साहित्यकारबाट साहित्यकारले कुनै कृति उपहार पाएपछि केही लेख्ने वा प्राप्ति स्वीकार गर्ने गरिन्छ । यो स्रष्टा र साहित्य माझको मधुर सम्बन्ध हो ।

८१ भदौ ३ गते विमोचित २४ लघुकथा र १ समालोचना मध्य एक दर्जन भन्दा धेरै लघुकथा संग्रह मेरा हातमा परे । छोटा छरिता लघुकथाहरूका किताब  आकर्षक आवरणले मोडिएका छन् । नवीन र प्रवीण लघुकथाकारका यी कृतिहरू नेपाली साहित्यका एकएक ईंटा हुन्, जसबाट महल बन्छ । कृतिहरू पाठकका नजरमा रहरलाग्दा बनेका छन् ।

नेपाली लघुकथा संसार यो दशकमा चर्चाकै विषय बनिआएको छ । मानक निर्धारण गर्नु, आयाम तोक्नु, तत्त्वको प्रवेश गराउनु जस्ता विषयमा खुल्दुली चलाइरहेको समय हो यो । यसले नेपाली लघुकथा लेखनमा लघुकथाकारलाई ब्युँझाइरहेको छ ।

कार्यक्रम खेमराज पोखरेलकै अध्यक्षतामा ममता मृदुलको सहजीकरण र श्री ओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यमा समापन गरिएको थियो । यति धेरै लघुकथा संग्रहका कृतिहरू एकै साथ विमोचन हुनु भनेको लघुकथा जगतको प्रगति हुनलागेको भन्ने बुझिन्छ ।

साहित्यमा कथा विधा प्राचीन कालदेखि चलिआएको विधा हो । लघु आयामका कथाहरू पनि ठूला कथाकै समयावधि देखि नै लेखिएका थिए । संस्कृत भाषामा लेखिएका कथा भित्रका लघु आयामका कथा भन्दा फरक शैलीमा लेखिन थालिएका कथालाई छोटा कथा भनियो । यी छोटाकथालाई एउटा आयामभित्र राखी शैली विधानमा निर्देश गरी रोचक ढङ्गले जुन साहित्यको सृष्टि गरियो यसैलाई लघुकथा भनिएको छ ।

जुनसुकै कथा नहोस् किन, साहित्य विधामा कथालाई आख्यान भनिन्छ । आख्यायते आख्यानम् । पात्रलाई लिएर कथाकारले घटना बनाई लेखिने संवाद र कथ्यको बुनोटमा जुन विधा बन्छ त्यो विधालाई आख्यान भनिन्छ । लघुकथा पनि आख्यान हो ।

आख्यान सूत्रमा लघुकथा लेख्नु लघुकथाकारका लागि चुनौती हो । लघुकथाको आयाम, पात्र, घटना सबै लघुतम रूपको हुन्छ । कथ्यरूप भन्दैमा लघुकथाकारले पात्रका हरेक क्रिया-कलाप प्रकाश पार्दा प्रयोग गरिने आयो, गयो, भन्यो जस्ता क्रियावाचक शब्दले मात्र आख्यान बुझाउँदैन । कुनै न कुनै पात्र र घटनासँग सम्बन्ध जोडिएको कथ्य हुनुपर्छ । पौराणिक कथामा छोटा कथाको प्रयोग हुन्थ्यो र आख्यान सहज थियो । आधुनिक लघुकथामा आख्यान भर्न लघुकथाकारले चुनौतीको सामना गर्नैपर्छ ।

आधुनिक लघुकथामा लघुकथाकारले आख्यानको उति थोरै ख्याल गरेको देखिंदैन । युगसँग मानिस हिंडिरहन्छ भने जस्तै साहित्यमा पनि आधुनिकताको तरङ्ग उठिरहेको हुन्छ । यसो भन्दैमा कथा साहित्यमा हिजोआज आख्यान पाइँदैन भन्न खोजेको होइन । आधुनिक कथा-साहित्यमा आख्यान छ नै । आख्यान बिना कथा बन्दैन । लघुतम आयामले गर्दा लघुकथामा चाहिं आख्यान प्रवेश गराउन कथाकारलाई सकसै परेको हुन्छ ।

लघुकथामा पात्रनाम, घटना, परिवेश आदिबाट कथाकारले आख्यान समाविष्ट गर्नुपर्छ । केवल संवाद मात्र राखेर आख्यान हुँदैन । आख्यान छैन भने लघुकथा बन्दैन ।

विद्या ढकालको ‘आमा’ लघुकथा संग्रहको ‘इच्छा’ लघुकथामा पहिलो आख्यान “बिछ्याउनामा पल्टँदै उनले अनुमति लिनु” कथ्य आख्यानमा परेको छ । यस पछिका थप चाहना व्यक्त गर्नु, थप्नु, आश्चर्य भाव प्रकट गर्नु र बूढाले प्रफुल्ल चित्त धर्नु पहिलो आख्यानबाट उत्सर्जित वाक्यहरूलाई आख्यान नभनेर आख्यानबाट आएका कथ्य वा कथानक भन्न सकिन्छ ।

‘आमाभित्र संवेदनाका स्वरहरू’ शीर्षकमा भूमिका बाँधिदिंदै डा. पुष्करराज भट्टले ढकालको इच्छा लघुकथामा पारिवारिक जीवनसँग सम्बन्धित विषय वस्तुलाई उठान गरेको भनेका छन् । यो भनेको नै लघुकथामा आख्यानको प्रवेश बुझिन्छ । आख्यान मार्फत सर्वत्र रहेको मानव जीवनको चालचलन, क्रिया-प्रतिक्रिया, सभ्यतासँग परिवर्तन भैरहेको जीवन शैलीको बेहोरा कथात्मक तरिकाले पाठकसम्म पुर्‍याउनु हुन्छ ।

…….

निर्मला बरालको ‘निर्झरी’ लघुकथा संग्रहको एउटा कथा हो- देशको कथा । यो कथा रोचक ढङ्गले कथिएको छ । लघुकथामा सट्याकसुटुक चलखेल चलेको छ । ज्यामिरे र ओखरे बीच चलेको संवादको पछिको क्रिया नै आख्यान देखिन्छ । ओखरेले हजारका नोटहरू ज्यामिरेको पाइन्टको खल्तीमा घुसार्ने क्रिया भएको छ । यहाँ पात्रको चरित्र प्रकाशमा क्रियाबाट आख्यान बनेका छन् । आख्यानबाट देश कस्ता पुङमाङ व्यक्तिको पछि लागेको छ प्रष्ट्याउन खोजिएको छ ।

बरालले आख्यान संक्षेप गरेको छ । यस प्रसङ्गलाई प्रष्ट पार्दै ध्रुव मधिकर्मीले ‘निर्झरी’ लघुकथा संग्रहलाई राखेको शुभकामना शब्दमा लेखेका छन्- लघुकथा यद्यपि सानो आकार र आयामको विषयमा केन्द्रित हुन्छ तर यसले दिने सन्देश र प्रभाव भने सानो आकार र आयाममा मात्र सीमित हुन्न ।

…….

लघुकथाकार ममता मृदुलको ‘भिजेको प्रेम’ लघुकथा संग्रहको पहिलो लघुकथा हो-  प्रेमको परिभाषा । मृदुलका लघुकथा बुझ्नलाई पहिला विलोमको परिभाषा बुझ्नुपर्छ । साहित्यको लक्ष्य पनि यही हो । झन् आख्यान विधाको त सिद्धान्त नै यही हो ।

विलोमका कर्णधार दीपक लोहनीले मृदुलको कृति भिजेको प्रेम भित्रका लघुकथालाई यो परिभाषाले प्रष्ट पारेका छन्- साहित्यको कुनै पनि विधा सिद्धान्तको जडमा मूर्ति जस्तो हुँदैन । तर नेपाली लघुकथा पछिल्लो समय मूर्ति झैं बनिरहेको थियो । यही कुरालाई चिर्न मैले विनोद नेपाल जी र ममता जीसँग प्रस्ताव राखें- लघुकथामा एक लुज फोरम बनाऔं ।

यो लुज फोरम नै विलोम हो र विलोमको लक्ष्य नै आख्यान हो भनेर हामीले बुझेका छौं ।

यसरी आख्यान, मतलब सोझै मानव जीवनसँग जोडिएको विधा लघुकथालाई विलोमकै प्रतिष्ठापक ममता मृदुलका लघुकथामा आख्यान मुख्य रहनु स्वाभाविक छ ।

विलोमको परिभाषाको तात्त्विक अर्थका लागि मृदुलको लघुकथा प्रेमको परिभाषा आख्यानको एउटा उत्कृष्ट उदाहरण बनेको छ । आँपको बोट र माटोलाई बिम्ब बनाइएको लघुकथाले साँच्चि प्रेमको अर्थबोध गराएको छ । मानवीय मूल्यबोध खस्काउँदै गैरहेको  मानव जातिलाई फर्किएर आउन सन्देश गरिएको छ ।

यस लघुकथामा चैतेहुरी, आँपको बोट, जन्मभूमि, घामको राप, असिना जस्ता प्रकृतिको परिवेशलाई स्थिति-स्थापकका हिसाबमा मानवसँग जोडेको आख्यान छ । यी उपमा र बिम्बको प्रयोगले आख्यान भनेको मानवसँग रहने मानवीय गुण वा अवगुण मात्रलाई बुझ्नुपर्छ भन्ने होइन । आख्यानको सम्बन्ध प्रकृतिसँग पनि छ भन्न खोजेको हो ।

लामो सुस्केरा छोड्नु, माटोले सुगन्ध छर्नु, बाँच्नलाई मित्र चाहिने जस्ता कथ्यहरू आख्यानका उत्कृष्ट नमूना हुन् ।

…….

हर्ष-उन्माद, सुख-दुःख, कालो-गोरो, खडेरी र वर्षा यी सबै जीवनका तारतम्य हुन् । यिनले जगतलाई चलायमान बनाउँछ । सुनिता निरौला पौडेलको ‘बाको बाकस’ लघुकथा संग्रहभित्र यो भनाइ हो खेमराज पोखरेलको । पोखरेलको यो भनाइलाई सुनिताको लघुकथा चौरासी पूजामा ल्याएर आख्यान हेरौं-

चौरासी पूजामा आख्यान खोज्दा जीवनको तारतम्य पोखरेलको भनाइलाई विश्लेषण गर्नुपर्छ । जीवन चलायमान छ । यस्तो चलायमान जीवनको निज समयचक्र छ । समयचक्र घुरिरहन्छ । जीवनलाई जोडेर यस्तो समयचक्रले जगतलाई परिवर्तन गरिरहेको छ । यसलाई समय वा सभ्यता भनिन्छ । यसरी जीवन र परिवर्तन एकाकार बन्छन् । यही समयसँग मिलेर एकाकार बनेको जीवनकथा हो – चौरासी पूजा लघुकथा । यसमा लघुकथाकार सुनिताले चुनौतीका साथ हप्तादश दिन पछि बालाई सोध्यो उसले आख्यान समष्टि गरेको देखिन्छ ।

लघुकथामा पात्रको संवादले बुझाएको कुरालाई बाँधेर चलायमान जगतसँग जोड्न जे कथ्यरूप रहेको हुन्छ त्यो आख्यान बनेको हुन्छ । आख्यानको उद्देश्य हो जीवन जगतसँग मिल्नु र त्यसलाई चलायमान गर्नु । आख्यान बिना लघुकथा मूर्तिवत रूपमा मात्र रहन्छ । मूर्ति निर्जीव हो र यो स्वयंक्रिय हुँदैन ।

…….

तुलसी पण्डितको लघुकथा संग्रहको ‘प्रसव वेदना’ लघुकथामा आख्यान – प्रसव वेदना लघुकथा पति र पत्नी बीचको कथा हो जो विस्मयपूर्ण छ । सृष्टि लीलासँग तारतम्य राखेको भन्दै लघुकथामा तराजु लिन समाजलाई संकेत गर्न खोजेको छ । घरको सबै काम पति र पत्नीले मिलेर गर्न सकिन्छ । तर प्रसव वेदना सकिन्न ।

जीवन र जगतको सृष्टि रहस्य, जीवन दर्शनको दार्शनिक रूपको सूक्ष्म चिन्तन गराइने कथात्मक शैली सजावट जो रहेको हुन्छ, त्यो विष्मय अभिभूत गराउन आख्यान बनेको छ ।

…….

रोशन पराजुलीको ‘धरान गेट’ लघुकथा संग्रहको ‘जीवन बोध’ शीर्षकमा लघुकथाकारले गजबसँग जीवन बोध गराएका छन् । आख्यानबाट शुरू गरेको लघुकथामा पराजुलीले पात्रहरूको चयन गरी पात्रबाटै जीवन बोधको सूक्ष्म विश्लेषण गरेका छन् । पति र पत्नी बीच चलेको संवाद सिर्जनाले वास्तव जीवन के हो ? कसरी चल्ने ? संवादले आख्यान कौतुहलताको छिनाफाना गरेको छ ।

आख्यानमा चलायमान जीवन जगतलाई समय, पात्र, घटना र परिवेशसँग तालमेल राखेर कथानक सृष्टि गरिएको हुन्छ । शिष्ट सभ्य बनेर जगतको ॠतसँग सामञ्जश्य राखेर मानवजीवन चल्न र चलाउन आख्यानले सिकाएको हुन्छ । पराजुलीको यस कथाले यसैको परिधिभित्र रहेर जीवन बुझ्न सिकाएको छ ।

…….

आख्यानकार रमेन्द्र कोइरालाको ‘डोरी’ लघुकथा संग्रहको भूमिकामा ममता मृदुलले भनेका छन् – जीवनका धेरै घटना समेट्न सकिन्छ । सजिव, निर्जीव, जीवन जगतका, समाजका विकृति विसङ्गतिका बारेमा थोरै समयमा आँखा खोल्ने काम लघुकथाले गरेको हुन्छ ।

रमेन्द्र कोइराला पारखी कथाकार हुन् । यस कृति डोरीमा ४० वटा लघुकथा छन् । ‘परिभाषा’ शीर्षकको कथामा कथाकारले लघुकथाको परिभाषा खोजेका छन् । लघुकथामा बुज्रुग व्यक्ति पनि अभिलाषी हुन्छन् भन्ने आख्यान छ । यसको तात्पर्य यो होइन कि, ज्ञानी वा जानकार व्यक्तिको स्वभाव कठोर हुन्छ । लघुकथाको विषयमा प्रशिक्षकले पहिला प्रशिक्षार्थीलाई सोधेका छन् । यो शैक्षिक प्रणाली हो । र आख्यानमा रहेको अभिलासा गौण रूपमा रहेको छ ।

लघुकथाको यो आख्यानबाट रमेन्द्र शिक्षण प्रणालीको सूक्ष्म सूत्र देखाउन सफल छन् ।

…….

राजाराम के.सी. को ‘कुहिरोभित्र’ लघुकथा संग्रहको पेवा शीर्षकको लघुकथामा आख्यान-  रामराजाले वर्णनात्मक शैलीमा लघुकथा लेख्ने गरेको देखिन्छ । उनका लघुकथामा पात्र संवाद थोरै र कथानक धेरै हुन्छ । राजारामको पेवा लघुकथा सामाजिक विकृतिको दृष्टान्त देखाउन सफल छ भन्न सकिन्छ । यो आख्यान पेवापाथो राख्ने चलनसँग सम्बन्धित छ ।

डा. शेखरकुमार श्रेष्ठ कुहिरोको भूमिकामा पेवा लघुकथाको टिप्पणी गर्दै पेवा गाई बाख्रा बेचेर कुकुर पाल्ने प्रवृत्तिले सामाजिक अर्थनीतिमा मार परेको उल्लेख गर्न पुगेका छन् ।

…….

आख्यानका तत्त्व र लघुकथाका विशेषताको सम्मीश्रित रूप लघुकथा हो । रञ्जु खनालको लघुकथा कृति ‘राहरञ्जनी’ भित्र रहेको यो भनाइ हो लघुकथा विश्लेषक खेमराज पोखरेलको ।

रञ्जु खनालको ‘दौराको फेर’ लघुकथाको शीर्षक नै आख्यानपरक छ । स्त्रीवाचक सारीको फेर जस्तै पुरुष वाचक दौराको फेर बुझिन्छ । दौराको फेर समात्नु भनेको पछ्याउनु, अनुकरण गर्नु हुन्छ ।

यस लघुकथामा सिकिस्त बाउको दौराको फेर समातेको अर्थमा सेवादारी छोरालाई बुझाइएको छ । आफ्ना बाउलाई मृत्युको घडीसम्म सेवा गर्नुपर्छ, यही आख्यान देखिन आउँछ यस लघुकथामा ।

…….

नवराज शर्मा द्वारा लेखिएको ‘सन्झ्याल’ नामको लघुकथा कृति भित्रका ६९ वटा लघुकथा मध्य ‘इज्जत’ लघुकथामा समाजमा रहेको लैंगिक विभेद विषयलाई कथामा उतारिएको छ ।

इज्जत यस्तो एउटा सवाल हो कि यसले मानिसलाई उचाल पछार गर्छ । यही विषय बस्तुलाई नवराजले आख्यान शैलीमा कथात्मक रसले लघुकथा बुनेको देखिन्छ । छोरी जन्मिदा नाना आरोप लाउने, छोरो जन्मिदा हाइहाइ गर्ने पारिवारिक व्यवहारलाई आख्यानका माध्यमबाट देखाइएको छ । समाज भित्र रहेको लैंगिक विभेदपूर्ण व्यवहार माथि लेखिएको आख्यान हो सन्झ्याल लघुकथा ।

…….

‘झङ्कार’ लघुकथासंग्रह कथाकार गंगा खड्काको कृति हो । कृति सफलताको शुभकामनामा राजु क्षत्री अपुरो, लता केसी, बाल विकास बोर्डिङ हाईस्कूल र खेमराज पोखरेलका शब्द देखिन्छन् । झङ्कारमा जम्मा ५८ वटा लघुकथा छन् । आख्यान चर्चाका लागि चश्माको पावर लघुकथा लिएको छ ।

‘चश्माको पावर’ शीर्षक आफूमै पूर्णतया सफल छ । राजन र रमिता बिचको संवादमा शीर्षक निर्देशित चश्माको पावर कस्तो चश्माको पावर हो त भन्ने कुतूहल छ पढ्दा । यो लघुकथा लेखनको तत्त्व विधान भित्र पर्छ । व्यङ्ग्यात्मक दृष्टिकोणले सिर्जना गरिएको यो लघुकथा महिला हिंसा सन्दर्भ राखिएको छ । महिला हिंसाविरुद्धमा बृहद जनचेतना कार्यक्रम राखिएको छ तापनि रमिता चाहिँ विश्वास गर्दैछैन र निराश देखिएकी छ । यही आख्यानलाई स्पष्ट पार्न चश्माको पावरलाई दोषारोप गरिएको छ ।

…….

अञ्जु शर्माको ‘ढडिया’ लघुकथा कृति भित्रका कथाहरू के कस्ता छन् भन्ने विषयमा विश्वराज अधिकारी र खेमराज पोखरेल द्वयले भनिसकेका छन् । ढडियाको सौन्दर्यचेतना र अञ्जु शर्माको प्रज्ञाचक्षुले देखेको जीवन जगतको चिन्तन दोहोर्‍याउनु छैन । यहाँ ढडिया भित्रको एउटा लघुकथा जसको शीर्षक गणतन्त्र रहेको छ यो लघुकथामा आख्यान विधालाई अञ्जु शर्माले साहित्यको कुन रूप विधान अङ्गालेको छ त्यो चर्चा छ ।

लघुकथामा रूपविधान भन्नु नयाँ र अनौठो लाग्छ । साहित्यका प्राय विधामा सौन्दर्यको कुरा आउनु अस्वाभाविक होइन । लघुकथा छोटो छरितो, चुस्त दुरुस्त हुनु पर्छ भन्ने मान्यता छ । यसो भनेको सौन्दर्यबोध गराउने पूरक तत्त्व हुन् ।

गणतन्त्र शीर्षकको यस लघुकथामा टुसाउन लागेको गणतन्त्रले तानाशाह हुर्काउन लागेको देखिएको छ । यस लघुकथामा एउटी आमाले गणतन्त्र नामको नवसामन्त जन्माउने भ्रूण आफ्नो पेटमा रहेको भन्दै सडकमा हात पसारेर गुहार मागेकी छन् । लघुकथामा आख्यान यही हो ।

अञ्जु शर्माको यो विम्ब प्रयोग विधान अनुशीलन योग्य छ ।

…….

‘आधुनिक मुगलान’ लघुकथा संग्रहमा विश्वराज अधिकारीको डायस्पोरिक चिन्तन छ । विश्वराज अधिकारी लघुकथा लेखनमा माहिर देखिएका छन् । आधुनिक मुगलान डायस्पोरिक लघुकथा संग्रह हो । बिदेसिएका नेपालीहरूको जीवन शैली, भोगाइ र पीडाहरू लघुकथाका विशेषता छन् ।

‘अलेक्सा’ शीर्षकको लघुकथा लस एन्जेल्सको एउटा साँझको घटना हो । लघुकथामा आख्यानले जीवनशैली प्रकट पारेको छ । अचम्म के छ भने यहाँ अलेक्सा नामको कुनै मानव नभएर एउटा डिभाइस छ । तर डिभाइस अलेक्साले सुमेश पात्रले अह्राएको काम फटाफट गर्छ । झमझम परि रहेको पानी कति बजि थामिन्छ भनेर सोध्दा समेत अलेक्साले सही उत्तर दिएको छ ।

विश्वराजका कथाले पाठकका मन मगजमा आलोडन सृष्टि गरेका छन् । प्रवास बासको जीवन शैली चुस्त रूपमा दुरुस्त छन् । आख्यानले मानव जीवनका सबै प्रकारका क्रिया प्रतिक्रियाको प्रतिनिधित्व गरेको हुन्छ । यसकुरामा विश्वराज अधिकारीले एउटा डिभाइसको न्वारन गरी मानव जीवनसँग जोडन अलेक्सालाई पात्र बनाएको भेटिन्छ ।

विश्वराजको अलेक्सा मात्र होइन, सबै लघुकथा आख्यान विन्यासमा पूर्ण छन् । आख्यान मानव जीवनको जीवन शैलीको ऐना हो । विदेश गएका नेपालीहरूको जीवन शैली कुशलता पूर्वक आख्यानमा उतारेको देखिन्छ ।

…….

एक + आलाप- एकालाप । एक व्यक्ति मात्र बोलिरहनु । ‘एकालाप’ लघुकथासंग्रह हो लघुकथाका सिद्ध पुरुष खेमराज पोखरेलको । खेमराज पोखरेलको लघुकथा सम्बन्धमा मैले बोल्नु भनेको फन्टुस जस्तै हुन्छ । खेमराज पोखरेल गुरुलाई प्रत्यक्ष भेटेको एक/डेढ वर्ष भयो । लघुकथा चौतारी संवाद समूह खोलेर पशुपति विकास क्षेत्रको मृगस्थलीमा लघुकथा प्रत्यक्ष वाचन शृंखला चलाएको थियो । म योगप्रसाद, मनिषकुमार, अञ्जु शर्मा, इन्दिरा र मन्दिरा चापागाईं भेला भएर चौतारीमा भेटघाट कार्यक्रम राखेका थियौं । कार्यक्रम थियो टेक्सासवाट आउनु भएका खेमराज पोखरेललाई स्वागत गर्ने, अभिवादन गर्ने । यसै दिन हाम्रो प्रत्यक्ष भेट भएको थियो ।

यहाँको प्रसङ्ग हो आख्यान । लघुकथामा सिकारु कलमकारका गुरु भै सकेका पोखरेल सबैका प्रिय, समालोचक । मिलनसार, मिष्टभाषी, सबैसँग सहज बोलीचाली गर्ने स्वभाव भएका । सबैलाई सन्तुष्ट पार्न सक्ने लघुकथाका पारखी पोखरेल सम्बन्धमा मैले भन्न सक्ने कुरा नआउला । तथापि मैले उहाँको एकालाप ल्याएर केही लघुकथा पढेँ । सबै आख्यानमा परिपूर्ण संग्रह लाग्यो एकालाप । अझै भन्नुपर्दा एकालाप नै स्रष्टा र सिर्जना हुन्छ । यही त हो सृष्टि ।

खेमराज पोखरेलको एकालाप भित्र केही लघुकथा जीवन दर्शनका अनुभवले झ्वाम्म डुबेका छन् । डायस्पोरिक चिन्तन छ । प्रवास बासको विरक्त, प्रेमको पीडा, नेपाली र पश्चिमेली जीवन यापनको फरक फरक शैलीलाई मुख्य विषय बनाएका लघुकथामा आख्यान उपस्थापन गर्न भनुँ कि आख्यान खेलाउनमा पहिलो दर्जामा उभिन पुगेको भेटिन्छ पोखरेललाई । पोखरेलका एकालापका लघुकथा पढ्दा, कहिले पूर्वेली दर्शनको जीवन यापन, कहिले पश्चिमेली संस्कार संस्कृतिको जीवन यापनका जीवन निर्वाह गर्ने शैली प्रशस्तै आख्यानमा समावेश भएको भेटिन्छ ।