लेखक सामाजिक प्राणी हो । समाजमा उसका विकृतिलाई नङ्ग्याएर देखाउनु उसको कर्तव्य हुन्छ । लेखकको नैसर्गिकपन यस्तै कुरामा पाइन्छ । कथा साहित्यमा समाजका तीता, अप्ठेरा, र अमिल्दा कुरा र त्यसका कारणको पर्दाफास पाइन्छ । आस्वादन पक्षमा कुशल गृहिणीको परिकार कथा साहित्य हो । निबन्ध र कविता चाहिं आस्वादमा बौद्धिक उपज हो भन्न सकिन्छ । सङ्क्षिप्तताको क्षणिक प्रतिविम्ब कथा हो । त्यसको विशालतम वाटिका जहाँ जीवनको पूर्णतः चित्रित वा वर्णित उपन्यास अत्याधुनिक साहित्यिक वरविधान हो ।

कथानक उपन्यासको मुटु हो, जसरी कथामा पनि यसको दरकार पर्छ । आधुनिक कालको क्रमागत विकास अभियानमा औपन्यासिक आयाममा नयाँनयाँ परिधानहरू जुन उपन्यासमा आयो, पश्चात्का उपन्यासकारले पारिवारिक परिवेश आत्मसात् गर्यो, जस्तो ‘रूपमती’ दृष्टान्त लिन सकिन्छ । क्रमशः विकास सन्मार्गको द्वार पनि राम्ररी उघ्रन थालेकाले विविधता यस क्षेत्रमा भित्रियो । सामूहिकतालाई सन्देश एक व्यक्तिको माध्यम धेरै कालसम्म यस क्षेत्रको मन्त्र सूत्र भयो ।

आत्मपरिद्वेलनभित्र पारिजात र दौलतविक्रम विष्ट मनोभावात्मक शैलीमा विश्वेश्वर, भिक्षु, गोठाले, प्रगतिशीलतामा हृदयचन्द्र सिंह प्रधानको आ–आफ्नो प्रक्रियाले मौलिएको उपन्यास विधामा ग्राम्य जीवनशैलीमा बौद्धिक चेतनाका परिस्फुरण सञ्चारण भने निकै पछि आएर चोपिन्छ । तिलस्मिवादी परम्परा र अझै जरा गाडेका यौनवादले यस क्षेत्रको अस्तित्व परम्परालाई बढावा दिन त्यति सक्षम छैन, जसको शिक्षा र सुधारोन्मुखता पनि छैन ।

औपन्यासिक प्रयोगमा “प्रत्येक ठाउँ प्रत्येक मान्छे” एउटा उदाहरण छ । शैलीगत परिष्कृतता यस्तो भनिनुको आधार होइन विषयवस्तु, औपन्यासिकता चाहिं हो । दिनेश, प्रिया, निमा, मदन, गगन, वा दावाछिरिङ जीवनचर्याका आंशिक पक्षको उद्बोधन मात्र औपन्यासिक रूप दिएको छ । कथामा जस्तै र जीवनको अन्त गराउने पक्षमा भने उपन्यासका पिटर जे कार्थक ठ्याक्कै छैनन् । बरु जुन दार्जीलिङका उपन्यासकारको करिब–करिब परम्परा भैरहेको पाठकीय निर्णय समेत सामूहिकताको माध्यममा खोज्नु चाहिं उनको वाङ्देल वा पारिजातको जस्तै परम्पराको आलो संरक्षण हो ।

यसपछि पनि सामूहिकताका माध्यमले औपन्यासिकता पाएको सशक्त कृति छैन । ‘झरीपछिको आकाश’मा प्रगतिशीलता बढी छ । पात्रको पक्षबाट प्रत्येक पटक शोषण सिद्धान्तवादी नीतिको भर्त्सना, लेखकीय वाणीले प्रचुरता पाएको छ । त्यो संवादात्मक, संवेदनात्मक र साहसात्मक छ ।

‘अनि कुइरो फाट्छ’को विराज, ‘झरीपछिको आकाश’को राजुको तुलनात्मकतामा साहसी र अग्रणी छैन । केही अहिंसा परमोधर्मको पक्षमा लिप्तिएको छ तर पनि बाबुसँग जुन वैचारिक द्वन्द्व गर्दछ त्यसले समाजमा एउटा निश्चित दिग्दर्शन दिन सक्छ । विद्यमान नकारात्मक परिवेशका विरुद्ध सामाजिक आवहवामा परिवर्तित भेषभूषा जस्तै वैचारिक एवं व्यावहारिक पक्षमा राजु र विराज दुवै समान छन् । केवल दुईको पथ रोजाइमा पृथकता छ । अधिकार माग्ने पक्षका दुवै पात्र छैनन्  खोस्ने पक्षका छन् ।

कथा विषवयवस्तुतिर ध्यान दिंदा विराज विद्वान् युवक हो, जो निरीह पिल्सिएका श्रमशोषित वर्गको भलो गर्ने चाहने खालको समानतावादी विचारको शृङ्खलामा आबद्ध छ भने उसको बाबु त्यही शोषक हो गाउँको सानेकान्छीका बाबुजस्ता कैयन् गरीबलाई जिउँदैमा चपाइसकेको छ, आर्थिक, वैचारिक वा न्यायिक शोषणबाट । बाबुको शोषण नीतिका विरुद्धमा विराजको पनि मानसिकता विस्तार–विस्तार पग्लँदै जान्छ । ऊ अध्ययनकै क्रममा गरीबप्रति उत्सुकता देखाउँछ । पछि विराज मानवतावादी विचारधाराको अग्रविन्दुमा पुगेको छ । बौद्धिक सञ्चारणको मात्र नभई व्यावहारिकताको ज्ञानले पनि प्रगतिशीलताको मानवीय परिवेशको वकालत गर्न सफल छ । दानवीयताको परिचायकपछि कान्छीलाई घिच्याउन लगाउने, सानेलाई पिट्ने आदि कुराले धर्मानन्द विराजको आफ्नै बाबुको संस्कारप्रति विद्रोह जो विराज गर्दछ त्यो मानवीय विचार मौलाउन गरिएको मानवताको वकालत हो ।

जसरीतसरी जुन कान्छी धर्मानन्दको नोकर सानेकी टुहुरी सन्तान हो, जो विराजसँगको मोहको सीमा बन्धनले आदर्श प्रेमको ओत लाग्ने स्थानमा पुग्नुका साथै जातीयताको सामाजिक शृङ्खला तोड्ने क्रममा विराजको काँधमा काँध मिलाउँछे । प्रत्येक ठाउँ प्रत्येक मान्छेको समाज विकसित छ र सभ्य समाज हो भन्ने तर्क पुष्टि निमा, प्रिया आदिको व्यवहारबाट पाइन्छ । प्रियालाई सात जनाको बलात्कार स्वीकार हुनु मात्रै सभ्य समाज भन्न खोजिएको होइन कि त्यहाँको प्रेमिक स्वतन्त्रता, यौनस्वतन्त्रता तथा सांस्कृतिक शिक्षाका कुराहरू नै यस पक्षमा पुग्छन् तर नेपाली समाजको यथार्थ ‘अनि कुइरो फाट्छ’ले गरेको छ ।

अर्को कुरा नवीनता विचारमा छ जसरी कन्छी र विराजले समानताको उदाहरण दिँदै त्यसै पनि जातीयताको विरोध र मानवीयताको सम्बर्द्धन यस उपन्यासको चित्रण पक्ष हो । पछि विराज र कान्छी सँग धर्मानन्द सँगै बस्ने सम्झौता गर्नु उपन्यासको शीर्षक झुक्ने मात्र नभै मानवता र दानवतामा दानवता तहको प्रशोधनमै दुई विचारको मेल हुन गएको छ उपन्यास ।

आदर्श र यथार्थको द्वन्द्व, नियति र विडम्बनाको भर्त्सना कथाकार रमेश विकलमा जसरी पाइन्छ त्यत्तिकै सफलता ओगट्न नसके पनि लाक्षणिकताका कथाकार विकलकै वादको औपन्यासिक प्रयोग विजय चालिसेमा हुन गएको छ । नयाँ सडकको गीत’ प्रगतिशीलताका कथाक्षेत्रमा दरो रूपमा उत्रेको छ । उपन्यासमा पारिजात प्रगतिशीलता उच्चतातर्फ लैजान्छिन् । तुलनात्मक रूपमा विजय चालिसे पनि छन् ।

प्रेममा पनि प्रगतिशीलता जसरी राजन बैगुनीले देखाएका छन् त्यस्तै सामाजिकताको दिग्दर्शन उपन्यासले गरेको छ र विष्फारण पक्षमा जति अगि छ ’झरीपछिको आकाश’ भन्दा आस्वादमा यो कमी छ । मानवीय परिवेशको ठाउँठाउँमा वकालत गरिएको विराजको बौद्धिक प्रखरता जसले औपन्यासिक प्रवाह पायो एउटा निर्भीकताको उदाहरण बन्ने परिचायक पथदर्शनको रूपमा उसकै राम्रो भूमिका खेल्न सक्छ । भावनात्मक पक्ष भने औपन्यासिक सफलता त्यति खरो रूपमा झल्किंदैन न मनोविश्लेषणको चित्रणले कुइरो नै फटाएको छ ।

क्षितिजका बाक्ला कुइराका झोक्काका प्रहारले यसैगरी फटाउनुपर्छ वा समानताका साथमा मानवताको रहँदैन जुन सामाजिक उपन्यासले देखाएको सामाजिक मानवतावादी पक्ष छ त्यसको विरुद्ध बौद्धिक प्रचेष्टाहरूले अग्रगामी भूमिका खेल्न सक्नुपर्छ र त्यही भूमिकाकै साथमा समाजका प्रत्येक वर्गको हित हुन्छ । राष्ट्रिय स्वार्थ रहन्न जस्ता कुराको उपन्यासले दिएको जीवनदर्शन पक्षमा अतीव प्रबल र कलात्मक छ । साहित्यिक दर्पणभित्र समाधानका रेखाहरू जसरी सलबलाउँछन् तिनको सल्बलाई पूर्णतः साहित्यिक वा औपन्यासिक छन् । उपन्यासकार भन्ने आधारहरू छन् ।

मध्य युगीन परम्पराको सख्त विद्रोह लेखकीय मौनताले गरेको छ । लेख्नेले समाजलाई मीठो प्रतिफल दिन सक्नुपर्छ भन्ने नेपाली साहित्यको महान् शिल्पी बालकृष्ण समको भनाइसँग सहमत हुँदै समाजलाई सुधारका बाटाहरू पहिल्याउने काममा लाग्नु उपन्यासको धर्म हो ।

औपन्यासिक वार्तुल्यभित्र समेटिएका विषयवस्तु जुन धर्मानन्द र विराजको प्रतिस्पर्धात्मक वैचारिक असन्तुलनको कारण भयो र यस्तो पनि हुनुपर्छ वा पाउन सक्छ भन्ने स्पष्टबोध सम्प्रेषणीयतामा छ । एउटा कारण, एउटा कथा र एउटा उत्सुकताले नै कथात्मक पूर्ण प्रवाहित यस उपन्यासको शिल्प र औपन्यासिक विषयवस्तु अनुरूपको जस्ताको त्यस्तै लेखकीय विचारको बौद्धिकता नमथिएको हुनुमा लेखकीय सफलता छ । दौलतविक्रम विष्टजस्ता सशक्त हस्ताक्षरमा समेत रहेको यस्तो अस्पष्टता याने पात्र अनुसारको बोली युवापिँढीमा प्रयोग हुन पुग्नु निश्चय नै विकासवादको लक्षण हो र प्रकृतिको प्रतिस्पर्धामा घेरिएर निक्लने नवीन विकास क्रमजस्तै स्वच्छताको औपन्यासिक वाद हो ।

उपन्यासको तीव्रता यसले राम्ररी दिन सक्छ । व्यथात्मक परिवेशका सबै कथात्मक घटनाको सँगालो मार्मिकतामा हुर्केको हुन्छ । त्यही मार्मिकता आस्वादनको कारण हो । अन्य जीवनशैलीको प्रयोग नेपाली कथामा यथार्थवादका रूपमा गुरुप्रसाद मैनालीमा प्रयोग भयो । प्रगतिशीलतामा रमेश विकल र पारिजातको प्रवेश भयो । उपन्यासको क्षेत्रमा ग्रामीण क्षेत्र ‘अनि कुइरो फाट्छ’ले पाएको छ । कसौटीमा घोट्नुभन्दा यसका उद्देश्य र साहित्यहेतु पक्षको सराहनीयताले गर्दा उपन्यासको औपन्यासिकताले चरमता पाउनै आँटेको छ । यसै परिवेशमा पद्य माध्यमबाट चालिसेजस्तै युग, समाज र जातीयताको विद्रोहको बुलन्द आवाज श्रीहरि फुयालले गरेका छन् । यसै पथलाई पछ्याएर लेखन अगि बढाउनेहरूको जमात खडा छ ।

साहित्य स्वच्छताभित्र सलबलाउने अपेक्षामा लडेको हुनुपर्छ । नैबन्धिक उडान यसको प्रबलतामा देखा परे पनि प्रायः लक्ष्मीप्रसाद देवकोटा वा शङ्कर लामिछानेमा मात्र यसको विकासको पूर्ण नियम लागू हुन्छ । श्यामप्रसाद शर्माको व्यंग्यवाण तँ, तिमी, तपाईं हजूरको सराहनीय छ । भैरव अर्यालमा हास्य र व्यंग्य छ । अध्यात्मको दर्शन र विपरीतमा प्रखरता पाइन्छ तर सिधा भनिदिने माध्यमका उपन्यासले समाज समेट्न सक्ने र बढी प्रभावकारी हुन्छ । विराटको चिन्तन प्रवाहमा जुन मानवतात्माको परिद्वेलन छ त्यसको जीवन दर्शन पक्ष नै समाज उलटपुलटको छ ।

उपन्यासको झुकाव आध्यात्मिकतर्फ देखिए पनि पङ्क्तिमा गौंडा गल्छेडामा लेखकीयताको आत्मीयताभित्र थोरै हुँदा लचकदार हुनेगरी तर सामाजिक विवशता र विडम्बनाको विद्रोह र समाधान देखाउन सुगम र साफल्य सीमा छन् । औपन्यासिक संरचनामा विसङ्गति नभएका कारण परिपक्वता उनमा छ भन्न सकिन्छ र पनि सरलताको लचकदार प्रयोगको कारण उनमा कलाकारिताको स्पष्ट बोध दिन्छ । यो आभ्यासिकताको पुष्टि मिल्न सक्छ । आभ्यासिकताले साहित्यलाई सुन्दर छरितो र कलाकारी बनाउँछ जुन यस उपन्यासमा केही हदसम्म लागू छ ।

मानसिक मथाइबाट निस्किएका भावनाका मझाइ उपन्यासमा छैन । त्यो साधन सहजता प्रतिको क्रान्ति हो । मथिङ्गलभित्र भाव गुम्फनलाई यत्रतत्र छर्न सक्दा मात्र औपन्यासिकताले पूर्णता पाउँछ । जस्तो पारिजातका उपन्यासले गरेको चित्रण पक्षका शिल्पगत सल्बलाइहरू मथिङ्गल मनपेटमा छन् । मानसिकताको ठाडो चिन्तन उतार्नु मात्र पनि मनोविश्लेषण होइन । त्यो केवल मनोचित्रण हो जसरी वस्तुपरकचित्र कोरिन्छ । त्यसको भावपरकपक्ष त विश्वेश्वर, भिक्षु, गोठाले र विजय मल्लको औपन्यासिक प्रवाहमा पाइन्छ । मानसपटलभरि भावनाका मान्द्रा कोरिन्छन्, फुक्छन् एवम् रीतको गीतात्मक वा विरागतम प्रवाहको झोक्कासँगै पाठकलाई लहराउने शक्ति उपन्यासकारमा हुनपर्छ ।

पारिजातको औपन्यासिक प्रवृत्तिमा केवल नैबन्धिक स्वरूप बोध छ व्यथात्मक सहभागिता कतै रहे पनि उपन्यासकार विजय चालिसको सरल प्रवाह भएर पनि विषयवस्तुमा जटिलता छ । विराजको चिन्तन प्रवृत्तिले कान्छीमा पनि त्यो चिन्तन तरङ्गित कसरी गर्न सक्ला ? ऊ अनपढ छ भने जसरी सुयोगको चुम्बनपछि बरीमा पनि जिन्दगीको निस्सारताको तरङ्ग शिरीषको फूलमा गराउँछन् । यो उपन्यासको फितलो पक्ष हो ।

कान्छीजस्ती अनपढ तल्लो वर्गकी चेली पढेकै भए पनि परिपक्व बौद्धिकताको सञ्चारण गराउन कसरी सक्छे, कल्पना गर्दै रामायणका प्रत्येक घटना आज पनि घट्दै छ आज पनि सार्वजनिक भलाइमा जीवन उत्सर्ग गर्ने कति रामहरू छन् यस धरतीमा । उता धन, सम्पत्ति र शक्तिको आडमा अत्याचारी बनेर गरीबको रगत र पसिना चुसेर शोषण गरी आफू धनवान् बनेका कति रावण र हिरण्यकशिपुसँग धर्मानन्दलाई र रामसँग विराजलाई दाँज्न पुग्ने कान्छीको प्रखर ज्ञान हुन सक्दैन । यस्तै यस्तै भावनाहरू परिद्वेलन हुनसक्छ । त्यसैले आफ्नै ढङ्गमा उपन्यासकारले चित्रण गरेका मात्र हुन्, यसरी ‘चपाइएका अनुहार’मा दौलतविक्रम विष्टले अनन्तजस्तो अनपढ नेपाली सिपाहीको विचार उतारेका छन् ।

यहाँको कथा यति हो कि कान्छीसँग विवाह गरेर विराज समाजमा परम्पराको सिक्रीलाई चुँडाल्ने तरखरमा लागेको छ र प्रेममा आदर्श छ । (प्रेम गहिराइमा अस्वाभाविक भए पनि) ‘झरीपछिको आकाश’को राजु क्याम्पस–गाउँ जताततै प्रेम जनाउँछ र आखिर चम्पासँग (पुरानी प्रेमिका स्वीकारेर) अन्तिम माया कुथुरी पुकार्छ तर विराज सुरुदेखि नै कान्छीसँग सती धाउँछ । यहाँको प्रेममा कान्छीप्रति विराजको प्रेमको आदर्श र बदलामा कान्छीको विराजप्रति अदैहिक दोहोरो सम्झौता हुनुमा प्रेमभन्दा समानात्मको सँघार धच्घच्याउनु र उघार्नु रहेको छ जुन औपन्यासिकताको लक्ष्य वा सफलता मान्न सकिन्छ ।

उपन्यासकार जातीयताको विरोधमा मानवतावादी विचारधाराको गहिरो तर्कप्रयोग गर्छन्– जानी वा नजानी । एउटा बुर्जुवा पुत्र भैकन पनि शोषण र सामन्ती नीतिको पर्दाफास गर्ने अभियानको क्रमिकतामा विद्यालयको स्थापना, धर्मानन्दसँग विद्रोह, शोषित पीडितको पक्ष तथा कान्छीसँगको बिहाबारी आदि सम्पूर्णता आदर्शका खातिर आह्वान हुन् । ’झरीपछिको आकाश‘मा राजु न्यायाधीश भैकन क्रान्ति गर्न तम्सँदा तेस्रो व्यक्तिलाई जुन प्रतीति गराउँछ, यहाँ विराजमा यस्तै सोचाइ हुन सक्छ । बाबुसँग विद्रोह गर्नु वस्तुतः यथार्थ होइन । आह्वानले वास्तविकतातर्फ दिशाबोध गर्ने जिम्मा उपन्यासले लिएको छ । त्यो लिनुमा केही अपूरो पक्ष दृष्टिगोचर हुन्छ । उपन्यासकार चालिसेमा नपुगेको अभ्यस्तता वा अभ्यस्त हुँदा पनि रहेको विचार हो साहित्यिकताको नाममा शब्द आडम्बरको प्रयोग उनले नगरेको पाइन्छ । वस्तुतः विजयको विजय चेतनाको संरक्षण हो, सिञ्चन हो, अनि सामाजिकतातिर दिग्दर्शनको एउटा आह्वान, अर्का यथार्थताको अन्योन्याश्रिततामा ।

मानवतावादी चिन्तन प्रक्रियामा उपन्यास लगायत छिटफुट अन्य कृतिका पनि विशेषता हुन् । मूलतः विजयको वैशिष्ट्य सानो पक्ष चाहिं घच्घच्याएर सम्पूर्णतातिर ग्राम्य जीवनशैली चियाउन पुग्नु हो । पारिवारिक परिवेशको अन्त्य उपन्यासले गर्छ । थोरबहुत यसको उन्मुखता सम्पूर्णताभित्र सङ्ला आभाका पाइला चाल्न र विचारको स्वच्छन्द परिष्फुरण गर्न समानताका पुस्तक देखाउने चहकिलो ऐना हो । अर्को अर्थमा भनिदिंदा पुरानो अमानवीयता वा दानवीय निष्ठुरता विरुद्ध मानवताको विजय उपन्यास हो र विजयको युद्धपोत पनि उपन्यास हो, जहाँ दुई मान्यताको पारस्परिक विद्रोहात्मक द्वन्द्व चर्किएको छ र नवीनताको चाहनामा सामाजिक उन्मुखता छ । नवीनताको आस्वाद्य पक्ष मीठो हुन्छ तर विवशताले नवीनता निम्त्याउन नसक्ने परिवेशको ढोका जहाँ बन्द गरिदिन्छ चापिएका विचारका हिलियम भावले आयतन बढाउने तरखर विस्फारित हुन्छ । अन्ततः विष्फोट हुन्छ ।

विचारको विस्फोटन यहाँ यस्तै छ, जसरी राजनकी राजुमा भौतिक तथा वैचारिक सङ्घर्षमा जुर्मुरायो विराजमा पृथकता पाइन्छ तर चरमता एउटै हो बाटो बेग्लै । प्रकृति पक्षमा विराजको शिथिलता छ भनौं, वैचारिकताको उद्बोधन वा चेतनाको प्रसारण विराजको मूल धर्म हो तर राजुको सन्मार्गमा वैचारिता र हिंसात्मता पाइन्छ । विराज मूलतः गान्धीवादको प्रचेतक हो भने राजु त्यसको दुवै पक्षमा देखा पर्ने प्रगतिशीलताको चरमोत्कर्षण प्राप्त नेता । मानवताको वकालत राजुको न्यायाधीश भएको कारण राजुजस्तो अहिंसात्मक सन्मार्गको ढोकाबाट गर्नुपर्ने तर भएन । यो उपन्यासको फितलो पक्ष हो औपन्यासिक वा आलोचनात्मक दृष्टि पुर्‍याउनु । ‘झरीपछिको आकाश’मा चलचित्रको क्षणिक दृश्यका अमिट छाप तेस्रो वर्गलाई पनि पर्न सक्छ तर ‘अनि कुइरो फाट्छ’ आह्वानात्मक कृति प्रतीत गर्दछ । उपन्यासकारमा परिपक्वता हट्ने बढ्ने लचकताको अभाव ।

उपन्यासकार आत्मबललाई वहुलता दिन्छन् । सम्पूर्णको शुरू आत्मबलले साफल्यतिर मोड्न सक्छ को प्रमाण औपन्यासिकतामा पाइन्छ तर लेखकीयता आत्मबलको डोरीले बाँधिएको छैन केवल पात्रीय परिवेशले लेखकको निर्देशनात्मक परिसूत्रमा वा परिमार्जनमा मात्र धैर्यशीलतामा अडिग बन्न सके जीवनदर्शनको स्प्रिङ लच्किलो त्यति छैन सहानुभूति र संवेदनाका ढिक्काहरू यसले भाग्न चाहँदैन न सौन्दर्यमा अडिग छ ।  काल्पनिक यथार्थको रङ्गमञ्चमा मञ्चित सानो कथानक औपन्यासिकताको एक पक्षमात्र प्रयोग गर्छ तर पनि दृढता पक्षमा अरूलाई शिक्षा प्रदान गर्न जरुर बन्न सकेको छ ।

प्रगति त मानवताको पक्षमा पारिजातको ‘पर्खालभित्र पर्खाल बाहिर’ जत्तिको चाहिं छैन, तर त्यसको सूक्ष्मतम उदाहरण साक्षात्कार गर्दा देख्न सकिन्छ कि– “तिमी आफैलाई गरीब र हेय ठान्छ्यौ भने त्यो अधूरै रहन्छ किनकि आफ्नो उन्नति गर्नु मानिस मात्रको उपहास गर्नु हो मानिस जन्मँदै गरीब र धनी ठूलो र सानो भएर जन्मिँदैन । उसलाई गरीब, भनी, ठूलो र सानो बनाउने त हाम्रो समाज हो, व्यवस्था हो, हामी मानिस आफै हौं । गरीब भयौं भनेर त्यसैमा सन्तोष मानी पददलित भएर बस्ने हो भने मान्छे सधैं शक्ति र धनको कमारो भएर बाँच्नुपर्नेछ भनी धनी र गरीबको छुट्टाछुट्टै वर्गमा अवश्य नै बाँडिन्छ । त्यसैले भेद हटाउन हामी मिहेनती बन्नुपर्दछ र हाम्रो मिहिनेतको फल कसैले लुट्न खोज्छ भने त्योसँग जुधेर रक्षा गर्नुपर्दछ । अधिकार मागेर पाइँदैन । त्यसलाई खोस्नुपर्दछ ।”

स्तरीय शृङ्खलालाई तोड्न मानवतावादी दृष्टिकोण उपन्यासकारले गरेका छन् तर समानतावादलाई प्रशस्त उकेरा दिन पुग्छन् । उपन्यास भित्रका नायक–नायिका समानतामा अपेक्षित छन् । धर्मानन्दको नीति विरुद्धमा र धर्मानन्दका माध्यमले नेपाली समाजको विद्यमान विसङ्गतिलाई सानेकै रूपमा उतार्ने र परिश्रमको मूल्य सित्तैमा लिने प्रवृत्तिका साथै सम्पूर्ण दानवतावादी कोरा मानवतावादलाई नङ्ग्याउँदै अज्ञानरूपी कुइरोलाई पन्छ्याउने दिशातर्फ उपन्यास उन्मुख छ । उपन्यासले एउटा निश्चित वार्तुल्यता ओगटेको छ । मतलब यसको परिमितता सानो आकारको छ । यसले कुनै विस्तृतता ओगट्न सकेको छैन न दर्शन प्रवाह नै ।

प्रत्येक ठाउँ प्रत्येक मान्छेको सम्पूर्णता यहाँ एक पक्षमा मात्र छ । प्रियाको नारी आदर्श विकासवादको मदन, गगन, वसन्त, निमा, दावा, तथा दिनेशका दिनचर्याभित्र प्रत्येकको एकएक क्षेत्रको विकासवादका सन्देशात्मक वागी पाइन्छ । राजनैतिक, आर्थिक, सांस्कृतिक तथा साहित्यिक सबैको उचित मार्गदर्शन जसरी पिटर जे कार्थक दिन सक्षम छन् विजय वा राजन छैनन् । यी केवल एक पक्षका एकवादी हुन् ।

शैलीगत पक्ष त्यति परिष्कृत छैन गुरुप्रसाद मैनालीको ग्राम्य जीवनशैलीको प्रयोग नै यसमा पाइन्छ । यसको मतलब उपन्यास असफलै चाहिँ होइन, आंशिक सफल हो परिष्कार र परिपक्वताको मझाइ छुन बाँकी छ । विजयको समाजप्रतिको व्यंग्यवाण भने तीखो छ । त्यो लाटालाई त बिउँझाउने सञ्जीवनी हो भने राजन र विजय दुवै पारिजातको विद्रोहात्मक प्रवृत्ति अवयवका साथ केही मौलिकतामा झुल्केका उपन्यासकार हुन्– दुवैको आह्वान काल्पनिक यथार्थ छ । उपन्यासको शीर्षक चाहिँ मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’जस्तै छ । उपन्यास पहिलो होटल राँकीमा हत्याको तुलनामा भने एक पाइला अगि छ ।