विद्यालय अध्ययनका क्रममै साहित्य सिर्जना सुरु गरेका सुभाषचन्द्र पौडेल ‘भीमफेदिया’ तीसका दशकका सक्रिय व्यक्तिमध्ये एक हुन् । आफ्ना पिताले लय हालेर पढेका रामायण र महाभारतका श्लोक अनि फुपूदिदीले सुनाएका दन्त्य कथाबाट उनी आनन्द लिन्थे । श्लोकहरू पढ्नुका साथै उनका पिता कहिलेकाहीं कविता पनि सिर्जना गर्दथे ।

यसै वातावरणले बालक सुभाषको साहित्यप्रति आकर्षण बढ्दै गयो । विद्यालयबाट आयोजना गरिएका अतिरिक्त क्रियाकलापमा उनी कविता सुनाउँदै गए । दश–एघार वर्षदेखि नै उनका सिर्जनाहरू प्रस्फुटित हुन पुगे तर ती प्रकाशनमा भने आउन सकेनन् । काठमाडौंबाट प्रकाशन हुने ‘अर्पण’ साप्ताहिक पत्रिकामा २०२९ जेठ १२ गते ‘भए पुग्छ’ शीर्षक कवितामार्फत उनी साहित्य संसारमा पदार्पण गरेका हुन् । यसपछि विभिन्न पत्रपत्रिकामा उनका सिर्जनाहरू प्रकाशित हुँदै गए ।

२०१४ कार्तिक २५ गते मकवानपुरको भीमफेदीमा जन्मेका सुभाषचन्द्र पौडेल साहित्य लेखनका साथै विभिन्न पत्रपत्रिकामा विशेष गरी श्रीधर खनालको संरक्षक र बालमुकुन्ददेव पाण्डेको सम्पादकत्वमा प्रकाशित हुने नयाँ समाज दैनिकमा समेत प्रुफ रिडिङ्, सम्वाददाता र व्यङ्ग्य स्तम्भकारको रूपमा वाङ्मयको सेवामा समर्पित भएको देखिन्छ । आर्थिक र व्यवहारिक कठिनाइले गर्दा उनका कृति भने तत्काल प्रकाशित भएको देखिंदैन ।

२०२९ सालमै कविता प्रकाशन गरेका सुभाष पन्ध्र् वर्षपछि २०४४ सालमा मात्र त्रिवेणीका लहरहरू श्रीरामसिंह बस्नेतसित संयुक्त लेखनमा अन्तर्वार्ता सङ्ग्रह लिएर देखा पर्दछन् । त्यो समयमा गीत–सङ्गीत र गायन क्षेत्रका ५१ जना साधकहरूका विचार समेटिएका त्रिवेणीका लहरहरू एउटा महत्त्वपूर्ण कृति थियो तर त्यस्तो महत्त्वपूर्ण कृति प्रकाशन गर्न समेत उनलाई सहज भएन । प्रकाशनका लागि उनीहरूले धेरैका ढोका चहार्नु पर्‍यो ।

साहित्य र वाङ्मयको सेवा गर्ने पवित्र भावना बोकेको राजकीय प्रज्ञा प्रतिष्ठानबाट समेत सकारात्मक जवाफ नआएपछि सुभाषचन्द्र पौडेलले तत्कालीन समयमा राजाको मध्यमाञ्चल भ्रमणका क्रममा दर्शनभेट माग्दै कृति प्रकाशनका लागि बिन्ती चढाए । त्यसपछि राजाको हुकुमबाट ‘त्रिवेणीका लहरहरू’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले २०४४ सालमा प्रकाशन ग¥यो । एउटा स्वाभिमानी लेखकलाई कृति प्रकाशन गर्नसमेत कति कठिनाइ पर्छ भन्ने कुरा यसले देखाउँछ । संयुक्त लेखनपछि उनी २०७९ मा दोस्रो पटक तिल÷गङ्गा÷गोविन्द कविता सङ्ग्रह लिएर साहित्य क्षेत्रमा कृतिकारका रूपमा उभिन पुग्दछन् ।

सुभाषका कविता सिर्जनाका पृष्ठभूमि, भावभूमि र प्रेरणाका स्रोतका रूपमा उनले आफ्नै स्वजन परिवार, आफ्नो  जन्मथलो, आफू हुर्केपढेको परिवेश र त्यसैको धूलो, हिलो र वरिपरिका प्राकृतिक छटा रहेका छन् । उनका सिर्जनात्मक प्रवृत्ति केलाउँदा माटो र मान्छेको माया, राष्ट्र मानवीय संवेदना नै अग्र पंक्तिमा आउँछन् भने आफ्नै वरिपरिका सादृश्यमा कवित्व लुक्दछ र त्यसलाई प्रस्फुटन गर्न कविको शब्दशक्ति, भाषा र शैलीको अहम् भूमिका हुन्छ भन्ने सङ्केत देखा पर्दछ । यिनैका सेरोफेरोमा उनी कविता सिर्जना गर्छन् ।

उनीजस्तै कवितासंग्रह पनि अत्यन्त सरल देखिन्छ । एक वर्षकै उमेरमा आमा गुमाएका सुभाष मातृममताबाट वञ्चित हुँदाको पीडाले मर्माहत बनेका छन् । आमा प्रतिको अगाध प्रेम र श्रद्धाभाव उनका कवितामा पनि अभिव्यक्त भएको पाइन्छ । आफ्नी पूजनीय जननी तिलकुमारी पौडेलको स्मृतिमा लेखिएको कविता संग्रहको सुरुवात मै छ । मातासित यसरी आशीर्वाद माग्छन् :

आशिष् पाऊँ पुण्यकर्म गरूँ

सुयोग्य पात्र बनेर मरूँ

आमा म आज यही प्रण गर्छु

जगत्कै भलो चिताएर मर्छु ( पृ .१६)

आमाको निधनपछि उनी उनकै बालविधवा फुपूदिदीको वात्सल्यमा हुर्किन्छन् । उनकै निस्वार्थ भावप्रति पनि कृतिमा दोस्रो कविता मार्फत कविले संवेदना पोखेका छन् । त्यस्तै आफ्ना पूज्य पिता गोविन्दप्रति पनि कृतिमा श्रद्धासुमन व्यक्त गरिएको छ । यसरी उनको पहिलो कविता तिल, दोस्रो गङ्गा र तेस्रो गोविन्दले जन्म दिने आमा, कर्म दिने आमा फुपू र सन्तानका लागि दोस्रो विवाह नगरी त्याग र समर्पणका प्रतीक पिता गोविन्दप्रति श्रद्धाभाव व्यक्त गरिएको छ ।

‘दुई स्थान र एक चिनारी’मा भीमफेदी र हेटौँडाको नाम कसरी रह्यो भन्ने पौराणिक आधार प्रस्तुत गरिएको छ । हेडम्बा नाम गरेको राक्षसलाई भीमसेनले वध गरेपछि हेडम्बा नाम रहेको र पछि अपभ्रंश भएर हेटौँडामा परिणत भएको सन्दर्भलाई कवितामा रोचक ढङ्गले प्रस्तुत गरिएको छ । यसै गरी पैदल आएका भीमसेनलाई चिसापानी गढीमा बास बसेको समयमा एउटा वृद्धले शङ्का मानी परीक्षण गर्दा भीमसेन शिला भई अलप भएकाले उनकै नामबाट भीमफेदी नाम रहेको प्रसङ्ग निकै रोचक लाग्छ । भीमफेदीको भीमसेन जात्राले स्थानीय संस्कृतिलाई टपक्क टिपेको छ ।

‘दिदी राधा’ आफ्नी जेठी दिदी राधाको स्मृति विम्बलाई कविताका माध्यमबाट उजागर गरिएको कविता हो । एउटा घर साँच्चिकै घर बन्न घरमा श्रद्धेय बाबुआमा हुनुपर्‍यो जसको सधैं दर्शन गरेर आशीर्वाद लिन पाइयोस्, मायालु श्रीमतीका काखमा सबै चिन्ता नष्ट हुनपुगुन् । घरमा आज्ञाकारी छोराछोरी हुन्, घरमा राम्रो संस्कार सिकून्, दाजुभाइमा एकता होस्, भाउजूबुहारी सहृदयी हुन्, सबैको इलम होस्, घर स्वर्ग  बनोस्, उदाहरणीय बनोस् भन्ने भाव ‘घर’ कवितामा अभिव्यक्त भएको छ ।

‘माटो’ मा माटोले हामीलाई के दियो र माटोलाई हामीले के दिनुपर्छ ? भन्दै प्राणीलाई माटोले प्रदान गरेको देनको चर्चा गरी माटोलाई चिन्नुपर्छ र माटोमा रमाउन सक्नुपर्छ भनेर माटो प्रतिको उत्तर दायित्वबोध समेत गराइएको छ । पानी विनाको जीवन कल्पना समेत गर्न सकिन्न । अन्तिम श्वाससम्म पनि मानिसलाई पानीको आवश्यकता पर्दछ । पञ्चतत्व मध्ये एक पानी जीवनमा अपरिहार्य रहन्छ । यस्तो जीवनदायिनी पानीको मुक्त कण्ठले प्रशंसा गर्दै पानीलाई प्रदूषित बनाउन हुँदैन भन्ने सल्लाह उनले पानी कवितामा दिएका छन् । माटो र पानी पछि उनले आगोको विषयमा पनि कविता सिर्जना गरेका छन् । मानिसको जीवनमा आगोको उपयोगितालाई प्रस्ट्याइएको छ ।

‘पृथ्वी र मान्छे’ कवितामा पृथ्वी र मानिसको अन्योन्याश्रित सम्बन्धको कुरा छ । पृथ्वीभित्रको अथाह स्रोत र मानिसभित्रको अमूल्य सोचलाई सदुपयोग गर्नसके पृथ्वी स्वर्ग बन्न सक्ने कुरामा उनको विश्वास देखिन्छ । ‘आत्मा’ कवितामा उनी आध्यात्मिक आस्था र विश्वासका साथ अघि बढेका छन् । जन्मपछि मृत्यु अवश्यम्भावी छ । देह मरे पनि आत्मा भने अमर नै रहन्छ । मृत्यु सर्पले काँचुली फेरेजस्तै वा मानिसले कपडा फेरेजस्तो क्रिया मात्र हो । देह र आत्माको सम्बन्धको आध्यात्मिक चेतना कविताले बोकेको छ । कवि दानलाई धर्म मान्छन् । दानमा निस्वार्थ भाव हुनुपर्छ । यथासम्भव दान दिनु धर्म हो । दिएर सकिंदैन भन्ने भावना कविताको मूल भाव रहेको छ :

अन्नदान, वस्त्रदान वा भिक्षादान

‍‍….

जे सक्छौ जति गर्छौं हामी दान कर्म

त्यही हो भन्छन् जिन्दगीको महान् धर्म  (पृ .३४)

आकाशमा युद्धका काला बादल मडारिएका छन् । शान्तिका परेवाका सट्टा लडाकु विमानहरू घुमिरहेका छन् । विज्ञानले जीवन सहज बनाए पनि अनेक खाले बम बनाएर एक निमेषमै संसारकै अस्तित्व समाप्त पार्न सक्ने भयले मानव आत्तिएको छ । आज स्वतन्त्र रूपमा शान्तिको श्वास फेर्न सकिन्न । ‘अश्वत्थामा हतोहत’ कवितामा अहिलेको शक्ति सम्पन्न राष्ट्रहरूको आणविक होडबाजीप्रति चिन्ता व्यक्त गरिएको छ । यो कविता कवि विजय मल्लको ‘यस धर्तीको पानीमा’ र ‘बम खसाल ए बम खसाल’को भावमा बढेको देखिन्छ । यसलाई सङ्ग्रहकै प्रतिनिधि कविताको रूपमा ग्रहण गर्न सकिन्छ । ‘उज्यालो’ कवितामा कवि स्वतन्त्रताको पक्षमा उभिन्छन् । उज्यालो सबैलाई मन परे पनि उज्यालो मन नपराउने पनि छन् भन्दै कवि निरङ्कुशताका विरुद्धमा उभिएर स्वतन्त्रताको पक्षमा यसरी आवाज बुलन्द बनाउँछन् :

हामीलाई थाहा छ

बादल चिसो चिसो छ, त्यो जलमय छ

सूर्यको तातो र उज्यालोसँग

सधैं सधैं ऊ त्रसित छ । (पृ .३७)

विश्वास र युद्ध’ मा युद्धलाई फरक दृष्टिकोणले हेरिएको छ । बाँच्नका लागि गरिने जीवन सङ्घर्षलाई पनि कविले युद्ध नै भनेका छन् । यस्तो युद्ध जित्नका लागि हातहतियारको जरुरत पर्दैन । केवल मान्छेलाई मान्छेको साथ र विश्वास चाहिन्छ :

भन्नुहोला

युद्ध भनेको खुकुरी र तरवार

जुधाउनु  हो

भन्नुहोला

युद्ध भनेको बारुद र बम

पड्काउनु हो

तर म केवल

शान्त गम्भीर एवं

जटिल युद्ध लडिरहेछु

अँध्यारो विरुद्ध लडिरहे छु

आशिक्षा विरुद्ध लडिरहे छु

भोक र रोग विरुद्ध लडिरहेछु

केवल बोलीले बोली जित्न

केवल विश्वासले विश्वास जित्न

शान्तिपूर्वक लडिरहेछु

यो विल्कुल सत्य हो

म पनि युद्ध लडिरहेछु । (पृ ४०)

इच्छा’ छोटो आकारको कविता हो । सेवा नै परम धर्म हो भन्ने भाव कविताले बोकेको छ । सक्रिय जीवन रहेर अरूको भलो चिताउने, आफू हारेर पनि अरूलाई जिताउन पाइयोस् भन्ने भनाइ कविताको छ ।

गाउँ शून्य र उजाड भएको र शहरप्रति मात्र मानिसको आकर्षण बढेकोमा कवि चिन्तित देखिन्छन् । गाउँलाई आकर्षण गर्न नयाँ वर्षले काम गरोस् । किसानको समस्या, भोका नाङ्गाको समस्यामा समाधान बनेर नयाँ वर्ष आओस् भन्ने कविको विचार रहेको छ । मान्छेले पृथ्वीलाई स्वर्ग बनाउन सक्छ । आस्था र विश्वास जगाउन सके मानिसले नै सञ्जीवनी उमार्न सक्छ । मान्छे प्रेम चाहन्छ, मानिसले नै सबैमा प्रेम बाँड्न सक्छ । मान्छेले मानवता बुझे हरेक कर्म सार्थक बनाउन सक्छ । यदि मानिसमा मानवता नै हरायो भने राक्षसी प्रवृत्तिको पुनरावृत्ति बढ्दछ, जसले संसार नै नष्ट पार्न समय लाग्दैन । मान्छे नै ईश्वर हो । देवताभन्दा ठुलो पनि मान्छे नै बन्नसक्छ । कवितामा भनिएको छ :

देवताभन्दा पनि ठूलो मान्छे हुन्छ

मान्छे देवता हो

देवता भन्नु नै मान्छे हो

त्यसैले त मान्छेलाई मान्छे हुन दिन

मान्छेलाई मान्छे कै रुपमा बचाउन

मस्तिष्क मात्र भएर पनि हुँदैन मुटु पनि चाहिन्छ

मस्तिष्क र मुटुमा मात्र भएर पनि हुँदैन

मस्तिष्क र मुटुको मिलन हुनुपर्छ

मस्तिष्कमा मुटु र मुटुमा मस्तिष्कको स्पर्श हुनुपर्छ । (४५)

म नदी अविरल बगिरहेछु’ जीवनलाई नदीसँग तुलना गरिएको कविता हो । नदीजस्तै अविरल गतिले आफ्नो कर्तव्य पथमा अघि बढेमा मानिस मानिस भएर बाँच्न सक्छ भन्ने कविताको मूलभाव रहेको देखिन्छ । मानव सर्वश्रेष्ठ प्राणी भएर पनि पाशविक व्यवहारभन्दा पनि तल ओर्लेर विकृति–विसङ्गति देखाइरहेका छन् । शान्ति, स्वतन्त्रता र समानता केवल सिद्धान्तका रटान मात्र बनेका छन् । त्यस्तै ‘विश्वास अविश्वास’मा कविले सुन्दर, शान्तिपूर्ण सुखी र सुन्दर संसारको परिकल्पना गरेका छन् । ‘ऋण’ कवितामा वैयक्तिक र राष्ट्रिय ऋणबाट हुनसक्ने समस्या र परिणामप्रति सचेत गराउन खोजिएको छ । मानिसले बनाएका सिमानामा मानिस स्वयं नै कैद भएको कुरा कविताले बोलेको छ । संसार एउटै छ । यसमा देश–देशमा विभाजन छ । अंशबण्डाका नाममा बाबु–बाजेका जमिनका साँध–सिमाना लगाइएका छन् । पुराना सिमाना होइन नयाँ सिमाना कोर्ने कविको इच्छा छ । ‘सिमाना’ कविताको भाव यस्तै छन् ।

‘जीवन यात्रा’ मा कविले भीमफेदीदेखि काठमाडौं सम्मको यात्राको वर्णन छ । उनको जीवनमा शिक्षा, जीवन वृत्तिको निमित्त गरिएका पत्रकारितादेखि सेवानिवृत्त हुँदै अहिले साहित्यको सेवासम्मका कुराहरू देखाएका छन् । ‘आँखा’ कवितामा आमाको गर्भदेखि सँगै रहेर पनि दुइटा आँखाको कहिले भेट नहुने विषय कवितामा रमाइलो किसिमले आएको छ । ‘रहर’ कवितामा रहरै–रहरको लहर देखाएर मानव चरित्रलाई प्रस्तुत गर्ने प्रयास गरेका छन् । सानो भए ठुलो हुने रहर, ठुलो भए विदेशको रहर, सन्तान र सम्पत्तिको रहर, यो कहिले नटुङ्गिने रहरको लहरजस्ता सामान्य विषयलाई पनि कविले कविताको स्वरूप दिएका छन् ।

‘म पानी हुँ मलाई बग्न देऊ’ पनि स्वतन्त्रताकै अभिव्यक्ति बोकेको कविता हो । कविताका प्रत्येक पंक्तिमा स्वतन्त्रताको आवाज बुलन्द गरिएको छ :

केवल सिसी र बोतलहरू भित्र मात्र मलाई कैद नगर

मैले त प्रत्येक घरआँगनमा

अमृत बनेर पोखिनुपर्छ

म पानी हुँ

मैले बग्नु पर्छ

मलाई बग्न देऊ (पृ ६२)

कर्म र भाग्य’ मा भाग्यलाई कर्मले मात्र सार्थक बनाउँछ । उद्योग नगरी केही हुँदैन । भाग्य छ भन्दैमा डोकोमा दूध दोएर अडिन्न । यिनै कुराहरू कविताले देखाएका छन् । पृथ्वी र आकाशको फरक ‘अन्तर’ कवितामा देखाइएको छ । स्वतन्त्र उडान गर्दै यात्रा गर्दा आकाशमा कुनै टन्टा, झमेला नहुने तर धर्तीमा ओर्लने बित्तिकै घर–घरमा झैं–झगडा, तेरोमेरो हुने यो के भएको भन्दै कवि प्रश्न गरिरहेका छन् । चिन्ता व्यक्त गरिरहेका छन् । आकाशजस्तै धर्ती पनि शान्तिपूर्ण बनाउने कविको उद्देश्य रहेको देखिन्छ ।

‘विजया दशमीको उपलक्ष्यमा हार्दिक समवेदना’ कविताले दशैँमा देखिएका विकृति, विसङ्गति, पशुबली, स्वास्नीका गहना, खेतको गरा र बारीको पाटा बन्धकी राखेर भए पनि दशैँ मनाउनै पर्ने परम्पराप्रति कविले चिन्ता व्यक्त गरेका छन् । दशैँलाई दशा बनाउनेहरूप्रति उनले विरोधको स्वर बुलन्द बनाएका छन् ।

‘फगत माटो हुँ’ कविताले माटोको अपरिहार्य आवश्यकताको महत्वबोध गराउँछ । ‘माटो’ कविताको तुलनामा ‘फगत माटो हुँ’ बढी सशक्त देखापर्छ । ‘सडक’ मा जिन्दावादका, मुर्दावादका आवाजहरू सुन्दै रातमा सडक निःशब्द सुतेको छ । निर्मम रूपले सडक बलात्कृत छ । आखिर सडक भनेकै जनता पनि त हो । निरङ्कुशताका कुप्रथा र कुसंस्कारबाट जनता पनि थिलथिलो भएका छन् । भ्रष्टाचार र अन्यायले जनता पनि सडकजस्तै निःशब्द बनेको कुरा देखाइएको छ ।

‘म फूलको माला’ कवितामा फूल हुनु अर्कै आनन्द छ । यसलाई टिपेर सियोले घोचेर धागोमा उनेपछि मालामा परिणत हुन्छ । बोटमा हुँदा भँवरा र माहुरीले रस बटुल्थे र उनीहरू तृप्त हुन्थे । माला भएर ईश्वरको गलामा बस्न पाए त हुने तर कुनैकुनै गलामा बस्दा पीडाबोधसमेत हुँदोरहेछ भन्दै जसलाई पनि माला पहिराउनेहरूप्रति व्यङ्ग्य प्रहार गरिएको छ । पहिला अभाव हुँदा पनि खुसी थिए कवि  तर अहिले सम्पन्न भएर पनि बाबुआमा र आफन्त, फुपूदिदीको अभावमा उनी दःुखित देखिन्छन् । कविले यस कवितामा आफ्नै कुरा लेखेका छन् । ‘हाँसीहाँसी बाँच्नुपर्छ’ कवितामा सुखमा नमात्तिन र दुःखमा नआत्तिन भन्ने सल्लाह दिन्छन् । सागरले आँधी व्यहोरेकोे हुन्छ । पहराले पहिरो भोगेको हुन्छ । कोमल फूलले पनि असिना र बतास खेपेको हुन्छ भन्दै जति हन्डर र ठक्कर खाएर पनि खुसी भएर बाँच्न कविको सुझाव छ :

बिहान पूजा र बेलुकी आरती पाउने

मन्दिरमा प्रतिस्थापित मूर्तिले पनि

ईश्वरको रुपमा मूर्ति बन्नुअघि

कुनै शिल्पकारको हजारौंँ छिनाको चोट सहेको हुन्छ

हामी त मान्छे हौँ

अनेक ठक्कर र प्रहार खाएर पनि

हाँसी हाँसी बाँच्नु पर्छ ।(पृ ७४)

नेपालका सांस्कृतिक विषयहरू पनि सुभाषका कवितामा समाविष्ट छन् । तिहारको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व बोकेका प्रसङ्ग आएका छन् । ‘जे प्राप्त छ पर्याप्त छ’ कविताले मानिसलाई आफूसित जे छ त्यसमै आनन्द लिनुपर्ने सुझाव दिएको छ । देखासिखी र अरूसित आफूलाई तुलना गर्ने, उग्र महत्त्वाकाङ्क्षा राख्ने, ईर्ष्या गर्ने, अरू घोडा चढे भन्दैमा आफू धुरी चढ्ने प्रवृत्तिप्रति कविको असहमति रहेको छ । उचाइमा पुग्नका लागि जमिनमै कुद्नु पर्छ । विनाप्रयास त्यसै कुनै पनि गन्तव्यमा पुगिंदैन । प्रयासहीन इच्छा इच्छामा मात्र सीमित रहन्छन् । यथार्थ यही हो भन्ने कुरा ‘यथार्थ’ शीर्षकको कवितामा छ ।

‘एकता’ कविता एकता दिवस तथा पृथ्वी जयन्तीको उपलक्ष्यमा लेखिएको हो । अनेकतामा एकता धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकता राख्नका लागि अपरिहार्य छन् । अहिले नेपालमा सङ्घीयताका नाममा देखिएका विकृतिहरूले राज्य कमजोर बन्दै गएको सन्दर्भलाई ‘एकता’ कविताले सङ्केत गरेको छ ।

सिड्नी’ यात्रा कविता हो । अस्ट्रेलिया बसाइको क्रममा त्यहाँ उनले देखेका दृश्यहरूलाई व्यङ्ग्यात्मक पारामा बताएका छन् । त्यहाँका गगनचुम्बी भवन, चिल्ला सडक, पौष्टिक खाद्यवस्तु आदि जस्ता उल्लेखनीय कुराहरू कवितामा उल्लेख गरिएको छ । त्यहाँका युवा–युवतीको स्वतन्त्रपूर्वक रहने कुरालाई कविताले हाँसो उठ्दो तरिकाबाट व्यक्त गरेको छ :

देशमा सबै सुकिला छन्

वस्त्रहीन पहिरन

सबका सामु चुम्मा चाटी

कति छोप्नु नयन । (पृ ७९)

अनुभव’ शीर्षकको कविताले व्यावहारिक पारिवारिक जीवनको सन्दर्भलाई उठाएको छ । कविता अत्यन्त सरल शैलीको देखिन्छ । ‘तथास्तु’मा पनि छोरीज्वाइँलाई शुभकामना र आशीर्वादमा नै केन्द्रित रहेको देखिन्छ । हाँसोले स्वास्थ्यमा स्फूर्ति आउने र साथीभाइ, घरसमाज सबैमा प्रिय हुने हुँदा हाँसोको महत्त्व ज्यादा छ । हँसिलो व्यवहारले धेरै कामहरू सजिलै बन्न सक्छन् । कतिपय रोगहरूको त हाँसो औषधि पनि हो । योग शास्त्रमा हाँसोको महत्वको व्याख्या पनि रहेको छ । हाँस्नका लागि चिन्तामुक्त हुनु आवश्यक हुन्छ, तर हाँसो किनेर पाइंँदैन । यिनै हाँसो माहात्म्य ‘हाँसो’ कवितामा रहेको देखिन्छ ।

‘रोग लागेपछि’ शीर्षकमा अमिलोपिरो, चियाकफी, चिल्लो छोडेर दालभात, तरकारी, हरियो सागपात मकैभटमास, गहुँकोदो फापरमा पौष्टिक तत्व पाइने हुँदा यिनै खानु पर्ने कुरा कविले राखेका छन् । रोग लागेपछि उनले खाएका खानाहरूले उनलाई फाइदा गरेकोले अरूलाई पनि यिनै चीजहरू खान सल्लाह दिएका छन् । बुढेसकालमा पनि चिन्तामुक्त र सक्रिय जीवन व्यतीत गर्ने इच्छा सबैको हुन्छ । यही कुरा ‘बुढेसकालमा’ पनि कविताले व्यक्त गरेको छ ।

‘अँध्यारो उज्यालो’ कवितामा अँध्यारोको निरङ्कुशतालाई समाप्त पार्न र अँध्यारोको साम्राज्यबाट मुक्त हुन एक काँटी सलाई नै पर्याप्त हुने प्रसङ्ग कोट्याइएको छ । समाजमा प्रचलित उखानले पनि कवितामा स्थान पाएको छ । केही उखान र उक्तिहरूले कविता बुनिएको छ । ‘छिटा बाछिटा’मा सामान्य कुराहरूलाई कवितामा समावेश गरिएका छन् । मुक्तक भनिएको ‘साथी’ स्थिति र चोट चोटिला छन् । साथी सुखमा मात्र छन् दुःखमा कसैले साथ दिंदैन यो यथार्थ हो । यसै सत्यलाई कविले ‘साथी’ मा व्यक्त यसरी गरेका छन् :

गुराँस भीरमा पनि फुल्दोरहेछ

हाँसो पीरमा पनि खुल्दोरहेछ

दुःखमा साथी नभएर के भो

अँध्यारोमा आफ्नै छायाले पनि भुल्दोरहेछ । (पृ ९३)

 त्यस्तै स्थिति र चोटले यथार्थको परिवेश नङ्ग्याउँछ । ‘दुई टुक्रा’ जागिरसित सम्बन्धित छन् । जागिरमा कमाउने प्रवृत्ति भएका कर्मचारीहरूको चाकरी चाप्लुसीले स्वाभिमान बोकेका कर्मचारीहरू समस्यामा पर्ने सन्दर्भ उठाइएको छ । स्वाभिमान र कर्तव्यनिष्ठ कर्मचारीहरूलाई महिनावारीले बाँच्न धौ–धौ हुने प्रसङ्ग पनि आएको छ । ‘फरक’मा पहिले पैसा नभएर खान नपाइने, अहिले भएर पनि रोगले खान नमिल्ने कुरा उल्लेख गरिएको छ । ‘मुस्कान’ हाँसोकै पुनरावृत्ति हो । यसमा पनि मुस्कानकै महत्त्व दर्शाइएको छ ।

‘दिने र लिनेहरू’ शीर्षकमा दिनेले दिइरहने र लिनेले लिइरहने प्रवृत्ति हो । सूर्य, नदी, हावाले दिइरहेको छ । हामीले लिइरहेका छौं तर लिनेबिचको दुरी नहोस् भन्ने भाव कविताले बोकेको छ । काम भन्नु दाम हो, माम हो । तीर्थधर्म सबै हो । चारधाम पनि काम नै हो । काम ईश्वर हो । मिहेनतपूर्वक इमानदारीपूर्वक गरेको काम धर्मकर्म सबै हुन्छ । ईश्वर भन्नु नै आत्मा हो । कामविना आर्जन हुँदेन । आर्जन नभए आत्मतृप्ति गर्न सकिंदैन भनेर कामको महत्त्व देखाएको छ ‘काम’ कविताले ।

‘हाँच्छ्यिु चिरन्जीवी’ हाछ्युँ गर्दा नाक छोप्न सल्लाह दिइएको छ । नाक नछोपेमा कीटाणु सर्छ भनेर सतर्क गराइएको छ । ‘कोरोना अनुभव’ ले प्राणघातक महामारीको रूपमा फैलिएको कोरोनाबाट आक्रान्त हुँदाको अनुभव बताइएको छ । ‘समय बाँडफाँड’ कविताले २४ घण्टा समयलाई विभाजन गरेर एक दिनको दैनिकीको उल्लेख पाइन्छ । ‘सन्तोष’ मा घरपरिवार, साथीभाइ, समाज, दैनिक समस्या समाधान गर्न साधन भएपछि असन्तोष किन मान्ने भन्दै धेरै ठूलो महत्वाकाङ्क्षा नराख्दा सधैँ सुखी होइन्छ भन्ने भाव देखाइएको छ ।

‘दुई मुक्तक’मा मायाप्रेमका प्रसङ्ग छन् । यो सृष्टि कसरी भयो ? कसले बनायो ? भनेर सृष्टिको रहस्यमा कविता घुमेको देखिन्छ । ‘जिज्ञासा’ कविताले सृष्टिको रहस्यप्रति जिज्ञासा राख्छ । ‘धर्ती’ मा कति उब्जाइयो ? कति दिइयो तर मानिसलाई कहिले पुग्दैन भनिएको छ । ‘नाता’ कवितामा पतिपत्नीको सम्बन्धलाई विषय बनाइएको देखिन्छ । ‘अनुहार अङ्ग’ भने एउटा बाल कविता हो । बालबालिकालाई रमाइलो किसिमले मानिसको अङ्गवर्णन यस कवितामा गरिएको छ । इमानदारीपूर्वक नैतिकताका साथ सत्कार्य गरेर अरूको भलो चिताउने परोपकारी कार्य गर्ने, जे जति गर्न सकिन्छ गर्ने इच्छा कविले ‘कामना’ कवितामा गरेका छन् ।

त्यस्तै ‘अभिलाषा’ मा पनि शुद्ध कमाइ गरेर थोरै खाए पनि सन्तोष हुन्छ । मजासँग निदाउन सकिन्छ । राति निद्रा नपर्ने कमाइ काम छैन भन्दै सबैलाई सदाचारमा रहेर व्यवहार गर्न सुझाएका छन् । ‘लालसा’ पनि अभिलाषा र कामनाकै विषयतर्फ जोड दिन्छ र नैतिकताको पाठ सिकाउँछ । ‘समय’मा समयलाई सदुपयोग गरेर जीवन सुखमय बनाउन सल्लाह रहेको छ । ‘आँसु’ दुःख, सुख, दुवैमा बग्छ । भनिन्छ आँसुले हृदय सफा गर्छ । यस्तो आँसुको महत्त्व यस कवितामा देखाइएको छ । ‘मुक्तक’ जीवनमा आउने दुःखसुख, हाँसोरोदन तिर सङ्केत गरिएको छ । बाल कविता ‘ऐना’ मा झूट र सत्य नलुकाएर जस्ताको त्यस्तै देखाउने ऐना तटस्थ हुन्छ भन्दै रमाइलो किसिमले बाल मनोरञ्जन गराइएको छ । ‘मैनबत्ती’ले अरूका लागि प्रकाश दिने उदाहरण प्रस्तुत गरेको छ । ‘चाहना’मा सबैप्रति सद्भाव सत्कर्म गरेर उदाहरणीय व्यक्तित्व बन्ने इच्छा अभिव्यक्त गरिएको छ । ‘मन’ कवितामा मनको चमत्कार बताउँदै मन कहाँ कस्तो होला ? भनेर प्रश्न गर्छन् ।

‘छाता’ पनि बाल कविता हो । घाम, पानी, बिहे, जात्रा, दान, कर्म, सबैमा चाहिने छाताले लौरोको काम पनि गर्छ भन्दै रमाइलो तरिकाले बाल मनोरञ्जन गराइएको छ । ‘घडी र समय’ अर्को बाल कविता हो । पहिला समय पुग्थ्यो घडी थिएन । अहिले सबका हात हातमा घडी छ तर मानिसलाई समय हुँदैन भन्दै समयको महत्त्व बुझेर सचेत हुनुपर्नेमा आग्रह रहेको छ ।

‘ताल्चा’ बाल कवितामा ताल्चा सिधासाधा, भद्रभलादमीका लागि मात्र हुन् । चोरडाका  फटाहाहरू ताल्चा तोडेर सामान चोर्न सक्छन् भनिएको छ । समय अनुसार ताल्चामा पनि अनेक परिवर्तन आएका छन् । बाल कविता ‘पैसा’ मा पैसा अनिवार्य आवश्यकता हो । जति भएर पनि नपुग्ने पैसा अचम्मको वस्तु हो । पैसाकै लागि इष्टमित्र, नाता कुटुम्ब सब नजिक र टाढा हुने, पैसाले शत्रुलाई मित्र बनाउन सक्ने यस्तो चमत्कारपूर्ण विशेषता भएको पैसालाई इमान्दारपूर्वक कमाउन पर्नेमा जोड जिइएको छ । ‘छोराछोरी’ मा छोराछोरीको महत्वका बारेमा छ । बाबुआमाका लागि छोराछोरी वरदान हुन भन्न खोजिएको छ  भनेर भनिएको छ । ‘काम छउन्जेल भाँडो’ मा कसैको स्वार्थ पूरा भएपछि वास्ता नगर्ने प्रवृत्तिप्रति व्यंग्य गरिएको छ ।

श्रद्धा सुमन’ स्मृति कविता हो । आफ्नी ममतामयी आमाको निधनपछि पालनपोषण गर्ने फुपूदिदी गङ्गाकुमारीले आफूप्रति गरेको मायाममता र त्यागको स्मरण छ । गङ्गामै भनिएका कुराहरूले यस कवितामा पनि स्थान पाएका छन् । फुपूदिदीप्रति उनको अत्यन्त श्रद्धाभाव छ । त्यसैले आफूलाई हुर्काएर बढाएर योग्य नागरिक बनाउने फुपूलाई पटक–पटक उनी स्मरण गर्न पुग्छन् ।

‘छोरी’ मा जन्माएर हुर्काएर बढाएर योग्य बनाइसकेपछि अर्कालाई जिम्मा लगाउनु पर्ने प्रसङ्ग छन् । अहिलेको समय वाइफाइको हो । कसैले यसलाई घोप्टेयुग पनि भन्ने गर्छन् । घरका सबैका हातहातमा मोवाइल हुन्छ । कुराकानीभन्दा सबैजना मोवाइल नै हेरेर बस्छन् । आत्मीयता पर पुगेको छ । वाइफाई र वाइफ उस्तै हुन् भन्ने कविको विचार छ । वाइफ नभए घर नचलेजस्तै वाइफाइ नभए मोबाइल नचल्ने भनेर अहिलेको विकृति देखाइएको छ । ‘गाई र भाइ’मा हरेक घरमा कामधेनु गाई होस् हरेक नेपालीको घरमा एउटा आज्ञाकारी भाइ बलरामको कृष्णजस्तो, युधिष्ठिरको भीम, अर्जुन, नहकुल र सहदेवजस्ता भाइ हुन्, तर रावणको विभीषणजस्तो र वालिको सुग्रीवजस्तो नहोस् भनेर दाजुभाइको सद्भाव र प्रेम कस्तो हुनुपर्छ भन्ने देखाइएको छ ।

‘सोच’ दिमागको आदेशजस्तै मानिदिए र सन्तुलनको सोच मनले सोचिदिए, दायाँ खुट्टा अगाडि बढ्दा बायाँ खुट्टाले र बायाँ खुट्टा अगाडि बढ्दा दायाँ खुट्टाले धैर्य गरेको जस्तो मनले पनि अरूको रिसराग नराखेर चल्न सके जीवन सुन्दर हुने कुरा यस कविताले बताएको छ । ‘शिक्षा र परीक्षा’ पढेरभन्दा परेर जान्ने कुरातर्फ सङ्केत गरिएको छ । जीवनका घटनाहरूले मानिसलाई सिकाउँछ भन्दै जीवन एक प्राध्यापकजस्तै भनिएको छ ।

‘चार–चार हरफमा’ काँडामा भएर गुलाफ फुल्छ, कमल हिलोमा फुल्छ, अरू कैयन फूलहरू पनि माटोको धुलोमा फुल्छन् । सुनमा सुगन्ध भए कसले गन्थ्यो । पत्थरमा चमक नभइदिए हीरा कसले भन्थ्यो र ! भन्दै मानिस गुणवान्, क्षमतावान् तथा विशेषतायुक्त भएमा मात्र मान्यता रहने कुरा उल्लेख छ । प्रेम पवित्र हुन्छ । प्रेमले जातीय धार्मिक र अन्य कुनै पनि सामाजिक लक्ष्मणरेखा समेत पार गर्दै आफ्नो गन्तव्य लिन्छ भन्ने कुरा ‘प्रेम र रोग’मा अभिव्यक्त भएको पाइन्छ । ‘पसिना’ मा पसिनाका कुराहरू समेत बताउँदै पसिना बगाएर परिश्रमपूर्वक गरेको कार्यले राम्रो फल प्राप्त हुन्छ जीवनलाई सहजतापूर्वक चलाउन सकिन्छ भन्ने रहेको छ । कवितामा यसरी भनिएको छ :

मेहेनतको फल मिठो हुन्छ भन्छन्

परिश्रमी नै सफल मानिन्छन्

पसिनाको कमाई खाएर शुद्ध

जितिन्छ रे जीवनरूपी युद्ध ।(पृ १४४)

निद्रा’ मा स्वास्थ्यका लागि निद्राको महत्त्व देखाइएको छ । ‘आनन्द’ मा जीवनमा बढी महत्वकाङ्क्षा नलिएर थोरै आवश्यकतामा रमाउन सके आनन्द प्राप्त हुने कुरामा कवि जोड दिन्छन् । ‘आहा’ पनि ‘इच्छा’ र कामना जस्तै छ । सर्वजन हितायको भाव यसमा उल्लेख छ । हरेकमा काम, दाम, माम भएर समृद्धि प्राप्त होस् भनेर कामना व्यक्त भएको पाइन्छ ।

‘वास्तविकता’ जीवन सत्मार्गमा चल्नु अपरिहार्य हुन्छ । सत्य डग्दैन असत्य टिक्दैन भनेर जतिसुकै छलकपट गरे पनि एक दिन सत्य खुल्छ । बादलले केही समय सूर्यलाई छोपे पनि पछि बादल फाटेर सूर्य देखिन्छ । यही मानव उपयोगी विचार यसमा उजागर भएको छ । अहिलेको युगमा सामाजिक प्रदूषण देखिन्छ । समाजका हर क्षेत्रका मानिसमा नैतिकताको ह्रास हुँदै गएको छ । नीतिनिर्माताहरू व्यक्तिगत स्वार्थमा निर्लिप्त छन् । दाजुभाइ, इष्टमित्र सबैमा विश्वासकै सङ्कट देखिन्छ । साथी घाती भएर देखा पर्छ यस्तो परिस्थितिप्रति कवि चिन्तित देखिन्छन् ः

कलि युगमा अमृत त कहाँ पाइन्छ र

विषय मात्र सर्वत्र उपलब्ध छ

खाने कुरामा विष, पिउने कुरामा विष

सोचाइमा विष, व्यवहारमा पनि विष(पृ१४९)

पति र पत्नीको सुमधुर सम्बन्धले मात्र गृहस्थी जीवन सफल हुन्छ । अन्यथा घरमा जटिल परिस्थिति सिर्जना हुन पग्छ । कविले आफ्नो वैवाहिक तेत्तिसौं वर्षगाँठमा आफ्नी पत्नीको मुक्तकण्ठले प्रशंसा गरेका छन् । ‘तिमी र म’ कवितामा अरूहरूलाई पनि पतिपत्नीबिच उदाहरणीय भएर बाँच्न सुझाएका छन् । आमाको ममतबाट सानैमा वञ्चित कविलाई बालबिधुवा फुपूदिदीले आमाको स्थान लिएर स्याहारसुसार गरेर हुर्काउने काम गरिन् । यसमा निस्वार्थ सेवाभाव रहेको थियो । कविले उनलाई फुपूदिदी नमानेर आमा नै भन्ने गर्दथे । यस्ती त्याग र समर्पणकी प्रतीक फुपूदिदी गङ्गाकुमारी २०३४ चैत्र १७ गते परलोक भइन् । नियतिले एकपछि अर्को बज्रप्रहार उनीमाथि गर्यो । यस घटनाबाट अत्यन्त दुःखित बन्छन् र ‘श्रद्धा सुमन’ कवितामा शोक विह्वल हुन पुग्छन् :

चौंतीस चैतको त्यो सत्रलाई

कसरी भुल्छु र त्यो रातलाई

खोसेर लग्यो प्रिय पात्रलाई

बनाएरै छाड्यो अनाथ मलाई (पृ१५१)

मुक्तक ‘सम्बन्ध’ मा सम्बन्ध भन्ने कुरा ढुङ्गा र माटोको जोडजस्तै हुनुपर्छ । नाता भन्ने कुरा नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने र मित्रता कृष्ण र सुदामाको जस्तै हुनुपर्छ भन्दै आजको भौतिकवादी आत्मकेन्द्रित समाजलाई सचेत गराउँदै आफ्नो धारणा राख्न पुग्छन् । जागिरे जीवनलाई विषय बनाएर उनी पहिला जागिर पाउन गाह्रो, जागिर पाए पनि स्वाभिमानी भएर काम गर्दा चाकरी चाप्लुसीबाट बच्न गाह्रो, बचिहाले पनि हृदयदेखि नै हाँस्न गाह्रो भनेर जागिरलाई कठिन पेसाका रूपमा चित्रण गर्छन् । हामी कृषिप्रधान देश भएर पनि विदेशको निर्भरमा छौँ । खेतबारी सब बाँझिएर कृषिप्रधान देश भन्न पनि लाजमर्दो स्थिति भएको तर्फ ‘मध्यम’ मा चिन्ता व्यक्त गरिएको छ । ‘तीन टुक्रा’मा सइन पल्टेको घाउ र ओझेल परेको सूर्यका माध्यमबाट समाजलाई धैर्यधारण गर्नेतर्फ सङ्केत गरेका छन् । ‘सङ्केत’मा सागरको गहिराई, ठक्करका माध्यमबाट उज्यालो सङ्केत गरिएको छ ।

‘प्रकृति र प्रवृत्ति’ मा जन्मँदा आफू रोएर मान्छे अरूलाई हँसाउँछ । मर्दा आफू चुपचाप अरूलाई रुवाउँछ । बाँचुन्जेल केवल मान्छे बाँच्नुसँग अल्झिरहन्छ । मान्छे भएर बाँच्नेहरूले अरूलाई बचाउन कालकूट विष पनि पिउँछन् र आफ्नो छाती चिरेर अरूको मुटु सिउँछन् भन्दै कवि आफू बाँच र बाँच्न देऊ को सिद्धान्तमा देखा पर्छन् । ‘देश र माटो’ले देशप्रेम र माटोप्रेमको पवित्र भावना देखाउँछ । जतिसुकै आधुनिक विज्ञान र प्रविधिले चमत्कार भएको मुलुकमा पुगे पनि मनभरि पीडा र वेदना हुन्छ । देशको सम्झना भइरहन्छ र माटोको माया लागिरहन्छ । यिनै कुरा ल्याएर सरल शब्दमा देश र माटोको महत्वमाथि प्रकाश पारिएको छ ।

‘सत्य तथ्य र सिर्जना’ शीर्षकमा ठक्करमा मानिस नआत्तीकन कर्तव्य गर्दै गएमा परिपक्व हुने कुरातर्फ कविले सचेत गराएका छन् । ‘मुक्तक’ मा कुनै पनि काम समयमा गरिएन भने त्यसको कुनै मूल्य रहँदैन भनेर समयानुकूल कार्य गर्नु पर्नेतर्फ सचेत गराइएको छ । ‘दाम्पत्य जीवनको पच्चीस वर्ष’ मा पनि पत्नीको जीवन सङ्घर्ष र उपलब्धिमाथि प्रकाश पार्दै भावी दिनमा पनि अझ राम्ररी जीवनयात्रा गर्नु पर्ने र सही गन्तव्यमा पुग्नु पर्ने कुरा देखाइएको छ । घाम र बादलको साम्राज्यमा पनि तारा चम्किरहन्छ भन्ने सन्दर्भ ल्याउँदै मानिसमा पनि सहनशील हुनुपर्ने कुरा दिइएको छ ।

आकाङ्क्षा’ मा पनि जीवनलाई सत्मार्गतर्फ लाँदै कर्तव्य निर्वाह गरेर शुद्ध कमाइले जीवन चलाएर ईश्वर भक्तिमा लाग्दै जीवनबाट विश्राम लिन सकियोस् भन्ने कविको उद्देश्य रहेको देखिन्छ । ‘नारी’ मा पानीसँग नारीको तुलना गरिएको छ । पानी र नारी शक्ति ऊर्जा हो भन्दै कविताले पानी र नारीविना जीवन र सृष्टि चल्न नसक्ने कुरा बताइएको छ । ‘श्रद्धा सुमन’ एक वर्षकै हुँदा आमाले संसार छोडेर गएपछि कवि फुपूदिदीको संरक्षणमा थिए । आमाको पुण्य तिथिको दिन कवि भावविह्वल भएर तस्वीरसम्म पनि नभएकोमा दुखित हुँदै श्रद्धासुमन अर्पण गर्न पुग्छन् । त्यस्तै ‘माहिली दिदी रुक्मिणी’ मा पनि श्रद्धासुमन अर्पण गरिएको छ ।

‘मुटुको सगरमाथा’ मा आस्था र विश्वास लिएर नैतिक बन्न आग्रह गरिएको छ । ‘म सलाई’ बस्तीहरूलाई उज्यालो बनाउन आविष्कार भएको सलाईलाई दुरुपयोग गरेर डडेलोले बस्ती सखाप पार्ने र चुरोट सल्काएर शरीर अस्वस्थ बनाउने जस्ता कार्यमा दुरुपयोग भइरहेको भनेर चिन्ता व्यक्त गरिएको छ । हाम्रो जीवन सहज बनाउन आविष्कार भएका वस्तुहरूलाई गलत काममा लगाएर वरदानलाई अभिशाप बनाएकोप्रति सचेत रहन आग्रह गरिएको छ ।

यसरी विविध विषयहरूमा आधारित यस कविता सङ्ग्रहमा सामान्यभन्दा सामान्य घटनादेखि लिएर पारिवारिक समस्या, आफन्त गुमाउनु पर्दाको पीडा, देशमा नीति निर्माताहरूमा विकसित हुँदै गएको अकर्मण्यता, सामाजिक विषमता, अन्याय, देशमा फैलिएको भ्रष्टाचार आदि सन्दर्भहरू समेटिएका छन् । कविको साहित्य सिर्जनाका लामो समयपछि आएको यस कृतिमा विषयवस्तुको व्यापकता पाइन्छ । तीसचालीसको  दशकमै कुरौटे स्तम्भमार्फत व्यंग्यलेखन गरिसकेका हुनाले धेरैजसो कवितामा हास्यव्यङ्ग्यका केही छनकहरू पनि देखिन्छन् ।

बौद्धिकता खोज्ने पाठकका लागि उनका कविता होइनन् । केही कवितामा राष्ट्रिय एकता र विश्वशान्तिको कामना पनि गरिएको पाइन्छ । जीवनयात्रामा भोग्नु परेका कठिनाइ र समस्या कविताले अभिव्यक्त गरेको पाइन्छ । माटोप्रेम देशप्रेमका पवित्र भावनाहरू पनि आएका छन् । जीवनलाई अनुशासित र मर्यादित बनाउने सन्देश छ । आणविक विकासले सन्त्रस्त विश्वप्रति कविले चिन्ता व्यक्त गरेका छन् । आत्मा र परमात्माका विषयमा बोलिएका केही शीर्षकहरू पनि महत्त्वपूर्ण छन् । सकारात्मक सोचाइको अपरिहार्यतालाई कवितामा प्रतिबिम्बित गरेका छन् । मुक्तक छन्, बालकविता छन । बालकका कुरा, वृद्धका कुरा आएका छन् । वसुधैव कुटुम्बकम्का भावना उजागर भएको देखिन्छ । अनुशासन र कर्तव्यका कुराहरू कवितामा समेटिएका छन् ।

सन्दर्भ यिनै र यस्तै हुन् । यति भएर पनि सुभाषका कवितामा शैली र प्रस्तुतिमा परिमार्जन गर्नु पर्ने आवश्यकता महसूस हुन्छ । एउटै शीर्षकमा आइसकेको सन्दर्भ दोहोरिएर तेहेरिएर आउनु त्यति उपयुक्त मानिंदैन । गम्भीर विषयवस्तुको चयन भइसकेपछि कवितालाई गम्भीर भएरै हेर्नु पर्ने हुन्छ । अग्रजहरूले के लेखे र समकालीनहरूमा कस्तो प्रवृत्ति छ, त्यसको अध्ययन गरेर आत्मसात् गरेपछि मात्र फरक ढङ्गले आफू प्रस्तुत भएमा आफ्नो दह्रो उपस्थिति देखिन्छ ।

गद्य कविताको प्राण भनेकै विम्ब र प्रतीकको उपयुक्त संयोजन हो । प्रतीक र विम्ब केही कवितामा आए तापनि धेरै कविताहरूमा आएका छैनन् । मुक्तकमा कविले अहिलेको मुक्तकीय सिद्धान्तमा विचार पुर्‍याएको देखिंदैन तर ती पहिले नै लेखिएका हुँदा यसो भएको हुनसक्छ । कविताले समाज र परिस्थितिको शल्यक्रिया भने गरेकै छन् । स्थानीय धार्मिक र संस्कृति सङ्गीतलाई शब्दचित्रमा उतारेर महत्त्वपूर्ण कार्य गरेको देखिन्छ ।

साहित्य समाजको ऐना हो भन्ने कुरा कविताले अभिव्यक्त गरेका छन् । आध्यात्मिक, सामाजिक, नैतिक र फराकिलो विश्व दृष्टिकोण दिन खोजिएको छ । अङ्ग्रेजीमा समेत केही कविता समाविष्ट गरिनुले कवितालाई व्यापकता दिन खोजिएको देखिन्छ । आगामी प्रकाशनमा सुभाषले शैली, प्रस्तुति र नवीनतम विषयका कविता सिर्जना गरेमा उनको सिर्जना बढी सुभाषित भएर फैलने कुरा निश्चित नै छ ।