युगबोध गरेको दावी गर्ने नेपाली कवि नेपाली नारीलाई आर्थिक स्वतन्त्रता दिलाउने, नेपालीहरूको आयु बढाउने, नेपालीहरूलाई विज्ञानसित परिचय गराउने, नेपालबाट सतीप्रथा अन्त्य गराउने पुँजीवादलाई धन्यवाद भन्दैन ।

===

यस भाग-३ मा डा. नेत्र एटमद्वारा सम्पादित ग्रन्थ ‘समकालीन प्रतिनिधि नेपाली नारी कविता’ बाट नारी कविहरू सर्वश्री पवित्रा सुनार, सरिता तिवारी र निभा शाहका निम्न कविताहरू र फ्रिडाका कविताहरूको तुलनात्मक पठन गरिएको छ । सुनारको कवितामा पुँजीवादी व्यवस्थाप्रति असन्तोष व्यक्त गरिएको छ भने शाहको कवितामा पनि सोही विचार व्यक्त गर्दै नेपाली नारीहरूलाई लेनिन र रोजा (लक्जमबर्ग ) बनेर क्रान्ति गर्न आह्वान गरिएको छ । तिवारीको कवितामा पुँजीवादी व्यवस्थाको एक सांस्कृतिक स्वरूप – बजारवादी तथा उपभोक्तावादी संस्कृतिप्रति असन्तुष्टि व्यक्त गरिएको छ । यस्ता विषयहरू कवितामा पनि भेट्न सकिन्छ । नेपाली कविताहरूमा पुँजीवाद, साम्राज्यवाद, बजारवाद र उपभोक्तावाद विरुद्धको असन्तुष्टि र प्रतिरोध एउटा स्थायी धाराको रूपमा रहेको छ (अमृता शर्मा, नेपाली प्रगतिवादी कवितामा महिला, समकालीन नेपाली महिला समालोचना ; डा. अमर गिरी, समकालीन नेपाली कवितामा भूमण्डलीकरण, प्रज्ञा समकालीन नेपाली कविता विमर्श; डा. मधुसूदन गिरी, समकालीन नेपाली कवितामा राजनीतिक चेतना, काव्यविमर्श २०७३; डा. कुमार प्रसाद कोइराला, समकालीन नेपाली कवितामा राजनीतिक चेतना, प्रज्ञा समकालीन नेपाली कविताविमर्श )

पवित्रा सुनार

झरी

———

अफसोच लागिरहेछ

मलाई यतिखेर

सभ्यताको पाठ सिकाउनेहरूसँग

विकासको नाममा पूँजीको होड चलाएर

थाहै नदिई म जस्तै मान्छेको हत्या गर्नेहरूसँग।

…………………

बा ! म पनि दाइ जस्तै जन्मिदै

एक हिस्सा जमिनको मालिक भइदिएको भए

दुई छाकको दास हुने थिइनँ नि

————-

सरिता तिवारी

बजार विरुद्ध

 

ऊसित हिँड्नलाई छैनन् गोडा

 

बलजफ्ती खोसेर

लगेको छ उसले मेरा गोडाहरू 

र तिनैले टेकेर

उक्लिरहेको छ सुपरमार्केटको सिँढी

चढिरहेको छ मल्टिनेसनल कम्पनीको लिफ्ट

र मानिसका अङ्गअङ्गमा फडकिँदै

मारिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी

……………..

त्यहाँ फिट गरेको छ उसले

मेरै नापका गुच्चाजस्ता आँखा

गुच्चाका आँखाले

मान्छे मान्छे देखिन्न

देखिन्छ केवल बजारतन्त्रको गुलाम

ती आँखाले हेर्दा

एउटै देखिन्छ गुहेकिरो र मान्छे

गुहेकिरो

जो आजन्म डुबिबस्छ आदिम रछ्यानमा

…………………………

यति बेला

छैनन् मसित कर्मशील हात

छैनन् गतिशील गोडा

बनाएर नितान्त निरिह र एक्लो 

उसले छोडिदिएको छ मसित केवल

मुख र मलद्वारको बिचमा

एउटा अगस्ती पेट ।

………………

तपाईंलाई के लाग्छ साथी

के सम्भव छ बजारलाई भाषाले परास्त गर्न ?

निभा शाह

अनिदो बस्ती

……………….

यहाँ प्रेम बिक्छ

आँसु बिक्छ

भावना बिक्छ

पूँजीको बजारमा

शरीरको बजारीकरण

शरीर बिक्छ

मासुशाला हो मासुशाला

यहाँ मान्छेको छाला बिक्छ।

 

आऊ तिमी आऊ

कोक्रो हल्लाउने हातले संसार हल्लाउँछ

घोषणा गर्दै आऊ

आऊ लेनिन बनेर आऊ

आऊ तिमी आऊ

रोजा बनेर आऊ ।

…………………..

पुँजीवाद र उपभोक्तावाद हाम्रो भान्सा, पूजाकोठा र शयनकक्षसम्म पसिसकेको परिस्थितिमा र वर्तमान पुँजीवादी सांस्कृतिक महाआख्यानको सन्दर्भमा यिनका बारेमा लेखिएको कुनै पाठले (Text) कविता हुने हैसियत राख्छ कि राख्दैन भन्ने प्रश्न उब्जिन्छ नै । पुँजीवाद र सांस्कृतिक साम्राज्यवादको प्रमुख नाइके र संरक्षक मानिने अमेरिकासित जोडिएको मेक्सिकोकी, उपभोक्तावादी संस्कृति फिटिक्कै मन नपराउने कम्युनिष्ट फ्रिडाका कविताहरूमा पुँजीवाद, साम्राज्यवाद र उपभोक्तावाद प्रति कुनै असन्तुष्टि व्यक्त नगरिएकाले र प्रतिवादका लागि आह्वान नगरिएकाले यो विषय अझै रोचक भएको छ । यसले यति त प्रष्ट हुन्छ कि कवितामा वर्तमान युगको मूल स्वर मानिएको पुँजीवादको पक्ष वा विपक्ष नलिँदैमा कोही यसको समर्थक वा विरोधी नभइहाल्ने रहेछ। बरु लेखिएको पाठ, कविता नहुने जोखिमबाट जोगिन्छ।

साम्यवादी क्रान्तिलाई सघाउने चित्रहरू बनाएकी फ्रिडा भाषामा व्यक्त विचारले ठुलो जनसंख्यालाई छोटो समयमै पुँजीवाद विरुद्ध सचेत बनाउन सक्ने हुँदा हुँदै पनि कवितामा पुँजीवादमाथि आक्रमण गर्ने उद्यम गर्दिनन् । कवितामा नारी सचेतना र मुक्तिका आवाज नउठाएकी फ्रिडाले पुँजीवाद र उपभोक्तावाद जस्ता राजनीतिक विषय नउठाउनु भनेको स्वाभाविक नै देखिन्छ। यसले परिवर्तनकामी कविले समाजको प्रत्येक विषय र बेथितिहरूमा सुन्दर कविता लेख्न नसक्ने रहेछन् भन्ने पनि देखाउँछ। फ्रिडाको निर्वासित रुसी साम्यवादी नेता ट्राट्स्कीसितको सामिप्यता, एज्टेक र माया संस्कृतिप्रतिको अनुराग र अतियथार्थवादी चित्रहरूले गर्दा उनी नवमार्क्सवादी वा उत्तर मार्क्सवादी भइसकेकी थिइन् जस्तो देखिन्छ । तथापि नोबेल पुरस्कार विजेता मेक्सिकाली कवि अक्टावियो पाज लगायतले उनलाई रुसी साम्यवादी तानाशाही व्यवस्थाको समर्थन गरेको आरोप लगाएका छन् । जस कारण उनी परम्परागत कम्युनिष्ट नै थिइन् भन्ने अनुमान छ ।

कविता, साहित्यका अन्य विधाभन्दा भिन्न हुने भएकाले यसमा यथार्थलाई प्रतिविम्बन गर्न सकिन्छ कि सकिन्न भन्नेमा दुई मत छैन । मार्क्सवाद र अस्तित्ववादलाई सँगै लगेका फ्रान्सेली दार्शनिक तथा साहित्यकार जाँ पाल सार्त्र, कविताका भाषामा यथार्थ पाउन नसकिने धारणा राख्छन् । ‘कलाका लागि कला’ भन्ने सम्प्रदायदेखि केही मार्क्सवादी सम्प्रदायका विद्वानहरूले पनि कवितामा यथार्थको प्रतिविम्बन सम्भव नहुने धारणा व्यक्त गरेका छन् ( डा. ताराकान्त पाण्डेय, मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र ) तर कतिपयले भने यथार्थलाई प्रतिविम्बन गर्न सकिने धारणा राखेका छन् । यथार्थवादी कविता लेखन सम्भव छ भन्दै समालोचक डा. पाण्डेय यसरी सचेत पनि गराउँछन् , “यथार्थवाद आख्यानका सन्दर्भमा जुन मात्रामा सजातीय र अनुकूलता छ , कवितामा पनि त्यही मात्रामा छ भन्न सकिन्न ।” तसर्थ, नवमार्क्सवादी वा उत्तर मार्क्सवादी तर्कवितर्क नगरेर पनि फ्रिडाका कविताहरूलाई प्रगतिवादी भन्न सकिन्छ ।

आजीवन मेक्सिकाली कम्युनिष्ट आन्दोलनसित जोडिएकी फ्रिडाले व्यक्तिगत र वैवाहिक जीवनमा जतिसुकै दुःख पाए पनि उनी निराशावादी भइनन् र जिन्दगी आफ्नै तरिकाले लडिन् र बाँचिन् । जतिसुकै कष्ट पाए पनि निराशावादी जीवन दृष्टिकोण नअपनाइकन र व्यक्तिगत स्वतन्त्रतासित सम्झौता नगरिकन, चित्रहरूमा नारी सरोकारका विषयहरू चित्रण गरिरहिन् । कविताहरूमा कलासित सम्झौता नगरी अनि कुनै राजनीतिक दवाबमा पनि नपरी अभूतपूर्व रूपमा आशा, प्रेम र स्वतन्त्रता अभिव्यक्त गर्नाले उनलाई अन्य नारी कविहरूभन्दा पृथक मानिएको छ । विद्रोही भएर उनले जे जति भत्काइन् र जे जसरी बाँचिन्, त्यो नै धेरै नारी र तेश्रोलिङ्गीहरूका लागि प्रेरणा बनेको छ। एउटा सामान्य मानिसलाई उनको महत्व यति नै हो ।

कवि तिवारीलाई यो अनुमान थियो कि कविता लेख्दैमा, पाठकहरू उपभोक्तावाद विरुद्ध केही सार्थक गर्न सक्नेछैनन् । त्यसैले उनले आफ्नो कविताको अन्त्यमा यो प्रश्न गरेकी छिन् “ तपाईंलाई के लाग्छ साथी के सम्भव छ बजारलाई भाषाले परास्त गर्न ? ” यो लेख कवि तिवारीलाई दिइएको जवाफका रूपमा पनि बुझ्न सकिन्छ । पुँजीवाद विरुद्धको प्रतिरोध, माथिका तीनवटै कविताहरूको मूल स्वर हो । नेपाली नारी कविहरूले व्यक्त गरेका विचारहरूका  आधारमा माथिका तीनवटै लेखहरू स्वागतयोग्य छन् र विमति जनाउनुपर्ने केही कारण छैन तर यी पाठहरू कविता भए वा भएनन् भनेर बहस गर्ने ठाउँ चाहिँ कविहरूले दिएका छन् । पुँजीवाद , उपभोक्तावाद जस्ता विषयहरूमा दर्शन, संस्कृति तथा राजनीतिमा रुचि राख्ने प्रत्येक व्यक्ति सुसूचित हुन्छन् ।  तसर्थ तिनका लागि यी कविताहरूमा नयाँ केही छैन । रूपवादीहरूले (Formalist) भन्ने गरेका ‘अपरिचितिकरण, अविदितिकरण र विस्मितिकरण ‘ का उपकरणहरूको पर्याप्त उपयोग हुन नसक्दा यी कविताहरूमा नवीनता छैन । पुँजीवाद र उपभोक्तावाद नबुझेका व्यक्तिहरूलाई बुझाउन खोजिएको हो भने यस्ता जटिल सामाजिक, आर्थिक, राजनीतिक , सांस्कृतिक विषय कविताबाट चाहिँ बुझाउन सकिन्न । यस्ता जटिल विषयहरू बुझाउने शक्तिशाली विधा गैर-आख्यान हो । सांस्कृतिक र राजनीतिक रूपमा यी विषयहरू उचित हुँदाहुँदै पनि प्रस्तुत लेखनहरूमा चलनचल्तीको भाषामा पर्याप्त काव्यिक हिंसा मच्चाउन नसक्दा सुनिसकेकै विचारहरूको आवृति भएको देख्न सकिन्छ ।

कवि तिवारीले बजारको शक्ति वर्णन गर्दा, बजारले मानिसलाई अशक्त र अपाङ्ग बनाएर उसैमाथि शासन गरिरहेको बताएकी छिन् र बजारले गर्दा मानिसले स्वावलम्बी तथा स्वतन्त्र जिन्दगी बाँच्न नसक्ने भनेकी छिन् । बजारले मानिसलाई गुहेकिरो बनाएर रछ्यानमा बाँच्न विवश पारेको छ । मानिस बजारका अगाडी लाचार छ, शक्तिहीन छ । शक्तिहीन र लाचार गुहेकिरोसित उपभोक्तावादी बजारमा गुहु खानलाई अगस्ती पेट मात्र छ ।  यी विचार बजार र उपभोक्तावादी महाआख्यान अनुरूप भएकाले हामी यसमा वास्तविकता नै पाउँछौ तर गहिरिएर हेर्ने हो भने नेपाली कवि पुँजीवाद ,उपभोक्तावाद विरुद्ध एकोहोरिएर नकारात्मक भएको कुरा स्पष्ट हुन्छ । कविले सर्वव्याप्त शक्तिशाली बजारतन्त्रको चर्चा गरेकी छिन् । अपाङ्ग मनुष्यलाई गुहेकिरोसित तुलना गरिएको कविको बजार र उपभोक्तावाद सम्बन्धी धारणा सत्य हुँदो हो त बजार र उपभोक्तावादको विकासको चरम स्थितिमा रहेको पश्चिमी युरोपेली देश र अमेरिकाको आजसम्म पतन भइसक्दो हो । विश्व मानचित्रमा ती देश हुने नै थिएनन् । कर्मशील हात खुट्टाहरू बजारले झिकेर लगेकाले गुहेकिरो सरह सडेगलेको जिन्दगी बिताउन बाध्य अमेरिकीहरूले ओलम्पिकमा सबैभन्दा धेरै पदकहरू नल्याउनु पर्ने हो । उनीहरूले नै सबैभन्दा धेरै नोबेल पुरस्कार नजित्नु पर्ने हो । चन्द्रमामा उनीहरू सर्वप्रथम नपुग्नुपर्ने हो । हवाईजहाज पनि उनीहरूले नै सर्वप्रथम नउडाउनु पर्ने हो । कविले एकोहोरिएर बजार र पुँजीवाद खराब भन्ने विचारधारालाई पछ्याउँदा आफ्ना धारणाहरू अतिवादको नजिक पुगेको चाल पाइनन् । सन् २०२४ मा प्रति व्यक्ति आय ८९,१०५ अमेरिकी डलर भएका अमेरिकी नागरिक सकारात्मक सोचाइ राख्दै नोबेल पुरस्कार कसरी जित्ने भन्ने सोच्छन् । अर्कातिर, एउटा विचारधारालाई टेकेर उग्र बन्दा प्रति व्यक्ति आय जाबो १४५० अमेरिकी डलर भएको नेपालीले आफूलाई गुहेकिरो देख्छ । यो कुन विधिबाट प्राप्त भएको वैज्ञानिक ज्ञान हो स्पष्ट छैन । बजारतन्त्र र उपभोक्तावादले मानिसलाई अशक्त र अपाङ्ग गुहेकिरो बनाएको हुन्थ्यो भने उपभोक्तावादमा चुर्लुम्म डुबेको अमेरिकाको पतन भइसक्नु पर्ने थियो र नेपालीहरूले प्रत्येक वर्ष नोबेल पुरस्कार प्राप्त गर्नु पर्ने थियो । शक्तिशाली बजारतन्त्रभित्र रहेका अमेरिकी र युरोपेलीहरूले प्रगति गरेको सन्दर्भमा कविले ‘छैनन् मसित कर्मशील हात , छैनन् गतिशील गोडा ‘ भन्दा कविलाई नेपालीहरूले भौतिक प्रगति गर्न नसक्नुका पछाडिका बहाना चाहिएको त होइन भनेर पनि शंका गर्न सकिन्छ । कवि पवित्रा सुनार एउटै कवितामा पुरुष वर्चस्व रहेको सामन्ती व्यवस्था र पुँजीवादी व्यवस्थाप्रति असन्तोष व्यक्त गर्छिन् । पूँजी र बजारमा एकाधिकारको प्रतिस्पर्धाले कसरी शक्तिहीन मानिस मारिन सक्छ भन्ने इंकित गर्छिन् । राजनीतिक रूपमा यी धारणाहरू सही हुन् तर पुँजीवादको सबल पक्षको चर्चा उनी गर्दिनन् ।

निभा शाहको कवितामा प्रयुक्त लेनिन र रोजा (लग्जम्बर्ग ) मध्ये लेनिन नेपाली कवितामा अत्यधिक प्रयुक्त रुसी र मार्क्सवादी मिथक हो। नेपाली कवितालाई विदेशी मिथकहरूले कतिसम्म गाँजेका छन् भन्ने कुरा समालोचक विद्वान्  पुरुषोत्तम सुवेदीको लेख ‘ समकालीन नेपाली कविता र विषयवस्तु ‘ को यो कथनले प्रष्ट्याउँछ ( संक्रमणको साहित्य र समकालीनाता , साझा प्रकाशन ) : ‘… बिसको दशकमा नेपाली कवितामा भित्रिएको पाश्चात्य जगतमा प्रचलित क्रिस्चियन र ग्रीक मिथकहरूको बाढी, ……को आडमा पलाएको जनाविमुख कवितायात्राले गर्दा कविताका पाठक घटेका थिए । पाठकहरूलाई कविताप्रति रुचि उत्पन्न गर्न र साथसाथै कवितालाई बरबराहट, मनोगत प्रलाप र आत्मनिर्वासनबाट मुक्त गर्दै आममान्छेको सरोकारवाहक बनाउन समकालीन नेपाली कविताले निकै बल पुर्याएको देखिन्छ । ” नेपाली कविताहरूमा अत्यधिक प्रयोग गरिएका लेनिन, रोजा जस्ता रुसी, मार्क्सवादी र अन्य पश्चिमी मिथकहरूलाई भने सुवेदीले उल्लेख गरेनन् । रुसी क्रान्ति र विश्व साम्यवादी आन्दोलनमा लेनिनको ठुलै भूमिका होला तर उनलाई आफ्ना विरोधीहरूलाई दबाउने , मार्ने , निर्वासनमा जान बाध्य पार्ने तानाशाही शासकको रूपमा पनि चिनिन्छ । शाहले मिथकहरू प्रयोग गर्दा यस्ता तथ्यहरूमा ध्यान नदिएकाले यो कविताले रुसी उपनिवेशवादी सांस्कृतिक चिन्तनलाई प्रवर्धन गर्दैनन् भनेर भन्न सकिन्न । नेपाल जस्तो देश अमेरिका र रुस दुवैको सांस्कृतिक उपनिवेश बन्न सक्छ भन्ने यथार्थलाई उपेक्षा गरिएको छ । लेनिनको साटो नेपाली साम्यवादी नेता पुष्पलाललाई उल्लेख गरिएको भए सांस्कृतिक उपनिवेशवादी चिन्तनको आरोप लगाउन पाइन्नथियो ।

नेपाली कवितामा असन्तुलित युगबोध

विश्वबाट सामन्तवाद नष्ट हुनु वा बदलिनुमा मुख्य हात पुँजीवादको थियो । नेपालको वर्तमान संविधानमा लेखिएको स्वतन्त्रता, समानता र मानव अधिकार पुँजीवादको देन हो । संसारमा पुँजीवाद हुँदैनथ्यो भने नेपालीहरूले अहिले उपभोग गरिरहेको स्वतन्त्रता, मानव अधिकार भन्ने चीज नै हुँदैनथ्यो । यो स्वतन्त्रता र मानव अधिकार नेपालीहरूले २००७ साल, २०४६ साल र २०६२ सालमा क्रान्ति गरेर ल्याएका हैनन् । यो स्वतन्त्रता विश्वमा पुँजीवादको उदय पश्चात सर्वत्र फैलिएको हो। यसको सृष्टिकर्ता पुँजीवाद हो । यो नेपाली जनताले गरेको मौलिक रचना होइन । यस स्वतन्त्रतालाई कसै कसैले पुँजीवादी उत्पादनहरू उपभोग गर्नलाई प्राप्त नक्कली स्वतन्त्रता मात्र पनि भन्लान् तर यति जाबो नक्कली स्वतन्त्रता प्राप्त गर्नलाई पनि विश्वमा पुँजीवाद नै आउनु परेको सत्यलाई बिर्सनु उचित हुँदैन । वर्तमान नेपालको संविधान, पुँजीवादी संविधान भन्दै तत्कालिन ने. क. पा. माओवादीले भविष्यमा समाजवादी व्यवस्था स्थापनार्थ सहज वातावरण होस् भनेर वर्तमान संविधानमै ‘समाजवादी’ शब्द राख्न लगाएका हुन् ।

नेपाली कवि युग र युगबोधका कुरा गर्छन् तर नेपाली नारीहरूलाई आर्थिक स्वतन्त्रता दिलाउने र सबल बनाउने, नेपालीहरूको सरदर आयु र प्रतिव्यक्ति आम्दानी बढाउने, विज्ञानसित परिचय गराउने, सतीप्रथा अन्त्य गराउने पुँजीवादलाई धन्यवाद भन्दैन । नेपाली कवि नेपाली राष्ट्रियतामा गर्व गर्दै कविता लेख्छ, राष्ट्रियताका लागि लड्न तयार हुन्छ तर ऊ नेपाली जाति र राष्ट्रियताको उदय पुँजीवादको देन हो भन्ने सत्यलाई स्वीकार गर्दैन । नेपालमा सामन्तवादको संरक्षक मानिने राजतन्त्रको अन्त्य गर्ने पुँजीवादलाई धन्यवाद भन्दै उसले कुनै कविता लेखेको छैन जब कि लोकतन्त्र, गणतन्त्र, समावेशीकरण जस्ता विषयहरूमा प्रशस्त कविता लेखिएका छन् (डा. लक्ष्मण प्रसाद गौतम , राजनीतिक आन्दोलन र समकालीन नेपाली कविता )। पुँजीवादको सकारात्मक युगबोध गर्न नसक्ने नेपाली कविलाई यसको नकारात्मक युगबोध भने नियमित रूपमा हुने गर्छ र ऊ एकोहोरिएर यस विरुद्ध खनिन्छ । पुँजीवादको सबल र सकारात्मक पक्ष नेपाली कविताको विषय हुँदैन तर दुर्बल र नकारात्मक पक्षलाई भने नेपाली कविले काव्यको विषय देख्छ । नकारात्मक पक्षहरू मात्र चित्रण गर्दा नेपाली कविताहरूमा विचारधाराहरूको कलाविहीन सोझो अभिव्यक्ति हुन पुगेको छ। यो प्रवृत्ति नेपाली पुरुष र नारी दुवैका कविताहरूमा पाइन्छन्।

स्वतन्त्रता, समानता र मानव अधिकार जस्ता युगीन विश्वास र मान्यताहरू कसरी नेपाली संस्कृतिका अभिन्न अङ्ग भएका छन् भन्ने बारेमा समालोचक विद्वान डा. दुर्गाबहादुर घर्ती लेख्छन्, “…….भाषा, विश्वास, मान्यता, मूल्य, स्वीकृति जस्ता कुरा संस्कृतिका तत्त्व हुन् । …. विश्वास कुनै कुराको सत्यताप्रति व्यक्तिको विचार हो। ….मान्यतालाई मानक, आदर्श, प्रतिमान पनि भनिन्छ । यो सामाजिक नियम हो, त्यसले समाजका सदस्यहरूलाई व्यवहार गर्नका लागि मार्गनिर्देशन गर्दछ । ………अमेरिकामा बेलायतबाट स्वतन्त्रताका लागि भएको सन् १७६० को दशकदेखि सुरु भई दुई दशक लामो राजनीतिक क्रान्ति र फ्रान्समा सन् १७८९ देखि १७९९ सम्म तानाशाही राजतन्त्रको विरुद्ध उदार लोकतन्त्रका लागि भएको राजनीतिक क्रान्तिले पुँजीवादी सभ्यताको मूल्यमान्यता, विशेषगरी आधुनिक नागरिक अधिकारलाई उजागार गर्दछ । …… आधुनिक सभ्यतालाई व्यापक अर्थमा पुँजीवादी सभ्यताका रूपमा चिनिन्छ ” । तर डा. घर्तीले भनेका उदार लोकतन्त्र, नागरिक स्वतन्त्रता र अधिकार पुँजीवादको योगदान हो भन्ने सत्यलाई स्वीकार्न नेपाली कवि तयार छैन र यी युगीन भूमिकाको लागि पुँजीवादप्रति कृतज्ञ छैन । फलतः कविताहरूमा एकपक्षीय नकारात्मकता थुप्रिएको छ ।

पुँजीवादले मानव सभ्यताको विकासमा पुर्याएको योगदानको प्रशंसा नगरेर एकोहोरो आलोचना मात्र गर्दा कविहरूले आफ्नो कुण्ठा पोखिरहेका छन् कि भनेर शंका गर्ने ठाउँ छ । नेपाली कविहरूले गरेका युगबोधमा पुँजीवाद विरुद्ध ‘घृणा र नकारात्मकता’ मात्र छ, सकारात्मक पक्षहरू छैनन् । त्यसैले नेपाली कविले वस्तुगत र ठिक तरिकाले ‘युगबोध’ गरेको छ त भन्ने शंका उब्जिन्छ । नेपाली कविको ‘युगबोध’ अपुरो र अधुरो लाग्छ । हामी पुँजीवादप्रति यतिसम्म असहिष्णु, द्वेषी, पूर्वाग्रही र अवैज्ञानिक छौं कि हाम्रो पुँजीवाद प्रतिको बुझाई एकतर्फी, अपुरो, पूर्वाग्रही , अवस्तुवादी र अवैज्ञानिक छ कि भनेर शंका गर्नुपर्ने हुन्छ । नेपाली कविको बुझाईलाई पत्याइराख्नुपर्ने देखिन्न । नेपाली कविहरूले पुँजीवाद, उपभोक्तावादप्रति व्यक्त गरेका धारणाहरूलाई मनन गर्नुपर्ने देखिन्न । पुँजीवादलाई अपुरो अधुरो बुझेको नेपाली कविले भन्दैमा लेनिन र रोजालाई गुहार्नुपर्ने देखिन्न । पुँजीवादलाई कसरी अर्को कुनै व्यवस्थाले विस्थापन गर्ने भन्ने विमर्श गर्नुपूर्व पुँजीवादलाई हामीले कसरी वस्तुनिष्ठ भएर बुझ्ने भन्ने अहम प्रश्न हो।  बुझे पछि समाधान पनि निस्केला तर गलत बुझाइले समाधान निस्कँदैन । यति भन्दै गर्दा यो लेखक केमा दृढ छ भने पुँजीवादी र उपभोक्तावादी संस्कृति आलोच्य भने हुन् ।

पुँजीवाद र उपभोक्तावादको अपर्याप्त अध्ययन र जटिलता

यहाँ नेपाली कविको पुँजीवादप्रतिको बुझाईको अवमुल्यन गर्न खोजिएको होइन तर जसरी र जति बुझेका छौँ त्यो पर्याप्त छैन भन्न खोजिएको हो । यो विषयमा यो लेखक अल्पज्ञ हो तर केमा विश्वस्त छ भने यस सम्बन्धमा आजसम्म भए गरेका सबै अध्ययनहरू पनि अपूर्ण र विवादास्पद नै छन् । हाम्रो बुझाई अर्थतन्त्रमा उत्पादन र उपभोगको प्रक्रियासित जोडिएको छ । पुँजीवादको श्रोत र शक्ति, उत्पादनका साधनहरूमा सीमित व्यक्तिहरूको नियन्त्रणसित जोडिएको छ भनेर हामी बुझ्ने गर्छौँ । युरोपमा पुँजीवादको विकास हुनुपूर्व भौतिक विज्ञानमा अभूतपूर्व  विकास भएको थियो र यसको जगमा थियो नयाँ दर्शन, जसलाई यो विश्वास थियो कि भौतिक जगतलाई वैज्ञानिक पद्धतिद्वारा बुझ्न सकिन्छ । यो दर्शनभित्र पसेर पुँजीवादलाई बुझ्ने मौलिक प्रयास नेपालमा भएको छैन । कम्तीमा यसको वस्तुगत र वैज्ञानिक अध्ययन नेपालीहरूबाट भएको छैन । पूर्वीय दर्शनमा दक्खल भएका नेपाली विद्वानहरूले पुँजीवाद पश्चिमी भौतिकवादी चिन्तन प्रणालीको उपज हो भन्दा नेपाली मार्क्सवादी विद्वानहरू यस्तो सोचाइलाई अध्यात्मवादी चिन्तन भनेर महत्व दिँदैनन् र त्यसलाई अनुसन्धानको विषय पनि ठान्दैनन् । पूर्वीय दर्शनका विज्ञहरूले पनि यसमा वस्तुगत भएर वैज्ञानिक पद्धतिले अनुसन्धान गर्न सकेका छैनन् । हाम्रो बुझाइ र अध्ययन पुँजीवादका बाह्य रूपहरू साम्राज्यवाद, भूमण्डलीकरण, उपभोक्तावादको अध्ययनमा सीमित छ। जे जति अध्ययन चिन्तनहरू भए, गरिएका छन् ती मौलिक प्रकृतिका छैनन् । अफ्रिकादेखि एसियासम्म र कोरियादेखि भेनेजुएलासम्म अध्ययन हुने भौतिक विज्ञानका सत्यहरू सोह्रौ, सत्रौं शताब्दीको बेलायतमा पढाइने विज्ञानको सत्यहरू भएकोले यी सबै देशहरूमा तत्कालीन बेलायत झैँ पुँजीवादी व्यवस्था देखिनु भनेको आश्चर्यको विषय होइन । विज्ञानको दर्शन र पुँजीवादको बिचमा के कस्तो सम्बन्ध छ भन्ने तिर नेपाली मार्क्सवादी विद्वानहरूको समेत ध्यान पुग्न सकेको छैन । पुँजीवादको शक्ति र श्रोत उत्पादनको साधनमाथि केही सीमित व्यक्तिको स्वामित्व र नियन्त्रण हो वा आधुनिक विज्ञान हो भन्ने पक्षमा, नेपालमा स्वतन्त्र अध्ययन भएको छैन ।

मार्क्सवादी दर्शन अनुसार पुँजीवादलाई बुझ्दा थुप्रै प्रश्नका उत्तर पाइन्न । मानव समाज दास व्यवस्था, सामन्ती व्यवस्था, पुँजीवादी व्यवस्था हुँदै साम्यवादी व्यवस्थामा प्रवेश गर्छ भन्ने वैज्ञानिक अवधारणा छ । यसमा विश्वास गर्ने हो भने वैज्ञानिक नियम अनुसार विकास भएको पुँजीवादको विरोध गर्न थाल्नुपर्ने कारण पनि छैन । वैज्ञानिक नियम अनुसार विकास भएको यो व्यवस्था आफ्नै नियम अनुसार आँफैले तय गरेको समयमा साम्यवादी व्यवस्थामा प्रवेश गर्ने भएकाले धेरै टाउको दुखाउनुपर्ने विषय पनि रहँदैन । त्यस्तै उत्पादन र उपभोगमा कुनलाई प्राथमिकता दिने भन्ने प्रश्न पनि हो । पुँजीवादी व्यवस्था पुँजीपतिहरूले स्थापित गरेको व्यवस्था हो कि उपभोक्ताहरूले सिर्जना गरेको अवस्था हो ? युरोप, अमेरिकाका सचेत उपभोक्ताहरूले एक महिना मात्र औद्योगिक उत्पादनहरू उपभोग नगर्ने हो भने पुँजीवादले घुँडा टेक्ने थियो तर यस्तो केही भएको छैन । यी र यस्ता थुप्रै विषयहरूलाई मार्क्सवादी दर्शन अनुसार बुझ्दा अधुरो बुझाइ मात्र हुन जान्छ ।

विज्ञानको दर्शन र अध्ययनमा अभूतपूर्व योगदान दिएका अष्ट्रियन दार्शनिक कार्ल पोप्पर (Karl Popper) का अनुसार जुन सिद्धान्तलाई गलत प्रमाणित गर्न सकिन्न (Falsification) त्यो वैज्ञानिक सिद्धान्त नै होइन । पोप्पर समाजशास्त्र , अर्थशास्त्र , राजनीतिशास्त्र , मनोविज्ञान, इतिहास जस्ता ज्ञानका शाखाहरूलाई विज्ञान मान्दैनन्। पोप्पर संसारलाई तीन समूहमा वर्गिकरण गर्छन् । उनको पहिलो संसार (W1) अरबौं वर्ष उमेरको निर्जिव ब्रह्माण्ड हो भने दोस्रो संसारमा ( W2) केही करोड वर्ष उमेरको मानव लगायत जीवजन्तु र वनस्पतिहरू पर्दछन् ।  तेस्रो संसारमा (W3) बिस हजार वर्ष उमेरको मानव सभ्यता र संस्कृति पर्दछ । यी तीनवटै संसारहरू एक पटक मात्र घटेका घटना (Singular Event) भएकाले यिनलाई र यी भित्र घटेका उपघटनालाई विज्ञानसम्मत हुनेगरी व्याख्या गर्न सकिन्न । एक पटक मात्र घट्ने घटनालाई (Singular Event) प्रयोगशालामा परीक्षण गर्न सकिन्न न त त्यसको पुनरावृत्ति र पुनरुत्पादन (Repetition, Reproduction) गर्न सकिन्छ । पुनरावृत्ति र पुनरुत्पादन गर्न नसकिने घटनाहरूको वैज्ञानिक अध्ययन गर्न पनि सकिन्न । W1, W2, र W3 जस्ता घटनाहरू पटक पटक गरि धेरै पटक नघटदासम्म र यसरी घट्दा हरेक पटक मानव सभ्यतामा पुँजीवादको विकास भएमा मात्र पुँजीवादलाई विज्ञानसम्मत विधिबाट बुझ्न सकिन्छ ।

पुँजीवादी व्यवस्थाभित्र रहेर कुन विधिबाट पुँजीवादको अध्ययन गरेमा सबैभन्दा वस्तुनिष्ठ र वैज्ञानिक हुन्छ भन्ने पनि महत्वपूर्ण प्रश्न हो । विज्ञानले जहिले पनि अध्येय वस्तुलाई अध्येताबाट अलग्ग राख्नुपर्ने माग गर्दछ  तर पुँजीवादको अध्ययन गर्दा यो वैज्ञानिक पद्दतिको पालना गर्न सकिन्न । अध्येता पुँजीवादी व्यवस्थाभित्र रहेर पुँजीवादी व्यवस्थाको वैज्ञानिक अध्ययन गर्न सकिँदैन । तसर्थ, पुँजीवाद र उपभोक्तावादको पूर्णतः वैज्ञानिक अध्ययनका लागि यी अध्येय वस्तुहरू अध्येताभन्दा बाहिर हुनुपर्ने हुन्छ जुन सर्वथा असम्भव छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने त नेपाली अध्येता मल्लकालको आरम्भिक चरणमा पुग्यो भने बल्ल उसले पुँजीवादको वैज्ञानिक अध्ययन गर्न सक्ला । केही गरि अध्येता त्यहाँ पुग्यो भने पनि उसले भौतिकशास्त्रको प्रयोगशालामा अध्ययन गरे झैँ अध्ययन गर्नलाई आफ्नो अगाडी पुँजीवाद पाउने छैन । यो स्थितिमा पुँजीवाद अध्ययनार्थ विवादरहित वस्तुनिष्ठ विधि खोज्नु अत्यन्त जटिल कार्य हो र नेपाली कवि र अध्येताहरूले यतातिर पनि ध्यान पुर्याउनु आवश्यक छ । कसैले पुँजीवादका बारेमा आफ्नो कुनै धारणा व्यक्त गर्दैमा त्यो विचार वैज्ञानिक हो भन्ने पुष्टि हुँदैन । पर्याप्त वैज्ञानिक अध्ययन बिना कुनै राजनीतिक विचारधारामा उभिएर पुँजीवाद र उपभोक्तावादको विरुद्धपूर्वाग्राही कविता लेख्दा त्यो कविता निकै हलुको हुन जान्छ र त्यसले कुनै प्रतिरोधी वैचारिक तरंग उत्पन्न गर्न सक्दैन ।

पुँजीवाद र उपभोक्तावादको प्रतिवाद गर्ने प्रवृत्तिहरू फ्रिडाका कविताहरूमा नदेखिँदा समान आर्थिक सामाजिक स्तर रहेको नेपालका कविहरूमा यी प्रवृत्तिहरू रहनुमा यस आलेखको भाग १ र २ मा उल्लेखित कारणहरूका अतिरिक्त निम्न कारणहरू रहेका हुन सक्छन् ।

(ज) नेपाली कविहरू र समालोचना क्षेत्रको असन्तुलित युगबोध

सामन्तवादी व्यवस्थाको अन्त्य, व्यक्ति स्वतन्त्रता, सामाजिक समानता र मानव अधिकार पुँजीवादले मानव जातिलाई प्रदान गरेको अभूतपूर्व उपादान हो । यी युगीन मूल्यहरूका लागि पुँजीवादलाई निसङ्कोच धन्यवाद भन्न सकिन्छ । ‘पुँजीवाद’ समकालीन युग चेतना हो र डा. घर्तीले भने अनुसार यो युग चेतनामा पुँजीवादका सकारात्मक, सबल मूल्यहरू एवं नकारात्मक, पतनशील, अमानवीय मूल्यहरू पनि छन् । नेपाली समालोचना क्षेत्रले पुँजीवादको सकारात्मक र नकारात्मक मूल्यहरूको सम्यक चर्चा गरेको पाइन्न । नेपाली समालोचना क्षेत्रले पुँजीवादको नकारात्मक मूल्यहरूलाई जति महत्व दिएर चर्चा गरेका छन् त्यतिकै महत्व सकारात्मक मूल्यहरूलाई दिएका छैनन् । पुँजीवादको नकारात्मक, पतनशील र अमानवीय मूल्यहरू मात्र औंल्याएर एकतर्फी धारणाहरू राख्दा सम्यक युगबोध भएको मान्न सकिन्न । नेपाली समालोचनाले नेपाली कवितामा पुँजीवादको सकारात्मक र नकारात्मक मूल्यहरूको स्वतन्त्र अध्ययन नगरेकाले एक पक्षीय रूपमा यसको नकारात्मक मूल्यहरूको आलोचना हुनुलाई मात्र युगवोध भनेको जस्तो पनि छ ।  यो युगवोध एक पक्षीय छ भनेर मत दिन नसकिए पनि असन्तुलित छ भन्ने आभाष चाहिँ पाइन्छ । तलका सन्दर्भहरूबाट पनि यो असन्तुलित युगबोधको आभाष गर्न सकिन्छ । यो प्रसङ्गमा फ्रिडाका कविताहरूमा पुँजीवाद र उपभोक्तावादको समर्थन र विरोध नपाइनु उल्लेखनीय छ ।

आफ्नो पुस्तक ‘ समकालीन नेपाली कवितामा युगचेतना ‘ मा विद्वान् समालोचक डा. सुकुम शर्मा, युग चेतनाका बारेमा यसरी प्रष्ट पार्छन्   “ …. विश्वदृष्टिकोण विचार, सिद्धान्त या आस्थाको योग हो । सामाजिक चेतनाको सम्पूर्ण रूपबाट नै विश्वदृष्टिकोण निर्माण हुन्छ । यही विश्वदष्टिकोणको निर्माण नै युगबोध या युगचेतना हो ..। … नेपालमा भएका सबै प्रकारका सशस्त्र तथा शान्तिपूर्ण जनसङ्घर्षबाट प्राप्त जनादेश, जसबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउँदै समाजवादमा अघि बढ्ने मान्यता दिनु भनेको यस समयको चेतना हो । नेपालको संविधान (२०७२) को प्रस्तावनामा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने भन्ने उल्लेख रहेको छ । यस प्रस्तावनाले समाजवादको मार्ग अघि बढाएको छ । नेपालको संविधानमा समाजवाद उल्लिखित हुनाले डा. शर्मा उत्साहित छन् तर दुई हजार वर्षदेखिको राजतन्त्र र सामन्तवादलाई उखेलेर फ्याल्ने र नेपाली संस्कृतिमा स्वतन्त्रता, समानता र मानव अधिकार जस्ता युगीन मूल्यहरू प्रदान गर्ने पुँजीवादप्रति उदार हुँदैनन् र अगाडि लेख्छन् “यसमा पनि सामन्तवाद, दलाल पुँजीवाद र साम्राज्यवादी शोषणबाट मुक्त राष्ट्रिय स्वाधीनताको आधार गणतन्त्रसँग जोडिएको विषय हो ।” उनी राजतन्त्र अन्त्यपछि भएको नेपाली राज्यको पुनःसंरचना र पहिचानमूलक प्रतिनिधित्व जस्ता ऐतिहासिक घटनाहरू पुँजीवादको योगदान हो भन्दैनन् । नेपालमा गणतन्त्र पुँजीवादको योगदान बिना नै नेपाली जनताको क्षमताले मात्र आएको हो भन्ने यसको प्रतीत हुन्छ । आफ्नो लामो लेख ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना , प्रज्ञा समकालीन नेपाली कविताविमर्श ‘ मा विद्वान् समालोचक डा. कुमार प्रसाद कोइराला कतै पनि विश्वव्यापी पुँजीवादी व्यवस्थाले गर्दा नेपालमा २०४६ र २०६२ सालको राजनीतिक परिवर्तन भएको सन्दर्भ उठाउँदैनन् । उनी लेख्छन् : ‘पराधीनता वा परतन्त्रको विरोध नै स्वतन्त्रताको चाहना हो । सर्जक कुनै पनि प्रकारका बन्धन मन पराउँदैन’ तर यो युगीन स्वतन्त्रताको आकाङ्क्षा  पुँजीवादको ऐतिहासिक देन हो भन्दैनन् ।

पुँजीवादप्रति नेपाली समालोचना क्षेत्रको दृष्टिकोण असन्तुलित रहेको तथ्य विद्वान् समालोचक डा. ताराकान्त पाण्डेयको यो एकपक्षीय भनाइले (समकालीन नेपाली प्रगतिवादी कविताको वैचारिक अन्तर्वस्तु, प्रज्ञा समकालीन नेपाली कविता विमर्श ) पनि प्रष्ट हुन्छ , ‘ ……. नवउदारवाद र उपभोक्तावादमा आधारित पुँजीवादी समाज र संस्कृतिले पनि यतिखेर नेपाली समाजलाई गाँजिरहेको छ, र सामन्तवाद तथा नवउदारवादी उपभोक्तावादी पुँजीवादको एक किसिमले विकृत गठजोडका अवस्थाबाट देश गुज्रिरहेको छ । ……सहरमा उत्तरआधुनिक मलसंस्कृति हुँदै उपभोक्तावादी पुँजीवादको चमकदमक देखापरे पनि ठुलो ग्रामीण क्षेत्र अझै आधुनिक बन्न सकेको छैन । ‘ माथिको धारणामा विमति राख्नु पर्ने ठाउँ छैन तर उनले पनि पुँजीवादको नकारात्मक पक्षहरूको मात्र चर्चा गरे । उनी पनि मानव सभ्यतालाई प्रदान गरेको सकारात्मक मूल्यहरूका लागि पुँजीवादको प्रशंसा गर्दैनन् ।

आफ्नो पुस्तक “नेपाली कवितामा राष्ट्रिय स्वाधीनता चेत” मा विदुषी समालोचक श्री निमग्ना घिमिरेले आधुनिक राष्ट्र र राष्ट्रियताको जनक विश्व पुँजीवाद हो भन्ने उल्लेख गर्दिनन् । जबकि विश्वभरि आधुनिक राष्ट्र र राष्ट्रियताको उत्पत्ति युरोपमा पुँजीवादको विकास र त्यसको उपनिवेशवादी बिस्तारसित सोझै सम्बन्धित छ । नेपाली राष्ट्र र राष्ट्रियताको प्रसङ्ग कोट्याउँदै उनी भूमण्डलीकरण , नवउदारवाद, साम्राज्यवादले र विश्वबैंक तथा विश्व व्यापार संगठनहरू जस्ता संगठनहरूले नेपालको राष्ट्रियता र स्वाधिनतामा अतिक्रमण गरेको प्रसङ्ग भने उल्लेख गर्छिन् । वर्तमान विश्वको समाजशास्त्रीय, आर्थिक, राजनीतिक अध्ययन गर्नुपर्दा यो राजनैतिक बुझाइ  ठिक हो तर कविताका लागि यही राजनीतिक बुझाइ पर्याप्त मान्ने हो भने कविता, राजनीति, समाजशास्त्र र अर्थशास्त्रहरूका बिचमा केही फरक रहन्न ।

पुँजीवादको असल मूल्यहरूका पक्षमा बोल्नु भनेको पुँजीवाद आलोच्य छैन भनेको होइन । यसको सकारात्मक र नकारात्मक मूल्यहरूप्रति सचेतनापूर्वक धारणा राख्नाले सन्तुलित विश्व दृष्टिकोण देखिन्छ जसले गर्दा कवितामा राजनीति र कलाको सुन्दर समिश्रण हुन सक्थ्यो । माथिका केही प्रसङ्गहरूबाट नेपाली समालोचनामा समेत सम्यक युगवोध हुन सकेको छैन कि भन्ने आभाष पाइन्छ । पुँजीवादको नकारात्मक पक्षहरू केलाएर यसको आलोचना गर्नु नेपाली कविताको एक महत्वपूर्ण धारा हुँदा यसको सकारात्मक पक्षहरू केलाउँदै नेपाली कविहरू यसको प्रशंसा किन गर्दैनन् भन्ने प्रश्न नेपाली समालोचना क्षेत्रले उठाएको छैन । नेपाली कविले पुँजीवादप्रति राखेको सबै नकारात्मक सोचाइलाई नै उसले गरेको सहि युगबोध भनेर नेपाली समालोचना क्षेत्रले अनुमोदन गरेको छ । यो सम्यक युगबोध नभएर अधुरो, अपुरो, भ्रामक, असन्तुलित, एकतर्फी युगबोध हो भनेर नेपाली समालोचनाले कविलाई सचेत गराएको छैन । नेपाली समालोचना क्षेत्रले नेपाली कविहरूले पुँजीवादलाई एकपक्षीय आलोचना गर्नु नै युगबोध भनेर व्याख्या गरेको पाइन्छ । नेपाली समालोचनाले यो असन्तुलित युगबोधका कारणले नेपाली कविताहरूमा नारा र नकारात्मकता बढेको भन्दैन । पुँजीवादको आलोचना कविताको विषय हुन सक्ने हो भने नेपालबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने, नेपाली जनताहरूलाई स्वतन्त्रता , समानता र मानव अधिकार प्रदान गर्ने , नेपाली जनताको जीवन-स्तर उकास्ने , नेपाली महिलाहरूलाई आत्मनिर्भर बनाउने, सामन्तवादको प्रतीक राजतन्त्रलाई उखेल्ने पुँजीवादको प्रशंसा गरेर किन नेपाली कवि कविता लेख्दैन भनेर नेपाली समालोचनाले सोद्धैन । डा. घर्तीले भनेको अनुसार नेपाली समालोचना क्षेत्रले सांस्कृतिक अध्ययनमा पुँजीवादलाई वर्तमान युगका स्वतन्त्रता, समानता, मानव अधिकार, कानुनी राज्य मूल्य मान्यताहरूको जनक मानेको छ तर समालोचना गर्दा भने यो सत्यलाई बिर्सेको छ । यसको युगीन सबल र सकारात्मक पक्षहरूलाई हामीले हार्दिकता देखाउन सक्दैनौ भने हामी पुँजीवाद र उपभोक्तावादलाई बुझ्न सक्दैनौँ र समाधान पनि अप्राप्य हुनेछ ।

पर्याप्त वैज्ञानिक अध्ययन बिना एक पक्षीय दृष्टिकोण राखेर विचारधारात्मक कविता लेख्दा पाठकहरूले त्यसलाई गम्भीरतापूर्वक लिँदैनन् । यसले पुँजीवाद विरुद्धको लडाइँमा कुनै सहयोग गर्दैन न उपभोक्तावाद विरुद्ध सांस्कृतिक प्रतिरोध रचना गर्न सक्छ । आजका नेपाली पाठक, रिमाल र भूपीका जमानाका पाठक होइनन् । उनीहरूसित विश्वका सबै किसिमका सूचना हुने भएकाले राजनीतिक विचारधारात्मक (Ideological) कविताहरू विश्वसनीय हुँदैन । आजका पाठकसित पुँजीवादी साम्राज्यवादी देशले गरेका अन्यायको सूची पनि छ र साम्यवादी भनिने देशहरूमा भएको कुशासन र त्यहाँका तानाशाही शासकहरूले गरेका अत्याचारको सूची पनि
छ । विज्ञान र वैज्ञानिक अध्ययन सम्बन्धमा पनि उसको ज्ञान आफ्ना पूर्वजहरूभन्दा गहन र फराकिलो हुन्छ । फ्रिडाले जस्तै पुँजीवादको पक्ष विपक्ष नलिएर कविता लेख्दा राम्रो हुन्छ । यसो गर्दा कविता पक्ष विपक्षको राजनीतिक आग्रहबाट मुक्त हुनेछ र कविले युगीन विचारहरूलाई बिना आग्रह बुझेको छ भन्ने सन्देश दिन्छ ।

(झ) उपभोक्तावाद र पुँजीवाद विरुद्धको राजनीति : सिर्जनात्मक र साहित्यिक विधाको चयन

के फ्रिडालाई लागेको थियो कि पुँजीवाद र उपभोक्तावाद विरुद्ध कलाको माध्यमले राजनीति गर्ने हो भने चित्रकला उपयुक्त माध्यम हो त्यसैले उनले कवितामा यी विषयहरूको बारेमा केही भनिनन् ? यस बारेमा स्पष्ट उत्तर पाइन्न तर  उनका चित्र र कविताका अन्तरवस्तुहरू तुलना गर्दा यी युगीन चरित्र विरुद्ध कलाको माध्यम बारे चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

पुँजीवाद र उपभोक्तावाद जस्ता जटिल विषयमा कलासित सम्झौता नगरी दुई पृष्ठको मौलिक कविता रच्नु जुनसुकै कविको लागि पनि चुनौतिपूर्ण हुन्छ । फ्रिडाले आफ्ना कविताहरूलाई यिनीहरू विरुद्ध उपयोग नगरेकोले प्रगतिवादी लेखक आफ्ना कविताहरूमा यिनीहरू विरुद्ध नउभिकनै पनि प्रगतिवादी हुन सक्ने रहेछ भन्ने प्रष्ट हुन्छ । साम्यवादी क्रान्तिलाई सघाउने नियतले फ्रिडाले धेरै चित्रहरू बनाए पनि यस्ता चित्रहरूले भन्दा पनि नारीवादी अन्तरवस्तु भएका चित्रहरूले लोकप्रिय भएकी हुन् । नेपाली मार्क्सवादी समालोचकहरूले समेत नेपाली प्रगतिवादी भनिने कविताहरूमा कलापक्ष कमजोर रहेको भनेको सन्दर्भमा यस विषयलाई यसरी पनि छलफलमा ल्याउन सकिन्छ -पुँजीवाद विरुद्ध लेखक कलाकारहरूले गर्ने राजनीतिमा कला साहित्यको कुन विधा सर्वाधिक प्रभावकारी हुन्छ ? साहित्य, नाटक, चित्रकला, सिनेमा, टेलिभिजन-शृंखलाहरूमध्ये पुँजीवादविरुद्धको सङ्घर्षमा सबैभन्दा प्रभावकारी माध्यम कुन हो भन्नेमा नेपाली कविहरूले धैर्य भएर अध्ययन गर्दा उचित हुन्छ । आख्यान र सिनेमाको माध्यमले गर्नुपर्ने प्रतिरोध, कविताको माध्यमले गर्दा नेपाली कवितामा कलाको स्खलन भएको पनि हुनसक्छ । सिनेमा र टेली-शृंखला, पुँजीवाद विरुद्धको राजनीतिमा अत्यन्तै उपयुक्त हुन सक्छन् । नारा, भाषण र वाच्यार्थमा प्रकट नगरिकन सबैकुरा भन्न सकिने हुँदा सिनेमा वा टेलिशृंखलाहरू अत्यन्त प्रभावकारी माध्यम हुन्। यस्ता विषयमा विभिन्न भाषामा विश्वभरि प्रशस्त सिनेमा बनेका छन् । यी माध्यमले गहिरा र जटिल विषय पनि पाठकहरूमाझ सम्प्रेष्य बन्छन् र छोटो समयमै धेरै मानिसलाई प्रभाव पार्न सक्छन् । पुँजीवाद विरुद्ध राजनीति गर्छु भन्ने कविले पनि आफूलाई कलाको अन्य विधामा बदलिनु आवश्यक छ तर लेख्न सक्नेले सिनेमा निर्देशन गर्न नसक्ला वा चित्र बनाउन नसक्ला । सिनेमाका लागि आवश्यक योग्यता, समय र बजार व्यवस्थापन गर्न सक्ने सीप र क्षमता सबैसित हुँदैन । यो स्थितिमा कथा वा उपन्यास लेख्नु वैकल्पिक उपाय हुनसक्छ ।

फ्रान्सेली दार्शनिक तथा साहित्यकार सार्त्रका अनुसार कविता, चित्र र संगीतले समाजमा राजनीतिक परिवर्तन ल्याउन सक्दैन । उनको विचारमा राजनीतिक लेखनमा प्रतिबद्ध लेखकले आख्यान र गैरआख्यानलाई अपनाउनु पर्दछ । सायद यसैले होला राजनीतिक रूपमा अति सक्रिय उनले कविताको साटो उपन्यास र नाटक लेखे । सार्त्रले नाटक लेख्नुपूर्व सिनेमाका लागि कथा लेखेका थिए र तिनमा सिनेमा पनि बने जसमध्ये दुई सिनेमा त ओस्करमा उत्कृष्ट कथाका लागि प्रस्तावित भएका थिए ।

पुँजीवाद र उपभोक्तावाद विरुद्धको राजनीतिमा अर्थपूर्ण योगदान गर्न चाहने हो भने गैरआख्यानात्मक अध्ययन अनुसन्धान अत्यन्त उपयोगी हुन सक्छ ।  पुँजीवाद , उपभोक्तावादमा नेपालीबाट मौलिक चिन्तन नभए बराबर छ । यी विषयमा नेपाली विद्वानका धारणाहरू पश्चिमी र भारतीय विद्वानमा आश्रित छन् । हामीले तिनैका विचारलाई अलिकति काँटछाँट र जोडजाड गरेर प्रस्तुत गर्ने गर्छौं । यी विषयमा नेपालीले खोज र अनुसन्धान गरेका छैनन् भन्दा पनि हुन्छ । पुँजीवाद र उपभोक्तावादलाई पहिले हामीले मौलिक तथा वैज्ञानिक तरिकाले बुझ्न आवश्यक छ । यो बुझाइ वा ज्ञान, व्यक्तिको दर्शन अनुसार पनि फरक पर्न सक्ने हुँदा हामीलाई अहिले विविध दर्शन अनुसार पुँजीवादलाई बुझ्नुपर्ने खाँचो छ । नारी कविले पुँजीवाद , बजारवाद प्रतिरोधी कविता लेख्नुको साटो यता तर्फ मौलिक चिन्तन गरी गैरआख्यानात्मक कृति सिर्जना गर्न सके नेपाली सांस्कृतिक अध्ययनमा ठुलो योगदान हुने थियो ।

(ञ) विकल्पहीनता

पुँजीवादी र उपभोक्तावादी संस्कृतिसितको सांस्कृतिक युद्धमा फ्रिडाको हतियार भनेको प्राचीन एज्टेक सभ्यताका प्रतीक र मिथक थिए । उनका चित्रमा ती देख्न पाइन्छ। युरोपेली संस्कृति र विश्वास श्रेष्ठतम होइन भन्ने धारणालाई बलियो बनाउन मेक्सिकाली क्रान्ति पछि मेक्सिकानिदाद (Meksikanidad ) आन्दोलन प्रारम्भ भयो जसले प्राचीन मेक्सिकाली एज्टेक र माया सभ्यतामाथि गर्व गर्न अभिप्रेरित गर्यो। यो परिघटना हाम्रा लागि किन महत्वपूर्ण छ भने एज्टेक र माया सभ्यता आधुनिक परिभाषा अनुसारका अन्धविश्वासले भरिपूर्ण थियो । प्राचीन र मध्यकालीन नेपालमा सतीप्रथा रहे झैं प्राचीन मेक्सिकाली सभ्यतामा नरबलि प्रथा थियो जुन मेक्सिको स्पेनिश उपनिवेश भएपछि मात्र अन्त्य भयो । प्राचीन मेक्सिकोमा रहेको नरबलिप्रथामा ईश्वरलाई प्रसन्न पार्न वार्षिक २०,०००  देखि २००,००० सम्म नरबलि दिइने गरेको मानिन्छ (Michael Harner, 1977) । मानवशास्त्री Michael Harner का अनुसार कुनै मानव सभ्यतामा कहिल्यै यत्रो संख्यामा नरबलि दिने चलन विद्यमान थिएन । नरबलिप्रथा रहेको एज्टेक सभ्यतामा कम्युनिष्ट फ्रिडाले गर्व गर्नु र त्यहाँ प्रचलित प्रतीक र मिथकलाई आफ्ना चित्रमा प्रयोग गर्ने कार्य अनौठो छ । एज्टेक संस्कृतिका गौरवशाली मूल्यलाई आत्मसात गर्नुपर्छ भन्ने मतकी फ्रिडाले युरोपेली सांस्कृतिक मूल्यसितको लडाइँमा टेक्नलाई ठाउँ पाइन् । यो टेक्ने ठाउँ पाउनु महत्वपूर्ण कुरा हो । उनले अन्धविश्वास र अवैज्ञानिक भनेर एज्टेक सभ्यताका गौरवशाली पक्षलाई पन्छाएकी थिईनन् । हाम्रा लागि यो अझ विशेष किन छ भने नेपाली प्रगतिवादीहरू सतीप्रथा रहेको प्राचीन र मध्यकालीन नेपाली समाजमा गौरवशाली केही पाउँदैनन् । नेपालको तत्कालीन हिन्दु समाजका सबै जात र समुदायले सतीप्रथा अनिवार्य रूपमा पालना गर्नु परेको पाइन्न र विभिन्न अध्ययन अनुसार वार्षिक सती गएका नारीहरूको संख्या निकै थोरै रहेको अनुमान गरिएको पाइन्छ (सुजित मैनाली, सती – इतिहास र मीमांसा) ।

फ्रिडाको समयमा विश्वभरि वैकल्पिक राजनीति गर्नेका लागि सोभियत संघ एउटा आशा र सम्भावना थियो । तसर्थ उनीसित विश्वास गर्नलाई साम्यवादी भविष्य र एज्टेक सभ्यताको अतीत दुवै थियो । उनका कवितामा पुँजीवादी र उपभोक्तावादी संस्कृति विरुद्ध नारा र प्रतिवाद नहुनुको एउटा सम्भावित कारण उनलाई तिनको विकल्पमा विश्वास हुनु पनि हो । वैकल्पिक राजनीतिमा विश्वास गर्ने नेपाली कविका लागि अब न सोभियत संघ छ न त उनीहरू नेपालको प्राचीन इतिहासमा गौरव गर्ने योग्य केही पाउँछन् । विश्वास गर्ने ठाउँ नभेट्टाउँदा नेपाली कवि बढी नै आक्रोशित र असंयमित भएका पनि हुन सक्छन् । जसले भूत, वर्तमान र भविष्य कतै पनि आशा गर्ने ठाउँ भेट्दैन ऊ धेरै छटपटिनु स्वाभाविकै हो र नेपाली कवितामा यसै कारणले पनि पुँजीवाद र उपभोक्तावाद विरुद्ध नारा र प्रतिवाद अधिक भएको हुन सक्छ । वर्तमान समयमा साम्यवादी एकदलीय व्यवस्था रहेका केही देश भविष्यका आशा हुन् भन्दा पत्याउन गाह्रो पर्छ । यो अवस्थामा नेपाली कविले नेपालकै गौरवशाली ऐतिहासिक मूल्य र पक्षहरूमा टेक्न सकेमा कवितामा फरक प्रवृत्ति देखिन सक्छ । मेक्सिकाली प्राचीन इतिहास र कम्युनिष्ट फ्रिडाको त्यसप्रतिको बुझाइलाई हेर्दा नेपाली कविहरूले पनि नेपालको प्राचीन र मध्यकालीन इतिहासप्रति आफ्नो बुझाइलाई परिष्कृत गरेमा र त्यहाँबाट गौरवशाली मूल्यहरूलाई लिन सकेमा फरक प्रवृत्तिका कविताहरू लेख्न सक्नेछन् ।

थप नारी कविका कविताको पठन चौथो भागमा गरिने छ ।

क्रमश…

थप सन्दर्भ सामाग्री

डा. ताराकान्त पाण्डेय , वि.सं. २०७८; मार्क्सवाद, सांस्कृतिक अध्ययन र साहित्यको समाजशास्त्र, दो.सं.,साझा प्रकाशन

सुकुम शर्मा , वि. सं. २०७८ , समकालीन नेपाली कवितामा युगचेतना , प. सं. , नेपाल प्रज्ञा प्रतिष्ठान

डा. लक्ष्मण प्रसाद गौतम , वि. सं. २०६८, राजनीतिक आन्दोलन र समकालीन नेपाली कविता , प्र.सं. , रत्न पुस्तक भण्डार

डा. दुर्गाबहादुर घर्ती , वि. सं २०८१, सांस्कृतिक अध्ययन , प्र. सं., इन्डिगो इन्क प्रा. लि.

पुरुषोत्तम सुबेदी , बि. सं. २०६६ , संक्रमणको साहित्य र समकालीनाता , प. सं. , साझा प्रकाशन

समकालीन नेपाली महिला समालोचना ) ,

प्रज्ञा समकालीन नेपाली कविता विमर्श., २०७२ प. सं , नेपाल प्रज्ञा प्रतिष्ठान

डा. अमर गिरी (सम्पादक), काव्यविमर्श-२०७३ , नेपाल प्रज्ञा प्रतिष्ठान

सुजित मैनाली , २०७८, सती – ईतिहास र मीमासां, दो. स,, किताब पब्लिसर्स प्रा. लि.

निमग्ना घिमिरे , वि. सं. २०७९ , नेपाली कवितामा राष्ट्रिय स्वाधिनता चेत , प. सं., नेपाल प्रज्ञा प्रतिष्ठान 

Karl Popper, 1964 AD, The Poverty of Historicism, Harper & Row, New York, (Internet Archive, archive.org)

Karl Popper, 2005 AD, The Logic of Scientific Discovery, Routledge

Paul Aurther Schilpp (Ed) , 1974 AD, The Philosophy of Karl Popper, Open Court Publishing Company , Illinois, (Internet Archive. archive.org

Michael Harner, 1977, The Enigma of Aztec Sacrifice, 1977, April, Natural History , Vol 86, No 4  (https://www.latinamericanstudies.org/aztecs/sacrifice.htm )

Christopher Caudwell, 1973 AD, Illusion and Reality, International Pubishers, New York, …  (Internet Archive. archive.org)

थप वेबपेजहरू

https://en.wikipedia.org/wiki/Human_sacrifice_in_Aztec_culture

https://en.m.wikipedia.org/wiki/Vladimir_Lenin  

https://www.newworldencyclopedia.org/entry/Frida_Kahlo 

https://en.wikipedia.org/wiki/List_of_countries_by_GDP_(nominal)_per_capita

https://en.wikipedia.org/wiki/List_of_countries_by_GDP_(PPP)_per_capita

https://sartre.ch/frib

https://en.m.wikipedia.org/wiki/Philosophy_of_motion