‘कठपुतली र अन्य एकाङ्कीहरू‘का नाटककार असम, लखिमपुरका धर्मेन्द्र उपाध्याय हुन् । यो कृति सन् २०२१ मा प्रकाशित भएको हो । यो कृतिअगावै उनले सन् २०२१ मा कवितासङ्ग्रह ‘ तिमी घामकी आमा‘ प्रकाशित गरी कविका रूपमा स्थापित भइसकेका छन् । उनका प्रकाशित कृति नाटक र कविता विधामा रहेता पनि निबन्ध, कथा पनि विभिन्न पत्र- पत्रिकामा छापिएका पाइन्छन् साथै उनमा पत्रिका सम्पादनको पनि अनुभव रहेको छ ।
यस कृतिको भित्री भागतिर पस्नुअगावै असममा नेपाली नाटकका बारे छोटकरीमा चर्चा अघि सार्न चाहन्छु । असममा नेपाली नाटकको थालनी हेर्दा धार्मिक पक्षलाई नै प्राधान्य दिनुपर्छ । नेपालीहरू धार्मिक भावना र धार्मिक ग्रन्थ परम्पराप्रति अधिक विश्वास राख्ने हुनाले नेपाली नाटकहरू दुर्गापूजा, वसन्त पञ्चमी आदि चाडहरूको थालनी गरी रामायण, महाभारत, हरिश्चन्द्रका कथाहरूमा आधारित मारुनी, लोकगाथा, बालुन, लोककलामा आधारित सँगिनी, छोरी- बुहारीको अन्तःकलहमा आधारित हुने गर्दथ्ये । चाडहरूको सुरुवात गरी सामुहिक रूपले उत्सव मनाउने परम्पराको थालनीपश्चात् असम प्रान्तमा जगद्गुरु शङ्कर देवको अङ्कीया नाटक, भाउनाहरू नाचघरमा हेर्न जाँदाजाँदै नेपालीहरूले पनि चाडपर्वमा सामूहिक रूपले नाटकहरूको प्रदर्शन गर्न थाले । यी नाटकहरू प्रारम्भिक समयमा धार्मिक, ऐतिहासिक नाटकहरू हुने गर्दथे । असमको विश्वनाथ जिल्लाअन्तर्गत बिहाली बटियामारीमा पण्डित हरिनारायण उपाध्याय विद्याभूषणको तत्परता र अगुवाइमा सर्वप्रथम सन् १९१९ मा ‘प्रबोध चन्द्रोदय‘ नाटक मञ्चन गरिएको तथ्य पाइन्छ । त्यसैगरी शोणितपुर जामुगुडीहाटको गमिरिपालमा सरस्वती थिएटर पार्टीद्वारा सन् १९२८ मा ‘ परशुरामको मातृहत्या ‘ नाटक मञ्चन हुन्छ । सन् १९१९मा असममा प्रारम्भ भएको नाट्य मञ्चन परम्परा आएको आजको मितिमा सय वर्ष नाघिसकेको छ । धार्मिक मान्यतामा आधारित नाटकहरूबाट सुरु भएको यस परम्परालाई आजको मितिमा आएर नयाँ शिल्प र शैलीमा रचना गर्न थालिएको छ । त्यसपछि बिहाली माजगाउँमा बाबु छबिलाल उपाध्याय, टङ्कनाथ उपाध्याय, गङ्गाधर खतिवडा, रामप्रसाद उपाध्यायका प्रयासमा सन् १९२८ मा ‘माजगाउँ थिएटर पार्टी‘ गठन भएको थियो । त्यस थिएटर पार्टीले आधुनिक गाजा-बाजा, राजकीय पोसाक, उन्नतमानको मञ्च र प्रेक्षागृह निर्माण गरेर सन् १९३० मा ‘ ‘प्रबोध चन्द्रोदय‘ , ‘वेणीसंहार‘ आदि नाटक मञ्चन गरेर आधुनिक नेपाली नाटकलाई गति प्रदान गरेको थियो ।
असममा नाटकसङ्ग्रहको पहिलो पुस्तकका रूपमा लीलबहादुर छेत्रीको ‘ दोबाटो‘ ( सन् १९६७) लाई मानिन्छ । त्यसैगरी पहिलो एकाङ्कीसङ्ग्रह हरिभक्त कटुवालको ‘ म मरेको छैन‘ (सन् १९६५) हो भन्ने तथ्य पाइन्छ । असमबाट प्रकाशित भएका एकाङ्कीसङ्ग्रह अनि एकाङ्कीकारहरूको सूची यसप्रकार छ-
हरिभक्त कटुवाल : म मरेको छैन- सन् १९६५, शेरमान थापा : पाँचपाते- सन् १९९८, पूर्णकुमार शर्मा : बालि दिउँला दियो हृदयमा तिम्रो- सन् २००१, परिक्रमा- सन् २००८, अमर शहीद, सन् २०१२, गुरुभक्त धिताल : निसाप- सन् २००३, इन्द्रकान्त कार्की : मेरा केही एकाङ्कीहरू – सन् २००६, रेवतीमोहन तिमसिना : थपिनीको बाख्रो – सन् २००७, नेत्र कट्टेल : दसैंको टीका- सन् २००७, डा. ढुण्डिराज उपाध्याय : यात्रा – सन् २००८, जगनिधि दाहाल : मान्छे च्याप्ने मसिन – सन् २०१०, कृष्णनील कार्की : भाग्यवान्- सन् २०१३, सत्यमेव जयते – सन् २०१५, लक्ष्मीकान्त शर्मा : फिलिङ्गो – सन् २०१३, राम उपाध्याय : ब्युटी पार्लर- सन् २०१५, दुर्गादत्त गौतम : आसन बने सिंहासन बन्छ – सन् २०१६, के. बी नेपाली : साइनो – सन् २०१८, मुक्तिप्रसाद उपाध्याय : गोर्खाको मडेल , सन् २०१८, रामलाल विश्वकर्मा : कन्यादान – सन् २०२१ ।
त्यसैगरी असमबाट प्रकाशित पूर्णाङ्क नाटकसङ्ग्रह र नाट्यकारहरूको सूची यस प्रकारको छ- लीलबहादुर क्षत्री : दोबाटो – सन् १९६७, के. बी नेपाली : सती गोमा- सन् १९८४, गुरुप्रसाद उपाध्याय : माटाको अभिशाप- सन् २०००, घरभित्र- सन् २००९, प्रेमसिंह सुवेदी : आम्रपाली – सन् २००२, घाम झुल्केपछि- सन् २००९, गोलीको निशान- सन् २००२, कण्ठयुद्ध- सन् २००४, सविता छेत्री : अधिकार – सन् २००५, मुक्ति उपाध्याय : अन्तर्प्रेरणा – सन् २००८, महिमा – सन् २०१९, राम उपाध्याय : दा नेकेट लेडी- सन् २०१०, तुलसी काफ्ले: बाबु बुढा हुनुभयो कसैले चिन्दैन -सन् २०११, महिपति निरौला : वीर सेनानी छविलाल बाबु- सन् २०१२, चिर्पटको चोट- सन् २०१९, भारती भण्डारी : लास- सन् २०१५, जिउँदो इतिहास- सन् २०१८, पृथ्वीविलास भट्टराई : गहना – सन् २०१६, विधवाको आँसु- सन् २०१८, पूर्णकुमार शर्मा : पाटेबाघ- सन् २०१६, रेवतीमोहन तिमसिना : बोक्सी – सन् २०१७, शशिकुमार शर्मा : जीवनतृष्णा – सन् २०१८, विनोद खनाल : रगतको साइनो – सन् २०२१, गरिबको आँसु- सन् २०२१ ।
अब हातमा लिएको पुस्तक सन्दर्भतिर हजुरको ध्यान केन्द्रित गर्न चाहन्छु । ‘कठपुतली र अन्य एकाङ्कीहरू‘मा ‘कठपुतली‘ पूर्णाङ्क नाटक हो भने अरू एकाङ्कीहरू हुन् । एकाङ्कीहरूमा ‘मृत्युभूमिमा जीवनको कोलाज‘, ‘ एर्को एउटा नाटक‘, र ‘ झलझलाउँदो बाटो हिँड्ने रहर‘ रहेका छन् । पुस्तकको पृष्ठ सङ्ख्या ८६ रहेको छ भने यसको मूल्य १२० छ । प्रकाशक र मुद्रणको दायित्व असम, लखिमपुरको इजेल ग्राफिक्सको रहेको छ ।
पुस्तकमा पहिलो रहेको पूर्णाङ्क नाटक ‘कठपुतली‘ । कठपुतली शीर्षक प्रतीकात्मक अर्थमा प्रयोग भएको छ । यसमा कठपुतलीको अर्थ धागो, तार, रौँ आदिद्वारा नचाइने काठ, कपडा आदिको पुतली होइन । यसमा राजतन्त्र र सामन्ती व्यवस्थाबाट शोषित समुदायलाई कठपुतली शब्दले बुझाएको छ । जन्मदै कण्ठमा कण्ठहार पहिऱ्याई राजसत्ताको गुलाम हुने परम्परा बसेको राज्यमा कोही डरले गुलाम बनिरहेका थिए भने कोहीले व्यक्तिगत फाइदाका लागि चाप्लुसी पनि गरेका थिए । कसैकसैले साँचो अर्थमा विरोध पनि गर्न डराएका थिएनन् । १४ वटा पात्र- ले अघि बढेको यस नाटकमा सातवटा दृश्य छन् । एउटा दृश्य हेरौँ त । बासुको घरमा नानी जन्मिएकामा कण्ठहार पहिऱ्याउन भनी चाप्लुसे नेता त्रिनयन साथै सेनाप्रमुख आउँछन् । कण्ठहार पहिऱ्याउनुअघि त्रिनयनले शपथनामा पाठ गर्दछन् जो नानीका बाबु बासुले पनि सँगसँगै भन्नुपर्ने बाध्यता हुन्छ- ”राष्ट्रको दस्तुरअनुसार मेरो यो सन्तानको स्वत्व आजदेखि महामान्य राष्ट्रप्रमुखको हातमा हस्तान्तरित हुन्छ । म मेरो सन्तानलाई हुर्काई- बढाई गरेर हाम्रा पालनकर्ता, त्राणकर्ता राष्ट्रप्रमुखको उपयुक्त सेवकको रूपमा प्रस्तुत पार्छु । ” नाटकमा शोषण र अत्याचारको विरुद्ध आवाज उठाएको पाइन्छ । नानीकी आमा शिखाले कण्ठहार पहिऱ्याउने विरुद्धमा कडा आवाज उठाएको पाइन्छ । ” ए दलाल हो, तिमीहरूलाई लाज छैन? दिन्नँ, दिन्नँ म मेरो छोरालाई त्यो पासो लगाउन ।”
कठपुतलीमा शोषितको कथालाई बासु, भोला, जीवन, गोपाल, रघु, देव आदि पात्रका संवादबाट प्रस्तुत गरिएको छ । शोषकको कथालाई सेनाप्रमुख, सेना, राष्ट्रप्रमुख आदि पात्रका संवादबाट भने शोषक र शोषित दुवैपट्टिको चाप्लुसी गर्दै केवल फाइदामात्रै सोच्ने स्वार्थीको चरित्र नेता त्रिनयनका संवादबाट प्रस्तुत गरिएको छ । विद्रोहको आवाज शिखाको संवादले बोकेको छ ।
धर्मेन्द्र उपाध्यायका नाटकमा प्रतीकात्मक विशेषताले प्रभावकारी भूमिका खेलेको पाइन्छ । कठपुतली भनेको यहाँ अर्काका इसारामा नाच्ने अथवा अरूकै लहैलहैमा लागी काम गर्ने स्थिति पनि हो । जब मानिस आफ्नो विवेक- बुद्धिलाई तिलाञ्जली दिँदै कसैको इसारामा चल्दछ तब उसलाई पुतला नै भन्ने गरिन्छ । यस नाटकले यथार्थको धरातलमा तल्लो स्तरमा बाँचिरहेका मानिसको भोगाइ, धूर्तहरूको रजगज अनि उपायान्तरहरूको विद्रोहको आवाज आदिको अभिव्यक्ति दिएको छ । अन्यायमाथि न्यायको युद्ध, दानवतामाथि मानवताको उच्चता प्रतिपादन गर्दै त्यसप्रति सदैव सचेत रहनुपर्छ भन्ने नै प्रस्तुत नाटकको उद्देश्य रहेको छ । शोषक, सामन्त र उच्च वर्गद्वारा शासित दुर्बल वर्गमाथि सदैव चलिरहेको नकारात्मक सोच-विचार र दृष्टिकोणलाई प्रतीकात्मक रूपमा विरोध गर्नु यस नाटकको मूल उद्देश्य रहेको छ ।
कठपुतली पूर्णाङ्क नाटक पछि नै अन्य एकाङ्कीहरूको चर्चा यहाँ अघि सार्नेछु । त्यसअघि यस पुस्तकमा नेपथ्यबाट धर्मेन्द्र उपाध्यायले नाटकबारे भनेका हरफहरू यहाँ राख्न चाहन्छु – ” नाटक कहिले पनि नाट्यकारको एकल सम्पत्ति हुँदैन । नाटकलाई नाट्यकारले मात्रै पूर्णता दिन सक्तैन । नाट्यकारले त्यसको कङ्काल मात्रै तयार पार्छ । त्यहाँ मासु, रगत, छाला, रङ, प्राण भर्छन् निर्देशक, अभिनेता, अभिनेत्री लगायत सबै रङ्गकर्मीले । ” हो पनि, नाटकलाई रङ्गमञ्चमा मञ्चन गर्नेसाथ दर्शकबाटै त्यसको समीक्षा भइसकेको हुन्छ । दृश्यधर्मिता नै नाटकको वैशिष्ट्यपूर्ण लक्षण भए तापनि नाटक साहित्य हो अभिनय प्रधान, नाटकको अन्तिम लक्ष्य पाठक कि दर्शक, यस्ता प्रश्नहरूले वितर्कको सृष्टि पनि गरिरहेको नै छ । कतिपयले नाटक मञ्चमाथि निर्भर रहन्छ र नाटकको अन्तिम विचार मञ्चमै हुन्छ भनी भन्छन् । मञ्चमा अभिनय र मञ्च नीति दुइटै दिशा अन्तर्भूत हुन्छन् । त्यतापट्टिबाट अभिनय तथा अभिनयलाई सहयोग गर्ने मञ्च रीतिबाट नै नाटक एउटा राम्रो वा नराम्रो भन्ने निर्णय गरिन्छ । अर्कोपट्टि, कतिपयको विश्वास छ, नाटक मुख्यरूपमा साहित्य हो भनी । अभिनय र मञ्च रीति यसको बाहिरी पाटोमात्रै हो । उनीहरूको भनाइअनुसार साहित्य, भाव र उपलब्धिको गहिराइ एवं रस र काव्यको सङ्गमले सृष्टि गरेको सौन्दर्यको एक महत्त्वपूर्ण रूप नाटक हो । त्यसो हो भने नाटकको असल स्वभाव कहाँ हुन्छ ? साहित्य कृतिका रूपमा, यसको संवेदनामा र अभिनय शिल्पको नाटकीय रूपमा? यस प्रश्नको समाधान त्यति सजिलो छैन । कारण, यस्ता थुप्रै नाटकहरू छन् जसको अभिनय योग्यतामा एकदमै कमी पाइन्छ तर, पाठ्यरूपमा युगौँयुगौँसम्म पाठकको अन्तर्मनमा ठाउँ ओगट्न सक्षम भएका हुन्छन् । कतिपय यस्ता पनि नाटक छन् जसले मञ्चमा दर्शकको अपार समर्थन पाएका छन् तर साहित्य कर्मको रूपमा ती नाटकहरूको महत्त्व कम हुन्छ र बिस्तारै बिस्तारै ती नाटकहरू मान्छेका मनबाट हराउँछन् । कुन नाटकलाई चाहिँ राम्रा नाटक भन्ने त? कुनैबेला एउटै नाटकलाई दुईजना परिचालकले मञ्चस्थ गरेपछि दर्शकबाट छुट्टै छुट्टै प्रतिक्रिया पाइन्छ। अर्थात् परिवेशन पद्धतिको भिन्नताले गर्दा एउटै नाटक दर्शकका दृष्टिमा राम्रो पनि हुन्छ नराम्रो पनि । यस्ता अनेकौँ जटिल कुराहरू नाटकको विचारसित मुछिएको पाइन्छ ।
अब आऔँ अन्य एकाङ्कीहरूको चर्चामा । ‘मृत्युभूमिमा जीवनको कोलाज‘ शीर्षक एकाङ्कीमा मानवताको स्खलनलाई लासबाट प्रतीकात्मक रूपमा देखाउने प्रयास नाटककारबाट भएको छ । यस नाटकमा ६ जना पात्रहरू छन् । एकाङ्कीको सुरुमै एउटा लासलाई सेतो कपडाले छोपेको देखाइन्छ । पहिलो र दोस्रो युवकले लासलाई लिएर वितर्क गरिरहेको कुरा संवादबाट थाहा हुन्छ । तेस्रो युवक पनि सबै मान्छे लास भइसकेको पक्षमा संवाद प्रस्तुत गर्दछ । उसको संवाद यस प्रकारको छ- ” सब लास । चारैतिर लास । जता हेऱ्यो उतै लास । कोही छ यहाँ जिउँदो मान्छे ? छैन । कोही छैन । दबाइका लागि एउटा जिउँदो मान्छे छैन । लास लडेका छन्, लास हिँडेका छन्, लास बोलेका छन्, लास बसेका छन् । आँखा उघाऱ्यो लास, आँखा चिम्लियो लास । चारैतिर दुर्गन्ध, मरेका लासको दुर्गन्ध, डढेका घरहरूको दुर्गन्ध । दुर्गन्ध भयो भनेर कसैले नाक थुनेको छ ? थुनेको छ कसैले नाक ? छैन । आफैँ मरेर दुर्गन्ध भइरहेको छ, अर्काको दुर्गन्ध के थाहा पाउँछ? ” तेस्रो युवकले ओकलेको संवादले मानवता हराउँदै गएको अनि स्वार्थको चितामा सुतेका मानिसहरूको तस्बिर अगाडि राख्छ । पहिलो, दोस्रो र तेस्रो युवकका संवादबाट मानिस र मानवता सकिएको चित्रण प्रस्तुत गरिएको छ भने चौथो युवकले मान्छेले सजाएको सुन्दर संसारमा मान्छे कहिल्यै मर्न सक्तैन भन्ने दृष्टिकोण राखेको छ । त्यसैगरी उक्त एकाङ्कीमा युवतीरूपी पात्रलाई पनि मानवताको पक्षमा संवाद प्रस्तुत गर्न लगाइएको छ । मानवताको पक्षमा युवतीबाट प्रस्तुत गरिएको संवाद यहाँ राख्न चाहन्छु- ” हामी हार्न हुन्न किनभने हामी मान्छे हौँ । हामीले इच्छा गरे सबै गर्न सक्छौँ । यो पृथ्वीमा मान्छेजस्तो को छ जसले सपना देख्न सक्छ ? जसले सपनालाई साकार रूप दिनसक्छ ? कोही छैन । त्यसैले त मान्छेको सपनाले सजाएको यो पृथ्वीलाई बचाउन मान्छे बाँच्नुपर्छ । ” त्यसैगरी चौथो युवकलाई पनि युवतीको कथनलाई समर्थन गर्दै संवाद प्रस्तुत गराइएको छ- ” हामी माया गरौँ अनि निश्चय यो पृथ्वीमा जीवन मौलाउने छ । ” अन्तिममा नेपथ्यबाट मृत्युलाई जितेको आवाज उठाइएको छ यसरी – “मान्छे मर्दैन, मृत्युका प्रत्येक पर्खाल नाघेर ऊ अघि बढ्छ, प्रेम, विश्वास, आस्था र सपना समाएर जीवनको पर्वत चढ्छ मान्छे । यो मृत्युभूमिको प्रत्येक अंश सजाउँछ जीवनको सुनौलो रङले, एउटा प्रकाश चम्काउँछ ।”
पुस्तकमा सन्निविष्ट दोस्रो एकाङ्की हो ‘अर्को एउटा नाटक‘ । यस एकाङ्कीमा ६ जना पात्र छन् । एकाङ्कीमा प्रकृत सर्जकको कदर नभएर कतिपय धनाढ्य व्यक्ति, ठेकेदार, ठुटे नेताहरू पैसा र रबाफको जोडमा जबर्जस्ती सर्जक बनिरहेको यथार्थ चित्रण गरिएको छ । यसखाले व्यक्तिले जब चोरी गरेर नाटक लेख्छन् तब स्वाभाविक रूपमा हाम्रा भोक, तिर्खा, चोट र हाम्रो प्राकृत चित्र नाटकमा उतार्न असफल रहन्छन् । उनीहरूको त एउटै उद्देश्य रहन्छ जसोतसो साहित्यकारको दर्जा पाउनु, नाम कमाउनु र पुरस्कार बटुल्नु । यसै प्रसङ्गमा नाटकको पात्र गाउँले भोलाको संवाद यहाँ प्रस्तुत गर्न चाहन्छु- ” तपाईँहरूका बिचमा पनि यस्ता नेता, नाट्यकार छैनन् भनेर ढुक्क नपर्नुहोस् । सजिलै चिनिदैनन् यिनीहरू । दुष्कृतिको स्वरूप ढाक्न संस्कृतिका सुकिला लुगा लगाएका हुन्छन् यिनीहरूले । यिनीहरू नाट्यकार हुन खोज्छन्, निर्देशक हुन खोज्छन् तर यिनीहरूको नाटक अर्कै छ र सावधान! यिनीहरू साङ्लाको जस्तो जताततै फिँजिदै छन् । जङ्गलमा भोकाएका हात्ती आए जसरी यिनीहरू चालै नपाई आउँछन् र खेती मासिदिन्छन्, भण्डार भत्काइदिन्छन्, कत्तिको त ज्यानै लान्छन् र तपाईँहरू पनि होसियार रहनुहोस् । कुनै मुहूर्तमा उनीहरू आउन सक्छन् ।” यस एकाङ्कीका संवादहरूमा थुप्रै अङ्ग्रेजी शब्दहरूको प्रयोग भएको छ ।
पुस्तकको अन्तिम एकाङ्की हो ‘ झलझलाउँदो बाटो हिँड्ने रहर‘ । यसमा कुल ५ जना पात्र छन् । समाजमा रहेर पनि आफ्नो हक, अधिकारबाट वञ्चित भएर वञ्चितहरूले शासकप्रति पोखेको आक्रोश आदि बोधगम्य तरिकामा देखाइएको छ यस एकाङ्कीमा । दुर्बल वर्गले दिनहुँ शोषकहरूको अत्याचार खपेर पनि अन्याय- अत्याचारको प्रतीकात्मक रूपमा विरोध गर्नु यस एकाङ्कीको मूल उद्देश्य रहेको छ । प्रतिवादी कण्ठको प्रतिनिधित्व गरेको पात्र विप्लवको संवाद यहाँ प्रस्तुत गर्न चाहन्छु- ” निदाउनुहुन्छ किनभने निदाउनु नै यहाँको धर्म भएको छ । ब्युँझी बसियो भने कुरा सुनिन्छ, कुरा सुनियो भने बोल्न मन लाग्छ तर बोल्ने भाषा छैन यहाँहरूको । सुगा हुन्, बुझ्यौ शिखा? हाम्रा चारैतिरका यी मान्छेहरू यहाँको शासकले पालेका सुगा हुन् । उनीहरूको प्रभुले जे जे बोल्न सिकाएको छ त्यै मात्रै बोल्छन्, त्योभन्दा बढ्ता बोल्नै जान्दैनन् ।”
यस पुस्तकको प्रत्येक नाटकमा राजसत्ताको विरुद्धमा दुर्बल वर्गहरूको विद्रोही स्वरले परिवर्तन र समाधिकारको गुहार लगाएको छ । राजसत्ता अथवा सामन्ती व्यवस्थाविरुद्धको असन्तुष्टि अथवा मतभेद प्रत्येक नाटकमै पाइन्छ । मञ्चनका सुविधाका लागि चाहिँदो निर्देशना पनि दिइएको देखिन्छ । हरेक नाटकको अन्तिमतिर परिवर्तनको पुकार गुञ्जायमान छ । यस नाट्यपुस्तकमार्फत उपाध्याय राजसत्ता र सामन्ती व्यवस्थाको चिरफार गर्न सफल भएको देखिन्छन् । असमेली नेपाली नाट्य साहित्यमा यस पुस्तकले प्रभावकारी छाप छोड्ने सम्भावना देखिन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।