भारतीय नेपाली साहित्यको प्रारम्भिक पृष्ठभूमिमा सिर्जनात्मक विधाहरू केलाउँदा कविताले जत्ति अन्य विधाहरूले उस्तो मान्यता र महत्त्व नपाएको जस्तो देखिन्छ । सम्भवत: संरचनात्मक हिसाबले छोटो, प्रभावी र कलात्मकताको आधिक्यले अन्य विधाहरू रोचक र प्रयोगात्मक अधिक हुँदाहुँदै पनि कविता लेखनले अधिक परिचर्चा र प्रशस्ति पाएको होला । साहित्य र कलाको तादात्म्यताले हुनसक्छ साहित्यिक विधाको रूपमा कथाले पनि सुरुमा आफूलाई अभिव्यक्त हुने माध्यम लयात्मक गीत र कविताकै स्वरूप पायो । यही परम्परा भारतीय नेपाली साहित्यमा पनि पाउँछौँ । हाम्रा आरम्भिक आख्यानहरू लोकलय, भजन, सवाई, लहरीबाट नै प्रारम्भ भएको इतिहास दर्साउने ‘पहिलो पहर’ र ‘धूमिलपृष्ठहरू’ जस्ता कृति अब हामीसित छ । विदित भएकै कुरो हो कि साहित्य अकादमी नयाँ दिल्लीले अन्य भाषा-साहित्यमा झैँ भारतीय नेपाली भाषा-साहित्यको अभिलेखीकरण गर्ने कार्य पनि ऐतिहासिक तथ्याङ्क अनुरूप दुई कालखण्डभित्र छुट्टाएर हेर्ने गरेको पाइन्छ । यस वार्ताले पनि यही परिप्रेक्ष्यमा भारतीय नेपाली कथासाहित्यको दुई कालखण्डगत परम्परा, प्रवृत्ति र प्रविधिबारे सङ्क्षेप सर्वेक्षणको अभीष्ट लिएको छ ।

स्वतन्त्रतापूर्वका भारतीय नेपाली कथाहरू:-

गद्यस्वरूपमा भारतीय नेपाली कथाको आरम्भबिन्दु तोकिहाल्ने स्थितिमा छैन । यद्यपि सन् १८२० मा जे.ए. एटनले ‘ग्रामर अफ नेपलिज ल्याङ्ग्वेज’ प्रकाशनमा ल्याउँदा समाविष्ट ‘मुन्सीको तीन आहान’लाई यसको आरम्भिक बिन्दु मानिएको छ । ख्रिस्तान धर्मप्रचारकै निम्ति लेखिएका वा अनुवाद गरी प्रकाशित गरिएका भएपनि मिस गोलेन र पादरी गङ्गाप्रसाद प्रधानका कथारूपका रचनाहरू पनि यस दिशामा उल्लेखनीय छन् । तीमध्ये सैद भन्ये मान्छेको रेसमी बुनाइको कामको विषयमा (सन् १९०९), अलिबेन ओमेर नाउँ भयेको मान्छेको ऋणको विषयमा (सन् १९१०), नैटिङ्गेल अर्थात मीठो गीत गाउँने चराको विषय (सन् १९१२), बाँसको कथा (सन् १९१३),  हाँसको नराम्रो चल्लाको कथा (सन् १९१४), एक बटौरे साथी (सन् १९१६) आदि कथाहरू भने साधारण नीतिकथाहरू मानिएको अध्येता गुप्त प्रधानको थोक छ ।

जय ‘क्याक्टस’ (भारत)

यसबाहेक ईश्वर बरालको तोकअनुसार सन् १९१४ मा वनारसबाट प्रकाशित रतनसिंह गुरुङको औटपोष्टको कथा, रामसिंह गोर्खाको एउटा गरीब सार्कीकी छोरी, प्रेमसिंह आलेको करनीको फल विलाप लगायत सन् १९२६ मा प्रकाशित सूर्यविक्रम ज्ञवालीको ‘लाहुरे’ र ‘इष्ट’ छद्मनाममा गोर्खा संसारमा प्रकाशित देवीको बलि  र  वियोग जस्ता कथाहरू पनि  भारतीय नेपाली कथाको प्रारम्भिक चरणमा उल्लेखनीय छन् । केही विवाद र तर्कहरू भएपनि भारतीय नेपाली कथाको मौलिक र आधुनिक कथाको प्रारम्भ भने सन् १९२७ मा  गोर्खा संसारमै प्रकाशित रूपनारायण सिंहको अन्नपूर्णाबाटै भएको मान्ने साहित्यिक विद्वानहरू अधिक छन् । सन् १९०१ देखि गोर्खे खबर कागत, सन् १९१८ देखि चन्द्रिका, १९२२ देखि जन्मभुमि, १९२५ देखि गोर्खा संसार, १९३२ देखि नेपाली साहित्य सम्मेलन पत्रिका, लगायत नेबुला (१९३५), खोजी (१९४०), गोर्खा (१९४५), उत्थान (१९४७)ले भारतीय नेपाली कथाको  आरम्भिक विकाशमा यथेष्ट योगदान दिएको पाइन्छ । भारतीय माटोबाट पहिलो कथाकृतिको रूपमा साहित्य सम्मेलनद्वारा सन् १९३८मा कथाकुसुम प्रकाशित भएपनि यसमा भारतीय कथाकार एकैजना पनि परेको छैन । सन् १९५० मा रूपनारायण सिंहको कथानवरत्न प्रकाशनपूर्व एउटै पनि कथासङ्ग्रह नपाउनुले यो कुरा निश्चित हुन्छ कि स्वत्नत्रतापूर्व भारतीय नेपाली कथायात्रा पत्रिकाहरूमै सीमित थियो । अनुवाद, नीतिपरक वा उपदेशात्मक कथाहरू छोडी सामाजिक यथार्थका कथालेखन तीसको दशकबाट आरम्भ भएको देखिन्छ जसमा रूपनारायण सिंह, एस. एम. कार्की, शिवकुमार राई, जयनारायण गिरी, हायमनदास राई ‘किरात’ काजीमान कन्दङ्बा आदिको नाम लिन सकिन्छ जसले स्वतन्त्रोत्तर भारतीय नेपाली कथालाई गति, विकाश र उचाइ दिनका निम्ति गतिलो आधार खन्ने कार्य गरेका छन् ।

स्वतन्त्रोत्तर भारतीय नेपाली कथाहरू:-

स्वतन्त्रोत्तर भारतीय नेपाली कथा रूपनारायण सिंहको स्वच्छन्दतावादी कथाहरूबाट आरम्भ भएको देखिए पनि यसबेला सामाजिक यथार्थ र आदर्शवादी कथाहरू पनि लेखिएको पाइन्छन् भने केही युद्धकथा, मनोविश्लेषणात्मक तथा केही अस्तित्ववादी र विसङ्गतिवादी कथाहरूपनि लेखिएका पाइन्छ । यस कालखण्डको आरम्भ  कथानवरत्न लगायत पचासको दशकभरि निम्न कथाकृति प्रकाशित भएको पाइन्छ :- एस.एम. कार्कीको त्रिरत्न (१९५०), शिवकुमार राईको फ्रण्टियर (१९५१) र यात्री (१९५७), जयनारायण गिरीको कसिङ्गर (१९५१), हायमनदास राई ‘किरात’को चौकिदार (१९५२), अभागिनीको साथी ( १९५५) र बिनायो (१९५६), काजीमान कन्दङ्बाको आठकथा (१९५३), अच्छा राई ‘रसिक’को सप्तकोशी (१९५५), देउकुमारी सिन्हाको एकादशी (१९५४) अनि झझल्को (१९५८), नवीन्द्रप्रसादको उदगम् (१९५७), वसन्त कुमार राईको नवकुसुम (१९५७), एम.एम. गुरुङको घर संसार (१९५८) नरबहादुर दाहालको वर पीपल (१९५९) कृष्णसिंह मोक्तानको प्रेम, भ्रान्ति र सत्य (१९५९) ।

यसबाहेक ५० को दशकमा नयाँ कथाकारहरू पनि धेरै मात्रामा उदय भएको पाइन्छन् । जसले पछिल्लो दशकमा अझ सक्रियता र तत्परतासित कथा लेखनमा आफूलाई अघि ल्याउँदै कृति प्रकाशनतिर उन्मुख गरेका छन् । १९६० को दशकभरि पुस्तक प्रकाशित गर्ने मुख्य कथाकारहरू यस प्रकार छन्:- इन्द्रबहादुर राई , वसन्त कुमार राई, मोहन थापा, ऋषि, वीरविक्रम गुरुङ, विक्रम रूपासा, प्रेम योञ्जन, प्रेम थापा, दुर्गाप्रसाद श्रेष्ठ, भाइचन्द प्रधान, बी.बी. राणा, अग्नि डी. तामाङ, गुरूराज अधिकारी, चन्र्दप्रकाश नेपाली, प्रेम सिंह, मायादेवी सुब्बा, लक्ष्मीदास बस्नेत, समीरण छेत्री ‘प्रियदर्शी’, हर्क योञ्जन, प्रकाश कोविद, हरिशचन्द्र बम्जन, गनुसिंह गुरुङ, धनबीर पुरी, छत्रनरसिंह शाक्य, तुलसीराम शर्मा, नारदकुमार छेत्री, टी. आर. दियाली, राधिका राया, गाब्रियल राणा, दिल सुब्बा, हरिमदन गुरुङ, इन्द्र सुन्दास, काजी प्रधान, हरीश मोक्तान, जीतमान राई, मोहन बिरही, एडोन रोङ्गोङ, गोपाल गुरुङ, जी. छिरीङ, सूर्यकुमार श्रेष्ठ, नकुल काजी,  रामलाल अधिकारी, विनोदकुमार राई, दिलीप बिरही, ए.बी. गहतराज, जगत् छेत्री, धनहाङ सुब्बा, नन्द हाङ्खिम आदि छन् ।

६० को दशक भारतीय नेपाली कथा यात्राको एउटा महत्त्वपूर्ण मोड हो । यस दशकमा भारतीय नेपाली कथाकारहरूले एकातिर सामाजिक यथार्थ बोकेका प्रभावकारी कथाहरू दिइरहेका थिए भने अर्कोतिर रोमान्टिकताको फुक्का उडान र भावुकताको गहिरो दहबाट तैरेर निस्कने प्रयास गर्दै केही प्रगतिशील चेतनाका कथाहरू अनि आयामिक आन्दोलनको घडेरीमा प्रयोगात्मक कथाहरू पनि लेखिरहेका थिए । ६० कै दशकका कथाकारहरूका नयाँ कथाकृतिहरू अनि थप नयाँ कथाकारहरूले ७० को दशकलाई प्रतिनिधित्व गर्दै कथा साहित्यलाई नयाँ उचाइ दिएका पाउँछौँ । तीमध्ये यी कथाकारहरू मुख्यरूपले स्मरणीय छन् जसले यस दशकमा नयाँ कृति साहित्य भण्डारमा थपे:- कुमार घिसिङ, खुशनारायण प्रधान, पूर्ण राई, उदय कुमार प्रधान, युवराज काफ्ले, के.बी. नेपाली, मणि राई, शरद् छेत्री, मोहन ठकुरी, आई.के. सिंह, जय धमाला, दिल साहनी, अर्जुन निरौला, बी.बी. लकान्द्री, ज्ञान सुतार, कृष्ण गिरी, दशरथ सुब्बा, हरिभक्त कटुवाल, माया ठकुरी, सानु लामा, हरिप्रसाद गोर्खा राई, पारसमणि प्रधान, निर्मल याद, दुर्गाप्रसाद अधिकारी, माटिल्डा राई, सरीता प्रधान, शङ्कर सुब्बा ‘फागो’, कमल चामलिङ, चन्द्र खालिङ, काजी प्रधान, सानुभाइ शर्मा, हस्त नेचाली आदि ।

७० को दशकका कथाहरू सरसर्ती हेर्दा परम्परा र प्रयोग सराबरी पाउँछौँ । केही अकथा लाग्ने निबन्धात्मक, संस्मरणात्मक औ मनोविश्लेषणात्मक कथाहरू लेखिए पनि कथाले मानव जीवन र सामाजिक यथार्थको धरातल छोडेको छैन । चियाबारी, कुलैनबारी औ ग्रामीण जीवनको यथार्थ पस्कने उपक्रमसितै कथाकारहरू वैश्विक पीडा, विसङ्गति र सङ्घर्षसित पनि साक्षात्कार भइरहेको पाइन्छ । यस दशकमा निम्नवर्गीय जीवन र केही क्रान्तिचेतका कथाहरू अधिक लेखिएका पाउँछौँ । एकाधिक पुराना र स्थापित कथाकारहरूकै कथा लेखनको निरन्तरता र आजका प्रसिद्ध र चर्चित कथाकारहरूको उदयसितै ८० को दशकमा निम्न कथाकारहरूका कृतिले नेपाली कथा लेखनलाई नयाँ घुम्ति र आयाम थप्दछ: गुप्त प्रधान, पूर्ण सुब्बा, विप्रश, प्रदीप गुरुङ, बी.एम. प्रधान, लव गाउँले, एम.एम. गुरुङ, माधव बुढाथोकी, वीरविक्रम गुरुङ, जगत् छेत्री, माया ठकुरी, लोकनाथ उपाध्याय चापागाईं, मोहन ठकुरी, सुरेश राई, कितापसिंह राई, आई.के. सिंह, लीलबहादुर छेत्री, कमला खप्तावली, विन्द्या सुब्बा, पूर्णबहादुर विष्ट, एस.एन. छेत्री, कर्ण थामी, लक्षमण बोहरा, जय धमला, शरद् छेत्री, पूर्ण राई, टेकबहादुर गुरुङ ‘तामी’, धनबीर पुरी, भीम ‘सन्तोष’,आर्य लामिछाने, खडगराज गिरी, मणिकुमार प्रधान, रूद्रमणि प्रधान, सरला राई, शिवकुमार राई, समीरण छेत्री ‘प्रियदर्शी’, महानन्द पौड्याल, श्रीनारायण प्रधान, इन्द्रबहादुर राई, गहर सुब्बा ‘उदासी’ शरण सुब्बा आदि ।

८० को दशक भारतीय नेपाली साहित्यमा धेरै नयाँ प्रयोग र प्रवृत्तिहरू प्रविष्ट भएको पाउँछौँ । एकातिर पारम्परिक कथाहरूमा पनि नयाँ विषय, विचार र मुद्दाले स्थान लिइरहेका थिए भने अर्कोतिर कथाको शैली, शिल्प र संरचनामा नयाँ चेतको आगमन भइरहेको पाउँछौँ । साहित्यमहारथी इन्द्रबहादुर राईले यसै दशकमा ‘लीला-लेखन’को उद्घोषणा कथाकृति ‘कठपुतलीको मन’बाट गरेका हुन् । विनिर्माणको उत्तराधुनिक सञ्चेतना, विधाभञ्जनात्मक शिल्प र पुनर्लेखन शैली जस्ता नयाँ संरचनाले भारतीय नेपाली साहित्यमा प्रविष्टि पायो । त्यही नयाँ बान्की र चेतनाले ९० को दशकमा निरन्तरता लिएका देख्छौँ । यस दशकमा निम्न कथाकारहरूका कथाकृति पाउनसक्छौँ : महानन्द पौड्याल, सानु लामा, के.बी. नेपाली, सूर्यकुमार सुब्बा, भीम दाहाल, जगत् छेत्री, खडगराज गिरी, छिरीङ पाञ्जो शेर्पा, बेनेडिक्ट बी.बी. राई, मायादेवी योञ्जन, भीम ‘सन्तोष’, सञ्जय विष्ट, बी.बी. लकान्द्री, उदय थुलुङ, दिनेश खाती, पूर्ण राई, गुप्त प्रधान, समीरण छेत्री ‘प्रियदर्शी’, इन्द्रबहादुर गुरुङ, शिवकुमार राई, अनमोल थापा, रण्जीत सुब्बा, उपमान वस्नेत, केदार गुरुङ, कमला राई ‘आँसु’, प्रवीण राई ‘जुमेली’, थीरुप्रसाद नेपाल, प्रेम प्रधान, शरद् छेत्री, विष्णु शर्मा अधिकारी, सलोन कार्थक, मणिकुमार सुब्बा, राधाकृष्ण शर्मा, गहर ‘उदासी’, सम्पूर्णा राई, लक्ष्मीप्रसाद गुरुङ, बेनसिंह राई, जी.आर. खुलाल, विनोद प्रधान ‘सोरकी’, हरिश मोक्तान, कर्ण थामी, इन्द्रबहादुर छेत्री, विक्रमवीर थापा, चुनिलाल घिमिरे, रामलाल अधिकारी, भगीरथ लोहार, सुधा राई, टी.बी. चन्द्र सुब्बा, दलमान डी. गुरुङ, प्रणय लामिछाने, सुवास सोताङ, इन्द्रमणि दर्नाल, रामबहादुर राई, धन ‘निर्दोष’ सुब्बा, लक्खीदेवी सुन्दास, विजयकुमार सुब्बा, आशारानी राई आदि ।

९० को दशकका कथाहरूको वैचारिक परिधिको विस्तृति र शिल्पगत विविधता उल्लेखनीय छ । फ्रायडीय, मनोविश्लेषण, अस्तित्ववादी चेतनाको तिक्खर भाव र वैश्विक सङ्घटनाका प्रभावमा सिर्जित उदासीनता, मनोविकार तथा गुमाउँदै गएको मानवीयताको चिन्ता यस दशकका कथाहरूले लेखेका पाउँछौँ । ‘सङ्क्रमण लेखन’ सितै युवाकथाकार सञ्जय बिष्ट, उदय थुलुङ, प्रवीण राई ‘जुमेली’ आदिको उदय उल्लेखनीय मान्न सकिन्छ । नयाँ सहश्राब्दीको आरम्भसितै भारतीय नेपाली कथाले समकालीनताको उज्यालोमा आफ्नो अनुहार स्पष्ट पार्दै विविधताको स्वरूपमा थप नयाँ-नयाँ वान्कीसित कथालेखन आरम्भ हुँदछ । स्थापित तथा नवहस्ताक्षरहरूका नयाँ कथाकृतिहरू २००० को दशकभरिमा मनग्गे पाउँछौँ । ती कथाकारहरू हुन् : थीरूप्रसाद नेपाल, शान्ति छेत्री, भविलाल लामिछाने, हायमनदास राई ‘किरात’, विरभद्र कार्कीढोली, लक्ष्मी कालिकोटे, कमला राई ‘आँसु’, प्रदीप गुरुङ, प्रवीण राई ‘जुमेली’, गौरी नेम्बाङ, चन्द्र शर्मा, भानु खवास, एम.एस. खान, प्रकाश हाङ्खिम, विष्णु शर्मा नेउपाने, ध्रुव लोहागण, मायादेवी र मनोज योञ्जन, निमा ‘निची’ शेर्पा, सिद्धार्थ राई, गुप्त प्रधान, माधव बुढाथोकी, गुरूभक्त धिताल, विनोद प्रधान ‘सोरकी’, बद्रीनारायण प्रधान, गोबरधन बाँस्तोला, देवमान लिम्बू, शरद् छेत्री, विन्द्या सुब्बा, डेशल राई, गीता लिम्बू, वसन्त कुमार राई, उदय थुलुङ, पूर्ण सुब्बा, दलमान मुखिया ‘पीर’, मणिप्रसाद राई, धनहाङ सुब्बा, भीम ‘सन्तोष’, रणजीत सुब्बा, जलन, धनबीर पुरी, कालूसिंह रनपहेंली, टेकबहादुर गुरुङ, ‘तामी’, जीतबहादुर सुनार, एम.एस. खान, भानु छेत्री, रोबिन राई ‘नेचाली’, असीत राई, हेमन्तलता, रामबहादुर राई, माटिल्डा राई, हरिप्रसाद सिंह, मणिकुमार सुब्बा, श्रीनारायण प्रधान, शङ्कर प्रधान, दलमान डी. गुरुङ, देवकुकार राई ‘जुमेली’, खडगराज गिरी, गङ्गा कप्तान, सुमित्रा अविरल, सुरज धड्कन, आई.के. सिंह, राजबहादुर राई, समीरण छेत्री ‘प्रियदर्शी’, गोपीचन्द्र प्रधान, डा. शान्ति थापा, साङ्मू लेप्चा, कमल चामलिङ, कुमार चामलिङ, रूद्र पौड्याल, पदमबहादुर राई, सञ्जय विष्ट, छिरीङ ‘पाञ्जो’ शेर्पा, मिङ लिवाङ, केदार गुरुङ, भगीरथ रावत, प्रवीण राई ‘जुमेली’, सानु लामा, उदय थुलुङ, नीना राई, निरज ‘अयोग्य’, नीता राई, समीर राई ‘शान्ति’, भूपेन गदाइली,राजेन्द्र ढकाल, पीर्थ तोर्दे, आदि हुन् ।

२००० को दशकका कथाहरू अध्ययन गर्दा कथाको संरचनात्मक र विषय वैविध्यता व्यापक र गहन पाउँनसक्छौँ । कथ्य शैलीमा आएको नवीन चेतना र विषयगत व्यापकता यस दशकको महत्त्वपूर्ण उपलब्धि मान्नसकिन्छ ।यता २०१० देखि यता कथा लेखनमा युवा पुस्ताहरूको सचेत प्रयोगात्मक कथालेखन र थप नयाँ-नयाँ विषयहरूका समाविष्टले कथाका पाठकहरूले नयाँ स्वादका कथाहरू पठन गर्ने सुअवसर पाइरहेका छन् । अग्रजहरूका पारम्परिक र केही प्रयगात्मक कथाहरूसितै निम्न कथाकारहरूका कथाकृति यस दशकको आजको मितिसम्म पाइरहेका छौँ :- गुप्त प्रधान, शरद् छेत्री, एम ‘पथिक’, विन्द्या सुब्बा, कालुसिंह रनपहेँली, डा. जीवन नामदुङ, नन्द हाङ्खिम, सतीश रसाइली, वसन्त राई, मदन खड्का, शङ्कर प्रधान, निरङ्कर थापा,  ध्रुव चौहान, पवन राई ‘नामदुङ’, एम. एस. खान, प्रदीप गुरुङ, गौरी नेम्बाङ, सञ्जय बिष्ट, राज बहादुर राई, शमशेर अली, सुरज ‘धडकन’ निरज थापा, श्रीनारायण प्रधान, नवीन पतझड ‘सिलास’, प्रेम गुरुङ, हरीश मोक्तान अल्लरे, राजेन मोक्तान,  भीम धमला, बी.योञ्जन, छुदेन काविमो, युवा बराल, खडगराज गिरी, राजेन्द्र ढकाल, कुवेर प्रधान, सागर छेत्री रायमाझी, विमल काफ्ले, मोहन पी. दाहाल, माधव बुढाथोकी, उदय सुब्बा ‘गोर्खा’, भगीरथ रावत, उषा शर्मा, कमल भण्डारी, कैलाश गुरुङ, सोनाम छिरीङ, राहुल राई ‘बोगिको’, मणिकुमार सुब्बा, कमल चामलिङ, राजेन्द्र ढकाल, खुसेन्द्र राई, देव भण्डारी, रीता ठकुरी, साङ्मू लेप्चा, सञ्जीव छेत्री, प्रकाश हाङखिम, नूरन राई ‘जुदू’, विनिता छेत्री, सन्ध्या आचार्य, कोमल सुब्बा आदि उल्लेखनीय छन् ।

निष्कर्ष:

भारतीय नेपाली कथा लेखनको तोक सय वर्षको भनिए पनि आजको मितिसम्म हेर्दा लगभग कृति प्रकाशनको हिसाबले भने १९५० देखि २०२० लाई हेर्दा लगभग ७० वर्षको यात्रा तय गरेको देखिन्छ । यस आलेखमा केवल कृति प्रकाशनमा ल्याएका कथाकारहरूको मात्र नामोल्लेख भएको भए पनि कति कथाकारहरूले विभिन्न समयमा उत्कृष्ट कथाहरू दिएका छन् । जसमध्ये प्रेम थापा, गाब्रियल राणा, सुखनम, हरिप्रसाद राई गोर्खा, डा. त्रिलोक राई, चन्द्रवीर प्रधान, रणजीत सुब्बा, बल देवान आदिका कथाहरूले डा. जीवन नामदुङ, प्रा. सुजातारानी राई र मननारायण प्रधान जस्ता कुशल सम्पादकहरूको प्रयत्नमा २००० को दशकभरिमा प्रकाशनको उज्यालो देख्ने सौभाग्य प्राप्त गरेका छन् । यस दिशामा विभिन्न समयमा प्रकाशित ‘हाम्रो कथा’ जस्ता कथाप्रधान पत्रिका, दैनिक, मासिक तथा समसामयिक पत्र-पत्रिकाहरूको योगदान स्मरणीय  छ । यसबाहेक पत्रिकाहरूका कथा विशेषाङ्क र सम्मेलन कथा सङ्ग्रह (सम्पादकगण- तुलसी ‘अपतन’, लक्खिदेवी सुन्दास र जगत् छेत्री) दार्जीलिङका कथा र कथाकार (सम्पादक- राजनारायण प्रधान), नेपाली कथा यात्रा (सम्पादक- रामलाल अधिकारी), भारतीय नेपाली कथा (सम्पादक- दयाराम श्रेष्ठ), कथा सागर (सम्पादक- घनश्याम नेपाल), आधुनिक भारतीय नेपाली कथा (सम्पादक- अविनाश श्रेष्ठ), भारतेली नेपाली कथा (सम्पादक- डा. लक्खीदेवी सुन्दास), स्वतन्त्रोत्तर कालका नेपाली कथाहरू (सम्पादक- डा. जीवन नामदुङ) आदि ग्रन्थाकारका कथासङ्ग्रहहरू पनि उल्लेखनीय छन् ।

डा. जीवन नामदुङको विचारमा प्रगतिवाद, नवस्वच्छन्दवाद, यथार्थवाद, अतियथार्थवाद, प्रयोगवाद, फ्रायडवाद, नारीवाद जस्ता प्रवृत्तिहरू स्वतन्त्रोत्तर भारतीय नेपाली कथालेखनको आधारभूत तत्त्वहरू हुन् तर २०१० को दशक यता भारतीय नेपाली कथाले युद्धकथा, भूतप्रेत, समलिङ्गी, हत्या-अपराध, अपाङ्गता, मनोरोगी, कौटुम्बिक यौनव्यभिचार जस्ता सिमान्त पात्र र विषयहरूसमेत लेखनमा उठाउन थालेको देखिन्छ । यस हिसाबले नीतिकथाहरूबाट सुरु भएको भारतीय नेपाली कथाले महत्त्वपूर्ण घुम्ती र सोपान उक्लँदै प्रवृत्ति र प्रविधिगत परम्परा र नवीन प्रयोगहरूसित  बहुलवादी र सर्वसमावेशी अवधारणासहित यहाँसम्म आइपुगेको स्पष्ट छ ।