Chovar Blues Mobile Size

 

प्रा. डा. गोविन्दराज भट्टराई वैश्विक परिप्रेक्षको समकालीन नेपाली साहित्यमा अग्रपङ्क्तिमा गनिएका खुबै चर्चित साहित्यकार हुन । उनले अङ्ग्रेजी र नेपालीमा गरेको सिर्जना विस्तृत फाँटमा, विभिन्न विधाहरूमा छरिएको हुनाले तिनको मूल्याङ्कन गर्न सजिलो छैन । नेपाली साहित्य जगत्मा उनी उत्तराधुनिक र डायास्पोरा साहित्यका अगुवा सर्जक र समालोचकका रूपमा औधी चर्चित प्रतिभा हुन् । त्यसैले हुनसक्छ, उनका लेखनका अन्य विधाहरू केही ओझेलमा परेका छन् अथवा तिनको त्यति चर्चा भएको छैन । डा. कुमार कोइराला र सूर्य लाकोजू सम्पादित साहित्यकार गोविन्दराज भट्टराई शीर्षकको बृहत् ग्रन्थमा भट्टराईका केही कृतिहरूको विश्लेषण-मूल्याङ्कन भए पनि त्यसमा उनका लेखनका सबै पाटाहरूलाई समेट्न सकिएको छैन । अनि के कस्ता  तत्त्वहरूले  साहित्यकार भट्टराईलाई अरू लेखकभन्दा बेग्लै पारेको छ त्यसको  रौँचिरा विश्लेषणका लागि पर्खिनुपर्ला । कुनै पनि लेखकको सही मूल्याङ्कनका लागि पर्खिनुपर्छ भनेर भट्टराईले नै उनको काव्यिक आन्दोलनको परिचयमा (पृ. १५६) आजको काँचो मूल्याङ्कन भविष्यमा उल्टिन सक्ने कुरा भनेका छन् ।

इकोराइटिङ गोविन्दराज भटराईको लेखनको एउटा प्रमुख विशेषता हो । उनका कृतिहरूमा विशेष गरी नियात्रा र निबन्ध ग्रन्थहरूलाई इकोराइटिङका नमूनाका रूपमा लिन सकिन्छ । भट्टराईको मास्टरपिस कृति  उत्तरआधुनिक विमर्शमा सिर्जनाको नयाँ केन्द्र मानवेतर जगत् भनेर इकोराइटिङको बारेमा सिङ्गो अध्याय नै छुट्टै राखिएको छ ।

मान्छे जीवश्रेष्ठ प्राणी हो । जीवश्रेष्ठ भनेको अरू जीवहरूको हक खोसेर उनीहरूलाई अत्याचार गरेर मोज गर्नु होइन । जीव होस् वा जड, पृथ्वीका सबै तत्त्वहरूको संरक्षण गर्नु जीवश्रेष्ठ प्राणी हुनाको नाताले मान्छेको परम कर्तव्य हो तर अविवेकी मान्छेले आफ्नो भौतिक सुख सुविधाका लागि विज्ञान र प्रयुक्तिको नाममा नानाथरिका सङ्कटलाई निम्त्याएको छ । ओजन लेयरमा ठुला ठुला प्वाल पर्नाले त्यसबाट सूर्यको विनाशकारी आल्ट्राभायोलेट रश्मि छिरेर पृथ्वीको जीवजगत्लाई खतरामा पारेको छ भने ग्लोबल वार्मिङले गर्दा मेरुप्रदेशको हिउँ पग्लेर सबै जलमग्न हुने डर छ । मान्छेको भौतिक सुख र चाहनाले पृथ्वीलाई नै विध्वस्त पार्ने डरले त्रस्त छन् सबै । युवल नोवा हरारीले उनको सेपिएन्स भन्ने ग्रन्थमा मान्छेलाई ठाडै  इकोलोजीको सन्त्रास भनेका छन् ।  यतिखेर ग्रेटा थुनबर्ग नामकी किशोरी पर्यावरण एक्टिभिस्ट सारा विश्वको दृष्टि आकर्षण गर्न सफल भएकी छिन् । साहित्यकार भनेको जीवश्रेष्ठ मान्छेमा पनि श्रेष्ठ, बुद्धिजीवी कहलाउँछ । त्यसैले पर्यावरणको सुरक्षामा लेखकको ठूलो उत्तरदायित्व हुन्छ । पर्यावरणको संरक्षण गर्ने ठेक्का हामीले लिएका छैनौँ भनेर लेखक भाग्न पाउँदैनन् । पृथ्वी नै रहेन भने केका लागि, कसका लागि साहित्य लेख्ने ? डा. भट्टराईले लेखकीय जिम्मेवारी राम्रोसँग बुझेका छन् अनि इकोराइटिङलाई समातेका छन् ।  त्यसैले उनी लेख्छन् —–

जैविक विविधताको ह्रास, ओजन तह विनाश, ऊर्जाको अन्त्य, आणविक ऊर्जाको निर्माण आदिले गर्द विश्वभरि मौसममा आएका परिवर्तन खतराका सङ्केत भएका छन् । वातावरणीय सन्तुलन बिग्रेर त्यसको असर विश्वव्यापी भएको छ । यस्ता कुराको चिन्ताले जीवनको भित्री तहसम्म छोएर झस्काउन थालेपछि साहित्य कला संस्कृतिको अन्तःकरण पनि प्रभावित हुन्छ । त्यसै कारणले अहिले आएर वातावरणीय चिन्तन चेतनामूलक कार्यक्रममा सीमित नरहेर साहित्यमा र समालोचनामा पनि पुगेको छ(उत्तरआधुनिक विमर्श. पृ. २०३) ।

ज्ञानबहादुर छेत्री (असम, भारत)

प्राकृतिक स्रोतलाई रित्याउने गरी अत्यधिक उपभोग गर्नु, रित्तिने गरी माछा मार्नु, जङ्गलका चरा मारेर सिध्याउनु, पशुप्राणीको सिकार गर्नु, खानि खन्दै पहिरो लडाउनु, जङ्गललाई साफ गर्नु—गम्भीर चिन्ताका विषय हुन् । पशुपालनका परम्परित विधि हराएपछि, कृषिमा नयाँ प्रविधिले प्रवेश गरेपछि धेरै नोक्सान हुन थालेको छ । यी कुराको विरोध गर्नु वा रोक्नु नै पर्यावरणवादको अभीष्ट लक्ष्य हो । परिवृत्तीय साहित्यमा र तिनको समालोचनामा तिनै कुरा हुन्छन भनेर भट्टराईले विषयलाई छर्लङ्ग पारेका छन् । फेरि इकोराइटिङलाई छवटा दृष्टिकोणले हेरिन्छ भन्ने कुरा पनि भट्टराईको ग्रन्थमा उल्लेख छ । ती हुन्—

  1. इकोलोजी । यसमा इकोसिस्टम, इकोलोजिकल निच र फुड चेनका हाँगा छन् ।
  2. मानवकेन्द्री तथा पर्यावरणकेन्द्री
  3. इकोफेमिनिजम
  4. प्रकृतिको महत्त्व
  5. ग्राम्यता र अप्रदूषित परिवेश र
  6. रोमान्टिक पन

नेपालीमा परिवृत्तीय साहित्यको सन्दर्भमा कुरा गर्दै गोविन्दराज भट्टराईले अमर नेम्बाङ, लेखनाथ पौड्याल, ध्रुवचन्द्र गौतम, मोहन कोइराला आदि केही अग्रज र केही समकालीन सर्जकको उल्लेख गरेका छन् । तिनैले देखाएको गोरेटो पछ्याए पनि नेपाली भाषामा परिवृत्तीय साहित्य र समालोचनाको पक्की सडक स्वरूप छुट्टै पहिचान बनाइदिने श्रेय भने लेखक भट्टराईलाई जान्छ ।

यस लेखमा मिर्मिरेमा दश पाइला शीर्षकको निबन्धसङ्ग्रहमा लेखक भट्टराईले नेपाल र नेपाली भाषाको सन्दर्भमा कहाँ कसरी इकोराइटिङको प्रयोग गरेका छन् त्यस विषयमा एउटा सानो अध्ययन गर्ने जमर्को गरिएको छ ।

मिर्मिरेमा दश पाइला । २०७० मा ओरिएन्टल पब्लिकेशनबाट प्रकाशित यस सङ्ग्रहलाई  लेखकले दश पाइला भने पनि यसमा एघारवटा निबन्ध समेटिएका छन् । पहिलेका दशवटा निबन्धमा नेपालका दशवटा जिल्लामा गरिएका यात्राको रोचक वर्णन छ भने एघारौँ निबन्ध यात्रा साहित्यको सिद्धान्त, र नेपाली परम्परालाई समेटेर लेखिएको इतिहास हो । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विधागत रूपमा नियात्रा साहित्यको छुट्टै अस्तित्वलाई नकार्दै यात्रा साहित्य कुनै पनि विधामा लेख्न सकिने कुरा लेखकले बताएका छन् । साथै यात्रा गरिएका ठाउँको ऐतिहासिक महत्त्व अथवा आफन्तहरूसँग भेटघाटको वर्णन मात्रले साहित्य हुँदैन भन्ने उनको स्पष्ट मत रहेको देखिन्छ । कलाले सिँगारिएको शैली र लेखकीय अन्तर्दृष्टि छैन भने त्यो भलै य़ात्रा वृतान्त होला तर यात्रा साहित्य हुँदैन ।

पुस्तकको शीर्षक बारेमा लेखक भन्छन्—

अब चाहिँ यो देशमा चेतनाको उज्यालो झुल्किन्छ भन्ने सुनिश्चित छ । अब प्रजातन्त्र भनौ, व्यक्ति स्वतन्त्रताको महत्त्व स्थापित होला भन्ने भएको छ । त्यसैले यी रचनाले मिर्मिरेलाई सङ्केत गर्नेछन् । भोलिको सूर्योदयतर्फ सङ्केत गर्नेछ । (पृ.२६७) नेल्टाको अध्यक्षका रूपमा लेखकले देशका विभिन्न जिल्लाहरूमा भ्रमण गरेका थिए । यसरी देश दर्शन गरेको अनुभव मिर्मिरेमा दश पाइलामा अभिव्यक्त गरेका छन् ।

पहिलो निबन्ध छ रामेछाप पुगेर हर्षित भयौ (मन्थली रिभिजिटेड) ।

यस निबन्धमा लेखकले रामेछापको भ्रमण गरेको वर्णन पाइन्छ । नेपाल र नेपाली साहित्यका लागि मरिमेट्ने लेखक अङ्ग्रेजी भाषा-साहित्यका खातिर नेल्टाको अध्यक्ष भएर काम गर्नुलाई विरोधाभास ठान्छन् तर देशको समुन्नतिका लागि देशले चाहेको हुँदा उनी अङ्ग्रेजीको प्रचारप्रसारमा लागिपरेका छन् । यस निबन्धमा अरू धेरै महत्त्वपूर्ण कुराका साथै लेखकको पर्यावरण सचेतताका सुन्दर नमूना पाइन्छन् । जस्तै—–

स्याल रोकिएको निकैबेर पछि मात्र भाले बास्न थाल्यो । रात सिद्धिएको पूर्वसङ्केत दिने प्राचीन लय । सृष्टिको आरम्भदेखि प्रकृतिले वनस्पति, वायु, प्रकाश, नदी जस्ता तत्त्वमा पशुप्राणीमा भरेको एउटा आदिम लय छ । आज सहरले निल्यो यी सारा लयहरू । (पृ. ११)

प्रकृतिको लयमा नाच्न गाउन रमाउने लेखक भट्टराई रामेछाप पुग्दा त्यो आदिम लयलाई सहरी अजिङ्गरले निलिसकेको पाउँछन् । त्यो देखेर उनी उदास हुन्छन् ।

२. नभन्देऊ मायालु फिदिमबजारमा— यो सङ्कलनको दोस्रो निबन्ध हो । पाँचथर, फिदिमबजारसम्मको यात्रा वर्णन भएको यो इकोराइटिङको अनुपम निबन्ध हो । यस निबन्धमा लेखक भट्टराई कहिले काँडाले कोरेका आफ्ना हात हेर्छन्, कहिले वृक्षले बोलाइदिए हुन्थ्यो भन्छन् । प्रकृतिसँगको निकटता, स्वच्छता र न्यानोपन मनमा उर्लेर आउनाले उनी  नोस्टाल्जिक हुन्छन् । आफ्नो बाल्यकाल पहाडको निर्मल स्वच्छ वातावरणमा गुजारेका लेखक भटराई राजधानी सहर काठमाडौँमा बस्छन् । कीर्तिपुरको ट्याङ्गालाफाँटमा आफ्नै घर बनाएर बसेको पनि पच्चिस वर्ष पुग्यो । पचास वर्षदेखि काठमाडौँमा बसोबास गरे पनि उनी भाङबारीबाट कीर्तिपुरको स्वगृह फर्कँदा ब्याक होम भन्न सक्तैनन् । उनी आफूलाई डायास्पोरा ठान्छन् काठमाडौँमा— शरीर एकातिर, मन अर्कातिर । टोड माइकल सन्त पियेरे साइप्रेस स्ट्रीट (१) भन्ने कवितामा साइप्रेस रुखका ठाउँमा सिमन्टीका खम्बामात्र देखेर चिन्तित हुन्छन् ।  भट्टराईले पनि वन मासिएको देखेर  यसरी असन्तुष्टि व्यक्त गरेका छन् ।

सिमन्टीको जङ्गलमा पो

पुरिएको रहेछु

निसास्सिएर, मरेर

प्राण सिद्धिए पनि

शरीर मात्रै केवल

मन यतैकतैको

भिरपाखामा अल्झाइराखेर (पृ. २९)

३. बायाँटारीमा एक सुनौलो साँझ (स्याङ्जा रिभिजिटेड) निबन्धमा लेखनाथ पाठकसँग आँधीखोला साहित्य सदनमा भाग लिन जाँदा लेखक त्यस ठाउँको प्रकृतिसँग बात मार्न पुग्छन् । पाठक आमाले रोपेको पारिजातको फूललाई हेर्छन् र भावुक हुन्छन् भने लेखक गाउँमा प्रकृतिमाथि आक्रमण भएको देखेर चिन्तित भएका छन् । उनले देखेको त्यतिखेरको बायाँटारीको विम्ब यसप्रकार छ—

दाहिनेतिरको अग्लो पाखो उजाड थियो, रुखहरू सिलिङबिलिङ, डाँडाको बिचैबाट चिरेर सेतो पटुकाजस्तो बाटो कुनै गाउँतिर उकालिन्थ्यो ।  त्यो मोटरट्रयाक धुलाम्मे देखिन्थ्यो, प्रकृतिमाथि मानिसको यस्तो आक्रमण देखेर उनीहरूको मन सायद प्रकृति बचाऊतिर थियो । (पृ. ५५)

यस लेखमा अरू निकैजना कविका कविताको महेन्द्र लामिछानेको विकासको नाममा विनाशको खोजी, सिरुटार बन्ने पो हो कि धान फल्ने बेँसी भन्ने इकोराइटिङका कुरा लेखकले खोजेर निकालेका छन् । उनले राम्ररी बुझेका छन् पर्यावरणको संरक्षण एक्लै गर्ने विषय होइन, यो सबैको सहयोगमा मात्र सम्भव हुने साझा विषय हो । त्यसैले उनी अरू लेखकलाई पनि इकोराइटिङमा प्रोत्साहित गर्दछन् । यसै सन्दर्भमा बेलायतको फोक्स्टन निवासी कवि विजय हितानको इकोपोएट्रिमा उनको भूमिकालेखन महत्त्वपूर्ण देखिन्छ ।

४. ट्याङलादेखि वाङलासम्मको साहित्यिक यात्राको सम्झनामा भण्डारी लजमा जलको सङ्कट, लाम्खुट्टेको टोकाइ परनिर्भरतामा, असहायपनमा घिस्रिँदै गरेको ग्राम्य जीवन सबैलाई चिरफार गरेर ओल्टाइपल्टाइ देखाएका छन् । निबन्धको पहिलो वाक्य तिनाउँ नदी तरे पछि चुर हुँदै वाङलासम्मको वर्णनले इकोराइटिङलाई नै समातेको छ ।  यसमा प्रकृतिको नजिकमा रहेका पहाडी गाँउको सुन्दर चित्रण पाइन्छ । पहाडका ठाउँ भए पनि त्यहाँ ग्राम्य परिवेश नदेख्ता लेखक चिन्तित भएका छन् । दुर्गम प्रदेशमा मान्छेभन्दा यन्त्र अघि छन् । यी रुखापाखा खेतबारी र पातलो वन्यताप्रेमले अनादि कालदेखि आकर्षित नेपालीहरू, यिनै भूभागमा आफ्ना कर्म र भाग्य देखेर प्रतीक्षा गरिरहेका, केही नाजुक सपना पाल्दै पर्खिरहेका । (पृ.८६) । यसरी गाउँमा विकासको नाउँमा धेरै परिवर्तन प्रत्यक्ष गर्छन लेखक ।

 

५. तिम्रो समाधिमा दुई थुँगा फूल

गोविन्दराज भट्टराईको इकोराइटिङको सर्वोत्कृष्ट नमुनाका रूपमा यस निबन्धलाई अघि सार्न सकिन्छ । यो लेख तुलनामूलक रूपमा अरू लेखभन्दा लामो पनि छ । सङ्खुवामा नेल्टाको शाखा खोल्ने क्रममा लेखकको तुम्लिङटारको भ्रमण कुनै एडभेन्चरजस्तै लाग्छ । जाँदा जाँदा उनी एउटा प्राचीन जङ्गलमा पुग्छन् । त्यो एउटा अलैँचीघारी थियो—- पातलको छानाले घाम ढाकेको, अलैँचीले भुईँ ढाकेको । अङ्ग्रेज कवि रबर्ट फ्रस्टले भनेको डार्क एन्ड डिप यही पो हो कि भनेर झुक्किन्छन् लेखक । यसै क्रममा लेखक एउटा समाधिको छेउमा पुग्छन् । त्यो एउटी किशोरीको समाधि रहेछ । वीरबहादुरका मुखबाट ती किशोरी माओवादी मिलिसिया थिइन् अनि आर्मीसँगको मुठभेडमा सहिद भएकी हुन् भन्ने सुनेर उनी भावुक बन्छन् । उनी किशारीको समाधिमा दुई थुँगा फूल चढाउँछन् । लेखकले यसै सिलसिलामा एमिलि डिकिन्सनको ह्वेन आइ एम डेड डिएरेस्ट कविताका केही हरफ स्मरण गरेका छन् ।

कस्तो विडम्बना, पर्यावरणलाई मासेर ल्याएको विकास देखेर गाउँवासी उत्फुल्लित छन्—–

हेर्नू सर, भर्खर डोजर लगाएर यो बाटो यति राम्रो भयो नत्र कति मुस्किल थियो, गाडी पास गर्नै नसकिने, इन्द्र ड्राइभरले यसो भन्दा लेखक खुसी हुन सकेनन् । उनले देखे डोजरले भित्तो कपेर, नङ्ग्र्य़ाएर कति रुख जरासँगै उत्तानो परेका, कति मर्किएका रातमाटे ढिस्का, फस्के ढुङ्गा, झारपात बाटामुनि डङ्गुर बनेका, जताततै भर्खरै कोतरिएको बाटो र डढेको वनस्पति । (पृ. ११४)

मानवेतर जीव वनस्पति र निर्जीव पहाडका ढिस्का, ढुङ्गा-माटोलाई पनि लेखकले जीवन्तता प्रदान गरेका छन् । नङ्ग्र्याएको, कोतरेको, मर्किएको आदि शब्दले लेखकले आफ्नै शरीरलाई कसैले दर्फऱ्याएर रक्ताम्मे पारेको आभास दिएका छन् ।

प्रकृतिमाथिको अकल्पनीय आक्रमण । प्रकृतिको मौलिक स्वरूपमा क्षय हुँदै छ, त्यहाँ विकास प्रवेश गर्दै छ, सँगै विनाश र कृत्रिमजगत् भित्रभित्र पहाड छेडेर पस्तै छ, तर मानिस झन् झन् प्रसन्न छ, आनन्दले उत्तेजित छ । लेखकले ठट्यौलीको पारामा तीखो व्यङ्ग्य छेडेका छन्— इन्द्र गुरुजी, यो कच्ची जङ्गली मार्गमा यन्त्रलाई दाउँदै छन्, छिट्टै यहाँबाट यी खच्चर सारा विस्थापित हुनेछन् ।  यान्त्रिक सभ्यताले विकास ल्य़ाएको देखेर सबै उत्सव मनाउँदै भन्छन्—हे बलशाली तिमी छिट्टै आऊ र भत्काइदेऊ । हामी तिम्रो पूजा गर्छौ (पृ ११७) ।

पाठकले बुझे पनि लेखकको तीखो व्यङ्ग्य इन्द्र ड्राइभरले बुझ्न सकेनन् ।

 

रेसुङ्गाको काखमा त्यो मध्यरात— यो निबन्ध पनि नेल्टा सम्मेलनमा गरिएको यात्रा निबन्ध हो । यो नेल्टा एडभेन्चरमा जाडोले काम्दै मध्यरातमा लेखक तम्घासको एभरग्रिन होटलमा पुगेको वर्णन छ । गिरिजाबाबु बसेको होटेल रहेछ त्यो । तानसेन सल्लेरी, माल्मुल, लघिवा, रिडी हुँदै गरेको भ्रमणमा ती स्थानहरूको नैसर्गिक रूपछटाको वर्णनका साथै गीतको मूर्च्छनाले पाठकलाई रुमानी मादकता दिन्छ ।

यस ठाउँमा पनि लेखकले विकासले संस्कृतिको विनाश गरेको देखे । उनले देखे, मान्छेहरू आ-आफ्ना गाउँमा विकास पुऱ्याउन हतारिएका छन् । उनले रामेछापमा सबै डाँडा चिरिएका देखे, सङ्खुवासभाको दृश्य अझ भयावह थियो । उसै गरी जोर्ते, स्य़ाङ्जा र तनहुँमा पनि कुनै डाँडा सद्दे थिएनन् ।

फेवाकिनारमा उठेको एक तरङ्गमा पोखरामा आयोजित एउटा सङ्गोष्ठीमा लेखकले कार्यपत्र पाठ गरेको अनि कतिपयले  प्रश्न गर्नुभन्दा कार्यपत्र प्रस्तोता लेखकलाई होच्याउने दुष्प्रयास गरेका रहेछन् । ती अचकल्टा ठेट्नालाई एकलव्यले वनमा उनलाई देखेर भुक्ने कुकुरका मुखमा काँड खाँदेझैँ  मुखभरिको बुजो लगाइदिएछन् । फेवाका किनारमा हल्लिँदै गरेका, ढल्नै लागेका बूढा रुखहरू थोत्रा विचारका प्रतिनिधिहरूलाई बौद्धिक प्रत्युत्तर थियो त्यो । एक तरङ्ग शीर्षकले नै सङ्केत गर्छ यो लेखले एउटा घटना वा दुर्घटनालाई मात्र छोएको छ । यो यस सङ्ग्रहको  सबैभन्दा छोटो निबन्ध हो, यसमा पर्यावरण भन्दा बौद्धिकता पाइन्छ ।

 

यस पछिको निबन्ध छ सोलुखुम्बुको छिरिङ नुरु शेर्पालाई यो उपहार । नुरु लेखकसँग  पत्रिकाको लागि लेख माग्न आएका थिए । तीनचार दिनको भित्र लेख दिनुपर्ने, लेखकले झर्किँदै र तर्किँदै म सक्दिन भन्दा हुने तर उनको व्यस्तताबारे अनभिज्ञ नुरुलाई लेखक भट्टराईले निराश पारेनन् ।

एउटा बहुभाषी कवि गोष्ठीमा भाग लिन सोलुखुम्बु पुग्दाको अनुभवलाई समेटेर तयार पारेको यात्रा निबन्ध दिएर उनले नुरुलाई खुसी पारे । यस लेखमा लेखकले अध्ययन गरेका कतिपय महत्त्वपूर्ण ग्रन्थहरूको उल्लेखले लेखको गरिमा बढाएको छ । उनले केही वर्षअघि सोलुको यात्रा गरेको वर्णन छ । सल्लेरी बजारमा पुग्दा लेखकले देखे त्यहाँ पनि विकासले प्रभाव विस्तार गर्न थालेको रहेछ । … आधुनिकता खनिरहेको सडक, जहाँ ट्रकहरू भर्खरै ओर्लेका थिए । एउटा युद्धविध्वस्त खण्डहरमा पुग्छन् उनी । यस लेखमा पनि भट्टराईको परिवृत्तीय सचेतता परिस्फुरण भएको छ ।

मेरो मनोजगत्को साङ्रिला—त्यो ताप्लेजुङ भन्ने निबन्ध लेखकको पाँचदिने ताप्लेजुङ भ्रमणको सेरोफेरोमा छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानको कार्यक्रम थियो । विद्वान् लेखकहरूको उक्तिले यो लेख जानकारीमूलक पनि छ । यसमा, जरा होटलमा बास बसेको साहित्यिक कार्यक्रममा भाग लिएको आदि कुरा वर्णन गरेका छन् साथै त्यस भेकका बाटा-घाटा, नदी-नाला, जङ्गल-पहाड आदि कुरामा ध्यान दिन बिर्सिँदैनन् । तलका हरफहरूले लेखकलाई प्रकृतिप्रेमीका रूपमा उभ्याएको छ ।

भीर र जङ्गल चिरेर बाटा खनिएझै सङ्लो प्रकृतिलाई कुरूप बनाएर विमानस्थल जन्मिएको रहेछ । यहाँसम्म विज्ञानले पाइला टेकेको देखेर म अति नै खिन्न भएँ अनि फेरि अतीतको सङ्लोदीतिर मनले टेके । (पृ २०९)

अतीतको सम्झना उर्लिएर आउँदा—च्याङथापुमा मेरो मन । च्याङथापुका उपज हुनाले लेखकको त्यस ठाउँप्रति विशेष आकर्षण रहेको छ । आफूले पढेको विद्यालयको हिरक जयन्तीमा मुख्य अतिथिका रूपमा पुग्नुलाई उनी जीवनको महत्त्वपूर्ण घटना ठान्दछन् । उडेर पुग्छन् लेखक च्याङथापु तर च्याङथापु धेरै बद्लिसकेको थियो, पहिलेको उनले खेलेको, उफ्रे कुदेको च्याङथापु त कता हराइसकेछ । उनका मनमा किञ्चित क्षोभ र चिन्ता हुन्छ । लेखकका शब्दमा–

यसपालि आउँदा च्याङ्थापुको भिन्न चित्र देखे यद्यपि महाकविले भनेझै मैदानको एकरसता जस्तो होइन रहेछ पहाड । यो पहाडमा डाँडाकाँडा उनै छन् । गल्छी, घाटी, नदी, ताल यथावत छन् । प्रकृति उसैगरी एकै आसनमा हाँसेकी लाखौँ वर्षपछि पनि यो अक्षय सौन्दर्य भण्डार, यो रहस्यमय वैचित्र्य र शीतलता यस्तै रहन्छ होला । तथापि यसपालि हेर्दा अघिका बाटाघाटा मेटिएका, धारा खोल्सा पँधेरा तर्किएका, पुरिएका, बरपिपल चौतारी भत्किएका अथवा हराएका देख्ता, हाटखौला, पाटीपौवा आदि नदेख्ता मनमा किञ्चित क्षोभ र चिन्ता लाग्यो । यसको कारण भने उन्नतिका नयाँ धर्सा कोर्दै लाँदा, बाटाघाटाका लागि पाखापर्वत फोर्दै लाँदा यसरी उही ठाउँ पनि चिन्नै नसकिने अर्कै पो भएछ !

आफ्नो बाल्यकालको पुरानो च्याङथापु यसरी चिन्नै नसकिने गरी फेरिएको देखेर लेखकको मन खिन्न, उदास हुन्छ । आफ्नो शैशव र बाबु आमा, साथी-सङ्गीहरूसँग बसेको, उफ्रे-कुदेको ठाउँ र घडेरीमा पुरेर लेखक नोस्टाल्जिक हुनपुग्छन् । उनका आँखा  आँसुले भिज्दछन् ।

त्यो हाम्रो पुण्यभूमिको पितामाताले टेकेको आँगनको माटो टीका लगाएर उभिएपछि आँसुले भिजेर हाम्रा गह टालिए, मनभरि रिँगटा चल्यो, तर पनि सम्भालिएर माथि उक्लियौ (पृ.२३७)

यसरी हेर्दा के देखिन्छ भने गोविन्दराज भट्टराईको यात्रा निबन्धसङ्ग्रह मिर्मिरेमा दश पाइलाका सबै निबन्धमा प्रकृति र परिवेशका कुरा नै पाइन्छन् अनि मानिसले प्राकृतिक वातावरणको विनाश गर्दा उनले चिन्ता व्यक्त गरेका छन् । यस निबन्धमा एउटा वा दुइटा गरेर उदाहरणका लागि उद्धृत गरिएको छ तर उनका निबन्धमा जताततै त्यस्ता वर्णन पाइन्छन् । भट्टराईका सबै निबन्धहरू नै प्रकृतिमा चुर्लुम्मै डुबेका इकोराइटिङ हुन, त्यसमा कुनै शङ्का छैन ।

An example of English eco-poem

Cypress Street

I took a stroll down Cypress Street

The hot sidewalk beneath my feet.

The one thing that stood out the most

Where trees once stood there were lampposts.

I had never seen so much concrete

No Cypress left on Cypress Street.

According to my Great Aunt Gem

There used to be a lot of them.

They cut them down. They took their wood

A treeless street is plum no good!

Just like a treeless neighborhood

So tell the Mayor next time they meet…

To change the name to Lamppost Street!

                                                                                        Todd-Michael St. Pierre