साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
FIRST ANNIVERSARY

एक्काइसौँ शताब्दी र मणिपुरेली नेपाली कविता

 

डा.गोमा देवी शर्मा (सातगाउँ, दलबारी)

तुलाचन आलेले साहित्यको जग बसालेको भूमि मणिपुर विभिन्न सम-विषम परिस्थितिहरूसँग जुझ्दै आएता पनि नेपाली भाषा-साहित्यको विकासमा पछि परेको छ भन्न ठ्याम्मै मिल्दैन । नेती, सन्देश, विरुआ, नारदगङ्गा, सङ्कल्प, गोर्खाज्योति, सिरोइ सिर्जना जस्ता पत्रपत्रिकाहरूले यस भेकको नेपाली साहित्यको विकासमा ठूलो भूमिका निभाएका छन् । नेपाली साहित्यपरिषद्, गोर्खा ज्योति प्रकाशन, सिरोइ सिर्जना परिवार वर्तमानमा मणिपुरको नेपाली साहित्य विकासमा संलग्न संस्थाहरू हुन् । आत्माराम मगर, चन्द्रेश्वर दुबे, आशारानी राई, अनिरुद्ध गौतम, सीताराम लम्सालजस्ता कवि-लेखकहरूले आफ्नो रगत-पसिनाले सिँचेको मणिपुरेली नेपाली साहित्यले एक्काइसौँ शताब्दीसम्म आइपुग्दा विशाल आकार लिइसकेको छ । यस भेकका कविहरू बदलिँदो समय अनुरूप विभिन्न प्रवृत्तिहरूलाई आफ्नो विषयवस्तु बनाउँदै साहित्यको भण्डार भर्ने काममा संलग्न देखिन्छन् । यस लेखमा सन् २००१ बाट यता देखिएका यस भेकका नेपाली कवि र कृतिहरूको परिचय जन्म मितिक्रमको आधारमा प्रदान गर्ने प्रयास गरिएको छ ।

पदमबहादुर राई ओल्ड ब्वाय

पदमबहादुर राई ‘ओल्ड ब्वाय’को जन्म ५ अगस्त १९३० मा मणिपुरको तमेङलोङमा भएको थियो । यिनकी माताको नाम बुद्धिमाया राई र पिताको नाम दलभञ्जन राई थियो । बि.कम.सम्म शिक्षा प्राप्त गरेका यिनी लामो समयसम्म भुटान अधिराज्यमा अन्डर सेक्रेटरीका रूपमा कार्यरत थिए । यिनी लामो समयसम्म नेपाली साहित्य सदन काङ्लातोङ्ग्बी र नेपाली राइटर्स फोरमसँग संलग्न थिए । यिनले ङ्कल्प साथै मञ्जरी जस्ता पत्रिकाको सम्पादन गरे । यी धेरै राम्रा गीतकार र भजन रचनाकार पनि थिए । साहित्यको सेवाका लागि यिनलाई अरूगी साहित्यिक संस्था दार्जीलिङले अरूगी पुरस्कारले सम्मानित गऱ्यो । यिनी मणिपुरमा प्रथम गीति एलबम हाम्रो गीतमाला बनाउने प्रथम व्यक्ति हुन् ।

असङ्ख्य रचनाहरू पत्र-पत्रिकामा यत्र-तत्र प्रकाशित भए तापनि यिनको मात्र एउटा काव्य कृति कस्तूरी सन् २००७ मा प्रकाशित भयो ।

कस्तूरी सङ्कलनमा ३० वटा कविताहरू सङ्कलित छन् । ईश्वर वन्दना, सामाजिक कुरीति, भाषाप्रेम, उपदेश, आमाको ममता, जागृति, प्रकृतिप्रेम आदि विषयहरू संस्कृतनिष्ठ नेपाली भाषामा कलात्मक ढङ्गले व्यक्तिएका पाइन्छन् । यी कविताहरूमा प्रशस्त मात्रामा अलङ्कारहरूको प्रयोग देख्न पाइन्छ । कलात्मक शब्दप्रयोग ध्वन्यात्मकता, र गेयात्मकताले परिपूर्ण कविताहरूको आनन्द पाठकहरूले तलको कवितामा सहजै पाउन सक्दछन् –

रिमी झिमी रिमि झिमि पानी पऱ्यो / टपर टुपुर मधुर तालमा / वन उपवन नाची उठ्यो

झुमी-झुमी मयूर चालमा । / लचक लचक सौदामिनी लच्कियो / बादलबीच मृदङ्ग नादमा,

अम्बरबाट मोती बर्स्यो /  शीतल सुधा धरती माझमा ।

पं. कृष्णप्रसाद काफ्ले

पण्डित कृष्णप्रसाद काफ्लेको जन्म १० मई सन् १९३४ मा चारहजारे मणिपुरमा भएको थियो । स्वर्गीय देवकादेवी र स्व. धर्मानन्द काफ्लेका सुपुत्र कृष्णप्रसादले ज्योतिष शास्त्रमा शास्त्री, श्री नेपाली संस्कृत विद्यालय, मङ्गलगौरी वाराणसीबाट उत्तीर्ण गरे । मानव संसाधन विकास मन्त्रालय, भारत सरकारबाट पण्डितको उपाधि प्राप्त गरेका यिनले उत्तर भारत स्थित तीर्थस्थलको यात्रा तीन पटक गरिसकेका छन् ।

रचना

मनका खुड़का (१९८८), श्राद्ध मञ्जरी (१९९१) र मानवता (२०१४) ।

कृष्णप्रसाद काफ्लेका सबै रचनाहरू तुकान्त पद्धतिमा रचिएका छन् । मानवता सबै प्रकारका पाठकहरूका लागि ग्राह्य काव्यकृति हो । मानव स्वभाव, संस्कृतिको महत्त्व, गौ महिमा, गौपूजन, नेपाली भाषा, आदि कविता, भानुभक्ताचार्यको जीवनी, पहिराको सवाई, कालचक्र, लोभ र अभिमान आदि यस कृतिमा समावेश विषयहरू हुन् ।

यस काव्यमा आदिकवि भानुभक्ताचार्यको जीवनी बड़ो रोचक शैलीमा प्रस्तुत गरिएको छ । सवाई परम्परालाई अघि बढ़ाउँदै रचिएको पैह्रोको सवाई दर्शनीय छ ।  यथा –

यस्तो दृश्य हेर्दै थिए खबर आयो अर्को, / माउमा पैह्रो गई नाश गऱ्यो घरको ।

रस्ता माथि भत्किएर झरिहाल्यो पैह्रो, / डिम्मापुर जानेबाटो पारि दियो गैरो ।

भत्के घर ग्वाली याक्सा गन्दा खेरि अस्सी, / धेरै बगे गाई गोरु सुङ्गुर कुखुरा खसी ।

गन्ति गर्न पाइएन आपदको बेला, / सुरक्षित जगामा मानिस भए भेला ।

चूडामणि खरेल

चूडामणि खरेलको जन्म ३० जुन १९४०मा माता गङ्गादेवी खरेल र पिता श्रीकृपानन्द खरेलको पुत्रका रूपमा काङ्ग्लातोङ्बीमा भएको हो । यिनले लामो समयसम्म काङ्ग्लातोङ्बी ग्राम पञ्चायतका भूतपूर्व प्रधानपञ्चको रूपमा जनसेवा गरे । यिनी विष्णु, शिव, दुर्गा पाञ्चायन मन्दिरका सभापति, काङ्ग्लातोङ्बी हाइस्कुलका सभापति, गोर्खा सुधारक सङ्घ मणिपुरका सल्लाहकार जस्ता गरिमामय पदहरूमा रहेर सामाजिक सेवामा कार्यरत छन् । यिनले धेरै अघिदेखि छन्द र लयमा कविताहरू लेख्दै आएका छन् । उनको एउटा काव्य-कृति प्रतिविम्ब मणिपुरको सन् २०१८मा प्रकाशित भएको छ ।

प्रतिविम्ब मणिपुरको एउटा छन्दलयमा लेखिएको काव्यिक इतिहासग्रन्थ हो । यसले मणिपुरको अतीत र वर्तमानसँगै सामाजिक, राजनैतिक, सांस्कृतिक र साहित्यिक गतिविधिलाई आफ्नो विषयवस्तु बनाएको देखिन्छ । यसमा पद्यमा मणिपुरेली नेपाली भाषीहरूको ऐतिहासिक पृष्ठभूमि, नेपाली र मणिपुर राजदरबारबीच अन्तर्सम्बन्ध, ब्रिटिसकालीन नेपाली भाषी जनजीवन, बसोवासका लागि सरकारी अनुमति, देशका निम्ति शहीद भएका सपुतहरूको परिचय, नेपालीभाषी बसेका क्षेत्रहरूको परिचय, मणिपुरका विभिन्न क्षेत्रमा अग्रणी व्यक्तित्वहरूको परिचय, मौलिक रचना र स्ववंशको जानकारी आदि विषयवस्तु पाइन्छन् । बुधचन्द्र महाराज र नेपाली रानी ईश्वरीदेवीको कविले आफ्ना आँखाले देखेको जिउँदो इतिहास निम्न शब्दहरूमा देख्न पाइन्छ-

मणिपुरका केह कुरा लेख्ने इच्छा भयो । / मणिपुरको इतिहासतिर मन गयो । ।

मणिपुरका राजाहरू धेरैअघि थिए । / गोर्खालीले जानेका चै बुधचन्द्र भए । ।

बुधचन्द्र महाराज काङ्ग्लातोङ्बी माहाँ । / आउँदा खेरि सँगै आउँथिन् महारानी यहाँ । ।

धर्मविनोदजीका घरभित्र बसी । / राजारानी दुवै बस्थे धेरैबेर हाँसी ।

आलोक गौतम

आलोक गौतमको जन्म सन् १९४७ नोभेम्बर ११ मा मणिपुर अन्तर्गत कालापहाड़ गाँउमा भएको हो । साधारण कृषक परिवारमा जन्म लिएका गौतमले स्नातक सम्मको शिक्षा प्राप्त गरे । यी कवि शिरोमणि लेखनाथ पौडे़लको काव्य प्रतिभाबाट प्रेरित छन् । सन् १९६६ देखि नै उनले फुटकर रूपमा कविता रचना गर्न थालेका थिए । सन् १९७० बाट यिनले गोर्खा विद्यार्थी सङ्गठन मणिपुरको मुखपत्र सन्देशको सम्पादन कार्य गर्न थाले । यसका साथै सन् १९८५ देखि २००४ सम्म नेपाली साहित्यपरिषद् मणिपुरको अध्यक्ष पदमा रहे । गौतम एकजना कुशल सिने कलाकार र पटकथा लेखक पनि हुन् । आलोक गौतमको अहिलेसम्म एउटामात्रै काव्यसङ्ग्रह मान्छेभित्रको मान्छे बोल्छ (२००७) प्रकाशित छ । यिनका कवितामा वर्तमान मानवका अन्तरपीडालाई मार्मिक रूपमा उद्घाटन गरिएको छ । वर्तमानको समाजभन्दा अतीतको समाजमा निश्चल पवित्रता देख्ने कवि गौतम वर्तमान समयमा मानवीय प्रवृत्ति सुधार्न पर्ने सुधारात्मक दृष्टिकोण व्यक्त गर्दछन् । जातीय चेतना, भूमण्डलीकरणको विरोध, भोगवादको विरोध, अस्तित्ववादी चिन्तन, अध्यात्मिक चिन्तन, युगबोध, भाषिक सरलता आदि यिनका काव्यका अन्य विशेषताहरू हुन् । एउटा उदाहरण स्वरूप –

संहार माग्छु एकचोटि फेरि / दनदन दन्कियोस सारा भूतल

सभ्यताले जन्माएका समस्त प्रदूषणहरू एकफेर फेरि / निर्मल बनून

आजको यो पृथ्वी / साम्राज्य बनोस खरानीको

अनि / प्रलय पछाडि झुल्किने / सूर्यको पछिल्लो किरणले

एउटा नवजात शिशु जन्माओस / ओजस्वी

लगत्तै उदाउने पूर्णचन्द्रको गर्भबाट / एउटी कन्या जन्मून

शीतल सौम्या, सच्चरित्रा / अनि त्यहाँबाट / अर्को सुस्वस्थ

नया सृष्टिको श्रीगणेश होस / अतिको चारबाट मुक्तिको याचना

सर्वप्रथम म संहार माग्छु / एकचोटि फेरि  

खत्री कुमार

खत्री कुमारको जन्म १ जुलार्इ सन् १९४७ मा स्वर्गीय यशोदा देवी र स्वर्गीय हर्कबहादुर खत्रीको घरमा तोरीबारी मणिपुरमा भएको थियो । यिनको प्रारम्भिक शिक्षा-दीक्षा तोरीबारीमै सम्पन्न गरेपश्चात् यिनी भारतीय सीमा सुरक्षा बलमा सैनिक बन्न पुगे । जीवनको लामो समयसम्म भारत माताको सेवा गरेपछि यिनले अवकाश प्राप्त गरे । सन् २०१९ मा यिनको निधन भयो ।

खत्री कुमारको एउटा कविता सङ्कलन प्रकृति र मान्छे गोर्खा ज्योति प्रकाशनमार्फत सन् २०१४ मा प्रकाशित भयो । यसमा १०७ वटा कविताहरू सङ्कलित छन् ।

मानिस हुनुको चेतना, प्रकृति प्रेम, जीवन जगत्का तथ्यहरू, उपदेश, नशा सेवनबाट हुने हानि, ईश्वरप्रति असीम आस्था, पर्यावरण चेतना, आत्मचेतनाजस्ता भावहरूको अभिव्यक्ति पाइन्छ । यिनका कवितामा प्रकृति यत्र-तत्र देख्न पाइन्छ । प्रकृति कतै आमा, कतै सहचरी र कतै ईश्वरीको रूपमा चित्रित भएको पाइन्छ-

ओ प्रकृति! तेरो सृजन कस्तो / के तेरै मन सुहाए जस्तो

यता सोच्छु उता हेर्छु / यो मेरो भनी रोज्छु

एक दिन मबाट सबै छरिन्छन् / तिनले कसैको झोली भरिन्छन्,

कहिले म तेरो गुण गाउँछु / यसैमा असीम सुख शान्ति पाउँछु

तेरो रूप तेरो रङ्ग कस्तो ।

खत्री कुमारका कवितामा नारीप्रति असीम श्रद्धा व्यक्त भएको पाइन्छ । कवि उसलार्इ परम्परागत धारणा अनुसार पुरूषकी दासी र हीन अबला नभएर सृष्टिकी आधार र पूजनीय मान्छन् –

स्रष्टाले सृजेको यस सृष्टिमा / मात्र मानवजगतमा नभएर

सबै प्राणी जगतमा अद्भुत छौ / बिनातिमी त्यस स्रष्टाको

सृष्टिनै चल्न सक्तैन । / …………………

सारा संसारलार्इ जनार्इदे /  जुन मानव समाजमा नारीको मान हुँदैन

त्यो समाज लङ्गडो हुन्छ / यो शाश्वत सत्य बताइदे

सरल र शिष्ट नेपाली भाषा साथै आंशिक संस्कृत र हिन्दीका शब्दहरूको प्रयोग खत्री कुमारका कवितामा देख्न पाइन्छ । गद्यात्मक अभिव्यक्ति र प्रवाहको दर्शन पनि पाठकले यिनका कवितामा प्राप्त गर्न सक्दछन् ।

कमल थापा ‘प्रकाश’

कमल थापा ‘प्रकाश’को जन्म २७ सेप्टेम्बर १९४८ मा इम्फाल, मणिपुरमा भएको थियो । यिनकी माताको नाम पानमाया र पिताको नाम सुखराज थियो । पत्नी वीरा थापा र सात जना सन्तान छाडी सन् १९९० मा यिनी स्वर्गवासी हुन पुगे ।

सन् साठीको दशकमा मणिपुर प्रान्तमा नेपाली भाषाको प्रचार-प्रसार गर्नमा यिनको ठूलो भूमिका रहेको छ । सन् १९६७ मा सन्देश मासिक पत्रिकाको सम्पादकका रूपमा नेपाली पत्रकारिता जगत्मा ओर्लिने कमल थापा ‘प्रकाश’ मणिपुरमा मुद्रित पत्रकारिता सुरु गर्ने प्रथम पत्रकार हुन् । सन् १९७३सम्ममा यिनी नेपाली साहित्यको केन्द्रबिन्दुको रूपमा देखा परेका थिए । यसै क्रममा काङ्ग्लातोङ्ग्बीबाटै बिरुवानामक मासिक पत्रिका यिनकै सम्पादनमा निस्किएको थियो । कमल थापा एउटा सशक्त कवि, पत्रकार, गीतकार र नाटककार थिए ।

आह चाह कमल थापा ‘प्रकाश’को मरणोपरान्त प्रकाशित कविता सड़्गालो हो । यसमा ६६ वटा कविता र २९ वटा गीतहरू समावेश छन् ।

कमल थापाका कविताहरूले प्रगतिशील विचारधारा बोकेका छन् । जीवन मृत्युलार्इ अभिशाप ठान्ने हाम्रो विचारधारालार्इ यिनी नवीन ढाँचामा प्रस्तुत गर्दै  उनी लेख्छन् –

जीवन मृत्यु / अभिशाप होइन

यो एक वरदान / मानव जातिले पाएको ।

आफ्ना सन्ततिलार्इ सही बाटो अङ्गाल्न कविले युवाशक्तिलार्इ ऊर्जाको सकारात्मक प्रयोग गरी जातिको उत्थान गर्ने ओजपूर्ण शैलीमा दिएको प्रेरक अभिव्यक्ति दर्शनीय छ –

तिम्रो जोश समुद्रबाट उठेको लहरहरूजस्तै हुनुपर्छ ।

तिम्रो उमङ्गले आँधीबेहरीको ज्वार भाटालार्इ थिच्नुपर्छ ।

तिम्रो उन्नतिले आकाशका तारा टिप्न सकेको हुनुपर्छ ।

तिम्रो प्रेरणाले भविष्यको निर्माण गरिएको हुनुपर्छ ।

तिम्रो सान्त्वनाले हामभित्रको अस्तित्वलार्इ सजाएको हुनुपर्छ ।

तिम्रो उत्साहले सगरमाथाभन्दा बढी उच्च पर्वत चढेको हुनुपर्छ ।

तिम्रो शिक्षाले हाम्रो आत्मा परमात्मालार्इ चिनिदिएको हुनुपर्छ ।

तिम्रो आवाजले हामलार्इ आह्वान गरिदिएको हुनुपर्छ ।

तिम्रो क्रान्तिले हाम्रो कर्तव्यलार्इ झक्झक्याएको हुनुपर्छ

तिम्रो प्रोत्साहनले प्रभातको उज्ज्वल किरण छरिदिएको हुनुपर्छ ।

 घनश्याम कोइराला

कालापहाड, मणिपुरमा ४ सेप्टेम्बर सन् १९६२ मा जन्म लिने घनश्याम कोइराला एउटा उदयमान साहित्यकार हुन् । माता सरस्वती देवी र पिता लक्ष्मण कोइरालाले डि.एम. कलेज अफ आर्ट्सबाट स्नातकसम्मको शिक्षा प्राप्त गरे । कालापहाड सरस्वती स्कुलका प्रधानाचार्यको पदबाट अवकाशप्राप्त शिक्षक हुन् । यिनले लेखेका नेपाली गीतको अडियो क्यासेट यो हाँसो त्यो आँसु सन् १९८८ मा निस्कियो । घनश्याम कोइरालाका दुइटा कविताकृति प्रकाशित छन् ।

मिस्कल (कविता सन्, २०११) र सृष्टिका दुर्इ धार (खण्डकाव्य २०१२)

मिस्कलमा ७१ वटा कविताहरू सङ्कलित छन् । यिनका कवितामा अस्तित्व चेतना, सकारात्मक सोच, प्रेम परिणयको अलौकिक अनुभूति, प्रकृति, विसङ्गतिहरू माझ सङ्गतिको खोजी आदि विषयहरू कलात्मक ढङ्गले व्यक्त गरिएका छन् । जीवन जगत्को आधार मानिने प्रेमको छुट्टै चित्रण भएको यहाँ देख्न पाइन्छ –

म सत्य हुला सत्यलार्इ अनवरत

आस्थाको अछेताले पूजन गरिरहूँ लाग्छ

सौन्दर्यलार्इ हृदय-नयनले अनन्त

अभिवादन गरिरहूँ  लाग्छ संसारको अक्षयकोश बनोस

प्रेम सुस्वास्थ अनुपम स्निग्धताको बन्धन ।

जीवनको जिजीविषा तथा केही प्राप्तिका लागि प्रत्येक मनुष्य सङ्घर्षरत देखिन्छ । कवि पनि हारेका छैनन्, कतै खिन्नता, कतै दुखेसो भए तापनि सङ्घर्ष पथमा अविरल गतिमा अघि बढ़्न कटिबद्ध रहेको देखिन्छ । सुन्दर भावाभिव्यक्तिसँगै बेजोड भाषिक विन्यास घनश्याम कोइरालाका कविताको विशेषता हो –

बौरिएर एक फेर  राज गर्छौ भने

हत्केलामा ज्यान राख भिड दिनेछु यसपाली

सुर्रिएर हुर्रिएर फ्यातुलोको फ्यातुलै

तातोपारी सुताउँदै ओस्सिएको धेरै भो

झुत्तिएर, लत्रिएर मात्तिएको मात्तियै

छुद्ध खेल्दै तीनचित भर्इ चिप्लिएको धेरै भो । १०

दोस्रो कृति सृष्टिका दुर्इ धारमा कथ्यलार्इ नाटकीय रूपमा प्रस्तुत गरिएको छ । यसमा बढ्दो औद्योगिकीकरणको चपेटामा परेका उत्तराधुनिक पिढीको प्रकृतिप्रतिको उदासीनता र त्यस प्रवृत्तिले पर्यावरणमाथि आज आइपरेका समस्याहरूको सुन्दर चित्रण भएको पाठकले देख्न पाउँछन् ।

 नेत्रप्रसाद अधिकारी

नेत्रप्रसाद अधिकारीको जन्म सन् १९६३ मा कौबुलैखा मणिपुरमा भएको हो । माता तारादेवी र पिता रामनाथका पुत्र यिनले मैट्रिकसम्मको परीक्षा उत्तीर्ण गरेपछि शिक्षालार्इ विराम दिएर निजी जीवनमा लामो अन्तरालसम्म शिक्षण पेशामा संलग्न भए ।

मणिपुर प्रान्तबाट निस्किने विभिन्न पत्रपत्रिकामा यिनका केही कविताहरू प्रकाशित भएको देखिन्छ । तीन हरफे कविता लेख्नमा यिनी खप्पिस छन् । कृतिको रूपमा यिनको कलिला बेलपत्रहरू (२००९) प्रकाशित छ । यसमा सामाजिक, राजनैतिक, आर्थिक, मानिसको व्यवहार आदि विषयका कविताहरू समावेश छन् । शब्दको मितव्ययिता यिनका कविताका मूल प्रवृत्ति हो । केही उदाहरण स्वरूप –

उपचार

न काट काँडालार्इ भयङ्कर शस्त्रले

काँडो बिना काँडो निस्कँदैन । ११

 राजनीति

छि : किन घिनाउँछौ

उसले रहस्य बुझेको छ

बानी परेकालार्इ घिन लाग्दैन । १३

रक्सी

मने र रक्सी

आन्द्रो गाँसेका

घर भाँड्न । १२

लोभ

भेलको माछा

झोला थाप्दैछ

घर बगी सक्यो । १४

 

 सीतादेवी छेत्री

सीतादेवी छेत्रीको जन्म ५ मई १९६१ मे माता स्व. तारादेवी लामिछाने एवं पिता स्व. गोपाल लामिछानेकी पुत्रीको रूपमा मणिपुरमा भएको हो । यिनी बि.ए.सम्म शिक्षित र पेशाले मणिपुर सरकारको अधीनस्थ एउटी सरकारी शिक्षक हुन् । यिनी नेपाली साहित्यपरिषद्, मणिपुर, काङ्ग्लातोङ्ग्बी महिला समिति, भारतीय गोर्खा परिसङ्घ, एकल अभियान महिला विभाग जस्ता सङ्गठनहरूमा जडित भएर सामाजिक-साहित्यको सेवा कार्यमा संलग्न छिन् । सीतादेवी छेत्रीका दुइटा रचनाहरू प्रकाशित छन्-

एउटै धरामा (कवितासङ्ग्रह,२०१७) र मूल परेको छोरो (कथासङ्ग्रह, २०१८) ।

सीतादेवीका कवितामा सहज अभिव्यक्ति, नारी प्रताड़नाको विरोध, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य, प्रकृतिको उदात्त रूपको चित्रण, मातृभूमि प्रेम, गद्यात्मक अभिव्यक्ति, सरल नेपाली भाषाको प्रयोगजस्ता प्रवृत्तिहरू प्राप्त हुन्छन् । मणिपुरेली नेपाली साहित्यको विकासमा उनको योगदानलाई मध्यनजरमा राख्दै सीतादेवीलाई नेपाली साहित्यपरिषद् मणिपुरद्वारा सोमलक्ष्मी राई पुरस्कार साथै नेपाल अकादमी र जरा फाउन्डेसन, नेपाली साहित्य सभा असम, रटन अभियान सिक्किम, दमक कला साहित्य महोत्सवजस्ता साहित्यिक संस्थानहरूले सम्मानित गरिसकेका छन् ।

कीर्तिमणि खतिवडा

कीर्तिमणि खतिवड़ाको जन्म ५ मार्च १९७१मा चारहजारे मणिपुरमा भएको हो । माता रेणुका देवी र पिता खोमनाथका पुत्र कीर्तिमणिको शिक्षादीक्षा मणिपुरमा सम्पन्न भयो । यिनले बि.ए. र राष्ट्रभाषा हिन्दी रत्नसम्मको शिक्षा हासिल गरेबापत हालमा सरकारी शिक्षण पेशामा संलग्न छन् ।

यिनका केही फुटकर रचनाहरू मणिपुरी, नेपाली र हिन्दी भाषामा विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । कृतिको रूपमा कवितासङ्ग्रह सन् २००३ मा प्रकाशित भएको देखिन्छ ।

कवितासङ्ग्रह खण्डकाव्यको ढपमा रचिएको लामो कविता हो । यसमा समस्त सृष्टि, इतिहास, लोक विचार, सूक्ति आदिको प्रयोग गर्दै मानिसका सम्पूर्ण प्रवृत्तिहरूको विवेचना गर्ने प्रयास गरिएको छ । वेद वाक्य अहं ब्रह्मास्मि भन्ने वाक्यको समरूपबाट थालिएको कवितामा प्राचीन भारतीय संस्कृति र वर्तमान स्थिति, पश्चिमी संस्कृतिको प्रभाव, शास्त्रेतिहासको पुनर्मूल्याङ्कनको आवश्यकता, कोरा आदर्शको खुलासा, अङ्ग्रेजी दासत्वबाट मुक्त नभएको भारतीय मानसिकता, गोर्खा जातिलाई अरूले प्रयोग गरेका आदि विषयहरू संलग्न छन् । विषयवस्तुलाई प्रस्ट पार्नका लागि विभिन्न मिथकहरूको प्रयोग साथै अलङ्कारहरूको प्रयोग गरिएको पाइन्छ । उदाहरणस्वरूप केही पङक्तिहरू –

सोरसय पत्नीसँग राज गर्ने

सीता मातालाई त्याग गर्ने

बीच सड़कमा-चीरहरण गर्ने

अनुशरणका जमानामा

गान्धारी र धृतराष्ट्रको अनुशरण गर्दै

साँचालाई झुठो साबित गर्ने –

आँखामा पट्टि बाँधेको अर्थ र बाहुबलको दास-‘‘म’ । १५

वसन्तीदेवी पौडेल

वसन्तीदेवी पौडेलको जन्म माता स्व. धनमाया पौडेल र पिता स्व. जीवलाल पौडेलकी पुत्रीकी रूपमा १९७१ मा पस्पति, मणिपुरमा भएको हो । यिनले बि.ए र हिन्दी रत्नसम्मको शिक्षा गरिन् । यिनी पेशाले सरकारी शिक्षिका हुन् । ८० को दशक देखिनै यिनी साहित्य क्षेत्रमा देखापरेकी रचनाकार हुन् । तर लामो समयसम्म वसन्तीदेवीका रचनाहरू पत्र-पत्रिकाहरूमा मात्रै सीमित रहे । उनका रचनाहरू पुस्तक रूपमा ढिलो गरी प्रकाशित भए ।

रचना –  बिहानीको प्रतक्षा (कवितासङ्ग्रह २०१७), यात्रा: सलबलाएका अक्षरहरूसँग (कवितासङ्ग्रह, २०१९), थोपा – थोपा जिन्दगी (गजलसङ्ग्रह, २०२०)

वसन्तीदेवी नेपाली साहित्यपरिषद्, मणिपुर, भारतीय गोर्खा परिसङ्घ, इमाखोल-अवाङ पोत्सङबम, मणिपुर, प्रोग्रेसिव राइटर एसोसिएसन, मणिपुर चैप्टरजस्ता साहित्यक सङ्घ-संस्थाहरूमा आबद्ध रहेर साहित्य सेवामा संलग्न छिन् । उनका कविताहरूमा स्थानीय समस्या, जातीय अस्तित्व चिन्तन, रहास्यानुभूति, वैयक्तिकता, सहरी जीवनको यथार्थ, यान्त्रिक युगका विषमताहरू, सहज अभिव्यक्तिजस्ता प्रवृत्तिहरू पाइन्छन् ।

. सीताराम अधिकारी

डा. सीताराम अधिकारीको जन्म १० दिसम्बर १९७५ मा मणिपुरको कौब्रुलैखा गाउँमा भएको हो । पिता स्व. रामनाथ र माता देवका देवीका पुत्र सीतारामले मणिपुर विश्वविद्यालयबाट एम.ए. (हिन्दी) र पि.एच.डीको उपाधि साथै गुवाहाटी विश्वविद्यालयबाट एम. ए. नेपालीको डिग्री प्राप्त गरे । २००६ मा यिनले मासिक पत्रिका गोर्खा ज्योतिको सम्पादन र प्रकाशन आरम्भ गरे । सानो आकारमा निस्कने यस पत्रिकाले मणिपुरेली नेपाली साहित्यको विकासमा ठूलो भूमिका खेल्यो । सन् २००८ आफ्ना सहयोगीहरूसँग मिली यिनले गोर्खा ज्योति प्रकाशनको सहयोगी समूहको गठन गरे । गोर्खा ज्योति प्रकाशनले आर्थिक अभावमा रहेका कलमकारहरूका रचनाहरू प्रकाशित गर्ने क्षेत्रमा ठूलो भूमिका निभायो । यस प्रकाशनले आजसम्म १०० भन्दा बढी पुस्तकहरू प्रकाशित गरिसकेको छ ।

रचनाआधुनिक मान्छे (कवितासङ्ग्रह, २०१०), मनुष्य शरीर र स्वास्थ्य (२०१२) र कर्तव्य पथ (अनुवाद नाटक, २०१५) ।

आधुनिक मान्छे कविता सङ्ग्रहमा ६६ वटा कविताहरू समावेश छन् । यस कृतिमा सङ्कलित कविताहरूले पाठकलाई मानिसका जीवनमा आइपर्ने सुख-दुखसँग मितेरी लाउँदै जीवनका कटुतम यथार्थहरूसँग साइनो जोडे़को आभास दिन्छन् । वर्तमान युगीन विकृतिहरूलार्इ उदाङ्गो पार्नु नै यी कविताहरूको विशेषता हो । विभिन्न समस्याहरूले ग्रस्त जीवन बिताउन बाध्य आधुनिक मान्छेको छुट्टै अनुहारको दर्शन पाठकहरूले यस कृतिमा पाउँछन् –

दैलाको कुनामा कुनै प्राणी

अपरिचित — / सहजै मृत्यु शय्यामा परेको

यस मृत्युको कारण / जान्न असमर्थ मानिस

मृतकलाई डस्टबिनमा हालेर / निकै पर लगेर फ्याँकिदिन्छ

यस शङ्काले कि / यसको सडेको गन्धले

बिमारी फैलाउँछ / शङ्का निवारण गरिदिन्छ

      ढुक्कले सुत्छ ।१६

 राहुल रार्इ ‘बोगीको’

राहुल रार्इ ‘बोगीको’को जन्म स्व. सोमलक्क्षी रार्इ (माक्रीहाङ) र जङ्गबहादुर रार्इ (माक्रिहाङ)का सुपुत्रको रूपमा १९८४ मा मणिपुरको इराङमा भएको हो । यिनको बाल्यकाल त्यतै बित्यो । पारिवारिक समस्याले गर्दा यिनी केही समयसम्म सिक्किममा रहे । यिनी ऐले काङ्ग्लातोङ्ग्बी तीसपरीका निवासी हुन् । साहित्यिक र सामाजिक कार्यमा रुचि राख्ने राहुल रार्इका तीनवटा कृतिहरू प्रकाशित भइसकेका छन् ।

रचना एक जोड परेवा (कथासङ्ग्रह २०११), एक मुठी कविताहरू (कवितासङ्ग्रह २०१३) र मेरा अनुभूतिहरू (कथासङ्ग्रह २०१४), कालो अक्षर (कवितासङ्ग्रह) ।

राहुल राईका कविताहरूमा मानिसले भोगेका सुख-दुःख, पीर-मार्का, गरीबी, ठूला बाबुहरूको कुव्यवहार, वैयक्तिकता आदि देख्न पाइन्छ । वैयक्तिक लाचारीको एउटा उदाहरण द्रष्टव्य छ –

घोटिएर रात दिन दुर्इ गाँस जुटाउँछु

पसिना बटुलेर रमाउँछु

भाइहरू खाने बेलामा आउँछन

केरम गोटीसग रमाउँछन् । १७

कताकता विपनीको दुःख वेदनादेखि हताश भएर सपनाको दुनियामा पलायन गरेजस्तो पनि देखिन्छ –

सपनाको दुनिया कत्ति रमाइलो सबै आफ्नो अगालोमा अगालेर

आफ्नै मनमा सम्हालेर राखौजस्तो । १८

दीपक पन्थ

दीपक पन्थको जन्म १२ मार्च १९८९ मा इराङ प्रान्तमा भएको हो । यिनले स्थानीय स्कूलबाट मैट्रिक उत्तीर्ण गरे पश्चात प्रसिडेन्सी कलेज, मोटबुड़्बाट बि.ए, मणिपुर विश्व विद्यालयबाट एम.ए. हिन्दी र बि.एड.को परीक्षा उत्तीर्ण गरे । हालमा यिनी दमदेर्इ क्रिश्चियन कलेजमा अध्यापन गर्दैछन् ।

यिनको रचना पूर्णिमाको जून  (२००८) गजलसङ्ग्रह प्रकाशित छ । यो सङ्ग्रह मणिपुर प्रान्तबाट निस्किने प्रथम गजलसङ्ग्रह हो । यसमा विभिन्न सामाजिक, राजनैतिक, आर्थिक विषयहरूका गजलहरू साधारण नेपाली भाषामा रचिएका छन् । एउटा उदाहरण द्रष्टव्य छ –

बन्दुकबाट छुटेको गोलीको विश्वास हुन्न

राजनीतिमा नेताको बोलीको विश्वास हुन्न ।

बस्नुहुन्न हात बाँधी गर्ने काम गर्दै गरौ

कहिल्यै पनि नआउने भोलिको विश्वास हुन्न ।

बन्नुपर्छ असल मान्छे दुर्इ दिनको जिन्दगीमा

गुण्डागर्दी गर्दै हिने टोलीको विश्वास हुन्न । १९

यस कृतिबाहेक दीपक पन्थको धार्मिक प्रश्नोत्तरी पुस्तक मन्थन सन् २०११ मा नेपाली संस्कृति सुरक्षापरिषद् मणिपुरबाट प्रकाशित भयो । यस कृतिमा गीता, महाभारत, रामायण आदि धर्मग्रन्थसँग सम्बन्धित १,१११ प्रश्नहरू समावेश छन् ।

 सृष्टि पौड्याल

सृष्टि पौड्यालको जन्म १५ फरवरी १९९१ मा चारहजारे मणिपुरमा भएको हो । माता पम्फादेवी र पिता मनप्रसाद पौड्यालकी सुपुत्री सृष्टिले बि.एससी र बि.एड सम्मको शिक्षा प्राप्त गरेवापत सनातन संस्कृत विद्यालय, चारहजारेमा शिक्षिकाको रूपमा कार्यरत छिन् । विभिन्न पत्र-पत्रिकामा थुप्रै रचनाहरू प्रकाशित गराएर साहित्यिक यात्रामा अघि बढ़ने क्रममा सृष्टिको एउटा कवितासङ्ग्रह गुनासो सन् २०१४ मा नेपाली साहित्यपरिषद् मणिपुरले प्रकाशनमा ल्याएको छ ।

गुनासोमा ६४ वटा कविताहरू सङ्कलित छन् । सबै कविताहरू लघु आकारका छन् । सृष्टिका कवितामा नारीवादी चेतना पर्याप्त मात्रामा देख्न पाइन्छ । स्वयं नारी हुनाका नाताले पुरूषवादी समाजमा आफ्नो अस्तित्व अघि राख्दै नारीहीन हैन भन्ने धारणाप्रति प्रहार गर्दै उनी भन्छिन् –

नारी अबला होइन

बला अतिबला हुँदै

अब महाबला बन्नुपर्छ

बछेन्द्री, इन्दिरा, प्रतिभा

फेरि बन्नु पर्छ नारी

लक्ष्मी र सरस्वतीको महिमा

आफैं जगाउनु पर्छ नारी । २०

सृष्टिका कवितामा प्राकृतिक छटा विभिन्न रूपमा देख्न पाइन्छ । ऋतुराज वसन्त, हिँउद आदि कविताले प्रकृतिसँग मानवको सम्बन्ध देखाउँछ भने मणिपुर, कौब्रु आदि कविताले मातृभूमि प्रेम व्यक्त गर्दछन् । जननी जन्मभूमि, हाम्रो देश भारत, सत्यमेव जयते, भारतीय संस्कृति कविताले भारत भूमिप्रेम दर्साएका छन् ।

भाषिक पक्षलार्इ हेर्ने हो भने कविताको भाषा साधारण र सहज नेपाली भाषा हो । कवितामा अभिधेयार्थ मात्रै निहित छ । कतै कतै स्थानीय शब्दहरूको सटिक प्रयोग पनि भएको पाइन्छ ।

 फुटकर कवि

वर्तमानमा कविता रचना क्षेत्रमा कुमार खतिवडा, राजेन राई, सूरज चापागार्इँ, होमनाथ चापागार्इँ, नवराज उप्रेती, सुमित प्रधान, रोशन दियाली, विमल दहाल, हर्कबहादुर लाम्गादे, रमेश खतिवडा आदि धेरै जाँगरिला रचनाकारका रूपमा देखापरेका छन् ।

 प्रवृत्ति

यसकालका रचनाहरूमा गद्यात्मक अभिव्यक्तिको विशेषता पाइन्छ । उपदेश, यथार्थ चेतना, अस्तित्व चेतना, व्यवस्था प्रति क्रोध, अस्तित्व चेतना, जातिको दीनहीन दशा, अतिशय वैयक्तिकता यस कालका कविताका विषय देखिन्छन् । कवि कमल थापा प्रकाशका कवितामा जातीय चेतनाको उद्घोष देखिन्छ भने सङ्घर्षशीलता, नवीन रचनाको प्रेरणा र प्रकृति रक्षा कवि घनश्याम कोइरालाको काव्य वैशिष्ट्य हो । राहुल रार्इका कवितामा वैयक्तिकताको दर्शन पाइन्छ भने डा. सीताराम अधिकारीका कवितामा आधुनिकताको खोक्रोपन र व्यवस्थाप्रति आक्रोशको देख्न पाइन्छ । नारी चेतनाको प्रखर स्वर खत्री कुमारका, सीतादेवी र वसन्तीदेवी पौडेलका कवितामा देख्न पाइन्छ भने राष्ट्र गौरव र अन्य सामाजिक विषय कवयित्री सृष्टि पौड्यालका कविताको विषय हो । यस कालका कविताहरूमा नवीन काव्य शैलीको दर्शन पनि पाइन्छ । कवि घनश्याम कोइरालाको काव्य रचना सृष्टिका दुर्इ धार यसको सुन्दर उदाहरण हो । प्राय: सबै कविहरूले छन्दमुक्त अभिव्यक्ति दिएका छन् ।

……………………………………………………….

सन्दर्भ :

 

  • कस्तूरी- पदमबहादुर राई ओल्ड ब्वाय. पृ.४०-४१
  • मानवता- कृष्णप्रसाद काफ्ले –       पृ.२९
  • प्रतिविम्ब मणिपुरको – चूडामणि खरेल-       पृ.५५
  • मान्छेभित्रको मान्छे बोल्छ – आलोक गौतम      पृ.१५
  • ओ प्रकृति – खत्री कुमार       पृ. १५

पूर्ववत्                                पृ. १०५

  • आह चाह – कमल थापा प्रकाश पृ. २

पूर्ववत्                                पृ. १०

  • मिस्कल – घनश्याम कोर्इराला पृ. ३९

पूर्ववत्                                पृ. ४४

  • कलिला बेलपत्रहरू – नेत्र प्रसाद अधिकारी       पृ. ६

पूर्ववत्                                पृ. ४

पूर्ववत्                                पृ. २९

पूर्ववत्                                पृ. ४८

  • म – कीर्तिमणि खतिवडा –             पृ.७
  • आधुनिक मान्छे – सीताराम अधिकारी          पृ. १८
  • एक मुट्ठी कविता सङ्ग्रह – राहुल बोगीको रार्इ पृ. ३७

पूर्ववत्                                पृ. ३५

  • पूर्णिमाको जुन – दीपक पन्थ       पृ. १८
  • गुनासो – सृष्टि पौड्याल       पृ.  १

अन्य सहायक सन्दर्भ ग्रन्थ

१४. मणिपुरमा नेपाली जनजीवन- मुक्ति गौतम,दो.सं.२०१८

१५. मणिपुरमा नेपाली साहित्य :एक अध्ययन- डा.गोमा देवी शर्मा, २०१६

१८. भारतीय नेपाली साहित्यको विश्लेषणात्मक इतिहास – डा.गोमा देवी शर्मा, २०१८

प्रतिक्रिया
Loading...