । समाजले भोग्दै आएको कटुसत्यलाई बिनाछलछाम कथामा खुलस्त प्रस्तुत गरेका छन् ।

५.२.३ जीवनवादी चिन्तन

तिमीले मेरो साथ छोडेपछि म रित्तो भएँ । एक्लो भएँ । तिमीलाई लाग्दो हो, घरमा स्वास्नी भएको मान्छे कसरी एक्लो हुन्छ ? तर भएँ । बिहानै तिमी मलाई नुहाइधुवाइ गरेर तुलसी, पीपल र पूजा कोठाको आराधना गरेपछि तातो पानी र चिया तयार गरेर खान आउनू भनी बोलाउँथ्यौँ । आज म आफैँ तयार गरेर उसलाई बोलाउँछु खान (पहिली श्रीमतीलाई चिठी, पृ. ५६) ।

लोग्ने मान्छे ह्याङ्ग भएको कम्प्युटर हो क्या, रिफ्रेस गरिरहनुपर्ने । उसले बुझेन जस्तो लाग्यो मेरा कुरा । अनि मुस्कुराउँदै फाइनल रिफ्रेस गरेँ डारेक्ली- ‘तपाईँ मेरी छोरीको बाबु बन्न सक्नुहुन्छ ? यानी…..’ किनभने उसले इन्कार गर्ला जस्तो लागेन र एककदम अघि बढेर प्रपोज गरेँ । उसको जीवनप्रतिको धारणा लोभ लाग्यो । उसको समर्पण लोभ लाग्यो र उसले नाइँ भनेन । मतिर हेरेर मुस्कुरायो । ऊ मर्न हिँडेको मान्छे, अनि म बाँच्न हिँडेकी मान्छे । हाम्रो बिचमा अनौठो नाता जोडियो (मेरी छोरीको बाबु, पृ. ७६) ।

जीवनवादी र अस्तित्ववादी चिन्तन बाँस्कोटा धनञ्जयका कथामा भेटिन्छ । नारीको विजय गराएर कथाकारले आफूलाई नारीवादी चिन्तकको समेत परिचय दिन सफल छन् । सरल, मीठो, छोटो, रोचक, कौतुहल, संवादात्मक, गाउँले परिवेश, मार्मिकता, गाउँले जीवनको चित्रण, पूर्वदीप्ति/घटनावणर्न शैली, जीवनवादी चिन्तनसमेत कथाका पाइन्छ ।

५.२.४ मनोवैज्ञानिक कथाकार

रक्षाको उचाइ राम्रो भएकैले भलिबल राम्रो खेल्थी । मोटा हात र खुट्टा । ‘ओभल’ अर्थात् डिम्माकारको अनुहार थियो । लामो गर्धन, लामो स्ट्रेट कपाल र सुलुत्त परेका गोडा अनि त्योमाथि कुर्तासलवारले रक्षालाई अप्सरा बनाएको थियो । रक्षाले मुस्कुराउँदा लय सर दाँत देखाएर मुस्कान छोड्थे (रोल नं. सिक्स, पृ. ३६) ।

म ब्युँझिन्थेँ, यसैको डाकले तर मलाई ब्युँझाउने मेरा इन्द्रियलाई आज आफैँ सिध्याएँ । उसले छिमेकी माउ कुखुरालाई लखेटेर गलाउँथ्यो । कैयौँपटक त्यो दृश्य मैले आँखा झिपिक्क नपारी हेरेकी थिएँ । प्रायःजसो उसले त्यो पोथीलाई एकघण्टा खेदेर फेरि घरैमा ल्याई पुर्‍याउँथ्यो । पोथीको नखरा देखेर मेरो मन क्रोधित हुन्थ्यो । ए ! म निःशब्द भएँ । उसले त्यो सरलीको माउ पोथीलाई बीस मिनेट खेदेर चुच्चाले टाउकामा समातेर ढाडमा स्पर्श गर्‍यो र उसका दुवै खुट्टा र शरीरले माथिबाट थिच्यो । माउ यसरी ऐठिन पुग्यो कि उसले कसैगरी उम्किने मौका पाएन । मैले आफ्ना दुवै आँखा हातले छोपेँ । श्वास रोकेँ र घरभित्र पसेँ (कालीगण्डकी र म, पृ. १४९) ।

यसरी कथाकार बाँस्कोटा धनञ्जयले प्रकृतिवाद एवम् मनोवैज्ञानिक फ्रायडवादी चिन्तनलाई मूल रूपमा कथामा देखइएको पाइन्छ । यौनकुण्ठाका कारण व्यक्ति-समाज विकृति-विसङ्गतिर्फ गएको भन्दै कथाकारले चिन्तासमेत व्यक्त गरेका छन् । आफ्ना कथाका पात्रमार्फत कथाकार बाँस्कोटा धनञ्जय जीवनवादी, कर्मवादी बन्न सल्लाह दिन्छन् । काव्यात्मकता भएका प्रस्तुत कथा गम्भीरता र मार्मिकताको नमुना पनि लाग्छ ।

५.२.५ स्वैरकल्पना

आख्यानकारले स्वैरकल्पनालाई पनि आफ्नो लेखनको आधार बनाएका हुन्छन् । परिचित जगत्लाई यथार्थवादी ढङ्गले प्रस्तुत नगर्ने लेखन स्वैरकल्पनात्मक हुन्छ भने यसले काल्पनिक संसारको प्रस्तुतिमा जोड दिन्छ । यस्तो प्रकारको लेखनमा जादूको शक्ति तथा विभिन्न प्रकारका असम्भव विषयहरूलाई चयन गरिन्छ । यो एक प्रकारको उडन्ते कल्पना पनि हो । स्वैरकल्पनाको आफ्नै परिवेश हुन्छ र यसमा त्यस्तै पात्रहरू प्रयोग गरिन्छन् (बराल, २०६९- पृ.३५-३६) ।

मलाई देख्नेबित्तिकै मुस्कुराएर उनको दायाँतिरको कुर्सीमा बस्न भने । उनको ल्यापटपको स्क्रिनमा गएर अर्को फोल्डर खोलेर ममाथि प्रश्न गर्ने जमर्को गरे । ‘तिमी थाकेर आयौ नानी, बस । तिमी अहिले यमराजको कठघरामा छौ । सत्य सत्य कुरा मात्र बोल्नुपर्छ नि (चित्रगुप्तको ल्यापटप, पृ. १०६-१०७) ।’

मैले यशोधरालाई भनिदिएँ सबै कुरा । उनी मभन्दा करिब तेइससय वर्ष जेठी हुन् तर टाइम मेसिन र सापेक्षताको सिद्धान्तको सहायताले म अतीत र भविष्यमा जान सक्ने भएकी छु । त्यसैले यी मान्छेले हामीलाई देख्तैनन् पनि र चिन्दैनन् पनि । यशोधरा दिदी, मलाई यी नेपालीहरूले बिर्से पनि मेरो श्रीमान्लाई सम्झेछन् । हुन सक्छ तिनले भन्लान् मार्क्स त्यागी थिए । तिनले विहे गर्नसमेत भ्याएनन् (सीमान्त जेनीहरू, पृ. १६४) ।

कथामा राजनीति, दर्शन, त्योभन्दा बढी मानव अस्तित्वको चिन्तन छ । कथामा वर्तमान विश्वका वैचारिक निर्माताहरूको विमर्श छ । यसरी बाँस्कोटा धनञ्जयले चित्रगुप्तको ल्यापटप, सीमान्त जेनीहरू आदि कथामा स्वैरकल्पनाको प्रयोग गरेका छन् ।

५.२.६ आत्मपरकता

गल्ती भयो, नानी । मैले त शिवजीलाई पानी खन्याएको । आज सोमबार नि त । तल नानी छैनन् होला भन्ठानेँ तर तिम्री छोरीका टाउकामा परेछ । मैले माफी माग्ने प्रयास गरेँ (शिवजीलाई पानी, पृ. १३) ।

मेरो ताप्लेजुङ्गबाट फिदिम, इलाम, बिर्तामोड हुँदै काठमाडौँ जाने साइत आइसकेको थियो । त्यसदिन बेलुका बिर्तामोड आइपुगेर नाइट बसमा काठमाडौँ जाने मेरो समय तालिका थियो । किनकि तीन दिनपछि मेरो विदेशको चौथो यात्रा तय भइसकेको थियो । अर्थात् चौथो पटक म इजरायल जाँदै थिएँ । त्यसैले मेरो मन र तनमा धेरै भिन्नताहरू आएका थिए (मेरी छोरीको बाबु, पृ. ६०) ।

आत्मपरक अभिव्यक्ति सिर्जनात्मक पक्षको एक आधार हो । यस सङ्ग्रहका प्रायः कथा आत्मपरक शैलीमा संस्मरणको भाकामा लेखिएका छन् ।

५.२.७ वर्गीय र वैयक्तिक चरित्रविधान

क्रान्तिको अन्तिम पातो शान्ति हो रहेछ । तिम्रा मान्छेले मान्छे मारेर दुनियाँ बदल्न खोजे, सके ? बाहुनका चुल्होमा रक्सी तताए । संस्कृत पढाउने र वाचन गर्नेलाई झुन्ड्याएर मारे । मन्दिरमा थुक्न र मुत्न लगाए । आखिरी शान्तिको बाटोमा नआई धरै भएन । शान्तिको बाटोमा आउनु नै भने यी सब किन ? तिमी जोसमा बाँच्थ्यौ, म होसमा । तिमी आवेगमा परिवर्तन खोज्ने, म चेतनामा । (सीमान्त जेनीहरू, पृ. १६७) ।

तर उनको संवाद हजुरआमासँग भन्दा खेतका गराहरूसँग हुन्थ्यो । रुखका घाँसे हाँगाहरूसँग हुन्थ्यो  । परतिर जङ्गलमा भएका बाँदरहरूसँग हुन्थ्यो । गोरुका जुवा र हलोका फालीसँग हुन्थ्यो । जोतारासँग हुन्थ्यो । खेतका गरा भत्केर सधैँ पर्खाल लाइरहनु पर्ने ढुङ्गाका पर्खालसँग हुन्थ्यो । धानका गाछी र खेतका आलीसँग हुन्थ्यो । उनी खेतका प्रत्येक गरामा दिनको एकपटक घुम्थे । खेताला खोज्न र तिनलाई काम लगाउन उनी हरपल लागिरहन्थे । (पानीको दियो, पृ. १३९)

कथाकार बाँस्कोटाका कथामा पात्रहरू थोरै देखिन्छन् । उनले प्रायः चरित्रप्रधान कथा नै लेखेका छन् । उनले गरीब, दीनहीन, निम्न वर्गका, समाजले कम महत्त्व दिने पात्रलाई अनुकूल र सम्पन्न अनि उच्च वर्गका पात्रलाई प्रतिकूल बनाएर प्रस्तुत गरेका छन् । मनोविज्ञानसम्मत चरित्रचित्रण गरिनाले उनका चरित्रहरू स्वाभाविक, जीवन्त र जीवनानुरूप भएका छन् । उनले समाजमा प्रकारका विभेदबाट प्रताडित र आफ्नै मानसिक कुण्ठाले ग्रस्त पात्र चयन गरेका छन् ।

५.२.८ स्वाभाविक परिवेश

मामाले उनन्तीस सालमा झापा झर्दा झापाको जलथलमा पाँच बिघा जग्गा किनेका थिए । काठ प्रशस्त भएकाले काठको त्यो भीमकाय काठले नै बेरा गरेर बनाइएको घर अहिले पनि आधुनिक देखिन्छ (सिउँडी, पृ. २४) ।

माओवादी आन्दोलन उत्कर्षमा थियो । २०६२ मङ्सिरमा दिल्लीमा माओवादी र सात दलकाबिच बाह्रबुँदे सहमति हुने हल्ला थियो तर माओवादी नामको भ्रूणसँग पनि मानिसको त्राश थियो । कसैले उनीहरूसँग तर्क गर्दैनथे (पहिली श्रीमतीलाई चिठी, पृ. ५२) ।

बाँस्कोटाका कथामा आन्तरिक र बाहृय दुवै परिवेशको निर्माण अत्यन्त स्वाभाविक किसिमले भएको पाइन्छ । व्यक्ति विशेषका मनमा समाजले कस्तो प्रभाव पार्छ, समाजको प्रभावबाट उम्कन व्यक्ति के कस्ता कृत्य गर्छ भनेर बाँस्कोटाले कथा रचेको देखिन्छ । उनले यस्तो परिवेशको स्वाभाविक निर्माण गरेर व्यक्ति विशेषका निराशा, एकाकीपन, अकिञ्चनता, मृत्युभय, उदासी, वेदना, करुणा, घृणा, कुण्ठा, साहस, हीनत्व आदि भाव व्यञ्जित गरेका छन् ।

५.२.९ मध्यम प्रयुक्तिको भाषाशैली

‘के को धैट् ? सरोगेट मदरजस्तै त हो नि ! अर्काको बच्चा अर्कै आमाले जन्माइदिने । यो त कानुनी कुरा पनि छैन र (भावना भर्सेस भावना, पृ.९२)  ?’

यसलाई कसैले प्याट्टै मारिदिए पनि हुन्थ्यो । मैले ‘दाइ नमस्कार’ भनेर हात जोड्नासाथ गोपी दाइले यस्तो तिक्तता पोख्तै थिए । त्यो तिक्तता चानचुने थिएन । नमस्कार, के भयो हौ दाजु ? कसलाई मार्ने कुरा गर्नु भएको ? डर पो लाग्छ तपाईँहरूसँग त (छोरो, पृ.११८) ।

‘पैसा पनि साट्नु थियो पसलमा ।’

‘किन ?’

‘मन्दिरमा जाँदा चाहिन्छ नि ।’

‘ए डल्ली, यो तिम्रो कान्छो फिजिक्स पढेको भनेर देउतालाई होच्याउँथ्यो । कसले यसको त्यो फिजिक्सको भूत झारिदेछन् ?’ बा कराउँदै हुनुहुन्थ्यो । म फटाफट मोटरसाइकलमा चढेर निस्केँ र लागेँ मङ्गलबारेतिर (धुलोको गलैँचा, पृ. १३७) ।

बाँस्कोटाको सबैभन्दा ठूलो पहिचन भनेको उनको भाषाशैली हो । उनको भाषाशैली काव्यात्मक छ । लयात्मकतायुक्त छोटा वाक्य छन् । अङ्ग्रेजी, हिन्दी र आगन्तुक शब्दबाट वाक्यगठन प्रभावित देखिन्छ । उनले भाषालाई अलङ्कृत र कलात्मक बनाएर कल्पनामुखी अतिरञ्जनापूर्ण आशय व्यक्त गर्ने भाषाको प्रयोग प्रायः गरेका छन् ।

६. निष्कर्ष

कथाकार बाँस्कोटा धनञ्जयको चित्रगुप्तको ल्यापटप कथासङ्ग्रहमा पन्ध्रओटा कथा रहेका छन् । अधिकांश यी कथामा जीवनवादी चिन्तन, स्वैरकल्पना, आत्मपरकता, साइबर संस्कृति, स्वभाविक परिवेशमा वर्गीय र वैयक्तिक विशेषतायुक्त चरित्र, सामाजिक मनोवैज्ञानिक र यथार्थपनको सौन्दर्य पक्षको वणर्न छ । अन्याय र अत्याचार विरुद्ध हटेर हैन डटेर सामना गर्नुपर्छ, सन्तानमा हैन आफैँमा तृप्ति खोज्नुपर्छ, अन्यत्र भौँतारिए अधुरो जीवन बाँच्नुपर्छ, अतिशय प्रेम र घृणा दुवै कसैको हितमा हुन्न, सच्चा जीवन जिउन नसक्नेहरू जीवनबाटै पलायन हुन्छन्, गुणी मानिसलाई लगाएको गुणले एक दिन सम्मान दिलाउँछ भन्नेजस्ता सामाजिक जीवनका गम्भीर व्यवहारिक कुराहरू पनि कथामा समेटिएका छन् ।

सङ्ग्रहभित्रका कथाका पात्र, तिनले बाँचेको समय, स्थान र भोगेका जीवनका जटिलता सबै नेपालीले देख्नु, भोग्नु र सुन्नुपर्ने कुरा हुन् । यसरी कथाकार बाँस्कोटा धनञ्जयले कथाको माध्यमबाट युगीन चेतना, सचेतता, समाजप्रतिको दायित्वबोध र आफ्नो मौलिक कथाकारितालाई प्रस्तुत गरेका छन् । विवेच्य कथाहरूको अध्ययन विश्लेषणबाट सोझासिधा जनताको साँघुरो मानसिकतालाई विकसित बनाउन कथाकार बाँस्कोटा धनञ्जय धेरै हदसम्म सफल रहेको पुष्टि हुन्छ ।

सन्दर्भसमग्री

कान्छा, धनकुटे (२०७७), ‘एक उत्तराधुनिक विनिर्माणवादी चिन्तक र लेखक, चित्रगुप्तको ल्यापटप       (बाहिरी पृष्ठ) ।

न्यौपाने, लेखनाथ (२०७७), चित्रगुप्तको ल्यापटपमाथि घोत्लिँदा, जनज्योति साप्ताहिक, वर्ष ४०, अङ्क ३३, फागुन-२ गते आइतबार, पृ. २ ।

बराल, कृष्णहरि (२०६९), कथा सिद्धान्त, काठमाडौँ – एकता बुक्स ।

बाँस्कोटा, धनञ्जय, (२०७७), चित्रगुप्तको ल्यापटप, झापा – जानुका बाँस्कोटा र रञ्जु बाँस्कोटा ।

भट्टराई, गोविन्दराज (२०७७), ‘नेपाली कथामा मनोवैज्ञानिक धारको निरन्तर विस्तार सन्दर्भ – धनञ्जयका कथा’, चित्रगुप्तको ल्यापटप (भूमिका) ।

हेमनाथ, अधिकारी (२०७७), ‘फरक शैली, फरक कथावस्तु भएको चित्रगुप्तको ल्यापटप’, चित्रगुप्तको ल्यापटप (बाहिरी पृष्ठ) ।